प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ ११

      हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौँ?

      मेक्सिकोमा यहोवाका साक्षीहरूको अधिवेशन

      मेक्सिको

      जर्मनीको अधिवेशनमा नयाँ प्रकाशन विमोचन गरिँदै

      जर्मनी

      बोत्स्वानाको अधिवेशनमा यहोवाका साक्षीहरू

      बोत्स्वाना

      निकारागुआमा एक जना युवक बप्तिस्मा गर्दै

      निकारागुआ

      इटालीको अधिवेशनमा भेषभूषासहितको नाटक

      इटाली

      यी मानिसहरूको मुहार किन हँसिलो देखिन्छ? तिनीहरू यहोवाका साक्षीहरूको जमघटमा उपस्थित भइरहेका छन्‌। परमेश्‍वरका विगतका सेवकहरूलाई वर्षको तीन चोटि एकसाथ भेला हुन आज्ञा दिइएको थियो। (व्यवस्था १६:१६) तिनीहरूजस्तै हामी पनि ठूलो समूहमा भेला हुन पाउँदा रमाउँछौँ। हरेक वर्ष हामी तीन वटा ठूलठूला जमघटमा उपस्थित हुन्छौँ। ती हुन्‌: दुइटा एक दिने सम्मेलन र एउटा तीन दिने अधिवेशन। यस्ता जमघटमा उपस्थित हुँदा हामीलाई कस्तो लाभ हुन्छ?

      हामीबीचको बन्धन बलियो हुन्छ। पुरातन समयका इस्राएलीहरूले “समुदायमा यहोवाको प्रशंसा” गर्थे। (भजन २६:१२; १११:१) त्यसरी नै हामी पनि एकसाथ उहाँको उपासना गर्न पाउँदा रमाउँछौँ। यसरी एकसाथ भेला हुँदा अरू मण्डलीका अनि कहिलेकाहीँ त अर्कै मुलुकका यहोवाका साक्षीहरूलाई भेट्‌ने र तिनीहरूसित चिनजान गर्ने मौकासमेत पाउँछौँ। मध्यान्तरमा कार्यक्रम स्थलमा खाजा खाँदै एकअर्कासित सङ्‌गत गर्नु पनि यस्ता आध्यात्मिक जमघटहरूको अर्को विशेषता हो। (प्रेषित २:४२) यस्ता जमघटहरूमा “सबै भाइहरूलाई” एकतामा बाँध्ने प्रेम आफ्नै आँखाले देख्न पाउँछौँ।—१ पत्रुस २:१७.

      परमेश्‍वरको कुरा अझ राम्ररी बुझ्न मदत गर्छ। धर्मशास्त्र पढेर त्यसबारे राम्ररी बताइँदा इस्राएलीहरूले त्यसको अर्थ ‘बुझे।’ (नहेम्याह ८:८, १२) हामी पनि यस्ता जमघटमा बाइबलबाट थुप्रै निर्देशन पाउँछौँ र यसको निकै मोल गर्छौँ। हरेक कार्यक्रम बाइबलमा आधारित एउटा मूल विषयमा केन्द्रित हुन्छ। कार्यक्रममा रोचक भाषणहरू, विभिन्‍न भाग भएका गोष्ठीहरू र पुनःअभिनयहरू प्रस्तुत गरिन्छ। यस्ता प्रस्तुतिले हामीलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी जीवन बिताउने भनेर सिकाउँछ। अहिलेको कठिन समयमा ख्रिष्टियनको रूपमा जीवन बिताउँदा आइपर्ने चुनौतीहरूलाई सफलतापूर्वक सामना गरिरहेकाहरूको अनुभव सुन्दा हामीले हरेस नखाई अघि बढिरहने हौसला पाउँछौँ। अधिवेशनमा बाइबलका विवरणहरूमा आधारित भिडियो-नाटक देखाइन्छ, जसबाट हामी थुप्रै व्यावहारिक पाठ सिक्न सक्छौँ। परमेश्‍वरप्रतिको समर्पणलाई जनसमक्ष प्रकट गर्न चाहनेहरूका लागि यस्ता जमघटहरूमा बप्तिस्मा गर्ने प्रबन्ध मिलाइएको हुन्छ।

      • ठूलठूला जमघटमा किन रमाइलो हुन्छ?

      • यस्ता जमघटमा उपस्थित भएर तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      हाम्रो भाइचाराबारे अझ राम्ररी थाह पाउन चाहनुहुन्छ भने आउँदो सम्मेलन वा अधिवेशनमा उपस्थित हुनुभए कसो होला? त्यहाँ के-कस्ता विषयबारे छलफल गरिन्छ भनेर तपाईँको अध्ययन सञ्चालकले तपाईँलाई कार्यक्रम पर्चीबाट देखाउन सक्छन्‌। आउँदो सम्मेलन वा अधिवेशन कहिले र कहाँ हुनेछ, आफ्नो क्यालेन्डरमा चिन्ह लगाउनुहोस्‌। अनि मिल्छ भने उपस्थित हुनुहोस्‌।

  • हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ १२

      हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?

      यहोवाका साक्षीहरू घरघरको प्रचारमा

      स्पेन

      एक जना यहोवाको साक्षी पार्कमा प्रचार गर्दै

      बेलारूस

      एक जना यहोवाको साक्षी टेलिफोनमार्फत प्रचार गर्दै

      हङकङ

      यहोवाका साक्षीहरू सार्वजनिक प्रचारकार्यमा

      पेरू

      आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येसुले यसो भन्‍नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ति २४:१४) तर पृथ्वीभरि प्रचार गर्न कसरी सम्भव हुने थियो? पृथ्वीमा छँदा येसुले बसाल्नुभएको नमुना पछ्याएर।—लुका ८:१.

      हामी मानिसहरूलाई घरैमा भेट्‌ने प्रयास गर्छौँ। येसुले आफ्ना चेलाहरूलाई घर-घरमा गएर सुसमाचार प्रचार गर्ने तालिम दिनुभयो। (मत्ति १०:११-१३; प्रेषित ५:४२; २०:२०) प्रथम शताब्दीका ती प्रचारकहरूलाई निश्‍चित इलाकामा प्रचार गर्न खटाइएको थियो। (मत्ति १०:५, ६; २ कोरिन्थी १०:१३) आज पनि हाम्रो प्रचारकार्य सुव्यवस्थित छ। हरेक मण्डलीलाई आ-आफ्नै इलाका दिइएको छ। यस्तो प्रबन्धले गर्दा ‘मानिसहरूलाई प्रचार गर्नू र राम्ररी साक्षी दिनू’ भन्‍ने येसुको आज्ञा पालन गर्न सम्भव भएको छ।—प्रेषित १०:४२.

      मानिसहरू जहाँ-जहाँ भेटिन्छन्‌, त्यहाँ-त्यहाँ प्रचार गर्ने प्रयास गर्छौँ। येसुले इनार, समुद्रको किनाराजस्ता सार्वजनिक ठाउँमा प्रचार गरेर पनि हाम्रो लागि उदाहरण बसाल्नुभयो। (मर्कुस ४:१; युहन्‍ना ४:५-१५) हामी पनि मानिसहरू जहाँ-जहाँ भेटिन्छन्‌, त्यहाँ-त्यहाँ तिनीहरूलाई बाइबलबारे बताउँछौँ। जस्तै: सडकमा, व्यापारिक इलाकामा, बस-स्टपमा, पार्कमा अथवा टेलिफोनमार्फत। हामी आफ्ना छिमेकी, सहकर्मी, सहपाठी र आफन्तलाई मौका मिल्नेबित्तिकै बाइबलबारे बताउँछौँ। यसरी विभिन्‍न मौकाको सदुपयोग गर्दै प्रचार गरेकोले लाखौँ मानिसले परमेश्‍वरले दिनुहुने “उद्धारको सुसमाचार” सुन्‍न पाएका छन्‌।—भजन ९६:२.

      परमेश्‍वरको राज्यको सुसमाचार र यसले दिने भविष्यको आशाबारे तपाईँ कसलाई बताउन चाहनुहुन्छ? यो सुसमाचार सबैका लागि हो, त्यसैले जतिसक्दो छिटो अरूलाई पनि सुनाउनुहोस्‌।

      • हामीले केको “सुसमाचार” प्रचार गर्नुपर्छ?

      • येसुले प्रचार गर्नुभएको तरिका यहोवाका साक्षीहरूले कसरी अनुकरण गरिरहेका छन्‌?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      बाइबलबाट सिकेको कुरा तपाईँ आफूले चिनेजानेका मानिसहरूलाई बताउन सक्नुहुन्छ। तर उनीहरूलाई अप्ठ्यारोमा नपार्नेगरि कसरी राम्रोसँग बताउने, त्यो तरिका देखाइदिन आफ्नो अध्ययन सञ्चालकलाई अनुरोध गर्नुहोस्‌।

  • अग्रगामी कसलाई भनिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ १३

      अग्रगामी कसलाई भनिन्छ?

      एक जना पूर्ण-समय सेवक सार्वजनिक प्रचारकार्यमा

      क्यानाडा

      पूर्ण-समय सेवकहरू प्रचारकार्यमा

      घर-घरको प्रचारकार्य

      अग्रगामीहरू बाइबल अध्ययन सञ्चालन गर्दै

      बाइबल अध्ययन

      एक जना अग्रगामी बाइबल अध्ययन सञ्चालन गर्दै

      व्यक्‍तिगत अध्ययन

      “अग्रगामी” शब्दले अक्सर नयाँ ठाउँमा गएर कुनै कामको सुरुवात गर्ने व्यक्‍तिलाई बुझाउँछ। येसुलाई पनि एक अर्थमा अग्रगामी भन्‍न सकिन्छ। किन? किनभने जीवन बचाउने सन्देश सुनाउन र उद्धार पाउने बाटो खोल्न येसुलाई स्वर्गबाट पृथ्वीमा पठाइयो। (मत्ति २०:२८) ‘चेला बनाउने’ काममा सकेसम्म धेरै समय बिताएर आज येसुका अनुयायीहरूले उहाँको अनुकरण गर्दै छन्‌। (मत्ति २८:१९, २०) यी चेलाहरूमध्ये कोही-कोही अग्रगामीको रूपमा सेवा गर्छन्‌।

      अग्रगामी भनेको प्रचारकार्यमा धेरैभन्दा धेरै समय बिताउने व्यक्‍ति हो। यहोवाका साक्षीहरू सबैले सुसमाचार प्रचार गर्छन्‌। तर कोही-कोहीले भने जीवनमा छाँटकाँट गरेर हरेक महिना प्रचारकार्यमा ७० घण्टा बिताउँछन्‌। तिनीहरूलाई नियमित अग्रगामी भनिन्छ। प्रचारकार्यमा धेरै समय बिताउन तिनीहरू थोरै समय मात्र काम गरे पुग्ने जागिर खान्छन्‌। कोही-कोहीलाई भने राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न विशेष अग्रगामी-को रूपमा नियुक्‍त गरिन्छ। तिनीहरू हरेक महिना १३० घण्टा वा त्योभन्दा धेरै समय प्रचारकार्यमा बिताउँछन्‌। यहोवाले आफ्ना आवश्‍यकताहरू पूरा गरिदिनुहुनेछ भनेर विश्‍वस्त हुँदै तिनीहरू सरल जीवन बिताउँछन्‌। (मत्ति ६:३१-३३; १ तिमोथि ६:६-८) तर यसरी प्रचारकार्यमा धेरै समय बिताउन नसक्नेहरूले पनि परिस्थितिले दिएको बेला महिनाको ३० वा ५० घण्टा प्रचारकार्यमा बिताउँछन्‌। तिनीहरूलाई सहायक अग्रगामी भनिन्छ।

      अग्रगामीहरू परमेश्‍वर र मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित भएर सेवा गर्छन्‌। येसुले जस्तै आज हामी पनि आफू वरपरका मानिसहरूले परमेश्‍वर र उहाँको उद्देश्‍यबारे जान्‍नु एकदमै जरुरी छ भन्‍ने महसुस गर्छौँ। (मर्कुस ६:३४) हामीसँग भएको ज्ञानले तिनीहरूलाई अहिल्यै मदत गर्नुका साथै भविष्यको लागि पक्का आशा पनि दिन्छ। अग्रगामीहरू छिमेकीप्रतिको प्रेमले उत्प्रेरित भई अरूलाई सुसमाचार सुनाउन आफ्नो समय र शक्‍ति खर्च गर्छन्‌। (मत्ति २२:३९; १ थिस्सलोनिकी २:८) यसो गर्दा अग्रगामीहरूको विश्‍वास बलियो हुन्छ, तिनीहरू यहोवासित घनिष्ठ हुन्छन्‌ र अझ आनन्दित हुन सक्छन्‌।—प्रेषित २०:३५.

      • अग्रगामी कसलाई भनिन्छ?

      • अग्रगामी सेवा गर्न कसै-कसैलाई केले उत्प्रेरित गर्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने