प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू
    ब्यूँझनुहोस्‌!—२०१७ | सङ्‌ख्या ५
    • विपत्ति अघि—तयारी गर्नुहोस्‌!

      विपत्ति कसमाथि पो आइपर्दैन र? त्यसैले विपत्ति आउँदा आफ्नो जीवन जोगाउने सबैभन्दा राम्रो तरिका पूर्व तयारी नै हो। त्यसोभए पूर्व तयारी कसरी गर्न सक्छौं?

      • मनको तयारी गर्नुहोस्‌। विपत्ति जुनसुकै बेला जुनसुकै ठाउँमा पनि आउन सक्छ। त्यसैले तपाईं र तपाईंको परिवारको ज्यान जोखिममा पर्न सक्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। विपत्ति आएपछि सोचौंला वा तयारी गरौंला नभन्‍नुहोस्‌।

      • विपत्तिबारे जानकारी लिनुहोस्‌। आफू बसेको ठाउँमा के-कस्ता विपत्ति आइपर्न सक्छन्‌, थाह पाउनुहोस्‌। विपत्तिको बेला जोगिन सक्ने सुरक्षित ठाउँ नजिकै कतै छ कि, याद गर्नुहोस्‌। आफ्नो घर अनि आफू बसेको ठाउँ कत्तिको सुरक्षित छ, पक्का गर्नुहोस्‌। आगलागी हुन सक्ने खतराहरू हटाउनुहोस्‌। जस्तै: लामखुट्टेको धूप, मैनबत्ती, सलाई, पेट्रोलियम पदार्थ जस्ता कुराहरू प्रयोग गर्दा होसियार हुनुहोस्‌। भान्छामा ग्यास वा चुलो बालेर अन्त नजानुहोस्‌।

      • आपत्‌कालीन अवस्थामा चाहिने सरसामान तयार पार्नुहोस्‌। विपत्ति पछि बिजुली, पानी, फोन, यातायात जस्ता कुराहरू बन्द हुन सक्छन्‌। त्यसैले तपाईंको आफ्नै सवारी साधन छ भने आधा ट्याङ्‌की जति डिजेल-पेट्रोल सधैं सञ्चय गरेर राख्नुहोस्‌। अनि पर्याप्त खानेकुरा, पिउने पानी र आपत्‌कालीन अवस्थामा चाहिने सरसामानहरू पनि तयार गर्नुहोस्‌।—“के तपाईंसँग आवश्‍यक सरसामानहरू छ?” शीर्षकको पेटी हेर्नुहोस्‌।

        एउटा परिवार आपत्‌कालीन अवस्थामा चाहिने सरसमानहरू तयारी गर्दै

        तयारी नै विपत्ति आउँदा आफ्नो जीवन जोगाउने सबैभन्दा राम्रो तरिका हो

      • फोन नम्बर सुरक्षित राख्नुहोस्‌। नजिकका र टाढाका साथीभाइहरूसँग सम्पर्कमा रहन तिनीहरूको फोन नम्बर सधैं आफूसँगै सुरक्षित राख्नुहोस्‌।

      • विपत्ति आयो भने सुरक्षित ठाउँसम्म कसरी भाग्ने योजना बनाउनुहोस्‌ र पूर्व अभ्यास गर्नुहोस्‌। घरबाट सबैभन्दा छिटो निस्कन सकिने बाटो पत्ता लगाउनुहोस्‌। आफ्नो छोराछोरी पढ्‌ने विद्यालयले आपत्‌कालीन अवस्थामा सुरक्षित रहन कस्ता योजनाहरू बनाएको छ, पहिल्यै जानकारी लिनुहोस्‌। विपत्ति पछि परिवारसँगै कहाँ भेट्‌ने भन्‍ने कुरा पनि पक्का गर्नुहोस्‌। सायद नजिकैको स्कुल वा पार्क अनि अलि परको कुनै ठाउँ छान्‍न सक्नुहुन्छ। विशेषज्ञहरूले ती ठाउँसम्म जाने पूर्व अभ्यास गर्न सल्लाह दिन्छन्‌।

      • अरूलाई मदत गर्ने योजना बनाउनुहोस्‌। वृद्ध तथा अशक्‍तहरूलाई कसरी मदत गर्न सकिन्छ, पहिल्यै योजना बनाउनुहोस्‌।

      विपत्तिको दौडान—तुरुन्तै कदम चाल्नुहोस्‌

      सुरुमा उल्लेख गरिएको जोसुआ यसो भन्छन्‌, “आगो लाग्न सुरु हुँदा थुप्रै मानिस आलेटाले गर्दै थिए। कोही कम्प्युटर बन्द गर्दै थिए अनि कोही भने बोतलमा पानी भर्दै थिए। एक जनाले त यस्तो पनि भने, ‘सायद हामीले केहीबेर कुर्नुपर्छ होला।’” अरूले आलेटाले गरेकोले जोसुआ यसो भन्दै कराए, “हामी तुरुन्तै यहाँबाट बाहिर निस्किहाल्नुपर्छ।” यो सुनेपछि सँगै काम गर्ने साथीहरू तुरुन्तै भाग्न थाले र जोसुआको पछि लागे। जोसुआले ठूलो स्वरमा भने, “कोही लड्यो भने उसलाई उठाऊ अनि भागिहाल। हामी जोगिन सक्छौं!”

      • आगलागी हुँदा। आगलागी हुँदा प्रायः मानिसको मृत्यु धुवाँले निस्सासिएर हुने गर्दछ। धुवाँले गर्दा देख्न पनि गाह्रो हुन्छ। त्यसैले भुईंतिर निहुरिएर सबैभन्दा नजिकको बाटोबाट तुरुन्तै बाहिर निस्कनुहोस्‌। आफ्नो सरसामानहरू जहाँ छ त्यहीं छोडिदिनुहोस्‌। एक सेकेण्डले पनि तपाईंको जीवन जोगिन सक्छ।

      • भूकम्प आउँदा। बलियो फर्निचरमुनि लुक्नुहोस्‌ अथवा कोठामा भित्ताको कुनातिर आड लिनुहोस्‌। कम्पनहरू आइरहन सक्छ। सकेसम्म छिटो घरबाट बाहिर खुल्ला ठाउँमा जानुहोस्‌। उद्धारकहरू आउन समय लाग्न सक्छ, त्यसैले सक्नुहुन्छ भने अरूको उद्धार गर्नुहोस्‌।

      • सुनामी आउँदा। सुनामी आउने छाँट देखियो भने तुरुन्तै अग्लो ठाउँमा जानुहोस्‌। अझै ठूला-ठूला छाल आउन सक्ने भएकोले होसियार हुनुहोस्‌।

      • आँधीबेहरी वा तुफानको बेलामा। नजिकैको सुरक्षित ठाउँमा तुरुन्तै जानुहोस्‌।

      • बाढी आउँदा। बाढीले प्रभावित घरहरूबाट परै बस्नुहोस्‌। बाढी आइरहेको बेलामा पानीमा हिंड्‌ने वा सवारी साधन चलाउने नगर्नुहोस्‌। बाढीले ल्याएको पानीमा ढल मिसिने र टुटेफुटेको टुक्राटाक्री हुने भएकोले खतरा हुन्छ। बिजुलीका पोलहरू ढल्न सक्छन्‌ अनि ठाउँ ठाउँमा खाडलहरू पनि हुने भएकोले होसियार हुनु आवश्‍यक छ।

      • के तपाईंलाई थाह थियो? दुई फिट (०.६ मिटर) अग्लो पानीले कारलाई बगाउन सक्छ। बाढीमा सवारी साधन चलाउन खोज्दा थुप्रैले आफ्नो ज्यान गुमाउँछन्‌।

      • सरकारले ठाउँ खाली गर्ने वा छोड्‌ने निर्देशन दिएमा तुरुन्तै त्यो ठाउँ छोड्‌नुहोस्‌। आफू कहाँ अनि कस्तो अवस्थामा छु भनेर आफ्नो साथीहरूलाई खबर गर्नुहोस्‌। नत्र तिनीहरूले तपाईंलाई खोज्न आफ्नो ज्यान नै जोखिममा पार्न सक्छन्‌।

        एउटा परिवार रेडियो सुन्दै

        सरकारले ठाउँ खाली गर्ने वा छोड्‌ने निर्देशन दिएमा तुरुन्तै त्यो ठाउँ छोड्‌नुहोस्‌!

      • के तपाईंलाई थाह थियो? विपत्तिको दौडान फोनमा कुराकानी गर्नुभन्दा मेसेज पठाउनु अझै भरपर्दो हुन सक्छ।

      • सरकारले घर भित्रै बस्ने निर्देशन दिएमा भित्रै बस्नुहोस्‌। यदि रासायनिक, जैविक वा आणविक खतरा छ भने कोठाको झ्याल-ढोका ठप्प बन्द गर्नुहोस्‌। आणविक विकिरणको खतरा छ भने त्यसको असरबाट जोगिन सकेसम्म घरको सबैभन्दा तल अनि भित्रपट्टि जानुहोस्‌। टिभी वा रेडियोमा समाचारहरू सुन्‍नुहोस्‌। खतरा मुक्‍त नहोउन्जेल बाहिर ननिस्कनुहोस्‌।

  • विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू
    ब्यूँझनुहोस्‌!—२०१७ | सङ्‌ख्या ५
    • के तपाईंसँग आवश्‍यक सरसामानहरू छ?

      आपत्‌कालीन अवस्थामा चाहिने सरसामानहरू

      प्रकोप व्यवस्थापन निकायहरूले आकस्मिक अवस्थामा चाहिने सरसामानहरू तयार गर्न र वर्षैपिच्छे जाँच गर्न परिवारहरूलाई सचेत गराउँछन्‌। ठाउँ र परिस्थितिअनुसार चाहिने सरसामानहरू फरक-फरक हुन सक्छ। त्यसैले स्थानीय निकायहरूले के-कस्ता कुराहरू तयार गर्न निर्देशन दिएका छन्‌, बुझ्नुहोस्‌।

      सामान्यतया एक जना व्यक्‍तिलाई कम्तीमा एघार लिटर पानी अनि तीन दिनसम्म पुग्नेगरि नकुहिने र तयारी खानेकुराहरू राख्न सल्लाह दिइन्छ।

      केही परिवारले आपत्‌कालीन अवस्थाको लागि “झटपट झोला” तयार पारेका छन्‌। त्यहाँ भित्र निम्न कुराहरू राख्न सकिन्छ:b

      • ब्लाङ्‌केट, न्यानो लुगा र बलियो जुत्ता

      • टर्चलाइट, रेडियो र ब्याट्रीहरू

      • प्राथमिक उपचारको सामान र सिट्ठी

      • भाँडाकुँडा, ओपनर, पकेट औजार र पानीले नभिज्ने सलाई

      • मास्क, टेप र शरीर ढाक्ने प्लास्टिक

      • दाँत माझ्ने ब्रस, साबुन, तौलिया र ट्‌वाइलेट पेपर

      • बच्चा, वृद्ध र अशक्‍तहरूलाई चाहिने सरसामानहरू

      • पानीले नभिज्ने बाकसमा औषधीहरू, हस्पिटलको कागजात र अन्य महत्त्वपूर्ण कागजातको फोटोकपी

      • आवश्‍यक फोन नम्बर र भेट्‌ने ठाउँहरूको लिस्ट अनि स्थानीय इलाकाको नक्सा

      • बैंकिङ्‌ग कार्डहरू र पैसा

      • घर र सवारी साधनको अतिरिक्‍त चाबी

      • कागज, कलम, किताब र साना बच्चाहरूको लागि खेलौनाहरू

      • बाइबल

      b माथि उल्लेख गरिएका सबै सरसामान स्थानीय तवरमा सुहाउँदो नहुन पनि सक्छ। आवश्‍यक सरसामानहरू आफै थप्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने