-
अन्जिरको रूखबाट विश्वासबारे पाठ सिकाउनुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १०५
अन्जिरको रूखबाट विश्वासबारे पाठ सिकाउनुहुन्छ
मत्ति २१:१९-२७ मर्कुस ११:१९-३३ लुका २०:१-८
सुकेको अन्जिरको रूख—विश्वासबारे पाठ
येसुको अख्तियारमाथि प्रश्न उठाइन्छ
सोमबार दिउँसो यरुसलेम छोडेपछि येसु जैतुन डाँडाको पूर्वी भेगमा पर्ने बेथानि फर्कनुहुन्छ। उहाँ सायद आफ्ना साथीहरू लाजरस, मरियम र मार्थाको घरमा बास बस्नुहुन्छ।
यो नीसान ११ को बिहानी हो। येसु र उहाँका चेलाहरू फेरि यरुसलेम जान निस्कनुहुन्छ। येसु यरुसलेमको मन्दिरमा अन्तिम पटक जाँदै हुनुहुन्छ। यो नै उहाँले सार्वजनिक रूपमा गर्नुहुने सेवाको कामको अन्तिम दिन हो। त्यसपछि उहाँले निस्तार चाड मनाउनुहुनेछ, आफ्नो मृत्युको स्मरणार्थ स्थापना गर्नुहुनेछ, उहाँ पुर्पक्षको लागि लगिनुहुनेछ र मारिनुहुनेछ।
बेथानिबाट जैतुन डाँडा हुँदै यरुसलेम जाँदै गर्दा पत्रुस हिजो बिहान येसुले सराप दिनुभएको रूखलाई देख्छन्। तिनी यसो भन्छन्: “रब्बी, हेर्नुहोस्! तपाईँले सराप दिनुभएको अन्जिरको रूख त सुकेछ।”—मर्कुस ११:२१.
तर येसुले त्यस रूखलाई किन सराप दिएर सुकाउनुभयो? त्यसको कारण बताउँदै उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरूसित विश्वास छ र तिमीहरूले शङ्का गरेनौ भने मैले अन्जिरको रूखलाई जे गरेँ, त्यति मात्र होइन तर यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्’ भन्यौ भने त्यो पनि हुनेछ। तिमीहरूले विश्वास गर्दै प्रार्थनामा जे-जे माग्छौ, ती सबै तिमीहरूले पाउनेछौ।” (मत्ति २१:२१, २२) यसरी उहाँ डाँडालाई सार्न सक्ने हदसम्मको विश्वासबारे यसअघि पनि आफूले भनेको कुरा दोहोऱ्याउनुहुन्छ।—मत्ति १७:२०.
यसरी रूखलाई सुकाएर येसुले परमेश्वरमाथि विश्वास गर्नुपर्ने आवश्यकताबारे पाठ सिकाउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैँ गरी विश्वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।” (मर्कुस ११:२४) येसुका सबै अनुयायीको लागि कत्ति महत्त्वपूर्ण पाठ! येसुले दिनुभएको सल्लाह प्रेषितहरूको लागि झनै उपयुक्त छ किनकि उनीहरूले चाँडै कठिन परीक्षाहरूको सामना गर्नुपर्नेछ। तर अन्जिरको रूख सुक्नु र विश्वासको गुणस्तरबीच अर्को सम्बन्ध पनि छ।
यो अन्जिरको रूखले जस्तै इस्राएल राष्ट्रले पनि छली रूप धारण गरेको छ। यस राष्ट्रका मानिसहरू परमेश्वरसित करारमा बाँधिएका छन् र तिनीहरू बाहिरबाट हेर्दा उहाँको व्यवस्था पालन गर्ने मानिसजस्तो देखिन्छन्। तर एउटा सिङ्गो राष्ट्रको रूपमा तिनीहरूले विश्वास देखाएका छैनन् र असल फल फलाएका छैनन्। तिनीहरू परमेश्वरको छोरालाई समेत इन्कार गर्छन्! त्यसैले फल दिन नसक्ने अन्जिरको रूखलाई सुकाएर येसु फल नफलाउने र विश्वास नदेखाउने यस राष्ट्रको अन्तिम अवस्था कस्तो हुनेछ भनी देखाउनुहुन्छ।
केही समयपछि येसु र उहाँका चेलाहरू यरुसलेम प्रवेश गर्नुहुन्छ। येसु आफ्नो बानीअनुसारै मन्दिरमा जानुहुन्छ र सिकाउन थाल्नुहुन्छ। सायद येसुले अघिल्लो दिन पैसा साट्नेहरूलाई गर्नुभएको कुरा सम्झँदै मुख्य पुजारीहरू र धर्मगुरुहरू उहाँको अख्तियारमाथि प्रश्न उठाउँदै यसो भन्छन्: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई यसो गर्ने अख्तियार कसले दियो?”—मर्कुस ११:२८.
येसु यस्तो जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ देओ र म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भनौँला। युहन्नाले बप्तिस्मा गराउने अख्तियार परमेश्वरबाट पाए कि मानिसहरूबाट? मलाई जवाफ देओ।” येसु उल्टो आफ्ना विरोधीहरूलाई प्रश्न गर्नुहुन्छ। ती पुजारीहरू र धर्मगुरुहरू कसरी जवाफ दिने भनेर आपसमा यसो भन्दै तर्क गर्न थाल्छन्: “‘परमेश्वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्वास गरेनौ त’ भनेर उसले सोध्नेछ। तर ‘मानिसहरूबाट’ भन्ने आँट कसरी गरौँ?” तिनीहरूले यस्तो तर्क गर्नुको कारण त्यहाँ जम्मा भएका मानिसहरूसित डराएकोले हो “किनकि युहन्ना वास्तवमै भविष्यवक्ता थिए भनी सबै मानिसले मान्थे।”—मर्कुस ११:२९-३२.
येसुका विरोधीहरूले उपयुक्त जवाफ दिनै सक्दैनन्। त्यसैले तिनीहरू यसो भन्छन्: “हामीलाई थाह छैन।” त्यसपछि येसु तिनीहरूलाई यसो भन्नुहुन्छ: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।”—मर्कुस ११:३३.
-
-
अङ्गुर बगानसम्बन्धी दुई वटा उदाहरणयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १०६
अङ्गुर बगानसम्बन्धी दुई वटा उदाहरण
मत्ति २१:२८-४६ मर्कुस १२:१-१२ लुका २०:९-१९
दुई छोराको उदाहरण
अङ्गुर बगानका मोहीहरूको उदाहरण
कुन अख्तियारले सबै कुरा गर्दै हुनुहुन्छ भनेर येसुलाई प्रश्न गर्ने मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई उहाँले भर्खरै मन्दिरमा अकमक्क पारिदिनुभएको छ। येसुको कुरा सुनेर तिनीहरू नाजवाफ भएका छन्। त्यसपछि उहाँ तिनीहरू वास्तवमा कस्ता मानिसहरू हुन् भनेर उदाङ्ग पार्ने एउटा उदाहरण बताउनुहुन्छ।
येसु भन्नुहुन्छ: “एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज अङ्गुर बगानमा काम गर।’ उसले ‘नाइँ, म जान्नँ’ भन्यो तर पछि ऊ पछुतायो र अङ्गुर बगानमा गयो। अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘हवस् बुबा’ भन्यो तर ऊ गएन। यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्यो?” (मत्ति २१:२८-३१) जवाफ प्रस्ट छ: सुरुमा नाइँ भने पनि पछि बुबाको इच्छाअनुसार गर्ने जेठो छोराले।
त्यसपछि येसु आफ्ना विरोधीहरूलाई भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा पहिला परमेश्वरको राज्यमा पस्नेछन्।” कर उठाउनेहरू र वेश्याहरूले सुरुमा त परमेश्वरको सेवा गर्दैनथे। तर जेठो छोराले जस्तै तिनीहरूले पछि पश्चात्ताप गरे र अहिले परमेश्वरको सेवा गरिरहेका छन्। अर्कोतर्फ धर्मगुरुहरू भने कान्छो छोराजस्ता छन् किनकि तिनीहरू परमेश्वरको सेवा गरेको दाबी त गर्छन् तर वास्तवमा त्यसो गर्दैनन्। येसु भन्नुहुन्छ: “[बप्तिस्मा गराउने] युहन्ना आए र तिमीहरूलाई सत्यको बाटो देखाए तैपनि तिमीहरूले ऊमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले ऊमाथि विश्वास गरे र यो देख्दादेख्दै पनि तिमीहरू पछुताएनौ र ऊमाथि विश्वास गरेनौ।”—मत्ति २१:३१, ३२.
यसपछि येसु अर्को उदाहरण बताउनुहुन्छ। यस पटक उहाँ ती धर्मगुरुहरूले परमेश्वरको सेवालाई हेलचेक्र्याइँ मात्र गरेका छैनन्, तिनीहरू दुष्ट पनि छन् भनेर प्रस्ट पार्नुहुन्छ। येसु भन्नुहुन्छ: “एक जना मानिसले अङ्गुर बगान लगाएर त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले अङ्गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्यो। अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो। फल टिप्ने बेला भएपछि उसले अङ्गुर बगानको कुत उठाउन आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। तर तिनीहरूले त्यसलाई समातेर कुटे अनि रित्तो हात फर्काइदिए। उसले तिनीहरूकहाँ अर्को एक जना दासलाई पठायो तर तिनीहरूले त्यसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। उसले फेरि अर्को एक जनालाई पठायो तर तिनीहरूले त्यसलाई मारे। यसैगरि उसले अरू थुप्रै दासलाई पनि पठायो तर तिनीहरूले कसैलाई कुटे अनि कसैलाई चाहिँ मारे।”—मर्कुस १२:१-५.
येसुको कुरा सुनिरहेकाहरूले के यो उदाहरण बुझ्छन्? सायद तिनीहरू परमेश्वरले यसैयामार्फत भन्नुभएको यो कुरा सम्झन्छन्: “म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो। मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्। मैले न्यायको आशा गरेको थिएँ तर हेर, चारैतिर अन्याय भयो।” (यसैया ५:७) येसुको उदाहरण पनि यस्तै छ। जग्गाधनी यहोवा हुनुहुन्छ अनि अङ्गुर बगानचाहिँ इस्राएल राष्ट्र हो, जुन राष्ट्र परमेश्वरको व्यवस्थाद्वारा चारैतिर बार हालिएको र सुरक्षित थियो। आफ्ना मानिसहरूलाई निर्देशनहरू दिन र असल फल फलाउन मदत गर्न यहोवाले भविष्यवक्ताहरू पठाउनुभएको थियो।
तर “मोहीहरू”-ले उनीहरूकहाँ पठाइएका “दास”-हरूलाई दुर्व्यवहार गरे र मारे। येसु अझै भन्नुहुन्छ: “[अङ्गुर बगानको मालिकसँग] अब एकै जना बाँकी थियो, उसको आफ्नो प्यारो छोरा। ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्’ भन्ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। तर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो। आओ, यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ त्यसैले तिनीहरूले उसलाई समातेर मारे।”—मर्कुस १२:६-८.
यसपछि येसु यस्तो प्रश्न गर्नुहुन्छ: “अङ्गुर बगानको मालिकले अब के गर्नेछ?” (मर्कुस १२:९) धर्मगुरुहरू यस्तो जवाफ दिन्छन्: “तिनीहरू दुष्ट भएकोले उसले रतीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो अङ्गुर बगान त्यस्ता मोहीहरूलाई दिनेछ, जसले समयमै कुत बुझाउँछन्।”—मत्ति २१:४१.
यसरी तिनीहरू अनजानमै आफूमाथि न्यायको घोषणा गर्छन् किनकि तिनीहरू पनि यहोवाको “अङ्गुर बगान” अर्थात् इस्राएल राष्ट्रका “मोहीहरू” हुन्। यहोवाले ती मोहीहरूबाट चाहनुभएको फल भनेको तिनीहरूले उहाँको छोरा अर्थात् मसीहमाथि विश्वास गरून् भन्ने हो। अब येसु सीधै ती धर्मगुरुहरूलाई हेरेर यसो भन्नुहुन्छ: “के तिमीहरूले धर्मशास्त्रमा यो अंश कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ। यहोवाले त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा साह्रै अचम्मको छ’?” (मर्कुस १२:१०, ११) त्यसपछि येसु आफ्नो कुरा यसरी स्पष्ट पार्नुहुन्छ: “त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ।”—मत्ति २१:४३.
शास्त्रीहरू र मुख्य पुजारीहरूले येसुले ‘यो उदाहरण तिनीहरूकै विषयमा भन्नुभएको हो भनेर बुझ्छन्।’ (लुका २०:१९) त्यसैले तिनीहरू असली “हकवाला” येसुलाई मार्न झनै हौसिन्छन्। तर येसुलाई भविष्यवक्ता मान्ने भीडको डरले गर्दा तिनीहरूले उहाँलाई त्यति नै बेला मार्ने प्रयास गर्दैनन्।
-
-
राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन्येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १०७
राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन्
विवाह-भोजको उदाहरण
आफ्नो सेवाको कामको अन्त-अन्ततिर पनि येसु शास्त्री र मुख्य पुजारीहरूको पर्दाफास गर्न उदाहरणहरू चलाउँदै हुनुहुन्छ। त्यसैले तिनीहरू उहाँलाई मार्न चाहन्छन्। (लुका २०:१९) तर येसु तिनीहरूको पर्दाफास गर्न छोड्नुहुन्न। उहाँ अर्को उदाहरण बताउनुहुन्छ:
“स्वर्गको राज्यलाई एउटा राजासित तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे। अनि तिनले विवाह-भोजका निम्तालुहरूलाई बोलाउन आफ्ना दासहरू पठाए तर तिनीहरू आउन मानेनन्।” (मत्ति २२:२, ३) येसु यस उदाहरणको सुरुमा “स्वर्गको राज्य”-बारे उल्लेख गर्नुहुन्छ। त्यसैले उदाहरणको “राजा” यहोवा हुनुहुन्छ भन्नु तर्कसङ्गत छ। त्यसोभए राजाको छोरा र विवाह-भोजका निम्तालुहरू को हुन्? राजाको छोरा को हुनुहुन्छ, हामी सजिलै अनुमान लगाउन सक्छौँ। उहाँ यहोवाको छोरा हुनुहुन्छ, जो अहिले यो उदाहरण बताउँदै हुनुहुन्छ। निम्तालुहरूचाहिँ भविष्यमा स्वर्गको राज्यमा छोरासँगै शासन गर्नेहरू हुन् भनेर अनुमान लगाउन पनि गाह्रो छैन।
सबैभन्दा पहिला निम्तो पाउनेहरू को हुन्? तिनीहरू येसु र उहाँका प्रेषितहरूले राज्यबारे प्रचार गरिरहेकाहरू अर्थात् यहुदीहरू नै हुन्। (मत्ति १०:६, ७; १५:२४) यो राष्ट्र ईसापूर्व १५१३ मा व्यवस्थाको करारको अधीनमा बस्न राजी भयो। यसरी तिनीहरू “पुजारीहरूको राज्य”-को भाग बन्नेहरूमध्ये पहिलो भए। (प्रस्थान १९:५-८) तर तिनीहरूलाई “विवाह-भोज”-मा कहिले बोलाइने थियो? निम्तो दिने काम इस्वी संवत् २९ मा येसुले स्वर्गको राज्यबारे प्रचार गर्न थाल्नुभएदेखि सुरु भयो भन्नु तार्किक छ।
धेरैजसो इस्राएलीले त्यो निम्तो पाउँदा कस्तो प्रतिक्रिया देखाए? येसुले भन्नुभएअनुसार “तिनीहरू आउन मानेनन्।” धर्मगुरुहरू र सर्वसाधारणमध्ये धेरैले येसुलाई मसीह र परमेश्वरले चुन्नुभएको राजाको रूपमा स्विकारेनन्।
तर येसुले सङ्केत गर्नुभएझैँ यहुदीहरूलाई अर्को मौका दिइने थियो: “[राजाले] फेरि यसो भनेर अरू दासहरू पठाए: ‘निम्तालुहरूलाई यसो भन: “हेर्नुहोस्! मैले दिवा-भोज तयार पारेको छु, मेरा बहर र मोटा-मोटा पशुहरू काट्न लगाइसकेको छु अनि सबै थोक तयार भइसकेका छन्। विवाह-भोजमा आउनुहोस्।”’ तर तिनीहरूले वास्तै गरेनन्; एक जना आफ्नो खेततिर गयो, अर्कोचाहिँ व्यापारतिर लाग्यो। बाँकी अरूले तिनका दासहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।” (मत्ति २२:४-६) ख्रिष्टियन मण्डली स्थापना भएपछि अवस्था त्यस्तै हुने थियो। यहुदीहरूले अझै पनि परमेश्वरको राज्यको भाग हुने मौका पाउने थिए। तर धेरैजसोले त्यो निम्तोलाई तिरस्कार गरे र ‘राजाका दासहरूलाई’ दुर्व्यवहारसमेत गरे।—प्रेषित ४:१३-१८; ७:५४, ५८.
इस्राएल राष्ट्रले कस्तो नतिजा भोग्ने थियो? येसु भन्नुहुन्छ: “राजा क्रोधित भए अनि आफ्नो सेना पठाएर ती हत्याराहरूलाई मारे र तिनीहरूको सहरमा आगो लगाइदिए।” (मत्ति २२:७) इस्वी संवत् ७० मा रोमीहरूले यहुदीहरूको “सहर” यरुसलेम विनाश गर्दा तिनीहरूले यस्तै अनुभव गरे।
तिनीहरूले राजाको निम्तोलाई तिरस्कार गर्नुको मतलब अरू कसैलाई निम्तो दिइनेछैन भन्ने हो? येसुको उदाहरणअनुसार त्यसो होइन। उहाँ अझै यसो भन्नुहुन्छ: “त्यसपछि [राजाले] आफ्ना दासहरूलाई भने: ‘विवाह-भोज त तयार छ तर निम्तालुहरू योग्य भएनन्। त्यसैले सहरका मूलबाटोहरूमा जाओ र ज-जसलाई भेट्टाउँछौ, सबैलाई विवाह-भोजको निम्तो देओ।’ त्यसैले ती दासहरू बाटोतिर गए अनि के दुष्ट, के सज्जन, भेटेजति सबैलाई जम्मा गरे र विवाह-घर पाहुनाहरूले भरियो।”—मत्ति २२:८-१०.
पछि प्रेषित पत्रुसले अन्यजातिहरूलाई—जो जन्मजात यहुदी होइनन् वा जो धर्म परिवर्तन गरेर यहुदी बनेका छैनन्, तिनीहरूलाई साँचो ख्रिष्टियन बन्न मदत दिन थाल्दा यस्तै हुने थियो। इस्वी संवत् ३६ मा रोमी सैन्यदलका अफिसर कर्निलियस र तिनको परिवारले परमेश्वरको पवित्र शक्ति पाए र तिनीहरूले येसुले उल्लेख गर्नुभएको स्वर्गको राज्यको भाग हुने मौका पाए।—प्रेषित १०:१, ३४-४८.
विवाह-भोजमा आउनेहरूमध्ये सबै जनालाई “राजा”-ले स्विकार्ने छैनन् भनेर येसु सङ्केत गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “जब राजा पाहुनाहरूलाई हेर्न आए, तब तिनले एक जना मानिसलाई विवाहमा लगाउनुपर्ने पोसाक नलगाई आएको देखे। त्यसैले तिनले उसलाई सोधे: ‘मित्र, विवाहमा लगाउनुपर्ने पोसाक नलगाई भित्र छिर्ने आँट तिमीले कसरी गऱ्यौ?’ उसले जवाफै दिन सकेन। त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: ‘त्यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ त्यो दाह्रा किटी-किटी रुनेछ।’ किनकि निम्तालुहरू त धेरै छन् तर चुनिएकाहरू भने थोरै हुन्छन्।”—मत्ति २२:११-१४.
येसुको कुरा सुनिरहेका धर्मगुरुहरूले उहाँले भनिरहनुभएको सबै कुराको अर्थ राम्ररी नबुझेका हुन सक्छन्। जेहोस्, तिनीहरू क्रोधित हुन्छन् र आफ्नो अपमान गर्ने येसुलाई मार्न पहिलाभन्दा झनै सुरिन्छन्।
-
-
येसु उहाँलाई फसाउने प्रयासलाई विफल पारिदिनुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १०८
येसु उहाँलाई फसाउने प्रयासलाई विफल पारिदिनुहुन्छ
मत्ति २२:१५-४० मर्कुस १२:१३-३४ लुका २०:२०-४०
जे-जे सिजरका हुन्, सिजरलाई देओ
फेरि जीवित भएकाहरूले विवाह गर्नेछन्?
सबैभन्दा ठूला आज्ञाहरू
येसुका शत्रुहरू क्रोधित भएका छन्। उहाँले भर्खरै तिनीहरूको दुष्टता उदाङ्ग पार्ने उदाहरणहरू बताउनुभएको छ। त्यसैले फरिसीहरू उहाँलाई फसाउने षड्यन्त्र रच्छन्। तिनीहरू येसुले बोल्नुभएकै कुरामा उहाँलाई फसाएर रोमी राज्यपालको हातमा सुम्पने दाउ खोज्दै छन्। त्यसैले तिनीहरू पैसा दिएर आफ्ना केही मानिसलाई उहाँकहाँ पठाउँछन्।—लुका ६:७.
उनीहरू येसुलाई यसो भन्छन्: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ ठीकठीक बोल्नुहुन्छ र सिकाउनुहुन्छ अनि कसैको पक्षपात गर्नुहुन्न बरु परमेश्वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। हामीले सिजरलाई कर तिर्नु उचित हो कि होइन?” (लुका २०:२१, २२) उनीहरू चापलुसी गर्न खोज्दै छन् भनेर येसुलाई थाह छ; वास्तवमा उनीहरू छली र धूर्त छन्। यदि उहाँले ‘कर तिर्नु उचित होइन’ भन्नुभयो भने उहाँलाई रोमको विरुद्धमा राजद्रोह गरेको आरोप लगाउन सकिनेछ। तर ‘कर तिर्नुपर्छ’ भन्नुभयो भने रोमको अधीनमा बस्न मन नपराउने मानिसहरूले यसलाई गलत तरिकाले बुझेर उहाँविरुद्ध उठ्न सक्छन्। त्यसोभए उहाँ कस्तो जवाफ दिनुहुन्छ?
येसु भन्नुहुन्छ: “ए कपटीहरू, तिमीहरू किन मेरो परीक्षा लिन्छौ? कर तिर्ने सिक्का मलाई देखाओ।” तिनीहरू उहाँकहाँ एक दिनारको सिक्का ल्याउँछन्। अनि उहाँ सोध्नुहुन्छ: “यसमा कसको चित्र र नाम छ?” तिनीहरू जवाफ दिन्छन्: “सिजरको।” त्यसपछि येसु यस्तो उत्कृष्ट निर्देशन दिनुहुन्छ: “जे-जे सिजरका हुन्, सिजरलाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”—मत्ति २२:१८-२१.
येसुको कुरा सुनेर मानिसहरू जिल्ल पर्छन्। उहाँले कौशलतापूर्वक जवाफ दिनुभएकोले तिनीहरू नाजवाफ हुन्छन् र त्यहाँबाट जान्छन्। तर दिन अझै सिद्धिएको छैन र येसुलाई फसाउने प्रयास पनि सिद्धिएको छैन। फरिसीहरूको प्रयास विफल भएपछि अर्को धार्मिक समूहका नाइकेहरू येसुकहाँ आउँछन्।
मरेकाहरू फेरि जीवित हुँदैनन् भन्ने सदुकीहरू विधवाले पतिको दाइ वा भाइसित विवाह गर्ने चलनको सन्दर्भमा प्रश्न गर्छन्। उनीहरू भन्छन्: “गुरुज्यू, ‘यदि कुनै मानिस निस्सन्तान मऱ्यो भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोसाले भनेका छन्। हामीकहाँ सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र निस्सन्तान मऱ्यो। त्यसैले भाइचाहिँले आफ्नी भाउजूसित विवाह गऱ्यो। यही क्रम माइलो, साइँलो हुँदै सातौँ भाइसम्म चल्यो। अन्तमा त्यो स्त्री पनि मरी। त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री ती सात जना दाजुभाइमध्ये कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।”—मत्ति २२:२४-२८.
सदुकीहरू मोसाका लेखोटहरू स्विकार्छन्। त्यसैले येसु मोसाका लेखोटहरूतर्फ उनीहरूको ध्यान खिच्दै यस्तो जवाफ दिनुहुन्छ: “तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्वरको शक्तिलाई नै बुझेका छौ। किनकि मृत्युबाट ब्युँतिएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन् तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्। मरेकाहरू ब्युँतने विषयमा के तिमीहरूले झाडीसम्बन्धी मोसाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले साँच्चै गलत बुझिरहेका छौ।” (मर्कुस १२:२४-२७; प्रस्थान ३:१-६) येसुको जवाफ सुनेर भीड छक्क पर्छ।
येसुले फरिसीहरू र सदुकीहरू दुवैलाई चुप गराउनुभएको छ। त्यसैले यी दुवै धार्मिक समूहका विरोधीहरू सँगै मिलेर उहाँको परीक्षा गर्न आउँछन्। एक जना शास्त्रीले यस्तो प्रश्न सोध्छ: “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?”—मत्ति २२:३६.
येसु यस्तो जवाफ दिनुहुन्छ: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ। त्यसैले तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।’ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ यीभन्दा ठूलो आज्ञा अर्को छैन।”—मर्कुस १२:२९-३१.
येसुको जवाफ सुनेर त्यो शास्त्री यसो भन्छ: “गुरुज्यू, तपाईँले सत्य कुरा भन्नुभयो, ‘उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही परमेश्वर छैन।’ उहाँलाई आफ्नो सारा हृदयले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै अग्निभेटी र बलिदानभन्दा धेरै उत्तम हो।” उसले बुद्धिमानीसाथ जवाफ दिएको सुनेर येसु उसलाई भन्नुहुन्छ: “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।”—मर्कुस १२:३२-३४.
येसु तीन दिनदेखि (नीसान ९, १० र ११) मन्दिरमा शिक्षा दिँदै हुनुहुन्छ। यो शास्त्री र अरू केही मानिसहरूले उहाँको शिक्षा मक्ख परेर सुन्छन् तर धर्मगुरुहरूले भने सुन्दैनन्। उनीहरूमा “उहाँसित अरू प्रश्न सोध्ने आँट” पनि छैन।
-
-
येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १०९
येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
मत्ति २२:४१–२३:२४ मर्कुस १२:३५-४० लुका २०:४१-४७
ख्रिष्ट कसको छोरा हुनुहुन्छ?
येसु आफ्ना विरोधीहरूको कपट पर्दाफास गर्नुहुन्छ
येसुका विरोधीहरू उहाँको अपमान गर्न वा उहाँलाई फसाएर रोमीहरूको हातमा सुम्पन असफल हुन्छन्। (लुका २०:२०) आज नीसान ११ हो र उहाँ मन्दिरमै हुनुहुन्छ। अब उहाँ आफ्नो साँचो चिनारी प्रकट गर्नुहुन्छ। आफै अग्रसर हुँदै उहाँ यस्तो सोध्नुहुन्छ: “ख्रिष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?” (मत्ति २२:४२) ख्रिष्ट अर्थात् मसीह दाउदको वंशबाट आउनेछन् भनेर सबैलाई थाह भएकै कुरा हो। अनि तिनीहरू पनि त्यही जवाफ दिन्छन्।—मत्ति ९:२७; १२:२३; युहन्ना ७:४२.
येसु सोध्नुहुन्छ: “त्यसोभए पवित्र शक्तिको प्रेरणा पाएर दाउदले किन उसलाई प्रभु भनेर सम्बोधन गर्दै यसो भने त, ‘यहोवाले मेरा प्रभुलाई भन्नुभयो: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ”’? यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन्छ?”—मत्ति २२:४३-४५.
फरिसीहरू केही जवाफ दिँदैनन् किनभने तिनीहरू रोमीहरूको दमनबाट छुटकारा दिने दाउदको मानव सन्तानको प्रतीक्षामा छन्। तर भजन ११०:१, २ मा भएका दाउदका शब्दहरूतर्फ ध्यान खिच्दै येसुले मसीह मानव सन्तान मात्र हुनेछैनन् भनेर प्रस्ट पार्नुहुन्छ। तिनी दाउदका प्रभु हुन् र परमेश्वरको दाहिने हाततिर बसेपछि तिनले शासन गर्न थाल्नेछन्। येसुको जवाफले गर्दा उहाँका विरोधीहरू नाजवाफ हुन्छन्।
चेलाहरू र अरू थुप्रैले उहाँको कुरा सुनिरहेका छन्। अब उहाँ चेलाहरूसित कुरा गर्दै शास्त्री र फरिसीहरूबारे चेतावनी दिनुहुन्छ। तिनीहरूले “आफैलाई मोसाको व्यवस्थाको शिक्षक बनाएका छन्।” येसु आफ्नो श्रोतालाई यस्तो निर्देशन दिनुहुन्छ: “तिनीहरूले तिमीहरूलाई जे-जे भन्छन्, ती सबै गर तर तिनीहरूले गरेजस्तै चाहिँ नगर किनभने तिनीहरू भन्न त भन्छन् तर गर्दैनन्।”—मत्ति २३:२, ३.
त्यसपछि येसु तिनीहरू कति कपटी छन् भन्ने उदाहरण दिँदै यसो भन्नुहुन्छ: “तिनीहरू आफ्ना जन्तर ठूलठूला बनाउँछन्।” केही यहुदीहरू व्यवस्थाका केही अंशहरू लेखेर राखिएको सानो बट्टा आफ्नो निधार वा देब्रे पाखुरामा बाँध्ने गर्छन्। फरिसीहरू आफूले व्यवस्थाको एक-एक कुरा पालन गरेको भान पार्न त्यो बट्टा ठूलो बनाउँछन्। साथै तिनीहरू “आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्।” व्यवस्थाअनुसार इस्राएलीहरूले आफ्नो लुगामा झुम्का बनाउनुपर्थ्यो तर फरिसीहरू भने आफ्नो लुगाको झुम्का अरूको भन्दा लामो बनाउँछन्। (गन्ती १५:३८-४०) “तिनीहरू जे-जति गर्छन्, ती सब मानिसहरूले देखून् भनेर गर्छन्।”—मत्ति २३:५.
येसुका चेलाहरूलाई समेत अरूभन्दा ठूलो बन्ने चाहनाले असर गर्न सक्थ्यो। त्यसैले उहाँ उनीहरूलाई यस्तो सल्लाह दिनुहुन्छ: “तिमीहरूलाई भने रब्बी नभनियोस् किनकि तिमीहरूको गुरु एकै जना हुनुहुन्छ र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ। साथै तिमीहरू पृथ्वीमा कसैलाई पिता नभन किनकि तिमीहरूका पिता एकै जना हुनुहुन्छ, जो स्वर्गमा बस्नुहुन्छ। न त कसैले तिमीहरूलाई नेता भनोस् किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रिष्ट हुनुहुन्छ।” त्यसोभए चेलाहरूले आफूलाई कस्तो सम्झेर व्यवहार गर्नुपर्थ्यो? येसु उनीहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ तिमीहरूको सेवक बनोस्। जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”—मत्ति २३:८-१२.
यसपछि येसु ती कपटी शास्त्री र फरिसीहरूलाई धिक्कार्नुहुन्छ। जस्तै, उहाँ यसो भन्नुहुन्छ: “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू मानिसहरू नपसून् भनेर स्वर्गको राज्यको ढोका बन्द गरिदिन्छौ। तिमीहरू न आफू पस्छौ न त पस्न खोज्नेहरूलाई नै भित्र छिर्न दिन्छौ।”—मत्ति २३:१३.
येसु फरिसीहरूको निन्दा गर्नुहुन्छ किनभने तिनीहरू आध्यात्मिक कुराहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले बनाएको मनलाग्दी नियमहरूबाट यो स्पष्ट हुन्छ। उदाहरणको लागि, तिनीहरू भन्छन्: “यदि कसैले मन्दिरको कसम खान्छ भने त्यो केही होइन तर कसैले मन्दिरको सुनको कसम खान्छ भने उसले त्यो पूरा गर्नै पर्छ।” यसरी तिनीहरू मन्दिर यहोवाको उपासनास्थल हो र यसले मानिसहरूलाई उहाँसित नजिक हुन मदत गर्छ भन्ने कुरालाई भन्दा मन्दिरको सुनलाई धेरै महत्त्व दिएर नैतिक रूपमा अन्धो भएको कुरा देखाउँछन्। तिनीहरू “न्याय, कृपा र वफादारी जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता” गर्छन्।—मत्ति २३:१६, २३; लुका ११:४२.
येसु फरिसीहरूलाई यसो भन्नुहुन्छ: “ए अन्धा अगुवाहरू हो! तिमीहरू भुसुना चाल्छौ तर उँटलाई चाहिँ निलिहाल्छौ!” (मत्ति २३:२४) व्यवस्थाअनुसार भुसुना अशुद्ध भएकोले तिनीहरू दाखमद्यबाट भुसुना चालेर निकाल्छन्। तर व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता गरेर एक अर्थमा तिनीहरू उँटलाई चाहिँ निल्छन्। उँट पनि व्यवस्थाअनुसार अशुद्ध जनावर हो, केवल यो भुसुनाभन्दा कैयौँ गुना ठूलो हुन्छ।—लेवी ११:४, २१-२४.
-
-
मन्दिरमा येसुको अन्तिम दिनयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११०
मन्दिरमा येसुको अन्तिम दिन
मत्ति २३:२५–२४:२ मर्कुस १२:४१–१३:२ लुका २१:१-६
येसु धर्मगुरुहरूको अझै निन्दा गर्नुहुन्छ
मन्दिर नाश हुनेछ
गरिब विधवा दुई वटा साना सिक्का खसाल्छे
मन्दिरमा अन्तिम पटक जानुहुँदा पनि येसुले शास्त्री र फरिसीहरूलाई सबैको अगाडि कपटी भनेर तिनीहरूको कपट पर्दाफास गर्नुहुन्छ। अलङ्कार चलाउँदै उहाँ यसो भन्नुहुन्छ: “तिमीहरू ती कचौरा र थालजस्ता छौ, जुन बाहिर मात्र माझिएको हुन्छ तर भित्र भने फोहोरै हुन्छ। तिमीहरूभित्र लोभ र भोगविलास भरिएको छ। ए अन्धो फरिसी, पहिला कचौरा र थालको भित्रपट्टि माझ, तब त्यसको बाहिरपट्टि पनि सफा हुनेछ।” (मत्ति २३:२५, २६) व्यवस्थाअनुसार शुद्ध पार्नुपर्ने कुराहरूको सन्दर्भमा र बाहिरी रूपको सन्दर्भमा फरिसीहरू एकदमै नाटीकुटी गर्छन् तर तिनीहरू भित्र कस्तो छु भन्ने कुरालाई चाहिँ बेवास्ता गर्छन् र लाक्षणिक हृदयलाई शुद्ध बनाउनदेखि चुक्छन्।
तिनीहरूको कपट अर्को कुरामा पनि देखिन्छ। तिनीहरू भविष्यवक्ताहरूको चिहान बनाएर त्यसलाई सिँगार्न अग्रसर हुन्छन्। तर वास्तवमा येसुले भन्नुभएझैँ तिनीहरू “भविष्यवक्ताहरूको हत्याराहरूका सन्तान” हुन्। (मत्ति २३:३१) तिनीहरूले येसुलाई मार्न प्रयास गरेर यो कुरा प्रमाणित गरेका छन्।—युहन्ना ५:१८; ७:१, २५.
ती धर्मगुरुहरूले पश्चात्ताप नगरेमा तिनीहरूले भोग्नुपर्ने नतिजाबारे येसु यसो भन्नुहुन्छ: “ए विषालु सर्पका बच्चाहरू हो, तिमीहरू गेहेन्नाको इन्साफबाट कसरी उम्कौला?” (मत्ति २३:३३) नजिकैको हिन्नोम बेँसीमा फोहोर जलाउने गरिन्छ र यो दुष्ट शास्त्री अनि फरिसीहरूले भोग्ने अनन्त विनाशको प्रतीक हो।
येसुका चेलाहरूले “भविष्यवक्ताहरू, बुद्धिमान् मानिसहरू र शिक्षकहरू”-को रूपमा उहाँको प्रतिनिधित्व गर्नेछन्। अनि तिनीहरूलाई कस्तो व्यवहार गरिनेछ? धर्मगुरुहरूलाई सम्बोधन गर्दै येसु यसो भन्नुहुन्छ: “[मेरा चेलाहरूमध्ये] केहीलाई तिमीहरूले मार्नेछौ, केहीलाई खम्बामा टाँग्नेछौ अनि केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र केहीलाई चाहिँ सहर-सहरमा खेदो गर्नेछौ; धर्मी मानिसहरूमध्ये पृथ्वीमा ज-जसको रगत बगाइयो, ती सबैको दोष तिमीहरूमाथि आइपरोस्—धर्मी मानिस हाबिलदेखि . . . जकरियाको रगतसम्म, जसको तिमीहरूले . . . हत्या गरेका थियौ।” उहाँ यस्तो चेतावनी दिनुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब यस पुस्तामाथि आइपर्नेछ।” (मत्ति २३:३४-३६) इस्वी संवत् ७० मा रोमी सेनाले यरुसलेम नाश गर्दा र हजारौँ यहुदीले ज्यान गुमाउँदा यो कुरा साँचो साबित हुन्छ।
यस्तो भयावह परिस्थितिबारे सोच्दा येसु व्याकुल हुनुहुन्छ। दुःखित हुँदै उहाँ यसो भन्नुहुन्छ: “यरुसलेम, हे यरुसलेम, तँ जसले भविष्यवक्ताहरूलाई मारिस् र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हानिस्! कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ मैले तेरा छोराछोरीलाई कत्ति पटक बटुल्न चाहेँ! तर तिमीहरूले मानेनौ। हेर! परमेश्वरले तिमीहरूको घरलाई त्याग्नुभएको छ।” (मत्ति २३:३७, ३८) उहाँका श्रोताहरूलाई उहाँ कुन “घर”-बारे कुरा गर्दै हुनुहुन्छ जस्तो लागेको हुन सक्छ। उहाँ परमेश्वरले सुरक्षा दिइरहनुभएको जस्तो देखिने यरुसलेममा अवस्थित भव्य मन्दिरलाई सङ्केत गर्दै हुनुहुन्छ कि?
येसु अझै भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, तिमीहरूले अबदेखि मलाई कुनै पनि हालतमा देख्नेछैनौ, जबसम्म तिमीहरू यसो भन्दैनौ: ‘यहोवाको नाममा आउने धन्यका हुन्!’” (मत्ति २३:३९) उहाँ भजन ११८:२६ का यी भविष्यसूचक शब्दहरू उद्धृत गर्दै हुनुहुन्छ: “यहोवाको नाममा आउने धन्यका हुन्; यहोवाको भवनबाट हामी तिमीहरूलाई आशिष् दिन्छौँ।” स्पष्ट छ, यो मन्दिर नाश भएपछि कोही पनि परमेश्वरको नाममा यहाँ आउनेछैन।
अब येसु मन्दिरमा सानो मुख भएको बिगुल आकारका दानपात्रहरू राखिएको ठाउँमा जानुहुन्छ। मानिसहरूले ती दानपात्रहरूमा अनुदान खसाल्न सक्छन् अनि येसु यहुदीहरूले त्यसै गरिरहेको देख्नुहुन्छ। धनीहरू “धेरै सिक्का खसाल्दै” छन्। त्यत्तिकैमा येसु एउटी गरिब विधवाले “असाध्यै थोरै मोलका दुई साना सिक्का” खसालेकी देख्नुहुन्छ। (मर्कुस १२:४१, ४२) यस विधवाको अनुदान देखेर परमेश्वर कत्ति खुसी हुनुहुन्छ भनेर येसुलाई राम्ररी थाह छ।
चेलाहरूलाई बोलाएर येसु यसो भन्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले दानपात्रहरूमा पैसा खसाल्ने अरू सबैले भन्दा धेरै खसाली।” किन? उहाँ अझै यसो भन्नुहुन्छ: “किनकि अरू सबैले आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।” (मर्कुस १२:४३, ४४) यस विधवाको सोचाइ र काम धर्मगुरुहरूको भन्दा कत्ति फरक!
नीसान ११ अझै सिद्धिएको छैन र येसु अन्तिम पटक मन्दिरबाट बाहिर निस्कनुहुन्छ। उहाँको एक जना चेला यसो भन्छन्: “गुरुज्यू, हेर्नुहोस् त! कति सुन्दर ढुङ्गा अनि कति शानदार भवनहरू!” (मर्कुस १३:१) हुन पनि मन्दिरका पर्खालहरू बनाउन प्रयोग गरिएका कुनै-कुनै ढुङ्गा असाध्यै ठूलो छ, जसले गर्दा यो मन्दिर बलियो र स्थायीजस्तो देखिन्छ। त्यसैले येसुले यसो भन्नु अचम्मलाग्दो छ: “तिमीले देखिरहेका यी भव्य भवनहरू एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत नरहनेगरि ढालिनेछन्।”—मर्कुस १३:२.
यी कुराहरू भनिसक्नुभएपछि येसु र उहाँका प्रेषितहरू किद्रोन बेँसी पार गरेर जैतुन डाँडा उक्लनुहुन्छ। डाँडाको एउटा भागमा पुग्दा चार जना प्रेषित—पत्रुस, अन्द्रियास, याकुब र युहन्ना येसुसँगै छन्। त्यहाँबाट उहाँहरूले यरुसलेमको भव्य मन्दिर देख्न सक्नुहुन्छ।
-
-
प्रेषितहरू चिन्ह माग्छन्येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १११
प्रेषितहरू चिन्ह माग्छन्
मत्ति २४:३-५१ मर्कुस १३:३-३७ लुका २१:७-३८
चार जना चेला चिन्ह माग्छन्
प्रथम शताब्दीमा र त्यसपछि भविष्यवाणीको पूर्ति
हामी सचेत रहनुपर्छ
अहिले मङ्गलबार दिउँसो हो र नीसान ११ सिद्धिनै लागेको छ। बितेको केही दिनदेखि येसु असाध्यै व्यस्त हुनुहुन्छ र पृथ्वीमा उहाँको सेवा सिद्धिनै लागेको छ। उहाँले दिनभरि मन्दिरमा सिकाउँदै आउनुभएको छ र रातीचाहिँ सहरबाहिर बास बस्न जानुहुन्छ। मानिसहरूलाई धेरै चासो भएकोले तिनीहरू “उहाँको कुरा सुन्न . . . बिहान सबेरै मन्दिरमा” आउँछन्। (लुका २१:३७, ३८) तर अहिलेचाहिँ येसु आफ्ना चार प्रेषित—पत्रुस, अन्द्रियास, याकुब र युहन्नासँग जैतुन डाँडामा हुनुहुन्छ।
यी चार जना उहाँकहाँ सुटुक्क आएका छन्। उनीहरूलाई मन्दिरको चिन्ता लागेको छ किनभने येसुले भर्खरै एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत रहनेछैन भनेर मन्दिरबारे भविष्यवाणी गर्नुभएको छ। तर उनीहरूको मनमा अरू कुरा पनि खेलिरहेको छ। येसुले उनीहरूलाई यसो भन्नुभएको थियो: “तिमीहरू पनि तयार रहो किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउनेछ।” (लुका १२:४०) उहाँले “मानिसको छोरा प्रकट हुने दिन”-बारे पनि बताउनुभएको थियो। (लुका १७:३०) के यी कुराहरू उहाँले मन्दिरबारे भर्खरै भन्नुभएको कुरासित सम्बन्धित छन्? प्रेषितहरू जान्न असाध्यै उत्सुक छन्। उनीहरू भन्छन्: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?”—मत्ति २४:३.
आफूले नजिकैबाट देखिरहेको मन्दिरको अन्तबारे उनीहरूले सोचिरहेका हुन सक्छन्। साथै उनीहरूले मानिसको छोराको उपस्थितिबारे पनि प्रश्न गर्छन्। ‘राज्याधिकार हासिल गरेर फर्कन परदेश गएका’ “कुलीन घरानाको एक जना मानिस”-बारे येसुले बताउनुभएको उदाहरण उनीहरूको मनमा ताजै हुन सक्छ। (लुका १९:११, १२) उनीहरू “यस युगको आखिरी समय”-मा के-के हुनेछ भनेर जान्न पनि उत्सुक छन्।
जवाफमा येसु यरुसलेम र यसको मन्दिर कहिले नाश हुनेछ भनेर थाह पाउने चिन्हबारे बताउनुहुन्छ। तर उहाँ थप कुरा पनि बताउनुहुन्छ। भविष्यमा यो चिन्हले ख्रिष्टियनहरूलाई येसुको “उपस्थिति” र यस युगको आखिरी समयको कुन घडीमा बाँचिरहेका छौँ भनेर थाह पाउन मदत गर्नेछ।
वर्षहरू बित्दै जाँदा प्रेषितहरूले येसुले गर्नुभएको भविष्यवाणी पूरा भइरहेको याद गर्छन्। हो, उहाँले भन्नुभएको थुप्रै कुरा उनीहरूकै जीवनकालमा पूरा हुन थाल्छ। त्यसैले येसुले भविष्यवाणी गर्नुभएको ३७ वर्षपछि अर्थात् इस्वी संवत् ७० मा बाँचिरहेका सचेत ख्रिष्टियनहरू यरुसलेम र यसको मन्दिरको विनाशको लागि तयार थिए। तर येसुले भन्नुभएको सबै कुरा इस्वी संवत् ७० र त्यसअघिका वर्षहरूमा पूरा हुँदैन। त्यसोभए उहाँ राज्यशक्तिमा उपस्थित हुनुभएको कुरा केले सङ्केत गर्नेछ? येसु प्रेषितहरूलाई यस प्रश्नको जवाफ दिनुहुन्छ।
“युद्धको कोलाहल अनि युद्धको खबर” सुनिनेछ र “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ” भनेर येसु भविष्यवाणी गर्नुहुन्छ। (मत्ति २४:६, ७) “ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ” भनेर पनि उहाँ बताउनुहुन्छ। (लुका २१:११) येसु आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुहुन्छ: “मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, खेदो गर्नेछन्।” (लुका २१:१२) झूटा भविष्यवक्ताहरू देखा पर्नेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढ्नेछ र धेरैको प्रेम सेलाएर जानेछ। उहाँ यसो पनि भन्नुहुन्छ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.
येसुको भविष्यवाणी रोमीहरूले यरुसलेम विनाश गर्नुअघि र त्यस दौडान केही हदसम्म पूरा भयो। तर के उहाँ भविष्यमा हुने अझ व्यापक पूर्तिलाई सङ्केत गर्दै हुनुहुन्छ? के तपाईँ येसुले गर्नुभएको महत्त्वपूर्ण भविष्यवाणीको अझ व्यापक पूर्ति वर्तमान समयमा भइरहेको छ भन्ने कुराको प्रमाण देख्दै हुनुहुन्छ?
येसुले आफ्नो उपस्थितिको चिन्हस्वरूप बताउनुभएको एउटा कुरा हो, “उजाड पार्ने घृणित कुरा” देखा पर्नु। (मत्ति २४:१५) इस्वी संवत् ६६ मा मूर्तिपूजाका ध्वजा वा झन्डा बोकेर आएका रोमी सैनिकहरूले यरुसलेमलाई ‘घेर्दा’ यो घृणित कुरा देखा पर्छ। रोमीहरूले यरुसलेमलाई घेरेर पर्खालका केही भाग भत्काउँछन्। (लुका २१:२०) यसरी “घृणित कुरा” त्यो खडा हुन नहुने ठाउँमा अर्थात् यहुदीहरूको नजरमा “पवित्र ठाउँ”-मा खडा हुन्छ।
येसु थप यस्तो भविष्यवाणी गर्नुहुन्छ: “त्यतिखेर यस्तो महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।” इस्वी संवत् ७० मा रोमीहरूले यरुसलेम नाश गर्छन्। यसरी रोमीहरूले मन्दिरलगायत यहुदीहरूको “पवित्र सहर”-लाई ध्वस्त पार्दा हजारौँ यहुदीले ज्यान गुमाउँछन् र यो महासङ्कष्ट नै साबित हुन्छ। (मत्ति ४:५; २४:२१) यरुसलेम सहर र यहुदीहरूले यस्तो विनाश पहिला कहिल्यै भोगेका छैनन् र यस विनाशसँगै यहुदीहरूले सयौँ वर्षदेखि व्यवस्थित रूपमा गर्दै आएको उपासना प्रणालीको पनि अन्त हुन्छ। यसबाट पछि येसुका यी भविष्यसूचक शब्दहरू अझ व्यापक रूपमा पूरा हुँदा अवस्था कत्ति भयावह हुनेछ भनेर अनुमान लगाउन सकिन्छ।
यस युगको आखिरी समयको दौडान विश्वस्त
राज्यशक्तिमा उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे येसुले प्रेषितहरूसित गरिरहनुभएको छलफल अझै टुङ्गिएको छैन। अब उहाँ उनीहरूलाई “झूटा ख्रिष्टहरू अनि झूटा भविष्यवक्ताहरू”-को पछि नलाग्न चेतावनी दिनुहुन्छ। “सम्भव भएसम्म चुनिएका जनहरूलाई समेत बहकाउन” प्रयास गरिनेछ भनेर उहाँ बताउनुहुन्छ। (मत्ति २४:२४) तर यी चुनिएका जनहरू बहकाउमा पर्नेछैनन्। झूटा ख्रिष्टहरू दृश्य रूपमा मात्र आउन सक्छन्। तर ख्रिष्टको उपस्थिति भने अदृश्य हुनेछ।
यस युगको आखिरी समयमा अझ व्यापक रूपमा हुने महासङ्कष्टलाई सङ्केत गर्दै येसु यसो भन्नुहुन्छ: “सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, आकाशबाट ताराहरू खस्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।” (मत्ति २४:२९) आङै सिरिङ्ङ हुने यस्तो भयानक कुरा सुनिरहेका प्रेषितहरूलाई त्यतिबेला के-कस्तो घटना हुनेछ भनेर ठ्याक्कै त थाह छैन तर त्यो पक्कै डरलाग्दो हुनेछ।
स्तब्ध पार्ने यी घटनाहरूले मानिसहरूमा कस्तो असर पार्नेछ? येसु भन्नुहुन्छ: “पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन् किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।” (लुका २१:२६) साँच्चै येसुले वर्णन गरिरहनुभएको समय मानव इतिहासको सबैभन्दा अन्धकारमय कालखण्ड हुनेछ।
तर खुसीको कुरा, ‘मानिसको छोरा शक्ति र ठूलो महिमासहित’ आउँदा सबैले विलाप गर्नेछैनन् भनेर येसु प्रेषितहरूलाई बताउनुहुन्छ। (मत्ति २४:३०) “चुनिएकाहरूका लागि” परमेश्वरले हस्तक्षेप गर्नुहुनेछ भनेर उहाँले सङ्केत गरिसक्नुभएको छ। (मत्ति २४:२२) त्यसोभए येसुले बताइरहनुभएको स्तब्ध पार्ने घटनाहरू घट्दा त्यस्ता वफादार चेलाहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? येसु आफ्ना अनुयायीहरूलाई यस्तो प्रोत्साहन दिनुहुन्छ: “यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ किनकि तिमीहरूको छुटकारा नजिक आउँदै छ।”—लुका २१:२८.
तर भविष्यवाणी गरिएको यस समयावधिमा बाँचिरहेका येसुका चेलाहरूले अन्त नजिकै छ भनेर कसरी पक्का गर्न सक्छन्? येसु अन्जिरको रूखको एउटा उदाहरण बताउनुहुन्छ: “कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। त्यसैगरि जब तिमीहरू यी सबै कुरा देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान। म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।”—मत्ति २४:३२-३४.
त्यसैले चेलाहरूले चिन्हको विभिन्न पक्ष पूरा भइरहेको देख्दा अन्त नजिकै छ भनेर बुझ्नुपर्छ। यस निर्णायक समयमा जीवितै रहने चेलाहरूलाई उहाँ यस्तो सल्लाह दिनुहुन्छ:
“त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्नुहुन्छ। नुहको दिन जस्तो थियो, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ। किनकि जलप्रलयअघि नुह जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए र विवाहवारी गर्दै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्; मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।” (मत्ति २४:३६-३९) येसु आफ्ना श्रोतालाई पूरै संसारलाई असर गरेको नुहको समयको जलप्रलयबारे सम्झाउँदै हुनुहुन्छ।
जैतुन डाँडामा येसुको कुरा सुनिरहेका प्रेषितहरूले सचेत रहनु कत्तिको महत्त्वपूर्ण छ भनेर पक्कै बुझेको हुनुपर्छ। येसु यसो भन्नुहुन्छ: “तिमीहरू आफ्नो विषयमा होसियार बस ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको हृदयलाई दबाउन नपाओस्, नत्र त त्यो दिन तिमीहरूमाथि अचानक पासोझैँ आइपर्नेछ। किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै जागा रहो।”—लुका २१:३४-३६.
येसु उहाँले गरिरहनुभएको भविष्यवाणीको व्यापक पूर्ति हुनेछ भनेर फेरि एकचोटि जोड दिँदै हुनुहुन्छ। उहाँले ३०-४० वर्षभित्र घट्ने र यरुसलेम सहर वा यहुदी राष्ट्रलाई मात्र असर गर्ने घटनाहरूबारे भविष्यवाणी गरिरहनुभएको छैन। उहाँ ‘पृथ्वीमा बास गर्ने सबैमाथि आइपर्ने’ घटनाहरूलाई औँल्याउँदै हुनुहुन्छ।
येसु आफ्ना चेलाहरूलाई उनीहरू सचेत, जागा र तयार रहनुपर्छ भनेर बताउनुहुन्छ। यस चेतावनीलाई जोड दिन उहाँ अर्को एउटा उदाहरण बताउनुहुन्छ: “एउटा कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन प्रहरमा आउँदै छ भनेर थाह भएको भए ऊ जागै बस्ने थियो र त्यसलाई आफ्नो घर फोर्न दिने थिएन। यो कुरा विचार गर्दै तिमीहरू पनि तयार रहो किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउनेछ।”—मत्ति २४:४३, ४४.
येसु आफ्ना चेलाहरूलाई आशावादी हुन सकिने कारण पनि दिनुहुन्छ। उहाँको भविष्यवाणी पूरा भइरहेको बेला एक जना सचेत र सक्रिय “दास” हुनेछ भनेर उहाँ आश्वासन दिनुहुन्छ। प्रेषितहरूले सजिलै कल्पना गर्न सक्ने अवस्थातर्फ उहाँ यसरी उनीहरूको ध्यान खिच्नुहुन्छ: “वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस् भनेर नियुक्त गरेका हुन्छन्? आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्! म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्त गर्नेछन्।” तर “दास” दुष्ट भएमा र अरूलाई नराम्रो व्यवहार गर्न थालेमा मालिकले “उसलाई असाध्यै कठोर दण्ड” दिनेछन्।—मत्ति २४:४५-५१; तुलना गर्नुहोस् लुका १२:४५, ४६.
तर येसुले उहाँका अनुयायीहरूको एउटा समूहले दुष्ट व्यवहार गर्न थाल्नेछ भन्न खोज्नुभएको होइन। त्यसोभए येसु आफ्ना चेलाहरूलाई कस्तो पाठ सिकाउन खोज्दै हुनुहुन्छ? उहाँ उनीहरू सचेत र सक्रिय भएको चाहनुहुन्छ र यो कुरा प्रस्ट पार्न उहाँ अर्को एउटा उदाहरण बताउनुहुन्छ।
-
-
दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११२
दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ
येसु दस कन्याको उदाहरण बताउनुहुन्छ
येसु उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे चेलाहरूको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ। यही कुरालाई मनमा राख्दै अब उहाँ उनीहरूलाई अर्को एउटा उदाहरणमार्फत बुद्धिमानी सल्लाह दिनुहुन्छ। ख्रिष्टको उपस्थितिको दौडान बाँचिरहेका मानिसहरूले यस उदाहरणमा बताइएका कुराहरू पूरा भएको देख्नेछन्।
उहाँ यो उदाहरण यसरी सुरु गर्नुहुन्छ: “स्वर्गको राज्यलाई दस कन्यासित तुलना गर्न सकिन्छ, जो आ-आफ्नो दियो लिएर दुलहालाई भेट्न निस्के। तिनीहरूमध्ये पाँच जना निर्बुद्धि अनि पाँच जना बुद्धिमती थिए।”—मत्ति २५:१, २.
येसुले स्वर्गको राज्यमा उहाँसँगै शासन गर्ने चेलाहरूमध्ये आधा मूर्ख छन् र आधाचाहिँ बुद्धिमान् छन् भन्न खोज्नुभएको होइन। बरु उहाँ यो कुरा बुझाउन खोज्दै हुनुहुन्छ: परमेश्वरको राज्यको सन्दर्भमा चनाखो रहने वा अलमलिएर बस्ने, प्रत्येक चेलाले छनौट गर्न सक्छन्। तर आफ्ना प्रत्येक चेला वफादार रहिरहन सक्नेछन् र उनीहरूले उहाँको बुबाबाट आशिष् पाउनेछन् भन्ने कुरामा येसुलाई कुनै शङ्का छैन।
यस उदाहरणमा दसै जना कन्या दुलहालाई स्वागत गर्न र जन्तीमा सामेल हुन बाहिर निस्कन्छन्। दुलहा आइपुग्दा ती कन्याहरूले दियो बालेर तिनी हिँड्ने बाटो उज्यालो पार्नेछन्। यसरी दुलहीलाई उनको निम्ति तयार पारिएको घरमा ल्याइँदा ती कन्याहरूले दुलहाको सम्मान गर्नेछन्। तर उदाहरणमा यसपछि के हुन्छ?
येसु भन्नुहुन्छ: “निर्बुद्धिहरूले आ-आफ्नो दियो लगे तर तेल भने लगेनन्। तर बुद्धिमतीहरूले चाहिँ दियोसँगसँगै आ-आफ्नो भाँडोमा तेल पनि लगे। दुलहाले आउन ढिलो गर्दा तिनीहरू सबै निद्राले झुल्न थाले र भुसुक्कै निदाए।” (मत्ति २५:३-५) दुलहा आस गरिएको समयमा आइपुग्दैनन्। दुलहा आउन धेरै ढिला भयो जस्तो देखिन्छ र त्यस दौडान ती कन्याहरू भुसुक्कै निदाउँछन्। ती प्रेषितहरूले ‘अन्तमा राज्याधिकार हासिल गरेर फर्केका’ कुलीन घरानाको मानिसबारे येसुले बताउनुभएको उदाहरण सम्झेका हुन सक्छन्।—लुका १९:११-१५.
दस कन्याको उदाहरणमा आखिरमा दुलहा आइपुग्दा के हुन्छ भन्नेबारे पनि येसु बताउनुहुन्छ: “मध्यरातमा यस्तो स्वर सुनियो: ‘दुलहा आइपुग्नै लागे! तिनलाई भेट्न बाहिर निस्क।’” (मत्ति २५:६) के ती कन्याहरू चनाखो र तयार अवस्थामा छन्?
येसु अझै भन्नुहुन्छ: “तब ती सबै कन्या उठे र आ-आफ्नो दियो ठीक पारे। निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने: ‘हामीलाई तिमीहरूको तेल अलिकता देओ न! हाम्रो दियो निभ्नै लाग्यो।’ बुद्धिमतीहरूले यस्तो जवाफ दिए: ‘तिमीहरूलाई दियौँ भने हामी आफैलाई नपुग्ला। बरु तिमीहरू आफै पसलेकहाँ गएर आफ्नो लागि तेल किन।’”—मत्ति २५:७-९.
पाँच जना निर्बुद्धि कन्या चनाखो छैनन् र दुलहा आउने समयको लागि तयार अवस्थामा पनि छैनन्। तिनीहरूसित दियोको लागि पर्याप्त तेल छैन; तिनीहरूलाई तेलको खाँचो परेको छ। येसु भन्नुहुन्छ: “तिनीहरू पसल जाँदै गर्दा दुलहा आइपुगे र तयार भएर बसेका कन्याहरू विवाह-भोजमा सहभागी हुन तिनीसँगै भित्र पसे अनि ढोका बन्द गरियो। पछि बाँकी पाँच कन्या पनि आइपुगे र यसो भन्न थाले: ‘दुलहाराजा, दुलहाराजा, हामीलाई ढोका खोलिदिनुहोस् न!’ तर तिनले यस्तो जवाफ दिए: ‘म तिमीहरूलाई साँच्चै भन्छु, मैले तिमीहरूलाई चिनेकै छैनँ।’” (मत्ति २५:१०-१२) तयार र चनाखो नरहँदा यी कन्याहरूले कत्ति दुःखदायी नतिजा भोग्नुपऱ्यो!
उदाहरणको दुलहाले येसुलाई चित्रण गर्छ भनेर ती प्रेषितहरूले बुझेका छन्। पहिला पनि येसुले आफूलाई दुलहासित तुलना गर्नुभएको थियो। (लुका ५:३४, ३५) बुद्धिमती कन्याहरूले चाहिँ कसलाई चित्रण गर्छ? परमेश्वरको राज्य दिइने “सानो बगाल”-बारे बताउनुहुँदा येसुले यसो भन्नुभएको थियो: “तिमीहरू कम्मर कसेर बस अनि तिमीहरूको दियो बलिरहोस्।” (लुका १२:३२, ३५) त्यसैले दस कन्याको उदाहरणमा येसुले उनीहरू र सानो बगालको भाग हुने अरू चेलाहरूबारे कुरा गर्दै हुनुहुन्छ भन्ने कुरा ती प्रेषितहरूले बुझेका हुन सक्छन्। त्यसोभए येसु यस उदाहरणमार्फत कस्तो सन्देश दिँदै हुनुहुन्छ?
येसु यो कुरा पनि प्रस्ट पार्नुहुन्छ। उदाहरणको अन्तमा उहाँ यसो भन्नुहुन्छ: “त्यसकारण जागा रहो किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ति २५:१३.
स्पष्ट छ, येसु आफ्ना वफादार अनुयायीहरूलाई उहाँको उपस्थितिको बेला ‘जागा रहन’ सल्लाह दिँदै हुनुहुन्छ। उहाँ पक्कै आउनुहुनेछ र उनीहरू ती पाँच जना बुद्धिमती कन्याजस्तै चनाखो र तयार रहनुपर्छ। यसो गरेमा उनीहरूले आफूले पाएको अनमोल आशालाई सधैँ आफ्नो आँखाअगाडि राख्न सक्नेछन् र आफूले पाउने इनामलाई पक्रिराख्न सक्नेछन्।
-
-
टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११३
टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठ
येसु टालेन्टको उदाहरण बताउनुहुन्छ
जैतुन डाँडामा चार जना प्रेषितसँगै हुनुभएको बेला येसु उनीहरूलाई अर्को एउटा उदाहरण बताउनुहुन्छ। केही दिनअघि यरिहोमा छँदा उहाँले परमेश्वरको राज्य आउन अझ धेरै समय बाँकी छ भन्ने कुरा बुझाउन मीनाको उदाहरण बताउनुभएको थियो। अहिले उहाँले बताउन लाग्नुभएको उदाहरण त्यही उदाहरणसित मिल्दोजुल्दो छ। उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे चेलाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममै येसु यो उदाहरण पनि बताउनुहुन्छ। यस उदाहरणले उहाँका चेलाहरू आफूलाई सुम्पिइएको काम पूरा गर्न लगनशील हुनुपर्छ भनेर जोड दिन्छ।
येसु यो उदाहरण यसरी सुरु गर्नुहुन्छ: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले परदेश जानुअघि आफ्ना दासहरूलाई बोलायो र आफ्नो सम्पत्ति जिम्मा लगायो।” (मत्ति २५:१४) येसुले पहिला पनि आफूलाई ‘राज्याधिकार हासिल गर्न’ परदेश जाने एक जना मानिससित तुलना गर्नुभएको थियो। त्यसैले अहिले येसुले बताउनुभएको “मानिस”-ले पनि उहाँलाई नै चित्रण गर्छ भन्ने कुरा चेलाहरूले सजिलै बुझेको हुनुपर्छ।—लुका १९:१२.
यस उदाहरणको मानिस परदेश जानुअघि उसले आफ्ना दासहरूलाई आफ्नो बहुमूल्य सम्पत्ति जिम्मा लगाउँछ। आफ्नो साढे तीन वर्ष लामो सेवाको दौडान येसु परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा नै केन्द्रित हुनुभयो र चेलाहरूलाई पनि यो कामको लागि तालिम दिनुभयो। अब उहाँ टाढा जाँदै हुनुहुन्छ र चेलाहरूले आफूले पाएको तालिमअनुसारै काम गरिरहनेछन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ।—मत्ति १०:७; लुका १०:१, ८, ९; तुलना गर्नुहोस् युहन्ना ४:३८; १४:१२.
यस उदाहरणको मानिसले आफ्नो सम्पत्ति कसरी बाँडफाँड गर्छ? येसु भन्नुहुन्छ: “उसले आफ्ना दासहरूको क्षमताअनुसार पहिलोलाई पाँच टालेन्ट, दोस्रोलाई दुई टालेन्ट अनि तेस्रोलाई एक टालेन्ट चाँदीका सिक्काहरू दियो र परदेशतिर लाग्यो।” (मत्ति २५:१५) आफूलाई सुम्पिइएको सम्पत्ति ती दासहरूले कसरी प्रयोग गर्नेछन्? के तिनीहरू त्यो सम्पत्ति मालिकलाई फाइदा हुनेगरि प्रयोग गर्ने सन्दर्भमा लगनशील हुनेछन्? येसु आफ्ना प्रेषितहरूलाई भन्नुहुन्छ:
“पाँच टालेन्ट पाउने दास तुरुन्तै गयो र त्यसबाट व्यापार गरेर थप पाँच टालेन्ट कमायो। त्यसैगरि दुई टालेन्ट पाउनेले थप दुई टालेन्ट कमायो। तर एक टालेन्ट मात्र पाउने चाहिँ आफ्नो बाटो लाग्यो र जमिन खनेर आफ्ना मालिकको धन लुकाइराख्यो।” (मत्ति २५:१६-१८) मालिक फर्केपछि के हुनेछ?
येसु अझै भन्नुहुन्छ: “धेरै समयपछि ती दासहरूको मालिक फर्क्यो र तिनीहरूसित हिसाबकिताब माग्यो।” (मत्ति २५:१९) पहिलो दुई जना दासले आफ्नो “क्षमताअनुसार” सकेजति गरे। आफूलाई सुम्पिइएको सम्पत्ति प्रयोग गर्ने सन्दर्भमा दुवै जना लगनशील, मेहनती र फलदायी साबित भए। पाँच टालेन्ट पाउने दासले थप पाँच टालेन्ट कमायो अनि दुई टालेन्ट पाउनेले पनि थप दुई टालेन्ट कमायो। (त्यतिबेला एक जना कामदारले लगभग १९ वर्ष काम गरेपछि मात्र एक टालेन्ट कमाउन सक्थ्यो।) मालिकले ती दुवै दासलाई यसरी प्रशंसा गर्छन्: “स्याबास, असल र विश्वासी दास! तिमी थोरै कुरामा विश्वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्त गर्नेछु। तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।”—मत्ति २५:२१.
एक टालेन्ट पाएको दासको कुरा भने बेग्लै छ। ऊ यसो भन्छ: “मालिक, तपाईँ आफूले नछरेको ठाउँमा कटनी गर्ने र आफूले ननिफनेको अन्न बटुल्ने कठोर मानिस हुनुहुन्छ भनेर मलाई थाह थियो। त्यसैले मलाई डर लाग्यो र गएर तपाईँको एक टालेन्ट जमिनमुनि लुकाएँ। तपाईँको एक टालेन्ट तपाईँ नै लिनुहोस्।” (मत्ति २५:२४, २५) उसले त्यो पैसा साहूकहाँ लगेर पनि राखेन। त्यसो गरेको भए उसले आफ्नो मालिकलाई केही ब्याजसहित पैसा फिर्ता गर्न सक्थ्यो। भन्ने हो भने, उसले आफ्नो मालिकलाई फाइदा हुने केही काम गरेन।
त्यसैले मालिकले उसलाई “दुष्ट र अल्छे नोकर” भन्छ। ऊसँग भएको पनि ऊबाट खोसेर लगिन्छ र लगनशील भएर काम गर्न चाहने दासलाई दिइन्छ। त्यो मालिक यसो भन्छ: “हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।”—मत्ति २५:२६, २९.
यो एउटा उदाहरणलाई मात्र हेर्ने हो भने पनि येसुका चेलाहरूले विचार गर्नुपर्ने कुरा धेरै छ भनेर थाह पाउन सक्छौँ। यस उदाहरणबाट येसुले सुम्पनुभएको कुरा अर्थात् चेला बनाउने सुअवसर कत्ति अनमोल छ भनेर उनीहरूले बुझ्न सक्छन्। अनि चेलाहरू यो काममा लगनशील भई लागेको येसु चाहनुहुन्छ। तर आफूले चेलाहरूलाई सुम्पेको प्रचारकार्यको सन्दर्भमा सबैले उत्तिकै गर्नुपर्छ भन्ने उहाँ सोच्नुहुन्न। उदाहरणले देखाएझैँ प्रत्येकले आफ्नो “क्षमताअनुसार” सकेजति गर्नुपर्छ। तर यसको अर्थ आफ्नो कुनै चेला “अल्छे” भए पनि र मालिकको सम्पत्ति बढाउने सन्दर्भमा सकेजति गर्न चुके पनि येसु खुसी हुनुहुन्छ भन्ने होइन।
तर येसुका यी सान्त्वनादायी शब्दहरू सुन्दा चेलाहरू कत्ति खुसी भए होलान्: “हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ”!
-
-
राज्यशक्तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११४
राज्यशक्तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ
येसु भेडा र बाख्राको उदाहरण बताउनुहुन्छ
जैतुन डाँडामा येसुले भर्खरै मात्र दस कन्या र टालेन्टको उदाहरण बताउनुभएको छ। उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे प्रेषितहरूले सोधेको प्रश्नको जवाफ येसु कसरी टुङ्ग्याउनुहुन्छ? उहाँ अन्तमा अर्को एउटा उदाहरण बताउनुहुन्छ: भेडा र बाख्राको उदाहरण।
येसु यो उदाहरण बताउनुअघि यसो भन्नुहुन्छ: “जब मानिसको छोरा आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ, तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ।” (मत्ति २५:३१) यसरी येसु यस उदाहरणको मुख्य पात्र आफू भएको कुरा प्रस्ट पार्नुहुन्छ। उहाँ अक्सर आफूलाई “मानिसको छोरा” भन्ने गर्नुहुन्थ्यो।—मत्ति ८:२०; ९:६; २०:१८, २८.
येसुले यस उदाहरणमा बताउनुभएको कुरा कहिले पूरा हुनेछ? उहाँ ‘गौरवसहित सबै स्वर्गदूत लिएर आउनुहुँदा’ र ‘आफ्नो गौरवशाली सिंहासनमा बस्नुहुँदा’ पूरा हुनेछ। स्वर्गदूतहरूसँगै ‘मानिसको छोरा ठूलो शक्ति र महिमासहित बादलहरूमा आउनेबारे’ उहाँले यसअघि नै बताइसक्नुभएको छ। त्यो कहिले हुनेछ? “सङ्कष्टको तुरुन्तैपछि।” (मत्ति २४:२९-३१; मर्कुस १३:२६, २७; लुका २१:२७) त्यसैले यस उदाहरणमा बताइएको कुरा येसु भविष्यमा गौरवसहित आउनुहुँदा पूरा हुनेछ। त्यतिबेला उहाँले के गर्नुहुनेछ?
येसु अझै यसो भन्नुहुन्छ: “जब मानिसको छोरा . . . आउँछ, तब . . . उसको अगाडि सबै जाति भेला गराइनेछन् र गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उसले मानिसहरूलाई छुट्ट्याउनेछ। अनि उसले भेडाहरूलाई आफ्नो दाहिने हाततिर र बाख्राहरूलाई देब्रे हाततिर राख्नेछ।”—मत्ति २५:३१-३३.
भेडाहरूलाई के हुनेछ? येसु भन्नुहुन्छ: “त्यसपछि राजाले आफ्नो दाहिने हाततिर हुनेहरूलाई भन्नेछ: ‘आओ, मेरो बुबाको आशिष् पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर।’” (मत्ति २५:३४) भेडाहरूले किन राजाको अनुमोदन पाउँछन्?
राजा यसो भन्छ: “म भोकाएको थिएँ, तिमीहरूले मलाई केही खान दियौ; म तिर्खाएको थिएँ, तिमीहरूले मलाई केही पिउन दियौ। म पराई थिएँ, तिमीहरूले मेरो सत्कार गऱ्यौ; म नाङ्गो थिएँ, तिमीहरूले मलाई लुगा लगाइदियौ। म बिरामी थिएँ, तिमीहरूले मेरो स्याहार गऱ्यौ। म झ्यालखानामा थिएँ, तिमीहरू मलाई भेट्न आयौ।” यी भेडाहरू अर्थात् “धर्मीहरू”-ले हामीले यस्ता असल कामहरू कहिले गऱ्यौँ भनेर सोध्दा उसले यसो भन्छ: “तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ।” (मत्ति २५:३५, ३६, ४०, ४६) तिनीहरूले यस्ता असल कामहरू स्वर्गमा गरेनन् किनकि स्वर्गमा रोगी वा भोका मानिसहरू छैनन्। बरु यी कामहरू पृथ्वीमा ख्रिष्टका भाइहरूको लागि गरिएको हुनुपर्छ।
राजाको देब्रे हाततिर राखिएका बाख्राहरूलाई चाहिँ के हुनेछ? येसु भन्नुहुन्छ: “त्यसपछि [राजाले] आफ्नो देब्रे हाततिर हुनेहरूलाई भन्नेछ: ‘हे श्रापितहरू हो! मबाट पर हटिहाल र सधैँ बलिरहने आगोमा जाओ, जुन दियाबल र त्यसका दूतहरूका लागि तयार पारिएको छ। किनकि म भोकाएको थिएँ तर तिमीहरूले मलाई केही खान दिएनौ; म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई केही पिउन दिएनौ। म पराई थिएँ तर तिमीहरूले मेरो सत्कार गरेनौ; नाङ्गो थिएँ तर तिमीहरूले मलाई लुगा लगाइदिएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो स्याहार गरेनौ।’” (मत्ति २५:४१-४३) यो न्यायदण्ड उचित छ किनकि बाख्राको रूपमा छुट्ट्याइएकाहरू पृथ्वीमा ख्रिष्टका भाइहरूलाई दयालु व्यवहार गर्नदेखि चुके।
भविष्यमा गरिने यो न्याय स्थायी हुनेछ भनेर प्रेषितहरू बुझ्छन्। येसु उनीहरूलाई भन्नुहुन्छ: “[राजाले] तिनीहरूलाई [भन्नेछ]: ‘म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’ अनि यिनीहरू सधैँका लागि नाश हुनेछन् तर धर्मीहरूले भने अनन्त जीवन पाउनेछन्।”—मत्ति २५:४५, ४६.
प्रेषितहरूले सोधेको प्रश्नको जवाफमा येसुले जे-जति भन्नुभयो, त्यसमा उहाँका अनुयायीहरूले विचार गर्नुपर्ने कुरा धेरै छन्। यसो गर्दा उनीहरूले आफ्नो मनोवृत्ति र काम केलाउने मदत पाउँछन्।
-