प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr23 मार्च पृ. १-४
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२३
  • उपशीर्षकहरू
  • मार्च ६-१२
  • मार्च २०-२६
  • मार्च २७—अप्रिल २
  • अप्रिल १०-१६
  • अप्रिल १७-२३
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२३
mwbr23 मार्च पृ. १-४

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania

मार्च ६-१२

बाइबलमा पाइने अनमोल धन | १ इतिहास २३–२६

“मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो”

it-2-E पृ. २४१

लेवीहरू

दाउदले लेवीहरूको कामलाई सुव्यवस्थित बनाएका थिए। दाउदले तिनीहरूलाई परमेश्‍वरको भवनको रेखदेख गर्नेहरू, अफिसरहरू, न्यायकर्ताहरू, ढोकेहरू र भण्डारेहरूको रूपमा नियुक्‍त गरेका थिए। पुजारीहरूले मन्दिरमा, चोकहरूमा र भोजन-कक्षहरूमा विभिन्‍न काम गर्थे। जस्तै: भेटी र बलि चढाउने, शुद्धीकरणसम्बन्धी काम गर्ने, नाप्ने, जोख्ने अनि विभिन्‍न ढोकामा पहरा दिने। यी काम गर्ने पुजारीहरूलाई सघाउन पनि थुप्रै लेवी खटाइएका हुन्थे। लेवी वाद्यवादकहरूलाई पनि पुजारीहरूको दलजस्तै २४ वटा दलमा छुट्ट्याइएको थियो र तिनीहरूले पालैपालो सेवा गर्थे। कसले कहाँ सेवा गर्ने, त्यो गोला हालेर छुट्ट्याइन्थ्यो। ढोकेहरूको दलको सन्दर्भमा पनि त्यसरी नै गोला हालेर छुट्ट्याइन्थ्यो।—१इ २३, २५, २६; २इ ३५:३-५, १०.

it-2-E पृ. ६८६

पुजारी

मन्दिरमा सेवा गर्न नियुक्‍त भएका पुजारीहरूलाई विभिन्‍न अफिसरहरूको निगरानीमा सुव्यवस्थित पारिएको हुन्थ्यो। पुजारीहरूको दलले कस्तो सेवा चढाउने भनेर गोला हालेर छुट्ट्याइन्थ्यो। पुजारीहरूको २४ वटा दलमध्ये प्रत्येक दलले वर्षको दुई चोटि सेवा गर्थे र हरेक चोटि एक हप्ता सेवा गर्न पाउँथे। मन्दिर समर्पणको बेलाजस्तै चाडहरूको बेला मानिसहरू थुप्रै बलि चढाउँथे। त्यतिबेला चाहिँ सबै पुजारीले मन्दिरमा सेवा गर्थे। (१इ २४:१-१८, ३१; २इ ५:११; तुलना गर्नुहोस्‌: २इ २९:३१-३५; ३०:२३-२५; ३५:१०-१९) खटाइएका पुजारीहरूको सेवालाई बाधा नपुऱ्‍याई अरू पुजारीले पनि मन्दिरमा सेवा गर्न सक्थे। येसु यस पृथ्वीमा हुनुहुँदा मन्दिरमा सेवा गर्ने पुजारीहरूको सङ्‌ख्या धेरै थियो। त्यसैले कुनै एउटा दलको लागि छुट्ट्याइएको एक हप्तालाई पनि भाग-भाग गर्ने रब्बीहरूको चलन थियो। पुजारीहरूको दललाई त्यस दलभित्र पर्ने परिवारको सङ्‌ख्याको आधारमा भाग लगाइन्थ्यो। तिनीहरूले आफ्नो परिवारका सदस्यहरूको सङ्‌ख्याको आधारमा एक वा त्योभन्दा धेरै दिन मन्दिरमा सेवा गर्न पाउँथे।

it-2-E पृ. ४५१-४५२

सङ्‌गीत

दाउदले यहोवाको मन्दिरमा बाजा बजाएर प्रशंसा गर्नको लागि ४ हजार लेवी छुट्ट्याएका थिए। (१इ २३:४, ५) तिनीहरूमध्ये २८८ जनालाई “यहोवा परमेश्‍वरको स्तुतिगान गाउन तालिम दिइएको थियो र तिनीहरू सबै निपुण गायक थिए।” (१इ २५:७) यस प्रबन्धको निगरानी गर्न तीन जना निपुण वाद्यवादक आसाप, हेमान र यदुथुन (तिनलाई एतान पनि भनिन्छ) नियुक्‍त गरिएका थिए। यिनीहरू लेविका तीन जना छोराका सन्तान थिए। गेर्सोमको घरानाका आसाप, कोहातको घरानाका हेमान र मरारीको घरानाका यदुथुन। मन्दिरमा सङ्‌गीतसम्बन्धी जिम्मा यी तीन वटा लेवी परिवारलाई दिइएको थियो। (१इ ६:१६, ३१-३३, ३९-४४; २५:१-६) यी तीन जना पुरुषका जम्मा २४ जना छोरा थिए र यिनीहरू माथि उल्लेख गरिएका २८८ जना निपुण वाद्यवादकमध्येका थिए। यिनीहरूलाई गोला हालेर वाद्यवादकहरूको एउटा-एउटा दलको नाइके नियुक्‍त गरिन्थ्यो। प्रत्येक नाइकेको निगरानीमा थप ११ जना “निपुण” वाद्यवादक हुन्थे, जसलाई तिनकै छोराहरू र अरू लेवीहरूमध्येबाट छानिन्थ्यो। यसरी २८८ जना ([१ + ११] × २४ = २८८) निपुण लेवी वाद्यवादकहरू पनि पुजारीहरूजस्तै २४ वटा दलमा छुट्ट्याइएको हुन्थ्यो। बाँकी ३ हजार ७ सय १२ जना सिकारुहरू पनि यसरी नै भाग लगाउने हो भने २४ वटा दलमध्ये प्रत्येकमा थप १५५ जना पुरुष हुन्थे। त्यसको मतलब, एक जना निपुण लेवीले लगभग १३ जना लेवीलाई सङ्‌गीतसम्बन्धी शिक्षा र तालिम दिनुपर्थ्यो। (१इ २५:१-३१) बिगुल फुक्ने काम पुजारीहरूको थियो। त्यसैले लेवी वाद्यवादकहरूको सङ्‌ख्यामा यी पुजारीहरूलाई गणना गरिएको छैन।—२इ ५:१२; तुलना गर्नुहोस्‌: गन १०:८.

it-1-E पृ. ८९८

ढोके

मन्दिरमा। राजा दाउदको मृत्यु हुनुभन्दा केही समयअघि तिनले लेवीहरू र मन्दिरमा सेवा गर्नेहरूलाई सुव्यवस्थित गरे। तीमध्ये ४ हजार ढोकेहरू पनि थिए। तिनीहरू आफ्नो दललाई खटाइएको समयमा सात दिन सेवा गर्थे। तिनीहरूलाई यहोवाको भवनको सुरक्षा गर्न अनि ठीक समयमा ढोकाहरू खोल्न र बन्द गर्न खटाइएको थियो। (१इ ९:२३-२७; २३:१-६) केही ढोकेहरूले पहरा दिनुको अलावा मन्दिरमा मानिसहरूले अनुदानस्वरुप ल्याएका पैसा जम्मा गरेर बाकसमा हाल्ने गर्थे। (२रा १२:९; २२:४) प्रधानपुजारी यहोयादाले यहोआसलाई राजा नियुक्‍त गरेको बेला मन्दिरका ढोकाहरूमा कडा निगरानी गर्न पनि ढोकेहरूलाई तैनाथ गरिएको थियो किनभने रानी अथल्याह यहोआसलाई मारेर सत्ता हडप्न चाहन्थिन्‌। (२रा ११:४-८) राजा योसियाहले झूटो उपासना नामेट पार्ने कदम चाल्दा ढोकेहरू अर्थात्‌ पहरेदारहरूले बाआलको उपासना गर्न मन्दिरमा प्रयोग गरिएका सरसामानहरू निकालेर ल्याउन मदत गरे। त्यसपछि ती सरसामान सहरबाहिर लगेर जलाइयो।—२रा २३:४.

मार्च २०-२६

बाइबलमा पाइने अनमोल धन | २ इतिहास १–४

“राजा सुलेमान मूर्ख निर्णय गर्छन्‌”

it-1-E पृ. १७४ अनु. ५

सेना

सुलेमानले शासन गर्न थालेपछि इस्राएलको सेनाको इतिहासमा एउटा नयाँ मोड आयो। अरू राजाहरूको तुलनामा तिनको शासन शान्तिपूर्ण थियो। तर तिनले थुप्रै घोडा र रथहरू जम्मा गरे। (“रथ” हेर्नुहोस्‌।) तिनले प्रायजसो घोडा मिश्रबाट किनेर ल्याएका थिए। ती घोडाहरू, घोडचढीहरू र रथहरू राख्नको लागि सहरै बनाउनुपर्ने भयो। (१रा ४:२६; ९:१९; १०:२६, २९; २इ १:१४-१७) यहोवाले सुलेमानको यस काममा कहिल्यै आशिष्‌ दिनुभएन। तिनको मृत्युपछि तिनको राज्य विभाजन भयो र इस्राएलको सेनाको पनि पतन भयो। पछि यसैयाले यस्तो लेखे: “मिश्रमा झरेर गुहार माग्नेहरूलाई धिक्कार छ, जो घोडाहरूमा भर पर्छन्‌, जो युद्धका रथहरूमा भरोसा गर्छन्‌ किनकि ती अनगिन्ती छन्‌ अनि युद्धका घोडाहरूको मुख ताक्छन्‌ किनकि ती शक्‍तिशाली छन्‌। तर इस्राएलका पवित्र परमेश्‍वरको बाटो हेर्दैनन्‌ र यहोवाको खोजी गर्दैनन्‌।”—यसै ३१:१.

it-1-E पृ. ४२७

रथ

सुलेमानको शासनभन्दा अघिसम्म इस्राएलमा रथहरूसहितको सेना थिएन। किनभने सुरक्षाको लागि राजाहरू घोडाहरूमा भर परेको यहोवा चाहनुहुन्‍नथ्यो। त्यसैले उहाँले तिनीहरूलाई घोडाहरू नथुपार्नू भन्‍ने चेतावनी दिनुभएको थियो। यसले गर्दा रथहरूको सङ्‌ख्या थोरै मात्र थियो किनभने रथहरू हाँक्न घोडा नभई हुँदैन। (व्य १७:१६) मानव राजाले शासन गर्न थाले भने प्रजाले दुःख भोग्नुपर्नेछ भनेर समुएलले यस्तो चेतावनी दिए: “तिनले तिमीहरूका छोराहरूलाई लैजानेछन्‌। तिनले उनीहरूलाई रथ हाँक्ने काममा लगाउनेछन्‌।” (१स ८:११) अब्सालोम र अदोनियाहले सत्ता हडप्न खोज्दा आफ्नो लागि एउटा-एउटा रथ बनाउन र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगाए। (२स १५:१; १रा १:५) जोबाहका राजालाई हराउँदा दाउदले “रथ हाँक्ने १०० घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो काटिदिए।”—२स ८:३, ४; १०:१८.

राजा सुलेमानले इस्राएलको सेना बढाउँदै लगे र तिनीसित १ हजार ४ सय रथ भए। (१रा १०:२६, २९; २इ १:१४, १७) तिनले यरुसलेमका साथै रथहरू राख्न अरू सहरहरू पनि छुट्ट्याए र त्यहाँ रथहरूको स्याहार-सम्भार गर्ने सबै प्रबन्ध मिलाए।—१रा ९:१९, २२; २इ ८:६, ९; ९:२५.

मार्च २७—अप्रिल २

बाइबलमा पाइने अनमोल धन | २ इतिहास ५–७

“मेरो हृदय यहाँ सधैँभरि रहनेछ”

it-2-E पृ. १०७७-१०७८

मन्दिर

इतिहास। यो मन्दिर राजा नबुकद्‌नेजरको नेतृत्वमा आएको बेबिलोनी सेनाले ईसापूर्व ६०७ मा नाश गऱ्‍यो। (२रा २५:९; २इ ३६:१९; यर्मि ५२:१३) इस्राएल राष्ट्रले झूटो उपासना गर्न थालेपछि यहोवाले यहुदा र यरुसलेममाथि दुःख आइपर्न दिनुभयो। कहिलेकाहीँ त अरू राष्ट्रहरूले मन्दिरका बहुमूल्य चिजबिजहरू लुटेर लगे। कुनै-कुनै बेला यो मन्दिर असाध्यै जीर्ण अवस्थामा समेत पुगेको थियो। सुलेमानका छोरा रहबामले शासन गरिरहेको बेला मिश्रका राजा सिसकले मन्दिरबाट बहुमूल्य चिजबिजहरू लुटेर लगे (ई.पू. ९९३), जबकि मन्दिर उद्‌घाटन भएको लगभग ३३ वर्ष मात्र भएको थियो। (१रा १४:२५, २६; २इ १२:९) राजा आसा (ई.पू. ९७७-९३७) यहोवा परमेश्‍वरको भवनको निकै कदर गर्थे तर यरुसलेमलाई जोगाउन तिनले एउटा मूर्ख निर्णय गरे। तिनले मन्दिरमा बाँकी रहेका सुन र चाँदी सिरियाका राजा बेन-हदद प्रथमलाई घुसस्वरुप दिए र इस्राएलका राजा बासासित गरेको सन्धि तोडिदिनू भने।—१रा १५:१८, १९; २इ १५:१७, १८; १६:२, ३.

अप्रिल १०-१६

बाइबलमा पाइने अनमोल धन | २ इतिहास ८-९

बहुमूल्य रत्न

it-2-E पृ. १०९७

सिंहासन

यी १२ वटा सिंहले इस्राएलको १२ कुललाई सङ्‌केत गरेको हुन सक्छ। सिंहासनमा भएका शासकको अधीनमा रहेर तिनलाई समर्थन गरेको देखाउन यी सिंहहरू राखिएका हुन सक्छन्‌।

अप्रिल १७-२३

बाइबलमा पाइने अनमोल धन | २ इतिहास १०-१२

बहुमूल्य रत्न

it-1-E पृ. ९६७

“बोकाजस्तै देखिने पिशाचहरू”

यसले साँच्चैको बोकालाई सङ्‌केत गरेको हुन सक्दैन बरु झूटा देवहरूको उपासना गर्ने व्यक्‍तिहरूले ती देवहरू बोकाजस्तै वा भुत्लै-भुत्ला भएको जीवजस्तै होलान्‌ भनेर कल्पना गरेका हुन सक्छन्‌। अथवा “बोकाहरू” भन्‍ने शब्द मूर्तिपूजासित सम्बन्धित सबै कुराप्रति घृणा व्यक्‍त गर्न प्रयोग गरिएको पनि हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने