प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हामी किन सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जान्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ ८

      हामी किन सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जान्छौँ?

      बुबा र छोरा सभामा जान लुगा लगाउँदै

      आइसल्याण्ड

      आमा र छोरी सभामा जान तयारी गर्दै

      मेक्सिको

      चिटिक्क परेको लुगा लगाएका गिनीबिसाउका यहोवाका साक्षीहरू

      गिनीबिसाउ

      फिलिपिन्समा एउटा परिवार सभा जाँदै

      फिलिपिन्स

      यस पुस्तिकामा भएका कतिपय चित्रमा यहोवाका साक्षीहरू सभामा उपस्थित भएको दृश्‍य देखाइएको छ। तिनीहरू कस्तो चिटिक्क परेका छन्‌, के तपाईँले याद गर्नुभयो? हामी किन आफ्नो लुगा अनि कोरीबाटीमा यत्तिको ध्यान दिन्छौँ?

      परमेश्‍वरप्रति आदर देखाउन। हुनत परमेश्‍वर हाम्रो बाहिरी रूप मात्र हेर्नुहुन्‍न। (१ समुएल १६:७) तैपनि परमेश्‍वरको उपासना गर्न भेला हुँदा हामी उहाँलाई र सङ्‌गी उपासकहरूलाई आदर देखाउन चाहन्छौँ। राजा वा राष्ट्रपतिको अघि उपस्थित हुनुपऱ्‍यो भने हामी के गर्छौँ? तिनको ओहदाप्रति आदर देखाउन हामी आफ्नो रूपरङमा पक्कै पनि ध्यान दिन्छौँ। त्यसरी नै “पृथ्वीका न्यायकर्ता” यहोवालाई अनि उहाँको उपासना गरिने ठाउँलाई कत्तिको आदर गर्छौँ भन्‍ने कुरा सभामा उपस्थित हुँदाको हाम्रो रूपरङबाट देखिन्छ।—उत्पत्ति १८:२५.

      हामी कस्तो मूल्यमान्यताअनुसार जीवन बिताउँछौँ, त्यो देखाउन। बाइबलले ख्रिष्टियनहरूलाई ‘शालीनता र सुझबुझ’ झल्किने किसिमको लुगा लगाउन सल्लाह दिन्छ। (१ तिमोथि २:९, १०) “शालीनता” झल्किने लुगाहरू भड्‌किलो, उत्तेजना जगाउने अनि जीउ देखिने किसिमका हुँदैनन्‌। साथै “सुझबुझ” चलाएका छौँ भने हामीले छानेको लुगा आकर्षक हुनेछ तर अनावश्‍यक रूपमा अरूको ध्यान खिच्ने, बेढङ्‌गी वा उत्ताउलो पाराको हुनेछैन। यी सिद्धान्तहरू लागू गर्दा व्यक्‍तिगत छनौट गर्ने मौका पक्कै साँघुरो हुँदैन। हाम्रो बोलीवचनले मात्र होइन तर सुहाउँदो र आकर्षक रूपरङले पनि “हाम्रा उद्धारक, परमेश्‍वरको शिक्षाको शोभा” बढाउँछ र “उहाँको महिमा” गर्छ। (तितस २:१०; १ पत्रुस २:१२) यसरी सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जाँदा यहोवाको उपासनालाई अरूले हेर्ने नजर फरक हुन सक्छ।

      आफूसँग भएको साधारण लुगा लगाएर तपाईँ राज्यभवन आउन सक्नुहुन्छ। तपाईँको लुगा महङ्‌गो अनि फेसनदार हुनु पर्दैन। सभामा उपस्थित हुनको लागि उपयुक्‍त, सफा अनि सुहाउँदो लुगा भए पुग्छ।

      • परमेश्‍वरको उपासना गर्दा आफ्नो लुगामा विचार पुऱ्‍याउनु किन महत्त्वपूर्ण छ?

      • आफ्नो लुगा अनि कोरीबाटीको सन्दर्भमा कस्ता सिद्धान्तहरू विचार गर्नुपर्छ?

  • सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ ९

      सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?

      एक जना यहोवाको साक्षी सभाको लागि तयारी गर्दै

      कम्बोडिया

      एक जना यहोवाको साक्षी सभाको लागि तयारी गर्दै
      एक जना यहोवाको साक्षी सभामा टिप्पणी दिँदै

      युक्रेन

      तपाईँ यहोवाको साक्षीसँग अध्ययन गर्दै हुनुहुन्छ भने हरेक चोटि अध्ययन गर्नुअघि तयारी गर्नुहुन्छ होला। मण्डलीको सभामा उपस्थित हुनुअघि पनि त्यसै गऱ्‍यौँ भने पूरापूर लाभ उठाउन सक्छौँ। तयारी गर्ने राम्रो तालिका बनायौँ भने अझ धेरै फाइदा हुन्छ।

      कहाँ र कुन बेला अध्ययन गर्ने भनी निश्‍चित गर्नुहोस्‌। तपाईँ कुन समयमा राम्ररी ध्यान दिन सक्नुहुन्छ? दिनचर्या सुरु गर्नुभन्दा अगाडि बिहान सबेरै कि राती बच्चाहरू सुतिसकेपछि? अध्ययन गर्न लामो समय निकाल्न सक्नुहुन्‍न भने पनि कति समय निकाल्न सक्नुहुन्छ, पक्का गर्नुहोस्‌। त्यो समयमा कुनै पनि कुराले बाधा पुऱ्‍याउन नदिनुहोस्‌। शान्त ठाउँ खोज्नुहोस्‌। रेडियो, टिभी र मोबाइलजस्ता कुराहरूले ध्यान भङ्‌ग गर्न नदिनुहोस्‌। अध्ययन गर्नुअघि प्रार्थना गर्नुभयो भने त्यस दिनको चिन्ता-फिक्रीमा नडुबी परमेश्‍वरको वचनमा ध्यान दिन सक्नुहुनेछ।—फिलिप्पी ४:६, ७.

      चिन्ह लगाउनुहोस्‌ अनि भाग लिन तयारी गर्नुहोस्‌। सबैभन्दा पहिले विषयवस्तुलाई सरसर्ती हेर्नुहोस्‌। उक्‍त लेख वा अध्यायको शीर्षकलाई ध्यान दिनुहोस्‌, त्यहाँ भएका उपशीर्षकहरू मूल विषयसित कसरी सम्बन्धित छन्‌, विचार गर्नुहोस्‌। लेखमा भएका चित्रहरू अनि पुनरावृत्ति गर्नका लागि दिइएका प्रश्‍नहरूले मुख्य बुँदाहरूलाई जोड दिने हुँदा त्यसमा पनि ध्यान दिनुहोस्‌। त्यसपछि अनुच्छेद पढ्‌नुहोस्‌। अनि त्यस अनुच्छेदको लागि सोधिएको प्रश्‍नको जवाफ खोज्नुहोस्‌। उल्लेख गरिएका पदहरू बाइबलबाटै पढ्‌नुहोस्‌ अनि ती पदहरू विषयवस्तुसँग कसरी मेल खान्छन्‌, सोच्नुहोस्‌। (प्रेषित १७:११) प्रश्‍नको जवाफ भेट्टाएपछि अनुच्छेदका केही मुख्य शब्द वा वाक्यांशमा चिन्ह लगाउनुहोस्‌। यसरी चिन्ह लगाउनुभयो भने सभाको बेला जवाफ भेट्टाउन सजिलो हुनेछ। त्यसपछि सभामा हात उठाएर आफ्नै शब्दमा छोटो टिप्पणी दिनुभए कसो होला?

      हरेक हप्ता सभामा प्रस्तुत गरिने विभिन्‍न विषयलाई विचार गर्दा तपाईँले बाइबलबारे आफ्नो ज्ञानको “भण्डार”-मा नयाँ कुरा थप्दै जान सक्नुहुनेछ।—मत्ति १३:५१, ५२.

      • सभाहरूको लागि तयारी गर्न तपाईँ कस्तो तालिका बनाउन सक्नुहुन्छ?

      • सभामा टिप्पणी दिन तपाईँ कसरी तयारी गर्न सक्नुहुन्छ?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      माथि बताइएको तरिकाअनुसार प्रहरीधरहरा अध्ययन वा मण्डली बाइबल अध्ययनको लागि तयारी गर्नुहोस्‌। आफ्नो बाइबल अध्ययन सञ्चालकको मदत लिएर आउँदो सभाको लागि एउटा टिप्पणी तयार गर्नुभए कसो होला?

  • पारिवारिक उपासना भनेको के हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ १०

      पारिवारिक उपासना भनेको के हो?

      एउटा परिवार पारिवारिक उपासना गर्दै

      दक्षिण कोरिया

      एउटा दम्पती सँगै बाइबल पढ्‌दै

      ब्राजिल

      एक जना यहोवाको साक्षी बाइबल अध्ययन गर्दै

      अस्ट्रेलिया

      एउटा परिवार बाइबलको कुनै विषयमा छलफल गर्दै

      गिनी

      यहोवा सबै परिवारले उहाँसित र एकअर्कासित घनिष्ठ सम्बन्ध गाँसेको चाहनुहुन्छ। त्यसैले उहाँले परिवारहरूलाई एकसाथ समय बिताउनू भनी धेरै अघि आज्ञा दिनुभएको थियो र त्यो आज्ञा परिवर्तन भएको छैन। (व्यवस्था ६: ६, ७) त्यसैले यहोवाका साक्षीहरू परिवारै मिलेर उपासना गर्न हरेक हप्ता केही समय छुट्ट्याउँछन्‌। यसरी भेला हुँदा तिनीहरू आरामदायी वातावरणमा आफ्नो खास आवश्‍यकतासित सम्बन्धित विषयहरूबारे छलफल गर्छन्‌। तपाईँ एक्लै बस्नुहुन्छ भने पनि उपासनाको लागि समय छुट्ट्याएर बाइबलसम्बन्धी कुनै एउटा विषयमा अध्ययन गर्न सक्नुहुन्छ।

      यहोवासित अझ नजिक हुने समय। “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यहोवाको लिखित वचन बाइबलबाट उहाँको व्यक्‍तित्व र व्यवहारबारे सिक्दै जाँदा उहाँलाई अझ राम्ररी चिन्‍न सक्छौँ। पारिवारिक उपासना सुरु गर्ने एउटा सजिलो तरिका सँगै बसेर ठूलो स्वरले बाइबल पढ्‌नु हो। उदाहरणको लागि, ‘जीवन र प्रचारकार्य’ सभाको तालिकामा हरेक हप्ता बाइबल पढाइको लागि छुट्ट्याइएको भाग पढ्‌न सकिन्छ। परिवारका सबै सदस्य मिलेर पालैपालो पढ्‌न र त्यसबाट आफूले सिकेको कुरा सँगै छलफल गर्न सकिन्छ।

      परिवारका सदस्यहरूसित अझ घनिष्ठ हुने समय। परिवार मिलेर बाइबल अध्ययन गर्दा श्रीमान्‌-श्रीमती अनि आमाबुबा-छोराछोरीबीचको बन्धन बलियो हुन्छ। यो सबैको लागि रमाइलो समय हुनुपर्छ अनि परिवारका सबै सदस्यलाई ‘यो दिन कहिले आउला’ जस्तो लाग्नुपर्छ। आमाबुबाले छोराछोरीको उमेरलाई विचार गरेर विभिन्‍न व्यावहारिक विषयहरू छलफल गर्न सक्छन्‌। जस्तै: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मा भएको कुनै लेख अथवा हाम्रो वेबसाइट jw.org मा भएको कुनै सामग्री प्रयोग गर्न सक्छन्‌। छोराछोरीले स्कुलमा भोगिरहेको समस्याबारे कुराकानी गरेर त्यसको सामना गर्ने तरिकाबारे छलफल गर्न सकिन्छ। साथै JW ब्रोडकास्टिङ (tv.jw.org) हेरेर सिकेको कुरा सँगै छलफल गरे कसो होला? सभाहरूमा गाइने गीतको अभ्यास पनि गर्न सकिन्छ। अनि पारिवारिक उपासना सिद्धिएपछि हल्का खाजा खाएर रमाइलो गर्न सकिन्छ।

      पारिवारिक उपासना भनेको हरेक हप्ता पूरै परिवार मिलेर यहोवाको उपासना गर्ने विशेष समय हो। यसो गर्दा सबै जना परमेश्‍वरको वचनमा रमाउन सक्नेछन्‌ अनि यहोवाले तपाईँको प्रयासमा प्रशस्त आशिष्‌ दिनुहुनेछ।—भजन १:१-३.

      • पारिवारिक उपासनाको लागि हामी किन समय छुट्ट्याउँछौँ?

      • पारिवारिक उपासना सबैको लागि रमाइलो बनाउन आमाबुबाले के गर्न सक्छन्‌?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      मण्डलीका अरू सदस्यले पारिवारिक उपासनामा के-के गर्छन्‌, उनीहरूलाई सोध्नुहोस्‌। साथै छोराछोरीलाई यहोवाबारे सिकाउन उपयोगी हुने कुन-कुन पत्र-पत्रिका र पुस्तकहरू राज्यभवनमा छन्‌, पत्ता लगाउनुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने