जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जुलाई ५-११
बाइबलमा पाइने अनमोल धन | व्यवस्था ११-१२
“यहोवा आफ्ना मानिसहरूले कसरी उहाँको उपासना गरेको चाहनुहुन्छ?”
it-1-E पृ. ८४ अनु. ३
वेदी
इस्राएलीहरूलाई झूटो धर्मसित सम्बन्धित सबै वेदी भत्काउन अनि प्रायजसो त्यससँगै बनाइएका पवित्र थामहरू अनि खामाहरू नाश गर्न निर्देशन दिइएको थियो। (प्रस्थ ३४:१३; व्य ७:५, ६; १२:१-३) तिनीहरूले कहिल्यै त्यसरी उपासना गर्नु हुँदैनथ्यो अनि आफ्ना छोराछोरीलाई कनानीहरूले जस्तै आगोमा बलि चढाउनु हुँदैनथ्यो। (व्य १२:३०, ३१; १६:२१) थुप्रै वेदी बनाउनुको साटो इस्राएलीहरूले साँचो परमेश्वरको उपासनाको लागि एउटा मात्र वेदी बनाउनुपर्थ्यो र त्यो यहोवाले रोज्नुभएको ठाउँमा हुनुपर्थ्यो। (व्य १२:२-६, १३, १४, २७; बेबिलोनीहरूको कुरा गर्ने हो भने तिनीहरूले इस्तार देवीको लागि मात्रै १८० वटा वेदी बनाएका थिए।) इस्राएलीहरूलाई यर्दन नदी पार गरेपछि सबैभन्दा पहिला ढुङ्गाको एउटा वेदी बनाउन निर्देशन दिइयो (व्य २७:४-८) र त्यो यहोसुले एबाल डाँडामा बनाए। (यहो ८:३०-३२) प्रतिज्ञा गरिएको देश कब्जा गरेर कुलअनुसार जमिन भाग लगाइसकेपछि रुबेनको कुल, गादको कुल र मनस्सेका आधा कुलका मानिसहरूले यर्दननजिकै एउटा ठूलो र भव्य वेदी बनाए। यसरी वेदी बनाउँदा अरू कुलका मानिसहरूले विरोध गरे। तर तिनीहरूले धर्मत्याग गरेको नभई साँचो परमेश्वर यहोवाप्रति वफादार रहेको चिन्हस्वरूप त्यो वेदी बनाएका थिए भनेर बुझेपछि त्यो विवाद साम्य भयो।—यहो २२:१०-३४.
बहुमूल्य रत्न
it-1-E पृ. ९२५-९२६
गिरिज्जिम डाँडा
ऐ सहर कब्जा गरेको केही समयपछि नै मोसाले दिएको आज्ञाअनुसारै यहोसुको नेतृत्वमा इस्राएलका कुलहरू गिरिज्जिम र एबाल डाँडामा भेला भए। त्यहाँ इस्राएलीहरूलाई यहोवाप्रति आज्ञाकारी भएमा तिनीहरूले पाउने आशिष् अनि अनाज्ञाकारी भएमा तिनीहरूले पाउने सरापबारे पढेर सुनाइयो। सिमियोन, लेवि, यहुदा, इस्साकार, युसुफ र बिन्यामिनको कुलका मानिसहरू गिरिज्जिम डाँडाको अगाडि उभिए। लेवीहरू बेँसीमा उभिएका थिए र त्यहाँ करारको सन्दुक पनि थियो अनि अरू बाँकी छ कुल भने एबाल डाँडाको अगाडि उभिएका थिए। (व्य ११:२९, ३०; २७:११-१३; यहो ८:२८-३५) गिरिज्जिम डाँडाको अगाडि उभिएका कुलहरूलाई आशिष्हरू पढेर सुनाएपछि तिनीहरूले ‘आमिन’ भनेको हुनुपर्छ अनि एबाल डाँडाको अगाडि उभिएका कुलहरूले पनि सरापहरू सुनेपछि त्यसै भनेको हुनुपर्छ। एबाल डाँडा चट्टाने अनि बन्जर भएकोले आशिष् पढेर सुनाउन सुन्दर अनि उर्वर गिरिज्जिम डाँडा रोजिएको हुनुपर्छ भनेर कसै-कसैले भन्न सक्छन् तर बाइबलमा यसबारे केही बताइएको छैन। व्यवस्था ठूलो स्वरमा ‘इस्राएलीहरूको सारा समुदायसामु पढेर सुनाइयो;’ “त्यस समुदायमा स्त्री, केटाकेटी अनि तिनीहरूमाझ बसोबास गर्ने विदेशीहरू पनि थिए।” (यहो ८:३५) दुवै डाँडाअगाडि धेरै मानिसहरू भए तापनि सबैले राम्रोसँग सुन्न सक्थे। त्यस क्षेत्रमा ध्वनि राम्ररी प्रसारण हुने भएकोले पनि यो सम्भव भएको हुन सक्छ।—एबाल डाँडा हेर्नुहोस्।
जुलाई १२-१८
बाइबलमा पाइने अनमोल धन | व्यवस्था १३-१५
“यहोवा गरिबहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?”
it-2-E पृ. १११० अनु. ३
दशांश
इस्राएलीहरूले प्रत्येक वर्ष लेवी पुजारीहरूको लागि दिने दशांशबाहेक अर्को दशांश पनि दिन्थे जस्तो देखिन्छ, जुन अरू नै उद्देश्यको लागि प्रयोग गरिन्थ्यो। तर त्यसबाट लेवीहरूले पनि केही भाग पाउँथे। साधारणतया चाडहरूमा भेला हुँदा इस्राएलीहरूले आफ्नो परिवारसित मिलेर यस दशांशबाट खान्थे। यरुसलेमबाट टाढा बस्ने इस्राएलीहरूलाई यो दशांश यरुसलेमसम्म पुऱ्याउन गाह्रो भएको खण्डमा तिनीहरूले त्यो बेच्न सक्थे। अनि तिनीहरूले त्यही पैसा यरुसलेममा पवित्र सभाको बेलामा खानपिनको लागि अनि रमाइलो गर्नको लागि प्रयोग गर्न सक्थे। (व्य १२:४-७, ११, १७, १८; १४:२२-२७) इस्राएलीहरूले सात-सात वर्षमा मनाउने विश्राम-वर्षको हरेक तेस्रो र छैटौँ वर्षको अन्तमा यो दशांश सभाहरूको खर्च बेहोर्नको लागि चलाउनुको सट्टा त्यहाँ बस्ने लेवीहरू, विदेशीहरू, अनाथहरू र विधवाहरूको लागि छुट्ट्याइन्थ्यो।—व्य १४:२८, २९; २६:१२.
it-2-E पृ. ८३३
विश्राम-वर्ष
विश्राम-वर्षलाई मूल भाषामा “छुटकाराको वर्ष [हास्सेमितताह]” पनि भनिएको छ। (व्य १५:९; ३१:१०) त्यस वर्ष खेत जोतिँदैनथ्यो, बाँझै छोडिन्थ्यो। (प्रस्थ २३:११) साथै ऋण लिएकाहरूको ऋण पनि माफ गरिन्थ्यो। ‘त्यो वर्ष यहोवा परमेश्वरको महिमाको लागि ऋण माफीको घोषणा गरिन्थ्यो।’ यस विषयमा फरक-फरक विचार भए तापनि केही टिप्पणीकारअनुसार वास्तवमा त्यो वर्ष ऋण माफ गर्ने त होइन तर ऋण दिएकाहरूले हिब्रू दाजुभाइलाई ऋण चुक्ता गर्न दबाब दिनचाहिँ मिल्दैनथ्यो किनभने त्यो वर्ष किसानहरूको कुनै आम्दानी हुँदैनथ्यो। तर विदेशीहरूलाई भने ऋण चुक्ता गर्न लगाउन सकिन्थ्यो। (व्य १५:१-३) केही रब्बीअनुसार गरिब दाजुभाइलाई मदत गर्नको लागि दिइएको ऋण माफ गरिन्थ्यो तर व्यापारिक लेनदेनको लागि लिइएको ऋण भने माफ गरिँदैनथ्यो। ती रब्बीहरूअनुसार इस्वी संवत् प्रथम शताब्दीमा हिलेल नाम गरेका व्यक्तिले एउटा यस्तो नियम सुरु गरे, जसमा ऋण दिने व्यक्तिले अदालतमा केही कागजपत्र पेस गरेको खण्डमा ऋण लिएको व्यक्तिले ऋण चुक्ता गर्नै पर्थ्यो।—द पेन्टाटुक एन्ड हाफ्तोराह, जे. हर्ट्जद्वारा सम्पादित, लण्डन, १९७२, पृ. ८११, ८१२.
it-2-E पृ. ९७८ अनु. ६
दासदासी
दास र मालिकबीचको सम्बन्धबारे व्यवस्थाहरू। इस्राएलीहरूमाझ हिब्रू दासको स्तर विदेशी वा प्रवासी दासको भन्दा फरक हुन्थ्यो। विदेशी दासदासीहरू आफ्नो मालिककै सम्पत्ति हुन्थे र तिनीहरूले ती दासदासीहरू पैत्तृक सम्पत्तिको रूपमा आफ्नो सन्तानलाई दिन सक्थे। (लेवी २५:४४-४६) तर हिब्रू दासलाई भने उसले सेवा गरेको सातौँ वर्षमा वा स्वर्ण वर्षमा, जुन पहिला आउँथ्यो त्यही वर्ष स्वतन्त्र छोडिदिनुपर्थ्यो। उसले दासको रूपमा सेवा गरेको समयको दौडान उसलाई ज्यालादारी मजदुरको रूपमा व्यवहार गर्नुपर्थ्यो। (प्रस्थ २१:२; लेवी २५:१०; व्य १५:१२) यदि कुनै हिब्रूले आफूलाई विदेशी वा प्रवासीको हातमा वा त्यस विदेशीको परिवारको हातमा बेचेको थियो भने उसले जुनसुकै बेला आफूलाई मोल तिरेर छुटाउन सक्थ्यो वा उसलाई छुटाउने अधिकार भएको कसैले उसलाई छुटाउन सक्थ्यो। स्वर्ण वर्ष आउन वा उसले आफूलाई दासको रूपमा बेचेको सात वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरेर मोल तोकिन्थ्यो। (लेवी २५:४७-५२; व्य १५:१२) हिब्रू दासलाई छोडिदिँदा उसको मालिकले उसले स्वतन्त्र मानिसको रूपमा राम्रो सुरुवात गर्न सकोस् भनेर उसलाई खाली हात पठाउनु हुँदैनथ्यो। (व्य १५:१३-१५) ऊ दासको रूपमा पत्नीसित आएको थियो भने उसले आफ्नी पत्नीलाई पनि आफूसित लैजान सक्थ्यो। यदि मालिकले उसको लागि पत्नी ल्याइदिएको हो भने (ऊ विदेशी स्त्री हुनुपर्छ, जसलाई सेवा गरेको सातौँ वर्षमा पनि स्वतन्त्र छोडिदैँनथ्यो।) ऊ मालिककै हुन्थी। साथै उनीहरूका छोराछोरी छन् भने तिनीहरू पनि मालिककै हुन्थे। यस्तो अवस्थामा हिब्रू दासले आफ्नो मालिककहाँ नै बस्ने छनौट गर्न सक्थ्यो। त्यसपछि उसको मालिकले सियोले उसको कान छेडिदिन्थ्यो र ऊ जिन्दगीभर आफ्नो मालिकको दास हुने थियो।—प्रस्थ २१:२-६; व्य १५:१६, १७.
जुलाई १९-२५
बाइबलमा पाइने अनमोल धन | व्यवस्था १६-१८
“ठीकसित न्याय गर्नका लागि सिद्धान्तहरू”
it-1-E पृ. ३४३ अनु. ५
अन्धोपन
न्यायलाई भ्रष्ट बनाएर गरिएको गलत फैसलालाई अन्धोपनसित तुलना गरिएको थियो। घुस वा उपहार दिने वा पक्षपात गर्नेविरुद्ध व्यवस्थामा थुप्रै सल्लाह पाइन्छ किनभने यस्ता कुराहरूले न्यायकर्तालाई अन्धो बनाउन सक्छ र निष्पक्ष फैसला सुनाउनदेखि बाधा पुऱ्याउन सक्छ। “घुसले इमानदार मानिसलाई समेत अन्धो बनाउँछ।” (प्रस्थ २३:८) “घुसले बुद्धिमान् मानिसलाई पनि अन्धो बनाइदिन्छ।” (व्य १६:१९) कुनै न्यायकर्ता एकदमै बुद्धिमान् र इमानदार छन् भने पनि तिनले मुद्दामा मुछिएकाहरूबाट उपहार पाउँदा, त्यसले तिनलाई जानी-नजानी असर गरिरहेको हुन सक्छ। परमेश्वरको व्यवस्थामा उपहारका साथै भावनाले पनि कसरी अन्धो बनाइदिन सक्छ भनेर स्पष्टै बताइएको छ। व्यवस्थामा यसो भनिएको छ: “तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्ग्याउनू। तिमीहरूले गरिबलाई पक्षपात नगर्नू अनि धनीको पक्ष नलिनू।” (लेवी १९:१५) त्यसैले भावनामा बहेर वा लोकप्रिय हुन कुनै न्यायकर्ताले धनी मानिस धनी भएकै कारण तिनको विरुद्धमा फैसला सुनाउनु हुँदैनथ्यो।—प्रस्थ २३:२, ३.
it-2-E पृ. ५११ अनु. ७
सङ्ख्या
दुई। मुद्दामामिलाको सन्दर्भमा सङ्ख्या दुई बारम्बार प्रयोग गरिन्छ। दुई जना साक्षीको अगाडि गरिएको सहमति अझै मान्य हुन्छ। न्यायकर्ताहरूले कुनै मुद्दामामिलाको फैसला सुनाउनको लागि दुई वा तीन जना साक्षी हुनु आवश्यक थियो। यही सिद्धान्त ख्रिष्टियन मण्डलीमा पनि लागू गरिन्छ। (व्य १७:६; १९:१५; मत्ति १८:१६; २को १३:१; १ति ५:१९; हिब्रू १०:२८) परमेश्वरले आफ्नो छोरा मानिसजातिको उद्धारकको रूपमा पठाउनुहुँदा यही सिद्धान्त लागू गर्नुभयो। येसुले यसो भन्नुभयो: “‘दुई जना मानिसले दिएको साक्षी सत्य हुन्छ’ भनेर तिमीहरूकै व्यवस्थामा लेखिएको छ। आफ्नो विषयमा साक्षी दिने एक जना मै हुँ अनि मलाई पठाउनुहुने बुबाले पनि मेरो विषयमा साक्षी दिनुहुन्छ।”—युह ८:१७, १८.
it-2-E पृ. ६८५ अनु. ६
पुजारी
परमेश्वरको व्यवस्था मुख्यगरि पुजारीहरूले सिकाउँथे साथै तिनीहरूले इस्राएलीहरूको मुद्दामामिला छिनोफानो गर्ने कुरामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्थे। सहरका मूलढोकाहरूमा न्यायकर्ताहरूलाई छुट्ट्याइएको ठाउँमा तिनीहरूलाई मदत गर्न पुजारीहरू पनि हुन्थे। स्थानीय अदालतले फैसला सुनाउनै नसक्ने खालको एकदमै जटिल मुद्दामामिलामा पुजारीहरूले न्यायकर्ताहरूसितै मिलेर छिनोफानो गर्थे। (व्य १७:८, ९) कुनै ठाउँमा एउटा लास भेटियो र कसले मारेको हो भनेर थाह भएन भने पुजारीहरूले सहरका नाइकेहरूसँगै मिलेर सबै प्रकिया पूरा भएको कुरा पक्का गर्नुपर्थ्यो। यसो गर्दा सहरबाट रक्तदोष हटाउन सकिन्थ्यो। (व्य २१:१, २, ५) कुनै पतिले डाह गरेर आफ्नी पत्नीलाई गोप्यमा व्यभिचार गरेको आरोप लगाउँछ भने पत्नीलाई वासस्थानमा ल्याउनुपर्थ्यो। त्यहाँ पुजारीले नियमअनुसार सबै प्रकिया पूरा गर्थे। अनि ती स्त्री निर्दोष हुन् वा दोषी, पक्का गर्न उनलाई यहोवासामु खडा गरिन्थ्यो अनि उहाँले ती स्त्रीको न्याय गरिदिनुहुन्थ्यो। (गन ५:११-३१) सबै मामिलामा पुजारीहरू वा नियुक्त न्यायकर्ताहरूले सुनाएको फैसलाको कदर गर्नुपर्थ्यो। कसैले त्यस फैसलाको जानाजानी निन्दा गऱ्यो वा मान्न इन्कार गऱ्यो भने तिनलाई मृत्युदण्ड दिइन्थ्यो।—गन १५:३०; व्य १७:१०-१३.
बहुमूल्य रत्न
it-1-E पृ. ७८७
हटाउनु
व्यवस्थाअनुसार कसैलाई मृत्युदण्डको फैसला सुनाउनुअघि कम्तीमा पनि दुई जना साक्षीको बयान चाहिन्थ्यो। (व्य १९:१५) अनि ती साक्षीहरूले नै सबैभन्दा पहिला दोषीलाई ढुङ्गाले हान्नुपर्थ्यो। (व्य १७:७) यसबाट परमेश्वरको व्यवस्था पालन गर्ने र इस्राएलीहरूमाझ शुद्धता कायम राख्ने तिनीहरूको जोस देखिने थियो। साथै यसले मानिसहरूलाई सत्य-तथ्य पत्ता नलगाई झूटो साक्षी दिनदेखि होसियार गराउने थियो।
कुराकानी गर्ने सीप तिखारौँ
it-1-E पृ. ५१९ अनु. ४
ख्रिष्टियन मण्डली। हुनत ख्रिष्टियन मण्डलीमा अदालतजस्तो एउटा छुट्टै अख्तियार हुँदैन तर मण्डलीमा बेकाइदासँग चल्नेहरू, जसलाई आध्यात्मिक अनुशासनको खाँचो पर्छ, तिनीहरूविरुद्ध कदम चाल्न सकिन्छ अनि तिनीहरूलाई मण्डलीबाट हटाउनुपर्ने समेत हुन सक्छ। त्यसैले प्रेषित पावलले मण्डलीमा निरीक्षण गर्ने जिम्मेवारी पाएकाहरूलाई भित्रकाहरूकै न्याय गर्न भनेका छन्। (१को ५:१२, १३) पावल र पत्रुस दुवैले मण्डली र निरीक्षकहरूलाई लेखेका पत्रहरूमा एल्डरहरूले मण्डलीको अवस्था कस्तो छ भनेर नजिकबाट नियाल्नुपर्छ र गलत कदम चाल्नेहरूलाई मदत गर्नुका साथै सच्याउनुपर्छ भनेका छन्। (२ति ४:२; १प ५:१, २; गला ६:१ तुलना गर्नुहोस्।) मण्डलीमा गुटबन्दी गराउने वा फुट उत्पन्न गराउनेहरूविरुद्ध कदम चाल्नुअघि पहिला एक चोटि अनि फेरि दोस्रो चोटि चेतावनी दिन भनिएको छ। (ति ३:१०, ११) तर पश्चात्ताप नगर्नेहरूलाई मण्डलीबाट हटाउनुपर्थ्यो। यसरी अनुशासन दिँदा गल्ती गर्नेहरूले मण्डलीमा पापको कुनै ठाउँ छैन भनेर बुझ्न सक्थे। (१ति १:२०) पावलले मण्डलीमा जिम्मेवारी पाएकाहरूलाई न्यायकर्ताहरूजस्तै एक ठाउँमा भेला भएर यस्ता कुराहरूको छिनोफानो गर्न निर्देशन दिएका छन्। (१को ५:१-५; ६:१-५) उनीहरूले दुई वा तीन जना साक्षीले दिएको प्रमाण छ भने मात्र आरोप स्विकार गर्नुपर्ने थियो साथै कुनै पूर्वाग्रह नराखी वा पक्षपात नगरी प्रमाणहरू केलाउनुपर्ने थियो।—१ति ५:१९, २१.
जुलाई २६–अगस्त १
बाइबलमा पाइने अनमोल धन | व्यवस्था १९-२१
“यहोवा जीवनलाई अनमोल ठान्नुहुन्छ”
it-1-E पृ. ३४४
रगत
परमेश्वर मानिसले जीवनबाट आनन्द उठाएको चाहनुहुन्थ्यो र कसैले मानिसलाई त्यो जीवनबाट वञ्चित गर्न खोजेमा ऊ परमेश्वरप्रति जबाफदेही हुने थियो। यो, परमेश्वरले हत्यारा कयिनलाई भन्नुभएको कुराबाट स्पष्ट हुन्छ। उहाँले यसो भन्नुभयो: “तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।” (उत्प ४:१०) कसैले आफ्नो भाइलाई घृणा गरेर ऊ मरेको चाहन्छ भने अथवा उसको निन्दा गर्दै हिँडेकोले वा झूटो साक्षी दिएकोले उसको जीवन खतरामा पर्छ भने त्यस व्यक्तिले आफूलाई आफ्नो भाइको रगतको दोषी बनाउँछ।—लेवी १९:१६; व्य १९:१८-२१; १यु ३:१५.
बहुमूल्य रत्न
it-1-E पृ. ५१८ अनु. १
अदालत
स्थानीय अदालत सहरको मूलढोकामा हुन्थ्यो। (व्य १६:१८; २१:१९; २२:१५, २४; २५:७; रुथ ४:१) ‘ढोकाले’ सहरको मूलढोका नजिकै भएको खुला ठाउँलाई बुझाउँछ। त्यहाँ मानिसहरूको अगाडि व्यवस्थाको पुस्तक र नियमकानुनहरू पढेर सुनाइन्थ्यो। (नहे ८:१-३) सहरको मूलढोकाबाट मानिसहरू ओहोरदोहोर गरिरहने भएकोले त्यहाँ सम्पत्ति बेचबिखनजस्ता मामिलाहरूको लागि सजिलै साक्षीहरू पाइन्थ्यो। साथै यसरी मुद्दामामिलाको छिनोफानो सार्वजनिक ठाउँमा हुने भएकोले न्यायकर्ताहरू न्यायिक प्रक्रियाहरू राम्रोसँग पूरा गर्न र निष्पक्ष भई फैसला सुनाउन होसियार हुन्थे। सहरका मूलढोकाहरूमा न्यायकर्ताहरू बस्नको लागि ठाउँ छुट्ट्याइएको हुन्थ्यो जस्तो देखिन्छ। (अयु २९:७) समुएल बेथेल, गिलगाल र मिस्पाको दौडाहामा निस्कन्थे अनि “ती ठाउँहरूमा इस्राएलीहरूको न्याय गर्थे” साथै तिनी आफ्नो घर रामामा पनि न्यायकर्ताको रूपमा सेवा गर्थे।—१स ७:१६, १७.
अगस्त २-८
बाइबलमा पाइने अनमोल धन | व्यवस्था २२-२३
“यहोवा जनावरहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?”
it-1-E पृ. ३७५-३७६
भारी
पुरातन समयमा भारी बोक्न अक्सर जनावरहरू प्रयोग गरिन्थ्यो। ‘आफूलाई घृणा गर्ने मानिसको गधालाई भारीले थिचेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्न र उसलाई आफ्नो गधा उठाउन मदत गर्न’ इस्राएलीहरूलाई भनिएको थियो।—प्रस्थ २३:५.
it-1-E पृ. ६२१ अनु. १
व्यवस्था
व्यवस्थाको किताबमा जनावरहरूको पनि ख्याल राख्न जोड दिइएको थियो। माउ चरा आफ्ना बचेराहरूलाई जोगाउन नभागि गुँडमै बसिरहने भएकोले इस्राएलीहरूलाई माउ चरा लैजान निषेध गरिएको थियो। इस्राएलीहरूले बचेराहरू लगे तापनि माउलाई चाहिँ छोडिदिनुपर्थ्यो। यसो गर्दा माउ चराले फेरि बचेराहरू कोरल्न सक्थ्यो। (व्य २२:६, ७) किसानहरूले गोरु र गधालाई एउटै जुवामा नारेर जोत्नु हुँदैनथ्यो किनभने यसो गर्दा कमजोर जनावरलाई गाह्रो हुन्थ्यो। (व्य २२:१०) दाइँ गरिरहेको गोरुलाई मोहोलो लगाउनु हुँदैनथ्यो किनभने अन्न आफ्नै अगाडि भए तापनि त्यो खान नपाएर त्यसलाई सास्ती हुने थियो र दाइँ गर्दा त्यसको बलचाहिँ खर्च भइरहेको हुने थियो।—व्य २५:४.
बहुमूल्य रत्न
it-1-E पृ. ६००
ऋण, ऋणी
ऋण भनेको पछि फिर्ता दिनेलिने सर्तमा अरूबाट लिइएको वा अरूलाई दिइएको केही कुरा हो। पुरातन इस्राएलमा मुख्यगरि आर्थिक समस्या हुँदा ऋण लिइन्थ्यो। कोही पनि इस्राएली ऋणी हुन चाहँदैन थिए किनभने सापटी लिने मानिस सापटी दिनेको दास बन्थ्यो। (हित २२:७) त्यसैले परमेश्वरका मानिसहरूलाई उदार र निःस्वार्थ भई खाँचोमा परेका सङ्गी इस्राएलीहरूलाई मदत गर्न भनिएको थियो। उनीहरूले तिनीहरूसित ब्याज लिएर नाफा कमाउनु हुँदैनथ्यो। (प्रस्थ २२:२५; व्य १५:७, ८; भज ३७:२६; ११२:५) तर विदेशीहरूसित भने ब्याज लिन सकिन्थ्यो। (व्य २३:२०) ऋणबाट ब्याज उठाउन सकिने यो प्रबन्ध व्यापार-व्यवसायमा लागू गर्न सकिन्थ्यो तर खाँचोमा परेकाहरूलाई ऋण दिँदा भने लागू गर्न सकिँदैनथ्यो भनेर यहुदी टिप्पणीकारहरू पनि मानिलिन्छन्। पुरातन इस्राएलमा साधारणतया विदेशीहरू केही समयको लागि व्यापार-व्यवसायको लागि आउँथे र उनीहरूबाट ब्याज लिन सकिन्थ्यो किनभने उनीहरूले पनि अरूलाई ऋण दिएपछि त्यसबाट ब्याज उठाउँथे।
कुराकानी गर्ने सीप तिखारौँ
g-E ४/१५ पृ. १३
के जनावरहरू मार्नु गलत हो?
मानिसहरू के भन्छन्? केही सिकारीहरू अनि जलारीहरू मनोरञ्जनको लागि जनावरहरू मार्छन्। अरू भने रूसी उपन्यासकार लियो टोल्सटोयले लेखेको यो कुरासित सहमत हुन्छन्। उनले जनावरहरू मार्नु र खानु “दुष्ट कुरा” हो भने।
बाइबल के भन्छ? परमेश्वरले ज्यान जोगाउन वा लुगा बनाउनको लागि जनावरहरू मार्न अनुमति दिनुभएको छ। (प्रस्थान २१:२८; मर्कुस १:६) बाइबलमा खानको लागि जनावरहरू मार्न सकिन्छ भनेर पनि लेखिएको छ। “तिमीहरूले सबै किसिमका जीवजन्तु खान सक्छौ” भनेर उत्पत्ति ९:३ मा लेखिएको छ। येसुले समेत आफ्ना चेलाहरूलाई माछा मार्न मदत गर्नुभयो, जुन तिनीहरूले पछि खाए।—युहन्ना २१:४-१३.
बाइबलमा परमेश्वर ‘हत्याहिंसा मन पराउनेलाई घृणा गर्नुहुन्छ’ पनि भनिएको छ। (भजन ११:५) त्यसैले यसबाट हामीले मनोरञ्जनको लागि मात्र जनावरहरूलाई चोट पुऱ्याएको वा मारेको परमेश्वर चाहनुहुन्न भनेर बुझ्न सक्छौँ।
परमेश्वर जनावरहरूको जीवनलाई बहुमूल्य ठान्नुहुन्छ भनेर बाइबल बताउँछ।
• सृष्टि गर्नुहुँदा “परमेश्वरले पृथ्वीमा जातजातका जङ्गली जनावर, जातजातका घरपालुवा जनावर र जातजातका घस्रने जीवजन्तु बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो” भनेर बाइबलमा बताइएको छ।—उत्पत्ति १:२५.
• “[यहोवा] जनावरहरूलाई आहारा दिनुहुन्छ” भनी बाइबल बताउँछ। (भजन १४७:९) परमेश्वरले यस्तो पर्यावरण बनाउनुभयो, जसले जनावरहरूलाई प्रशस्तै मात्रामा आहारा जुटाइदिन्छ र तिनीहरूलाई बास पनि दिन्छ।
• इस्राएलका राजा दाउदले आफ्नो प्रार्थनामा यसो भने: “हे यहोवा, . . . मानिस र जनावरको तपाईँ रक्षा गर्नुहुन्छ।” (भजन ३६:६) उदाहरणको लागि, जलप्रलय ल्याउनुभएर दुष्ट मानिसहरूलाई नाश गर्नुभएको बेला यहोवाले आठ जना मानिसलगायत हरप्रकारका जीवजन्तुलाई जोगाउनुभयो।—उत्पत्ति ६:१९.
स्पष्ट छ, यहोवा जनावरहरूको जीवनको मोल गर्नुहुन्छ र मानिसहरूले पनि जनावरहरूको जीवनको मोल गरेको चाहनुहुन्छ।
“धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ।”—हितोपदेश १२:१०.
अगस्त ९-१५
बाइबलमा पाइने अनमोल धन | व्यवस्था २४-२६
“यहोवा स्त्रीहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?”
it-2-E पृ. ११९६ अनु. ४
स्त्री
सैन्य सेवासम्बन्धी व्यवस्थामा समेत पति र पत्नीलाई अनुग्रह देखाइएको थियो किनभने भर्खरै विवाह गरेको पुरुष एक वर्ष घरमै बस्न सक्थे। यस्तो प्रबन्धले गर्दा उक्त जोडीले छोराछोरी जन्माउने मौका पाउँथे। पति लडाइँमा गएको बेला पत्नीले बच्चासित समय बिताएर सान्त्वना पाउन सक्थिन् अनि लडाइँमा आफ्नो पति गुमाउनुपरेमा पत्नीले बच्चासित समय बिताएर झन् धेरै सान्त्वना पाउन सक्थिन्।—व्य २०:७; २४:५.
it-1-E पृ. ९६३ अनु. २
सिलाबाला बटुल्नु
यो प्रबन्ध गरिबहरूको निम्ति भए तापनि यसले इस्राएलीहरूलाई उदार अनि निःस्वार्थ हुन र यहोवाको आशिष्मा भर पर्न प्रोत्साहन दिन्थ्यो। तर कुनै पनि तरिकामा अल्छी गर्न भने प्रोत्साहन दिँदैन थियो। यो कुरा दाउदको यस भनाइबाट अझ प्रस्ट हुन्छ: “धर्मी मानिसको बिचल्ली भएको र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको मैले कहिल्यै देखेको छैनँ।” (भज ३७:२५) व्यवस्थामा दिइएको यस प्रबन्धबाट लाभ उठाउँदै गरिबहरूले पनि परिश्रम गरेमा तिनीहरू भोको रहनु पर्दैनथ्यो अनि तिनीहरूका छोराछोरीले पनि खानेकुराको लागि भीख माग्नु पर्दैनथ्यो।
w११-E ३/१ पृ. २३
के तपाईँलाई थाह थियो?
पुरातन इस्राएलमा कुनै एक जना पुरुषको मृत्यु भयो र तिनको कुनै छोरा छैन भने तिनकी विधवालाई तिनको दाजु वा भाइले विवाह गरेर तिनको निम्ति सन्तान जन्माएको आशा गरिन्थ्यो। यसो गर्दा तिनको वंश मासिने थिएन। (उत्पत्ति ३८:८) देवर वा जेठाजुले आफ्नो मरेको दाजु वा भाइको पत्नीसित विवाह गर्ने प्रबन्ध पछि मोसाको व्यवस्थासम्मै कायम रह्यो। (व्यवस्था २५:५, ६) रुथको किताबमा बताइएझैँ बोअजले चालेको कदमबाट मृतकका साक्खै दाजुभाइ जीवित छैनन् भने तिनका नजिकका नातेदारहरूले त्यो कर्तव्य पूरा गर्नुपर्थ्यो।—रुथ १:३, ४; २:१९, २०; ४:१-६.
यो चलन येसुको समयसम्मै थियो भनेर सदुकीहरूले बताएको कुराबाट देखिन्छ, जुन मर्कुस १२:२०-२२ मा रेकर्ड गरिएको छ। प्रथम शताब्दीका यहुदी इतिहासकार फ्लेभियस जोसेफसका अनुसार यस चलनले त्यस व्यक्तिको वंश विनाश हुनदेखि जोगिन्थ्यो। साथै तिनको सम्पत्ति पनि परिवारमै रहन्थ्यो र तिनकी पत्नी पनि बेसहारा हुँदिन थिइन्। त्यतिबेला पतिको सम्पत्तिमा पत्नीको कुनै हक लाग्दैनथ्यो। तर यस प्रबन्धबाट जन्मिएको सन्तानले भने त्यस व्यक्तिको पैतृक सम्पत्ति पाउन सक्थ्यो।
बहुमूल्य रत्न
it-1-E पृ. ६४० अनु. ५
सम्बन्धविच्छेद
छोडपत्र। मोसाको व्यवस्थाले कुनै इस्राएली पुरूषलाई आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सजिलो बनाएको थियो भन्न सकिँदैन। सम्बन्धविच्छेद गर्न पतिले केही प्रकिया पूरा गर्नुपर्थ्यो। उनले एउटा कागजात तयार पार्नुपर्थ्यो अर्थात् ‘छोडपत्र बनाउनुपर्थ्यो।’ अनि उनले त्यो छोडपत्र ‘पत्नीलाई दिनुपर्थ्यो। त्यसपछि उनले पत्नीलाई घरबाट निकालिदिनुपर्थ्यो।’ (व्य २४:१) हुनत बाइबलमा यस प्रक्रियाबारे थप जानकारी दिइएको छैन तर यस कानुनी प्रक्रियामा उनले सम्बन्धित अख्तियारप्राप्त व्यक्तिसित सरसल्लाह गर्नुपर्थ्यो जस्तो देखिन्छ, जसले सुरुमा उनीहरूलाई मिलाप गराउन कोसिस गर्न सक्थे। छोडपत्र तयार पार्न र त्यसलाई कानुनी तवरमा मान्यता दिइने समयसम्म पतिले आफ्नो निर्णय पुनर्विचार गर्ने मौका पाउँथे। सम्बन्धविच्छेद गर्नको लागि कुनै न कुनै आधार हुनुपर्थ्यो। आफूले पूरा गर्ने कानुनी प्रक्रिया धेरै हुनेभएकोले सम्बन्धविच्छेद गर्न खोज्ने व्यक्ति सोचविचारै नगरी सम्बन्धविच्छेद गर्न होसियार हुन्थे साथै यसले गर्दा पत्नीको हक-अधिकार सुरक्षित हुन्थ्यो। “छोडपत्र”-मा के-के समावेश हुन्थ्यो भनेर बाइबलमा बताइएको छैन।
अगस्त १६-२२
बाइबलमा पाइने अनमोल धन | व्यवस्था २७-२८
बहुमूल्य रत्न
it-1-E पृ. ३६०
साँध-सिमाना
यहोवाले दिनुभएको व्यवस्थामा साँध-सिमाना मिच्न निषेध गरिएको थियो। (व्य १९:१४; हित २२:२८ पनि हेर्नुहोस्।) वास्तवमा “आफ्नो छिमेकीको साँध-सिमाना” मिच्ने मानिस श्रापित हुन्थ्यो। (व्य २७:१७) साधारणतया जग्गाधनीहरू आफ्नो जमिनको उब्जनीमै भर पर्ने भएकोले उनीहरूको साँध-सिमाना मिचिदिँदा वा सारिदिँदा उनीहरूको जीवन निर्वाह गर्ने स्रोतको केही भागबाट उनीहरू वञ्चित भइरहेका हुने थिए। पुरातन समयमा साँध-सिमाना मिच्नुलाई चोरी गर्नुसरह ठानिन्थ्यो। (अयु २४:२) त्यतिबेला साँध-सिमाना मिच्ने बेइमान मानिसहरू थिए। होसेका समयका यहुदाका शासकहरूलाई पनि साँध-सिमाना सार्ने मानिसहरूसित तुलना गरिएको छ।—होसे ५:१०.
अगस्त २३-२९
बाइबलमा पाइने अनमोल धन | व्यवस्था २९-३०
बहुमूल्य रत्न
it-1-E पृ. ६६५ अनु. ३
कान
यहोवाले आफ्ना सेवकहरूमार्फत अटेरी अनि अनाज्ञाकारी इस्राएलीहरूको “कानको खतना भएको छैन” भन्नुभयो। (यर्मि ६:१०, फुटनोट; प्रे ७:५१) सुन्नै नसकिनेगरि उनीहरूको कान बन्द भएजस्तै थियो। यहोवाले उनीहरूलाई सुन्ने कान दिनुभएको थिएन। उहाँको खोजी गर्नेहरूलाई उहाँ सुन्ने कान दिनुहुन्छ। तर उहाँको आज्ञा पालन नगर्नेहरूको कान भने उहाँ बोधो गराइदिनुहुन्छ। (व्य २९:४; रोमी ११:८) प्रेषित पावलले यस्तो समय आउनेछ भनेर भविष्यवाणी गरे, जब केही ख्रिष्टियन भनौदाहरूले साँचो शिक्षा त्याग्ने थिए। उनीहरूले परमेश्वरको वचनबाट सुन्न इन्कार गर्ने थिए। उनीहरूले आफूलाई “जे सुन्न मन पर्छ,” त्यही मात्र सुनाउने झूटा शिक्षकहरूको कुरामा ध्यान दिने थिए। (२ति ४:३, ४; १ति ४:१) विपत्तिको जस्ता डरलाग्दा खबरहरू सुनेर कसै-कसैको दुवै कान “बज्नेछ।”—१स ३:११; २रा २१:१२; यर्मि १९:३.
अगस्त ३०–सेप्टेम्बर ५
बाइबलमा पाइने अनमोल धन | व्यवस्था ३१-३२
“परमेश्वरको प्रेरणा पाएर लेखिएको गीतमा पाइने उदाहरणहरूबाट सिक्नुहोस्”
w०९-E ५/१ पृ. १४ अनु. ४
के तपाईँ बाइबलमा पाइने उदाहरणहरू बुझ्नुहुन्छ?
बाइबलमा यहोवालाई निर्जीव कुराहरूसित पनि तुलना गरिएको छ। उहाँ “इस्राएलका चट्टान,” “पहरा” अनि “किल्ला” हुनुहुन्छ भनेर बताइएको छ। (२ समुएल २३:३; भजन १८:२; व्यवस्था ३२:४) यसरी तुलना गर्नुको कारण के हो? ठूलो चट्टान आफ्नो ठाउँमा नहल्लिनेगरि स्थिर रहेझैँ यहोवा परमेश्वर हाम्रो सुरक्षाको बलियो स्रोत हुन सक्नुहुन्छ।
कुराकानी गर्ने सीप तिखारौँ
w०७-E ५/१५ पृ. १५-१६
तपाईँका छोराछोरीले तपाईँलाई नियालिरहेका हुन्छन्!
हामी कसरी आफ्ना छोराछोरीलाई यहोवालाई प्रेम गर्न र उहाँको डर मान्न सिकाउन सक्छौँ? यसको जवाफ यहोवाले भविष्यवक्ता मोसामार्फत इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा पाउन सक्छौँ। इस्राएली आमाबुबालाई यस्तो आज्ञा दिइएको थियो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा बलले प्रेम गर्नू। आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। अनि आफ्ना छोराछोरीको हृदयमा पनि यी आज्ञाहरू राखिदिनू। घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।”—व्यवस्था ६:५-७.
यस आज्ञाबाट आमाबुबाले महत्त्वपूर्ण पाठहरू सिक्न सक्छन्। पहिलो: तपाईँ आमाबुबाले राम्रो उदाहरण बसाल्नुपर्छ। आफ्ना छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनको लागि तपाईँ आफैले यहोवालाई प्रेम गर्नुपर्छ र उहाँका आज्ञाहरू आफ्नो हृदयमा राख्नुपर्छ। यसो गर्नु किन महत्त्वपूर्ण छ? किनभने तपाईँ नै आफ्नो छोराछोरीको पहिलो शिक्षक हुनुहुन्छ। तपाईँको उदाहरणबाट सिक्ने कुराहरूले उनीहरूमा गहिरो प्रभाव पार्छ। छोराछोरीको जीवनमा आमाबुबाको उदाहरणले जस्तो गहिरो प्रभाव अरू कसले पार्छ होला र?
तपाईँको सपना, आदर्श, मूल्यमान्यता अनि रुचि तपाईँको बोलीमा मात्र होइन तर व्यवहारमा पनि देखिन्छ। (रोमी २:२१, २२) शैशवकालदेखि नै केटाकेटीले आमाबुबालाई नियालेर हेर्छन् अनि सिक्छन्। आमाबुबाको लागि कुन कुरा महत्त्वपूर्ण छ, त्यो छोराछोरीले याद गर्छन् र अक्सर ती कुरा नै उनीहरूको लागि महत्त्वपूर्ण बन्छ। तपाईँ यहोवालाई साँच्चै प्रेम गर्नुहुन्छ भने तपाईँका छोराछोरीले पनि त्यो कुरा बुझ्नेछन्। जस्तै, तपाईँ बाइबल पढ्नु र अध्ययन गर्नुलाई महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर उनीहरूले बुझ्नेछन्। तपाईँ राज्य गतिविधिलाई पहिलो स्थान दिनुहुन्छ भनेर उनीहरूले याद गर्नेछन्। (मत्ति ६:३३) तपाईँ नियमित रूपमा सभाहरूमा उपस्थित हुनुहुँदा अनि साक्षीकार्यमा भाग लिनुहुँदा यहोवालाई पवित्र सेवा चढाउनु नै तपाईँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर उनीहरूले बुझ्नेछन्।—मत्ति २८:१९, २०; हिब्रू १०:२४, २५.