जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जून ३-९
बाइबलमा पाइने अनमोल धन | गलाती ४-६
“‘प्रतीकात्मक अर्थ’ भएका कुराहरू”
it-1-E पृ. १०१८ अनु. २
हागार
प्रेषित पावलका अनुसार हागार प्रतीकात्मक अर्थमा व्यवस्थाको करारको अधीनमा रहेको इस्राएल राष्ट्र हो। यो करार यहोवाले इस्राएल राष्ट्रसित सिनै डाँडामा बाँध्नुभएको थियो, जुन करारले “दासत्वको लागि छोराछोरी” जन्मायो। इस्राएलीहरू पापी भएकाले तिनीहरू त्यस करारअनुसार चल्न सकेनन्। त्यसैले तिनीहरू स्वतन्त्र हुन सकेनन् बरु दोषी ठहरिए, जसले गर्दा तिनीहरू मृत्युदण्ड पाउन योग्यको ठहरिए। फलस्वरूप तिनीहरू पापको दास भए। (युह ८:३४; रोमी ८:१-३) पावलको समयमा हागार अर्थात् इस्राएल राष्ट्रको राजधानी यरुसलेम थियो, जसले इस्राएल राष्ट्रलाई चित्रण गर्थ्यो। हागारलाई पावलको समयको इस्राएलको राजधानी यरुसलेमसित तुलना गर्न सकिन्छ, जुन यरुसलेम आफ्ना छोराछोरीसँगै दासत्वमा थिइन्। अभिषिक्त ख्रिष्टियनहरू “माथिको यरुसलेम” अर्थात् लाक्षणिक अर्थमा परमेश्वरकी स्त्रीका छोराछोरी हुन्। स्वतन्त्र स्त्री साराजस्तै यो यरुसलेम कहिल्यै दासत्वमा परेको छैन। तर जसरी इसहाकले इस्माएलबाट सतावट भोग्नुपऱ्यो, त्यसरी नै “माथिको यरुसलेम”-का छोराछोरीले, जसलाई परमेश्वरले आफ्नो छोरामार्फत स्वतन्त्र पार्नुभएको थियो, दासत्वमा परेको यरुसलेमका छोराछोरीबाट सतावट भोग्नुपऱ्यो। यद्यपि हागार र तिनको छोरालाई निकालियो। यसले यहोवाले इस्राएल राष्ट्रलाई त्याग्नुभएको कुरालाई सङ्केत गर्छ।—गला ४:२१-३१; युह ८:३१-४० पनि हेर्नुहोस्।
बहुमूल्य रत्न खोजौँ
w०९-E ४/१ पृ. १३
के तपाईँलाई थाह थियो?
येसुले किन यहोवालाई प्रार्थनामा “अब्बा, बुबा” भनेर सम्बोधन गर्नुभयो?
अरामी शब्द अब्बा-ले “बुबा” वा “हे बुबा” भन्ने अर्थ दिन सक्छ। बाइबलमा यो शब्द जम्मा तीन पटक प्रयोग गरिएको छ। प्रार्थना गर्दा स्वर्गमा बस्नुहुने बुबा यहोवालाई सम्बोधन गर्न यो शब्द प्रयोग गरिएको हो। यो शब्द प्रयोग गर्नुको कारण के हो?
दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया–मा यस्तो लेखिएको छ: “येसुको समयमा बोलीचालीको भाषामा छोराछोरीले बुबालाई अब्बा भनेर सम्बोधन गर्ने गर्थे। तिनीहरू आफ्नो बुबालाई आदर गरेको देखाउन र तिनीसितको घनिष्ठता व्यक्त गर्न त्यस्तो अभिव्यक्ति प्रयोग गर्थे।” यो शब्द बच्चाले बुबालाई सम्बोधन गर्न चलाउने मायालु अभिव्यक्ति हो। उसले बोल्न थाल्दा जुन शब्दहरू सिक्छ, त्यसमा यो पनि पर्छ। येसुले आफ्नो बुबालाई व्यग्र प्रार्थना गर्नुहुँदा यो शब्द चलाउनुभयो। येसुले आफ्नो मृत्यु हुनुभन्दा केही घण्टाअघि गेत्समनी बगैँचामा भएको बेला यहोवालाई प्रार्थना गर्नुभयो अनि उहाँलाई “अब्बा, हे बुबा” भनेर सम्बोधन गर्नुभयो।—मर्कुस १४:३६.
उक्त किताबमा यस्तो पनि लेखिएको छ: “ग्रीस-रोमी युगमा साधारणतया यहुदी साहित्यमा परमेश्वरलाई अब्बा भनेर सम्बोधन गरिँदैन थियो। किनभने यस्तो घनिष्ठता बोध हुने शब्द प्रयोग गरेर परमेश्वरलाई सम्बोधन गर्नु अपमानजनक कुरा हो भन्ने धारणा थियो। येसुले . . . आफ्नो प्रार्थनामा यो शब्द प्रयोग गर्नुभएको कुराबाट उहाँ परमेश्वरसित एकदमै घनिष्ठ हुनुहुन्थ्यो भनेर देखिन्छ।” बाइबलमा अरू दुई पटक अब्बा शब्द प्रयोग गरेका व्यक्ति प्रेषित पावल हुन्। तिनले आफ्नो पत्रमा प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि आफ्नो प्रार्थनामा यही शब्द प्रयोग गर्ने गर्थे भनेर लेखे।—रोमी ८:१५; गलाती ४:६.
w१०-E ११/१ पृ. १५
के तपाईँलाई थाह थियो?
प्रेषित पावलले “येसुको दास हुँ भनी चिनाउने डाम” भन्दा कुन कुरालाई सङ्केत गरिरहेका हुन सक्छन्?—गलाती ६:१७.
▪ प्रथम शताब्दीका पावलका श्रोताहरूले तिनको यो भनाइको फरक-फरक अर्थ लगाएका हुन सक्छन्। उदाहरणको लागि, प्राचीनकालमा युद्धबन्दी, मन्दिरमा डकैती गरेकाहरू र भगुवा दासहरूलाई तातेर रातो भएको फलामले डामिन्थ्यो। तिनीहरूलाई अपमान गर्न यसरी डामिन्थ्यो।
तर डाम सधैँ अपमान गर्न मात्र लगाइँदैनथ्यो। प्राचीनकालका मानिसहरूको शरीरमा तिनीहरूलाई कुनै जाति वा धर्मको सदस्यको रूपमा चिनाउने डाम हुन्थ्यो। उदाहरणको लागि, थिओलोजिकल डिक्सनरी अफ न्यु टेस्टामेन्ट-मा “सिरियालीहरूले आफूलाई हादद र अटारगाटिस देवतामा समर्पित भएको देखाउन नारी वा घाटीमा डाम्ने गर्थे। . . . डायोनिसस देवका भक्तहरूको शरीरमा चाहिँ आइभि लहराको पातको बुट्टाजस्तो डाम हुन्थ्यो।”
पावलले मिसनरी सेवाको दौडान थुप्रै पटक खेप्नुपरेको शारीरिक दुर्व्यवहारको कारण तिनको शरीरमा जुन डामहरू भए, त्यसलाई सङ्केत गर्न तिनले यो कुरा भनेका हुन् भनेर आधुनिक समयका थुप्रै टिप्पणीकारले अनुमान लगाएका छन्। (२ कोरिन्थी ११:२३-२७) खासमा पावल ख्रिष्टियन भएको कुराको प्रमाण कुनै वास्तविक डामले नभई तिनको जीवनशैलीले दिन्छ भन्न खोजिरहेका थिए।
जून १०-१६
बाइबलमा पाइने अनमोल धन | एफिसी १-३
“यहोवाको प्रबन्ध र त्यसको काम”
it-2-E पृ. ८३७ अनु. ४
पवित्र रहस्य
मसीही राज्य। पावलले आफ्नो पत्रमा ख्रिष्टबारे सम्पूर्ण पवित्र रहस्य प्रकट गरेको पाइन्छ। तिनले एफिसी १:९-११ मा परमेश्वरले आफ्नो इच्छाको “पवित्र रहस्य” प्रकट गर्नुभएको कुरा बताए: “यो रहस्य उहाँले पहिल्यै निर्धारण गर्नुभएको उद्देश्यसित सम्बन्धित छ। तोकिएको समय सकिएपछि यस पवित्र रहस्यमा एउटा प्रबन्धको सुरुवात गर्नु समावेश छ अर्थात् स्वर्गमा भएका कुराहरू अनि पृथ्वीमा भएका कुराहरूलाई ख्रिष्टमा फेरि जम्मा गर्नु। हो, ख्रिष्टमा, जससित हामी एकतामा छौँ र हामीलाई उत्तराधिकारीको रूपमा पनि नियुक्त गरिएको छ। किनकि परमेश्वर, जसले सबै कुरा आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ, उहाँले नै आफ्नो उद्देश्यबमोजिम हामीलाई उत्तराधिकारीको रूपमा पहिल्यै नियुक्त गर्नुभएको थियो।” यो “पवित्र रहस्य”-मा एउटा सरकार अर्थात् परमेश्वरको मसीही राज्य पर्छ। पावलले “स्वर्गमा भएका कुराहरू”-ले स्वर्गीय राज्यमा ख्रिष्टसँगै उत्तराधिकारीको रूपमा शासन गर्ने आशा पाएकाहरूलाई सङ्केत गर्छ भनी बताए। “पृथ्वीमा भएका कुराहरू”-चाहिँ पृथ्वीमा रहने प्रजाहरू हुन्। येसुले त्यो पवित्र रहस्य राज्यसित सम्बन्धित छ भनेर सङ्केत गर्दै चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूलाई परमेश्वरको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ।”—मर्कु ४:११.
बहुमूल्य रत्न खोजौँ
cl-E पृ. २९९ अनु. २१
“ख्रिष्टको प्रेम जान”
२१ “जान” भनी अनुवाद गरिएको ग्रीक शब्दको अर्थ “व्यावहारिक रूपमा, अनुभव गरेर” जान्नु हो। हामीले येसुले जस्तै प्रेम देखायौँ भने उहाँको भावनाको साँच्चै कदर गर्छौँ भनेर देखाइरहेका हुन्छौँ। हामीले पनि निःस्वार्थ भई अरूको लागि त्याग गरेर, खाँचोमा परेकाहरूलाई कृपा देखाएर अनि गल्ती गर्नेहरूलाई मनैदेखि क्षमा दिएर उहाँले जस्तै प्रेम देखाउन सक्छौँ। यसरी हामी आफैले अनुभव गरेर मात्र ‘ख्रिष्टको प्रेम जान्न सक्छौँ, जुन प्रेम ज्ञानभन्दा पनि श्रेष्ठ छ।’ हामी येसुजस्तै हुन जति-जति प्रयास गर्छौँ, उहाँले दुरुस्त अनुकरण गर्नुभएको मायालु व्यक्ति यहोवा परमेश्वरसित त्यति नै नजिक हुन सक्नेछौँ भन्ने कुरा कहिल्यै नबिर्सौँ।
जून १७-२३
बाइबलमा पाइने अनमोल धन | एफिसी ४-६
“परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर”
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ११२८ अनु. ३
पवित्रता
पवित्र शक्ति। यहोवाको सक्रिय शक्ति नै पवित्र शक्ति हो। यो शक्ति उहाँको नियन्त्रणमा हुन्छ र त्यसले सधैँ उहाँको उद्देश्य पूरा गर्छ। त्यो सफा, स्वच्छ र पवित्र छ अनि परमेश्वरले असल काम गर्नको लागि त्यो प्रयोग गर्नुहुन्छ। त्यसैले त्यसलाई “पवित्र शक्ति” भनिएको हो। (भज ५१:११; लुका ११:१३; रोमी १:४; एफि १:१३) पवित्र शक्तिले कुनै व्यक्तिमा काम गर्दा उक्त व्यक्तिले पवित्र वा शुद्ध हुन मदत पाइरहेको हुन्छ। कुनै अशुद्ध वा गलत काम गरिरहनु भनेको पवित्र शक्तिको काममा बाधा पुऱ्याउनु वा त्यसलाई “दुःखी” बनाउनु हो। (एफि ४:३०) पवित्र शक्ति कुनै व्यक्ति नभए तापनि यो परमेश्वरको पवित्र व्यक्तित्व प्रकट गर्ने माध्यम हो। त्यस अर्थमा यो “दुःखी” हुन सक्छ। गलत कामले ‘पवित्र शक्तिको आगोलाई निभ्याउन’ सक्छ। (१थि ५:१९, फुटनोट) कुनै व्यक्तिले यस्तो बानी सुधारेन भने परमेश्वरको पवित्र शक्तिलाई “दुःखी” बनाइरहेको हुन्छ। परिणामस्वरूप, परमेश्वर त्यो विद्रोहीको शत्रु बन्नुहुनेछ। (यसै ६३:१०) पवित्र शक्तिलाई दुःखी बनाउने व्यक्ति त्यसविरुद्ध निन्दा गर्ने हदसम्म पुग्न सक्छ। यस्तो पाप गरेकोले उसलाई न यस युगमा न त पछि आउने युगमा नै क्षमा दिइनेछ भनेर येसु ख्रिष्टले बताउनुभयो।—मत्ति १२:३१, ३२; मर्कु ३:२८-३०.
it-1-E पृ. १००६ अनु. २
लोभ
कामबाट देखिन्छ। कुनै मानिसको मनमा कुइच्छा छ वा उसले कुनै कुराको लालच गर्छ भने उसको लोभ उसको कामबाट प्रस्टै देखिन्छ। बाइबल लेखक याकुबले कुइच्छा गर्भवती भएर पापलाई जन्माउँछ भनेर बताए। (या १:१४, १५) कुरा स्पष्ट छ, लोभी मानिसलाई उसको कामले चिनाउँछ। प्रेषित पावलले लोभी हुनु भनेको मूर्तिपूजक हुनु हो भनी बताए। (एफि ५:५) लोभी मानिसले आफूलाई मन पर्ने कुरालाई देवतासरह ठान्छ। उसले सृष्टिकर्तालाई चढाउनुपर्ने उपासना र गर्नुपर्ने सेवालाई भन्दा त्यस कुरालाई महत्त्वपूर्ण सम्झन्छ।—रोमी १:२४, २५.
जून २४-३०
बाइबलमा पाइने अनमोल धन | फिलिप्पी १-४
“कुनै कुराको विषयमा चिन्तित नहोओ”
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ५२८ अनु. ५
भेटीहरू
मद्यभेटी। इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि तिनीहरूले मोसाको व्यवस्थाअनुसार प्रायः सबै भेटीसित मद्यभेटी चढाउनुपर्थ्यो। (गन १५:२, ५, ८-१०) दाखमद्यलाई वेदीमाथि खन्याएर “मद्यभेटीको रूपमा” चढाइन्थ्यो। (गन २८:७, १४; प्रस्थ ३०:९ र गन १५:१० तुलना गर्नुहोस्) प्रेषित पावलले फिलिप्पीका ख्रिष्टियनहरूलाई यस्तो लेखे: “विश्वासले गर्दा तिमीहरू जुन पवित्र सेवा र बलिदान चढाउन उत्प्रेरित भयौ, त्यसका लागि म मद्यभेटीको रूपमा अर्पित भइरहेको छु। तैपनि म खुसी छु।” अरू ख्रिष्टियनहरूको खातिर आफूलाई पूर्ण रूपमा अर्पण गर्ने आफ्नो इच्छालाई बुझाउन पावलले मद्यभेटीलाई प्रतीकात्मक अर्थमा प्रयोग गरे। (फिलि २:१७) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि तिनले तिमोथिलाई यस्तो लेखे: “म मद्यभेटीको रूपमा अर्पित भइरहेको छु अनि मेरो छुटकारा हुने समय अत्यन्तै नजिक छ।”—२ति ४:६.