जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
मे ८-१४
बाइबलमा पाइने अनमोल धन | २ इतिहास २०-२१
बहुमूल्य रत्न
it-1-E पृ. १२७१ अनु. २
यहोराम
यहोवाले अरबीहरू र पलिस्तियालीहरूलाई यहुदामा आक्रमण गर्न अनि यहोरामका पत्नीहरू र छोराहरूलाई बन्दी बनाएर लैजान दिनुभयो। तर दाउदसित गरेको राज्य करारको खातिर भने उहाँले यहोरामको कान्छो छोरा यहोअहाजलाई (जसलाई आहाज्याह पनि भनिन्छ) बचाउनुभयो। “त्यसपछि यहोवा परमेश्वरले [यहोरामलाई] कहिल्यै निको नहुने आन्द्राको रोगले ग्रस्त पार्नुभयो।” त्यसको दुई वर्षपछि “तिनको आन्द्रा-भुँडी बाहिर निस्कियो।” अनि निकै पीडा भोगेपछि तिनको मृत्यु भयो। यी दुष्ट राजाको “मृत्यु हुँदा कसैले पनि दुःख मनाएन।” “तिनलाई दाउदनगरमा गाडियो तर राजाहरूको चिहानमा भने होइन।” पछि तिनका छोरा आहाज्याह राजा भए।—२इ २१:७, १६-२०; २२:१; १इ ३:१०, ११.
मे १५-२१
बाइबलमा पाइने अनमोल धन | २ इतिहास २२-२४
“साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ”
w०९-E ४/१ पृ. २४ अनु. १-२
खराब सङ्गतले गर्दा यहोआसले यहोवालाई त्यागे
परमेश्वरको मन्दिर भएको सहर यरुसलेम भयावह अवस्थामा थियो। राजा आहाज्याह भर्खरै मारिएका थिए। त्यसपछि आहाज्याहकी आमा अथल्याहले जे गरिन्, त्यो त कल्पनासमेत गर्न सकिँदैन। तिनले आहाज्याहका छोराहरू अर्थात् आफ्नै नातिहरूको हत्या गरिन्। किन? किनभने अथल्याह शासक बन्न चाहन्थिन्।
तर अथल्याहलाई एउटा कुरा भने थाह थिएन। तिनको एक जना नाति यहोआसलाई जोगाइएको थियो। कसरी? यहोआसको यहोसेबा नाम गरेकी फुपू थिइन्, जसले तिनलाई परमेश्वरको मन्दिरमा लुकाइन्। तिनले त्यसो गर्न सकिन् किनभने तिनका पति यहोयादा प्रधानपुजारी थिए। तिनीहरू दुई जना मिलेर यहोआसलाई जोगाए।
w०९-E ४/१ पृ. २४ अनु. ३-५
खराब सङ्गतले गर्दा यहोआसले यहोवालाई त्यागे
यहोआसलाई छ वर्षसम्म मन्दिरमा लुकाएर राखियो। त्यहाँ तिनलाई यहोवा परमेश्वरबारे अनि उहाँको व्यवस्थाबारे सिकाइयो। जब तिनी सात वर्ष पुगे, तब यहोयादाले तिनलाई राजा बनाउन कदम चाले। यहोयादाले यो सब कसरी गरे अनि यहोआसकी हजुरआमा दुष्ट रानी अथल्याहलाई के भयो?
अथल्याहलाई थाह नदिई यहोयादाले शाही अङ्गरक्षकहरूलाई बोलाए। उनले आफू र आफ्नी पत्नी मिलेर राजा आहाज्याहका छोरालाई कसरी जोगाए भनेर ती अङ्गरक्षकहरूलाई बताइदिए। त्यसपछि उनले तिनीहरूलाई यहोआस देखाइदिए। शासन गर्ने अधिकार यहोआसकै हो भन्ने कुरामा ती अङ्गरक्षकहरू पक्का भए। त्यसपछि एउटा योजना बनाइयो।
यहोयादाले यहोआसलाई बाहिर ल्याए र तिनको शिरमा मुकुट पहिराइदिए। त्यसपछि मानिसहरूले “थपडी मार्दै यसरी जयजयकार गर्न थाले: ‘राजा दीर्घायु होऊन्!’” अङ्गरक्षकहरू यहोआसलाई जोगाउन तिनको वरिपरि तैनाथ भए। मानिसहरूले जयजयकार गरेको सुनेपछि अथल्याह बाहिर आइन् र आपत्ति जनाइन्। तर यहोयादाले सैनिकका ती कप्तानहरूलाई अथल्याहलाई मार्ने आदेश दिए।—२ राजा ११:१-१६.
it-1-E पृ. ३७९ अनु. ५
गाड्नु, गाड्ने ठाउँ
धर्मी प्रधानपुजारी यहोयादालाई “दाउदनगरमा राजाहरूको चिहानमा” गाडेर विशेष सम्मान दियो। राजघरानाको सदस्य नभए तापनि यस्तो विशेष सम्मान पाउने व्यक्ति तिनी मात्रै हुन्।—२इ २४:१५, १६.
बहुमूल्य रत्न
it-2-E पृ. १२२३ अनु. १३
जकरिया
१२. प्रधानपुजारी यहोयादाका छोरा। यहोयादाको मृत्युपछि राजा यहोआस साँचो उपासनाबाट तर्किए। यहोवाका भविष्यवक्ताहरूको कुरा सुन्नुको साटो यहोआसले गलत सल्लाह सुने। जकरिया, जो यहोआसका फुपूका छोरा थिए (२इ २२:११), तिनले यसबारे मानिसहरूलाई कडा चेतावनी दिएका थिए तर तिनीहरूले पश्चात्ताप गर्नुको साटो जकरियालाई यहोवा परमेश्वरको भवनको चोकमा ढुङ्गाले हानेर मारे। मर्ने बेला जकरियाले यसो भनेका थिए: “यहोवा परमेश्वरले यो देखून् र तिमीसित लेखा लेऊन्।” तिनको यो भविष्यसूचक बिन्तीको सुनुवाइ भयो। सिरियाले यहुदामाथि आक्रमण गरेर ठूलो विध्वंस मच्चायो। त्यति मात्र होइन, यहोआसलाई तिनका दुई जना सेवकले मारे “किनकि तिनले पुजारी यहोयादाका छोराहरूको हत्या गरेका थिए।” ग्रीक सेप्टुआजिन्ट र ल्याटिन भल्गेट-मा यहोयादाका “छोरा”-को रगतको साटो फेर्न यहोआसलाई मारियो भनेर लेखिएको छ। तर मेसोरेटिक लेखोट र सिरियाक पेशिट्टा-मा भने “छोराहरू” भनेर बहुवचन चलाइएको छ। भविष्यवक्ता तथा पुजारी जकरियालाई सम्मान दिन बहुवचन प्रयोग गरिएको हुन सक्छ।—२इ २४:१७-२२, २५.
मे २२-२८
बाइबलमा पाइने अनमोल धन | २ इतिहास २५-२७
“यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ”
it-1-E पृ. १२६६ अनु. ६
यहोआस
एदोमीहरू विरुद्ध युद्ध लड्न यहोआसले यहुदाका राजालाई १ लाख वीर योद्धा ज्यालामा पठाए। तर ‘साँचो परमेश्वरका एक सेवकको’ सल्लाहअनुसारै तिनीहरूलाई फिर्ता पठाइयो। तिनीहरूलाई १०० टालेन्ट चाँदी (६,६०,६०० अमेरिकी डलर) ज्याला तिरिसकिएको भए तापनि घर फर्कनुपर्दा तिनीहरू रिसाए। युद्धमा लुटेको धनमाल नपाउने भएकोले तिनीहरू रिसाएका हुन सक्छन्। त्यसैले तिनीहरूले फर्किएपछि दक्षिणी राज्यका सहरहरूमा अर्थात् सामरियादेखि बेथ-होरोनसम्म लुटपाट मच्चाए।—२इ २५:६-१०, १३.
बहुमूल्य रत्न
w०७-E १२/१५ पृ. १० अनु. १-२
के तपाईँको आध्यात्मिक अभिभावक छ?
सोह्र वर्षको कलिलै उमेरमा उज्जियाह दक्षिणी राज्य यहुदाको राजा भए। तिनले ईसापूर्व नवौँ शताब्दीको अन्ततिरदेखि आठौँ शताब्दीको सुरुतिरसम्म ५० वर्षभन्दा अलि लामो समय शासन गरे। सानैदेखि उज्जियाहले “यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।” तिनलाई यसो गर्न केले मदत गऱ्यो? बाइबल भन्छ: “जकरिया बाँचुन्जेल उज्जियाहले परमेश्वरको खोजी गरिरहे। तिनलाई साँचो परमेश्वरको भय मान्न जकरियाले नै सिकाएका थिए। तिनले साँचो परमेश्वर यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो।”—२ इतिहास २६:१, ४, ५.
राजाका यी सल्लाहकार जकरियाबारे बाइबलमा यही एउटा विवरण मात्र पाउँछौँ। जवान शासक उज्जियाहलाई “साँचो परमेश्वरको भय मान्न जकरियाले नै सिकाएका थिए।” जकरियाले पारेको राम्रो प्रभावको कारण उज्जियाहले जे सही छ, त्यही गर्न सके। बाइबलसम्बन्धी एउटा किताबमा “जकरियासित पवित्र लेखोटको राम्रो ज्ञान थियो, तिनी निकै अनुभवी थिए र अरूलाई राम्रोसँग सिकाउन सक्थे” भनेर लेखिएको छ। एक जना बाइबलविद्ले जकरियाबारे यसो भने: “तिनीसित भविष्यवाणीहरूको राम्रो ज्ञान थियो। . . . तिनी बुद्धिमान्, भक्तालु र असल मानिस थिए। अनि तिनले उज्जियाहमा राम्रो प्रभाव पारेको जस्तो देखिन्छ।”
जून ५-११
बाइबलमा पाइने अनमोल धन | २ इतिहास ३०-३१
“एकसाथ भेला हुँदा हाम्रो हित हुन्छ”
it-1-E पृ. ११०३ अनु. २
हिजकियाह
साँचो उपासनाको लागि तिनले देखाएको जोस। पच्चिस वर्षको उमेरमा राजा हुनेबित्तिकै हिजकियाहले यहोवाको उपासनाको लागि जोस देखाए। सुरुमा तिनले मन्दिरका ढोकाहरू खोले र ती मर्मत गरे। त्यसपछि तिनले पुजारीहरू र लेवीहरूलाई एकसाथ भेला गराए र तिनीहरूलाई यसो भने: ‘इस्राएलका परमेश्वर यहोवासँग एउटा करार गर्ने मेरो मनैदेखिको इच्छा छ।’ यो वफादारीको करार थियो। हुनत व्यवस्थाको करार त्यतिबेलासम्म खारेज भएको थिएन तर त्यसअनुसार चल्न मानिसहरूले हेलचेक्र्याइँ गरिरहेका थिए। त्यसैले यहुदामा वफादारीको यो नयाँ करार बाँधियो। जोसले भरिएर राजा हिजकियाहले लेवीहरूको कामको व्यवस्था मिलाए। साथै तिनले बाजा बजाउन र स्तुतिगान गाउनको लागि पहिलाको जस्तै प्रबन्धहरू मिलाए। त्यो नीसान महिना थियो, जुन महिनामा निस्तार चाड मनाउनुपर्ने थियो। तर मन्दिर, पुजारीहरू र लेवीहरू अशुद्ध थिए। त्यसैले नीसान महिनाको सोह्रौँ दिनमा मन्दिरलाई शुद्ध पारियो र त्यहाँका भाँडाकुँडाहरूलाई पनि शुद्ध पारेर पहिलाकै ठाउँमा राखियो। त्यसपछि सारा इस्राएलीहरूको लागि प्रायश्चितको बलिदान चढाउनुपर्ने थियो। सुरुमा सहरका अगुवाहरूले राजघरानाको खातिर, पवित्र स्थानको खातिर अनि मानिसहरूको खातिर पापभेटी चढाउन बलिदानहरू ल्याए। त्यसपछि मानिसहरूले अग्निभेटीस्वरूप ल्याएको हजारौँ बलिदान चढाइयो।—२इ २९:१-३६.
it-1-E पृ. ११०३ अनु. ३
हिजकियाह
मानिसहरू अशुद्ध भएकोले तिनीहरूले तोकिएकै समयमा निस्तार चाड मनाउन सकेनन्। अशुद्ध भएकाहरूले एक महिनापछि निस्तार चाड मनाउने प्रबन्ध व्यवस्थामा गरिएको थियो। त्यसैअनुरूप हिजकियाहले एक महिनापछि निस्तार चाड मनाउने निर्णय गरे। तिनले यहुदाका मानिसहरूलाई मात्र नभई इस्राएलका मानिसहरूलाई पनि बोलाए। तिनले बेर्सेबादेखि दानसम्मका सबै मानिसलाई निस्तार चाड मनाउन यरुसलेम आउनू भनी राजदूतहरूमार्फत पत्र पठाए। ती राजदूतहरूलाई थुप्रैले हाँसोमा उडाए। तर खासगरि असेर, मनस्से र जबुलुनको कुलका मानिसहरूले आफूलाई नम्र तुल्याए र यरुसलेम आए। त्यसरी आउनेहरूमध्ये केही एप्रैम र इस्साकारको कुलका पनि थिए। यिनीहरूबाहेक थुप्रै गैर इस्राएली उपासकहरू पनि निस्तार चाड मनाउन भेला भए। साँचो उपासनाको पक्षमा खडा भएका उत्तरी दस-गोत्रे राज्यका मानिसहरूको निम्ति निस्तार चाड मनाउन उपस्थित हुन गाह्रो भएको हुनपर्छ। ती राजदूतहरूलाई जस्तै तिनीहरूलाई पनि थुप्रैले हाँसोमा उडाउन सक्थे। किनभने उत्तरी दस-गोत्रे राज्य झूटो उपासनामा चुर्लुम्मै डुबेको थियो र अस्सेरियालीहरूबाट खेदो भोगिरहेको थियो।—२इ ३०:१-२०; गन ९:१०-१३.
it-1-E पृ. ११०३ अनु. ४-५
हिजकियाह
निस्तार चाडपछि इस्राएलीहरूले असाध्यै खुसी हुँदै सात दिनसम्म अखमिरा रोटीको चाड मनाए। त्यसपछि पूरै समुदायले अझै सात दिन चाड मनाउने निर्णय गऱ्यो। कठिन समयमा पनि यहोवा परमेश्वरको आशिष्ले गर्दा “यरुसलेममा निकै खुसीयाली छायो किनकि दाउदका छोरा, इस्राएलका राजा सुलेमानको समयदेखि यता यरुसलेममा यति ठूलो उत्सव कहिल्यै मनाइएको थिएन।”—२इ ३०:२१-२७.
यो केवल क्षणिक खुसीयाली मात्र थिएन; साँचो उपासना साँच्चै पुनर्स्थापित भएको थियो भनेर त्यसपछिको घटनाले देखाउँछ। चाड मनाएर घर फर्कनुअघि तिनीहरू “यहुदाका सहरहरूमा गए। तिनीहरूले ती सहरहरूमा भएका पवित्र थामहरू टुक्राटुक्रा पारिदिए, पवित्र खामाहरू ढालिदिए अनि अग्ला थानहरू र वेदीहरू पनि भत्काइदिए। तिनीहरूले यहुदा र बिन्यामिनको सारा इलाकामा अनि एप्रैम र मनस्सेको इलाकामा पनि त्यसै गरे।” (२इ ३१:१) हिजकियाहले “मोसाले बनाएको तामाको सर्पलाई पनि टुक्राटुक्रा पारिदिएका थिए” किनभने तिनीहरूले “त्यसको अगाडि माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाउन छोडेका थिएनन्।” (२रा १८:४) ठूलो चाड मनाइसकेपछि हिजकियाहले साँचो उपासनालाई अघि बढाइरहन पुजारीहरूलाई तिनीहरूको दलअनुसार नियुक्त गरे र मन्दिरको सेवालाई सघाउन विभिन्न प्रबन्ध मिलाए। तिनले पुजारीहरू र लेवीहरूको निम्ति आफ्नो उब्जनीको पहिलो फल र सबै कुराको दशांश दिन मानिसहरूलाई आज्ञा दिए। मानिसहरूले राजीखुसीले यो आज्ञा पालन गरे।—२इ ३१:२-१२.
जून १२-१८
बाइबलमा पाइने अनमोल धन | २ इतिहास ३२-३३
“गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्”
it-1-E पृ. २०४ अनु. ५
अस्सेरिया
सनहेरिब। यहुदाका राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा (ई.पू. ७३२) सनहेरीबले यहुदामाथि आक्रमण गरे। (२रा १८:१३; यसै ३६:१) हिजकियाहका बुबा आहाजले चालेको कदमले गर्दा अस्सेरियालीहरूले यहुदामाथि गह्रौँ जुवा बोकाइदिएका थिए। हिजकियाहले त्यसको विद्रोह गरे। (२रा १८:७) नतिजास्वरूप सनहेरिबले यहुदाका सबै सहरलाई आक्रमण गर्न आए। तिनले ४६ वटा सहर कब्जा गरे। (यसै ३६:१, २ तुलना गर्नुहोस्।) त्यसपछि लाकिसमा रहेको छाउनीबाट सनहेरिबले ३० टालेन्ट सुन (लगभग १,१५,६०,००० अमेरिकी डलर) र ३०० टालेन्ट चाँदी (लगभग १९,८२,००० अमेरिकी डलर) जरिबाना तिर्न भने। (२रा १८:१४-१६; २इ ३२:१; तुलना गर्नुहोस्: यसै ८:५-८) ती रकम तिरिसकेको भए तापनि सनहेरिबले आफ्ना सन्देशवाहकहरूमार्फत यरुसलेमलाई आत्मसमर्पण गर्न भने। (२रा १८:१७–१९:३४; २इ ३२:२-२०) पछि यहोवा परमेश्वरले अस्सेरियालीहरूको १ लाख ८५ हजार सिपाहीलाई मार्नुभयो। त्यसपछि अहङ्कारी राजा सनहेरिब निनवे फर्के। (२रा १९:३५, ३६) त्यहाँ तिनका दुई जना छोराले तिनको हत्या गरे अनि तिनका अर्का छोरा एसर-हद्दोन राजा भए। (२रा १९:३७; २इ ३२:२१, २२; यसै ३७:३६-३८) यी घटनाहरू सनहेरिब र एसर-हद्दोनबारे लेखिएका शिलालेखहरूमा पनि उल्लेख गरिएको छ। तर त्यसमा अस्सेरियाली सेनाले बेहोर्नुपरेको हारबारे भने उल्लेख गरिएको छैन।
जून १९-२५
बाइबलमा पाइने अनमोल धन | २ इतिहास ३४-३६
“के तपाईँ परमेश्वरको वचनबाट पूरापूर लाभ उठाउँदै हुनुहुन्छ?”
it-1-E पृ. ११५७ अनु. ४
हुल्दाह
मन्दिर मर्मतको क्रममा प्रधानपुजारी हिल्कियाहले भेट्टाएको “व्यवस्थाको पुस्तक”-मा लेखिएको कुरा सुनेपछि योसियाहले त्यसबारे यहोवालाई सोधपुछ गर्न प्रतिनिधिहरू पठाए। तिनीहरू हुल्दाहकहाँ गए। उनले तिनीहरूलाई व्यवस्थाको त्यस पुस्तकमा लेखिएको विपत्ति धर्मत्यागी राष्ट्रमाथि आइपर्नेछ भनेर यहोवाको सन्देश सुनाइन्। योसियाहले यहोवासामु आफूलाई नम्र तुल्याएकोले तिनले त्यो विपत्ति देख्नेछैनन् बरु तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछन् र शान्तिपूर्वक चिहानमा जानेछन् भनेर पनि हुल्दाहले बताइन्।—२रा २२:८-२०; २इ ३४:१४-२८.