जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
डिसेम्बर ३-९
बाइबलमा पाइने अनमोल धन | प्रेषित ९-११
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे १०:६ को अध्ययन नोट
चर्मकार सिमोन: चर्मकारहरू जनावरको छालासम्बन्धी काम गर्थे। तिनीहरू छालाबाट रौँ वा टाँसिएको बोसो र मासुको टुक्राटाक्री निकाल्न चून-पानीको प्रयोग गर्थे। त्यसपछि कडा मदिरा प्रयोग गरेर त्यस छालालाई विभिन्न सर-सामान बनाउनको लागि तयार पारिन्थ्यो। यसरी छाला तयार पार्ने काम गर्दा निकै गन्हाउँथ्यो र प्रशस्त पानी चाहिन्थ्यो। त्यसैले सिमोन जोप्पाको बाहिरी इलाकातिर, समुद्रनजिकै बसेको हुनुपर्छ। मोसाको व्यवस्थाअनुसार जनावरको सिनु छुने मान्छे अशुद्ध हुन्थ्यो। (लेवी ५:२; ११:३९) त्यसैले थुप्रै यहुदीहरू चर्मकारहरूलाई तुच्छ ठान्थे अनि तिनीहरूको घरमा बास बस्न अप्ठ्यारो मान्थे। पछि यहुदीहरूको धार्मिक लेखोट ताल्मुदमा चर्मकारहरूको पेसालाई जनावरको मल सङ्कलन गर्नेहरूको पेसाभन्दा तल्लो दर्जामा राखियो। तर पत्रुस भने कुनै पूर्वाग्रह नराखी सिमोनको घरमा बास बसे। यसरी पत्रुसले देखाएको खुला विचारधाराले तिनलाई अर्को जिम्मेवारीको लागि तयार बनायो; त्यो थियो, अन्यजातिका व्यक्तिको घरमा गएर उनलाई भेट्ने। केही शास्त्रविद्हरूका अनुसार “चर्मकार” भनेर अनुवाद गरिएको ग्रीक शब्द (बरस्युस) सिमोनको थर थियो।
डिसेम्बर १०-१६
बाइबलमा पाइने अनमोल धन | प्रेषित १२-१४
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे १३:९ को अध्ययन नोट
सावल, जसलाई पावल पनि भनिन्छ: यसपछिका विवरणहरूमा सावललाई पावल भनिएको पाउँछौँ। प्रेषित पावल रोमी नागरिकको रूपमा जन्मिएका थिए तर तिनी हिब्रू मूलका थिए। (प्रे २२:२७, २८; फिलि ३:५) त्यसैले बाल्यकालदेखि नै तिनको दुइटा नाम थियो जस्तो देखिन्छ, हिब्रू भाषामा सावल अनि रोमी भाषामा पावल। त्यतिखेर यहुदीहरूमाझ, खासगरि इस्राएलबाहिर बस्ने यहुदीहरूमाझ दुइटा नाम हुनु सामान्य कुरा थियो। (प्रे १२:१२; १३:१) पावलका केही नातेदारहरूको पनि रोमी नाम र ग्रीक नाम थिए। (रोमी १६:७, २१) “अन्यजातिहरूको प्रेषित”-को रूपमा पावलले गैर-यहुदीहरूलाई प्रचार गर्ने जिम्मेवारी पाएका थिए। (रोमी ११:१३) त्यसैले रोमी नाम प्रयोग गर्दा ती मानिसहरूमाझ स्वीकार्य हुन सकिन्छ भन्ने लागेर पावलले रोमी नाम प्रयोग गर्ने निर्णय गरेका थिए जस्तो देखिन्छ। (प्रे ९:१५; गला २:७, ८) कसै-कसैको भनाइअनुसार पावलले सर्गियस पौलसप्रति आदर झल्काउन ‘पावल’ नाम प्रयोग गरेका थिए। तर त्यस्तो होइन जस्तो देखिन्छ किनकि पावलले आफ्नो रोमी नाम साइप्रस छोडेपछि पनि प्रयोग गरिरहे। अरू केहीले बताएअनुसार तिनले आफ्नो हिब्रू नाम प्रयोग नगर्नुको कारण के थियो भने तिनको हिब्रू नाम ग्रीकमा उच्चारण गरिँदा त्यो अर्कै ग्रीक शब्दजस्तो सुनिन्थ्यो, जसले फुइँ लगाउँदै हिँड्ने मान्छे (वा जनावर) भन्ने अर्थ दिन्थ्यो।
पावल: ल्याटिन भाषाको पौलस भन्ने शब्दबाट आएको नाम पौलोस, जसले “थोरै; सानो” भन्ने अर्थ दिन्छ, त्यो नाम ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा १५७ पटक प्रेषित पावललाई बुझाउन अनि एक पटक रोमी राज्यपाल सर्गियस पौलसलाई बुझाउन प्रयोग गरिएको छ।—प्रे १३:७.
डिसेम्बर १७-२३
बाइबलमा पाइने अनमोल धन | प्रेषित १५-१६
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे १६:३७ को अध्ययन नोट
हामी रोमी नागरिक: पावल रोमी नागरिक थिए र सम्भवतः सिलास पनि रोमी नागरिक नै थिए। रोमी कानुनअनुसार उपयुक्त तरिकामा मुद्दा लड्न पाउनु कुनै पनि नागरिकको हक थियो। दोषी नठहराईकन कसैलाई पनि सार्वजनिक रूपमा सजाय दिन पाइँदैन थियो। रोमी नागरिकता हुने व्यक्तिले रोम साम्राज्यको जुनसुकै ठाउँमा गए पनि विशेष हकअधिकार र सुविधा पाउँथे। रोमी नागरिक प्रान्तीय सहरका कानुनहरूको अधीनमा नभई रोमको कानुनको अधीनमा हुन्थ्यो। तिनीमाथि आरोप लगाइँदा तिनले स्थानीय कानुनअनुसार आफ्नो मामिला सुल्झाउन सक्थे। तर तिनले चाहेमा रोमी विशेष अदालतमा आफ्नो मामिला पेस गर्न पनि सक्थे। मृत्युदण्डको सजाय सुनाइँदा तिनले सम्राट्लाई अपिल गर्न सक्थे। प्रेषित पावलले रोमी साम्राज्यभरि व्यापक तवरमा प्रचार गरे। तिनले रोमी नागरिकको रूपमा आफूले पाउने अधिकारको फाइदा उठाएको तीन वटा विवरण बाइबलमा रेकर्ड गरिएको छ। पहिलो विवरण यही हो, यतिखेर तिनी फिलिप्पिमा थिए र तिनलाई पिटेर फिलिप्पिका नगर प्रशासकहरूले तिनको अधिकार हनन गरे भनेर तिनले बताए।—बाँकी दुई विवरणको लागि w१५ ३/१ पृ. १२ अनु. ३ हेर्नुहोस्।
डिसेम्बर २४-३०
बाइबलमा पाइने अनमोल धन | प्रेषित १७-१८
“प्रचार गर्दा र सिकाउँदा प्रेषित पावलको अनुकरण गर्नुहोस्”
nwtsty-E प्रे १७:२, ३ को अध्ययन नोट
तर्क गरे: पावलले मानिसहरूलाई सुसमाचार सुनाउने मात्र गरेनन्। तिनले त्यसलाई व्याख्या गरे अनि धर्मशास्त्रबाट अर्थात् परमेश्वरको प्रेरणा पाएर लेखिएको हिब्रू धर्मशास्त्रबाट प्रमाणहरू पेस गरे। तिनले केवल शास्त्रपदहरू पढेनन्; तिनले त्यसबाट तर्क गरे अनि आफ्नो श्रोतालाई विचार गर्दै त्यसैअनुसारको तर्क प्रस्तुत गरे। यहाँ प्रयोग गरिएको ग्रीक क्रिया डियालेगोमाइ-को अर्थ “बातचित गर्नु; कुराकानी गर्नु; छलफल गर्नु” भन्ने हुन्छ। यसमा मानिसहरूसित कुरा गर्नु समावेश छ। यो ग्रीक शब्द प्रे १७:१७; १८:४, १९; १९:८, ९; २०:७, ९ मा पनि प्रयोग गरिएको छ।
धर्मशास्त्रका विभिन्न वचनहरूबाट प्रमाण दिएर: यहाँ प्रयोग गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ “सँगसँगै राख्नु (छेउमा राख्नु)” भन्ने हुन्छ। यसबाट हामी के थाह पाउँछौँ भने पावलले होसियारीपूर्वक मसीहसम्बन्धी हिब्रू धर्मशास्त्रमा गरिएका भविष्यवाणीहरूलाई येसुको जीवनमा घटेका घटनाहरूसित तुलना गरे अनि येसुले कसरी ती भविष्यवाणीहरू पूरा गर्नुभयो भनेर मानिसहरूलाई बुझाए।
nwtsty-E प्रे १७:१७ को अध्ययन नोट
बजारमा: झन्डै १२ एकड (५ हेक्टर) जमिनमा फैलिएको एथेन्सको बजार (ग्रीकमा आगोरा) एक्रोपोलिसको उत्तरपश्चिममा पर्थ्यो। यो बजार किनबेच गर्ने ठाउँ मात्र त थिएन। यो ठाउँ एथेन्स सहरको आर्थिक, राजनैतिक र सांस्कृतिक केन्द्र थियो। त्यसैले यस ठाउँमा मानिसहरूको चहलपहल धेरै हुन्थ्यो र एथेन्सका मानिसहरू त्यहाँ जम्मा भएर बौद्धिक विषयहरूमा कुराकानी गर्न रुचाउँथे।
nwtsty-E प्रे १७:२२, २३ को अध्ययन नोट
अज्ञात देवमा समर्पित: यहाँ प्रयोग गरिएका ग्रीक शब्दहरू आग्नोस्तोइ थिओइ एथेन्सको एउटा वेदीमा कुँदिएको शिलालेखको भाग थिए। एथेन्सवासीहरू देवी-देवताको निकै डर राख्थे। त्यसैले तिनीहरूले थुप्रै मन्दिर र वेदीहरू बनाएका थिए। तिनीहरूले ख्याति, शिष्टता, उर्जा, प्रेरणा अनि दयाजस्ता अमूर्त कुराहरूका लागि समेत वेदी बनाएका थिए। कुनै देवी वा देवताको उपासना गर्न छुट्यो भने त्यस देवी वा देवताको क्रोध भोग्नुपर्छ भन्ने डरले गर्दा तिनीहरूले एउटा वेदी “अज्ञात देवमा समर्पित” गरेका थिए। यसरी वेदी बनाएर तिनीहरूले आफूहरूलाई केही पनि थाह नभएको एक जना देव हुनुहुन्छ भन्ने कुरा स्विकारिरहेका थिए। यस वेदीलाई आधार बनाउँदै पावलले कौशलतासाथ ती एथेन्सवासीहरूलाई प्रचार गरे र तिनीहरूलाई साँचो परमेश्वरबारे बताए, जो त्यतिबेलासम्म तिनीहरूको लागि अज्ञात हुनुहुन्थ्यो।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे १८:२१ को अध्ययन नोट
यहोवा परमेश्वरको इच्छा भए: कुनै काम गर्दा वा कुनै योजना बनाउँदा परमेश्वरको इच्छालाई ध्यानमा राख्नुपर्छ भनेर जोड दिने अभिव्यक्ति। प्रेषित पावलले यस सिद्धान्तलाई सधैँ मनमा राखे। (१को ४:१९; १६:७; हिब्रू ६:३) चेला याकुबले पनि आफ्ना पाठकहरूलाई यसो भन्न प्रोत्साहन दिए: “यहोवा परमेश्वरको इच्छा भए हामी बाँचौँला अनि यसो गरौँला र उसो गरौँला।” (या ४:१५) तर यस्ता अभिव्यक्तिहरू बोलीमा मात्रै सीमित हुनु हुँदैन। साँचो मनले “यहोवा परमेश्वरको इच्छा भए” भन्ने व्यक्तिले उहाँको इच्छाअनुसार चल्न सक्दो पनि गर्नुपर्छ। अनि यो अभिव्यक्ति सधैँ अरूले सुन्नेगरि भन्नुपर्छ भन्ने छैन, यो अभिव्यक्ति प्रायजसो मनमनै भनिन्छ।—१को ४:१९; या ४:१५ र अतिरिक्त लेख क५ हेर्नुहोस्।