जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मे १-७
बाइबलमा पाइने अनमोल धन | यर्मिया ३२-३४
“इस्राएल पुनर्स्थापित हुनेछ भन्ने सङ्केत”
it-1-E पृ. १०५ अनु. २
अनातोत
यर्मिया अनातोतका बासिन्दा थिए। तिनले भविष्यवक्ताको रूपमा त्यहाँका मानिसहरूलाई यहोवाको सन्देश सुनाए। तर तिनलाई आदर गर्नुको साटो मानिसहरूले मार्ने धम्की दिए। (यर्मि १:१; ११:२१-२३; २९:२७) त्यसैले यहोवाले अनातोत सहरमाथि विपत्ति ल्याउने भविष्यवाणी गर्नुभयो। पछि बेबिलोनीहरूले त्यस सहरको विनाश गर्दा त्यो भविष्यवाणी पूरा भयो। (यर्मि ११:२१-२३) तर यरूशलेम सहर विनाश हुनुअघि यर्मियाले कानुनी हकको सदुपयोग गर्दै आफ्नो काकाको छोराबाट अनातोतमा एक टुक्रा जमिन किने। यो तिनीहरू बेबिलोनको निर्वासनबाट फर्कन पाउनेछन् भन्ने कुराको एउटा चिन्ह थियो। (यर्मि ३२:७-९) नभन्दै पछि निर्वासनबाट यरूबाबेलसित फर्केका पहिलो समूहका १२८ जना मानिसहरू अनातोतकै बासिन्दा थिए; अनि पुनर्स्थापित भएको सहरहरूको सूचिमा अनातोत पनि समावेश थियो। यसप्रकार यर्मियाले गरेको भविष्यवाणी पूरा भयो।—एज्रा २:२३; नहे ७:२७; ११:३२.
jr-E पृ. १५२ अनु. २२-२३
“के यो मलाई चिन्नलाई होइन र?”
कसैको बोली वा व्यवहारले तपाईंको चित्त दुख्दा के तपाईं यहोवाको अनुकरण गर्नुहुन्छ? यहोवाले प्राचीन समयका यहूदीहरूलाई उहाँको विरुद्ध गरेका पाप क्षमा गरेर “शुद्ध” पार्नेछु भन्नुभयो। (यर्मिया ३३:८ पढ्नुहोस्) पश्चात्तापीहरूको पाप क्षमा गरेर यहोवाले एक अर्थमा तिनीहरूको हृदयलाई सफा वा शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई फेरि सेवा गर्ने मौका दिनुहुन्छ। यहोवाले हामीलाई क्षमा दिनुभए तापनि वंशानुगत पाएको पापबाट भने मुक्त हुँदैनौं। तर उहाँले क्षमा दिनुहुने तरिकाबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। त्यो हो, गल्ती गर्ने व्यक्तिहरूलाई क्षमा दिंदा तिनीहरूको मन हल्का हुन्छ। त्यसैले अरूलाई क्षमा दिंदा एक अर्थमा हृदय शुद्ध पार्न मदत गरिरहेका हुन्छौं। तर कसरी?
मानिलिनुहोस्, तपाईंले काँचको एउटा असाध्यै बहुमूल्य कचौरा वा फुलदानी उपहारस्वरूप पाउनुभयो। त्यसमा अलिकति धुलो जम्यो वा दाग लाग्यो भन्दैमा के तपाईं त्यसलाई फाल्नुहुन्छ र? पक्कै फाल्नुहुन्न। बरु जतनका साथ सफा गर्नुहुन्छ होला वा त्यसमा लागेको दाग मेटाउने कोसिस गर्नुहुन्छ होला। यसो गऱ्यौं भने भाँडोमा सूर्यको किरण पर्दा पहिला जस्तै चमक आउनेछ। त्यसैगरि दाजुभाइ दिदीबहिनी विरुद्ध हाम्रो मनमा जरा गाडेर बसेको तीतो भावना वा रिसराग त्याग्न कडा प्रयास गर्नुपर्छ। अरूले गरेको गल्ती सम्झेर चित्त दुखाउँदै त्यसैमा घोरिरहने झुकावविरुद्ध सङ्घर्ष गर्नुपर्छ। अनि अरूको गल्तीलाई ठूलो मनको भएर क्षमा दिनुपर्छ र सदाको लागि बिर्सिदिनुपर्छ। यसो गऱ्यौं भने गल्ती गर्ने व्यक्तिको मन सफा हुनेछ अनि तिनीहरूको मुहारमा पनि चमक आउनेछ। साथै, त्यस्ता नकारात्मक भावना वा सोचाइ हटाएकोले तपाईंको मन पनि सफा हुनेछ र तपाईंहरूबीचको मित्रताको बन्धन पहिला भन्दा अझ बलियो हुनेछ।
बहुमूल्य रत्न खोजौं
jr-E पृ. १७३ अनु. १०
नयाँ करारबाट तपाईंले लाभ उठाउन सक्नुहुन्छ
यर्मियाले आउन लागेको मसीहलाई एउटा “हाँगा”-सित तुलना गरे। त्यो तुलना उपयुक्त पनि छ। यर्मिया भविष्यवक्ताको रूपमा सेवा गरिरहेकै समयमा दाऊदको शाही परिवारको रूख काटियो अर्थात् दाऊदको वंशको शासन केही समय रोकियो। तर त्यसको जरा भने जीवितै थिए। समयको दौडान दाऊदकै घरानाबाट येशू जन्मनुभयो। यसमा मानिसहरूप्रतिको यहोवाको गहिरो माया अनि चासो झल्किन्छ। त्यसैले यर्मियाले उहाँको त्यस गुणलाई जोड दिंदै ‘यहोवा धार्मिक हुनुहुन्छ’ भनी बताए। (यर्मिया २३:५, ६ पढ्नुहोस्) यही कारण उहाँले आफ्नो एकमात्र छोरालाई दुःखकष्ट भोगेर मर्न यस पृथ्वीमा पठाउनुभयो। यहोवाले “हाँगा” अर्थात् पछि येशूले दिनुहुने बलिदानको आधारमा दाऊदको पापलाई क्षमा दिनुभयो। यसो गर्नु न्यायोचित थियो। (यर्मि ३३:१५) यस बलिदानले गर्दा पछि अरू व्यक्तिहरू पनि “परमेश्वरको नजरमा असल ठहरिए” र पवित्र शक्तिद्वारा अभिषिक्त भएर नयाँ करारमा सम्मिलित हुन सके। त्यस करारमा सिधै सम्मिलित नभएका अरूहरूले पनि लाभ उठाउन सक्छन्। त्यसबाट साँच्चै यहोवाको धार्मिकताको थप प्रमाण स्पष्ट हुन्छ।—रोमी ५:१८.
मे ८-१४
बाइबलमा पाइने अनमोल धन | यर्मिया ३५-३८
“एबेदमेलेक—साहस र दयाको उदाहरण”
it-2-E पृ. १२२८ अनु. ३
सिदकियाह
सिदकियाह एकदमै कमजोर शासक थिए। राजकुमारहरूले झूटो आरोप लगाएर यर्मियालाई मार्न खोज्दा तिनले यर्मियालाई तिनीहरूको हातमा यसो भनेर सुम्पिदिए: “हेर, त्यो तिमीहरूकै हातमा छ, किनभने राजाले ता तिमीहरूका विरुद्धमा केही गर्न सक्तैनन्।” तर पछि एबेदमेलेकले यर्मियालाई उद्धार गर्नको लागि राजा सिदकियाहसित अनुमति माग्छन्। तिनले अनुमति दिनुका साथै मदतको लागि अरू ३० जनालाई साथमा लैजाने आदेश पनि दिन्छन। यर्मियालाई उद्धार गरिसकेपछि सिदकियाहले यर्मियासित व्यक्तिगत रूपमा कुराकानी गर्छन्। तिनलाई नमार्ने अनि शत्रुको हातमा पनि नसुम्पने आश्वासन दिन्छन्। यरूशलेमलाई घेरा हाल्ने कल्दीहरूलाई यहूदीहरूले धपाएका थिए। त्यसैले कल्दीहरूको हातमा सुम्पनु भनेर यर्मियाले दिएको सल्लाह राजा सिदकियाहले पालन गर्दैनन्। साथै तिनले भनेका कुरा ती शङ्कालु राजकुमारहरूलाई नभन्न समेत आग्रह गर्छन्। यसबाट पनि तिनी निकै डराएका थिए भन्ने देखिन्छ।—यर्मि ३८:१-२८.
बहुमूल्य रत्न खोजौं
it-2-E पृ. ७५९
रेकाबी
रेकाबीहरूको आज्ञाकारी मनोभाव देखेर यहोवा असाध्यै खुसी हुनुभयो। तिनीहरूले दृढ भई आफ्नो पुर्खाको आज्ञा पालन गरे। आफ्नो सृष्टिकर्ता यहोवाको आज्ञाअनुसार नचल्ने यहूदीहरू भन्दा उनीहरू कति फरक! (यर्मि ३५:१२-१६) त्यसैले यहोवाले रेकाबीहरूलाई यस्तो इनाम दिने प्रतिज्ञा गर्नुभयो: “रेकाबको छोरो योनादाबको सन्तानमा मेरो सामने हाजिर रहने एउटै मानिसको पनि अभाव हुनेछैन।”—यर्मि ३५:१९.
w९५-E ८/१ पृ. ५ अनु. ५-६
सुदिन नजिक छ
पछि बेबिलोनले धर्मत्यागी राष्ट्र यरूशलेमलाई घेरा हाल्दा अवस्था यति गाह्रो भयो कि तिनीहरूले अन्न “जोखी-जोखीकन चिन्तित भई” खानु पऱ्यो। (इजकिएल ४:१६) अझ कुनै-कुनै महिलाहरूले त आफ्ना बच्चाहरूको मासु समेत खाए। (विलाप २:२०) यहोवाको वचन प्रचार गरेको कारण यर्मिया थुनामा परेका थिए। तर त्यस्तो अवस्थामा पनि यहोवाले यर्मियालाई भोकै राख्नु भएन। ‘सहरका जम्मै रोटी नसकूञ्जेलसम्म बजारको पसलबाट दिनहुँ एउटा रोटी खुवाउने’ प्रबन्ध मिलाउनुभयो।—यर्मिया ३७:२१.
खानेकुरा सकेपछि के भयो, के यहोवाले तिनलाई बिर्सनुभयो? बिर्सनु भएन। यरूशलेम बेबिलोनको हातमा परेपछि तिनीहरूले यर्मियालाई ‘खानेकुरा र केही उपहार’ दिएर छोडिदिए।—यर्मिया ४०:५, ६; अनि भजन ३७:२५ पनि हेर्नुहोस्।
मे १५-२१
बाइबलमा पाइने अनमोल धन | यर्मिया ३९-४३
“यहोवाले हरेकसित उसको कामअनुसार व्यवहार गर्नुहुन्छ”
it-2-E पृ. १२२८ अनु. ४
सिदकियाह
यरूशलेमको विनाश। “सिदकियाह राजाको एघारौं वर्षको चौथो महिनाको नवौं दिनमा” (ईसापूर्व ६०७) मा कल्दी सेनाहरूले यरूशलेम सहरको पर्खाल भत्काए। सिदकियाह र सिपाहीहरू राती नै त्यहाँबाट भागे। तर कल्दी सेनाहरूले सिदकियाहलाई खेदे अनि यरिहोको मरुभूमिमा फेला पारे त्यसपछि तिनलाई रिब्लामा नबूकदनेसर कहाँ लगियो। तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखा अगाडि मारिदिए। त्यतिबेला तिनको उमेर ३२ वर्ष मात्र भएकाले छोराहरू सायद सानै थिए होलान्। तिनले आफ्नै छोराहरू मारिएको हेर्नुपऱ्यो। त्यसपछि तिनको आँखा निकाले अनि तामाको साङ्लाले बाँधेर बेबिलोन लगे। तिनी नमरुन्जेल कैदमा बस्नुपऱ्यो।—२रा २५:२-७; यर्मि ३९:२-७; ४४:३०; ५२:६-११; तुलना गर्नुहोस् यर्मि २४:८-१०; इज १२:११-१६; २१:२५-२७.
it-2-E पृ. ४८२
नबूजरदान
राजा नबूकदनेसरले दिएको आदेशबमोजिम नबूजरदानले यर्मियालाई कैदबाट निकाले। यर्मियासित दयालु व्यवहार गरे अनि केही स्वतन्त्रता दिनुका साथै खानेकुराको प्रबन्ध गरेर तिनको राम्ररी देखभाल गरे। नबुजरदान बेबिलोनको राजाको प्रवक्ता थिए। तिनले गदल्याहलाई यहूदामा बाँकी छोडिएका मानिसहरूमाथि राज्यपाल नियुक्त गरे। (२रा २५:२२; यर्मि ३९:११-१४; ४०:१-७; ४१:१०) लगभग पाँच वर्षपछि अर्थात् ईसापूर्व ६०२ मा नबूजरदानले यहूदा वरपर भागेर बाँकी रहेका ती यहूदीहरूलाई पनि कैद गरेर लगे।—यर्मि ५२:३०.
बहुमूल्य रत्न खोजौं
it-1-E पृ. ४६३ अनु. ४
कालक्रम
सिदकियाहको शासनकालको नवौं वर्षमा (ईसापूर्व ६०९) बेबिलोनीहरूले यरूशलेमलाई घेरा हाले। अनि तिनले शासन थालेको एघारौं वर्षमा (ईसापूर्व ६०७) यरूशलेमलाई पूरै विनाश गरियो। यो घटना नबूकदनेसर राजाले शासन थालेको उन्नाइसौं वर्षमा (तिनले ईसापूर्व ६२५ मा शासन थालेका थिए) भएको थियो। (२रा २५:१-८) बेबिलोनीहरूले ईसापूर्व ६०७ को पाँचौं महिना (आब महिना, जुलाई/अगस्त) मा यरूशलेम सहरमा आगो लगाइदिए, त्यसका पर्खालहरू ढालिदिए अनि धेरै जसो मानिसहरूलाई कैदी बनाएर बेबिलोन लगे। तर ‘गरिबहरूलाई चाहिं तिनीहरूले त्यही छोडिराखे।’ नबूकदनेसरले गदल्याहलाई यहूदामा छोडिएका ती थोरै मानिसहरूमाथि राज्यपाल नियुक्त गरे। तर गदल्याहको हत्या भएपछि त्यहाँ बाँकी भएका मानिसहरू पनि मिश्रमा भागे। साँच्चै! यहूदा भविष्यवाणीअनुसार नै पूर्णतया विनाश भयो। (२रा २५:९-१२, २२-२६) यो घटना ईसापूर्व ६०७ को सातौं महिना (तिस्री महिना, सेप्टेम्बर/अक्टोबर) मा भएको थियो। यसको अर्थ यरूशलेमको ७० वर्षीय विनाश ईसापूर्व ६०७ अक्टोबर १ देखि सुरु भएर ईसापूर्व ५३७ मा सकियो भन्न सक्छौं। यहूदीहरू यरूशलेम विनाश भएको ७० वर्षपछि ईसापूर्व ५३७ को सातौं महिनामा यहूदा फर्के।—२इ ३६:२१-२३; एज्रा ३:१.
मे २२-२८
बाइबलमा पाइने अनमोल धन | यर्मिया ४४-४८
“आफ्नै निम्ति ठूला कुराहरू नखोज्”
jr-E पृ. १०४-१०५ अनु. ४-६
“आफ्नै निम्ति ठूला कुराहरू” नखोज
बारूक सायद कुनै ख्याति र प्रतिष्ठाको पछि लागिरहेको हुन सक्छ। तिनी यर्मियाको निम्ति लेखकको रूपमा काम गरे तापनि यर्मियाकै व्यक्तिगत सचिव थिएनन्। यर्मिया ३६:३२ [NW]-मा बारूकलाई “सचिव” भनेर सम्बोधन गरेकोबाट तिनले पेशाको रूपमा सचिवको काम गरेका थिए भन्ने कुरा बुझिन्छ। पुरातात्त्विक प्रमाणअनुसार बारूक उच्च शाही पदाधिकारी थिए भन्ने देखिन्छ। किनभने तिनले “सचिव एलीशामा”-ले जस्तै उपाधि पाएका थिए, जो यहूदाको राजकुमारहरुध्ये एक थिए। बारूक एलीशामाको साथी भएकोले “राजाको महलमा सचिवको कोठाभित्र” जान पाउँथे। (यर्मि ३६:११, १२, १४) त्यसकारण बारूक शाही घरानाका शिक्षित पदाधिकारी थिए भन्ने बुझिन्छ। तिनको आफन्त सरयाह राजा सिदकियाहका निजी प्रबन्धक थिए अनि तिनी एउटा विशेष उद्देश्यसहित सिदकियाहसँगै बेबिलोन गएका थिए। (यर्मिया ५१:५९ पढ्नुहोस्) सरयाह राजाको निजी प्रबन्धक भएकोले राजाले यात्रा गर्दा राजाको लागि बस्ने ठाउँ वा खानेकुराहरूको प्रबन्ध गर्थे। साँच्चै! तिनी ठूलो ओहदाका व्यक्ति थिए।
बारूकको ओहदालाई विचार गर्दा यहूदाको विनाशबारे यसरी एकपछि अर्को सन्देश लेख्नु तिनलाई सजिलो थिएन भन्ने कुरा बुझ्न सक्छौं। वास्तवमा परमेश्वरको अगमवक्तालाई साथ दिंदा बारूकको काम अनि तिनको प्रतिष्ठा नै खतरामा थियो। यर्मिया ४५:४ मा बताएझैं यहोवाले आफूले बनाएका कुरा नाश गर्न लाग्नुभएको थियो। त्यस्तो अवस्थामा बारूकले खोजेका “ठूला कुराहरू” चाहे त्यो राजदरबारमा अझ ठूलो पद होस् चाहे सुखसुविधा त्यसको कुनै फाइदा थिएन। अनि आफ्नो पद कायम राख्ने विषयमै सोचिरहेको भए पनि यहूदी समाज चाँडै विनाश हुन लागेकोले त्यसको कुनै अर्थ थिएन। त्यसैले सोचाइ परिवर्तन गर्न यहोवाले तिनलाई प्रोत्साहन दिनु भयो।
बारूकले खोजेका “ठूला कुराहरू” भौतिक सरसम्पत्ति पनि हुन सक्छ। किनभने यहूदा वरपरका राष्ट्रहरू भौतिक कुरामा निकै भर पर्थे। जस्तै: मोआब ‘आफ्नो धन सम्पत्तिमा’ भरोसा गर्थे। साथै, अम्मोन पनि त्यस्तै थियो। बेबिलोनलाई पनि ‘भण्डारले पूर्ण भएको सहर’ भनिएको छ। (यर्मि ४८:१, ७; ४९:१, ४; ५१:१, १३) तर ती राष्ट्रहरूलाई परमेश्वरले दोषी ठहराउनुभयो।
jr-E पृ. १०३ अनु. २
“आफ्नै निम्ति ठूला कुराहरू” नखोज
‘धिक्कार मलाई! किनकि परमप्रभुले मेरो दु:खमाथि दु:ख थपिदिनुभयो! सुस्केरा मार्दा-मार्दा म थाकिसकें!’ भन्दै बारूक बिलौना गर्छन्। मन मनै होस् वा मुखै खोलेर सायद तपाईंले पनि कहिलेकाहीं यस्तै बिलौना गर्नुभएको हुन सक्छ। तर यहोवाले बारूकले भनेको कुराहरू सुनिरहनुभएको थियो। बारूकलाई कुन कुराले पिरोलिरहेको थियो भनेर मानिसको हृदय जाँच्नुहुने यहोवा परमेश्वरलाई थाह थियो। त्यसैले यहोवाले यर्मिया मार्फत तिनलाई दयालु ढङ्गमा सुधार्नुभयो। (यर्मिया ४५:१-५ पढ्नुहोस्) सायद तपाईंको मनमा बारूक किन थाके भन्ने प्रश्न उठ्छ होला। तिनले पाएको जिम्मेवारीले गर्दा हो कि? अथवा त्यतिबेलाको अवस्थाले गर्दा जिम्मेवारी पूरा गर्न गाह्रो भएकोले हो कि? कारण जेसुकै होस्, तिनले मनैदेखि दुःख पोखाउँदै थिए। तिनले खोजेका “ठूला कुराहरू” के थिए? यहोवाले तिनलाई उहाँको सल्लाह र डोऱ्याइ स्विकारेमा कस्तो इनाम दिने प्रतिज्ञा गर्नुभयो? बारूकको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
बहुमूल्य रत्न खोजौं
it-1-E पृ. ४३०
कमोश
भविष्यवक्ता यर्मियाले मोआबमाथि आउने विपत्तिबारे बताए। तिनको भविष्यवाणी अनुसार मोआबको प्रमुख देवता कमोशको पुजारी अनि राजकुमारहरू कैदमा लगिने थिए। बेतेलमा बाछोको उपासना गर्ने दस गोत्रे राज्यका इस्राएलीहरू लाजमा परेझैं शक्तिहीन देवता कमोशमा भरोसा गर्ने मोआबीहरू पनि लाजमा पर्ने थिए।—यर्मि ४८:७, १३, ४६.
it-2-E पृ. ४२२ अनु. २
मोआब
मोआबको सन्दर्भमा गरिएको भविष्यवाणी सबै पूरा भयो भन्ने कुरालाई कसैले नकार्न सक्दैन। शताब्दीयौं अघि नै मोआबीहरूको अस्तित्व मेटियो। (यर्मि ४८:४२) नबो, हेश्बोन, अरोएर, बेतगामूल र बालमोन जस्ता मोआबी सहरहरूको भग्नावशेषले त्यो कुरा पुष्टि गर्छ। मोआबका अरू कतिपय ठाउँहरूबारे त थाह नै छैन।
मे २९–जून ४
बाइबलमा पाइने अनमोल धन | यर्मिया ४९-५०
“यहोवाले नम्रहरूलाई आशिष् अनि अहङ्कारीहरूलाई सजाय दिनुहुन्छ”
it-1-E पृ. ५४
विरोधी
यहोवाले आफ्ना जनहरू अविश्वासी हुँदा तिनीहरूलाई विरोधीहरूको हातमा पर्न दिनुभयो। विरोधीहरूले तिनीहरूलाई युद्धमा हराए। (भज ८९:४२; वि १:५, ७, १०, १७; २:१७; ४:१२) तर ती शत्रुहरूले आफ्नै बलले जित हासिल गरेको हो भन्ने गलत निष्कर्ष निकाले। सफलताको श्रेय आफैले लिए, झूटा देवताहरूको प्रशंसा गरे। साथै, यहोवाको जनहरूलाई दुर्व्यवहार गरेकोमा लेखा दिनुपर्दैन भन्ठाने। (व्य ३२:२७; यर्मि ५०:७) त्यसैले यहोवाले घमन्डले फुलेका ती विरोधीहरूलाई नम्रताको पाठ सिकाउनुभयो। (यशै १:२४; २६:११; ५९:१८; नहू १:२); उहाँले आफ्नै नामको खातिर यसो गर्नुभयो।—यशै ६४:२; इज ३६:२१-२४.
jr-E पृ. १६१ अनु. १५
‘यहोवाले जे ठान्नुभएको थियो, त्यो पूरा गर्नुभयो’
मिश्रमाथि विजयी हासिल गर्ने बेबिलोनको पनि पतन हुनेछ भनेर यर्मियाले भविष्यवाणी गरे। त्यसको पतन कसरी हुनेछ लगभग सय वर्ष पहिले नै विस्तृत विवरण दिइएको थियो। कसरी? सहरलाई सुरक्षा दिने ‘नदी सुकाइने’ थियो अनि बेबिलोनका योद्धाहरूले लडाइँ गर्ने थिएन। (यर्मि ५०:३८; ५१:३०) पछि मादी र फारसले यूफ्रेटिस नदीको पानीलाई अन्तै मोडिदिएकाले नदी सुक्दै गयो। त्यसपछि सेनाहरू तुरुन्तै सहरमा प्रवेश गरे। यसरी बेबिलोनीहरू आश्चर्यचकित हुनेगरि भविष्यवाणी पूरा भयो। साथै, बेबिलोन सदाको लागि उजाड हुनेछ भनेर गरिएको भविष्यवाणी पनि रोचक छ। (यर्मि ५०:३९; ५१:२६) कुनै समय विश्वशक्ति राष्ट्र रहेको बेबिलोनको भग्नावशेषले बाइबलको भविष्यवाणी साँच्चै पूरा भयो भन्ने कुराको प्रमाण दिन्छ।
बहुमूल्य रत्न खोजौं
it-1-E पृ. ९४ अनु. ६
अम्मोनी
तिग्लत-पिलेसेर [तृतीय] र तिनका उत्तराधिकारीले इस्राएलको उत्तरी राज्यका मानिसहरूलाई देश निकाला गरे। (२रा १५:२९; १७:६), त्यसपछि अम्मोनीहरू आएर गादको इलाकामा बसोबास गर्न थाले। तिनीहरूले यिप्तहसित युद्ध हारेका थिए। (भज ८३:४-८ तुलना गर्नुहोस्) यहोवाले भविष्यवक्ता यर्मियाद्वारा गाद वंशलाई कब्जा गरेकोमा अम्मोनीहरूलाई हप्काउनुभयो। अनि अम्मोन र तिनीहरूको देवता मल्काम (मिल्काम) माथि विनाश आउनेछ भनेर चेतावनी दिनुभयो। (यर्मि ४९:१-५) अम्मोनीहरूले यहूदालाई नाश गर्न यहोयाकिनको शासनको अन्ततिर लुटेराहरूको दल पठाए।—२ रा २४:२, ३.
jr-E पृ. १६३ अनु. १८
‘यहोवाले जे ठान्नुभएको थियो, त्यो पूरा गर्नुभयो’
बेबिलोनीहरूले अरू राष्ट्रलाई जस्तै एदोमलाई पनि विनाश गर्नेछ भनेर यहोवाले यर्मियाद्वारा गर्नुभएको भविष्यवाणी प्रथम शताब्दीमा आएर पूरा भयो। (यर्मि. २५:१५-१७, २१; २७:१-७) एदोम सदोम र गमोरा जस्तै हुनेछ भनेर यहोवाले भन्नुभयो। त्यसको अर्थ त्यहाँ कोही बस्ने थिएन, नामोनिसान सदाको लागि मेटिने थियो। (यर्मि. ४९:७-१०, १७, १८) ठ्याक्कै त्यस्तै भयो। के अहिले एदोम भन्ने ठाउँ र एदोमीहरूको कुनै अस्तित्व छ र? तिनीहरूको नाम आधुनिक नक्सामा कतै उल्लेख गरिएको पाइन्छ र? पाइँदैन। यस विषयमा पुरातन समयका किताब, बाइबल इतिहास वा त्यतिबेलाको ठाउँबारे उल्लेख गरिएको नक्सामा मात्र पाइन्छ। फ्लेभियस जोसेफसले बताएअनुसार ईसापूर्व दोस्रो शताब्दीमा एदोमीहरूलाई जबरजस्ती यहूदी धर्म स्विकार्न लगाइयो। त्यसपछि इस्वी संवत् ७० मा यरूशलेमको विनाश सँगसँगै तिनीहरूको अस्तित्व नामेट भयो।
ip-2-E पृ. ३५१ अनु. ६
यहोवाले आफ्नो नामको महिमा गर्नुभयो
तर किन यहोवा एदोमसित युद्ध लडेर फर्कनुभयो? परमेश्वरले छान्नुभएका जनहरूसित एदोमीहरूको पुरानो दुस्मनी थियो। यो दुस्मनी तिनीहरूको पुर्खा एसावदेखि सुरु भएको थियो। (उत्पति २५:२४-३४; गन्ती २०:१४-२१) यरूशलेमको विनाश हुँदा बेबिलोनी सेनासँगै एदोमीहरू रमाए। त्यसबाट तिनीहरूको मनमा यहूदाप्रति घृणा रहेछ भन्ने कुरा स्पष्ट भयो। (भजन १३७:७) यहोवाले यसलाई उहाँ विरुद्ध गरेको अपराध जस्तै ठान्नुभयो। त्यसैले यहोवाले एदोमसित बदला लिने अठोट गर्नुभएकोमा हामी अचम्म मान्दैनौं।—यशैया ३४:५-१५; यर्मिया ४९:७-२२.