जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जुलाई २-८
बाइबलमा पाइने अनमोल धन | लूका ६-७
“उदार हुनुहोस्”
nwtsty-E लूका ६:३७ को अध्ययन नोट
क्षमा दिइरहो र तिमीहरूले पनि क्षमा पाउनेछौ: वा “मुक्त गरिरहो र तिमीहरूलाई पनि मुक्त गरिनेछ।” “क्षमा दिनु” भनी अनुवाद गरिएको ग्रीक अभिव्यक्तिको शाब्दिक अर्थ “छुटकारा दिनु; पठाइदिनु; मुक्त गर्नु (जस्तै, कैदीलाई मुक्त गर्नु)” भन्ने हुन्छ। प्रसङ्ग हेर्ने हो भने अरूको न्याय गर्नु र अरूलाई दोष लगाउनुको साटो के गर्नुपर्छ भनेर बुझाउन यो अभिव्यक्ति चलाइएको छ। त्यसैले यहाँ यस अभिव्यक्तिले के अर्थ दिन्छ भने यदि कोही सजाय पाउन लायकको छ वा ऊसित बदला लिनु उचितै देखिन्छ भने पनि उसलाई निर्दोष ठहऱ्याउनुपर्छ र क्षमा दिनुपर्छ।
nwtsty-E लूका ६:३८ को अध्ययन नोट
दिने गर: वा “दिइरहो।” ग्रीक क्रियाको जुन रूप यहाँ चलाइएको छ, त्यसलाई “दिनु” भनेर अनुवाद गर्न सकिन्छ र त्यसले निरन्तर चल्ने कार्यलाई बुझाउँछ।
nwtsty-E लूका ६:३८ को अध्ययन नोट
तिमीहरूको पोल्टामा: यस पदमा चलाइएको ग्रीक शब्दको शाब्दिक अर्थ “तिमीहरूको छातीमा” भन्ने हुन्छ। तर यस प्रसङ्गमा यो शब्दले कमरपेटीतिर लुगा दोब्रिएको भागलाई जनाउँछ। त्यसबेलाका मानिसहरूले खुकुलो लुगा लगाउने भएकोले कमरपेटीमा त्यसरी लुगा दोब्र्याउन सकिन्थ्यो। ‘पोल्टामा हाल्नु’ भन्ने अभिव्यक्तिले त्यसबेलाका केही पसलेहरूको चलनलाई बुझाएको हुनुपर्छ, जसले ग्राहकहरूले किनेका सरसामान उनीहरूको पोल्टामा हालिदिन्थे।
जुलाई ९-१५
बाइबलमा पाइने अनमोल धन | लूका ८-९
“मेरो पछि लाग—यो आज्ञा पालन गर्नुमा के समावेश छ?”
it-2-E पृ. ४९४
गुँड
एक जना शास्त्रीले येशूलाई यसो भने: “हे गुरु, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईंको पछि लाग्नेछु।” तर येशूले तिनलाई भन्नुभयो: “फ्याउरोहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड, तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।” (मत्ती ८:१९, २०; लूका ९:५७, ५८) यसरी येशूले उहाँको चेला हुन चाहने व्यक्तिले अरू मानिसहरूले जस्तो सुखसयल वा ऐसआरामको जीवन बिताउने चाहना त्याग्नुपर्छ र यहोवामा पूर्णतया भरोसा गर्नुपर्छ भनेर सिकाउनुभयो। यही सिद्धान्त उहाँले चेलाहरूलाई सिकाउनुभएको नमुना प्रार्थनाको यो बिन्तीमा पनि झल्किन्छ: “हामीलाई आज दिनभरिको भोजन दिनुहोस्।” साथै यही सिद्धान्त उहाँको यस भनाइमा पनि लुकेको पाउँछौँ: “त्यसैगरि, यो कुरा पक्का हो कि तिमीहरूमध्ये जसले आफ्नो जायजेथा त्याग्दैन, ऊ मेरो चेला बन्न सक्दैन।”—मत्ती ६:११; लूका १४:३३.
nwtsty-E लूका ९:५९, ६० को अध्ययन नोट
मेरो बुबालाई गाड्न: यी शब्दहरूले त्यस मानिसको बुबाको भर्खरै मृत्यु भएको थियो र तिनी केवल आफ्नो बुबाको अन्त्येष्टि गर्न जान अनुमति मागिरहेका थिए भनेर बुझाएको हुन सक्दैन। किनकि यदि त्यसो भएको भए तिनी येशूसँग कुरा गरेर बसिरहेका हुने थिएनन्। पुरातन समयमा, मध्यपूर्वी इलाकामा कसैको मृत्यु भएपछि तिनका परिवारले तुरुन्तै, प्रायजसो त्यही दिनमा तिनको अन्त्येष्टि गर्ने चलन थियो। त्यसैले येशूसँग कुरा गरिरहेका त्यस मानिसको बुबा मरेका थिएनन्, बरु वृद्ध र कमजोर हुँदै गइरहेका हुन सक्छन्। साथै येशूले त्यस मानिसलाई मदतको खाँचो परिरहेको आफ्नो बिरामी बुबालाई एक्लै छोडेर आऊ भन्नुभएको हुन सक्दैन। त्यसैले तिनको परिवारमा तिनको बुबाको ख्याल राख्न सक्ने अरू सदस्यहरू पनि पक्कै थिए भन्न सक्छौँ। (मर्कू ७:९-१३) ती मानिस वास्तवमा यसो भन्दै थिए, “मेरो बुबा जीवित छउन्जेल म तपाईँको पछि लाग्न सक्दिनँ। मेरो बुबाको मृत्यु भएपछि अनि मैले उहाँलाई गाडेपछि मात्र म तपाईँको पछि लाग्नेछु।” तर त्यसो भनेर ती मानिसले आफ्नो जीवनमा परमेश्वरको राज्यसम्बन्धी कुराहरूलाई प्राथमिकता दिने मौका गुमाइरहेका थिए भनेर येशूलाई थाह थियो।—लूका ९:६०, ६२.
मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्: लूका ९:५९ को अध्ययन नोटमा बताइएझैँ येशूसित कुरा गरिरहेका मानिसको बुबा मरेका थिएनन्; सायद तिनका बुबा वृद्ध र कमजोर हुँदै गइरहेका थिए। त्यसैले लूका ९:६० मा दिइएका येशूका शब्दहरूको अर्थ यो हुनुपर्छ: ‘मुर्दाहरूलाई आध्यात्मिक रूपमा मुर्दासरि अवस्थामा भएकाहरूले नै गाडून्।’ अर्थात्, आफ्नो बुबाको मृत्यु नभएसम्म र उनलाई गाड्नुपर्ने अवस्था नआएसम्म ती मानिसले बुबाको ख्याल राख्ने जिम्मेवारी परिवारका अरू सदस्यहरूकै हातमा छोडिदिनुपर्थ्यो। येशूको पछि लाग्दा ती मानिस अनन्त जीवनको मार्गमा हिँड्न सक्थे र परमेश्वरको नजरमा आध्यात्मिक रूपमा मुर्दासरि अवस्थामा पुग्नदेखि जोगिन सक्थे। येशूले ती मानिसलाई दिनुभएको जवाफबाट के सिक्न सक्छौँ भने आध्यात्मिक रूपमा जीवित रहिरहन परमेश्वरको राज्यलाई जीवनमा पहिलो स्थान दिनु र यसबारे टाढा-टाढासम्म घोषणा गर्ने काममा भाग लिनु आवश्यक छ।
nwtsty-E मिडिया
जोत्नु
प्रायजसो शरद् ऋतुमा खेत जोत्ने गरिन्थ्यो किनकि त्यसबेलासम्ममा वर्षायामको पानीले ग्रीष्म ऋतुको चर्को घामले गर्दा कडा भएको माटोलाई नरम बनाइसकेको हुन्थ्यो। कुनै-कुनै हलोहरू हरिसमा (हलोको ठाडो लामो काठ) चुच्चो परेको काठको टुक्रा जोडेर बनाइएको हुन्थ्यो र त्यो काठको टुप्पोमा चाहिँ धातु हुन्थ्यो। यस्तो हलो चलाउन एउटा वा एउटाभन्दा बढी जनावर प्रयोग गरिन्थ्यो। खेत जोतेपछि बिउ छरिन्थ्यो। हिब्रू धर्मशास्त्रमा खेत जोत्नेसित सम्बन्धित कुराहरूबारे चर्चा गरिएको थुप्रै उदाहरण पाउँछौँ। (न्या १४:१८; यशै २:४; यर्मि ४:३; मीका ४:३) येशूले अक्सर खेतीपातीसित सम्बन्धित कुराहरूलाई उदाहरणको रूपमा चलाएर महत्त्वपूर्ण शिक्षाहरू सिकाउनुभयो। जस्तै, तनमनले उहाँको पछि लाग्नुको महत्त्वलाई जोड दिन उहाँले खेत जोत्ने कामबारे चर्चा गर्नुभयो। (लूका ९:६२) खेत जोत्ने खेतालाले विभिन्न कुराले गर्दा आफ्नो ध्यान बिथोलिन दियो भने सीधा-सीधा लहर बनाउन सक्दैन। त्यसैगरि यदि ख्रीष्टका कुनै चेलाले पनि विभिन्न कुराले गर्दा आफ्नो ध्यान बिथोलिन दिए वा आफ्नो जिम्मेवारीहरू पूरा गर्नदेखि पछि हटे भने तिनी परमेश्वरको राज्यको लायक हुन सक्दैनन्।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E लूका ८:३ को अध्ययन नोट
येशू अनि उहाँका चेलाहरूको सेवा गरिरहेका थिए: वा “येशू अनि उहाँका चेलाहरूलाई सहायता गरिरहेका थिए (आवश्यक कुराहरूको प्रबन्ध गरिरहेका थिए)।” ग्रीक शब्द डियाकोनियो-ले खानेकुरा ल्याएर, पकाइदिएर अनि पस्किदिएर वा यस्तै अन्य कार्यहरूद्वारा अरूको शारीरिक आवश्यकता पूरा गर्नुलाई पनि बुझाउन सक्छ। यो शब्दलाई यस्तै अर्थमा लूका १०:४० (“सबै काम”), लूका १२:३७ (“सेवा गर्नेछन्”), लूका १७:८ (“सेवा गर”) र प्रे ६:२ मा (“खाना बाँड्नु”) पनि प्रयोग गरिएको छ। लूका ८:२, ३ मा नाम दिइएका स्त्रीहरूले येशू र उहाँका चेलाहरूलाई परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गर्न कसरी सहयोग गरे भनेर पद ३ का यी शब्दहरूले देखाउँछ। त्यसो गरेर ती स्त्रीहरूले परमेश्वरको महिमा गरे। तिनीहरूले दयालु र उदार भई गरेको यस्तो कामबारे भविष्यमा सबैले पढ्न सकून् भनी परमेश्वरले बाइबलमा यसको रेकर्ड राख्न लगाउनुभयो। यसरी उहाँले तिनीहरूको कामको कदर गरेको कुरा देखाउनुभयो। (हितो १९:१७; हिब्रू ६:१०) मत्ती २७:५५ र मर्कू १५:४१ मा बताइएका स्त्रीहरूको कामबारे बुझाउन पनि यही ग्रीक शब्द चलाइएको छ।
जुलाई १६-२२
बाइबलमा पाइने अनमोल धन | लूका १०-११
“असल सामरीको दृष्टान्त”
nwtsty-E मिडिया
यरूशलेमदेखि यरिहोसम्मको बाटो
पुरातन समयको यरूशलेमदेखि यरिहोसम्मको बाटो सायद यस छोटो भिडियोमा देखाइएको (१) बाटोजस्तै थियो। त्यो बाटो यहूदियाको उजाडस्थान हुँदै गएको थियो। त्यो बाटो २० किलोमिटरभन्दा धेरै लामो थियो र निकै घुम्तीहरू पनि थिए। साथै त्यस बाटोको १ किलोमिटर भाग ओह्रालो थियो। सुनसान अनि विकट ठाउँ भएकोले त्यहाँ लुटपाटको घटना निकै हुने गर्थ्यो। त्यसैले यात्रीहरूको सुरक्षाको लागि त्यहाँ सेनाको एउटा टुकडी राखिन्थ्यो। (२) रोमी सहर यरिहो यहूदियाको उजाडस्थानको किनारमा पर्थ्यो। (३) त्योभन्दा पुरानो सहर यरिहोचाहिँ त्यस रोमी सहरबाट लगभग २ किलोमिटर टाढा पर्थ्यो।
nwtsty-E लूका १०:३३, ३४ को अध्ययन नोट
एक जना सामरी: प्रायजसो यहूदीहरू सामरीहरूलाई तुच्छ ठान्थे र तिनीहरूसँग कुनै प्रकारको सम्बन्ध राख्दैनथे। (यूह ४:९) केही यहूदीहरू अरूलाई हेपेर वा अपमान गरेर बोलाउन “सामरी” शब्द चलाउने गर्थे। (यूह ८:४८) यहूदीहरूको धार्मिक लेखोट मिस्नामा एक जना धर्मगुरुको यस्तो भनाइ उद्धृत गरिएको छ: “सामरीहरूको हातको रोटी खाने मान्छे सुँगुरको मासु खाने मान्छेसरह हुन्छ।” (शेबिथ ८:१०) थुप्रै यहूदीहरू कुनै सामरीले दिएको गवाहीमा विश्वास गर्दैनथे अनि सामरीलाई कुनै काममा पनि लगाउँदैनथे। प्रायजसो यहूदीहरू सामरीहरूलाई तुच्छ ठान्छन् भनेर थाह भएकोले येशूले यस दृष्टान्तमार्फत एउटा सशक्त पाठ सिकाउनुभयो। यस दृष्टान्तलाई असल सामरीको दृष्टान्त भनेर चिनिन्छ।
उसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो: डाक्टर लूकाले येशूको दृष्टान्तलाई निकै होसियारीपूर्वक रेकर्ड गरेको पाउँछौँ। त्यस सामरीले घाइते यहूदीको घाउमा कसरी मलहमपट्टी गरे भनेर लूकाले उल्लेख गरेका छन्। त्यसबेलाको समयमा त्यसरी नै चोटपटकको उपचार गर्ने गरिन्थ्यो। घाउको घरेलु उपचार गर्न प्रायजसो तेल र दाखमद्य प्रयोग गरिन्थ्यो। तेल कहिलेकाहीँ घाउलाई नरम पार्नको लागि प्रयोग गरिन्थ्यो (यशै १:६ तुलना गर्नुहोस्) अनि दाखमद्यचाहिँ एन्टिसेप्टिकको (किटाणु प्रतिरोधक) रूपमा अनि सङ्क्रमण फैलिनबाट जोगाउन प्रयोग गरिन्थ्यो। साथै घाउ झन्झन् ठूलो हुन नपाओस् भनेर ती सामरीले घाउमा पट्टी बाँधिदिएको कुरा पनि लूकाले उल्लेख गरेका छन्।
पौवा: यहाँ चलाइएको ग्रीक शब्दको शाब्दिक अर्थ “सबैलाई स्वागत गरिने वा बस्न दिइने ठाउँ” भन्ने हुन्छ। यात्रीहरूले आफू र आफ्ना जनावरहरूको निम्ति यस्ता ठाउँहरूमा बास पाउन सक्थे। पौवाका मालिकले यात्रीहरूको लागि चाहिने आधारभूत कुराहरूको प्रबन्ध गरिदिन्थे अनि दाम दिइएमा आफ्नो जिम्मामा छोडिएका मानिसहरूको हेरचाह पनि राखिदिन्थे।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E लूका १०:१८ को अध्ययन नोट
बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखें: येशू यहाँ भविष्यमा हुने कुराबारे बताउँदै हुनुहुन्थ्यो। भविष्यमा सैतानलाई स्वर्गबाट निकालिने थियो तर येशूले त्यो घटनाबारे यसरी बताउनुभयो, मानौँ त्यो पूरा भइसकेको थियो। प्रका १२:७-९ मा स्वर्गमा भएको लडाइँबारे बताइएको छ अनि मसीही राज्यको जन्मसँगै सैतानको पतन भएको कुरा दर्साइएको छ। भविष्यमा हुने त्यस लडाइँमा सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूको हार निश्चित छ भन्ने कुरालाई येशू यहाँ जोड दिँदै हुनुहुन्थ्यो। किनकि परमेश्वरले भर्खरै येशूका ७० जना चेला, जो त्रुटिपूर्ण मानिसहरू थिए, तिनीहरूलाई दुष्ट स्वर्गदूतहरू निकाल्ने शक्ति दिनुभएको थियो।—लूका १०:१७.
nwtsty-E लूका ११:५-९ को अध्ययन नोट
ए साथी, मलाई तीन वटा रोटी पैंचो देऊ: यस दृष्टान्तमा देखाइएझैँ मध्यपूर्वी इलाकाका मानिसहरू अतिथिसत्कार गर्न मन पराउँथे। दृष्टान्तको मानिसका पाहुना आशै नगरेको समयमा, मध्यरातमा आइपुग्छन्। त्यसबेला यातायातको राम्रो सुविधा नभएकोले र अन्य विभिन्न कारणले गर्दा, यात्रामा निस्केपछि गन्तव्यमा कहिले पुगिन्छ भन्ने कुराको ठेगान हुँदैनथ्यो। त्यसैले ती पाहुना मध्यरातमा आइपुगेका हुन सक्छन्। तर मध्यरातमा आइपुगेको भए तापनि दृष्टान्तका ती मानिस आफ्नो पाहुनालाई केही खानेकुरा दिन बाध्य महसुस गर्छन्। यहाँसम्म कि मध्यरातको समयमा आफ्नो छिमेकीको निद्रा खलबलिनेगरि खानेकुरा पैंचो माग्न पनि हिचकिचाउँदैनन्।
मलाई दुःख नदेऊ: दृष्टान्तका छिमेकी मदत गर्न नाइँनास्ति गर्छन्। स्वभावैले छुच्चो भएकोले त होइन बरु सुतिसकेको हुनाले तिनी मदत गर्न अनकनाइरहेका थिए। त्यसबेलाको समयमा, विशेषगरि गरिबहरूको घरमा एउटै मात्र कोठा हुन्थ्यो। त्यसैले तिनी उठ्दा पूरै परिवारको अनि स-साना केटाकेटीको पनि निद्रा खलबलिने सम्भावना हुन्थ्यो।
खुरन्धार बिन्ती गरिरहेकोले: यहाँ चलाइएको ग्रीक शब्दलाई “अशिष्ट व्यवहार देखाउँदै बिन्ती गरिरहेकोले” वा “लाजै नमानी बिन्ती गरिरहेकोले” भनेर पनि अनुवाद गर्न सकिन्छ। तर यस प्रसङ्गमा भने यो शब्दले हार नमानी वा हरेस नखाई कुनै काममा लागिरहनुलाई बुझाउँछ। येशूले बताउनुभएको दृष्टान्तका मानिस आफूलाई चाहिएको कुरा मागिरहन लाज मान्दैनन् न त अनकनाउँछन्। प्रार्थना गर्दा पनि त्यसरी नै हार नमानी बिन्ती गरिरहनुपर्छ भनी येशू आफ्ना चेलाहरूलाई सिकाउनुहुन्छ।—लूका ११:९, १०.
जुलाई २३-२९
बाइबलमा पाइने अनमोल धन | लूका १२-१३
“तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ”
nwtsty-E लूका १२:६ को अध्ययन नोट
भँगेरा: यहाँ चलाइएको ग्रीक शब्द स्ट्राउथिअन-ले कुनै पनि सानो चरालाई बुझाउन सक्छ। तर प्रायजसो अवस्थामा यसले भँगेरालाई बुझाउँछ, जुन मासु खानको लागि बिक्री गरिने चराहरूमध्ये सबैभन्दा सस्तो थियो।
nwtsty-E लूका १२:७ को अध्ययन नोट
तिमीहरूको कपालसमेत सबै गनिएका छन्: भनिन्छ, औसतमा एक जना मानिसको शिरमा १ लाखभन्दा धेरै कपाल हुन्छ। यहोवा यत्ति सानो कुराको पनि जानकारी राख्नुहुन्छ भन्ने कुराले उहाँ ख्रीष्टका हरेक चेलामा गहिरो चासो राख्नुहुन्छ भनेर ग्यारेन्टी दिन्छ।
cl-E पृ. २४१ अनु. ४-५
कुनै कुराले ‘परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न सक्दैन’
४ पहिलो, बाइबलले परमेश्वर आफ्ना प्रत्येक सेवकलाई अनमोल ठान्नुहुन्छ भनेर सिकाउँछ। उदाहरणको लागि, येशूले यसो भन्नुभयो: “के दुइटा भँगेरा एक पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटै पनि तिमीहरूका बुबाले थाह नपाई भुइँमा झर्दैन। तर तिमीहरूको कपालसमेत उहाँले गन्नुभएको छ। त्यसैले नडराओ: तिमीहरू थुप्रै भँगेराभन्दा पनि बहुमूल्य छौ।” (मत्ती १०:२९-३१) येशूको कुरा सुनिरहेका प्रथम शताब्दीका ती मानिसहरूको लागि ती शब्दहरूले कस्तो अर्थ राख्थ्यो, विचार गर्नुहोस्।
५ अहिले हामीलाई भँगेरा त कसले किन्छ र जस्तो लाग्न सक्छ। तर येशूको समयमा भँगेरा भनेको मासु खानको लागि बिक्री गरिने चराहरूमध्ये सबैभन्दा सस्तो चरा थियो। याद गर्नुहोस्, एक पैसामा दुइटा भँगेरा किन्न पाइन्थ्यो। तर अर्को एकपटक भने येशूले दुई पैसामा चारवटा नभई पाँचवटा भँगेरा किन्न पाइन्छ भनेर बताउनुभयो। चारवटा भँगेरा किन्दा एउटा भँगेरा सित्तैंमा दिइन्थ्यो, मानौँ त्यो एउटा भँगेराको कुनै मोल थिएन। सायद मानिसहरूको नजरमा त्यसको कुनै मोल थिएन होला, तर सृष्टिकर्ताको नजरमा नि? येशूले भन्नुभयो: “तीमध्ये एउटैलाई पनि [सित्तैंमा दिइने भँगेरालाई समेत] परमेश्वरले बिर्सनुहुन्न।” (लूका १२:६, ७) अब भने येशूले भन्नुभएको कुरालाई हामी अझ राम्ररी बुझ्न सक्छौँ। यदि यहोवा परमेश्वरले एउटा भँगेरालाई त महत्त्वपूर्ण ठान्नुहुन्छ भने मानिसलाई झन् कत्ति महत्त्वपूर्ण ठान्नुहुन्छ होला! येशूले भन्नुभएझैँ यहोवालाई हाम्रो एक-एक कुरा थाह छ। हाम्रो कपालसमेत सबै गनिएका छन्!
बहुमूल्य रत्न खोजौँ
nwtsty-E लूका १३:२४ को अध्ययन नोट
भरमग्दुर कोसिस गर: वा “सङ्घर्ष गरिरहो।” साँघुरो ढोकाबाट भित्र पस्नको लागि हामीले तन-मन लगाएर प्रयास गर्नुपर्छ भन्ने कुरालाई येशूको यस आज्ञाले जोड दिन्छ। यस वाक्यांशलाई विभिन्न तरिकामा अनुवाद गर्न सकिन्छ भनेर विभिन्न स्रोत सामग्रीहरूले बताउँछ। जस्तै: “भएभरको बल लगाऊ; हर प्रयास गर।” यहाँ प्रयोग गरिएको ग्रीक क्रिया आगोनिजोमाइ ग्रीक शब्द आगोन-सित सम्बन्धित छ, जुन शब्द प्रायजसो खेलकूद प्रतियोगिताहरूको सन्दर्भमा चलाइन्थ्यो। हिब्रू १२:१ मा यो शब्द ख्रीष्टियनहरूले दौडने जीवनको “दौड”-लाई बुझाउनको लागि प्रयोग गरिएको छ। साथै यो शब्द “सङ्घर्ष” (फिलि १:३०; कल २:१) वा “लडन्त”-लाई (१ति ६:१२; २ति ४:७) बुझाउनको लागि पनि प्रयोग गरिएको छ। लूका १३:२४ मा प्रयोग गरिएको ग्रीक क्रियाका अरू रूपहरूलाई “प्रतियोगितामा भाग लिने” (१को ९:२५), ‘कडा परिश्रम गर्ने’ (कल १:२९; १ति ४:१०) अनि ‘लडन्त लड्ने’ (१ति ६:१२) भनेर अनुवाद गरिएको छ। यो वाक्यांश प्रायजसो खेलकूद प्रतियोगिताहरूको सन्दर्भमा प्रयोग हुने भएकोले कसै-कसैको विचारमा येशूले यस पदमा जुन कोसिसबारे कुरा गर्दै हुनुहुन्थ्यो, त्यसलाई खेलाडीले पुरस्कार पाउनको लागि गर्ने कोसिससित पनि तुलना गर्न सकिन्छ। पुरस्कार पाउनको लागि खेलाडीले भएभरको बल लगाएर मेहनत गर्नुपर्छ।
nwtsty-E लूका १३:३३ को अध्ययन नोट
उचित हुँदैन: वा “यो हुन सक्दैन (यो कुरा सोच्न समेत सकिँदैन)।” हुनत कुनै पनि बाइबल भविष्यवाणीले मसीह यरूशलेममा नै मारिनेछन् भनेर तोकेरै बताएको छैन। तर दा ९:२४-२६ मा यसबारे केही छनक पाउन सक्छौँ। साथै, यदि यहूदीहरूले कुनै भविष्यवक्तालाई, अझ खासगरि मसीहलाई मार्ने हो भने तिनीहरूले यरूशलेममा नै मार्ने थिए भनेर आशा गर्नु उचित थियो। किनभने यरूशलेममा ७१ सदस्य मिलेर बनेको यहूदी न्यायपरिषद्को सभा बस्थ्यो, जुन उच्च अदालतसरह थियो अनि झूटो भविष्यवक्ता भनेर आरोप लगाइएका व्यक्तिहरूको पुर्पक्ष त्यही न्यायपरिषद्मा गरिन्थ्यो। अर्को कुरा, यरूशलेम भनेको परमेश्वरको निम्ति नियमित रूपमा बलि चढाउने ठाउँ हो अनि निस्तार चाडको लागि थुमा पनि यरूशलेममै काटिन्छ भनेर येशूलाई थाह थियो। नभन्दै येशूका शब्दहरू पूरा भए। उहाँलाई यहूदी न्यायपरिषद्सामु उभ्याइयो अनि झूटो आरोप लगाइयो। अनि येशू यरूशलेममै, सहरको पर्खाल नजिकै “निस्तारको थुमा”-को रूपमा मर्नुभयो।—१को ५:७.
जुलाई ३०–अगस्त ५
बाइबलमा पाइने अनमोल धन | लूका १४-१६
“उडन्ते छोराको दृष्टान्त”
nwtsty-E लूका १५:११-१६ को अध्ययन नोट
एक जना मानिसका दुई छोरा थिए: उडन्ते छोराको दृष्टान्तको (यसलाई “हराएको छोराको दृष्टान्त” पनि भनिन्छ) कुनै-कुनै पक्ष निकै रोचक छ। यो दृष्टान्त येशूले बताउनुभएको सबैभन्दा लामा दृष्टान्तहरूमध्ये एक हो। अर्को रोचक कुरा, उहाँले यस दृष्टान्तमा पारिवारिक सम्बन्धबारे बताउनुभएको छ। अरू दृष्टान्तहरूमा उहाँले प्रायजसो निर्जीव कुराहरूबारे चर्चा गर्नुभएको छ, जस्तै: विभिन्न किसिमको बिउ अनि माटो। साथै उहाँले मालिक र दासहरूबीच हुने औपचारिक सम्बन्धबारे पनि बताउनुभएको छ। (मत्ती १३:१८-३०; २५:१४-३०; लूका १९:१२-२७) तर यस दृष्टान्तमा भने येशूले बुबा र छोराहरूबीच हुने नजिकको सम्बन्धबारे बताउनुभयो। सायद यो दृष्टान्त सुन्ने अधिकांश मानिसहरूका बुबा दृष्टान्तमा बताइएका बुबाजस्ता दयालु र मायालु थिएनन्। यस दृष्टान्तले स्वर्गमा बस्नुहुने हाम्रो बुबा पृथ्वीमा रहेका आफ्ना छोराछोरीलाई कत्ति धेरै माया र दया देखाउनुहुन्छ भनेर स्पष्ट पार्छ। यहोवा उहाँसित रहिरहनेहरू अनि उहाँदेखि तर्केर गए पनि फेरि उहाँकहाँ फर्केर आउनेहरू दुवैलाई असाध्यै प्रेम गर्नुहुन्छ।
कान्छोचाहिँ: मोशाको व्यवस्थाअनुसार जेठो सन्तानले बुबाबाट अंश पाउँदा आफ्ना भाइहरूले भन्दा दोब्बर भाग पाउँथ्यो। (व्य २१:१७) त्यसैले दृष्टान्तमा बताइएका यी कान्छो छोराको दाइ जेठो सन्तान थिए भने यस कान्छो छोराले पाएको भाग तिनको दाइले पाउने भागको आधा थियो।
उडायो: यहाँ चलाइएको ग्रीक शब्दको शाब्दिक अर्थ “(विभिन्न दिशामा) छरपस्ट पार्नु” भन्ने हुन्छ। (लूका १:५१; प्रे ५:३७) मत्ती २५:२४, २६ मा यस शब्दलाई ‘निफन्नु’ भनेर अनुवाद गरिएको छ। यस प्रसङ्गमा भने यस शब्दले बेमतलबले खर्च गर्नु वा खेर फाल्नुलाई बुझाउँछ।
भोगविलासको जीवन: वा “व्यर्थको (लापरबाही; उत्ताउलो) जीवन।” यस्तै अर्थ दिने अर्को ग्रीक शब्द एफि ५:१८; ती १:६; १प ४:४ मा प्रयोग गरिएको छ। यहाँ चलाइएको ग्रीक शब्दले निकै खर्चिलो, सोचविचारै नगरी पैसा खेर फाल्ने किसिमको जीवनशैली भन्ने अर्थ पनि दिने भएकोले कुनै-कुनै बाइबल अनुवादमा यस अभिव्यक्तिलाई “लापरबाही जीवनशैली” भनेर पनि अनुवाद गरिएको छ।
सुँगुर चराउन: मोशाको व्यवस्थाअनुसार सुँगुर अशुद्ध जनावर थियो। त्यसैले यस्तो पेशा अँगाल्नु भनेको कुनै यहूदीको लागि निकै अपमानजनक अनि घिनलाग्दो कुरा थियो।—लेवी ११:७, ८.
सुँगुरले खाने कोसा: यहाँ बताइएको कोसा अहिले पनि घोडा, गाईवस्तु र सुँगुरलाई खुवाउने गरिन्छ। दृष्टान्तमा बताइएका छोराको हालत यतिसम्म पतित भइसकेको थियो कि तिनी सुँगुरलाई दिइने खानेकुरा खानसमेत तयार भएका थिए।—लूका १५:१५ को अध्ययन नोट हेर्नुहोस्।
nwtsty-E लूका १५:१७-२४ को अध्ययन नोट
तपाईंको विरुद्धमा: वा “तपाईँको नजरमा।” यहाँ चलाइएको ग्रीक नामयोगी एनोपियन-को शाब्दिक अर्थ “सामु; . . . को नजरमा” भन्ने हुन्छ। यो शब्दलाई यस्तै अर्थमा सेप्टुआजिन्ट-मा १श २०:१ मा पनि चलाइएको छ। त्यस पदमा दाऊदले जोनाथनलाई यस्तो प्रश्न सोधेको विवरण पाउँछौँ: “तपाईंका बाबुको विरुद्धमा मैले के खराबी गरेको छु?” (NRV)
कामदारहरू: दृष्टान्तमा बताइएका कान्छो छोराले घर फर्कने अनि आफूलाई छोराको रूपमा होइन बरु ज्यालादारी कामदारको रूपमा स्वीकार्न आफ्नो बुबालाई आग्रह गर्ने योजना बनाए। त्यसबेला दासहरूलाई मालिकको सम्पत्तिको रूपमा हेरिन्थ्यो तर ज्यालादारी कामदारलाई भने त्यसरी हेरिँदैनथ्यो। ज्यालादारी कामदारलाई प्रायजसो एक दिनको लागि ज्यालामा ल्याइन्थ्यो र कुनै बिरानो व्यक्तिको रूपमा हेरिन्थ्यो।—मत्ती २०:१, २, ८.
चुम्बन गऱ्यो: यहाँ चलाइएको ग्रीक शब्दलाई “कोमलतापूर्वक चुम्बन गऱ्यो” वा “मायालुपूर्वक चुम्बन गऱ्यो” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसरी मायालु तरिकामा न्यानो स्वागत गरेर दृष्टान्तका बुबाले आफ्नो पश्चात्तापी छोरालाई स्विकार्न आफू राजी भएको कुरा देखाए।
तपाईंको छोरा भनिन: कुनै-कुनै पाण्डुलिपिमा यस्तो वाक्य पनि थपिएको छ: “मलाई तपाईंको ज्यालादारी कामदार बनाउनुहोस्।” तर अझै पुराना अनि भरपर्दा पाण्डुलिपिहरूमा भने यो वाक्य पाइँदैन। कुनै-कुनै शास्त्रविद्का अनुसार यस पदमा बताइएको कुरा लूका १५:१९ सित मेल खाओस् भनेर त्यो वाक्य थपिएको हुन सक्छ। त्यसैले अङ्ग्रेजी भाषाको नयाँ संसार अनुवाद २०१३ संस्करणमा लूका १५:२१ मा यो वाक्य पाइँदैन।
पोसाक . . . औंठी . . . जुत्ता: यहाँ बताइएको पोसाक कुनै साधारण किसिमको लुगा थिएन बरु सबैभन्दा राम्रो पोसाक थियो। सायद यो बुट्टेदार पोसाक थियो, जुन प्रायजसो विशिष्ट पाहुनालाई पहिराइन्थ्यो। छोराको हातमा औंठी लगाइदिनुले बुबाले तिनलाई देखाएको अनुमोदन र मायालाई सङ्केत गर्छ। साथै फेरि स्विकारिएका ती छोराले पाउने प्रतिष्ठा र मानसम्मानलाई पनि चित्रण गर्छ। औंठी र जुत्ताजस्ता कुराहरू दासहरूले लगाउँदैनथे। तसर्थ ती बुबाले आफ्नो छोरालाई परिवारकै सदस्यको रूपमा पुनः स्वीकार गरेको कुरा देखाइरहेका थिए।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E लूका १४:२६ को अध्ययन नोट
घृणा: बाइबलमा चलाइएको “घृणा” शब्दले विभिन्न अर्थ दिन्छ। यसले कसैप्रति द्वेष राखेकोले उत्पन्न हुने शत्रुताको भावलाई बुझाउन सक्छ, जुन भावले मानिसलाई अरूको हानि गर्न उक्साउँछ। अथवा यसले कुनै व्यक्ति वा कुरालाई फिटिक्कै मन नपराउनु वा अलिकति पनि नरुचाउनुलाई बुझाउन सक्छ, जसले गर्दा कुनै मानिस त्यो व्यक्ति वा कुरासित कुनै सरोकार राख्नदेखि पछि हट्छ। अथवा “घृणा” शब्दले कम प्रेम गर्नुलाई पनि बुझाउन सक्छ। त्यसैले येशूले चेलाहरूलाई आफ्नो परिवारसित वा आफैसित घिन मान्नुपर्छ वा शत्रुता मोल्नुपर्छ भनेर सिकाइरहनुभएको थिएन। उहाँले यस्तो शिक्षा सिकाउनुभएको भए त्यो कुरा धर्मशास्त्रका अरू ठाउँहरूमा बताइएको कुरासित बाझिन्थ्यो। (मर्कू १२:२९-३१; एफि ५:२८, २९, ३३ तुलना गर्नुहोस्।) यस प्रसङ्गमा “घृणा” भन्ने शब्दलाई “कम प्रेम” भनेर पनि अनुवाद गर्न सकिन्छ।