प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ १४

      अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

      पूर्ण-समय सेवकहरू सार्वजनिक प्रचारकार्यमा

      अमेरिका

      गिलियड स्कुलका विद्यार्थीहरू
      विद्यार्थीहरू मिसनरी सेवाको लागि तयारी गर्दै

      गिलियड स्कुल, प्याटर्सन, न्यु योर्क

      एउटा मिसनरी दम्पती पानामामा प्रचार गर्दै

      पानामा

      यहोवाको सङ्‌गठनले ईश्‍वरतान्त्रिक शिक्षा दिँदै आएको वर्षौँ भइसक्यो। पूर्ण-समय प्रचार गर्नेहरूको लागि विशेष तालिमको प्रबन्ध गरिन्छ। यस तालिमले तिनीहरूलाई “सेवाको काम राम्ररी पूरा” गर्न मदत गर्छ।—२ तिमोथि ४:५.

      अग्रगामी सेवा स्कुल। नियमित अग्रगामीको रूपमा सेवा गरेको पहिलो वर्ष बितेपछि अग्रगामीहरूलाई छ दिने तालिम दिइन्छ। यो तालिम नजिकैको राज्यभवनमा दिइन्छ। यस तालिमको उद्देश्‍य अग्रगामीहरूलाई यहोवासितको सम्बन्ध अझै बलियो बनाउन, प्रचारकार्यको विभिन्‍न पक्षमा अझै सिपालु हुन र यहोवाको सेवामा जोसका साथ लागिरहन मदत गर्नु हो।

      राज्य प्रचारकहरूका लागि स्कुल। यो तालिम दुई महिनाको हुन्छ। आत्मत्यागी मनोभाव देखाउँदै आवश्‍यकता बढी भएको ठाउँमा जान इच्छुक अनुभवी अग्रगामीहरूको लागि यो तालिमको प्रबन्ध गरिएको हो। तिनीहरूले सबैभन्दा महान्‌ प्रचारक येसु ख्रिष्टको अनुकरण गर्दै “म हाजिर छु। मलाई पठाउनुहोस्‌” भनिरहेका हुन्छन्‌। (यसैया ६:८; युहन्‍ना ७:२९) आफ्नो घर छोडेर टाढा बस्दा सरल जीवन बिताउनुपर्ने हुन सक्छ। नयाँ ठाउँको रहनसहन, हावा-पानी र खाना आफूलाई बानी परेको भन्दा बिलकुलै फरक हुन सक्छ। नयाँ भाषासमेत सिक्नुपर्ने हुन सक्छ। अविवाहित भाइ, बहिनी वा विवाहित जोडी, जो २३ देखि ६५ वर्षबीचका छन्‌, तिनीहरूले यस तालिममा भाग लिन सक्छन्‌। यस तालिमले आफ्नो जिम्मेवारी पूरा गर्न चाहिने आध्यात्मिक गुणहरू खेती गर्न अनि यहोवा र उहाँको सङ्‌गठनको लागि अझै उपयोगी हुने सीपहरू विकास गर्न मदत गर्छ।

      गिलियड स्कुल। हिब्रू भाषामा “गिलियड” शब्दको अर्थ हो, “साक्षीको थुप्रो।” सन्‌ १९४३ मा गिलियड स्कुल सुरु भएदेखि यसबाट तालिमप्राप्त ८ हजारभन्दा धेरै प्रचारकहरू मिसनरीको रूपमा “पृथ्वीको कुनाकुनासम्म” पठाइएका छन्‌ र तिनीहरूले निकै सफलता हासिल गरेका छन्‌। (प्रेषित १३:४७) पेरूमा मिसनरीहरू आउनुअघि एउटा पनि मण्डली थिएन। तर अहिले त्यहाँ एक हजारभन्दा धेरै मण्डली छन्‌। जापानमा मिसनरीहरूले सेवा गर्न थाल्दा त्यहाँ यहोवाका साक्षीहरू दस जना पनि थिएनन्‌। अहिले त्यहाँ २ लाखभन्दा धेरै यहोवाका साक्षीहरू छन्‌। गिलियड स्कुलमा पाँच महिनासम्म बाइबलको गहिरो अध्ययन गरिन्छ। विशेष अग्रगामी, मिसनरी, शाखा कार्यालयमा सेवा गर्नेहरू र क्षेत्रीय निरीक्षकहरूलाई यस स्कुलमा भाग लिन निम्तो दिइन्छ। यसबाट तिनीहरूले संसारभरि भइरहेको ईश्‍वरतान्त्रिक गतिविधिलाई टेवा पुऱ्‍याउन चाहिने विस्तृत तालिम पाउँछन्‌।

      • अग्रगामी सेवा स्कुलको उद्देश्‍य के हो?

      • राज्य प्रचारकहरूका लागि स्कुलबाट क-कसले तालिम पाउन सक्छन्‌?

  • एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ १५

      एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?

      एक जना एल्डर मण्डलीका सदस्यहरूसित कुराकानी गर्दै

      फिनल्याण्ड

      एक जना एल्डर मण्डलीमा सिकाउँदै

      सिकाउँदै

      एल्डरहरू मण्डलीका सदस्यहरूलाई प्रोत्साहन दिँदै

      गोठालो भेट गर्दै

      एक जना एल्डर प्रचारकार्यमा भाग लिँदै

      प्रचार गर्दै

      हाम्रो सङ्‌गठनमा तलब लिएर सेवा गर्ने पास्टरहरू छैनन्‌। तर सुरु-सुरुका ख्रिष्टियन मण्डलीमा जस्तै ‘परमेश्‍वरको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न’ योग्य निरीक्षकहरू नियुक्‍त गरिएका छन्‌। (प्रेषित २०:२८) यी निरीक्षकहरू अर्थात्‌ एल्डरहरू परमेश्‍वरसित बलियो सम्बन्ध गाँसेका परिपक्व पुरुषहरू हुन्‌। यिनीहरू “करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा धन कमाउने लोभले होइन तर तत्परतासाथ” मण्डलीमा नेतृत्व लिन्छन्‌ र गोठालोले झैँ सेवा गर्छन्‌। (१ पत्रुस ५:१-३) एल्डरहरूले हाम्रो लागि के-के गर्छन्‌?

      हाम्रो ख्याल राख्छन्‌ र सुरक्षा गर्छन्‌। एल्डरहरूले बाइबलबाट निर्देशन दिन्छन्‌ अनि मण्डलीलाई यहोवासित घनिष्ठ रहिरहन मदत गर्छन्‌। यहोवाले सुम्पनुभएको यस जिम्मेवारीलाई एल्डरहरू गम्भीरतापूर्वक लिन्छन्‌। त्यसैले तिनीहरू हामीमाथि हैकम जमाउन खोज्दैनन्‌, बरु हाम्रो हित हुने र हामीलाई आनन्द दिने कुरामा ध्यान दिन्छन्‌। (२ कोरिन्थी १:२४) गोठालोले आफ्नो एक-एक भेडाको ख्याल राख्न निकै मेहनत गरेजस्तै एल्डरहरू पनि मण्डलीका एक-एक सदस्यलाई राम्ररी चिन्‍ने प्रयास गर्छन्‌।—हितोपदेश २७:२३.

      हामीलाई परमेश्‍वरको इच्छाअनुसार चल्न सिकाउँछन्‌। हाम्रो विश्‍वासलाई बलियो बनाउन एल्डरहरू हरेक हप्ता मण्डलीका सभाहरूमा नेतृत्व लिन्छन्‌। (प्रेषित १५:३२) यी विश्‍वासी पुरुषहरू प्रचारकार्यमा पनि नेतृत्व लिन्छन्‌। प्रचारकार्यको विभिन्‍न पक्षमा तिनीहरू हामीसँगसँगै भाग लिन्छन्‌ र हामीलाई तालिम दिन्छन्‌।

      हामीलाई व्यक्‍तिगत तवरमा प्रोत्साहन दिन्छन्‌। यहोवासितको हाम्रो सम्बन्धलाई अझ घनिष्ठ बनाउन एल्डरहरू निकै प्रयास गर्छन्‌। हामीलाई राज्यभवनमा भेटेर वा हाम्रो घरमै आएर तिनीहरू हामीलाई बाइबलबाट मदत र सान्त्वना दिन्छन्‌।—याकुब ५:१४, १५.

      धेरैजसो एल्डरले मण्डलीको कामकुरामा मात्र नभई जागिरमा र पारिवारिक दायित्व पूरा गर्नमा पनि आफ्नो समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ। त्यसैले यी मेहनती एल्डरहरू हाम्रो आदर पाउन योग्य छन्‌।—१ थिस्सलोनिकी ५:१२, १३.

      • मण्डलीका एल्डरहरूले हाम्रो लागि के-के गर्छन्‌?

      • एल्डरहरूले कसरी हामी प्रत्येकलाई चासो देखाउँछन्‌?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      एल्डरको रूपमा सेवा गर्न को योग्य हुन सक्छन्‌? एल्डर अथवा सहायक सेवक हुन चाहिने योग्यताबारे बाइबल के भन्छ, त्यो थाह पाउन १ तिमोथि ३:१-१०, १२ र तितस १:५-९ हेर्नुहोस्‌।

  • सहायक सेवकहरूले के-के गर्छन्‌?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ १६

      सहायक सेवकहरूले के-के गर्छन्‌?

      एक जना सहायक सेवक साहित्य वितरणमा मदत गर्दै

      म्यानमार

      एक जना सहायक सेवक बाइबलआधारित भाषण दिँदै

      मण्डलीको सभा सञ्चालन गर्दै

      एक जना सहायक सेवक क्षेत्र सेवाको सभा सञ्चालन गर्दै

      क्षेत्र सेवाको सभा सञ्चालन गर्दै

      एक जना सहायक सेवक राज्यभवनको स्याहारसम्भारमा मदत गर्दै

      राज्यभवनको सरसफाइमा भाग लिँदै

      मण्डलीका जिम्मेवारीहरू सम्हाल्ने ख्रिष्टियन पुरुषहरूका दुइटा समूहबारे बाइबलमा बताइएको छ। ती हुन्‌: “निरीक्षकहरू र सहायक सेवकहरू।” (फिलिप्पी १:१) साधारणतया हरेक मण्डलीमा एल्डर र सहायक सेवकको रूपमा सेवा गर्ने पुरुषहरू हुन्छन्‌। सहायक सेवकहरूले हाम्रो हितको लागि के-के गर्छन्‌?

      तिनीहरूले एल्डरहरूको निकायलाई सहयोग गर्छन्‌। सहायक सेवकहरू भरोसायोग्य र लगनशील पुरुषहरू हुन्‌, जसले यहोवासित बलियो सम्बन्ध गाँसेका हुन्छन्‌। तिनीहरू जवान या वृद्ध, जुनसुकै उमेरका हुन सक्छन्‌। सहायक सेवकहरूले मण्डलीलाई सुव्यवस्थित राख्न नियमित रूपमा गर्नुपर्ने थुप्रै महत्त्वपूर्ण काम गर्छन्‌। यसमा शारीरिक बल प्रयोग गर्नुपर्ने कामहरू पनि पर्छन्‌। यसले गर्दा एल्डरहरूले मण्डलीलाई सिकाउने र गोठालोले झैँ हेरविचार गर्ने काममा आफ्नो ध्यान लगाउन सक्छन्‌।

      तिनीहरूले सबैका लागि उपयोगी कामहरू गर्छन्‌। कुनै-कुनै सहायक सेवकलाई परिचारकको काम गर्न खटाइन्छ। तिनीहरू सभामा आउनेहरूलाई स्वागत गर्छन्‌। कोही-कोहीले भने सभामा प्रयोग गरिने ध्वनि उपकरणहरू मिलाउने, साहित्य वितरण गर्ने, मण्डलीको खर्च र अनुदानको हिसाब राख्ने अनि मण्डलीका सदस्यहरूको लागि प्रचार गर्ने इलाकाको प्रबन्ध मिलाउने काम गर्छन्‌। सहायक सेवकहरूले राज्यभवनको स्याहारसम्भारमा पनि सहयोग गर्छन्‌। मण्डलीका वृद्ध दाजुभाइ दिदीबहिनीलाई सघाउन एल्डरहरूले सहायक सेवकलाई खटाउन सक्छन्‌। जस्तोसुकै जिम्मेवारी पाए पनि सहायक सेवकहरू खुसीसाथ त्यो पूरा गर्छन्‌। त्यसैले तिनीहरू सबैको आदर पाउन योग्य छन्‌।—१ तिमोथि ३:१३.

      तिनीहरूले ख्रिष्टियन पुरुषको रूपमा असल उदाहरण बसाल्छन्‌। सहायक सेवकहरूले असल ख्रिष्टियन गुणहरू देखाएर राम्रो उदाहरण बसालेका हुन्छन्‌। तिनीहरूले सभामा प्रस्तुत गर्ने भागले हाम्रो विश्‍वास बलियो बनाउँछ। प्रचारकार्यमा नेतृत्व लिएर तिनीहरू हामीलाई पनि प्रचारकार्यमा अझ जोसिलो हुन जुरमुऱ्‍याउँछन्‌। तिनीहरूले एल्डरहरूको निकायसित मिलेर काम गर्ने भएकोले मण्डलीमा एकता र आनन्द छाउँछ। (एफिसी ४:१६) समयको दौडान तिनीहरू पनि एल्डरको रूपमा सेवा गर्न योग्य हुन सक्छन्‌।

      • कस्ता पुरुषहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुन्छन्‌?

      • मण्डलीका सबै काम सुचारु रूपले चलाउन सहायक सेवकहरूले कसरी मदत गर्छन्‌?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      हरेक पटक राज्यभवन जाँदा कुनै एक जना एल्डर वा सहायक सेवकसित चिनजान गर्नुहोस्‌। यसरी मण्डलीका सम्पूर्ण एल्डर, सहायक सेवक र तिनीहरूको परिवारलाई राम्ररी चिन्दै जानुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने