-
मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १०३
मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ
मत्ति २१:१२, १३, १८, १९ मर्कुस ११:१२-१८ लुका १९:४५-४८ युहन्ना १२:२०-२७
येसु अन्जिरको रूखलाई सराप दिनुहुन्छ र मन्दिरलाई शुद्ध पार्नुहुन्छ
धेरैलाई जीवन दिन येसु मर्नै पर्छ
येसु र उहाँका चेलाहरूले यरिहोबाट आएपछि बेथानिमा तीन रात बिताइसक्नुभएको छ। अहिले सोमबार, नीसान १० को सबेरै उहाँहरू यरुसलेम जाँदै हुनुहुन्छ। येसुलाई भोक लागेको छ। त्यसैले अन्जिरको रूख देखेपछि उहाँ त्यो रूख भएतिर जानुहुन्छ। त्यसमा फल लागेको छ?
यो मार्च महिनाको अन्त-अन्ततिरको समय हो। तर अन्जिर जून महिनादेखि मात्र फल्न थाल्छ। पातहरू छिट्टै पलाइसकेकोले येसुले फल पनि फलिसक्यो होला भन्ठान्नुहुन्छ। तर फल फलेको हुँदैन। ती पातहरूको कारण रूखले छली रूप धारण गरेको छ। त्यसपछि येसु यसो भन्नुहुन्छ: “तेरो फल अबदेखि कसैले कहिल्यै खान नपाओस्।” (मर्कुस ११:१४) तब त्यो रूख तुरुन्तै सुक्न थाल्छ र यसो हुनुको कारण भोलि बिहान मात्र थाह हुनेछ।
केही समयपछि येसु र उहाँका चेलाहरू यरुसलेम पुग्नुहुन्छ। उहाँ आफूले हिजो दिउँसो निरीक्षण गरेको मन्दिरमा जानुहुन्छ। तर आजचाहिँ उहाँ निरीक्षण मात्र गर्नुहुन्न। तीन वर्षअगाडि इस्वी संवत् ३० को निस्तार चाडमा उहाँले जस्तो कदम चाल्नुभएको थियो, यस पटक पनि त्यस्तै कदम चाल्नुहुन्छ। (युहन्ना २:१४-१६) येसु “त्यहाँ किनबेच गरिरहेकाहरूलाई” बाहिर लघार्नुहुन्छ। साथै उहाँ “पैसा साट्नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च” पनि पल्टाइदिनुहुन्छ। (मर्कुस ११:१५) छोटो बाटो हुने भएकोले कोही-कोही सरसामान बोकेर मन्दिर परिसर हुँदै हिँड्ने गर्थे। तर उहाँ त्योसमेत गर्न दिनुहुन्न।
मन्दिरमा पैसा साटिरहेकाहरू र जनावर बेचिरहेकाहरूविरुद्ध येसु किन यस्तो कडा कदम चाल्नुहुन्छ? उहाँ भन्नुहुन्छ: “‘मेरो घर सबै जातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी के धर्मशास्त्रमा लेखिएको छैन? तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।” (मर्कुस ११:१७) उहाँ ती मानिसहरूलाई डाँकुहरू भन्नुहुन्छ किनकि तिनीहरू बलिदान चढाउन जनावर किन्नुपर्नेहरूबाट अचाक्ली पैसा धुत्छन्। येसु तिनीहरूको यस कामलाई लुटेसरह वा डाँका मारेसरह ठान्नुहुन्छ।
मुख्य पुजारीहरू, शास्त्रीहरू र जनताका मुख्य-मुख्य मानिसहरूले येसुले गर्नुभएको कामबारे सुन्छन्। तिनीहरू फेरि पनि येसुलाई मार्ने उपाय खोज्न थाल्छन्। तर उहाँको कुरा सुन्न वरिपरि मानिसहरू झुम्मिरहेकोले येसुलाई कसरी मार्ने भनेर तिनीहरू अन्योलमा पर्छन्।
जन्मजात यहुदीहरू मात्र होइन, धर्म परिवर्तन गरेर यहुदी भएकाहरू पनि निस्तार चाड मनाउन आएका छन्। तिनीहरूमध्ये ग्रीकहरू पनि छन्। ती ग्रीकहरू येसुलाई भेट्ने इच्छा व्यक्त गर्न फिलिपकहाँ जान्छन् किनकि फिलिप ग्रीक नाम हो भनेर तिनीहरूलाई थाह छ। यसरी भेटाइदिनु उचित होला कि नहोला भनेर पक्का नभएकोले फिलिप अन्द्रियासकहाँ जान्छन्। त्यसपछि तिनीहरू दुई जना यो कुरा लिएर येसुकहाँ जान्छन्, जो सायद अहिलेसम्म मन्दिरमै हुनुहुन्छ।
येसुलाई अब आफू केही दिनमा मर्नुपर्छ भनेर थाह छ। त्यसैले अहिले मानिसहरूको जिज्ञासा मेटाउने वा लोकप्रिय हुन खोज्ने समय होइन। उहाँ ती दुई प्रेषितलाई यस्तो उदाहरण चलाएर जवाफ दिनुहुन्छ: “मानिसको छोरा महिमित हुने बेला आइपुगेको छ। म तिमीहरूलाई साँच्चै भन्छु, जमिनमा खसेर नमरुन्जेल गहुँको एउटा गेडा एउटै मात्र रहन्छ तर त्यो मऱ्यो भने त्यसले धेरै फल फलाउँछ।”—युहन्ना १२:२३, २४.
गहुँको एउटा गेडा कुनै मोलको नदेखिएला। तर त्यसलाई माटोमा छरेपछि त्यो बीउको रूपमा ‘मर्छ’ र फेरि अङ्कुराउँछ। अनि केही समयपछि मूल डाँठ भएर बढ्छ अनि गहुँका थुप्रै गेडा फलाउँछ। त्यसैगरि येसु एक जना त्रुटिरहित मानिस हुनुहुन्छ। तर मृत्युसम्मै परमेश्वरप्रति वफादार भएर उहाँ आफूले जस्तै आत्मत्यागी मनोभाव देखाउने थुप्रै मानिसका लागि अनन्त जीवन दिने माध्यम बन्नुहुनेछ। त्यसैले येसु भन्नुहुन्छ: “जसले आफ्नो ज्यानलाई प्यारो ठान्छ, उसले त्यो नाश गर्छ तर जसले यस संसारमा आफ्नो ज्यानलाई घृणा गर्छ, उसले अनन्त जीवनको लागि त्यसको रक्षा गर्नेछ।”—युहन्ना १२:२५.
येसुले आफूबारे मात्र कुरा गरिरहनुभएको होइन किनकि उहाँ यसो भन्नुहुन्छ: “यदि कोही मेरो सेवा गर्न चाहन्छ भने ऊ मेरो पछि लागोस् अनि म जहाँ हुन्छु, मेरो सेवक पनि त्यहीँ हुनेछ। यदि कोही मेरो सेवा गर्न चाहन्छ भने मेरो बुबाले उसको आदर गर्नुहुनेछ।” (युहन्ना १२:२६) कत्ति ठूलो इनाम! बुबाले आदर गर्नुहुने मानिसहरू उहाँको राज्यमा ख्रिष्टको साझेदार हुनेछन्।
आफूले भोग्नुपर्ने दुःख र पीडादायी मृत्युलाई मनमा राख्दै येसु भन्नुहुन्छ: “अब म व्याकुल भएको छु, त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्।” तर येसु परमेश्वरको इच्छा पूरा गर्नदेखि पछि हट्न चाहनुहुन्न। त्यसैले उहाँ थप यसो भन्नुहुन्छ: “तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।” (युहन्ना १२:२७) परमेश्वरको सबै उद्देश्यमा येसु सहमत हुनुहुन्छ र यसमा उहाँले आफ्नो जीवन अर्पण गर्ने कुरा पनि समावेश छ।
-
-
परमेश्वरको आवाज सुन्ने यहुदीहरूले के उहाँमाथि विश्वास गर्नेछन्?येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १०४
परमेश्वरको आवाज सुन्ने यहुदीहरूले के उहाँमाथि विश्वास गर्नेछन्?
थुप्रैले परमेश्वरको आवाज सुन्छन्
न्याय गर्ने आधार
सोमबार, नीसान १० को दिन येसु आफूले भोग्नै लागेको मृत्युबारे मन्दिरमा कुरा गर्दै हुनुहुन्छ। यसले परमेश्वरको नाममा कस्तो असर पार्ला भनेर चिन्ता लागेकोले येसु भन्नुहुन्छ: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्।” तब आकाशबाट यस्तो आवाज आउँछ: “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”—युहन्ना १२:२७, २८.
वरपर भएका मानिसहरू छक्क पर्छन्। कसैले मेघ गर्जिएको हो भन्छन्। कोहीचाहिँ यसो भन्छन्: “स्वर्गदूतले उहाँसित कुरा गरेको हो।” (युहन्ना १२:२९) तर तिनीहरूले भर्खरै सुनेको आवाज यहोवा परमेश्वरको हो! अनि येसुले पृथ्वीमा सेवाको काम सुरु गर्नुभएपछि मानिसहरूले यहोवाको आवाज सुनेको यो नै पहिलो पटक भने होइन।
साढे तीन वर्षअगाडि येसुको बप्तिस्माको बेला परमेश्वरले येसुबारे यसो भन्नुभएको बप्तिस्मा गराउने युहन्नाले सुनेका थिए: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।” पछि इस्वी संवत् ३२ को निस्तार चाड सिद्धिएपछि याकुब, युहन्ना र पत्रुसको अगाडि येसुको रूप परिवर्तन हुँदा यी तीन जनाले परमेश्वरले यसो भन्नुभएको सुनेका थिए: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु। तिमीहरूले उनको कुरा सुन।” (मत्ति ३:१७; १७:५) तर अहिले तेस्रो पटकचाहिँ यहोवा धेरै मानिसले सुन्नेगरि बोल्नुहुन्छ!
येसु भन्नुहुन्छ: “यो आवाज मेरो लागि होइन तर तिमीहरूका लागि आएको हो।” (युहन्ना १२:३०) येसु साँच्चै परमेश्वरको छोरा, भविष्यवाणी गरिएको मसीह हुनुहुन्छ भन्ने कुराको यो एउटा प्रमाण हो।
यसबाहेक येसुले वफादार भएर बिताउनुभएको जीवन मानिसहरूले कस्तो जीवन बिताउनुपर्छ भन्ने कुराको उदाहरण हो। साथै उहाँको जीवनशैलीले यस संसारको शासक सैतान अर्थात् दियाबल नाश हुन योग्यको छ भन्ने कुरालाई प्रमाणित गर्छ। येसु भन्नुहुन्छ: “अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक बाहिर फ्याँकिनेछ।” येसुले भोग्न लाग्नुभएको मृत्यु उहाँको पराजय नभई विजय हुनेछ। कसरी? उहाँ भन्नुहुन्छ: “तर जहाँसम्म मेरो कुरा छ, जब म पृथ्वीबाट माथि उचालिन्छु, तब हरकिसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नेछु।” (युहन्ना १२:३१, ३२) खम्बामा मृत्यु भोगेर येसुले मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नुहुनेछ, तिनीहरूको लागि अनन्त जीवनको बाटो खोलिदिनुहुनेछ।
‘माथि उचालिने’ विषयमा येसुको कुरा सुनेर भीड यसो भन्छ: “ख्रिष्ट सधैँभरि रहिरहनुहुन्छ भनेर हामीले मोसाको व्यवस्थाबाट सुनेका थियौँ। तर तपाईँचाहिँ मानिसको छोरा टाँगिनुपर्छ भनेर कसरी भन्नुहुन्छ? यो मानिसको छोरा को हो?” (युहन्ना १२:३४) परमेश्वरकै आवाज सुन्नुका साथै अरू थुप्रै प्रमाण देख्दादेख्दै पनि तिनीहरूमध्ये धेरैले येसु साँच्चै मानिसको छोरा अर्थात् प्रतिज्ञा गरिएको मसीह हो भनेर स्विकार्दैनन्।
पहिलेझैँ यस पटक पनि येसु आफूलाई “ज्योति” भन्नुहुन्छ। (युहन्ना ८:१२; ९:५) उहाँ भीडलाई यसो भन्नुहुन्छ: “तिमीहरूमाझ अब अलिक बेरसम्म ज्योति रहनेछ। ज्योति छउन्जेल तिमीहरू त्यसैमा हिँड ताकि अन्धकारले तिमीहरूलाई नछोपोस्; . . . तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्न सक्नेछौ।” (युहन्ना १२:३५, ३६) त्यसपछि येसु त्यहाँबाट जानुहुन्छ किनकि नीसान १० उहाँको मृत्यु हुने दिन होइन। नीसान १४, निस्तार चाडको दिन उहाँ ‘माथि उचालिनुहुनेछ’ अर्थात् खम्बामा टाँगिनुहुनेछ।—गलाती ३:१३.
येसुको सेवाको कामलाई फर्केर हेर्दा यहुदीहरूले उहाँमाथि विश्वास नगर्नु भविष्यवाणीको पूर्ति हो भनेर स्पष्ट हुन्छ। यसैयाले मानिसहरूको आँखा बन्द हुने र तिनीहरूको हृदय कठोर हुने भएकोले तिनीहरू निको हुनको लागि फर्केर आउने छैनन् भनेर भविष्यवाणी गरेका थिए। (यसैया ६:१०; युहन्ना १२:४०) हो, येसु नै प्रतिज्ञा गरिएको मुक्तिदाता, जीवनतर्फ डोऱ्याउने माध्यम हुनुहुन्छ भन्ने प्रमाणलाई प्रायजसो यहुदी हठी हुँदै नकार्छन्।
निकोदेमस, अरिमथियाको युसुफ र अन्य थुप्रै शासकले येसुमाथि ‘विश्वास गर्छन्।’ तर के तिनीहरूले विश्वासअनुरूप काम गर्नेछन्? अथवा तिनीहरू सभाघरबाट निष्कासित हुने डरले गर्दा वा ‘मानिसहरूबाट पाउने महिमा मन पराउने’ भएकोले गर्दा पछि हट्नेछन्?—युहन्ना १२:४२, ४३.
उहाँमाथि विश्वास गर्नुमा के समावेश छ भन्नेबारे येसु स्वयम् यसो भन्नुहुन्छ: “जसले ममाथि विश्वास गर्छ, उसले ममाथि मात्र होइन तर मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ। अनि जसले मलाई देख्छ, उसले मलाई पठाउनुहुनेलाई पनि देख्छ।” परमेश्वरले निर्देशन दिनुभएअनुसारै येसुले सिकाइरहनुभएको सत्य कुराहरू यति महत्त्वपूर्ण छन् कि येसु यसो भन्नुहुन्छ: “जसले मलाई इन्कार गर्छ अनि मेरो वचन स्विकार्दैन, उसलाई न्याय गर्ने अरू नै कोही छ। मैले बोलेको वचनले नै अन्तको दिनमा उसको न्याय गर्नेछ।”—युहन्ना १२:४४, ४५, ४८.
कुरा टुङ्ग्याउँदै येसु यसो भन्नुहुन्छ: “मैले आफ्नै तर्फबाट बोलेको छैनँ तर मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ। साथै मलाई थाह छ, उहाँको आज्ञाको अर्थ अनन्त जीवन हो।” (युहन्ना १२:४९, ५०) आफूमाथि विश्वास गर्नेहरूको निम्ति आफ्नो रगत बगाउने समय नजिकै छ भनेर येसुलाई थाह छ।—रोमी ५:८, ९.
-