प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ६/१ पृ. २८-३२
  • आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ख्रीष्टियान सङ्‌गतिमार्फत स्फूर्ति पाउनुहोस्‌
  • सेवकाईले स्फूर्ति दिन्छ
  • पारिवारिक उपासनाले स्फूर्ति दिन्छ
  • तपाईंलाई दबाउन सक्ने कुराबाट जोगिनुहोस्‌
  • “मेरो जुवा तिमी आफैले बोक”
    हाम्रो राज्य सेवकाई—२००८
  • “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ६/१ पृ. २८-३२

आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्‌

“मेरो जुवा तिमी आफैले बोक, . . . अनि तिमीहरूले आफ्ना-आफ्ना आत्मामा विश्राम अर्थात्‌ स्फूर्ति पाउनेछौ।”—मत्ती ११:२९.

१. सीनै पर्वतमा परमेश्‍वरले के-कस्तो प्रबन्ध गर्नुभयो र किन?

सीनै पर्वतमा व्यवस्थाको करार दिंदा त्यसमा साप्ताहिक विश्राम दिन मान्‍ने प्रबन्ध समावेश थियो। यहोवाले आफ्नो प्रवक्‍ता मोशामार्फत इस्राएल राष्ट्रलाई यस्तो आज्ञा दिनुभयो: “छ दिनसम्म आफ्नो कामकाज गर औ सातौं दिनमा चाहिं विश्राम लेऊ, र तिमीहरूको गोरु र गधाले पनि विश्राम पाऊन्‌।” (प्रस्थ. २३:१२) हो, व्यवस्थाको अधीनमा रहनेहरूप्रति विचारशील भएर यहोवाले आफ्ना जनले “विश्राम” अर्थात्‌ स्फूर्ति पाऊन्‌ भनेर विश्राम गर्ने दिनको मायालु प्रबन्ध गर्नुभयो।

२. विश्राम दिन पालन गरेर इस्राएलीहरूले कसरी लाभ उठाए?

२ के विश्राम दिन आराम गर्नको लागि मात्र थियो? थिएन। इस्राएलीहरूका लागि यहोवाको उपासनामा त्यो एउटा अत्यावश्‍यक भाग थियो। विश्राम दिन पालन गरिरहेर परिवारको शिरले आफ्नो परिवारलाई “परमप्रभुको मार्ग पालन गर्नलाई” सिकाउने समय पाउँथ्यो। (उत्प. १८:१९) यसले परिवार र साथीहरूसँगै यहोवाका कार्यहरूमा गहिरिएर सोच्ने र आनन्ददायी सङ्‌गति गर्ने मौका पनि दिन्थ्यो। (यशै. ५८:१३, १४) अझै महत्त्वपूर्ण कुरा त विश्राम दिनले ख्रीष्टको हजार वर्षीय राज्यमा पाइने साँचो स्फूर्तिको समयलाई भविष्यसूचक रूपमा संकेत गर्थ्यो। (रोमी ८:२१) तर हाम्रो समयबारे चाहिं के भन्‍न सकिन्छ? यहोवाको मार्गप्रति चासो राख्ने साँचो ख्रीष्टियानहरूले कहाँ र कसरी त्यस्तो स्फूर्ति पाउन सक्छन्‌?

ख्रीष्टियान सङ्‌गतिमार्फत स्फूर्ति पाउनुहोस्‌

३. प्रथम शताब्दीका ख्रीष्टियानहरूले कुन तरिकामा एक-अर्कालाई सहायता गरे र परिणाम कस्तो भयो?

३ प्रेरित पावलले ख्रीष्टियान मण्डलीलाई “सत्यको खामा र जग” भने। (१ तिमो. ३:१५) प्रथम शताब्दीका ख्रीष्टियानहरूले एक-अर्कालाई प्रोत्साहन दिएर अनि प्रेममा बढ्‌दै गएर धेरै सहायता पाए। (एफि. ४:११, १२, १६) एफिससमा हुँदा पावलले कोरिन्थ मण्डलीका भाइबहिनीलाई भेटेर प्रोत्साहन पाए। यसले पारेको प्रभाव याद गर्नुहोस्‌। पावलले भने: “स्तिफनस, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्द गर्दछु, . . . तिनीहरूले मेरो . . . आत्मालाई आराम अर्थात्‌ स्फूर्ति दिए।” (१ कोरि. १६:१७, १८) त्यस्तैगरि तीतस कोरिन्थका भाइहरूलाई सहायता गर्न जाँदा पावलले उक्‍त मण्डलीलाई यसो भन्दै फेरि पत्र लेखे: “तिनको आत्मालाई तिमीहरू सबैबाट आराम मिलेको छ।” (२ कोरि. ७:१३) त्यसैगरि अहिले पनि यहोवाका साक्षीहरूले उत्थानदायी ख्रीष्टियान सङ्‌गतिबाट साँचो स्फूर्ति पाउँछन्‌।

४. ख्रीष्टियान सभाहरूले हामीलाई कसरी स्फूर्ति दिन्छ?

४ मण्डलीका सभाहरू ठूलो आनन्दको स्रोत हो भनेर तपाईंले अनुभव गर्नुभएको छ। मण्डलीमा “विश्‍वासबाट हामी प्रत्येकले आपसमा, . . . सान्त्वना” पाउँछौं। (रोमी १:१२) हाम्रा ख्रीष्टियान भाइबहिनी चिनेजानेका व्यक्‍तिहरू मात्र होइनन्‌। तिनीहरू माया र आदर गर्ने साँचो मित्र हुन्‌। सभाहरूमा तिनीहरूसित नियमित भेला हुँदा हामी असीम आनन्द र सान्त्वना पाउँछौं।—फिले. ७.

५. अधिवेशन तथा सम्मेलनहरूमा हामी कसरी एक-अर्कालाई स्फूर्ति दिन सक्छौं?

५ स्फूर्तिको अर्को स्रोत वर्षेनी हुने अधिवेशन तथा सम्मेलनहरू हुन्‌। परमेश्‍वरको वचन बाइबलबाट सत्यको जीवनदायी पानी दिनुबाहेक यी ठूला जमघटले हाम्रो सङ्‌गतिमा “ठूलो मन”-को हुने मौका दिन्छ। (२ कोरि. ६:१२, १३) तर हामी लजालु स्वभावका छौं र मान्छेहरूसित घुलमिल गर्न अप्ठ्यारो मान्छौं भने नि? भाइबहिनीसित परिचित हुने एउटा तरिका अधिवेशनमा मदत गर्नु हो। एउटी बहिनीले अन्तर्राष्ट्रिय अधिवेशनमा मदत गरिन्‌ र सरसफाइमा पनि सघाइन्‌। त्यसपछि उनले यस्तो टिप्पणी गरिन्‌: “मेरो परिवार र केही साथीबाहेक त्यहाँ अपरिचितहरू धेरै थिए। तर सरसफाइमा मदत गर्दा मैले थुप्रै भाइबहिनीलाई भेटें। एकदमै रमाइलो लाग्यो।”

६. छुट्टी मनाउँदा हामीले कुन तरिकामा स्फूर्ति पाउन सक्छौं?

६ उपासनाको लागि हरेक वर्ष तीनवटा चाड मनाउन इस्राएलीहरू यरूशलेम जान्थे। (प्रस्थ. ३४:२३) त्यसको मतलब प्रायः खेती छोड्‌नु, पसलहरू बन्द गर्नु र केही दिन धुलाम्मे बाटोमा पैदल हिंड्‌नु पर्थ्यो। तैपनि मन्दिरमा पुग्दा उपस्थित सबैले ‘परमप्रभुको प्रशंसा गरिरहेका’ देखेर तिनीहरूलाई “ठूलो रमाहट” महसुस हुन्थ्यो। (२ इति. ३०:२१) त्यस्तैगरि अहिले पनि यहोवाका थुप्रै सेवकलाई आफ्नो परिवारसँगै बेथेल अर्थात्‌ यहोवाका साक्षीहरूको नजिकैको शाखा कार्यालय घुम्न जाँदा ठूलो रमाहट महसुस हुन्छ। के तपाईं आउँदो छुट्टीमा घुम्न जाने त्यस्तो योजना बनाउन सक्नुहुन्छ?

७. (क) सामाजिक जमघट कसरी लाभदायक हुन सक्छ? (ख) जमघटलाई यादगार र उत्थानदायी बनाउन केले मदत गर्न सक्छ?

७ परिवार र साथीहरूसित मिलेर सामाजिक जमघटहरू गर्नु पनि प्रोत्साहनदायी हुन सक्छ। बुद्धिमान्‌ राजा सुलेमानले भने: “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज मजा गर्नुभन्दा अरू बढी केही छैन।” (उप. २:२४) सामाजिक जमघट गर्दा स्फूर्ति मिल्ने मात्र होइन तर सँगी ख्रीष्टियानलाई अझ राम्रोसित चिन्‍न सकिने भएकोले हाम्रो प्रेमको बन्धन पनि झनै बलियो हुन्छ। सामाजिक जमघटलाई यादगार र उत्थानदायी बनाउन त्यसलाई सानो बनाउनु र विशेषगरि यदि रक्सी दिइन्छ भने राम्रोसँग रेखदेख गर्नुपर्छ।

सेवकाईले स्फूर्ति दिन्छ

८, ९. (क) येशूको सन्देश र शास्त्री अनि फरिसीहरूको सन्देशबीचको भिन्‍नता बताउनुहोस्‌। (ख) बाइबल सत्य बाँडेर हामी कसरी लाभ उठाउँछौं?

८ येशू सेवकाईमा जोसिलो हुनुहुन्थ्यो र आफ्ना चेलाहरूलाई पनि त्यस्तै हुन प्रोत्साहन दिनुभयो। यो कुरा उहाँका यी शब्दहरूबाट स्पष्ट हुन्छ: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) येशूले सिकाएको सन्देश स्फूर्तिदायी थियो; त्यो “सुसमाचार” थियो। (मत्ती ४:२३; २४:१४) फरिसीहरूले मानिसहरूमाथि थोपरेका बोझिला नियमहरूभन्दा त्यो सन्देश धेरै फरक थियो।— मत्ती २३:४, २३, २४ पढ्‌नुहोस्‌।

९ अरूसित राज्यसन्देश बाँड्‌दा हामीले तिनीहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न मदत दिइरहेका हुन्छौं। त्यसको साथै बाइबलका अनमोल सत्यप्रति हामीले आफ्नो समझ र हार्दिक कृतज्ञता बढाइरहेका हुन्छौं। भजनहारले यस्तो उपयुक्‍त कुरा भने: “परमप्रभुको प्रशंसा गर। किनकि हाम्रा परमेश्‍वरको स्तुतिगान गाउनु असल कुरा हो। किनकि त्यो रमाइलो हुन्छ।” (भज. १४७:१) छिमेकीसामु यहोवाको प्रशंसा गरेर पाइने आफ्नो आनन्दलाई के तपाईं अझै बढाउन सक्नुहुन्छ?

१०. सेवकाईमा हाम्रो सफलता हामीले सुनाउने सन्देशप्रति मानिसहरूले देखाउने प्रतिक्रियामा निर्भर छ? व्याख्या गर्नुहोस्‌।

१० वास्तवमा कुनै-कुनै इलाकामा सुसमाचार स्वीकार्ने मानिसहरू अरू इलाकामा भन्दा धेरै छन्‌। ( प्रेरित १८:१, ५-८ पढ्‌नुहोस्‌) राज्यसन्देशप्रति त्यत्ति चासो नदेखाउनेहरूको इलाकामा बस्नुभएको छ भने सेवकाईमा तपाईंले गर्न सकिरहेको असल कुरामा ध्यान केन्द्रित गर्ने कोसिस गर्नुहोस्‌। यहोवाको नाम घोषणा गर्न तपाईंले गरेको निरन्तर प्रयास त्यसै खेर जाँदैन भन्‍ने कुरा सम्झनुहोस्‌। (१ कोरि. १५:५८) त्यसबाहेक सेवकाईमा हाम्रो सफलता सुसमाचारप्रति मानिसहरूले देखाउने प्रतिक्रियामा निर्भर छैन। राज्यसन्देश स्वीकार्ने झुकाव भएका मानिसहरूलाई यहोवाले पक्कै पनि सुन्‍ने मौका दिनुहुन्छ भनेर हामी आशा गर्न सक्छौं।—यूह. ६:४४.

पारिवारिक उपासनाले स्फूर्ति दिन्छ

११. यहोवाले आमाबाबुलाई कस्तो जिम्मेवारी दिनुभएको छ र त्यो जिम्मेवारी तिनीहरूले कसरी पूरा गर्न सक्छन्‌?

११ यहोवा र उहाँका मार्गहरू आफ्ना छोराछोरीलाई सिकाउनु परमेश्‍वरको भय राख्ने आमाबाबुको जिम्मेवारी हो। (व्यव. ११:१८, १९) तपाईं आमाबाबु हुनुहुन्छ भने के तपाईंले स्वर्गका मायालु पिताबारे आफ्ना छोराछोरीलाई सिकाउने तालिका बनाउनुभएको छ? यो गम्भीर जिम्मेवारी र परिवारको आवश्‍यकता पूरा गर्न तपाईंलाई मदत गर्न यहोवाले तपाईंको लागि पुस्तक, पत्रिका, भिडियो तथा श्रव्य रेकर्डिङ्‌हरूमार्फत पर्याप्त मात्रामा स्फूर्तिदायी आध्यात्मिक खानेकुरा उपलब्ध गराइदिनुभएको छ।

१२, १३. (क) साँझको पारिवारिक उपासनाबाट परिवारले कसरी लाभ उठाउन सक्छन्‌? (ख) आमाबाबुले पारिवारिक उपासनालाई स्फूर्तिको स्रोत बनाउन कसरी पक्का गर्न सक्छन्‌?

१२ त्यसको साथै विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले साँझको पारिवारिक उपासनाको प्रबन्ध गरिदिएका छन्‌। यो साँझ साप्ताहिक पारिवारिक बाइबल अध्ययन गर्नको लागि छुट्याइएको हो। यो प्रबन्धबाट आफ्नो परिवारलाई प्रेममा अझ घनिष्ठ हुन अनि यहोवासित सम्बन्ध पनि बलियो बनाउन सकेको थुप्रैले महसुस गरेका छन्‌। तर पारिवारिक उपासनालाई आध्यात्मिक स्फूर्तिको स्रोत बनाउन आमाबाबुले कसरी पक्का गर्न सक्छन्‌?

१३ साँझको पारिवारिक उपासना दिक्कलाग्दो र ज्यादै गम्भीर किसिमको हुनुहुँदैन। आखिर, हामी “परमधन्य [“आनन्दित,” NW] परमेश्‍वर”-को उपासना गर्छौं र उपासना गर्दा हामी आनन्दित भएको उहाँ चाहनुहुन्छ। (१ तिमो. १:११; फिलि. ४:४) थप एक साँझ बाइबलको अनमोल रत्नबारे छलफल गर्न पाउनु साँच्चै आशिष्‌को कुरा हो। कल्पना गर्न र खोजबिन गर्न लगाउने तरिका अपनाएर आमाबाबुले आफ्नो सिकाउने तरिका लचिलो बनाउन सक्छन्‌। उदाहरणको लागि एउटा परिवारले दस वर्षका छोरा ब्रान्डनलाई “किन बाइबलमा शैतानलाई सर्प भनिएको?” भन्‍ने विषयमा रिपोर्ट प्रस्तुत गर्न लगाए। यो कुराले ब्रान्डनलाई खिन्‍न पाऱ्‍यो। किनभने तिनी सर्प मन पराउँथे र सर्प शैतानसित सम्बन्धित भएकोले तिनलाई खल्लो लाग्यो। केही परिवारले चाहिं कहिलेकाहीं बाइबल-नाटक खेल्ने गर्छन्‌। परिवारका प्रत्येक सदस्यले बाइबल पात्रको आफ्नो भाग पढ्‌ने वा त्यो घटनाको अभिनय गर्ने गर्छन्‌। सिकाउने यस्ता तरिका रमाइलो हुने मात्रै होइन तर यसले तपाईंका छोराछोरीलाई छलफल गरिएको विषयमा सामेल गराउन सक्छ जसले गर्दा बाइबलका सिद्धान्तहरूले तिनीहरूको मन छुन सक्छ।  a

तपाईंलाई दबाउन सक्ने कुराबाट जोगिनुहोस्‌

१४, १५. (क) आखिरी दिनमा तनाव र असुरक्षा कसरी बढेको छ? (ख) हामीले कस्ता थप कठिनाइ भोग्नुपर्ने हुन सक्छ?

१४ यस दुष्ट रीतिरिवाजको आखिरी दिनमा कठिनाइ र असुरक्षा बढेको छ। बेरोजगारी र अरू आर्थिक समस्याले लाखौंलाई असर गरेको छ। जागिरे भए तापनि कमाएको पैसा प्वाल परेको खल्तीमा हालेजस्तै भएको छ। उनीहरूलाई परिवारको आवश्‍यकता पूरा गर्न हम्मेहम्मे परेको छ। (हाग्गै १:४-६ तुलना गर्नुहोस्‌) राजनीतिज्ञ तथा अरू नेताहरू आतङ्‌कवाद र अन्य दुष्टताको सामना गर्नुपरेकोले निस्सहायजस्ता देखिएका छन्‌। थुप्रै मानिस आफ्नो व्यक्‍तिगत कमजोरीले गर्दा निरुत्साहित भएका छन्‌।—भज. ३८:४.

१५ शैतानको संसारबाट आइपर्ने समस्या र दबाबदेखि साँचो ख्रीष्टियानहरू मुक्‍त छैनन्‌। (१ यूह. ५:१९) यहोवाप्रति विश्‍वासी रहन जोडदार प्रयास गर्दा कुनै-कुनै अवस्थामा ख्रीष्टका चेलाहरूले थप कठिनाइहरू भोग्नुपर्ने हुन्छ। येशूले भन्‍नुभयो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।” (यूह. १५:२०) हामी “खेदिएका छौं, तापनि त्यागिएका छैनौं।” (२ कोरि. ४:९) किन?

१६. आनन्द कायम राख्न हामीलाई केले मदत गर्छ?

१६ येशूले भन्‍नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम अर्थात्‌ स्फूर्ति दिनेछु।” (मत्ती ११:२८) ख्रीष्टको फिरौतीको बलिदानमा पूर्ण भरोसा राखेर हामी आफूलाई यहोवाको हातमा सुम्पन्छौं। यसरी हामी ‘सर्वश्रेष्ठ शक्‍ति’ पाउँछौं। (२ कोरि. ४:७) परमेश्‍वरको पवित्र आत्मा “सल्लाहकार” अर्थात्‌ मदतगार हो। यसले उल्लेखनीय ढंगमा हाम्रो विश्‍वास बलियो बनाउँछ जसले गर्दा हामी परीक्षा र सतावट भोग्न सक्षम हुने मात्र होइन तर आनन्दित भइरहन पनि सक्छौं।—यूह. १४:२६, NRV; याकू. १:२-४.

१७, १८. (क) कस्ता झुकावहरूदेखि हामी जोगिनु आवश्‍यक छ? (ख) सांसारिक सुखविलासमा ध्यान केन्द्रित गर्दा कस्तो नतिजा हुन सक्छ?

१७ मानिसहरूलाई हरहालतमा सुखविलास खोज्न लगाउने यस संसारको झुकावदेखि आज साँचो ख्रीष्टियानहरू जोगिनु आवश्‍यक छ। ( एफि. २:२-५ पढ्‌नुहोस्‌) नत्र “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी”-ले हामीलाई पासोमा पार्न सक्छ। (१ यूह. २:१६) अथवा शरीरको अभिलाषाको पछि लाग्दा स्फूर्ति पाइनेछ भनेर हामीमा गलत विचार आउन सक्छ। (रोमी ८:६) उदाहरणको लागि केही मानिसहरू आनन्द पाउनलाई लागूपदार्थ खान र रक्सीको दुरुपयोग गर्न, अश्‍लील सामग्री हेर्न तथा पढ्‌न, खतरनाक खेलहरू खेल्न वा विभिन्‍न अवैध क्रियाकलाप गर्नतिर लागेका छन्‌। शैतानले यस्ता “युक्‍तिहरू” चलाउनुको मनसाय हो—हामीलाई गलत प्रकारको स्फूर्ति दिएर बहकाउनु।—एफि. ६:११.

१८ हो, ठिक्क मात्रामा खानु, पिउनु र स्वस्थकर मनोरञ्जन गर्नुमा कुनै खराबी छैन। तर हामी यस्ता कुराहरूलाई जीवनको मुख्य चासोको विषय बन्‍न दिंदैनौं। सन्तुलित र आत्म-संयमी हुनु महत्त्वपूर्ण छ, विशेषगरि हामी बाँचिरहेको समयमा। व्यक्‍तिगत चाहनाहरूले “हाम्रा प्रभु येशू ख्रीष्ट चिन्‍ने ज्ञानमा . . . बेकम्मा र निष्फल” हुने हदसम्म हामीलाई दबाउन सक्छ।—२ पत्रु. १:८.

१९, २०. साँचो स्फूर्ति कसरी पाउन सकिन्छ?

१९ यहोवाको नियमअनुसार आफ्नो सोचाइ ढाल्यौं भने यस संसारले दिने जुनसुकै सुखविलास पनि क्षणिक हो भनेर हामी बुझ्छौं। मोशाले यो कुरा बुझे र हामीले पनि बुझ्नुपर्छ। (हिब्रू ११:२५) वास्तवमा स्वर्गका पिताको इच्छाअनुसार गर्दा मात्र गहिरो अनि चिरस्थायी आनन्द र सन्तुष्टि महसुस गराउने साँचो स्फूर्ति पाइन्छ।—मत्ती ५:६.

२० हामी आध्यात्मिक कुराहरूमा स्फूर्ति पाइरहौं। यसो गरेर हामी “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर . . . त्यस उज्ज्वल आशा, र हाम्रा महान्‌ परमेश्‍वर र उद्धारकर्ता येशू ख्रीष्टको महिमाको आगमनको बाटो” हेर्छौं। (ती. २:१२, १३) त्यसैले येशूको अख्तियार र निर्देशनको अधीनमा बसेर उहाँको जुवामुनि रहिरहन कटिबद्ध होऔं। यसो गरेर हामी साँचो आनन्द र स्फूर्ति पाउनेछौं। ( w10 -E 06/15)

[फुटनोट]

a पारिवारिक उपासनालाई कसरी रोचक र जानकारीमूलक बनाउन सकिन्छ, थप जानकारीको लागि प्रहरीधरहरा अगस्त १, १९९७, पृष्ठ २६-२९ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आज यहोवाका जनहरूले कसरी स्फूर्ति पाउँछन्‌?

• सेवकाईले कुन तरिकामा हामी र हामीले कुरा गर्ने मानिसहरूलाई स्फूर्ति दिन्छ?

• पारिवारिक उपासनाबाट स्फूर्ति पाउने कुरामा पक्का हुन परिवारको शिरले के गर्न सक्छन्‌?

• कस्ता कुराले हामीलाई आध्यात्मिक रूपमा दबाउँछ?

[पृष्ठ ३०-मा भएका चित्रहरू]

येशूको जुवा बोक्दा हामी थुप्रै किसिमले स्फूर्ति पाउँछौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने