-
अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११६
अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ
मत्ति २६:२० मर्कुस १४:१७ लुका २२:१४-१८ युहन्ना १३:१-१७
येसु प्रेषितहरूसँगै अन्तिम निस्तार चाडको भोज खानुहुन्छ
प्रेषितहरूको खुट्टा धोइदिएर उहाँ एउटा पाठ सिकाउनुहुन्छ
येसुको निर्देशनबमोजिमै पत्रुस र युहन्ना निस्तार चाडको तयारी गर्न यरुसलेम आइसकेका छन्। पछि येसु र बाँकी दस जना प्रेषित पनि यरुसलेमतर्फ लाग्नुहुन्छ। अहिले मध्यान्ह भएको छ। येसु र उहाँका चेलाहरू जैतुन डाँडाबाट ओर्लँदै गर्नुहुँदा घाम बिस्तारै पश्चिमतिर ढल्कँदै छ। येसु फेरि जीवित नभएसम्म उहाँले दिउँसोको समयमा यहाँबाट सहर हेर्नुभएको यो नै अन्तिम पटक हो।
येसु र उहाँका चेलाहरू केही समयपछि यरुसलेम पुग्नुहुन्छ र उहाँहरू निस्तार चाड मनाइने घरतर्फ जानुहुन्छ। उहाँहरू भऱ्याङ चढेर माथिल्लो तलाको ठूलो कोठामा जानुहुन्छ। त्यहाँ १३ जनाको लागि भोजनको प्रबन्ध मिलाइएको छ। येसु यस दिनको प्रतीक्षा गर्दै हुनुहुन्थ्यो किनकि उहाँ यसो भन्नुहुन्छ: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ।”—लुका २२:१५.
धेरै वर्षअघि, निस्तार चाडमा भाग लिनेहरूले एकअर्कालाई दाखमद्य भएका कचौराहरू पास गर्ने चलन सुरु भएको थियो। अब येसु तीमध्ये एउटा कचौरा लिएर धन्यवाद चढाउनुहुन्छ र यसो भन्नुहुन्छ: “यो लेओ र पालैसित यसबाट पिओ। किनकि म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य नआएसम्म अबदेखि म दाखमद्य पिउँदिनँ।” (लुका २२:१७, १८) उहाँको मृत्यु एकदमै नजिक छ भन्ने कुरा सबैलाई थाह भएको हुनुपर्छ।
निस्तार चाडको भोज चलिरहेको बेला एउटा असाधारण कुरा हुन्छ। येसु उठेर आफ्नो खास्टो छेउमा राख्नुहुन्छ अनि तौलिया लिनुहुन्छ। त्यसपछि उहाँ नजिकै भएको बाटामा पानी हाल्नुहुन्छ। पाहुनाको खुट्टा धोइएको छ कि छैन भनेर सामान्यतया घर मालिकले पक्का गर्थे, सायद खुट्टा धोइदिने काम घरको नोकरले गर्थे। (लुका ७:४४) तर अहिले त्यहाँ घर मालिक छैनन्। त्यसैले येसु आफैले यो काम गर्नुहुन्छ। प्रेषितहरूमध्ये जोसुकैले त्यो काम गर्न सक्थे तर त्यसो गर्न कोही पनि अग्रसर हुँदैनन्। तिनीहरूबीच प्रतिस्पर्धाको भाव भएकोले हो कि? कुरा जेसुकै होस्, येसुले खुट्टा धोइदिनुहुँदा तिनीहरू लज्जित महसुस गर्छन्।
येसु पत्रुस भएतिर आउनुहुँदा तिनी यसरी आपत्ति जनाउँछन्: “तपाईँले कुनै हालतमा मेरो खुट्टा धुन मिल्दैन।” येसु यस्तो जवाफ दिनुहुन्छ: “मैले धोइनँ भने तिम्रो मसित केही भाग हुनेछैन।” पत्रुस यसो भन्छन्: “प्रभु, मेरो खुट्टा मात्र होइन तर मेरो हात र टाउको पनि धोइदिनुहोस्।” येसुको यो जवाफ सुनेर पत्रुस कत्ति छक्क पर्छन् होला: “जसले नुहाइसकेको छ, ऊ पूरै सफा भएकोले उसको खुट्टा मात्र धोए पुग्छ। तिमीहरू पनि सफा छौ तर सबै जना त होइन।”—युहन्ना १३:८-१०.
येसु यहुदा इस्करियोतलगायत बाह्रै प्रेषितको खुट्टा धोइदिनुहुन्छ। आफ्नो खास्टो ओढेर फेरि टेबुलमा बसेपछि येसु सोध्नुहुन्छ: “मैले तिमीहरूका निम्ति के गरेँ, के तिमीहरूले बुझ्यौ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीक भनेका हौ किनकि म त्यही हुँ। त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ। म तिमीहरूलाई साँच्चै भन्छु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन, न त पठाइएको व्यक्ति उसलाई पठाउनेभन्दा ठूलो हुन्छ। तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।”—युहन्ना १३:१२-१७.
नम्र भएर अरूको सेवा गर्नुपर्ने विषयमा कत्ति राम्रो पाठ! येसुका अनुयायीहरूले म अरूभन्दा ठूलो मान्छे हुँ, त्यसैले अरूले मेरो सेवा गर्नुपर्छ भन्ने सोचाइ राख्नु हुँदैन। बरु तिनीहरूले अरूको खुट्टा धोइदिएर होइन, नम्र र निष्पक्ष हुँदै अरूको सेवा गरेर येसुको उदाहरण अनुकरण गर्नुपर्छ।
-
-
प्रभुको साँझको भोजयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११७
प्रभुको साँझको भोज
मत्ति २६:२१-२९ मर्कुस १४:१८-२५ लुका २२:१९-२३ युहन्ना १३:१८-३०
धोका दिने व्यक्ति यहुदा हुन् भनेर चिनाइन्छ
येसु स्मरणार्थको भोज स्थापना गर्नुहुन्छ
यही साँझ केही समयअगाडि मात्र येसुले आफ्ना प्रेषितहरूको खुट्टा धोइदिएर नम्रतासम्बन्धी पाठ सिकाउनुभएको छ। सायद निस्तार चाडको भोज खाइसकेपछि येसु दाउदका यी भविष्यसूचक शब्दहरू उद्धरण गर्नुहुन्छ: “मैले भरोसा गरेको मेरो घनिष्ठ साथी, जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।” त्यसपछि उहाँ यसो भन्नुहुन्छ: “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”—भजन ४१:९; युहन्ना १३:१८, २१.
प्रेषितहरू एकअर्कालाई पल्याकपुलुक हेर्दै यस्तो प्रश्न सोध्छन्: “प्रभु, के त्यो म हुँ?” यहुदा इस्करियोतसमेत त्यसै गर्छन्। पत्रुस येसुको छेवैमा बसिरहेका युहन्नालाई त्यो व्यक्ति को हो भनेर सोध्न इसारा गर्छन्। त्यसैले युहन्ना येसुको छातीमा अडेस लाग्दै सोध्छन्: “प्रभु, कसले?”—मत्ति २६:२२; युहन्ना १३:२५.
येसु भन्नुहुन्छ: “रोटीको टुक्रा चोपेर म जसलाई दिन्छु, उसैले।” त्यसपछि उहाँ टेबुलमा भएको भाँडोमा रोटीको टुक्रा चोप्नुहुन्छ र यहुदालाई यसो भन्दै दिनुहुन्छ: “मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ! त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो।” (युहन्ना १३:२६; मत्ति २६:२४) त्यसपछि सैतान यहुदाभित्र पस्छ। भ्रष्ट भइसकेका यहुदा अब आफूलाई दियाबलको इच्छा पूरा गर्न सुम्पन्छन्। यसरी तिनी “विनाशको छोरा” बन्छन्।—युहन्ना ६:६४, ७०; १२:४; १७:१२.
येसु यहुदालाई भन्नुहुन्छ: “तिमी जे गर्दै छौ, झट्टै सिध्याइहाल।” अरू प्रेषितहरूलाई चाहिँ यहुदासित पैसाको कन्तुर भएकोले येसुले तिनलाई “‘चाडको लागि हामीलाई चाहिने कुरा किन’ भन्नुभएको होला वा गरिबहरूलाई केही दिन अह्राउनुभएको होला” जस्तो लाग्छ। (युहन्ना १३:२७-३०) तर यहुदा भने येसुलाई धोका दिन त्यहाँबाट निस्कन्छन्।
निस्तार चाडको भोज खाएकै साँझ येसु एउटा बिलकुलै नयाँ किसिमको भोज स्थापना गर्नुहुन्छ। उहाँ रोटी लिनुहुन्छ, धन्यवादको प्रार्थना चढाउनुहुन्छ, रोटी भाँच्नुहुन्छ अनि खानको लागि आफ्ना प्रेषितहरूलाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्ने गर।” (लुका २२:१९) त्यो रोटी पास गरिन्छ र प्रेषितहरू त्यसबाट खान्छन्।
अब येसु एक कचौरा दाखमद्य लिनुहुन्छ, धन्यवादको प्रार्थना चढाउनुहुन्छ अनि प्रेषितहरूलाई पास गर्नुहुन्छ। सबै प्रेषितले त्यस कचौराबाट पिउँछन्, जसबारे उहाँ यसो भन्नुहुन्छ: “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको आधारमा बाँधिनेछ।”—लुका २२:२०.
यसरी येसु आफ्ना अनुयायीहरूले हरेक वर्ष नीसान १४ मा उहाँको मृत्युको सम्झनास्वरूप मनाउनुपर्ने उत्सव स्थापना गर्नुहुन्छ। यसले वफादार मानिसहरूलाई पाप र मृत्युको पन्जाबाट फुत्किन येसु र उहाँको बुबाले मिलाउनुभएको प्रबन्धको सम्झना गराउनेछ। निस्तार चाडले यहुदीहरूको लागि जुन अर्थ राख्थ्यो, यसले त्योभन्दा पनि ठूलो अर्थ राख्छ। विश्वास गर्ने मानिसजातिलाई यसले साँचो स्वतन्त्रता दिन्छ।
उहाँको रगत “पापहरूको क्षमा होस् भनेर थुप्रैका लागि बगाइनेछ” भनेर येसु भन्नुहुन्छ। उहाँका वफादार प्रेषितहरू र अरू थुप्रै वफादार चेलाहरूले यस्तो क्षमा पाउँछन्। तिनीहरू उहाँको बुबाको राज्यमा उहाँसितै हुनेछन्।—मत्ति २६:२८, २९.
-
-
को ठूलो भन्नेबारे बहसयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११८
को ठूलो भन्नेबारे बहस
मत्ति २६:३१-३५ मर्कुस १४:२७-३१ लुका २२:२४-३८ युहन्ना १३:३१-३८
येसु ओहदाबारे सल्लाह दिनुहुन्छ
पत्रुसले येसुलाई तिरस्कार गर्नेछन् भनेर बताइन्छ
प्रेम—येसुका अनुयायीहरूको चिनारी
आफ्ना प्रेषितहरूसितको यो अन्तिम साँझ येसुले तिनीहरूको खुट्टा धोइदिएर नम्रतासम्बन्धी राम्रो पाठ सिकाउनुभएको छ। यो किन उचित छ? किनकि तिनीहरूमा एउटा कमजोरी छ। हुनत तिनीहरू परमेश्वरका वफादार सेवकहरू हुन् तर तिनीहरूलाई अझै पनि आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भन्ने चिन्ता छ। (मर्कुस ९:३३, ३४; १०:३५-३७) तिनीहरूको यो कमजोरी फेरि पनि देखा पर्छ।
प्रेषितहरूमाझ ‘तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्ने भनेर चर्को बहस चल्छ।’ (लुका २२:२४) तिनीहरू त्यसरी बाझाबाझ गरेको देखेर येसुलाई कत्ति दुःख लाग्यो होला! अब उहाँ के गर्नुहुन्छ?
तिनीहरूले त्यस्तो मनोवृत्ति र आचरण देखाएकोमा तिनीहरूलाई हप्काउनुको सट्टा धैर्य गर्दै उहाँ तिनीहरूसित यसरी तर्क गर्नुहुन्छ: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ। तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन। . . कोचाहिँ ठूलो हो, खान बस्ने कि सेवा गर्ने?” आफूले तिनीहरूको लागि बारम्बार बसालेको उदाहरण सम्झाउँदै उहाँ यसो भन्नुहुन्छ: “तर म त तिमीहरूबीच सेवकजस्तै छु।”—लुका २२:२५-२७.
प्रेषितहरू त्रुटिपूर्ण भए तापनि तिनीहरूले विभिन्न गाह्रो परिस्थितिमा येसुलाई साथ दिइरहेका छन्। त्यसैले उहाँ तिनीहरूलाई भन्नुहुन्छ: “मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु।” (लुका २२:२९) यी पुरुषहरू येसुका वफादार अनुयायीहरू हुन्। उहाँ र तिनीहरूबीच बाँधिएको करारले गर्दा तिनीहरू स्वर्गको राज्यमा हुनेछन् र उहाँसँगै शासन गर्नेछन् भनेर येसु आश्वासन दिनुहुन्छ।
प्रेषितहरूसित यस्तो विशेष आशा भए तापनि तिनीहरू अझै रगत र मासुले बनेको शरीरमा छन् र तिनीहरू अझै त्रुटिपूर्ण छन्। त्यसैले येसु तिनीहरूलाई भन्नुहुन्छ: “सैतानले तिमीहरू सबैलाई गहुँलाई जस्तै निफन्ने माग गरेको छ।” (लुका २२:३१) उहाँ यस्तो चेतावनी पनि दिनुहुन्छ: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्।’”—मत्ति २६:३१; जकरिया १३:७.
पत्रुस विश्वस्त हुँदै यसो भन्छन्: “तपाईँमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैनँ!” (मत्ति २६:३३) आज राती भाले दुई चोटि बास्नुअघि पत्रुसले उहाँलाई तिरस्कार गर्नेछन् भनेर उहाँ तिनलाई बताउनुहुन्छ। तर येसु अझै यसो भन्नुहुन्छ: “तिम्रो विश्वास नडगमगाओस् भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु र तिमी पश्चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।” (लुका २२:३२) पत्रुस निर्धक्क हुँदै यसो भन्छन्: “तपाईँसँगै मर्नु पऱ्यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।” (मत्ति २६:३५) अरू प्रेषितहरू पनि त्यसै भन्छन्।
येसु आफ्ना चेलाहरूलाई यसो भन्नुहुन्छ: “अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहुदीहरूलाई भनेझैँ अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’” त्यसपछि उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।”—युहन्ना १३:३३-३५.
येसुले अब केही समय मात्र तिनीहरूसित हुन्छु भन्नुभएको सुनेपछि पत्रुस सोध्छन्: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ?” येसु जवाफ दिनुहुन्छ: “म जहाँ जाँदै छु, मेरो पछि लागेर तिमी अहिल्यै त्यहाँ आउन सक्दैनौ तर पछि भने आउनेछौ।” छक्क पर्दै पत्रुस यसो भन्छन्: “प्रभु, म किन अहिल्यै तपाईँको पछि लाग्न सक्दिनँ? तपाईँको लागि म आफ्नो ज्यानसमेत दिनेछु।”—युहन्ना १३:३६, ३७.
अब येसु प्रेषितहरूलाई पैसाको थैली वा खाजाको पोका केही नलिई गालिलमा प्रचार अभियानको लागि पठाउनुभएको समयबारे सम्झाउनुहुन्छ। (मत्ति १०:५, ९, १०) उहाँ तिनीहरूलाई सोध्नुहुन्छ: “के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरू भन्छन्: “अहँ, भएन!” तर अब यसपछिका दिनहरूमा तिनीहरूले के गर्नुपर्नेछ? येसु तिनीहरूलाई यस्तो निर्देशन दिनुहुन्छ: “तर अब थैली हुनेले त्यो बोकोस्, त्यसैगरि खाजाको पोको पनि। अनि तरबार नहुनेले आफ्नो लुगा बेचेर भए पनि एउटा तरबार किनोस्। किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदै छ।”—लुका २२:३५-३७.
येसु आफूलाई दुई जना कुकर्मीको साथमा झुन्ड्याएर मारिने समयबारे सङ्केत गर्दै हुनुहुन्छ। त्यसपछि उहाँका अनुयायीहरूले भीषण विरोध सामना गर्नेछन्। तिनीहरूलाई आफू त्यसको लागि तयार छु जस्तो लाग्छ र यसो भन्छन्: “प्रभु, हेर्नुहोस् त! यहाँ दुई वटा तरबार छन्।” उहाँ तिनीहरूलाई यसो भन्नुहुन्छ: “यति भए पुग्छ।” (लुका २२:३८) अब चाँडै एक जना प्रेषितले ती दुई वटा तरबारमध्ये एउटा चलाउँदा उहाँले त्यस मौकामा अर्को एउटा महत्त्वपूर्ण पाठ सिकाउनुहुनेछ।
-
-
येसु—बाटो, सत्य र जीवनयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय ११९
येसु—बाटो, सत्य र जीवन
येसु ठाउँ तयार पार्न जाँदै हुनुहुन्छ
उहाँ आफ्ना अनुयायीहरूलाई मदतगार दिने प्रतिज्ञा गर्नुहुन्छ
बुबा येसुभन्दा महान् हुनुहुन्छ
स्मरणार्थको भोजपछि येसु अझै प्रेषितहरूसित माथिल्लो तलाको कोठामा हुनुहुन्छ। उहाँ तिनीहरूलाई यस्तो प्रोत्साहन दिनुहुन्छ: “तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास गर अनि ममाथि पनि विश्वास गर।”—युहन्ना १३:३६; १४:१.
आफू जान लागेकोमा व्याकुल हुनु नपर्ने कारणबारे उहाँ प्रेषितहरूलाई यसो भन्नुहुन्छ: “मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। . . . यदि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीँ हुनेछौ।” तर प्रेषितहरू उहाँले स्वर्ग जानेबारे कुरा गर्दै हुनुहुन्छ भनेर बुझ्दैनन्। त्यसैले थोमा सोध्छन्: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामीलाई थाह छैन। तब कसरी हामीलाई त्यहाँ जाने बाटो थाह हुन्छ र?”—युहन्ना १४:२-५.
येसु “बाटो, सत्य र जीवन मै हुँ” भन्नुहुन्छ। येसु र उहाँको शिक्षालाई स्विकारेमा र उहाँको जीवनशैली अनुकरण गरेमा मात्र उहाँको बुबाको स्वर्गीय घरमा प्रवेश गर्न सकिन्छ। येसु भन्नुहुन्छ: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”—युहन्ना १४:६.
ध्यान दिएर सुनिरहेका फिलिप यस्तो बिन्ती गर्छन्: “प्रभु, हामीलाई बुबा देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ।” यहोवा मोसा, एलिया र यसैयासामु दर्शनमा प्रकट हुनुभएझैँ कुनै तरिकामा उनीहरूसामु पनि प्रकट हुनुभएको फिलिप चाहन्छन् जस्तो देखिन्छ। तर प्रेषितहरूले ती दर्शनहरूभन्दा उत्तम कुरा पाएका छन्। यस कुरालाई जोड दिँदै येसु भन्नुहुन्छ: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” येसु आफ्नो बुबाको व्यक्तित्व दुरुस्तै झल्काउनुहुन्छ। त्यसैले येसुसँगै समय बिताउनु र उहाँलाई नजिकबाट हेर्नु भनेको बुबालाई देखेसरह हो। पक्कै पनि बुबा छोराभन्दा श्रेष्ठ हुनुहुन्छ र यसबारे येसु यसो भन्नुहुन्छ: “म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ।” (युहन्ना १४:८-१०) आफूले सिकाइरहेको सबै शिक्षाको श्रेय उहाँले बुबालाई दिनुभएको प्रेषितहरूले याद गरेको हुनुपर्छ।
येसुका प्रेषितहरूले उहाँले अचम्मका कामहरू गर्नुभएको देखेका छन्। साथै उहाँले परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्नुभएको पनि तिनीहरूले सुनेका छन्। अब उहाँ तिनीहरूलाई यसो भन्नुहुन्छ: “जसले ममाथि विश्वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ। उसले तीभन्दा पनि ठूला कामहरू गर्नेछ।” (युहन्ना १४:१२) तिनीहरूले उहाँले भन्दा ठूलठूला चमत्कारहरू गर्नेछन् भनेर येसुले भन्न खोज्नुभएको होइन। तर तिनीहरूले अझ लामो समय सेवाको काम गर्नेछन्, अझ ठूलो इलाका ढाक्नेछन् र अझ धेरैलाई सुसमाचार सुनाउनेछन्।
येसु जानुभएपछि तिनीहरू अलपत्र पर्नेछैनन् किनकि उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु।” यसबाहेक उहाँ यसो भन्नुहुन्छ: “म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ अर्थात् सत्य प्रकट गर्ने पवित्र शक्ति।” (युहन्ना १४:१४, १६, १७) तिनीहरूले अर्को मदतगार अर्थात् पवित्र शक्ति पाउने कुराको उहाँ ग्यारेन्टी दिनुहुन्छ। तिनीहरूले पेन्तिकोसको दिनमा पवित्र शक्ति पाउँछन्।
येसु भन्नुहुन्छ: “अबको केही बेरपछि संसारले मलाई देख्नेछैन तर तिमीहरूले भने देख्नेछौ किनकि म जीवितै छु अनि तिमीहरू पनि जीवितै रहनेछौ।” (युहन्ना १४:१९) फेरि जीवित हुनुभएपछि येसु चेलाहरूसामु मानव शरीरमा देखा पर्नुहुने मात्र होइन तर पछि उहाँले तिनीहरूलाई पनि जीवित पार्नुहुनेछ र तिनीहरू उहाँसँगै स्वर्गमा हुनेछन्।
अब येसु एउटा वास्तविकता बताउनुहुन्छ: “जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु खुलेर प्रकट हुनेछु।” त्यसपछि थेदियस पनि भनिने प्रेषित यहुदा यस्तो सोध्छन्: “प्रभु, तपाईँ किन हामीसामु खुलेर प्रकट हुन चाहनुहुन्छ तर संसारसामु भने प्रकट हुन चाहनुहुन्न?” येसु यस्तो जवाफ दिनुहुन्छ: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ . . . जसले मलाई प्रेम गर्दैन, उसले मेरा वचनहरू पालन गर्दैन।” (युहन्ना १४:२१-२४) उहाँका अनुयायीहरूले स्विकारेजस्तो संसारले उहाँलाई बाटो, सत्य र जीवनको रूपमा स्विकार्दैन।
येसु जाँदै हुनुहुन्छ; त्यसोभए चेलाहरूले उहाँले सिकाउनुभएको सबै कुरा कसरी सम्झन सक्नेछन्? येसु भन्नुहुन्छ: “बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।” पवित्र शक्तिले कसरी मदत गर्न सक्छ भनेर प्रेषितहरूले देखेका छन्, त्यसैले यस आश्वासनले तिनीहरूलाई ढुक्क बनाउँछ। येसु अझै यसो भन्नुहुन्छ: “म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु। . . त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस् अनि डरले गर्दा कमजोर नहोस्।” (युहन्ना १४:२६, २७) त्यसैले चेलाहरू व्याकुल हुनुपर्ने कुनै कारण छैन। तिनीहरूले येसुको बुबाबाट निर्देशन र सुरक्षा पाउनेछन्।
परमेश्वरले सुरक्षा दिन सक्नुहुन्छ भनेर चाँडै प्रस्ट हुनेछ। येसु भन्नुहुन्छ: “यस संसारको शासक आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।” (युहन्ना १४:३०) सैतान यहुदाभित्र पसेर तिनीमाथि नियन्त्रण जमाउन सफल भएको थियो। तर येसुमा त्यस्तो कुनै कमजोरी छैन, जसको सैतानले फाइदा उठाएर उहाँलाई परमेश्वरविरुद्ध खडा गर्न सक्छ। न त सैतानले येसुलाई सधैँभरि मृत्युको कब्जामा नै राख्न सक्नेछ। किन? येसु भन्नुहुन्छ: “बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु।” बुबाले आफूलाई फेरि जीवित पार्नुहुनेछ भन्ने कुरामा उहाँ निर्धक्क हुनुहुन्छ।—युहन्ना १४:३१.
-
-
फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२०
फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्
साँचो अङ्गुरको बोट र हाँगाहरू
येसुको प्रेम पाउन कसरी लायक भइरहन सक्छौँ?
येसु आफ्ना वफादार प्रेषितहरूसित खुलस्त कुराकानी गरेर तिनीहरूलाई प्रोत्साहन दिँदै हुनुहुन्छ। अहिले मध्यरात भइसकेको छ। अब येसु एउटा प्रेरणादायी उदाहरण बताउनुहुन्छ:
उहाँ भन्नुहुन्छ: “म साँचो अङ्गुरको बोट हुँ र मेरो बुबा किसान हुनुहुन्छ।” (युहन्ना १५:१) उहाँको यो उदाहरण शताब्दीयौँअघि इस्राएल राष्ट्रबारे भनिएको कुरासित मिल्दोजुल्दो छ, इस्राएल राष्ट्रलाई यहोवाको अङ्गुरको बोट भनिन्थ्यो। (यर्मिया २:२१; होसे १०:१, २) तर यहोवा त्यो राष्ट्रलाई त्याग्दै हुनुहुन्छ। (मत्ति २३:३७, ३८) त्यसैले येसुले एउटा नयाँ कुरा भन्न लाग्नुभएको छ। इस्वी संवत् २९ मा येसुलाई पवित्र शक्तिद्वारा अभिषेक गरेपछि बुबाले किसानको रूपमा मलजल गरिरहनुभएको अङ्गुरको बोट उहाँ नै हुनुहुन्छ। तर अङ्गुरको बोटले उहाँलाई मात्र चित्रण गर्दैन भनेर येसु यसरी बताउनुहुन्छ:
“मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई [मेरो बुबा] काट्नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस् भनेर त्यसलाई उहाँ छाँट्नुहुन्छ। . . जसरी अङ्गुरको बोटबाट अलग भएर हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै मसित एकतामा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। म अङ्गुरको बोट हुँ अनि तिमीहरू हाँगाहरू हौ।”—युहन्ना १५:२-५.
येसुले आफ्ना वफादार चेलाहरूलाई आफू गएपछि एउटा मदतगार अर्थात् पवित्र शक्ति पठाउने प्रतिज्ञा गर्नुभएको छ। यसको ५१ दिनपछि जब प्रेषितहरू र अरूहरूले पवित्र शक्ति पाउँछन्, तब तिनीहरू अङ्गुरको बोटको हाँगा हुन्छन्। अनि सबै “हाँगा” येसुसित एकतामा रहनुपर्छ। केको लागि?
उहाँ भन्नुहुन्छ: “जो मसित एकतामा रहन्छ अनि म जोसित एकतामा रहन्छु, उसले धेरै फल फलाउँछ किनभने मबाट अलग भएर तिमीहरू केही पनि गर्न सक्दैनौ।” यी ‘हाँगाहरू’ अर्थात् उहाँका वफादार अनुयायीहरूले येसुको गुणहरूको अनुकरण गर्दै जोसका साथ अरूलाई परमेश्वरको राज्यबारे बताएर र अझ धेरै चेला बनाएर धेरै फल फलाउनेछन्। कोही येसुसित एकतामा रहेन र फल फलाएन भने के हुन्छ? येसु भन्नुहुन्छ: “यदि कोही मसित एकतामा रहँदैन भने त्यसलाई एउटा हाँगालाई जस्तै फ्याँकिनेछ।” अर्कोतर्फ येसु यसो पनि भन्नुहुन्छ: “तिमीहरू मसित एकतामा छौ र मेरा वचनहरू तिमीहरूको मनमा छ भने तिमीहरूलाई जे इच्छा लाग्छ, माग अनि त्यो तिमीहरूले पाउनेछौ।”—युहन्ना १५:५-७.
अब येसु पहिला पनि दुई चोटि उल्लेख गरिसक्नुभएको विषयमा फर्कनुहुन्छ। त्यो हो, उहाँका आज्ञाहरू पालन गर्ने। (युहन्ना १४:१५, २१) चेलाहरूले त्यसो गरिरहेको कुरा प्रमाणित गर्न सक्ने मुख्य तरिकाबारे उहाँ यसो भन्नुहुन्छ: “यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्यौ भने तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकका भइरहनेछौ, जसरी मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैँ उहाँको प्रेम पाउन लायकको भइरहेको छु।” तर यसमा यहोवा र उहाँको छोरालाई प्रेम गर्नु मात्र समावेश छैन। येसु भन्नुहुन्छ: “म तिमीहरूलाई यो आज्ञा दिन्छु, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर। आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन। मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।”—युहन्ना १५:१०-१४.
अबको केही घण्टामा येसुले उहाँमाथि विश्वास गर्ने सबैको लागि जीवन अर्पण गरेर आफ्नो प्रेमको प्रमाण दिनुहुनेछ। उहाँको उदाहरण अनुकरण गर्दै उहाँका अनुयायीहरू पनि आपसमा त्यस्तै आत्मत्यागी प्रेम देखाउन उत्प्रेरित हुनुपर्छ। यस्तो प्रेम नै तिनीहरूको चिनारी हुनेछ भनेर येसुले पहिला पनि यसरी बताउनुभएको थियो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।”—युहन्ना १३:३५.
येसुले तिनीहरूलाई “मित्रहरू” भन्नुभएको कुरा प्रेषितहरूले मनमा राख्नुपर्ने हो। तिनीहरूलाई मित्र भन्नुको कारण उहाँ यसरी बताउनुहुन्छ: “मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।” तिनीहरूले साँच्चै कत्ति अनमोल सम्बन्धको आनन्द उठाउन सक्छन्! हो, तिनीहरू येसुको घनिष्ठ मित्र हुन सक्छन् र बुबाले उहाँलाई भन्नुभएको सबै कुरा तिनीहरूले सुन्न सक्छन्। तर यसको लागि तिनीहरूले ‘फल फलाइरहनुपर्छ।’ त्यसो गरेमा तिनीहरूले पाउने आशिष्बारे येसु भन्नुहुन्छ: “तिमीहरूले मेरो नाममा बुबासित जेसुकै मागे पनि उहाँले तिमीहरूलाई [दिनुहुनेछ]।”—युहन्ना १५:१५, १६.
यी “हाँगाहरू”-बीच अर्थात् चेलाहरूबीच भएको प्रेमले तिनीहरूलाई अब भोग्नुपर्ने चुनौतीहरू सहन मदत गर्नेछ। संसारले तिनीहरूलाई घृणा गर्नेछ भनेर येसु चेतावनी दिनुहुन्छ। तर उहाँ यस्तो सान्त्वना पनि दिनुहुन्छ: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ। तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ; . . . त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।”—युहन्ना १५:१८, १९.
संसारले तिनीहरूलाई घृणा गर्नुको थप कारण बताउँदै येसु यसो भन्नुहुन्छ: “तिमीहरू मेरा चेलाहरू भएकाले तिमीहरूविरुद्ध तिनीहरूले यी कुराहरू गर्नेछन् किनभने मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्।” उहाँले गर्नुभएका अचम्मका कामहरूले उहाँलाई घृणा गर्नेहरूलाई दोषी ठहऱ्याउँछ भन्नेबारे उहाँ यसो भन्नुहुन्छ: “अरू कसैले नगरेको काम मैले तिनीहरूमाझ गरेँ। यदि मैले ती काम नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन; तर अब तिनीहरूले मेरो काम देख्नुका साथै म र मेरो बुबा दुवैलाई घृणा गरेका छन्।” वास्तवमा तिनीहरूको यस्तो घृणाले बाइबलको भविष्यवाणी पूरा गर्छ।—युहन्ना १५:२१, २४, २५; भजन ३५:१९; ६९:४.
येसु फेरि मदतगार अर्थात् पवित्र शक्ति पठाउने प्रतिज्ञा गर्नुहुन्छ। यो शक्ति उहाँका सबै अनुयायीले पाउन सक्छन् र यसले तिनीहरूलाई फल फलाउन अर्थात् ‘साक्षी दिन’ मदत गर्नेछ।—युहन्ना १५:२७.
-
-
“साहसी होओ! मैले यस संसारलाई जितेको छु”येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२१
“साहसी होओ! मैले यस संसारलाई जितेको छु”
केही बेरपछि प्रेषितहरूले येसुलाई देख्नेछैनन्
प्रेषितहरूको शोक हर्षमा परिणत हुनेछ
येसु र प्रेषितहरू माथिल्लो तलाको कोठाबाट निस्कने तरखरमा हुनुहुन्छ, जहाँ उहाँहरूले निस्तार चाडको भोज खानुभएको थियो। उनीहरूलाई विभिन्न विषयमा सल्लाह दिनुभएपछि येसु थप यसो भन्नुहुन्छ: “तिमीहरूले ठेस नखाओ भनेर मैले यी कुराहरू भनेको हुँ।” यो चेतावनी किन उपयुक्त छ? उहाँ भन्नुहुन्छ: “मानिसहरूले तिमीहरूलाई सभाघरबाट निकाल्नेछन्। भन्ने हो भने, यस्तो समय आउँदै छ, जब तिमीहरूलाई मार्नेजति हरेकले परमेश्वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्नेछ।”—युहन्ना १६:१, २.
यो कुरा सुनेर प्रेषितहरू पक्कै चिन्तित भएको हुनुपर्छ। हुनत येसुले पहिला पनि संसारले उनीहरूलाई घृणा गर्नेछ भन्नुभएको थियो, तर उनीहरू मारिनेछन् भनेर चाहिँ सीधै भन्नुभएको थिएन। किन? उहाँ भन्नुहुन्छ: “यी कुराहरू मैले तिमीहरूलाई पहिल्यै बताइनँ किनकि म तिमीहरूसितै थिएँ।” (युहन्ना १६:४) तर अब भने आफू जानुअघि उहाँ चेलाहरूलाई यसबारे चेतावनी दिनुहुन्छ। यसले गर्दा उनीहरू ठेस खानदेखि जोगिन सक्नेछन्।
येसु अझै भन्नुहुन्छ: “मलाई पठाउनुहुनेकहाँ म जाँदै छु, तैपनि तिमीहरूमध्ये कसैले पनि मलाई ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छ?’ भनेर सोध्दैनौ।” यसै साँझ केही बेरअघि प्रेषितहरूले येसुलाई यो प्रश्न सोधेका थिए। (युहन्ना १३:३६; १४:५; १६:५) तर यतिबेला भने खेदो भोग्नुपर्ने विषयमा येसुले भन्नुभएको कुरा सुनेर उनीहरूको होसहवासै उडेको छ; हो, उनीहरू चिन्तामा डुबेका छन्। त्यसैले उनीहरू येसुलाई उहाँले पाउन लाग्नुभएको महिमा र त्यसले साँचो उपासकहरूको लागि कस्तो अर्थ राख्छ भन्नेबारे थप कुरा सोध्नै सक्दैनन्। येसु भन्नुहुन्छ: “मैले तिमीहरूलाई यी कुराहरू भनेकोले तिमीहरूको हृदय पीडाले भरिएको छ।”—युहन्ना १६:६.
त्यसपछि येसु भन्नुहुन्छ: “तिमीहरूकै फाइदाको लागि म जाँदै छु। किनभने म गइनँ भने मदतगार तिमीहरूकहाँ आउनेछैन तर यदि म गएँ भने म त्यसलाई तिमीहरूकहाँ पठाउनेछु।” (युहन्ना १६:७) येसु मर्नुभएपछि र स्वर्ग फर्कनुभएपछि मात्र चेलाहरूले पवित्र शक्ति पाउन सक्छन् र यसलाई उहाँले पृथ्वीको जुनसुकै ठाउँका चेलाहरूको मदतगारको रूपमा पठाउन सक्नुहुन्छ।
पवित्र शक्तिले “पाप, धार्मिकता र न्यायको विषयमा संसारलाई चित्तबुझ्दो प्रमाण दिनेछ।” (युहन्ना १६:८) हो, यो संसार परमेश्वरको छोरामाथि विश्वास गर्नदेखि चुकेको कुरा पर्दाफास हुनेछ। येसु स्वर्ग जानु उहाँको धार्मिकताको चित्तबुझ्दो प्रमाण हुनेछ अनि यसले “यस संसारको शासक” सैतान किन दण्ड पाउन लायकको छ भन्ने कुरा प्रस्ट पार्नेछ।—युहन्ना १६:११.
येसु थप यसो भन्नुहुन्छ: “मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू अझ धेरै छन् तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ।” उहाँले पवित्र शक्ति खन्याउनुभएपछि चेलाहरूले सम्पूर्ण “सत्य” राम्ररी बुझ्न सक्नेछन् र उनीहरू ती सत्यअनुरूप चल्न सक्षम हुनेछन्।—युहन्ना १६:१२, १३.
येसुले अब भन्न लाग्नुभएको यो कुरा सुनेर प्रेषितहरू छक्क पर्छन्: “अब केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि फेरि त्यसको केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।” उहाँले के भन्न खोज्नुभएको हो भनेर चेलाहरू एकअर्कालाई सोध्न थाल्छन्। चेलाहरू यसबारे जान्न खोज्दै छन् भन्ने थाह पाएर येसु भन्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ तर संसारले आनन्द मनाउनेछ; तिमीहरू शोकाकुल हुनेछौ तर तिमीहरूको शोक हर्षमा परिणत हुनेछ।” (युहन्ना १६:१६, २०) भोलिपल्ट दिउँसो येसुलाई मारिँदा धर्मगुरुहरू रमाउँछन् र चेलाहरू भने शोक गर्छन्। तर येसु मृत्युबाट जीवित हुनुभएपछि उनीहरूको शोक हर्षमा परिणत हुन्छ! अनि उहाँले उनीहरूमाथि पवित्र शक्ति खन्याउनुहुँदा उनीहरू झनै हर्षित हुन्छन्।
प्रेषितहरूको अवस्थालाई बेथा लागेको स्त्रीको अवस्थासित तुलना गर्दै येसु भन्नुहुन्छ: “बालक जन्माउने बेला स्त्रीलाई पीडा हुन्छ किनकि उसको बेला आइपुगेको हुन्छ तर जब उसले बालक जन्माउँछे, तब संसारमा एउटा बालकको जन्म भएको खुसीयालीमा उसलाई त्यो वेदनाको सम्झना रहँदैन।” उहाँ प्रेषितहरूलाई यसो भनेर सान्त्वना दिनुहुन्छ: “तिमीहरूलाई पनि अहिले पक्कै पीडा भइरहेको छ तर जब म तिमीहरूलाई फेरि भेट्नेछु, तब तिमीहरूको हृदय आनन्दित हुनेछ अनि तिमीहरूको खुसी कसैले पनि खोस्नेछैन।”—युहन्ना १६:२१, २२.
यसअघि प्रेषितहरूले कहिल्यै येसुको नाममा बिन्ती गरेका छैनन्। तर अब येसु भन्नुहुन्छ: ‘त्यो दिन तिमीहरूले मेरो नाममा बुबालाई बिन्ती गर्नेछौ।’ तर उनीहरूले किन त्यसो गर्नुपर्छ? बुबाले उनीहरूको बिन्ती सुन्न नचाहेकोले त होइन। बरु येसु भन्नुहुन्छ: “बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ अनि म परमेश्वरको प्रतिनिधिको रूपमा आएको हुँ भनेर विश्वास गरेका छौ।”—युहन्ना १६:२६, २७.
येसुका प्रोत्साहनदायी शब्दहरूले गर्दा प्रेषितहरू विश्वस्त भई यसो भन्न उत्प्रेरित भएका हुन सक्छन्: “तपाईँ परमेश्वरको तर्फबाट आउनुभएको हो भनेर यसैबाट हामीलाई विश्वास भयो।” तर अब चाँडै उनीहरूको विश्वासको जाँच हुनेछ। अब हुनै लागेका घटनाहरूबारे येसु भन्नुहुन्छ: “हेर, यस्तो समय आउँदै छ अनि भन्ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्नेछौ।” तर उहाँ उनीहरूलाई यस्तो आश्वासन पनि दिनुहुन्छ: “मद्वारा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। संसारमा तिमीहरूले सङ्कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।” (युहन्ना १६:३०-३३) तर अब येसुले उनीहरूलाई अलपत्र छोड्नुहुनेछ भन्नेचाहिँ होइन। येसु यो कुरामा ढुक्क हुनुहुन्छ: सैतान र त्यसको संसारले प्रेषितहरूको निष्ठा तोड्न जति नै प्रयास गरे तापनि उहाँले जस्तै उनीहरूले पनि वफादार हुँदै परमेश्वरको इच्छा पूरा गरेर संसारलाई जित्न सक्नेछन्।
-
-
माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थनायेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२२
माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थना
परमेश्वर र उहाँको छोरालाई चिन्दा पाइने आशिष्
यहोवा, येसु र चेलाहरूबीच एकता
प्रेषितहरूप्रतिको प्रगाढ प्रेमको कारण येसु तिनीहरूसित बिछोड हुने समयको लागि तिनीहरूलाई तयार पार्दै हुनुहुन्छ। अब उहाँ आफ्नो आँखा स्वर्गतिर उठाउँदै यसरी प्रार्थना गर्नुहुन्छ: “आफ्नो छोराको महिमा गर्नुहोस् ताकि तपाईँको छोराले पनि तपाईँको महिमा गरोस्। तपाईँले आफ्नो छोरालाई जो-जो दिनुभएको छ, तिनीहरू सबैलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईँले उसलाई सबैमाथि अधिकार दिनुभएको छ।”—युहन्ना १७:१, २.
स्पष्ट छ, परमेश्वरको महिमा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर येसुले बुझ्नुभएको छ। तर येसु अनन्त जीवनको आशाबारे पनि उल्लेख गर्नुहुन्छ! येसुले “सबैमाथि अधिकार” पाउनुभएकोले उहाँ आफूले चढाउने बलिदानबाट लाभ उठाउने मौका सबैलाई दिन सक्नुहुन्छ। तर यस्तो आशिष् कसै-कसैले मात्र पाउनेछन्। येसुले यसपछि भन्नुभएको यस कुराअनुसार गर्नेहरूलाई मात्र उहाँ आशिष् दिनुहुन्छ: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्नुपर्छ।”—युहन्ना १७:३.
अनन्त जीवन पाउन चाहने व्यक्तिले बुबा र छोरा दुवैलाई राम्ररी चिनेर उहाँहरूसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। उसले हरेक विषयमा उहाँहरूको जस्तै दृष्टिकोण राख्नुपर्छ। साथै अरूसित व्यवहार गर्दा उहाँहरूको अतुलनीय गुणहरू अनुकरण गर्ने प्रयास गर्नुपर्छ। अनि अनन्त जीवन पाउनुभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरको महिमा गर्नु हो भनेर उसले बुझ्नुपर्छ। अब येसु यसै विषयमा फर्कँदै यसो भन्नुहुन्छ:
“तपाईँले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईँको महिमा गरेको छु। त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्।” (युहन्ना १७:४, ५) हो, येसु आफूलाई जीवित पारेर स्वर्गमा उहाँसँगै फेरि महिमित पार्न बुबालाई बिन्ती गर्नुहुन्छ।
तर सेवाको कामद्वारा आफूले हासिल गरेका उपलब्धिहरू येसुले बिर्सनुभएको छैन। उहाँ यसरी प्रार्थना गर्नुहुन्छ: “तपाईँले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईँको नाम प्रकट गरेको छु। तिनीहरू तपाईँकै थिए र तपाईँले तिनीहरू मलाई दिनुभयो अनि तिनीहरूले तपाईँको वचन पालन गरेका छन्।” (युहन्ना १७:६) येसुले सेवाको काममा लाग्दा परमेश्वरको नाम, यहोवा उच्चारण मात्र गर्नुभएन। बरु त्यो नामले कस्तो अर्थ राख्छ भनेर बुझ्न पनि आफ्ना प्रेषितहरूलाई मदत गर्नुभयो। हो, उहाँले तिनीहरूलाई परमेश्वरका गुणहरूबारे र उहाँले मानिसहरूसित व्यवहार गर्ने तरिकाबारे बुझ्न मदत गर्नुभयो।
यी प्रेषितहरूले यहोवालाई राम्ररी चिन्न, उहाँको छोराको भूमिका बुझ्न र येसुले सिकाउनुभएका कुराहरू राम्ररी बुझ्न सकेका छन्। येसु नम्र हुँदै यसो भन्नुहुन्छ: “तपाईँले मलाई भन्नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु अनि तिनीहरूले ती स्विकारेका छन्। साथै म तपाईँको प्रतिनिधिको रूपमा आएको हुँ भन्ने कुरामा तिनीहरू पक्का भएका छन् अनि तपाईँले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्वास गरेका छन्।”—युहन्ना १७:८.
त्यसपछि येसु आफ्ना अनुयायीहरू र संसारका अरू मानिसहरूबीचको भिन्नता स्विकार्दै यसो भन्नुहुन्छ: “म संसारको निम्ति होइन तर तपाईँले मलाई जो-जो दिनुभयो, तिनीहरूको निम्ति बिन्ती गर्छु किनकि तिनीहरू तपाईँकै हुन्। . . . हे पवित्र बुबा, तपाईँले मलाई दिनुभएको तपाईँकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस् ताकि हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्। . . . मैले तिनीहरूको रक्षा गरेको छु र तिनीहरूमध्ये एक जना पनि नष्ट भएन तर . . . विनाशको छोरा भने नष्ट भयो।” (युहन्ना १७:९-१२) यो “विनाशको छोरा” भनेको यहुदा इस्करियोत हो, जो अहिले येसुलाई धोका दिन लागिपरेको छ।
येसु प्रार्थनामा अझै यसो भन्नुहुन्छ: “संसारले तिनीहरूलाई घृणा गरेको छ . . . तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनेर त होइन तर त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस् भनेर म तपाईँलाई बिन्ती गर्छु। तिनीहरू यस संसारका होइनन्, जस्तो म पनि यस संसारको होइन।” (युहन्ना १७:१४-१६) प्रेषितहरू र अरू चेलाहरू यसै संसारमा अर्थात् सैतानले शासन गरेको मानव समाजमा बस्छन् तर तिनीहरू यो संसार र यसको खराब कुराहरूबाट अलग्गै बस्नुपर्छ। कसरी?
तिनीहरूले हिब्रू धर्मशास्त्रमा पाइने सत्य र येसु स्वयम्ले सिकाउनुभएको सत्यअनुरूप चलेर आफूलाई पवित्र पार्नुपर्छ अर्थात् परमेश्वरको सेवा गर्न आफूलाई अलग्गै छुट्ट्याउनुपर्छ। येसु यसरी प्रार्थना गर्नुहुन्छ: “सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्; तपाईँको वचन सत्य हो।” (युहन्ना १७:१७) पछि केही प्रेषितहरूले परमेश्वरको प्रेरणाद्वारा केही किताबहरू लेख्नेछन्। ती किताबहरू पनि मानिसहरूलाई पवित्र पार्न मदत गर्ने “सत्य”-को भाग हुनेछन्।
तर पछि अरूले पनि “सत्य” स्विकार्नेछन्। त्यसैले येसु “यिनीहरूको [त्यहाँ भएकाहरूको] निम्ति मात्र होइन तर यिनीहरूको वचनमार्फत [उहाँमाथि] विश्वास गर्नेहरूको निम्ति पनि” प्रार्थना गर्नुहुन्छ। येसु तिनीहरू सबैको लागि कस्तो बिन्ती गर्नुहुन्छ? “तिनीहरू सबै एक होऊन्। हे बुबा, जसरी तपाईँ मसित एकतामा हुनुहुन्छ अनि म तपाईँसित एकतामा छु, त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन्।” (युहन्ना १७:२०, २१) येसु र उहाँको बुबा शाब्दिक अर्थमै एउटै व्यक्ति हुनुहुन्न। बरु उहाँहरूबीच सबै कुरामा सहमति भएकोले उहाँहरू एक हुनुहुन्छ। आफ्ना अनुयायीहरूले पनि यस्तै किसिमको एकता अनुभव गरून् भनेर येसु प्रार्थना गर्नुहुन्छ।
केही समयअघि मात्र येसुले पत्रुस र अरू चेलालाई आफू तिनीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु भन्नुभएको थियो, मतलब उहाँ स्वर्ग जानुहुने थियो। (युहन्ना १४:२, ३) अब उहाँ प्रार्थनामा त्यसै विषयबारे उल्लेख गर्नुहुन्छ: “हे बुबा, म जहाँ छु, तपाईँले मलाई दिनुभएका यी मानिसहरू पनि त्यहीँ होऊन् भन्ने म चाहन्छु ताकि तपाईँले मलाई दिनुभएको महिमा तिनीहरूले पनि देखून् किनकि संसारको प्रारम्भ हुनुभन्दा अघिदेखि तपाईँले मलाई प्रेम गर्नुभयो।” (युहन्ना १७:२४) यसरी उहाँ परमेश्वरले आफ्नो एक मात्र छोरालाई युगौँयुगअघिदेखि, आदम र हव्वाले सन्तान जन्माउनुभन्दा पनि अघिदेखि प्रेम गर्नुभयो भनेर पुष्टि गर्नुहुन्छ; यिनै छोरा पछि येसु ख्रिष्ट हुनुभयो।
प्रार्थनाको अन्तमा येसु फेरि पनि बुबाको नामलाई अनि प्रेषितहरूप्रति र पछि गएर “सत्य” स्विकार्नेहरूप्रति बुबाको प्रेमलाई यसरी जोड दिनुहुन्छ: “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु ताकि तपाईँले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून् र म तिनीहरूसित एकतामा हुन सकूँ।”—युहन्ना १७:२६.
-
-
असाध्यै दुःखित हुनुभएको बेला प्रार्थना गर्नुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२३
असाध्यै दुःखित हुनुभएको बेला प्रार्थना गर्नुहुन्छ
मत्ति २६:३०, ३६-४६ मर्कुस १४:२६, ३२-४२ लुका २२:३९-४६ युहन्ना १८:१
येसु गेत्समनीको बगैँचामा
उहाँको पसिना रगतको थोपासरी हुन्छ
येसुले आफ्ना वफादार प्रेषितहरूसँगै प्रार्थना गरेर सिद्ध्याउनुभएको छ। अन्तमा, ‘स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुहुन्छ।’ (मर्कुस १४:२६) उहाँहरू पूर्वतिर पर्ने गेत्समनीको बगैँचातर्फ लाग्नुहुन्छ, जहाँ येसु अक्सर जाने गर्नुहुन्छ।
जैतुनका रूखहरू भएको यस सुन्दर ठाउँमा आइपुगेपछि येसु आठ जना प्रेषितलाई त्यहीँ छोड्नुहुन्छ। उहाँ तिनीहरूलाई भन्नुहुन्छ: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीँ बसिरहनू।” त्यसैले सायद तिनीहरू बगैँचाको प्रवेशद्वारनजिकै बसिरहन्छन्। येसुचाहिँ पत्रुस, याकुब र युहन्नालाई लिएर बगैँचाभित्र अलि परसम्म जानुहुन्छ। उहाँ असाध्यै खिन्न हुनुहुन्छ र ती तीन जना प्रेषितलाई यसो भन्नुहुन्छ: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीँ बस र मसँगै जागा रहो।”—मत्ति २६:३६-३८.
तिनीहरू भएको ठाउँबाट अलि पर गएर येसु ‘घुँडा टेक्नुहुन्छ र प्रार्थना गर्न थाल्नुहुन्छ।’ यस कठिन घडीमा उहाँ परमेश्वरलाई केको विषयमा प्रार्थना गर्दै हुनुहुन्छ? उहाँ यसरी प्रार्थना गर्नुहुन्छ: “हे बुबा, तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्।” (मर्कुस १४:३५, ३६) उहाँ के भन्न खोज्दै हुनुहुन्छ? के उहाँ फिरौतीको बलिदान चढाउनदेखि पछि हट्न खोज्नुभएको हो? अहँ, होइन!
रोमीहरूले मानिसहरूलाई तड्पाइ-तड्पाइ मारेको येसुले स्वर्गबाट देख्नुभएको थियो। अहिले मानव शरीरमा हुनुभएको येसुसित कोमल भावना छ र उहाँलाई पनि पीडा हुन्छ। त्यसैले उहाँ आफूले भोग्न लागेको मृत्युदण्डलाई प्रतीक्षा गरेर बसिरहनुभएको छैन। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, आफूलाई घृणित अपराधीको रूपमा मारिँदा बुबाको नाममा कलङ्क लाग्न सक्छ भन्ने कुरा बुझेकोले उहाँ असह्य वेदनामा पर्नुहुन्छ। अबको केही घण्टामै उहाँलाई ईश्वरनिन्दा गरेको आरोपमा खम्बामा झुन्ड्याएर मारिनेछ।
धेरै बेर प्रार्थना गरेर प्रेषितहरूकहाँ फर्कँदा येसुले तिनीहरू निदाइरहेको भेट्टाउनुहुन्छ। उहाँ पत्रुसलाई यसो भन्नुहुन्छ: “के तिमीहरू मसँग एकछिन जागा बस्न सकेनौ? प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।” येसुलाई ती प्रेषितहरू पनि तनावमा छन् भनेर थाह छ। अनि रात पनि छिप्पिसकेको छ। त्यसैले उहाँ यसो पनि भन्नुहुन्छ: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”—मत्ति २६:४०, ४१.
अब येसु दोस्रो पटक प्रार्थना गर्न जानुहुन्छ र आफ्नो सामनेबाट “यो कचौरा” हटाइदिन परमेश्वरलाई बिन्ती गर्नुहुन्छ। प्रार्थना गरेर फर्कँदा उहाँले ती तीन जना प्रेषित फेरि पनि निदाइरहेको भेट्टाउनुहुन्छ, जबकि यतिबेला तिनीहरूले प्रलोभनमा नपर्नको लागि प्रार्थना गरिरहेको हुनुपर्थ्यो। येसुलाई “के जवाफ दिने भनेर तिनीहरूलाई थाहै” हुँदैन। (मर्कुस १४:४०) येसु तेस्रो पटक पनि जानुहुन्छ र घुँडा टेकेर प्रार्थना गर्नुहुन्छ।
आफूलाई अपराधीको रूपमा मारिँदा बुबाको नाममा कलङ्क लाग्नेछ भन्ने चिन्ताले येसुलाई असाध्यै सताएको छ। तर यहोवा आफ्नो छोराको प्रार्थना सुन्दै हुनुहुन्छ। त्यसैले आफ्नो छोरालाई बलियो पार्न उहाँ एक जना स्वर्गदूत पठाउनुहुन्छ। तैपनि येसु आफ्नो बुबालाई बिन्ती गर्न छोड्नुहुन्न; उहाँ ‘झन् व्यग्रतासाथ प्रार्थना गरिरहनुहुन्छ।’ उहाँलाई भावनात्मक रूपमा असाध्यै तनाव भइरहेको छ। येसुको काँधमा कत्ति ठूलो जिम्मेवारी! उहाँको जीवन र उहाँमाथि विश्वास गर्नेहरूको जीवन उहाँमै निर्भर छ। वास्तवमा ‘उहाँको पसिना रगतको थोपासरी भुईँमा खसिरहेको छ।’—लुका २२:४४.
येसु तेस्रो पटक प्रेषितहरूकहाँ फर्कँदा उहाँले तिनीहरू फेरि पनि निदाइरहेको भेट्टाउनुहुन्छ। त्यसैले उहाँ तिनीहरूलाई यसो भन्नुहुन्छ: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! हेर, मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिने बेला नजिकै आइपुगेको छ। उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”—मत्ति २६:४५, ४६.
-
-
ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२४
ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ
मत्ति २६:४७-५६ मर्कुस १४:४३-५२ लुका २२:४७-५३ युहन्ना १८:२-१२
यहुदा येसुलाई बगैँचामा धोका दिन्छन्
पत्रुस एक जना मानिसको कान च्वाट्टै काटिदिन्छन्
येसुलाई पक्राउ गरिन्छ
मध्यरात भइसकेको छ। पुजारीहरू येसुलाई धोका दिएबापत यहुदालाई ३० टुक्रा चाँदी दिन सहमत भएका छन्। त्यसैले यहुदा मुख्य पुजारीहरू र फरिसीहरूको ठूलो जमात लिएर येसुलाई खोज्न निस्कन्छन्। तिनीहरूसँग हातहतियारले सुसज्जित रोमी सैनिकहरूको एउटा दल र त्यस दलको सेनापति पनि छन्।
निस्तार चाडको भोजपछि जब येसुले यहुदालाई त्यहाँबाट पठाइदिनुहुन्छ, तब तिनी सीधै मुख्य पुजारीहरूकहाँ गएका हुन सक्छन्। (युहन्ना १३:२७) तिनीहरूले आफ्ना पहरेदारहरू र सैनिकहरूको एउटा दल जम्मा गरे। यहुदाले सुरुमा उनीहरूलाई येसुले आफ्ना प्रेषितहरूसित निस्तार चाड मनाउनुभएको कोठामा लगेको हुनुपर्छ। तर अहिले त्यो जमातले किद्रोन बेँसी पार गरिसकेको छ र उनीहरू गेत्समनीको बगैँचातर्फ जाँदै छन्। उनीहरूले हातहतियारको साथै राँको र बत्ती बोकेका छन् र उनीहरू येसुलाई जसरी भए पनि भेट्टाउन चाहन्छन्।
यहुदा त्यस जमातलाई जैतुन डाँडातिर लैजाँदै छन्। तिनलाई यतिबेला येसु कहाँ हुनुहुन्छ भनेर राम्रोसँग थाह छ। बेथानीबाट यरुसलेम आउजाउ गर्दा येसु र उहाँका प्रेषितहरू आराम गर्न धेरै पटक गेत्समनीको बगैँचामा रोकिनुभएको थियो। तर अहिले रातको समय हो र सायद येसु बगैँचामा जैतुनका रूखहरूमुनि हुनुहुन्छ। त्यसोभए येसुलाई पहिला कहिल्यै नदेखेका सिपाहीहरूले उहाँलाई कसरी चिन्न सक्नेछन्? उनीहरूलाई मदत गर्न यहुदाले एउटा सङ्केत दिनेछन्। तिनी भन्छन्: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू र होसियारीसाथ लैजानू।”—मर्कुस १४:४४.
त्यस जमातलाई लिएर बगैँचामा पुगेपछि यहुदा येसुलाई प्रेषितहरूसँग बसिरहनुभएको देख्छन्। त्यसपछि तिनी सीधै येसुकहाँ गएर “प्रणाम, रब्बी!” भन्छन् र उहाँलाई चुम्बन गर्छन्। येसु तिनलाई यसो भन्नुहुन्छ: “मित्र, तिमी कुन उद्देश्य लिएर यहाँ आयौ?” (मत्ति २६:४९, ५०) आफ्नो प्रश्नको जवाफ आफै दिँदै येसु यसो भन्नुहुन्छ: “यहुदा, के तिमी मानिसको छोरालाई चुम्बन गरेर उसलाई धोका दिँदै छौ?” (लुका २२:४८) अब येसुलाई त्यस धोकेबाजको कुनै मतलब छैन!
राँको र बत्तीको उज्यालोमा अघि सर्दै येसु यस्तो प्रश्न सोध्नुहुन्छ: “तिमीहरू कसलाई खोज्दै छौ?” त्यस जमातबाट “नासरी येसुलाई” भन्ने जवाफ आउँछ। तब येसु साहसी हुँदै यसो भन्नुहुन्छ: “त्यो मै हुँ।” (युहन्ना १८:४, ५) ती मानिसहरू अकमक्क पर्छन् र भुईँमा लड्छन्।
रातको मौकामा त्यहाँबाट भाग्नुको सट्टा येसु तिनीहरूले कसलाई खोज्दै छन् भनेर फेरि सोध्नुहुन्छ। तिनीहरूले फेरि पनि “नासरी येसुलाई” भनेर जवाफ दिँदा उहाँ शान्तपूर्वक यसो भन्नुहुन्छ: “त्यो मै हुँ भनेर मैले भनिहालेँ नि। यदि तिमीहरूले मलाई नै खोजिरहेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।” यस्तो कठिन घडीमा समेत येसु आफूले चेलाहरूमध्ये एक जना पनि गुमाउनेछैनँ भनेर पहिला पनि भनेको कुरा सम्झनुहुन्छ। (युहन्ना ६:३९; १७:१२) येसुले आफ्ना वफादार प्रेषितहरूको रक्षा गरिरहनुभएको छ र उहाँले “विनाशको छोरा” यहुदाबाहेक अरू कोही पनि गुमाउनुभएको छैन। (युहन्ना १८:७-९) त्यसैले उहाँ आफ्ना वफादार अनुयायीहरूलाई जान दिन आग्रह गर्नुहुन्छ।
ती सिपाहीहरू भुईँबाट उठेर येसु भएतिर आउँदा प्रेषितहरूले अब के हुन लागेको हो भनेर थाह पाउँछन्। “प्रभु, के हामी तरबारले हानौँ?” भनेर तिनीहरू सोध्छन्। (लुका २२:४९) येसुले जवाफ दिनुअघि नै पत्रुस आफूहरूसित भएको दुइटा तरबारमध्ये एउटा थुत्छन्। तिनी प्रधानपुजारीको दास माल्कसलाई आक्रमण गर्छन् र उनको दायाँ कान च्वाट्टै काटिदिन्छन्।
येसु माल्कसको कान छोएर निको पारिदिनुहुन्छ। त्यसपछि उहाँ पत्रुसलाई यस्तो आज्ञा दिँदै एउटा महत्त्वपूर्ण पाठ सिकाउनुहुन्छ: “तिम्रो तरबार म्यानमै राख किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्।” येसु पक्राउ पर्न तयार हुनुहुन्छ। आफू पक्राउ नपरेमा “धर्मशास्त्रमा यस्तै हुनेछ भनेर बताइएको कुरा कसरी पूरा हुन्छ र?” भनी उहाँ भन्नुहुन्छ। (मत्ति २६:५२, ५४) उहाँ यसो पनि भन्नुहुन्छ: “बुबाले मलाई दिनुभएको कचौराबाट के मैले पिउनुपर्दैन र?” (युहन्ना १८:११) आफू मर्नु परे पनि बुबाले आफ्नो लागि राख्नुभएको इच्छासित येसु सहमत हुनुहुन्छ।
येसु त्यस जमातलाई सोध्नुहुन्छ: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथेँ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। तर भविष्यवक्ताहरूले लेखेका कुरा पूरा होऊन् भनेर यी सब भएका हुन्।”—मत्ति २६:५५, ५६.
त्यसपछि सैनिकहरूको दल, सेनापति र यहुदीहरूका पहरेदारहरूले येसुलाई पक्रेर बाँध्छन्। तर “एक जना जवान मानिस,” जो चेला मर्कुस हुन सक्छ, ऊ त्यस भीडसँगै येसुको पछि लाग्छ। (मर्कुस १४:५१) त्यस जवान मानिसलाई भीडले चिन्छ र उसलाई पक्रन खोज्छ। तर ऊ आफूले ओढेको मलमलको कपडा छोडेर भाग्छ।
-
-
येसुलाई पहिला हन्नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२५
येसुलाई पहिला हन्नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
मत्ति २६:५७-६८ मर्कुस १४:५३-६५ लुका २२:५४, ६३-६५ युहन्ना १८:१३, १४, १९-२४
येसुलाई भूतपूर्व प्रधानपुजारी हन्नासकहाँ लगिन्छ
यहुदी न्यायपरिषद्ले गरेको गैर-कानुनी पुर्पक्ष
येसुलाई अपराधीलाई जस्तै बाँधेर हन्नासकहाँ लगिन्छ। येसु ठिटो छँदा उहाँको कुरा सुनेर मन्दिरका शिक्षकहरू छक्क परेको समयमा हन्नास प्रधानपुजारी थिए। (लुका २:४२, ४७) पछि हन्नासका केही छोराले प्रधानपुजारीको रूपमा सेवा गरे र अहिलेचाहिँ त्यस पदमा तिनको ज्वाइँ कैयाफा छन्।
हन्नासले येसुलाई केरकार गरिरहेको बेला कैयाफाले यहुदी न्यायपरिषद्का सदस्यहरूलाई भेला गर्ने समय पाउँछन्। जम्मा ७१ जना सदस्य भएको यो परिषद्मा प्रधानपुजारी र भूतपूर्व प्रधानपुजारीहरू पनि छन्।
हन्नास येसुलाई “उहाँका चेलाहरू अनि उहाँका शिक्षाहरूबारे” केरकार गर्छन्। तर येसु केवल यति भन्नुहुन्छ: “मैले मानिसहरूसामु खुल्लमखुल्ला बोलेँ। मैले सधैँ सभाघर अनि मन्दिरमा सिकाएँ, जहाँ सबै यहुदी भेला हुन्छन्। मैले कुनै कुरा गुप्तमा बोलिनँ। तैपनि तपाईँ मलाई किन केरकार गर्नुहुन्छ? गएर तिनीहरूलाई नै सोध्नुहोस्, जसले मेरा कुराहरू सुनेका छन्।”—युहन्ना १८:१९-२१.
त्यहाँ उभिरहेको एक जना पहरेदारले येसुलाई एक थप्पड हिर्काउँछ र यसो भन्छ: “मुख्य पुजारीलाई जवाफ दिने तरिका यही हो?” तर येसुलाई आफूले कुनै गल्ती गरेको छैन भनेर थाह छ। त्यसैले उहाँ भन्नुहुन्छ: “यदि मैले गलत कुरा गरेको हुँ भने मेरो गल्ती देखाइदेऊ; यदि सही कुरा गरेको हुँ भने तिमी मलाई किन त्यसै थप्पड हिर्काउँछौ?” (युहन्ना १८:२२, २३) त्यसपछि हन्नासले येसुलाई आफ्ना ज्वाइँ कैयाफाकहाँ पठाइदिन्छन्।
यतिन्जेल यहुदी न्यायपरिषद्का सबै सदस्य—अहिलेको प्रधानपुजारी, धर्मगुरुहरू र शास्त्रीहरू भेला भइसकेका छन्। तिनीहरू कैयाफाको घरमा जम्मा हुन्छन्। निस्तार चाडको रातमा कसैको पुर्पक्ष गर्नु गैर-कानुनी काम हो तैपनि तिनीहरू आफ्नो दुष्ट उद्देश्य पूरा गर्नदेखि पछि हट्दैनन्।
यो समूहले निष्पक्ष फैसला सुनाउने आस गर्न सकिँदैन। येसुले लाजरसलाई मृत्युबाट जीवित पार्नुभएपछि यहुदी न्यायपरिषद्ले उहाँलाई मार्ने निर्णय गरेको थियो। (युहन्ना ११:४७-५३) अनि केही दिनअघि मात्र मुख्य पुजारीहरू र धर्मगुरुहरूले येसुलाई पक्रेर मार्ने मतो गरेका थिए। (मत्ति २६:३, ४) हो, पुर्पक्ष सुरु हुनुअघि नै तिनीहरूले येसुलाई मृत्युदण्डको योग्य ठहराइसकेका छन्।
मुख्य पुजारीहरू र यस परिषद्का अरू सदस्यहरू पुर्पक्षको लागि यसरी गैर-कानुनी रूपमा भेला हुनुका साथै येसुविरुद्धको मुद्दालाई अझ बलियो बनाउन झूटो गवाही दिने साक्षीहरू खोज्न थाल्छन्। तिनीहरू येसुको विरुद्धमा झूटो गवाही दिन तयार थुप्रै साक्षी भेट्टाउँछन् तर उनीहरूको गवाही आपसमा बाझिन्छ। अन्तमा दुई जना साक्षी अगाडि आउँछन् र यस्तो बयान दिन्छन्: “यसले यसो भनेको हामीले सुन्यौँ, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’” (मर्कुस १४:५८) तर उनीहरूको कुरा पनि आपसमा बाझिन्छ।
कैयाफा येसुलाई यस्तो प्रश्न गर्छन्: “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदै छन्, त्यसबारे तँ के भन्छस्?” (मर्कुस १४:६०) ती साक्षीहरूले उहाँविरुद्ध आपसमा बाझिने झूटो गवाही दिइरहे तापनि येसु भने चुप लागेर सुनिरहनुभएको छ। त्यसैले प्रधानपुजारी कैयाफा अर्को जुक्ति निकाल्छन्।
कसैले आफू परमेश्वरको छोरा भएको दाबी गरेमा यहुदीहरू चिढिन्छन् भनेर कैयाफालाई थाह छ। पहिला एकचोटि येसुले परमेश्वरलाई आफ्नो बुबा भन्नुहुँदा यहुदीहरूले उहाँलाई मार्न खोजेका थिए किनकि तिनीहरूको विचारमा येसुले आफूलाई “परमेश्वरको बराबर . . . बनाइरहनुभएको थियो।” (युहन्ना ५:१७, १८; १०:३१-३९) यहुदीहरूको भावना बुझेकोले कैयाफा धुर्त्याइँका साथ येसुलाई यस्तो प्रश्न गर्छन्: “म तँलाई जीवित परमेश्वरको कसम खान लगाउँछु, हामीलाई भन्, के तँ परमेश्वरको छोरा ख्रिष्ट होस्?” (मत्ति २६:६३) येसुले आफू परमेश्वरको छोरा हुँ भनेर पहिल्यै बताइसक्नुभएको छ। (युहन्ना ३:१८; ५:२५; ११:४) यतिबेला उहाँले केही जवाफ दिनुभएन भने उहाँले आफू परमेश्वरको छोरा र ख्रिष्ट हुँ भन्ने कुरालाई अस्वीकार गरिरहनुभएको जस्तो देखिनेछ। त्यसैले येसु भन्नुहुन्छ: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”—मर्कुस १४:६२.
येसुको जवाफ सुनेपछि कैयाफा नाटकीय ढङ्गमा आफ्नो लुगा च्यात्दै यसो भन्छन्: “यसले परमेश्वरको निन्दा गरेको छ! अब हामीलाई अरू साक्षी किन चाहियो र?” त्यसपछि यहुदी न्यायपरिषद्ले यस्तो अन्यायपूर्ण फैसला सुनाउँछ: “यो मानिस मारिन लायकको छ।”—मत्ति २६:६५, ६६.
त्यसपछि तिनीहरू येसुलाई गिल्ला गर्न थाल्छन् र मुड्कीले हिर्काउँछन्। अरूले चाहिँ उहाँलाई चड्कन हान्छन् र उहाँको अनुहारमा थुक्छन्। त्यसपछि उहाँको अनुहार छोपेर उहाँलाई हिर्काउँदै यसो भन्छन्: “लौ भविष्यवाणी गर्, तँलाई हिर्काउने को हो?” (लुका २२:६४) यसरी गैर-कानुनी रूपमा रातको समयमा गरिएको पुर्पक्षमा परमेश्वरको छोरालाई घोर दुर्व्यवहार गरिन्छ!
-
-
पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२६
पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्
मत्ति २६:६९-७५ मर्कुस १४:६६-७२ लुका २२:५४-६२ युहन्ना १८:१५-१८, २५-२७
पत्रुस येसुलाई तिरस्कार गर्छन्
गेत्समनीको बगैँचामा येसु पक्राउ पर्नुभएपछि प्रेषितहरू डराउँछन् र उहाँलाई छोडेर भाग्छन्। तर दुई जनाचाहिँ बीचमै रोकिन्छन्। तिनीहरूमध्ये एक जना पत्रुस हुन् अनि “अर्को एक जना चेला”-चाहिँ प्रेषित युहन्ना हुन सक्छन्। (युहन्ना १८:१५; १९:३५; २१:२४) उनीहरूले येसुलाई हन्नासकहाँ लैजाँदै गर्दा भेटेका हुन सक्छन्। अनि हन्नासले येसुलाई प्रधानपुजारी कैयाफाकहाँ पठाउँदा पत्रुस र युहन्ना टाढैबाट उहाँको पछिपछि लाग्छन्। एकातिर उनीहरूलाई आफ्नो ज्यानको माया लागिरहेको छ भने अर्कोतिर आफ्नो मालिकलाई के हुने होला भनेर चिन्ता पनि लागिरहेको छ।
युहन्नाको प्रधानपुजारीसित चिनापर्ची छ। त्यसैले तिनी कैयाफाको घरको चोकसम्म जान पाउँछन्। पत्रुसचाहिँ बाहिर ढोकामै उभिरहन्छन्। युहन्ना आएर ढोकेको काम गरिरहेकी नोकर्नीसँग कुरा गरेपछि पत्रुस पनि भित्र पस्न पाउँछन्।
राती जाडो भएकोले चोकमा भएकाहरू दाउरा बालेर आगो तापिरहेका छन्। पत्रुस पनि येसुलाई “के हुँदो रहेछ” भनेर हेर्न तिनीहरूसँगै आगो तापेर बस्छन्। (मत्ति २६:५८) पत्रुसलाई भित्र छिर्न दिएकी त्यस ढोकेले तिनलाई आगोको उज्यालोमा राम्ररी देख्छे अनि तिनलाई सोध्छे: “तपाईँ पनि त्यस मानिसकै चेला हुनुहुन्छ जस्तो छ, होइन र?” (युहन्ना १८:१७) तर उसले मात्र होइन, अरूले पनि पत्रुसलाई चिन्छन् र तिनी येसुसँगै थिए भन्न थाल्छन्।—मत्ति २६:६९, ७१-७३; मर्कुस १४:७०.
पत्रुसलाई असाध्यै डर लाग्छ। आफूतर्फ अरूको ध्यान खिच्न नचाहेकोले तिनी निस्केर मूलढोकातिर जान्छन्। पत्रुस आफू येसुसँग भएको कुरा नकार्दै एक पटक यसो समेत भन्छन्: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” (मर्कुस १४:६७, ६८) तिनी ‘आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस् भनेर कसम खान्छन्।’ यसको मतलब तिनी आफूले भनेको कुरा सत्य हो र यदि त्यो झूटो ठहरियो भने आफू विपत्ति भोग्न तयार छु भनेर शपथ खानसमेत राजी हुन्छन्।—मत्ति २६:७४.
यतिबेला सम्भवतः कैयाफाको घरको चोकमाथिको कुनै भागमा येसुको पुर्पक्ष चलिरहेको छ। तल चोकमा फैसला कुरेर बसिरहेका पत्रुस र अरूले येसुको विरुद्धमा गवाही दिन बोलाइएका साक्षीहरू आउजाउ गरेको देखेका हुन सक्छन्।
पत्रुसको गालिली लबजले गर्दा मानिसहरू तिनी झूट बोल्दै छन् भनेर थाह पाउँछन्। साथै, पत्रुसले कान काटिदिएको माल्कसको एक जना नातेदार पनि त्यहीँ छ। ऊ यसो भन्छ: “मैले तपाईँलाई उहाँसित बगैँचामा देखेको होइन र?” जब पत्रुसले यतिबेला तेस्रो पटक येसुलाई तिरस्कार गर्छन्, तब येसुले भन्नुभएअनुसारै भाले बास्छ।—युहन्ना १३:३८; १८:२६, २७.
यतिबेला येसु चोकमाथिको बार्दलीमा हुनुहुन्छ जस्तो देखिन्छ। प्रभुले फर्केर सीधै पत्रुसलाई हेर्नुहुन्छ। पत्रुसको मन कत्ति छियाछिया भयो होला! केही घण्टाअघि मात्र येसुले माथिल्लो तलाको कोठामा भन्नुभएको कुरा पत्रुस सम्झन्छन्। आफूले येसुलाई तिरस्कार गरेको कुरा महसुस गर्दा पत्रुसलाई कत्ति नमीठो लाग्यो होला, कल्पना गर्नुहोस् त! पत्रुस बाहिर निस्केर धुरुधुरु रुन्छन्।—लुका २२:६१, ६२.
आफू आध्यात्मिक रूपमा बलियो छु र येसुप्रति वफादार छु भन्ने कुरामा विश्वस्त भएका पत्रुस कसरी आफ्नो मालिकलाई तिरस्कार गर्न पुग्छन्? यतिबेला पत्रुस परिस्थितिको वशमा परेका छन्। सत्यलाई बङ्ग्याइएको छ र येसुलाई एक जना खुँखार अपराधीको संज्ञा दिइएको छ। चाहेको भए पत्रुस आफ्नो निर्दोष मालिकको पक्षमा खडा हुन सक्थे। तर तिनले जससित “अनन्त जीवनका वचनहरू” छन्, उहाँलाई नै आफ्नो पिठ्यूँ फर्काए।—युहन्ना ६:६८.
आशै नगरेको परीक्षा वा प्रलोभन आउँदा परमेश्वरलाई विश्वास गर्ने र उहाँको भक्ति गर्ने मानिसले समेत आफ्नो सन्तुलन गुमाउन सक्छन् भन्ने कुरा पत्रुसको यस्तो मार्मिक अनुभवबाट प्रस्ट हुन्छ। पत्रुसको उदाहरणलाई परमेश्वरका सबै सेवकले चेतावनीको रूपमा लिनुपर्छ!
-