‘बूढेसकालमा पनि फल फलाइरहने’
भूमध्यसागर वरपरका थुप्रै मानिसहरू आफ्नो घर-आँगनमा छोहोराको बोट लगाउँछन्। सुन्दरता र स्वादिष्ट फलको लागि यो रूख विख्यात मानिन्छ। अझ यो भन्दा पनि ठूलो कुरा त, सय वर्ष काट्दा समेत यिनीहरूले फल फलाइरहेका हुन्छन्।
राम्री शूलम्मेनी केटी खजूरको रूखजस्तै शानदार छिन् भन्दै प्राचीन इस्राएलका राजा सुलेमानले कवितात्मक शैलीमा वर्णन गरे। (श्रेष्ठगीत ७:७) प्लान्ट्स अफ द बाइबल पुस्तक यसो भन्छ: “छोहोरालाई हिब्रू भाषामा ‘तामार’ भनिन्छ। . . . यो, यहूदीहरूको लागि सौन्दर्य र शालीनताको प्रतीक बन्यो अनि यहूदी केटीहरूलाई प्रायः यो नाउँ दिइन्थ्यो।” उदाहरणको लागि, सुलेमानकी राम्री सौतेनी बहिनीको नाउँ तामार थियो। (२ शमूएल १३:१) अझै पनि केही आमाबाबुहरू आफ्ना छोरीहरूलाई यो नाउँ दिन्छन्।
सुन्दर स्त्रीहरूलाई मात्र खजूरको रूखसँग तुलना गरिएको होइन। भजनहारले यसरी गाए: “धर्मात्माचाहिं खजूरका बोटझैं लहलह हुन्छन्, तिनी लबानोनको देवदारजस्तै बढ्नेछन्। परमप्रभुको घरमा रोपेकाहरू हाम्रा परमेश्वरका दरवारमा लहलह हुन्छन्। तिनीहरूले बूढेसकालमा पनि फल फलाउँछन्, तिनीहरू जीवन दिने रसले भरिएका हरिया-भरिया हुन्छन्।”—भजन ९२:१२-१४.
लाक्षणिक अर्थमा भन्नुपर्दा, वृद्धावस्थामा विश्वासीपूर्वक परमेश्वरको सेवा गर्नेहरू धेरै तरिकामा खजूरका सुन्दर रूखजस्तै हुन्छन्। “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ” भनी बाइबल बताउँछ। (हितोपदेश १६:३१) उमेर चढ्दै जाँदा शारीरिक बल घट्दै जाने भए तापनि परमेश्वरको वचन बाइबलको नियमित अध्ययनद्वारा पोषण पाई वृद्धहरूले आफ्नो आध्यात्मिक उर्जालाई कायमै राख्न सक्छन्। (भजन १:१-३; यर्मिया १७:७, ८) उनीहरूको मीठो र मनमोहक बोली अनि उनीहरूले बसालेको राम्रो उदाहरणले गर्दा विश्वासी वृद्ध जनहरू अरूका लागि प्रोत्साहनका अत्युत्तम स्रोत हुन् र यिनीहरूले वर्षैपिच्छे फल फलाइरहन्छन्। (तीतस २:२-५; हिब्रू १३:१५, १६) छोहोराले जस्तै, वृद्धहरूले बूढेसकालमा पनि फल फलाउन सक्छन्। (w 07 9/15)