प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr19 डिसेम्बर पृ. १-४
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१९)
  • उपशीर्षकहरू
  • डिसेम्बर २-८
  • डिसेम्बर ९-१५
  • डिसेम्बर २३-२९
  • डिसेम्बर ३०–जनवरी ५
  • बहुमूल्य रत्न खोजौँ
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१९)
mwbr19 डिसेम्बर पृ. १-४

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

डिसेम्बर २-८

बाइबलमा पाइने अनमोल धन | प्रकाश ७-९

“गन्‍नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष्‌ पाए”

it-1-E पृ. ९९७ अनु. १

ठूलो भीड

तर एउटा प्रश्‍न उठ्‌छ: यदि “ठूलो भीड” उद्धार पाएर पृथ्वीमै रहने मानिसहरूको समूह हो भने तिनीहरू कसरी ‘परमेश्‍वरको सिंहासन र पाठोको अगाडि’ उभिन सक्छन्‌? (प्रका ७:९) कसैको अगाडि ‘उभिनु’-ले बाइबलमा कहिलेकाहीँ अनुग्रह वा अनुमोदन पाएको अवस्थालाई जनाउँछ। त्यसैले कुनै व्यक्‍ति वा समूह कसैको अगाडि उभिनुको अर्थ त्यस व्यक्‍ति वा समूहले तिनको अनुग्रह र अनुमोदन पाएको छ भन्‍ने हो। (भज १:५; ५:५; हित २२:२९; लुका १:१९) प्रकाशको किताबको अध्याय ६ मा “पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू, धनीहरू, शक्‍तिशालीहरू अनि हरेक दास र हरेक स्वतन्त्र मानिस . . . सिंहासनमा बस्नुहुनेको नजरबाट र पाठोको क्रोधबाट” लुक्न खोजेको कुरा बताइएको छ किनकि तिनीहरू यसो भन्छन्‌: “उहाँहरूको क्रोधको भयानक दिन आएको छ र को खडा हुन सक्छ?” (प्रका ६:१५-१७; लुका २१:३६ तुलना गर्नुहोस्‌) तसर्थ “ठूलो भीड” त्यस क्रोधको समयबाट बचेका मानिसहरू मिलेर बनेको हुनेछ जस्तो देखिन्छ, जो परमेश्‍वर र पाठोको अनुमोदन पाएकोले “खडा” हुन सक्नेछन्‌।

it-2-E पृ. ११२७ अनु. ४

सङ्‌कष्ट

यरुसलेमको विनाश भएको लगभग तीन दशकपछि प्रेषित युहन्‍नालाई हरेक राष्ट्र, कुल अनि जातिका मानिसहरू मिलेर बनेको एउटा ठूलो भीडबारे यसो भनियो: “यिनीहरू महासङ्‌कष्ट पार गरेर आएका मानिसहरू हुन्‌।” (प्रका ७:१३, १४) ठूलो भीडले ‘महासङ्‌कष्ट पार गर्नेछ’ भनिएकोले तिनीहरू त्यसबाट बच्नेछन्‌ भनेर हामी थाह पाउँछौँ। प्रेषित ७:९, १० मा प्रयोग गरिएको त्यस्तै अभिव्यक्‍तिले यस कुरालाई अझ पक्का गर्छ: “परमेश्‍वर [युसुफसित] हुनुहुन्थ्यो र उहाँले तिनका सबै सङ्‌कष्टबाट तिनलाई मुक्‍त गर्नुभयो।” युसुफलाई तिनको सबै सङ्‌कष्टबाट मुक्‍त गरिनुको अर्थ तिनले ती सङ्‌कष्टहरू सहे भन्‍ने मात्र होइन, बरु आफूले भोगेका दुःखकष्टहरू तिनले पार गरे भन्‍ने पनि हो।

it-1-E पृ. ९९६-९९७

ठूलो भीड

ठूलो भीडको पहिचान। प्रकाश अध्याय ७ मा “ठूलो भीड”-बारे बताइएको कुराबाट अनि यसको समान विवरणहरूबाट हामी ठूलो भीडको पहिचान थाह पाउन सक्छौँ। प्रकाश ७:१५-१७ (फुटनोट) मा परमेश्‍वरले “तिनीहरूमाथि आफ्नो पाल फिँजाउनुहुनेछ,” तिनीहरूलाई “जीवन दिने पानीको मुहानसम्मै” डोऱ्‍याइनेछ अनि परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ” भनेर बताइएको पाउँछौँ। प्रकाश २१:२-४ मा पनि हामी यस्तै अभिव्यक्‍तिहरू पाउँछौँ। ती पदहरूमा ‘परमेश्‍वरको वासस्थान [शा., “पाल,” फुटनोट] मानिसहरूमाझ हुनेछ,’ “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ” अनि “मृत्यु हुनेछैन” भनेर बताइएको पाउँछौँ। यो दर्शन स्वर्गमा भएका व्यक्‍तिहरूसित सम्बन्धित छैन, जहाँबाट ‘नयाँ यरुसलेम तल झर्नेछ।’ बरु यो दर्शन पृथ्वीमा भएका मानिसहरूमा पूरा हुनेछ।

बहुमूल्य रत्न खोजौँ

it-1-E पृ. १२

एबाड्डोन

एबाड्डोन, अगाध खाडलका स्वर्गदूत—तिनी को हुन्‌?

प्रकाश ९:११ मा “एबाड्डोन” शब्द “अगाध खाडलका स्वर्गदूत”-को नामको रूपमा प्रयोग गरिएको छ। यससित मिल्दोजुल्दो ग्रीक नाम “अपोल्लियोन”-को अर्थ हो, “विनाशकर्ता।” उन्‍नाइसौँ शताब्दीमा यो पद भविष्यसूचक रूपमा सम्राट भेस्पासियन, मोहम्मद वा नेपोलियनमा समेत पूरा हुन्छ भनेर बुझाउन प्रयास गरियो। अनि यस पदमा उल्लेख गरिएको स्वर्गदूत सैतानको पक्षको स्वर्गदूत हो भन्‍ने मान्यता थियो। तर याद गर्नुपर्ने अर्को कुरा, प्रकाश २०:१-३ मा “अगाध खाडलको साँचो” बोकेका स्वर्गदूत परमेश्‍वरको प्रतिनिधिको रूपमा स्वर्गबाट ओर्लिएको कुरा बताइएको छ। अनि ती स्वर्गदूत सैतानको पक्षका होइनन्‌ भन्‍ने कुरा तिनले सैतानलाई बाँधेर अगाध खाडलमा हुऱ्‍याएको कुराबाट थाह हुन्छ। प्रकाश ९:११ बारे समालोचकहरूको बाइबल (अङ्‌ग्रेजी) यसो भन्छ: “तथापि एबाड्डोन सैतानको नभई परमेश्‍वरको स्वर्गदूत हो, जसले परमेश्‍वरको आदेशअनुसारै विनाश गर्ने काम गर्छ।”

हिब्रू धर्मशास्त्रको भर्खरै चर्चा गरिएका पदहरूमा एभाडोन-लाई शिओल र मृत्युसँगसँगै प्रयोग गरिएको छ। प्रकाश १:१८ मा हामी येसु ख्रिष्टले यसो भन्‍नुभएको पाउँछौँ: “म सधैँका लागि जीवित भएको छु। अनि मसित मृत्यु र चिहानका साँचाहरू छन्‌।” येसुसित अगाध खाडलमा पठाउने शक्‍ति छ भनेर लुका ८:३१ बाट थाह हुन्छ। हिब्रू २:१४ मा येसु रगत र मासुले बनेका मानिसहरूजस्तै हुनुभयो भनेर बताइएको छ, ताकि “जससित मृत्युमा पुऱ्‍याउने क्षमता छ, त्यसलाई अर्थात्‌ दियाबललाई आफ्नो मृत्युद्वारा नामेट पार्न सकियोस्‌।” यसबाट येसुसित विनाश गर्ने शक्‍ति छ र उहाँ सैतानलाई नाश गर्न सक्नुहुन्छ भनेर थाह हुन्छ। प्रकाश १९:११-१६ मा परमेश्‍वरद्वारा नियुक्‍त विनाशकर्ता वा संहारकर्ताको रूपमा येसुको स्पष्ट चिनारी दिइएको छ।

डिसेम्बर ९-१५

बाइबलमा पाइने अनमोल धन | प्रकाश १०-१२

बहुमूल्य रत्न खोजौँ

it-2-E पृ. ८८०-८८१

मुठा, बेरुवा

प्रतीकात्मक अर्थ। बाइबलमा थुप्रै पटक “मुठा” शब्दलाई प्रतीकात्मक अर्थमा प्रयोग गरिएको छ। इजकिएल र जकरियाले दर्शनमा दुवैपट्टि लेखिएका मुठाहरू देखे। सामान्यतया मुठाको एकापट्टि मात्र लेखिन्थ्यो। तर त्यस मुठामा दुवैपट्टि लेखिनुले त्यसमा अत्यन्तै गहन, विस्तृत र गम्भीर न्यायको सन्देश लेखिएको कुरालाई बुझाएको हुन सक्छ। (इज २:९–३:३; जक ५:१-४) प्रकाशको पुस्तकमा लेखिएको दर्शनमा सिंहासनमा बस्नुहुनेले दाहिने हातमा सात वटा लाहाछाप लगाइएको एउटा मुठा लिनुभएको कुरा बताइएको छ। परमेश्‍वरको पाठोले ती लाहाछाप नखोलेसम्म कसैले पनि त्यसमा लेखिएका कुरा पढ्‌न सक्दैनथ्यो। (प्रका ५:१, १२; ६:१, १२-१४) त्यस दर्शनमा पछि स्वयम्‌ युहन्‍नालाई एउटा मुठा दिएर त्यो खाने आज्ञा दिइन्छ। त्यो मुठा युहन्‍नाको मुखमा गुलियो भयो तर त्यसले गर्दा तिनको पेट भने तीतो भयो। त्यो मुठा बेरिएको थिएन र त्यसमा लाहाछाप लगाइएको थिएन। त्यसैले त्यसमा लेखिएको कुरा गोप्य थिएन। त्यसमा लेखिएको सन्देश पाउँदा युहन्‍नालाई त्यो “गुलियो” लाग्यो तर तिनले गर्नुपर्ने भविष्यवाणी भने सम्भवतः तीतो थियो। (प्रका १०:१-११) इजकिएललाई “शोकगीत अनि पीडा र विलापका शब्दहरू” लेखिएको मुठा दिइँदा तिनले पनि त्यस्तै अनुभव गरेका थिए।—इज २:१०.

it-2-E पृ. १८७ अनु. ७-९

प्रसववेदना

प्रकाशको पुस्तकमा प्रेषित युहन्‍नाले देखेको दर्शनमा तिनले स्वर्गमा एउटी स्त्री ‘पीडाले गर्दा चिच्याइरहेकी अनि प्रसववेदनाले गर्दा छटपटाइरहेकी’ देख्छन्‌। तिनले “एउटा छोरा जन्माइन्‌, जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्‍याउने” थियो। अजिङ्‌गरले त्यस बच्चालाई निल्न खोजेको भए तापनि “तिनको बालकलाई खोसेर परमेश्‍वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो।” (प्रका १२:१, २, ४-६) त्यस बालकलाई परमेश्‍वरले खोसेर लैजानु भनेको उहाँले त्यसलाई आफ्नो छोराको रूपमा स्विकार्नुभएको सङ्‌केत थियो। प्राचीन समयमा भर्खरै जन्मिएको बच्चालाई उसको बुबाकहाँ लैजाने चलन थियो। यसरी बुबाले आफ्नो बच्चालाई स्विकारेको कुरा देखाउँथे। तसर्थ “स्त्री” अर्थात्‌ “माथिको यरुसलेम”-ले परमेश्‍वरकी “पत्नी”-लाई सङ्‌केत गर्छ, जो ख्रिष्ट र उहाँका आध्यात्मिक भाइहरूकी “आमा” हुन्‌।—गला ४:२६; हिब्रू २:११, १२, १७.

स्वर्गमा भएकी परमेश्‍वरकी “स्त्री” पक्कै पनि त्रुटिरहित थिइन्‌। त्यसैले तिनले बालकलाई जन्म दिँदा तिनलाई वास्तवमै पीडा हुने थिएन। त्यसैले लाक्षणिक अर्थमा त्यस “स्त्री”-को प्रसववेदनाले पीडालाई नभई बच्चा जन्मिने बेला नजिक आएको छ भनी तिनले महसुस गरेको कुरालाई सङ्‌केत गर्छ।—प्रका १२:२.

त्यो “बालक” को हुने थियो? त्यस बालकले “गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्‍याउने” थियो। परमेश्‍वरले नियुक्‍त गर्नुभएको मसीही राजाबारे भजन २:६-९ मा यस्तै भविष्यवाणी गरिएको थियो। तर युहन्‍नाले यो दर्शन देख्दा पृथ्वीमा मसीहको जन्म भएको, उहाँको मृत्यु भएको अनि उहाँ फेरि जीवित हुनुभएको लामो समय भइसकेको थियो। त्यसैले यस दर्शनले मसीही राज्यको जन्मलाई सङ्‌केत गरेको थियो जस्तो देखिन्छ, जसको राजा येसु ख्रिष्ट हुनुहुने थियो। उहाँ मृत्युबाट फेरि जीवित हुनुभएपछि ‘परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो। त्यसबेलादेखि उहाँले त्यो समयलाई पर्खिरहनुभयो, जब उहाँका शत्रुहरूलाई उहाँको पाउदान तुल्याइने थियो।’—हिब्रू १०:१२, १३; भज ११०:१; प्रका १२:१०.

डिसेम्बर २३-२९

बाइबलमा पाइने अनमोल धन | प्रकाश १७-१९

“परमेश्‍वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ”

it-1-E पृ. ११४६ अनु. १

घोडा

प्रेषित युहन्‍नाले देखेको दर्शनमा येसु प्रतीकात्मक अर्थमा सेतो घोडामा सवार हुनुहुन्थ्यो अनि सेता घोडाहरूमा चढेका स्वर्गका सेनाहरू पनि उहाँसँगै आइरहेका थिए। त्यस दर्शनले येसुले आफ्ना बुबा यहोवाको तर्फबाट लड्‌नुहुने युद्धलाई चित्रण गर्छ भनेर युहन्‍नालाई बताइयो। त्यस युद्धमा उहाँले धार्मिकता र न्यायको स्तरबमोजिम सबै शत्रुविरुद्ध लड्‌नुहुने थियो। (प्रका १९:११, १४) अघिल्लो दर्शनमा राजाको रूपमा येसुको सवारी र त्यसपछि आउने विपत्तिहरूलाई फरक-फरक घोडसवारहरूले चित्रण गरेका थिए।—प्रका ६:२-८.

डिसेम्बर ३०–जनवरी ५

बाइबलमा पाइने अनमोल धन | प्रकाश २०-२२

“हेर! म सबै थोक नयाँ बनाउँदै छु”

w१३-E १२/१ पृ. ११ अनु. २-४

“हेर! म सबै थोक नयाँ बनाउँदै छु”

“[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश २१:४) उहाँले हाम्रो आँखाबाट कस्तो आँसु पुछिदिनुहुनेछ? उहाँले खुसीको आँसु पुछिदिनुहुनेछैन अनि हाम्रो आँखालाई जोगाउने आँसु पनि पुछिदिनुहुनेछैन। उहाँले दुःख र शोकको आँसु पुछिदिने प्रतिज्ञा गर्नुभएको हो। उहाँले केवल बगिरहेको आँसु पुछिदिनुहुनेछैन बरु हाम्रो आँखामा आँसु आउने सम्पूर्ण दुःखकष्ट र शोक हटाएर उहाँले हाम्रो आँसु सधैँको लाग पुछिदिनुहुनेछ।

“मृत्यु हुनेछैन।” (प्रकाश २१:४) हाम्रो शत्रु मृत्युले जति दुःखको आँसु अरू केले बगाएको छ होला र! यहोवाले आज्ञाकारी मानिसहरूलाई मृत्युको पन्जाबाट मुक्‍त गर्नुहुनेछ। कसरी? मृत्युको मूल जड अर्थात्‌ आदमबाट हामीले पाएको पापलाई हटाएर। (रोमी ५:१२) येसुले दिनुभएको फिरौतीको बलिदानको आधारमा यहोवाले आज्ञाकारी मानिसहरूलाई त्रुटिरहित अवस्थासम्म पुऱ्‍याउनुहुनेछ। त्यसपछि हाम्रो अन्तिम शत्रु मृत्युलाई ‘नामेट पारिनेछ।’ (१ कोरिन्थी १५:२६) त्यसपछि वफादार मानिसहरू परमेश्‍वरले तिनीहरूको लागि राख्नुभएको उद्देश्‍यअनुरूपै जिउनेछन्‌ अर्थात्‌ स्वस्थ शरीरसहित सधैँभरि जिउनेछन्‌।

“पीडा पनि फेरि कहिल्यै हुनेछैन।” (प्रकाश २१:४) कस्तो किसिमको पीडा हुनेछैन? पाप र त्रुटिपूर्ण अवस्थाले निम्त्याएको कुनै पनि मानसिक, भावनात्मक अनि शारीरिक पीडा हुनेछैन, जसले अरबौँ मानिसहरूको जीवनलाई दुःखदायी बनाएको छ।

बहुमूल्य रत्न खोजौँ

it-2-E पृ. २४९ अनु. २

जीवन

परमेश्‍वरले आदमलाई दिनुभएको आज्ञालाई विचार गर्दा, आदम आज्ञाकारी भएको भए मर्ने थिएनन्‌ भनेर बुझ्न सक्छौँ। (उत्प २:१७) त्यसैले मानिसजातिको अन्तिम शत्रु मृत्युलाई नामेट पारिसकेपछि तिनीहरूलाई मृत्युसम्म पुऱ्‍याउने कुनै पनि कुरा तिनीहरूको शरीरमा बाँकी रहनेछैन। त्यसपछि तिनीहरू कहिल्यै पनि मर्नुपर्नेछैन। (१को १५:२६) यसरी मृत्युलाई नामेट पार्ने काम ख्रिष्टको शासनको अन्तमा हुनेछ, जुन १ हजार वर्ष लामो हुनेछ भनेर प्रकाशको पुस्तकले देखाउँछ। येसुसितै राजा र पुजारी हुनेहरूबारे त्यहाँ यसो भनिएको छ, “तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।” अनि “बाँकी मरेकाहरूचाहिँ १ हजार वर्ष नबितेसम्म जीवित भएनन्‌” भनेर बताइएको छ। यसले सैतानलाई अगाध खाडलबाट मुक्‍त गरिनुअघि र त्यसले मानिसजातिको अन्तिम जाँच गर्नुअघि १ हजार वर्षको अन्तमा पृथ्वीमा जीवित रहेका मानिसहरूलाई बुझाएको हुनुपर्छ। एक हजार वर्षको अन्तसम्ममा पृथ्वीमा रहेका मानिसहरू त्रुटिरहित अवस्थामा पुग्नेछन्‌ अर्थात्‌ पाप गर्नुअघि आदम र हव्वा जस्तो अवस्थामा थिए, त्यस्तै अवस्थामा पुग्नेछन्‌। त्यसपछि तिनीहरूले वास्तविक अर्थमा त्रुटिरहित जीवन पाउनेछन्‌। त्यसपछि सैतानलाई केही समयको लागि अगाध खाडलबाट मुक्‍त गरिँदा अन्तिम जाँच पास गर्नेहरूले सधैँभरिको लागि त्यो जीवनको आनन्द उठाउनेछन्‌।—प्रका २०:४-१०.

it-2-E पृ. १८९-१९०

अग्निकुण्ड

यो अभिव्यक्‍ति प्रकाशको पुस्तकमा मात्रै प्रयोग गरिएको छ र यसको प्रतीकात्मक अर्थ छ भन्‍ने कुरा स्पष्ट छ। यो केको प्रतीक हो भन्‍ने कुरा बाइबल आफैले यसरी व्याख्या गरेको छ: “यस अग्निकुण्डको अर्थ दोस्रो मृत्यु हो।”—प्रका २०:१४; २१:८.

अग्निकुण्डको प्रतीकात्मक अर्थ छ भन्‍ने कुरा प्रकाशको पुस्तकमा यसलाई प्रयोग गरिएको सन्दर्भ विचार गर्दा अझै प्रस्ट हुन्छ। मृत्युलाई यस अग्निकुण्डमा हुऱ्‍याइयो भनेर बताइएको पाउँछौँ। (प्रका १९:२०; २०:१४) मृत्युलाई वास्तविक अर्थमा जलाउन सम्भव छैन। साथै सैतान, जो एक अदृश्‍य जीव हो, त्यसलाई पनि यस कुण्डमा फालिन्छ। सैतान अदृश्‍य भएकोले त्यसलाई वास्तविक आगोले छुन सक्दैन।—प्रका २०:१०; प्रस्थ ३:२ र न्या १३:२० तुलना गर्नुहोस्‌।

अग्निकुण्डले “दोस्रो मृत्यु”-लाई बुझाउँछ र प्रकाश २०:१४ मा “मृत्यु र चिहान” दुवैलाई त्यस अग्निकुण्डमा हुऱ्‍याइनेछ भनेर बताइएको छ। त्यसैले त्यस अग्निकुण्डले मानिसजातिले आदमबाट पाएको मृत्युलाई (रोमी ५:१२) वा चिहानलाई जनाएको हुन सक्दैन भन्‍ने कुरा स्पष्ट छ। त्यसैले यस अग्निकुण्डले अर्कै प्रकारको मृत्युलाई चित्रण गरेको हुनुपर्छ। यस्तो मृत्यु, जसलाई फेरि उल्टाउन सकिँदैन किनकि बाइबलमा आदमबाट आएको मृत्यु र चिहानले आफूसँग भएका मरेका मानिसहरू फिर्ता दिएको कुरा उल्लेख गरिएको छ तर कुनै “कुण्ड”-ले आफूसँग भएका मरेका मानिसहरू फिर्ता दिएको कुरा कतै पनि उल्लेख गरिएको छैन। (प्रका २०:१३) त्यसैले परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्ने अपश्‍चात्तापी विद्रोहीहरू, जसको नाम “जीवनको पुस्तकमा” लेखिएको छैन, तिनीहरूलाई आग्निकुण्डमा हुऱ्‍याइनेछ। तिनीहरू सधैँका लागि नाश हुनेछन्‌ अर्थात्‌ दोस्रो मृत्यु भोग्नेछन्‌।—प्रका २०:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने