जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
नोभेम्बर १-७
बाइबलमा पाइने अनमोल धन | यहोसु १८-१९
“यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो”
it-1-E पृ. ३५९ अनु. १
सिमाना
कुलअनुसार जमिन भाग लगाउने काम दुई वटा कुराको आधारमा गरिन्थ्यो जस्तो देखिन्छ: गोला हाल्दा निस्केको नतिजा र कुल कति ठूलो वा सानो छ भन्ने कुरा; गोला हालेर निस्केको नतिजाबाट प्रत्येक कुलले पैतृक सम्पत्तिको रूपमा कुन ठाउँतिर जमिन पाउँथ्यो भन्ने कुरा मात्र निर्धारण हुन्थ्यो जस्तो देखिन्छ, यसरी उत्तर वा दक्षिण, पूर्व वा पश्चिम साथै तटवर्ती इलाका वा पहाडी इलाका, कतातिर पैतृक सम्पत्तिको रूपमा जमिन पाउने हो भनेर निर्धारण गरिन्थ्यो। गोलाको फैसला यहोवाले नै गर्नुहुन्थ्यो। त्यसले गर्दा कुलहरूबीच डाह वा झगडा उत्पन्न हुन पाउँदैनथ्यो। (हित १६:३३) यसरी उत्पत्ति ४९:१-३३ मा कुलपिता याकुबले परमेश्वरको प्रेरणा पाएर मर्ने बेला गरेको भविष्यवाणीअनुरूपै प्रत्येक कुलले आ-आफ्नो जमिन पाऊन् भन्ने कुरा परमेश्वरले पक्का गर्नुहुने थियो।
it-1-E पृ. १२०० अनु. १
पैतृक सम्पत्ति
पुर्ख्यौली जमिन। यहोवाले इस्राएलीहरूलाई पैतृक सम्पत्तिको रूपमा जमिन दिनुहुँदा ती जमिनहरूको सिमाना मोसालाई बताउनुभयो। (गन ३४:१-१२; यहो १:४) मोसाले गादका सन्तान, रुबेनका सन्तान र मनस्सेका आधा कुलहरूको लागि सिमाना तोकिदिए। (गन ३२:३३; यहो १४:३) बाँकी कुललाई भने यहोसु र एलियाजारको निर्देशनमा गोला हालेर जमिन बाँडिएको थियो। (यहो १४:१, २) उत्पत्ति ४९:५, ७ मा याकुबले मर्ने बेला गरेको भविष्यवाणीअनुरूपै सिमियोन र लेविको सन्तानलाई पैतृक सम्पत्तिको रूपमा छुट्टै इलाका दिइएन। सिमियोनको सन्तानले पाएको जमिन र सहरहरू यहुदाको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाभित्र पर्थ्यो (यहो १९:१-९) अनि लेवीहरूलाई भने इस्राएलको इलाकाभरि जम्मा ४८ वटा सहर दिइयो। लेविको कुलले पवित्र स्थानमा विशेष जिम्मेवारी पाएकोले यहोवा नै तिनीहरूको अंश हुनुहुन्थ्यो। त्यहाँ सेवा गरेबापत तिनीहरूले पैतृक सम्पत्ति वा अंशस्वरूप सबै थोकको दशांश पाउँथे। (गन १८:२०, २१; ३५:६, ७) अनि घरानाहरूलाई आफ्नो कुलको इलाकाभित्र नै जिम्मेवारीहरू दिइन्थ्यो। परिवारहरू बढ्दै गएपछि छोराहरूले पुर्ख्यौली जमिन पाउँथे र त्यसैअनुसार जमिन पनि अझ स-साना टुक्रामा बाँडिन्थ्यो।
it-1-E पृ. ३५९ अनु. २
सिमाना
गोला हालेर कुनै कुलले कतातिर जमिन पाउने हो भन्ने कुरा पक्का भइसकेपछि त्यस कुलले त्यहाँको कति इलाका ओगट्ने हो भन्ने कुरा पक्का गर्नुपर्थ्यो। त्यो पक्का गर्न दोस्रो कुरा अर्थात् कुनै कुल कति ठूलो वा सानो छ भन्ने कुरा विचार गरिन्थ्यो। “सबै घरानालाई जमिन भाग लगाउनुअघि तिमीहरूले गोला हाल्नू। ठूलो समूहले पैतृक सम्पत्तिको रूपमा जमिनको ठूलै भाग पाओस् र सानो समूहले सानै भाग पाओस्। गोलाकै आधारमा सबैले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछन्।” (गन ३३:५४) जमिन कहाँ पाउने भनेर गोला हालेर निर्णय गरिने भए तापनि पैतृक सम्पत्तिको रूपमा कति जमिन पाउने भन्ने कुरामा छाँटकाँट गर्न सकिन्थ्यो। त्यसैले यहुदाको कुलको भागमा परेको इलाका धेरै ठूलो भएकोले त्यसको केही भाग सिमियोनको कुललाई दिइयो।—यहो १९:९.
बहुमूल्य रत्न
it-1-E पृ. ३५९ अनु. ५
सिमाना
यर्दन नदीको पश्चिमपट्टिको इलाका बाँडफाँड गरिएको विवरणबाट सबैभन्दा पहिला यहुदा (यहो १५:१-६३), युसुफ (एप्रैम) (यहो १६:१-१०) र यर्दन नदीको पश्चिमपट्टि बसोबास गर्ने मनस्सेको आधा कुललाई (यहो १७:१-१३) सिमाना र सहरहरू भाग लगाइएको कुरा स्पष्ट हुन्छ। त्यसपछि जमिन भाग लगाउने काम केही समयको लागि रोकियो जस्तो देखिन्छ किनभने विवरणमा इस्राएलीहरूको छाउनी गिलगालबाट सिलोमा सरेको कुरा उल्लेख गरिएको छ। (यहो १४:६; १८:१) जमिन भाग लगाउने काम कति समयको लागि रोकियो, त्यो उल्लेख गरिएको छैन तर बाँकी सात कुलले जमिन अधिकार गर्ने काममा ढिलासुस्ती गरेकोले पछि यहोसुले तिनीहरूलाई हप्काए। (यहो १८:२, ३) तिनीहरूले ढिलासुस्ती गर्नुको पछाडि विभिन्न कारणहरू दिइएका छन्। केही टिप्पणीकारहरूअनुसार कनानलाई कब्जा गरेपछि हासिल गरेको लुटको घनमाल प्रशस्त भएकोले र कनानीहरूले तुरुन्तै आक्रमण गर्ने खतरा पनि नभएकोले यी कुलहरूले बाँकी इलाका कब्जा गर्न हतार नगरेका हुन सक्छन्। कुनै-कुनै इलाकामा भएका शक्तिशाली शत्रुहरूको सामना गर्न नचाहेकोले पनि यी कुलहरूले ढिलासुस्ती गरेका हुन सक्छन्। (यहो १३:१-७) साथै भाग लगाइसकेको इलाकाको तुलनामा बाँकी इलाकाहरूबारे तिनीहरूसित खासै ज्ञान नभएको पनि हुन सक्छ।
नोभेम्बर ८-१४
बाइबलमा पाइने अनमोल धन | यहोसु २०-२२
बहुमूल्य रत्न
it-1-E पृ. ४०२ अनु. ३
कनान
हुनत धेरैजसो कनानीहरू इस्राएलीहरूसित हारेर उनीहरूको अधीनमा बस्नु परेन तैपनि “यहोवा परमेश्वरले इस्राएलीहरूलाई पूरै देश दिनुभयो” भन्न सकिन्छ, “जुन देश दिन्छु भनी उहाँले तिनीहरूका पुर्खाहरूसित कसम खानुभएको थियो।” “उहाँले तिनीहरूलाई शान्ति दिनुभयो” र “यहोवा परमेश्वरले इस्राएलीहरूसित गर्नुभएको असल-असल प्रतिज्ञामध्ये एउटा पनि अपूरो रहेन। उहाँका सबै प्रतिज्ञा पूरा भए।” (यहो २१:४३-४५) इस्राएल वरपरका शत्रुहरू तिनीहरूदेखि त्रसित थिए र इस्राएलीहरूलाई उनीहरूदेखि खतरा थिएन। यहोवाले कनानीहरूलाई ‘अलिअलि गर्दै धपाउनेछु’ भन्नुभएको थियो। यसो गर्दा अचानक सुनसान भएको त्यो ठाउँमा जङ्गली जनावरको बिगबिगी हुने थिएन। (प्रस्थ २३:२९, ३०; व्य ७:२२) कनानीहरूसित पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका रथजस्ता खतरनाक हतियारहरू थिए अनि इस्राएलीहरूले कुनै-कुनै ठाउँ कब्जा गर्न पनि सकेनन्। तर त्यसो भन्दैमा यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्न चुक्नुभयो भन्न मिल्दैन। (यहो १७:१६-१८; न्या ४:१३) बरु विवरण हेर्ने हो भने इस्राएलीहरू अवफादार भएकोले उनीहरूले हार बेहोर्नुपरेको थियो।—गन १४:४४, ४५; यहो ७:१-१२.
नोभेम्बर १५-२१
बाइबलमा पाइने अनमोल धन | यहोसु २३-२४
“इस्राएलीहरूलाई यहोसुका अन्तिम शब्द”
it-1-E पृ. ७५
सरसङ्गत
इस्राएलीहरू प्रतिज्ञा गरिएको देश कनानमा प्रवेश गरेपछि तिनीहरूले एउटा फरक परिस्थितिको सामना गर्नुपऱ्यो। ब्रह्माण्डका मालिकले उनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएजस्तै उहाँले इस्राएलीहरूलाई त्यस देशमाथि पूरा अधिकार दिनुभएको थियो। त्यसैले उनीहरू त्यस देशमा विदेशीहरूको रूपमा प्रवेश गरिरहेका थिएनन् साथै यहोवाले उनीहरूलाई त्यस देशका मानिसहरूसित सरसङ्गत नगर्न आदेश दिनुभएको थियो। (प्रस्थ २३:३१-३३; ३४:११-१६) उनीहरूले परमेश्वरको मात्र नियम र विधिविधानहरू पालन गर्नुपर्थ्यो, धपाइने जातिको होइन। (लेवी १८:३, ४; २०:२२-२४) उनीहरूलाई विशेषगरि ती मूर्तिपूजकहरूसित बिहाबारी नगर्नू भनेर चेतावनी दिइएको थियो। त्यस्तो सम्बन्धले उनीहरूलाई मूर्तिपूजक पत्नीहरूसित मात्र नभई तिनीहरूका आफन्त र रीतिथितिसित घुलमिल हुने खतरामा पार्ने थियो। यो उनीहरूको लागि पासो साबित हुने थियो र उनीहरू धर्मत्यागमा फस्न सक्थे।—व्य ७:२-४; प्रस्थ ३४:१६; यहो २३:१२, १३.
नोभेम्बर २९–डिसेम्बर ५
बाइबलमा पाइने अनमोल धन | न्यायकर्ता ४-५
कुराकानी गर्ने सीप तिखारौँ
w०६-E ३/१ पृ. २८-२९
प्रेषित पावलले स्त्रीहरू “मण्डलीमा चुपचाप रहून्” भनेर के भन्न खोज्दै थिए?
प्रेषित पावलले कोरिन्थको ख्रिष्टियन मण्डलीलाई यस्तो लेखे: “पवित्र जनहरूका सबै मण्डलीमा जस्तै स्त्रीहरू मण्डलीमा चुपचाप रहून् किनकि तिनीहरूलाई बोल्ने अनुमति छैन।” (१ कोरिन्थी १४:३३, ३४) पावलको यो सल्लाह राम्ररी बुझ्न यसको प्रसङ्ग विचार गर्नु मदतकारी हुन सक्छ।
पहिलो कोरिन्थी अध्याय १४ मा पावलले ख्रिष्टियन मण्डलीका सभाहरूसित सम्बन्धित विषयहरूमा चर्चा गरेका छन्। तिनले हरेक सभाहरूमा क-कस्ता विषयमा छलफल गर्नुपर्छ र ती कसरी सञ्चालन गर्नुपर्छ भनेर सल्लाह दिए। (१ कोरिन्थी १४:१-६, २६-३४) यसबाहेक तिनले ख्रिष्टियन सभाहरूको मुख्य उद्देश्य “मण्डलीको उत्थान” गर्नु हो भनेर जोड दिए।—१ कोरिन्थी १४:४, ५, १२, २६.
प्रेषित पावलले १ कोरिन्थी अध्याय १४ मा “चुप रहून्” को विभिन्न रूप तीन चोटि प्रयोग गरेका छन्। तिनले हरेक पटक यो कुरा फरक-फरक समूहलाई बताएको भए तापनि प्रत्येक अवस्थामा “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्गले होस्” भनेर तिनले यो सल्लाह दिएका थिए।—१ कोरिन्थी १४:४०.
पहिलो, पावलले यसो भने: “यदि कसैले अर्को भाषा बोल्छ भने बढीमा दुई वा तीन जनाले मात्र बोलून्, त्यो पनि पालैसित; अनि कसैले त्यसको उल्था गरोस्। तर यदि त्यहाँ उल्था गर्ने कोही छैन भने तिनीहरू मण्डलीमा चुपचाप बसून् र मनमनै परमेश्वरसित बोलून्।” (१ कोरिन्थी १४:२७, २८) यसको मतलब त्यस्तो व्यक्तिले सभामा कहिल्यै बोल्नु हुँदैन भन्ने थिएन तर कुनै-कुनै बेला भने तिनी चुप रहनुपर्थ्यो। हुन पनि तिनले कसैले नबुझ्ने अर्कै भाषा बोलेको खण्डमा एकअर्काको उत्थान गर्ने उद्देश्य पूरा हुँदैन थियो।
दोस्रो, पावलले यसो भने: “दुई वा तीन जना भविष्यवक्ता बोलून् अनि अरूले त्यसको अर्थ बुझून्। तर यदि अर्को व्यक्तिले परमेश्वरबाट केही सन्देश पायो भने जो बोलिरहेको छ, ऊचाहिँ चुप लागोस्।” तर यसको अर्थ पहिलो भविष्यवक्ता सभाहरूमा बोल्नै हुँदैन भन्ने थिएन तर तिनी कुनै-कुनै बेला चुप लाग्नुपर्थ्यो। त्यसबेला परमेश्वरबाट सन्देश पाएको व्यक्तिले सबैसामु बोल्न सक्थ्यो। यसरी “सबैले प्रोत्साहन पाऊन्” भन्ने उद्देश्य पूराहुने थियो।—१ कोरिन्थी १४:२६, २९-३१.
तेस्रो, पावलले ख्रिष्टियन स्त्रीहरूलाई मात्र सम्बोधन गर्दै यसो भने: “स्त्रीहरू मण्डलीमा चुपचाप रहून् किनकि तिनीहरूलाई बोल्ने अनुमति छैन। . . . तिनीहरू अधीनमा रहून्।” (१ कोरिन्थी १४:३४) पावलले दिदीबहिनीहरूलाई किन यस्तो निर्देशन दिए? मण्डलीमा सुव्यवस्था कायम रहोस् भनेर। तिनले यसो भने: “तर यदि तिनीहरू केही कुरा बुझ्न चाहन्छन् भने घरमा आ-आफ्नो पतिलाई नै सोधून् किनकि स्त्रीको लागि मण्डलीमा बोल्नु अपमानजनक कुरा हो।”—१ कोरिन्थी १४:३५.
सायद त्यतिबेला कुनै-कुनै बहिनीहरूले मण्डलीमा सिकाइएको कुराको खण्डन गरिरहेका थिए। पावलको सल्लाहले बहिनीहरूलाई बेकाइदासित नचल्न र यहोवाले गर्नुभएको शिरत्वको प्रबन्धअन्तर्गत विशेषगरि आफ्नो पतिको अधीनमा रहेर आफ्नो स्थान नम्र भई स्विकार्न मदत गऱ्यो। (१ कोरिन्थी ११:३) साथै चुप रहेर बहिनीहरूले मण्डलीमा सिकाउने जिम्मेवारी वहन गर्ने इच्छा नराखेको देखाइरहेका हुन्थे। तिमोथिलाई लेखेको पत्रमा पावलले स्त्रीहरूले सिकाउने भूमिका निर्वाह गर्नु उचित हुँदैन भनेर बताए। तिनले यस्तो लेखे: “स्त्रीले सिकाउने वा पुरुषमाथि अख्तियार चलाउने अनुमति म दिन्नँ तर ऊ चुपचाप रहोस्।”—१ तिमोथि २:१२.
के यसको अर्थ दिदीबहिनीहरू सभामा कहिल्यै बोल्नै हुँदैन भन्ने हो? होइन। पावलको समयमा कुनै-कुनै अवसरमा दिदीबहिनीहरूले पवित्र शक्तिले उत्प्रेरित भएर मण्डलीमा प्रार्थना वा भविष्यवाणीहरू गरे। त्यस्ता अवसरहरूमा उनीहरूले आफ्नो शिर ढाकेर आफ्नो स्थान स्विकारेको देखाइरहेका हुन्थे।a (१ कोरिन्थी ११:५) त्यसको साथै पावलको समयमा र आज पनि दाजुभाइहरूलगायत दिदीबहिनीहरूलाई पनि आफ्नो आशा जनसमक्ष घोषणा गर्न आग्रह गरिएको छ। (हिब्रू १०:२३-२५) दिदीबहिनीहरूले क्षेत्र सेवामा जोसिलो भई लागेर, सभामा राम्ररी सोचविचार गरिएको टिप्पणी दिएर र प्रदर्शन वा विद्यार्थीहरूको भागको जिम्मेवारी स्विकारेर यसो गर्छन्।
त्यसैले ख्रिष्टियन दिदीबहिनीहरू पुरुषहरूले जस्तै मण्डलीमा सिकाउने जिम्मेवारी निर्वाह गर्न नचाहेर ‘चुप लाग्छन्।’ तिनीहरूले मण्डलीमा सिकाउने अख्तियार पाएकाहरूलाई चुनौती दिने खालका प्रश्नहरू सोध्दैनन्। मण्डलीमा राम्रोसित आफ्नो भूमिका पूरा गरेर ख्रिष्टियन दिदीबहिनीहरूले “सबै कुरा [मण्डलीको] उत्थानको निम्ति” हुने वातावरण सृजना गर्छन्।—१ कोरिन्थी १४:२६, ३३.
डिसेम्बर १३-१९
बाइबलमा पाइने अनमोल धन | न्यायकर्ता ८-९
बहुमूल्य रत्न
it-1-E पृ. ७५३ अनु. १
एपोद, एक
हुनत यहोवाले इस्राएलीहरूलाई विजयी तुल्याउनुभएकोमा खुसीयाली मनाउन र उहाँको महिमा गर्न गिदोनले राम्रै मनसायले एपोद बनाएका थिए, तैपनि त्यो “गिदोन र तिनका सारा घरानाको लागि त्यो एउटा पासो बन्यो।” (न्या ८:२७) किनभने पूरै इस्राएलले त्यस एपोदको उपासना गऱ्यो र आध्यात्मिक अनैतिकतामा मुछियो। तर गिदोन आफैले त्यसको उपासना गरे भनेर बाइबलमा कतै उल्लेख गरिएको छैन। बरु प्रेषित पावलले तिनलाई येसुको समयभन्दा अघिका यहोवाका उपासकहरूको “बाक्लो बादल”-को समूहमा नामै उल्लेख गरेर समावेश गरेका छन्।—हिब्रू ११:३२; १२:१.
डिसेम्बर २०-२६
बाइबलमा पाइने अनमोल धन | न्यायकर्ता १०-१२
“यिप्तह एक आध्यात्मिक व्यक्ति थिए”
it-2-E पृ. २७ अनु. २
यिप्तह
यिप्तह एक जोसिलो अगुवा थिए अनि आवश्यक परेको बेला तुरुन्तै निर्णायक कदम चाल्थे। यिप्तहले सन्देशवाहकहरूमार्फत अम्मोनीहरूका राजालाई सन्देश पठाए, जसमा उनले इस्राएलमाथि आक्रमण गर्ने ती राजा नै हुन् भनेर उल्लेख गरे। तर ती राजाले इस्राएलीहरूले अम्मोनीहरूबाट ती इलाका लिएका थिए भनेर जवाफ पठाए। (न्या ११:१२, १३) यहाँ यिप्तहले आफूलाई सूरो र आँटिलो योद्धा मात्र नभई इतिहासबारे र विशेषगरि परमेश्वरले आफ्ना मानिसहरूसित गर्नुभएको व्यवहारबारे थाह भएको व्यक्तिको रूपमा चिनाए। अम्मोनी राजाको कुराको खण्डन गर्दै तिनले यी कुराहरू उल्लेख गरे: (१) इस्राएलीहरूले अम्मोनी, मोआबी वा एदोमीहरूमध्ये कसैको इलाका लिएका थिएनन् (न्या ११:१४-१८; व्य २:९, १९, ३७; २इ २०:१०, ११); (२) इस्राएलीहरूले त्यो इलाका कब्जा गर्दा त्यो अम्मोनीहरूको हातमा थिएन किनभने त्यतिबेला त्यो एमोरीहरूका राजा सिहोनको हातमा थियो अनि यहोवाले सिहोन र त्यहाँको पूरै इलाका इस्राएलीहरूको हातमा सुम्पिदिनुभएको थियो; (३) अम्मोनीहरूले ती इलाकाहरू ३०० वर्षसम्म इस्राएलीहरूबाट फिर्ता लिन खोजेका थिएनन्, त्यसैले अहिले तिनीहरूसित त्यस्तो दाबी गर्ने कुनै जायज कारण थिएन।—न्या ११:१९-२७.
it-2-E पृ. २७ अनु. ३
यिप्तह
यिप्तहले उक्त मामिला उपासनासित सम्बन्धित भएकोले त्यही विषयमा ध्यान केन्द्रित गरे। यहोवा परमेश्वरले नै इस्राएलीहरूलाई त्यो जमिन दिनुभएको कुरा तिनले घोषणा गरे र त्यही कारणले गर्दा झूटो उपासना गर्नेहरूले त्यो जमिन एक टुक्रा पनि नपाउने तिनले घोषणा गरे। तिनले केमोसलाई अम्मोनीहरूको देवता भने। कसै-कसैले तिनले गलत कुरा भनिरहेका थिए भन्छन्। हुनत, अम्मोनीहरूका देवता मिल्कोम थिए र मोआबीहरूका देवता केमोस थिए। तैपनि आपसमा सम्बन्ध भएका यी जातिहरूले थुप्रै देवताहरूको उपासना गर्थे। सुलेमानले विदेशी पत्नीहरूसित विवाह गरेकोले केमोसको उपासना इस्राएलमा समेत भित्रियो। (न्या ११:२४; १रा ११:१, ७, ८, ३३; २रा २३:१३) केही शास्त्रविद्अनुसार “केमोस”-को अर्थ “विजेता” हुन सक्छ। (एस. ट्रेजेलियसद्वारा अनुवाद गरिएको गेजेनियसको हिब्रू तथा कल्दी शब्दकोश, [अङ्ग्रेजी], १९०१, पृ. ४०१ हेर्नुहोस्।) अम्मोनीहरूले यी देवताले गर्दा नै तिनीहरू ‘विजयी भएको’ र जमिनहरू ‘कब्जा गर्न’ सम्भव भएको हो भनेर दाबी गरेकोले यिप्तहले त्यस देवताबारे उल्लेख गरेका हुन सक्छन्।
बहुमूल्य रत्न
it-2-E पृ. २६
यिप्तह
यिप्तह एक जायज सन्तान थिए। हुनत यिप्तहलाई “वेश्याको छोरा” भनिएको छ तैपनि तिनी वेश्यावृत्ति अथवा नाजायज सम्बन्धबाट जन्मिएका छोरा थिएनन्। गिलादको उपपत्नी हुनुभन्दा अगाडि तिनी एक वेश्या थिइन्, जसरी साल्मोनसँग विवाह गर्नुअगाडि राहाब पनि एक वेश्या थिइन्। (न्या ११:१; यहो २:१; मत्ति १:५) गिलादकी पत्नीबाट जन्मिएका सौतेनी दाजुभाइहरूले तिनलाई अंश दिन नपरोस् भनेर घरबाट निकालिदिएको कुराबाट यिप्तह नाजायज सन्तान थिएनन् भनेर प्रमाणित हुन्छ। (न्या ११:२) यसबाहेक यिप्तहलाई पछि गिलादका मानिसहरूले आफ्नो अगुवाको रूपमा स्विकारे (ती मानिसहरूमध्ये यिप्तहका सौतेनी दाजुभाइहरू पनि पर्थे)। (न्या ११:११) साथै तिनले वासस्थानमा भेटी पनि चढाएका थिए। (न्या ११:३०, ३१) यीमध्ये कुनै पनि कुरा एक नाजायज सन्तानको लागि सम्भव हुने थिएन किनभने व्यवस्थामा स्पष्ट यसो भनिएको थियो: “नाजायज सम्बन्धबाट जन्मेको कुनै पुरुष यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैन। उसको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैन।”—व्य २३:२.
[फुटनोट]
a आज पनि परिपक्व दिदीबहिनीहरूले बप्तिस्मा गरेको दाजुभाइहरूको सट्टामा जिम्मेवारी बहन गर्नुपरेको खण्डमा यही उदाहरण पछ्याउँछन्।—प्रहरीधरहरा, जुलाई १५, २००२, पृ. २६ हेर्नुहोस्।