प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • राज्यभवनको स्याहारसम्भार गर्न हामी कसरी सघाउन सक्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ २६

      राज्यभवनको स्याहारसम्भार गर्न हामी कसरी सघाउन सक्छौँ?

      इस्टोनियाका यहोवाका साक्षीहरू राज्यभवन सफा गर्दै

      इस्टोनिया

      जिम्बावेका यहोवाका साक्षीहरू राज्यभवन सफा गर्दै

      जिम्बावे

      मंगोलियाका एक जना यहोवाको साक्षी राज्यभवनको मर्मतसम्भार गर्दै

      मंगोलिया

      पोर्टो रिकोका एक जना यहोवाको साक्षी राज्यभवनमा रङ्‌ग लगाउँदै

      पोर्टो रिको

      यहोवाका साक्षीहरूको प्रत्येक राज्यभवनले परमेश्‍वरको पवित्र नाम वहन गर्छ। त्यसकारण राज्यभवनलाई सफा, चिटिक्क राख्न अनि यसको मर्मतकार्यमा भाग लिन पाउनुलाई हामी ठूलो सम्मान र आफूले चढाउने पवित्र सेवाको महत्त्वपूर्ण भाग ठान्छौँ। यसमा सबैले भाग लिन सक्छन्‌।

      सभापछि सरसफाइ गर्न अग्रसर हुनुहोस्‌। राज्यभवनलाई सफासुग्घर राख्न हरेक सभापछि भाइबहिनीहरू खुसीसाथ राज्यभवनको हल्का सरसफाइ गर्छन्‌। साथै हप्ताको एक चोटि अझ राम्ररी सरसफाइ गरिन्छ। सरसफाइ गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूचीअनुसार मण्डलीका कुनै एक जना एल्डर वा सहायक सेवकले सम्पूर्ण कामको संयोजन गर्छन्‌। आवश्‍यकताअनुसार राज्यभवनको भित्र र बाहिर सरसफाइ गर्न सबैले भाग लिन्छन्‌। जस्तै: कुचो लगाउने, पुछपाछ गर्ने, कुर्सी मिलाउने, शौचालयलाई सफा र कीटाणुमुक्‍त बनाउने, सिसाहरू सफा गर्ने, फोहोरलाई ठीक ठाउँमा फाल्ने अथवा राज्यभवनको बाहिर र वरिपरि सफा गर्ने। राज्यभवनको बृहत्‌ सरसफाइ गर्न कम्तीमा वर्षको एक दिन छुट्ट्याइन्छ। आफ्ना छोराछोरीसित सँगै मिलेर सरसफाइमा भाग लिँदा हामीले उनीहरूलाई उपासनास्थलप्रति आदर देखाउन सिकाइरहेका हुन्छौँ।—उपदेशक ५:१.

      मर्मतकार्यमा सघाउनुहोस्‌। राज्यभवनको भित्र-बाहिरको अवस्था कस्तो छ भनेर वर्षको एक चोटि विस्तृत रूपमा निरीक्षण गरिन्छ। यसरी निरीक्षण गरिसकेपछि नियमित रूपमा स्याहारसम्भार गरिन्छ, जसले गर्दा पछि अनावश्‍यक खर्च बेहोर्नु पर्दैन। (२ इतिहास २४:१३; ३४:१०) स्याहारसम्भार गरेर चिटिक्क राखिएको राज्यभवन परमेश्‍वरको उपासना गर्नको लागि उपयुक्‍त ठाउँ हो। यस काममा भाग लिएर हामी यहोवालाई कत्ति प्रेम गर्छौँ अनि आफ्नो उपासनास्थललाई कत्ति प्यारो ठान्छौँ भनेर देखाउँछौँ। (भजन १२२:१) अनि यसले टोल-छिमेकमा पनि राम्रो प्रभाव पार्छ।—२ कोरिन्थी ६:३.

      • हामीले आफ्नो उपासनास्थललाई किन हेलचेक्य्राइँ गर्नु हुँदैन?

      • राज्यभवनलाई सफा राख्न कस्तो प्रबन्ध मिलाइएको हुन्छ?

  • राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ २७

      राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?

      एक जना मानिस राज्यभवनको पुस्तकालय प्रयोग गर्दै

      इजरायल

      एक जना यहोवाको साक्षी अर्को युवालाई अनुसन्धान गर्न मदत गर्दै

      चेक गणतन्त्र

      एउटी केटी गीति-पुस्तकमा आफ्नो नाम लेख्दै

      बेनिन

      एक जना मानिस वाचटावर लाइब्रेरी प्रयोग गर्दै

      केमन टापु

      के तपाईँ बाइबलबारे अझ धेरै ज्ञान हासिल गर्नका लागि थप अनुसन्धान गर्न चाहनुहुन्छ? बाइबलको कुनै खास पद, ठाउँ, मानिस वा विवरणबारे अझ धेरै जान्‍न चाहनुहुन्छ कि? अथवा आफ्नो कुनै चिन्ताको विषयमा परमेश्‍वरको वचनबाट मदत पाइन्छ कि भनेर पो सोचिरहनुभएको छ कि? त्यसोभए एकचोटि हाम्रो राज्यभवनको पुस्तकालयमा गएर त्यसबारे अनुसन्धान गर्नुभए कसो होला?

      त्यहाँ उपयोगी अनुसन्धान-सामग्री थुप्रै छन्‌। यहोवाका साक्षीहरूले तपाईँको भाषामा निकालेका सबै बाइबलआधारित प्रकाशन तपाईँसँग छैन होला। तर तपाईँसँग नभएका थुप्रै प्रकाशन राज्यभवनको पुस्तकालयमा छन्‌। त्यहाँ बाइबलका विभिन्‍न अनुवाद, राम्रो शब्दकोश र अन्य उपयोगी सन्दर्भ-सामग्रीहरू हुन सक्छन्‌। सभाअघि र पछि तपाईँ राज्यभवनको पुस्तकालय प्रयोग गर्न सक्नुहुन्छ। यदि त्यहाँ कम्प्युटर छ भने त्यसमा वाचटावर लाइब्रेरी भनिने कम्प्युटर प्रोग्राम पनि राखिएको हुन सक्छ। त्यो प्रयोग गरेर हाम्रा थुप्रै प्रकाशन सजिलैसित खोल्न अनि विभिन्‍न विषय, शब्द वा बाइबलको पदबारे अनुसन्धान गर्न सक्नुहुन्छ।

      जीवन र प्रचारकार्य सभामा भाग लिने विद्यार्थीहरूको लागि यो उपयोगी हुन्छ। आफूले प्रस्तुत गर्नुपर्ने भागको तयारी गर्न यो पुस्तकालय निकै उपयोगी हुन सक्छ। जीवन र प्रचारकार्य सभाको निरीक्षकले पुस्तकालयको रेखदेख गर्छन्‌। त्यहाँ हालै प्रकाशित सामग्रीहरू छन्‌ कि छैनन्‌ र ती व्यवस्थित तरिकाले राखिएका छन्‌ कि छैनन्‌ भनेर हेर्ने जिम्मा पनि तिनकै हो। आफूलाई चाहिएको जानकारी कसरी फेला पार्ने भनेर जीवन र प्रचारकार्य सभाको निरीक्षक वा तपाईँको बाइबल अध्ययन सञ्चालकले सिकाइदिन सक्छन्‌। तर कुनै पनि किताब राज्यभवनबाहिर लैजान पाइँदैन। साथै त्यहाँ भएका किताबहरूको जतन गर्नुपर्छ र त्यसमा लेख्न वा चिन्ह लगाउन मिल्दैन।

      ‘यहोवाको ज्ञान’ पाउन चाहन्छौँ भने त्यसलाई “गाडेको धन”-लाई झैँ खोज्न हामी इच्छुक हुनुपर्छ भनेर बाइबल बताउँछ। (हितोपदेश २:१-५) त्यस्तो खोज सुरु गर्न राज्यभवनमा भएको पुस्तकालयले तपाईँलाई मदत गर्नेछ।

      • राज्यभवनको पुस्तकालयमा कस्ता अनुसन्धान-सामग्री उपलब्ध हुन्छन्‌?

      • पुस्तकालयबाट पूरापूर लाभ उठाउन तपाईँलाई कसले मदत गर्न सक्छ?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      तपाईँ आफ्नै घरमा एउटा सानो पुस्तकालय बनाउन चाहनुहुन्छ भने मण्डलीको साहित्य विभागमा के-के उपलब्ध छन्‌, हेर्नुहोस्‌। सुरुमा कुन-कुन पुस्तक वा पुस्तिका लिँदा राम्रो हुन्छ भनेर आफ्नो बाइबल अध्ययन सञ्चालकलाई सोध्न सक्नुहुन्छ।

  • हाम्रो वेबसाइटमा कस्ता जानकारी पाउन सकिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ २८

      हाम्रो वेबसाइटमा कस्ता जानकारी पाउन सकिन्छ?

      एउटी महिला ल्याप्टपमा अनुसन्धान गर्दै

      फ्रान्स

      एउटा परिवार कम्प्युटर चलाउँदै

      पोल्याण्ड

      एउटी महिला अनलाइनमा साङ्‌केतिक भाषाको भिडियो हेर्दै

      रूस

      येसु ख्रिष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।” (मत्ति ५:१६) मानिसहरूसामु आफ्नो ज्योति चम्काउने उद्देश्‍यले इन्टरनेटजस्तो आधुनिक प्रविधि पनि हामी प्रयोग गर्दै छौँ। हाम्रो सङ्‌गठनको आधिकारिक वेबसाइट jw.org हो। यसमा यहोवाका साक्षीहरू के-के विश्‍वास गर्छन्‌ र तिनीहरू के-के गर्छन्‌ भनेर अनलाइन पढ्‌न सक्नुहुन्छ। यस वेबसाइटमा अरू कस्ता कुराहरू पाउन सक्नुहुन्छ?

      मानिसहरूले साधारणतया सोध्ने प्रश्‍नको बाइबलआधारित जवाफ। मानिसहरूले साधारणतया सोध्ने केही महत्त्वपूर्ण प्रश्‍नका जवाफ हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ। उदाहरणका लागि, कहिल्यै दुःखकष्टको अन्त होला? के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌? जस्ता पर्चाहरू इन्टरनेटमा ९०० भन्दा धेरै भाषामा उपलब्ध छन्‌। यस वेबसाइटमा नयाँ संसार अनुवाद बाइबल १६० भन्दा धेरै भाषामा उपलब्ध छ अनि बाइबल अध्ययन गर्न प्रयोग गरिने बाइबलले हामीलाई के सिकाउँछ? जस्ता किताबहरू पनि उपलब्ध छन्‌। साथै प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का हालैका अङ्‌कहरू पनि उपलब्ध छन्‌। यहाँ उल्लेख गरिएका सामग्रीमध्ये थुप्रै अनलाइन पढ्‌न वा सुन्‍न सक्नुहुन्छ। साथै विभिन्‍न फर्म्याटमाa डाउनलोड पनि गर्न सक्नुहुन्छ। बाइबलको कुरामा चासो देखाउने व्यक्‍तिलाई तिनकै भाषामा केही पाना छापेर दिन पनि सक्नुहुन्छ। दर्जनौँ साङ्‌केतिक भाषाका भिडियो पनि उपलब्ध छन्‌। फुर्सदको समयमा सुन्‍नको लागि बाइबलमा आधारित श्रव्य नाटक, बाइबल नाटक र सुमधुर गीत तथा धुनहरू पनि डाउनलोड गर्न सक्नुहुन्छ।

      यहोवाका साक्षीहरूसित सम्बन्धित सही जानकारी। हाम्रो वेबसाइटमा यहोवाका साक्षीहरूसित सम्बन्धित घटना, हाम्रो विश्‍वव्यापी कार्य, सामाजिक योगदान र मानवअधिकारको रक्षा गर्न हामीले लडेका मुद्दाहरूबारे ताजा जानकारी र भिडियोहरू पाउन सकिन्छ। आउँदा अधिवेशनहरूको जानकारीका साथै हाम्रा शाखा कार्यालयहरूको ठेगाना पनि पाउन सकिन्छ।

      यस्ता माध्यमहरू प्रयोग गरेर हामीले पृथ्वीको कुनाकुनासम्म सत्यको ज्योति चम्काइरहेका छौँ। सबै महादेशका मानिसहरूले यस्तो प्रबन्धबाट लाभ उठाइरहेका छन्‌। यस सुविधाबाट अन्टार्कटिका महादेशका मानिसहरूसमेत वञ्चित छैनन्‌। पृथ्वीभरि “यहोवा परमेश्‍वरको वचन द्रुत गतिमा फैलिँदै जाओस्‌” र यसले उहाँको महिमा गरोस्‌ भनेर हामी प्रार्थना गर्छौँ।—२ थिस्सलोनिकी ३:१.

      • हाम्रो वेबसाइटले कसरी अझ धेरै मानिसलाई बाइबलको सत्य सिक्न मदत गरिरहेको छ?

      • हाम्रो वेबसाइटमा तपाईँ के हेर्न चाहनुहुन्छ?

      a MP3, PDF, EPUB

      सावधान हुनुपर्ने कुरा:

      कुनै-कुनै वेबसाइटमा हाम्रा विरोधीहरूले हामीबारे झूटो जानकारी राखेका छन्‌। तिनीहरूको उद्देश्‍य मानिसहरूलाई यहोवादेखि टाढा लैजानु हो। हामीले त्यस्ता वेबसाइटहरू हेर्नु हुँदैन।—भजन १:१; २६:४; रोमी १६:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने