जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मे ३-९
बाइबलमा पाइने अनमोल धन | गन्ती २७-२९
बहुमूल्य रत्न
it-2-E पृ. ५२८ अनु. ५
भेटीहरू
मद्यभेटी। विशेषगरि इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि मद्यभेटी प्रायः अरू भेटीसित चढाइन्थ्यो। (गन १५:२, ५, ८-१०) दाखमद्यलाई मद्यभेटीको रूपमा वेदीमा खन्याइन्थ्यो। (गन २८:७, १४; प्रस्थ ३०:९ र गन १५:१० तुलना गर्नुहोस्।) प्रेषित पावलले फिल्लिपीका ख्रिष्टियनहरूलाई यस्तो लेखे: “विश्वासले गर्दा तिमीहरू जुन पवित्र सेवा र बलिदान चढाउन उत्प्रेरित भयौ, त्यसका लागि म मद्यभेटीको रूपमा अर्पित भइरहेको छु। तैपनि म खुसी छु।” यस पदमा पावलले अरू ख्रिष्टियनहरूको खातिर आफूलाई पूर्ण रूपमा अर्पण गर्ने आफ्नो इच्छालाई बुझाउन मद्यभेटीलाई प्रतीकात्मक अर्थमा प्रयोग गरे। (फिलि २:१७) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि तिनले तिमोथिलाई यस्तो लेखे: “म मद्यभेटीको रूपमा अर्पित भइरहेको छु अनि मेरो छुटकारा हुने समय अत्यन्तै नजिक छ।”—२ति ४:६.
कुराकानी गर्ने सीप तिखारौँ
w०७-E ४/१ पृ. १७-१८
परमेश्वरलाई खुसी तुल्याउने बलिदानहरू चढाउनुहोस्
“मृत्युबाटै जीवनको सुरुवात हुन्छ भनेर एजटेक्सहरू विश्वास गर्थे। मेसोअमेरिकामा (दक्षिण अमेरिकाको मध्य भाग) तिनीहरूले जत्तिको मानिसहरूको बलि अरू कसैले चढाउँदैनथे। तिनीहरूको साम्राज्य बढ्दै गए तापनि मनोबल भने घट्दै गइरहेको थियो, त्यसैले आफ्नो मनोबल उच्च राख्न तिनीहरूले झन् धेरै मानिसको रगत बगाउन थाले” भनेर द माइटी एजटेक्स किताब बताउँछ। यसैसम्बन्धी अर्को एउटा किताबअनुसार एजटेक्सहरूले वर्षमा २० हजारसम्म मानिसहरूको बलि चढाउँथे।
इतिहासभरि नै मानिसहरूले डर र अनिश्चितताले गर्दा वा दोषी र पश्चात्तापी भावनाले गर्दा आ-आफ्ना देवताहरूलाई कुनै न कुनै किसिमका बलिदानहरू चढाउँदै आएका छन्। तर बाइबलमा भने सर्वोच्च परमेश्वर यहोवाले केही खास बलिदानहरू चढाउन भन्नुभएको थियो। त्यसैले यस्ता प्रश्नहरू सोध्नु उचित हुन्छ: परमेश्वरलाई कस्ता बलिदानहरूले खुसी तुल्याउँछ? के आज पनि परमेश्वरको उपासना गर्दा भेटी र बलिदानहरू चढाउनुपर्छ?
साँचो उपासनामा भेटी र बलिदानहरू
यहोवाले इस्राएलीहरूलाई जातिको रूपमा खडा गर्नुभएपछि तिनीहरूलाई उहाँको उपासना कसरी गर्ने भनेर स्पष्ट निर्देशनहरू दिनुभयो र यसमा भेटी र बलिदानसम्बन्धी निर्देशनहरू पनि पर्थ्यो। (गन्ती, अध्याय २८ र २९) कुनै-कुनै भेटीमा भूमिको उब्जनी चढाउनु समावेश थियो भने अरू कुनै-कुनै भेटीमा बहर, भेडा, बाख्रा, परेवा र ढुकुरजस्ता जनावरहरू चढाउनु समावेश थियो। (लेवी १:३, ५, १०, १४; २३:१०-१८; गन्ती १५:१-७; २८:७) अग्निभेटी चढाइँदा सिङ्गै जनावर वेदीमा राखेर जलाइन्थ्यो। (प्रस्थान २९:३८-४२) साथै मेलबलि पनि चढाइन्थ्यो। मेलबलि ल्याउने व्यक्तिले पुजारीहरूसँगै त्यो बलिको मासु खान्थे।—लेवी १९:५-८.
मोसाको व्यवस्थाअन्तर्गत परमेश्वरलाई भेटी र बलिदानहरू चढाउनु उपासनाको एउटा भाग थियो। त्यसो गर्दा उहाँलाई ब्रह्माण्डको मालिकको रूपमा स्विकारेको कुरा देखिन्थ्यो। त्यस्ता बलिदानहरूमार्फत यहोवाले दिनुभएको आशिष् र सुरक्षाको लागि कृतज्ञ भएको देखाइरहेका हुन्थे साथै तिनीहरूले आफ्नो पापको लागि क्षमा पाउन सक्थे। यहोवाले आज्ञा दिनुभएअनुसारै वफादार भई उहाँको उपासना गरुन्जेल इस्राएलीहरूले प्रशस्तै आशिष् पाए।—हितोपदेश ३:९, १०.
यहोवाको लागि बलिदानभन्दा बलिदान चढाउने व्यक्तिको मनोवृत्ति महत्त्वपूर्ण थियो। भविष्यवक्ता होसेमार्फत यहोवाले यसो भन्नुभयो: “म बलिदानमा होइन, कृपामा खुसी हुन्छु, अग्निभेटीमा होइन, परमेश्वरको ज्ञानमा खुसी हुन्छु।” (होसे ६:६) तर इस्राएलीहरू साँचो उपासनाबाट तर्केर छाडा जीवन बिताउन थाल्दा र निर्दोषहरूको रगत बगाउँदा तिनीहरूले यहोवाको वेदीमा चढाउने बलिदानहरूको कुनै अर्थ रहेन। त्यसैले यसैयामार्फत यहोवाले इस्राएलीहरूलाई यसो भन्नुभयो: “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम? तिमीहरूले अग्निभेटीको रूपमा चढाएका थुमाहरू र मोटाघाटा जनावरहरूको बोसोदेखि मलाई वाक्कै लागिसक्यो। तिमीहरूले चढाएका बहरहरू, पाठाहरू र बोकाहरूको रगत मलाई फिटिक्कै मन पर्दैन।”—यसैया १:११.
“मैले तिनीहरूलाई आज्ञा नै नगरेको कुरा”
तर कनानीहरूले भने आफ्ना देवताका साथै अम्मोनीहरूका देवता मोलेकलाई पनि (मोलेकलाई मिल्कोम र मोलोक पनि भनिन्छ) आफ्ना छोराछोरी बलि चढाउँथे। (१ राजा ११:५, ७, ३३; प्रेषित ७:४३) हेलिज बाइबल ह्यान्डबुक यसो भन्छ: “कनानीहरूले बिताउने अनैतिक जीवन तिनीहरूले आफ्नो देवतालाई चढाउने उपासनाको भाग थियो र तिनीहरूले ती नै देवताहरूका लागि आफ्नो पहिलो सन्तान बलि पनि चढाउँथे।”
के यहोवा परमेश्वर खुसी हुनुभयो? पक्कै हुनु भएन। इस्राएलीहरू कनान देशमा प्रवेश गर्नै लाग्दा यहोवाले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो, जुन लेवी २०:२, ३ मा पाउँछौँ: “तिमीले इस्राएलीहरूलाई यसो भन्नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ। देशका मानिसहरूले उसलाई ढुङ्गाले हानेर मारून्। म त्यस मानिसलाई त्याग्नेछु; म उसलाई समुदायबाट हटाउनेछु किनकि उसले आफ्नो सन्तान मोलेकलाई चढाएर मेरो पवित्र ठाउँलाई अशुद्ध बनाएको छ र मेरो पवित्र नामलाई अपवित्र पारेको छ।’”
यहोवाले यस्तो स्पष्ट आज्ञा दिनुभए तापनि केही इस्राएलीहरू साँचो उपासनाबाट तर्किए। अनि आफ्ना छोराछोरी झूटा देवताहरूलाई बलि चढाएर यस्ता पाशविक चलनहरूमा सम्मिलित भए। यस विषयमा भजन १०६:३५-३८ मा यसो भनिएको छ: “तिनीहरू ती जातिहरूसित घुलमिल भए र तिनीहरूकै तौरतरिका अपनाए। तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे र त्यो नै तिनीहरूको लागि पासो बन्यो। तिनीहरू भूतप्रेतलाई आफ्ना छोराछोरीको बलि चढाउँथे। तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्, तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए। अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।”
मे १०-१६
बाइबलमा पाइने अनमोल धन | गन्ती ३०-३१
‘आफ्नो भाकल पूरा गर्नुहोस्’
it-2-E पृ. ११६२
भाकल
भाकल स्वेच्छाले गरिन्छ तर भाकल गरेपछि त्यो पूरा गर्नै पर्छ। भाकल कुनै व्यक्तिले स्वेच्छाले गर्थ्यो तर परमेश्वरले दिनुभएको व्यवस्थाअनुसार त्यो एक चोटि गरेपछि जसरी भए पनि पूरा गर्नै पर्थ्यो। त्यसैले भाकल गरेपछि त्यो जसरी भए पनि पूरा गर्नै पर्ने भएकोले तिनले आफूले गरेको वचन पूरा गर्नेछन् भनेर आफ्नो ज्यान नै जमानी राखेसरह हुन्थ्यो। (गन ३०:२; रोमी १:३१, ३२ पनि हेर्नुहोस्।) जीवनै मुछिएकोले बाइबलमा कुनै भाकल गर्नुअघि के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ भनेर एकदमै होसियारी साथ सोच्नको लागि भनिएको कुरा हामी बुझ्न सक्छौँ। व्यवस्थामा यसो भनिएको छ: “तिमीहरूले यहोवा परमेश्वरसामु कुनै भाकल गऱ्यौ भने . . . तिमीहरूले त्यो भाकल पूरा गरेको यहोवा परमेश्वर चाहनुहुन्छ। भाकल पूरा गरेनौ भने तिमीहरूले पाप गरिरहेका हुनेछौ। तर भाकल गरेका छैनौ भने तिमीहरूले पाप गरेका हुनेछैनौ।”—व्य २३:२१, २२.
it-2-E पृ. ११६२
भाकल
कुनै काम गर्छु, परमेश्वरलाई कुनै भेटी वा उपहार चढाउँछु, कुनै खास सेवामा लाग्छु वा कुनै काम व्यवस्थाविपरीत नभए तापनि उक्त काम गर्दिनँ भनी परमेश्वरसित गरिने प्रतिज्ञा। भाकल भनेको आफ्नो इच्छाले अनि आफैले छनौट गर्ने कुरा थियो। यो गम्भीर वाचा भएकोले भाकल गर्नु पनि शपथ खानु जत्तिकै गम्भीर कुरा थियो। बाइबलको कुनै-कुनै पदमा यी दुवै अभिव्यक्ति सँगसँगै प्रयोग गरिएका छन्। (गन ३०:२; मत्ति ५:३३) “भाकल गर्नु” भनेको आफ्नो चाहना व्यक्त गर्नु हो भने “शपथ खानु” भनेको कुनै कुरा सत्य हो भनेर ठोकुवा गर्न वा कुनै काम गर्ने या नगर्ने भनेर बताउन आफूभन्दा ठूलो व्यक्तिसित गरिने वाचा हो। शपथ खानुमा अक्सर करार पक्का गर्नु पनि समावेश हुन्थ्यो।—उत्प २६:२८; ३१:४४, ५३.
बहुमूल्य रत्न
it-2-E पृ. २८ अनु. १
यिप्तह
यहोवाको मात्र उपासना गर्न पवित्र स्थानमा कुनै व्यक्तिलाई अर्पण गर्न सकिन्थ्यो। यस्तो अधिकार आमाबुबालाई दिइएको थियो। समुएल त्यस्तै एक जना व्यक्ति थिए। तिनी जन्मनुअघि नै तिनकी आमा हन्नाले तिनलाई वासस्थानमा अर्पण गर्ने भाकल गरेकी थिइन्। हन्नाले गरेको भाकल उनको पति एल्कानाको लागि स्वीकार्य थियो। समुएललाई दूध छुटाउनेबित्तिकै हन्नाले तिनलाई पवित्र स्थानमा अर्पण गरिन्। उनले बलिदान चढाउन जनावरहरू पनि लगिन्। (१स १:११, २२-२८; २:११) सिमसोनलाई बालक छँदै नाजिरीको रूपमा यहोवाको सेवामा अर्पण गरिएको थियो।—न्या १३:२-५, ११-१४; गन ३०:३-५, १६ मा बुबाको आफ्नी छोरीमाथिको अधिकार तुलना गर्नुहोस्।
मे १७-२३
बाइबलमा पाइने अनमोल धन | गन्ती ३२-३३
“तिमीहरूले त्यहाँका बासिन्दाहरूलाई धपाउनू”
w१०-E ८/१ पृ. २३
के तपाईँलाई थाह थियो?
हिब्रू धर्मशास्त्रमा अक्सर उल्लेख गरिएका “अग्ला थानहरू” के थिए?
इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा यहोवाले तिनीहरूलाई त्यहाँ बसोबास गर्ने कनानीहरूको उपासना गर्ने सबै ठाउँहरू हटाउन भन्नुभयो। परमेश्वरले यस्तो आज्ञा दिनुभयो: “तिमीहरूले . . . ढुङ्गाबाट अनि धातुबाट बनेका तिनीहरूका मूर्तिहरूलाई टुक्राटुक्रा पार्नू अनि तिनीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान भत्काउनू।” (गन्ती ३३:५२) झूटा उपासनाका ती केन्द्रहरू डाँडाको टुप्पोमा वा मानिसले अरू ठाउँमा जमिनबाट माथि उठाएर बनाएको पूजाथान हुन्थे, जस्तै रूखमुनि वा सहरहरू। (१ राजा १४:२३; २ राजा १७:२९; इजकिएल ६:३) ती स्थानहरूमा वेदी, पवित्र थाम वा खामा, मूर्ति, धूपदानी र उपासनाको लागि प्रयोग गरिने अरू सरसामान हुन्थे।
w०८-E २/१५ पृ. २७ अनु. ५-६
इस्राएलीहरूको गल्तीबाट पाठ सिक्नुहोस्
आज हामीले सामना गर्ने चुनौतीहरू इस्राएलीहरूले सामना गरेका चुनौतीहरूजस्तै छन्। वर्तमान समयमा पनि मानिसहरू विभिन्न कुराको उपासना गर्छन्। जस्तै: पैसा, मनोरञ्जनजगत् वा खेलकुदजगत्का लोकप्रिय व्यक्ति, राजनैतिक व्यवस्था, धार्मिक नेता र परिवारका सदस्यको समेत। जीवनमा यीमध्ये कुनै पनि कुरालाई एकदमै महत्त्व दिन पुग्न सक्छौँ। यहोवालाई प्रेम नगर्ने मानिसहरूसित घनिष्ठ मित्रता गाँस्दा हाम्रो आध्यात्मिकता खतरामा पर्न सक्छ।
अवैध यौनसम्बन्ध बाआल उपासनाको एउटा महत्त्वपूर्ण भाग थियो। थुप्रै इस्राएलीहरू यसप्रति आकर्षित भए अनि फसे। आज पनि परमेश्वरका जनहरू यस्तै पासोमा फसेका छन्। उदाहरणको लागि, घरमा बसीबसी कम्प्युटरको माउसको एक क्लिकको भरमै चालै नपाई कुनै व्यक्तिले आफ्नो सफा अन्तस्करणलाई खतरामा पार्न सक्छ। कुनै ख्रिष्टियन अश्लील सामग्री हेर्ने कुलतमा फस्नु कत्ति दुःखलाग्दो कुरा हो!
it-1-E पृ. ४०४ अनु. २
कनान
कनानीहरूलाई नाश गर्ने सन्दर्भमा “यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएको एउटा पनि काम यहोसुले अधुरो छोडेनन्।” (यहो ११:१५) तर इस्राएलीहरूले तिनको असल उदाहरण पछ्याएनन् र त्यस देशका सबै दूषित कुराहरू हटाउनदेखि चुके। कनानीहरू इस्राएलीहरूमाझ रहिरहेकोले तिनीहरूले इस्राएलीहरूमा खराब प्रभाव पार्न थाले र समय बित्दै जाँदा झन् धेरै इस्राएलीहरूको मृत्यु भयो। यसमा अपराध, अनैतिकता अनि मूर्तिपूजाको कारण ज्यान गुमाएकाहरू समावेश छैनन्। तिनीहरूले यहोवाको आज्ञा पालन गरेर कनानीहरूलाई पूर्णतया नाश गरेको खण्डमा यस्तो नतिजा हुने थिएन। (गन ३३:५५, ५६; न्या २:१-३, ११-२३; भज १०६:३४-४३) यहोवाले इस्राएलीहरूलाई उहाँको न्याय सबैको लागि एउटै हुन्छ भनेर चेतावनी दिनुभएको थियो। तिनीहरूले कनानीहरूसित बिहाबारी गरेमा, उनीहरूको विश्वास अपनाएमा अनि उनीहरूको धार्मिक र छाडा रीतिथिति मान्न थालेमा तिनीहरूले पनि कनानीहरूले जस्तै दण्ड भोग्ने थिए र तिनीहरूलाई ‘त्यहाँबाट धपाइने थियो।’—प्रस्थ २३:३२, ३३; ३४:१२-१७; लेवी १८:२६-३०; व्य ७:२-५, २५, २६.
बहुमूल्य रत्न
it-1-E पृ. ३५९ अनु. २
सिमाना
गोला हालेर कुनै कुलले कतातिर जमिन पाउने हो भन्ने कुरा पक्का भइसकेपछि त्यस कुलले त्यहाँको कति इलाका ओगट्ने हो भन्ने कुरा पक्का गर्नुपर्थ्यो। त्यो पक्का गर्न दोस्रो कुरा अर्थात् कुनै कुल कति ठूलो वा सानो छ भन्ने कुरा विचार गरिन्थ्यो। “सबै घरानालाई जमिन भाग लगाउनुअघि तिमीहरूले गोला हाल्नू। ठूलो समूहले पैतृक सम्पत्तिको रूपमा जमिनको ठूलै भाग पाओस् र सानो समूहले सानै भाग पाओस्। गोलाकै आधारमा सबैले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछन्।” (गन ३३:५४) जमिन कहाँ पाउने भनेर गोला हालेर निर्णय गरिने भए तापनि पैतृक सम्पत्तिको रूपमा कति जमिन पाउने भन्ने कुरामा छाँटकाँट गर्न सकिन्थ्यो। त्यसैले यहुदाको कुलको भागमा परेको इलाका धेरै ठूलो भएकोले त्यसको केही भाग सिमियोनको कुललाई दिइयो।—यहो १९:९.
कुराकानी गर्ने सीप तिखारौँ
w०९-E १०/१ पृ. ३० पेटी
परमेश्वरले आशिष् दिनुभएका युद्धहरू
ख्रिष्टियन धर्मको सुरुवात हुनुभन्दा शताब्दीऔँ अघि परमेश्वरले आफ्नो जातिको रूपमा छान्नुभएका इस्राएलीहरूलाई समय-समयमा सेना जम्मा गरेर युद्ध लड्ने अनुमति दिनुभएको थियो। परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको देश कनानमा प्रवेश गर्नुअघि उहाँले इस्राएलीहरूलाई यसो भन्नुभयो: “यहोवा परमेश्वरले तिनीहरूलाई [सात जातिलाई] तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ र तिमीहरूले तिनीहरूलाई हराउनेछौ। तिमीहरूले तिनीहरूको नामोनिसान मेटिदिनू। तिनीहरूसित कुनै करार नबाँध्नू र तिनीहरूलाई फिटिक्कै दयामाया नदेखाउनू।” (व्यवस्था ७:१, २) यसरी इस्राएलका सेनापति यहोसुले “इस्राएलका परमेश्वर यहोवाले आज्ञा गर्नुभएझैँ” ती शत्रुहरूलाई हराए।—यहोसु १०:४०.
के यो इस्राएलीहरूले विदेशी भूमि कब्जा गर्न निर्ममता साथ गरिएको आक्रमण थियो? पक्कै थिएन। किनभने ती जातिहरूमा मूर्तिपूजा, रक्तपात र घिनलाग्दा कुराहरू व्याप्त थियो। तिनीहरूले आफ्ना छोराछोरीलाई समेत आगोमा बलि चढाउँथे। (गन्ती ३३:५२; यर्मिया ७:३१) परमेश्वरको पवित्रता, न्याय र आफ्ना मानिसहरूप्रतिको प्रेमले उहाँलाई त्यस भूमिबाट अशुद्ध कुराहरू हटाउन बाध्य पाऱ्यो। तैपनि उहाँले एउटा यस्तो कुरा गर्नुभयो, जुन कुनै पनि सेनापतिले गर्न सक्दैन। अर्थात् उहाँले प्रत्येकको हृदय जाँच्नुभयो र दुष्ट कामहरू त्यागेर उहाँको उपासना गर्न इच्छुक भएकाहरूलाई जोगाउनुभयो।
मे २४-३०
बाइबलमा पाइने अनमोल धन | गन्ती ३४-३६
बहुमूल्य रत्न
w९१-E २/१५ पृ. १३ अनु. १३
सबैका लागि फिरौती
१३ आदम र हव्वा दुवैले फिरौतीको प्रबन्धबाट लाभ उठाउनेछैनन्। मोसाको व्यवस्थामा यस्तो सिद्धान्त पाइन्छ “मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर नछोड्नू।” (गन्ती ३५:३१) आदमलाई बहकाइएको थिएन, उनले जानाजानी पाप गरेका थिए। (१ तिमोथि २:१४) यसो गर्नु भनेको आफ्नो सन्तानको हत्या गर्नु बराबर थियो किनभने उनका सन्तान पनि जन्मजात पापी भए र तिनीहरूले पनि मृत्युदण्ड पाए। पक्कै पनि आदम मृत्युदण्ड पाउन लायकको थिए किनभने उनी त्रुटिरहित व्यक्ति भए तापनि जानाजानी यहोवाको आज्ञा पालन नगर्ने छनौट गरे। यहोवाले येसुको फिरौतीको बलिदानको मोल आदमको लागि प्रयोग गर्नु उहाँको धार्मिक स्तरविपरीत हुने थियो। तर आदमको पापको लागि मोल तिर्दा उनको सन्तानलाई मृत्युदण्डबाट छुटकारा दिन सम्भव भयो। (रोमी ५:१६) कानुनी तवरमा भन्ने हो भने पापको विनाशकारी शक्तिलाई जरैदेखि हटाइयो। आदमको सन्तानलाई पापबाट मुक्त गर्न फिरौती दिनुहुनेले “सबैको निम्ति मृत्यु चाख्नुभयो।”—हिब्रू २:९; २ कोरिन्थी ५:२१; १ पत्रुस २:२४.
मे ३१–जून ६
ख्रिष्टियन जीवन
nwtsty-E मत्ति २४:८ को अध्ययन नोट
प्रसववेदना: यहाँ चलाइएको ग्रीक शब्दले बच्चा जन्माउँदा महसुस हुने असह्य पीडालाई बुझाउँछ। हुनत यो शब्द यहाँ दुःख, पीडा र सङ्कष्टलाई बुझाउन प्रयोग गरिएको छ तर यसले के पनि सङ्केत गरेको हुन सक्छ भने मत्ति २४:२१ मा बताइएको महासङ्कष्टअघि दुःखकष्ट र समस्याहरू प्रसववेदनाको बेलामा जस्तै अझ बढ्नेछ, त्यसले भयङ्कर रूप लिनेछ र लामो समयको लागि रहनेछ।
जून ७-१३
बाइबलमा पाइने अनमोल धन | व्यवस्था ३-४
“यहोवाको व्यवस्था बुद्धि र न्यायले भरिपूर्ण छ”
it-2-E पृ. ११४० अनु. ५
समझ
लगनशील भई परमेश्वरको वचन अध्ययन गर्ने र लागू गर्ने व्यक्तिले आफ्नो शिक्षकले भन्दा ज्यादा अन्तर्दृष्टि पाउँछ र बूढापाकाहरूभन्दा अझ समझदार हुन्छ। (भज ११९:९९, १००, १३०; लुका २:४६, ४७ तुलना गर्नुहोस्।) बुद्धि अनि समझदारी परमेश्वरको खोटरहित नीतिनियम र विधिविधानका अभिन्न भाग हुन्। इस्राएलीहरूले वफादार भई ती पालन गर्दा अरू जातिमाझ तिनीहरू बुद्धिमान् र समझदार कहलिने थिए। (व्य ४:५-८; भज १११:७, ८, १०; १रा २:३ तुलना गर्नुहोस्।) समझदार व्यक्तिले परमेश्वरको वचन अपरिवर्तनीय छ भनेर मानिलिन्छ र उहाँको वचनअनुसारै चल्ने कोसिस गर्छ अनि यहोवालाई मदतको लागि पुकार्छ। (भज ११९:१६९) उसले परमेश्वरको वचन मनमा राखिराख्छ (मत्ति १३:१९-२३), त्यसलाई आफ्नो हृदयको पाटीमा लेख्छ (हित ३:३-६; ७:१-४) र “सबै झूटो मार्गलाई” घृणा गर्न थाल्छ (भज ११९:१०४)। परमेश्वरको छोरा पृथ्वीमा हुनुहुँदा उहाँले यसरी नै समझदारी देखाउनुभयो। उहाँ यातनाको खम्बामा मारिनदेखि पनि पछि हट्नुभएन किनभने धर्मशास्त्रमा उहाँ त्यसरी नै मर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो।—मत्ति २६:५१-५४.
जून १४-२०
बाइबलमा पाइने अनमोल धन | व्यवस्था ५-६
“यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्”
w०७-E ५/१५ पृ. १५-१६
म आफ्नो छोराछोरीलाई कसरी साँचो शिक्षा दिन सक्छु?
तपाईँको सपना, लक्ष्य, मूल्यमान्यता र चासो तपाईँको बोलीमा मात्र नभई व्यवहारमा पनि देखिन्छ। (रोमी २:२१, २२) छोराछोरीले सानैदेखि आमाबुबाको एक-एक कुरा हेरेर सिक्छन्। छोराछोरीले आमाबुबाको लागि कुन कुरा महत्त्वपूर्ण छ भनेर बुझ्छन् र अक्सर त्यही कुरा तिनीहरूको लागि पनि महत्त्वपूर्ण बन्छ। तपाईँ यहोवालाई साँच्चै माया गर्नुहुन्छ भने छोराछोरीले त्यो कुरा याद गर्छन्। तपाईँ बाइबल पढाइ र अध्ययनलाई महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर तिनीहरूले देख्छन्। तपाईँ राज्य गतिविधिलाई आफ्नो जीवनमा पहिलो स्थानमा राख्नुहुन्छ भनेर तिनीहरूले बुझ्छन्। (मत्ति ६:३३) नियमित रूपमा ख्रिष्टियन सभाहरूमा उपस्थित हुनुहुँदा र राज्य प्रचारकार्यमा भाग लिनुहुँदा यहोवालाई पवित्र सेवा चढाउनु नै तपाईँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर तिनीहरूले बुझ्छन्।—मत्ति २८:१९, २०; हिब्रू १०:२४, २५.
जून २१-२७
बाइबलमा पाइने अनमोल धन | व्यवस्था ७-८
“तिनीहरूसित बिहाबारी नगर्नू”
w१२-E ७/१ पृ. २९ अनु. २
परमेश्वरले आफ्ना उपासकहरूलाई एउटै विश्वासमा भएकाहरूसित मात्र विवाह गर्नू भनेर किन भन्नुभयो?
आफ्ना उपासकहरूलाई झूटा देवताहरू पुज्न लगाएर सैतान तिनीहरूलाई भ्रष्ट पार्न चाहन्छ भनेर यहोवालाई थाह थियो। त्यसैले परमेश्वरले अन्यजातिहरूको सन्दर्भमा इस्राएलीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन् र उनीहरूलाई बहकाएर परमेश्वरबाट टाढा लैजानेछन्।” यसमा थुप्रै कुरा मुछिएका थिए। इस्राएलीहरूले अरू देवताहरूलाई पुजेको खण्डमा तिनीहरूले परमेश्वरको अनुग्रह र सुरक्षा गुमाउने थिए, जसको फलस्वरूप तिनीहरू सजिलै शत्रुहरूको शिकार बन्न सक्थे अनि त्यस जातिबाट मसीह आउन असम्भव हुने थियो। पक्कै पनि सैतानले गलत मनसायले इस्राएलीहरूलाई अन्यजातिहरूसित विवाह गर्न लगाउन खोजेको थियो।
जून २८–जुलाई ४
बाइबलमा पाइने अनमोल धन | व्यवस्था ९-१०
“यहोवा परमेश्वरले तिमीहरूबाट के माग गर्नुभएको छ?”
w०९-E १०/१ पृ. १० अनु. ३-४
यहोवाले हामीबाट के माग गर्नुभएको छ?
राजीखुसीले परमेश्वरको आज्ञा पालन गर्न हामीलाई केले उत्प्रेरित गर्न सक्छ? एउटा कारणबारे मोसाले यसो भने: “यहोवा तिमीहरूका परमेश्वरको डर मान्नू।” (व्यवस्था १०:१२) यो केही नराम्रो होला भनी राखिने अस्वस्थकर डर नभई परमेश्वर र उहाँका तौरतरिकाको लागि मनैदेखि उत्पन्न हुने श्रद्धा हो। हाम्रो मन उहाँप्रतिको श्रद्धाले भरिएको छ भने उहाँलाई अप्रसन्न तुल्याउने कामहरू गर्नदेखि होसियार हुनेछौँ।
त्यसोभए हामीले परमेश्वरको आज्ञा पालन गर्नुको मुख्य कारण के हुनुपर्छ? मोसाले यसो भने: “उहाँलाई प्रेम गर्नू, आफ्नो सारा हृदयले र सारा ज्यानले यहोवा तिमीहरूका परमेश्वरको सेवा गर्नू।” (व्यवस्था १०:१२) परमेश्वरलाई प्रेम गर्नुमा भावना मात्र मुछिएको हुँदैन। यस विषयमा एउटा किताब यसो भन्छ: “भावनालाई बुझाउन प्रयोग गरिने हिब्रू क्रियाहरूले कहिलेकाहीँ आफूले महसुस गरेको कुराको परिणामस्वरूप गरिने कामलाई पनि बुझाउँछ।” त्यस किताबले परमेश्वरलाई प्रेम गर्नु भनेको उहाँप्रति “प्रेमले उत्प्रेरित भई” कदम चाल्नु हो भनेर पनि बताउँछ। अर्को शब्दमा भन्नुपर्दा हामी परमेश्वरलाई साँचो प्रेम गर्छौँ भने उहाँलाई खुसी बनाउने कामहरू गर्नेछौँ।—हितोपदेश २७:११.
w०९-E १०/१ पृ. १० अनु. ६
यहोवाले हामीबाट के माग गर्नुभएको छ?
राजीखुसीले परमेश्वरको आज्ञा पालन गर्दा हामीले आशिष् पाउँछौँ। मोसाले यसो भने: ‘मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरूकै भलाइ हुनेछ।’ (व्यवस्था १०:१३) यहोवाका सबै आज्ञाहरू अर्थात् उहाँले हामीबाट माग गर्नुहुने सबै कुराहरू हाम्रै भलाइका लागि हुन् किनकि परमेश्वर प्रेम हुनुहुन्छ भनी बाइबल बताउँछ। (१ युहन्ना ४:८) त्यसैले हाम्रै हितका लागि उहाँले त्यस्ता आज्ञाहरू दिनुहुन्छ। (यसैया ४८:१७) यहोवाले हामीबाट माग गर्नुहुने कुराहरू पूरा गर्दा हामी अहिले निराशादेखि जोगिनेछौँ र भविष्यमा उहाँको राज्यमा थुप्रै आशिष् पाउँनेछौँ।
cl-E पृ. १६ अनु. २
के तपाईँ साँच्चै “परमेश्वरसित नजिक” हुन सक्नुहुन्छ?
२ पुरातन समयका अब्राहामको परमेश्वरसित नजिकको सम्बन्ध थियो। यहोवाले ती कुलपितालाई “मेरो मित्र” भन्नुभयो। (यसैया ४१:८) हो, यहोवाले अब्राहामलाई आफ्नो मित्र ठान्नुभयो। अब्राहामले ‘यहोवा परमेश्वरमाथि विश्वास गरेकोले’ तिनले उहाँसित नजिकको सम्बन्ध गाँस्न सके। (याकुब २:२३) आज पनि प्रेमले उत्प्रेरित भई यहोवाको सेवा गर्नेहरूसित उहाँ ‘नजिक आउने’ मौकाहरू खोज्नुहुन्छ। (व्यवस्था १०:१५) उहाँको वचनमा यस्तो प्रोत्साहन दिइएको छ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यी शब्दहरूमा हामी निम्तो र प्रतिज्ञा दुवै पाउँछौँ।
बहुमूल्य रत्न
it-1-E पृ. १०३
अनाकीहरू
अनाकीहरू बडेमाका थिए, जो कनानको पहाडी इलाकामा र त्यहाँको दक्षिणतिर समुद्रको छेउछाउमा पनि बसोबास गर्थे। एक समय अनाकीहरूका तीन जना शक्तिशाली पुरुष अहिमन, सेसै र तल्मै हेब्रोनमा बस्थे। (गन १३:२२) बाह्र जना इस्राएली जासुसहरूले हेब्रोनमै पहिलो चोटि अनाकीहरूलाई देखेका थिए। ती जासुसहरूमध्ये १० जनाले तिनीहरू जलप्रलयअघिका नपिलहरूका सन्तान हुन् र तिनीहरूको अगाडि इस्राएलीहरू “फट्याङ्ग्राजस्तै” देखिन्छन् भनेर डरलाग्दो खबर सुनाए। (गन १३:२८-३३; व्य १:२८) तिनीहरू एकदमै अग्ला भएकोले अजङका एमीहरू र रेफाईहरूलाई पनि तिनीहरूसितै तुलना गरिन्थ्यो। तिनीहरू बलिया भएकोले यस्तो भनाइ सुरु भएको हुन सक्छ: “अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ र?”—व्य २:१०, ११, २०, २१; ९:१-३.