जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जुलाई १८-२४
बाइबलमा पाइने अनमोल धन | २ समुएल २२
“मदतको लागि यहोवामा भर पर्नुहोस्”
cl-E पृ. १९ अनु. ११
के “परमेश्वरसित नजिक” हुन सम्भव छ?
११ यहोवासित “विस्मयकारी सामर्थ्य” छ अर्थात् उहाँ एकदमै शक्तिशाली हुनुहुन्छ। (यसैया ४०:२६) उहाँले कसरी आफ्नो शक्ति प्रयोग गर्नुभयो भनेर थाह पायौँ भने उहाँ कत्तिको शक्तिशाली हुनुहुन्छ भनेर बुझ्न सक्छौँ। जस्तै: उहाँले इस्राएलीहरूलाई लाल समुद्र पार गर्न मदत गर्नुभयो र तिनीहरूलाई ४० वर्षसम्म निर्जनभूमिमा हेरचाह गर्नुभयो। लाल समुद्र दुई भागमा छुट्टिएको अनि सुख्खा जमिनको दुवैतिर पानी पर्खालजस्तै भएको दृश्य कल्पना गर्नुहोस् त! अनि त्यसको बीचबाट लगभग ३० लाख इस्राएलीहरू सुख्खा जमिनमा हिँडेर पारि गए। (प्रस्थान १४:२१; १५:८) साथै, यहोवाले इस्राएलीहरूलाई निर्जनभूमिमा सुरक्षित राख्नुभयो। उहाँले चट्टानबाट पानी निकालिदिनुभयो; उहाँले भोजनको लागि सेतो दानाजस्तो कुरा प्रबन्ध गरिदिनुभयो। (प्रस्थान १६:३१; गन्ती २०:११) यसबाट यहोवा शक्तिशाली हुनुहुन्छ भन्ने कुरा मात्र होइन तर उहाँले आफ्ना जनहरूको खातिर त्यो शक्ति चलाउनुहुन्छ भनेर देखिन्छ। यहोवा “हाम्रो शरणस्थान र बल हुनुहुन्छ, दुःखको समयमा सजिलै पाइने मदतगार हुनुहुन्छ।” यस्तो शक्तिशाली परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ भनेर थाह पाउँदा के हामी ढुक्क महसुस गर्दैनौँ र?—भजन ४६:१.
जुलाई २५-३१
बाइबलमा पाइने अनमोल धन | २ समुएल २३-२४
“के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?”
it-1-E पृ. १४६
अरौना
अरौनाले बलिदान चढाउनको लागि खला, गाईवस्तु र दाउराहरू दाउदलाई दिने प्रस्ताव राखे तर दाउदले ती सित्तैँमा लिन मानेनन्। दोस्रो समुएल २४:२४ को विवरणअनुसार दाउदले खला र गाईवस्तु ५० शेकेल चाँदी (११० अमेरिकी डलर) तिरेर किने। तर पहिलो इतिहास २१:२५ अनुसार दाउदले त्यस जमिनको दामस्वरूप ६०० शेकेल सुन (करिब ७७,००० अमेरिकी डलर) तिरे। दोस्रो समुएलको विवरणअनुसार दाउदले त्यो वेदी बनाउने ठाउँ र त्यतिबेला बलिदान चढाउनको लागि चाहिएका सरसामग्रीहरूको लागि मात्र पैसा तिरेका थिए। त्यसकारणले गर्दा यो पैसा थोरै जस्तो देखिन्छ। तर पहिलो इतिहासको विवरणअनुसार भने दाउदले त्यो खला भएको ठाउँमा मन्दिर बनाउनको लागि चाहिने जमिन र निर्माणकार्यको लागि चाहिने सरसामग्री किन्न पैसा तिरे। (१इ २२:१-६; २इ ३:१) यो मन्दिर एकदमै ठूलो थियो। त्यसकारण दाउदले ६०० शेकेल सुन तिरे भन्नुको मतलब चाहिँ तिनले सुरुमा बनाएको त्यो वेदीको लागि मात्र होइन तर मन्दिर बनाउनको लागि चाहिएको ठूलो जमिनको लागि पैसा तिरेको हुनुपर्छ।
अगस्त १-७
बाइबलमा पाइने अनमोल धन | १ राजा १-२
“के तपाईँ आफ्नो गल्तीबाट पाठ सिक्नुहुन्छ?”
it-2-E पृ. ९८७ अनु. ४
सुलेमान
मानिसहरूले गिहोनमा सिङ फुकिरहेका थिए अनि “राजा सुलेमान दीर्घायु होऊन्!” भनेर कराइरहेका थिए। यो सुनेपछि अदोनियाहलाई साथ दिने अरू षड्यन्त्रकारीहरू डरले थरथर काँप्न थाले र त्यहाँबाट भागे। अदोनियाह चाहिँ भागेर वेदीमा गए। अदोनियाह सिंहासनमा बस्न सफल भएका भए तिनले सायद सुलेमानको ज्यान लिने थिए। अदोनियाहले असल व्यवहार गरे भने तिनको ज्यान लिइनेछैन भन्ने खबरसहित राजा सुलेमानले अदोनियाहलाई वेदीबाट ल्याउन मानिसहरू पठाए। त्यसपछि अदोनियाह राजासामु आए र राजाले तिनलाई तिनकै घरमा पठाइदिए। सिंहासनमा बसेपछि सुलेमानले बदलाको भाव राखेनन्। यसबाट तिनको शासनकालमा शान्ति छाउनेछ भन्ने कुरा देखियो।—१रा १:४१-५३.
अगस्त १५-२१
बाइबलमा पाइने अनमोल धन | १ राजा ५-६
“तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए”
w११-E २/१ पृ. १५
के तपाईँलाई थाह थियो?
लेबनानको देवदारका काठहरू टिकाउ, राम्रो, किराले पनि नखाने अनि मीठो बास्ना भएकोले प्रख्यात थिए। त्यसकारण सुलेमानले मन्दिर निर्माण गर्न गुणस्तरीय सामानहरू प्रयोग गरेका थिए भन्न सक्छौँ। पहिला-पहिला लेबनानका पहाडहरूमा देवदारका रूखहरूको बाक्लो जङ्गल हुन्थ्यो। तर अहिले भने त्यो जङ्गल पातलो भइसकेको छ।
it-1-E पृ. ४२४
देवदार
मन्दिर निर्माण गर्न देवदारका प्रशस्तै काठहरू प्रयोग गरिएका थिए। यो काम गर्न हजारौँ कामदार चाहिन्थ्यो। जस्तै: रूखहरू काट्न, ती काठहरूलाई भूमध्यसागरको किनारामा पर्ने टायरसम्म पुऱ्याउन, त्यसलाई बाँध्न अनि समुद्रबाट सम्भवतः जोप्पासम्म पुऱ्याउन। त्यसपछि ती काठहरूलाई समुद्रबाट निकालेर यरुसलेमसम्म पुऱ्याइन्थ्यो। यी सबै काम गर्न सुलेमान र हिरामले सम्झौता गरेका थिए। (१रा ५:६-१८; २इ २:३-१०) यस सम्झौताले गर्दा सुलेमानले देवदारका प्रशस्तै काठहरू पाए। त्यसैले ‘देवदारको काठ खनिउँका रूखहरूसरह प्रशस्त भए’ भन्न सकिन्थ्यो।—१रा १०:२७; यसै ९:९, १० तुलना गर्नुहोस्।
it-2-E पृ. १०७७ अनु. १
मन्दिर
मन्दिर निर्माण गर्न राजा सुलेमानले इस्राएलबाट मजदुरी गर्न ३० हजार मानिस खोजे। राजाले ती मजदुरहरूलाई हरेक महिना १०-१० हजारको सङ्ख्यामा पालैपालो लेबनान पठाउँथे। तिनीहरू एक महिना लेबनानमा काम गर्थे अनि दुई महिनाचाहिँ आफ्नै घरमा बस्थे। (१रा ५:१३, १४) तिनले इस्राएलमा बसोबास गरिरहेका “विदेशीहरू”-मध्ये ७० हजारलाई भारी बोक्न अनि ८० हजारलाई चाहिँ ढुङ्गा काट्न खटाए। (१रा ५:१५; ९:२०, २१; २इ २:२) राजाले कामको रेखदेख गर्न ५५० जना निरीक्षक खटाए अनि कामको निगरानी गर्न ३ हजार ३ सय जति मानिसलाई खटाए। (१रा ५:१६; ९:२२, २३) तिनीहरूमध्ये २५० जना इस्राएली अनि ३ हजार ६ सय जना “विदेशी” थिए जस्तो देखिन्छ।—२इ २:१७, १८.
बहुमूल्य रत्न
g-E ५/१२ पृ. १७, पेटी
बाइबल—सही भविष्यवाणी भएको किताब, भाग १
समयको सही विवरण
बाइबलले समयको सही विवरण दिन्छ भन्ने एउटा उदाहरण १ राजा ६:१ मा पाउँछौँ। त्यस पदमा राजा सुलेमानले यरुसलेममा मन्दिर निर्माण गर्ने काम सुरु गरेको समयबारे बताइएको छ। त्यहाँ यस्तो लेखिएको छ: “सुलेमान इस्राएलका राजा भएको चौथो वर्षको जीभ महिनामा (अर्थात् दोस्रो महिनामा) तिनले यहोवा परमेश्वरको भवन बनाउन सुरु गरे। यो इस्राएलीहरू मिश्रबाट निस्केर आएको ४८० औँ वर्ष [अर्थात् ४७९ वर्ष पूरा भएपछि] थियो।”
बाइबलको कालक्रमअनुसार सुलेमानको शासनकालको चौथो वर्ष भनेको ईसापूर्व १०३४ मा हुन्छ। त्यसबाट ४७९ वर्ष घटाउने हो भने हामी ईसापूर्व १५१३ मा आइपुग्छौँ, जुन वर्ष इस्राएलीहरू मिश्रबाट निस्किएका थिए।
अगस्त २२-२८
बाइबलमा पाइने अनमोल धन | १ राजा ७
“दुई वटा खम्बाबाट सिक्न सकिने पाठ”
w१३-E १२/१ पृ. १३ अनु. ३
‘तिमीहरूले पहाडहरूबाट तामा निकाल्नेछौ’
राजा सुलेमानले यरुसलेमको मन्दिरमा विभिन्न सरसामग्री बनाउन प्रशस्त मात्रामा तामाको प्रयोग गरे। यसमध्ये धेरैजसो तामाचाहिँ तिनको बुबा दाउदले सिरियालीहरूमाथि विजय हासिल गर्दा प्राप्त गरेका थिए। (१ इतिहास १८:६-८) तामालाई ढालेर एउटा “विशाल खँड्कुलो” बनाइएको थियो। त्यो खँड्कुलो ३० टनजति गह्रौँ थियो जस्तो देखिन्छ र त्यसमा ६६ हजार लिटर पानी अटाउँथ्यो। पुजारीहरूले उपासना गर्न मन्दिरभित्र जानुअघि त्यही खँड्कुलोबाट पानी उघाएर हातखुट्टा धुन्थे। (१ राजा ७:२३-२६, ४४-४६) मन्दिरको प्रवेशद्वारमा तामा ढालेर बनाइएका दुई वटा बडेमाका खम्बा पनि थिए। ती २६ फिट अग्ला अनि प्रत्येक खम्बामा ७.३ फिट जति अग्ला शिरहरू थिए। ती खम्बाहरू गोलाकार थिए र तिनको मुखको व्यास ५.६ फिट जति थियो र भित्ताचाहिँ ३ इन्च बाक्ला थिए। (१ राजा ७:१५, १६; २ इतिहास ४:१७) ती सरसामानहरू बनाउन कत्ति धेरै तामा प्रयोग भयो होला भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ!
it-1-E पृ. ३४८
बोअज, २
सुलेमानको भव्य मन्दिरको दलानमा तामा ढालेर बनाइएका दुई वटा बडेमाका खम्बाहरू थिए। तीमध्ये उत्तरपट्टिको खम्बाको नाम बोअज थियो, जसको अर्थ हुन्छ “सामर्थ्यसित।” दक्षिणतिर भएको खम्बाको नाम याकिन थियो, जसको अर्थ हुन्छ, “उहाँले [अर्थात् यहोवाले] स्थिर पारून्”। ती दुवै खम्बाको अर्थलाई मिलाएर पढ्ने हो भने ‘यहोवाले [मन्दिरलाई] सामर्थ्यसित स्थिर पारून्’ हुन जान्छ।—१ राजा ७:१५-२१.
बहुमूल्य रत्न
it-1-E पृ. २६३
नुहाइ-धुवाइ
पवित्र परमेश्वर यहोवाको उपासना गर्नेहरू शारीरिक तवरमा स्वच्छ हुनुपर्थ्यो। यो कुरा वासस्थानमा र पछि मन्दिरमा गरिएको प्रबन्धबाट स्पष्ट हुन्छ। हारुन र तिनका छोराहरूलाई पुजारी नियुक्त गरिँदा तिनीहरूले पुजारीले लगाउने पोसाक लगाउनुअघि नुहाउनुपर्थ्यो। (प्रस्थ २९:४-९; ४०:१२-१५; लेवी ८:६, ७) तिनीहरूले वासस्थानमा राखिएको तामाको खँड्कुलोको पानी प्रयोग गरेर हातखुट्टा धुनुपर्थ्यो। पछि सुलेमानले बनाएको मन्दिरमा पनि विशाल खँड्कुलो राखिएको थियो। (प्रस्थ ३०:१८-२१; ४०:३०-३२; २इ ४:२-६) प्रायश्चितको दिनमा प्रधानपुजारीले दुई चोटि नुहाउनुपर्थ्यो। (लेवी १६:४, २३, २४) अजाजेलको पाठो लैजाने मानिसले, बलिदान चढाइसकेपछि जनावरको बाँकी रहेको छाला, मासु र गोबर इत्यादि लैजाने मानिसले अनि बलिदान चढाउन ल्याएको रातो गाई लैजाने मानिसले छाउनीमा फर्कनुअघि नुहाउनुपर्थ्यो र आफूले लगाएका लुगाहरू धुनुपर्थ्यो।—लेवी १६:२६-२८; गन १९:२-१०.