-
यहुदी न्यायपरिषद्ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२७
यहुदी न्यायपरिषद्ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छ
मत्ति २७:१-११ मर्कुस १५:१ लुका २२:६६–२३:३ युहन्ना १८:२८-३५
यहुदी न्यायपरिषद्सामु बिहान गरिएको पुर्पक्ष
यहुदा इस्करियोत रूखमा झुन्डिएर आत्महत्या गर्छन्
येसुलाई दोषी ठहराउन पिलातसकहाँ पठाइन्छ
पत्रुसले येसुलाई तेस्रो पटक तिरस्कार गर्दा रात बित्नै लागेको छ। यहुदी न्यायपरिषद्का सदस्यहरू तिनीहरूको नक्कली पुर्पक्ष सिद्ध्याएर आ-आफ्नो बाटो लागिसकेका छन्। शुक्रबार बिहान झिसमिसेमै तिनीहरू फेरि भेला हुन्छन्; राती गरिएको गैर-कानुनी पुर्पक्षलाई केही हदसम्म भए पनि कानुनी रूप दिन सायद तिनीहरू त्यसो गर्छन्। येसुलाई फेरि तिनीहरूको अगाडि उभ्याइन्छ।
तिनीहरू फेरि पनि येसुलाई यसो भन्छन्: “तँ ख्रिष्ट होस् भने हामीलाई भन्।” येसु भन्नुहुन्छ: “मैले बताएँ भने पनि तपाईँहरूले पटक्कै पत्याउनुहुनेछैन। अनि मैले प्रश्न सोधेँ भने तपाईँहरूले त्यसको पटक्कै जवाफ दिनुहुनेछैन।” तर येसु साहसी हुँदै दानिएल ७:१३ मा भविष्यवाणी गरिएको आफ्नो चिनारी दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “अबउसो मानिसको छोरा परमेश्वरको शक्तिशाली दाहिने हाततर्फ बसिरहेको हुनेछ।”—लुका २२:६७-६९; मत्ति २६:६३.
तिनीहरू अझै भन्छन्: “त्यसोभए के तँ परमेश्वरको छोरा होस्?” येसु यस्तो जवाफ दिनुहुन्छ: “म हुँ भनेर तपाईँहरू आफै भन्दै हुनुहुन्छ।” येसुलाई ईश्वरनिन्दाको आरोपमा मृत्युदण्ड दिन यो प्रमाण नै काफी छ जस्तो देखिन्छ। तिनीहरू भन्छन्: “हामीलाई अरू साक्षी किन चाहियो र?” (लुका २२:७०, ७१; मर्कुस १४:६४) त्यसैले तिनीहरू येसुलाई बाँधेर रोमी राज्यपाल पन्तियस पिलातसकहाँ लैजान्छन्।
यहुदा इस्करियोतले येसुलाई पिलातसकहाँ लगिँदै गरेको देखेका हुन सक्छन्। येसुलाई दोषी ठहराइएको थाह पाएपछि तिनलाई केही हदसम्म पछुतो लाग्छ। तर साँचो पश्चात्ताप गरेर परमेश्वरतर्फ फर्कनुको साटो तिनी ३० टुक्रा चाँदी फिर्ता गर्न जान्छन्। यहुदा मुख्य पुजारीहरूलाई भन्छन्: “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेँ।” तर तिनीहरू तिनलाई यस्तो कठोर जवाफ दिन्छन्: “हामीलाई के मतलब? तिम्रो कुरा तिमी आफै जान!”—मत्ति २७:४.
यहुदा त्यो ३० टुक्रा चाँदी मन्दिरमा लगेर फ्याँक्छन् अनि आत्महत्या गर्न खोजेर आफ्नो गल्तीमाथि गल्ती थप्छन्। तिनले रूखमा झुन्डिएर आत्महत्या गर्न लाग्दा सायद तिनले डोरी बाँधेको हाँगा भाँचिन्छ। तिनी भुईँमा खसेर चट्टानमा बजारिन्छन् र तिनको भुँडी फुट्छ।—प्रेषित १:१७, १८.
यसै बिहान येसुलाई पन्तियस पिलातसको महलमा लगिन्छ तर उहाँलाई त्यहाँ लैजाने यहुदीहरू भने भित्र जान मान्दैनन्। उनीहरूको विचारमा यसरी अन्यजातिकहाँ जाँदा आफू अशुद्ध होइन्छ। अशुद्ध भएमा उनीहरू अखमिरा रोटीको चाडको पहिलो दिन, नीसान १५ मा भोजन गर्न अयोग्य हुन्छन्। अखमिरा रोटीको चाडलाई पनि निस्तार चाडकै भागको रूपमा लिइन्छ।
पिलातस बाहिर आएर सोध्छन्: “तिमीहरूले के आरोपमा यस मानिसलाई मकहाँ ल्यायौ?” उनीहरू जवाफ दिन्छन्: “यदि यस मानिसले केही गल्ती नगरेको भए हामी यसलाई तपाईँको हातमा सुम्पने नै थिएनौँ।” उनीहरूले दबाब दिन खोजेजस्तो पिलातसलाई लाग्छ। त्यसैले तिनी भन्छन्: “तिमीहरू आफै यसलाई लगेर आफ्नो व्यवस्थाबमोजिम न्याय गर।” यहुदीहरूको यस जवाफमा उनीहरू येसुलाई मार्न चाहन्छन् भनेर देखिन्छ: “हामीसित कसैलाई मार्ने अधिकार छैन।”—युहन्ना १८:२९-३१.
वास्तवमा उनीहरूले निस्तार चाडको समयमा येसुको हत्या गरेमा आम जनतामा ठूलो खलबल मच्चिन सक्छ। तर येसुलाई रोमी सरकारविरुद्ध अपराध गरेको आरोपमा तिनीहरूकै हातबाट मृत्युदण्ड दिन सकिएमा ती यहुदीहरू मानिसहरूसामु जिम्मेवार हुनेछैनन्। अनि रोमीहरूसँग त्यस्तो अपराध गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने अधिकार पनि छ।
यहुदी धर्मगुरुहरू येसुलाई ईश्वरनिन्दाको आरोपमा दोषी ठहराइएको हो भनेर पिलातसलाई बताउँदैनन्। बरु उनीहरू येसुलाई अरू नै आरोप लगाउँछन्: “यस मानिसले [१] हाम्रो जातिलाई भड्काइरहेको, [२] सिजरलाई कर तिर्न रोकिरहेको अनि [३] आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको हामीले फेला पाऱ्यौँ।”—लुका २३:२.
पिलातस रोमको प्रतिनिधि भएकोले तिनलाई येसुले आफू राजा हुँ भन्नुभयो भनी यहुदीहरूले लगाएको आरोपमा चासो छ। त्यसैले पिलातस महलभित्र जान्छन् अनि येसुलाई बोलाएर सोध्छन्: “के तिमी यहुदीहरूका राजा हौ?” अर्को शब्दमा भन्ने हो भने ‘सिजर हुँदाहुँदै आफैलाई राजा घोषणा गरेर तिमीले यो साम्राज्यको कानुन त तोडिरहेका छैनौँ?’ येसु पिलातसले आफ्नो विषयमा कतिसम्म सुनेका रहेछन् भनेर थाह पाउन तिनलाई यसरी सोध्नुहुन्छ: “तपाईँ आफैलाई त्यस्तो लागेर सोध्नुभएको हो वा अरूले मेरो विषयमा भनेको कुरा सुन्नुभएर?”—युहन्ना १८:३३, ३४.
पिलातस येसुबारे आफूलाई केही थाह नभएको तर तथ्य कुरा थाह पाउन चाहेको कुरा बताउँछन्। तिनी भन्छन्: “के म यहुदी हुँ र?” तिनी यसो पनि भन्छन्: “तिम्रो आफ्नै जाति अनि मुख्य पुजारीहरूले तिमीलाई मेरो हातमा सुम्पेका हुन्। भन, तिमीले के गऱ्यौ?”—युहन्ना १८:३५.
येसु विवादको मुख्य विषय—राज्यशासनलाई पन्छ्याउन खोज्नुहुन्न। उहाँले दिनुभएको जवाफ सुनेर राज्यपाल पिलातस पक्कै पनि छक्क पर्छन्।
-
-
पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन्येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२८
पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन्
मत्ति २७:१२-१४, १८, १९ मर्कुस १५:२-५ लुका २३:४-१६ युहन्ना १८:३६-३८
पिलातस र हेरोद येसुलाई लगाइएको आरोपको छानबिन गर्छन्
येसु आफू राजा हुँ भन्ने कुरा पिलातसबाट लुकाउन खोज्नुहुन्न। तर उहाँको राज्य रोमको लागि कुनै खतरा होइन। येसु भन्नुहुन्छ: “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए। तर वास्तवमा मेरो राज्य यस संसारको होइन।” (युहन्ना १८:३६) हो, येसुको राज्य छ तर उहाँको राज्य यस संसारको होइन।
तर पिलातस यो मामिला यत्तिकैमा टुङ्ग्याउँदैनन्। तिनी सोध्छन्: “उसोभए के तिमी राजा नै हौ त?” पिलातस सही निष्कर्षमा पुगेका छन् भन्ने कुरा थाह दिन येसु यस्तो जवाफ दिनुहुन्छ: “म राजा हुँ भनेर तपाईँ आफै भन्दै हुनुहुन्छ। सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ। सत्यको पक्षमा हुनेजति सबैले मेरो स्वर सुन्छन्।”—युहन्ना १८:३७.
येसुले पहिला थोमालाई पनि यसो भन्नुभएको थियो: “बाटो, सत्य र जीवन मै हुँ।” अब येसु पिलातसलाई पनि आफूलाई पृथ्वीमा “सत्य”-को, विशेषगरि परमेश्वरको राज्यबारे सत्य कुराको साक्षी दिन पठाइएको हो भन्नुहुन्छ। येसु यो सत्यको पक्षमा बोलिरहन दृढ हुनुहुन्छ, चाहे त्यसको लागि आफ्नो ज्यानै गुमाउन किन नपरोस्। पिलातस “के हो सत्य?” भनेर सोध्छन् तर जवाफ भने कुर्दैनन्। येसुको न्याय गर्न आफूले अहिलेसम्म सुनेको कुरा नै पर्याप्त छ जस्तो तिनलाई लाग्छ।—युहन्ना १४:६; १८:३८.
पिलातस फेरि महलबाहिर पर्खिरहेको भीडकहाँ फर्कन्छन्। तिनले मुख्य पुजारीहरू र उनीहरूसँगै भएकाहरूलाई यसो भन्दा येसु पनि तिनको छेवैमा उभिरहनुभएको हुनुपर्छ: “मैले यस मानिसमा केही अपराध फेला पारिनँ।” यो सुनेर भीड रिसाउँछ र यसो भन्दै जिद्दी गर्न थाल्छ: “यसले आफ्नो शिक्षाद्वारा यहुदियाभरि नै, गालिलदेखि यहाँसम्मका सबै मानिसलाई उक्साइरहेको छ।”—लुका २३:४, ५.
यहुदीहरूले कुनै ठोस आधारविना यस्तो रडाको मच्चाइरहेको देखेर पिलातस छक्क पर्छन्। मुख्य पुजारीहरू र धर्मगुरुहरू कराइरहँदा पिलातस येसुलाई सोध्छन्: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदै छन्, के तिमीले सुनेनौ?” (मत्ति २७:१३) तर येसु केही जवाफ दिनुहुन्न। यहुदीहरूले यसरी आधारहीन आरोपहरू लगाइरहेको भए तापनि येसु भने केही नबोली बसिरहनुभएको देखेर पिलातस छक्क पर्छन्।
येसुले मानिसहरूलाई “गालिलदेखि” उक्साउन थालेको हो भनेर यहुदीहरू बताउँछन्। यो सुनेर पिलातसले येसु वास्तवमा एक जना गालिली रहेछन् भनेर थाह पाउँछन्। यसबाट पिलातसले येसुको न्याय गर्ने जिम्मेवारीबाट फुत्कन सकिने एउटा उपाय भेट्टाउँछन्। यतिबेला गालिलका शासक हेरोद एन्टिपास (महान् हेरोदका छोरा) हुन् र यो निस्तार चाडको समय भएकोले तिनी यरुसलेममै छन्। त्यसैले पिलातस येसुलाई हेरोदकहाँ पठाउँछन्। हेरोद एन्टिपासले नै बप्तिस्मा गराउने युहन्नाको टाउको काट्न लगाएका थिए। येसुले चमत्कारहरू गर्दै हुनुहुन्छ भन्ने सुनेपछि हेरोदलाई येसु मृत्युबाट ब्युँतेर आएका युहन्ना हुन् कि भनेर चिन्ता लागेको थियो।—लुका ९:७-९.
हेरोद येसुलाई भेट्न पाउने कुरा थाह पाउँदा असाध्यै खुसी हुन्छन्। तर येसुलाई मदत गर्न चाहेकोले वा उहाँमाथि लगाइएका आरोपहरू सही हुन् वा गलत हुन् भनेर पत्ता लगाउन चाहेकोले त होइन। हेरोद ‘उहाँले केही चमत्कार गर्नुभएको हेर्ने आशा गरिरहेका छन्।’ (लुका २३:८) त्यसैले तिनी उहाँलाई भेट्न उत्सुक छन्। तर येसु हेरोदको कौतूहलता मेटाउनुहुन्न। वास्तवमा हेरोदले प्रश्न गर्दा येसु एक शब्द बोल्नुहुन्न। यसले गर्दा हिस्स परेका हेरोद र तिनका सैनिकहरू उहाँको ‘बेइज्जत गर्छन्।’ (लुका २३:११) तिनीहरू उहाँलाई दामी लुगा लगाइदिन्छन् र उहाँको खिल्ली उडाउँछन्। त्यसपछि हेरोद येसुलाई फेरि पिलातसकहाँ नै पठाइदिन्छन्। हेरोद र पिलातस पहिला शत्रु थिए तर अब भने घनिष्ठ मित्र हुन्छन्।
येसु फर्कनुभएपछि पिलातस मुख्य पुजारीहरू, यहुदी शासकहरू र अरू मानिसहरूलाई बोलाएर यसो भन्छन्: “मैले तिमीहरूकै सामुन्ने उसको छानबिन गरेँ तर तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ। वास्तवमा हेरोदले पनि फेला पारेनन्। त्यसैले त तिनले उसलाई हामीकहाँ फिर्ता पठाए। हेर, उसले मृत्युदण्ड पाउनुपर्ने केही काम गरेको छैन। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”—लुका २३:१४-१६.
पिलातस येसुलाई मुक्त गर्न चाहन्छन् किनकि पुजारीहरूले ईर्ष्याले जलेर उहाँलाई आफूकहाँ सुम्पेका हुन् भनेर तिनलाई थाह छ। येसुलाई मुक्त गर्न खोजिरहेकै बेला पिलातसले त्यसो गर्ने अर्को ठोस कारण पनि पाउँछन्। तिनी न्यायआसनमा बसिरहेको बेला तिनकी पत्नीले यस्तो खबर पठाउँछिन्: “त्यस धर्मी मानिसलाई केही नगर्नुहोस्। किनकि उसको कारण डरलाग्दो सपना देखेकोले [परमेश्वरले देखाउनुभएको हुन सक्छ] आज मलाई निकै गाह्रो भयो।”—मत्ति २७:१९.
पिलातस निर्दोष येसुलाई मुक्त गर्न चाहन्छन् तर मुक्त गर्ने कसरी?
-
-
पिलातस भन्छन्: “हेर, यो मानिस!”येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १२९
पिलातस भन्छन्: “हेर, यो मानिस!”
मत्ति २७:१५-१७, २०-३० मर्कुस १५:६-१९ लुका २३:१८-२५ युहन्ना १८:३९–१९:५
पिलातस येसुलाई मुक्त गर्ने प्रयास गर्छन्
यहुदीहरू बरब्बालाई मुक्त गरिदिन भन्छन्
येसुलाई गिज्याउँछन् र दुर्व्यवहार गर्छन्
येसुलाई मृत्युदण्ड दिन चाहने भीडलाई पिलातसले यसो भने: “तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ। वास्तवमा हेरोदले पनि फेला पारेनन्।” (लुका २३:१४, १५) अब येसुलाई जोगाउने प्रयासमा पिलातस अर्को तरिका अपनाउँछन्। तिनी भन्छन्: “निस्तार चाडको बेला मैले एक जना मानिसलाई मुक्त गर्नुपर्ने तिमीहरूको चलन छ। त्यसोभए के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्त गरिदिएको चाहन्छौ?”—युहन्ना १८:३९.
पिलातसलाई बरब्बा नाम गरेका एक जना कैदीबारे थाह छ। ऊ डाँकु, राजद्रोही र हत्यारा भनेर चिनिन्छ। त्यसैले पिलातस भीडलाई सोध्छन्: “तिमीहरू के चाहन्छौ, म बरब्बालाई मुक्त गरिदिऊँ कि ख्रिष्ट भनिने येसुलाई?” मुख्य पुजारीहरूको लहलहैमा लागेर मानिसहरू येसुलाई नभई बरब्बालाई मुक्त गरिदिन भन्छन्। पिलातस फेरि पनि सोध्छन्: “मैले यी दुईमध्ये कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरू “बरब्बालाई” भन्दै कराउँछन्।—मत्ति २७:१७, २१.
निराश हुँदै पिलातस यसो भन्छन्: “त्यसोभए ख्रिष्ट भनिने यस येसुलाई म के गरूँ त?” मानिसहरू यसो भन्दै चिच्याउँछन्: “त्यसलाई खम्बामा टाँग्नुहोस्!” (मत्ति २७:२२) निर्दोष मानिसको ज्यान लिने माग गर्नु कत्ति लाजमर्दो कुरा! पिलातस भीडलाई यसो भन्दै सम्झाउँछन्: “किन? यस मानिसले के खराब काम गऱ्यो र? उसले मृत्युदण्ड पाउनुपर्ने कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”—लुका २३:२२.
पिलातसले बारम्बार प्रयास गर्दा पनि त्यो क्रुद्ध भीड एकजुट भएर यसरी चिच्याउन थाल्छ: “त्यसलाई खम्बामा टाँग्नुहोस्!” (मत्ति २७:२३) धर्मगुरुहरूले भीडलाई यत्ति नराम्ररी भड्काएका छन् कि तिनीहरू रगतको प्यासी भएका छन्। हो, तिनीहरू कुनै अपराधी वा हत्याराको होइन, ती निर्दोष मानिसको ज्यान लिन चाहन्छन्, जसलाई पाँच दिनअघि यरुसलेममा राजाको रूपमा स्वागत गरिएको थियो। येसुका चेलाहरू त्यहीँ छन् भने पनि उनीहरू चुपचाप बस्छन्, कसैको ध्यान आफूतर्फ खिच्न चाहँदैनन्।
आफ्नो कोसिस सफल हुनुको सट्टा भीड झनै उत्तेजित हुन थालेको देखेर पिलातस पानी लिन्छन् अनि भीडले देख्नेगरि आफ्नो हात धुन्छन्। त्यसपछि यसो भन्छन्: “म यस मानिसको रगतको दोषबाट मुक्त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।” तर तिनीहरू अझै पनि चिच्याउन छोड्दैनन्। उल्टै यसो भन्छन्: “त्यसको रगतको दोष हामी र हाम्रा सन्तानमाथि आइपरोस्।”—मत्ति २७:२४, २५.
ती राज्यपाललाई सत्यतथ्य राम्ररी थाह छ। तर तिनी जे सही हो, त्यो गर्नभन्दा पनि त्यस भीडको चित्त बुझाउन खोज्छन्। त्यसैले तिनीहरूको मागअनुसारै तिनी बरब्बालाई मुक्त गरिदिन्छन्। तर येसुलाई भने उहाँको लुगा फुकालेर कोर्रा लगाउने आदेश दिन्छन्।
यसरी निर्ममतापूर्वक कोर्रा लगाएपछि सिपाहीहरू येसुलाई राज्यपालको महलमा लैजान्छन्। त्यहाँ सेनाको पूरै टुकडी भेला हुन्छ र उहाँलाई अझै दुर्व्यवहार गर्छ। तिनीहरू काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिन्छन्। साथै तिनीहरू उहाँको दाहिने हातमा नर्कट थमाइदिन्छन् अनि उहाँलाई राजघरानाका मानिसहरूले लगाउने जस्तो बैजनी रङ्गको लुगा लगाइदिन्छन्। त्यसपछि यसो भन्दै उहाँलाई गिज्याउँछन्: “हे यहुदीहरूका राजा, प्रणाम!” (मत्ति २७:२८, २९) यति मात्र नभई तिनीहरू उहाँलाई थुक्छन् र पटक-पटक थप्पड हान्छन्। अनि उहाँको हातबाट नर्कट खोसेर उहाँको शिरमा हिर्काउँछन्, जसले गर्दा उहाँको बेइज्जत गर्न लगाइदिएको “मुकुट”-का तीखा-तीखा काँडाहरू उहाँको शिरको छालामा भित्रसम्मै गड्छन्।
यस्तो दुर्व्यवहार भोग्नुपर्दा समेत येसु शान्त रहनुहुन्छ अनि उल्लेखनीय साहस र आत्मसंयम देखाउनुहुन्छ। यो देखेर पिलातस अत्यन्तै प्रभावित हुन्छन्। येसुको मृत्युको दोषी हुनदेखि जोगिने प्रयासस्वरूप तिनी फेरि एक पटक यसो भन्छन्: “हेर, मैले उसमा कुनै दोष भेटिनँ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।” चोटैचोट लागेको र रक्ताम्मे हुनुभएको येसुलाई भीडसामु ल्याउँदा उनीहरूको मनमा दया जाग्ला कि भन्ने पिलातसले सोचेको हुनुपर्छ। येसु त्यो निर्दयी भीडसामु उभिनुहुँदा पिलातस यसो भन्छन्: “हेर, यो मानिस!”—युहन्ना १९:४, ५.
कुटाइ खाएर चोटै चोटले भरिए तापनि येसु शान्त रहनुहुन्छ र उल्लेखनीय गुणहरू देखाउनुहुन्छ। यो कुरा पिलातसले समेत नकार्न सक्दैनन्। उहाँका शब्दहरूमा आदर र दयाको भाव स्पष्टै झल्किएको छ।
-
-
येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १३०
येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छ
मत्ति २७:३१, ३२ मर्कुस १५:२०, २१ लुका २३:२४-३१ युहन्ना १९:६-१७
पिलातस येसुलाई मुक्त गर्ने प्रयास गर्छन्
येसुलाई दोषी ठहराइन्छ र मृत्युदण्ड दिन लगिन्छ
येसुलाई घोर दुर्व्यवहार गरिँदा र उहाँको खिल्ली उडाइँदा पिलातस उहाँलाई मुक्त गर्न निकै प्रयास गर्छन्। तैपनि मुख्य पुजारीहरू र तिनीहरूका समर्थकहरू आफ्नो मागमा अडिग रहन्छन्। उनीहरू हरहालतमा येसुलाई मार्न चाहन्छन्। उनीहरू यसो भन्दै चिच्याइरहन्छन्: “त्यसलाई खम्बामा टाँग्नुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!” पिलातस यसो भन्छन्: “तिमीहरू आफै लगेर उसलाई मार किनकि म उसमा कुनै दोष भेट्टाउँदिनँ।”—युहन्ना १९:६.
यहुदीहरू येसुले रोमी सरकारको विरुद्धमा अपराध गरेको कुरा पिलातससामु प्रमाणित गर्न असफल हुन्छन्। तर ईश्वरनिन्दाको आरोप नि? यहुदी न्यायपरिषद्सामु येसुको पुर्पक्ष गरिँदा उहाँमाथि लगाइएको ईश्वरनिन्दाको आरोपलाई उनीहरू फेरि अगाडि सार्छन्। उनीहरू यसो भन्छन्: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ किनकि यसले आफू परमेश्वरको छोरा हुँ भन्ने दाबी गऱ्यो।” (युहन्ना १९:७) पिलातस यो आरोप पहिलो चोटि सुन्दै छन्।
तिनी फेरि महलभित्र जान्छन् अनि यहुदीहरूको हातबाट असाध्यै पीडा खपिसक्नुभएको येसुलाई मुक्त गर्ने अर्को कुनै तरिकाबारे सोच्न थाल्छन्। पिलातसको पत्नीले समेत उहाँबारे सपना देखेकी थिइन्। (मत्ति २७:१९) यो कैदीले आफू “परमेश्वरको छोरा” हुँ भनेर दाबी गर्दै छ भनी यहुदीहरूले लगाएको यो नयाँ आरोप सुनेर पिलातस अलमल्लमा पर्छन्। तिनलाई येसु गालिलका हुन् भनेर थाह छ। (लुका २३:५-७) तैपनि तिनी उहाँलाई सोध्छन्: “तिमी कहाँका हौ?” (युहन्ना १९:९) येसु कतै ईश्वर पो थिए कि र तिनी स्वर्गबाट आएका हुन् कि जस्तो लागेकोले पिलातसले यस्तो प्रश्न सोधेका हुन सक्छन्।
पिलातसले येसु राजा हुनुहुन्छ र उहाँको राज्य यस संसारको होइन भनेर उहाँबाटै सुनेका थिए। त्यसैले आफूले पहिला पनि भनिसकेको कुरालाई फेरि व्याख्या गर्नु जरुरी नभएकोले येसु कुनै जवाफ दिनुहुन्न। येसुले आफ्नो अपमान गरेजस्तो लागेकोले पिलातस जङ्गिँदै यसो भन्छन्: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई मार्ने अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”—युहन्ना १९:१०.
येसु केवल यति भन्नुहुन्छ: “यदि परमेश्वरले तपाईँलाई नदिनुभएको भए ममाथि तपाईँको कुनै अख्तियार हुने थिएन। त्यसैले जसले मलाई तपाईँकहाँ सुम्प्यो, त्यसले झन् ठूलो पाप गरेको छ।” (युहन्ना १९:११) “जसले मलाई तपाईँकहाँ सुम्प्यो” भन्नुहुँदा येसुले यहुदा इस्करियोतबारे मात्र कुरा गरिरहनुभएको होइन जस्तो देखिन्छ। किनकि कैयाफा र उनका समर्थकहरू पनि उत्तिकै दोषी छन्। त्यसैले येसु पिलातसले भन्दा यिनीहरूले झन् ठूलो पाप गरेका छन् भन्न खोज्दै हुनुहुन्छ।
येसुको शान्त व्यवहार र बोलीले गर्दा पिलातस प्रभावित हुन्छन्। साथै उहाँ कतै ईश्वर त हुनुहुन्न भनेर तिनलाई झनै डर लाग्न थाल्छ। त्यसैले तिनी येसुलाई मुक्त गर्न फेरि प्रयास गर्छन्। तर ती यहुदीहरू पिलातसलाई पनि डर भइरहेको अर्को कुरा उठाउँदै तिनलाई यस्तो धम्की दिन्छन्: “यदि तपाईँले यस मानिसलाई मुक्त गर्नुभयो भने तपाईँ सिजरको मित्र होइन। आफूलाई राजा तुल्याउने जुनसुकै व्यक्तिले सिजरको विरुद्धमा बोलिरहेको हुन्छ।”—युहन्ना १९:१२.
यी राज्यपाल येसुलाई फेरि बाहिर ल्याउँछन् अनि न्यायआसनमा बसेर मानिसहरूलाई यसो भन्छन्: “हेर, तिमीहरूको राजा!” तर यहुदीहरूको मनमा येसुप्रति कुनै दया जाग्दैन। बरु तिनीहरू यसो भन्दै चिच्याउँछन्: “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!” पिलातस तिनीहरूलाई सोध्छन्: “के म तिमीहरूको राजालाई मारूँ?” यहुदीहरूले लामो समयदेखि रोमी शासनको दमन सहिरहेका छन्। तैपनि मुख्य पुजारीहरू यसरी कड्कन्छन्: “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”—युहन्ना १९:१४, १५.
पिलातस यहुदीहरूको यस्तो एकोहोरो मागको सामने घुँडा टेक्छन्। तिनी येसुलाई मृत्युदण्ड दिन यहुदीहरूको हातमा सुम्पिन्छन्। सिपाहीहरूले येसुले लगाउनुभएको बैजनी रङ्गको लुगा फुकालेर उहाँकै लुगा लगाइदिन्छन्। मृत्युदण्ड दिन लगिँदा येसुको यातनाको खम्बा उहाँलाई नै बोक्न लगाइन्छ।
यो नीसान १४, शुक्रबारको दिन हो र मध्याह्न हुनै लागेको छ। येसु बिहीबार बिहानदेखि जागै हुनुहुन्छ र उहाँले एकपछि अर्को गर्दै विभिन्न कष्ट सहनुभएको छ। त्यसैकारण उहाँमा यातनाको खम्बा बोक्ने तागतै बाँकी रहँदैन। त्यसैले सिपाहीहरूले त्यही बाटो भएर गइरहेको अफ्रिकी साइरेनीवासी सिमोनलाई त्यो खम्बा मृत्युदण्ड दिइने ठाउँसम्म बोकेर लैजान जबरजस्ती गर्छन्। थुप्रै मानिस येसुको पछिपछि लागिरहेका छन्; कोही-कोही त छाती पिटीपिटी उहाँको निम्ति विलाप गरिरहेका छन्।
विलाप गरिरहेका स्त्रीहरूलाई येसु भन्नुहुन्छ: “हे यरुसलेमका छोरीहरू हो, मेरो निम्ति रुन छोड। बरु तिमीहरू आफू र आफ्ना छोराछोरीका निम्ति रोओ। किनकि हेर यस्तो बेला आउँदै छ, जब मानिसहरूले यसो भन्नेछन्: ‘आनन्दित हुन् ती स्त्रीहरू, जो बाँझी छन् र जसले सन्तान जन्माएनन् अनि दूध चुसाएनन्!’ त्यतिखेर मानिसहरूले पहाडहरूलाई ‘हामीमाथि खस्!’ अनि डाँडाहरूलाई ‘हामीलाई छोप्!’ भन्न थाल्नेछन्। रूख हरियो भएको बेला त यस्तो हालत छ भने सुकेपछि झन् के होला?”—लुका २३:२८-३१.
येसु यहुदी राष्ट्रको विषयमा कुरा गर्दै हुनुहुन्छ। यो राष्ट्र मर्नै लागेको रूखजस्तै छ, जुन अझै पनि केही हदसम्म हरियो छ। किनकि येसु अझै जीवितै हुनुहुन्छ र अझै पनि केही यहुदीहरू उहाँमाथि विश्वास गर्छन्। तर येसुको मृत्यु भएपछि र ती यहुदीहरूले यहुदी धर्म त्यागेपछि यो राष्ट्र आध्यात्मिक रूपमा सुक्नेछ र मृत रूखसरह हुनेछ। रोमी सेनाले यस राष्ट्रमाथि परमेश्वरको न्याय कार्यान्वयन गर्दा त्यहाँ रुवाबासी हुनेछ!
-
-
निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १३१
निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छ
मत्ति २७:३३-४४ मर्कुस १५:२२-३२ लुका २३:३२-४३ युहन्ना १९:१७-२४
येसुलाई यातनाको खम्बामा टाँगिन्छ
येसुको शिरमास्तिर राखिएको दोष-पत्र पढेर मानिसहरू उहाँको खिसी गर्छन्
येसु पार्थिव प्रमोदवनको आशा दिनुहुन्छ
येसु र अरू दुई जना डाँकुलाई मृत्युदण्ड दिन सहरबाट नजिकैको एउटा ठाउँमा लगिन्छ। त्यस ठाउँलाई गलगथा अर्थात् खप्पर स्थान भनिन्छ, जुन ठाउँ “टाढैबाट” देखिन्छ।—मर्कुस १५:४०.
दोषी ठहराइएका यी तीन जनाको लुगा फुकालिन्छ अनि मर्र र तीतो मिसाइएको दाखमद्य पिउन दिइन्छ। यसलाई यरुसलेमका स्त्रीहरूले तयार पारेको हुनुपर्छ। मृत्युदण्ड पाउनै लागेकाहरूलाई रोमीहरू पीडा कम गर्ने यो तरल पदार्थ पिउन अनुमति दिन्छन्। तर यसलाई चाखेपछि येसु पिउन मान्नुहुन्न। किन? किनकि उहाँ पूरै होसहवासमा रहेर यो ठूलो जाँचको सामना गर्न चाहनुहुन्छ; उहाँ मृत्युसम्मै वफादार हुन चाहनुहुन्छ।
येसुलाई खम्बामा तनक्क पारेर सुताइन्छ। (मर्कुस १५:२५) त्यसपछि सिपाहीहरू उहाँको हात र खुट्टामा किला ठोक्छन्। त्यसले मासु र अस्थिबन्धन छेड्दा उहाँलाई असाध्यै दुख्छ। खम्बालाई ठाडो पारेर उभ्याइँदा शरीरको भारले गर्दा घाउ अझ च्यातिन्छ र येसुलाई असह्य पीडा हुन्छ। तैपनि येसु ती सिपाहीहरूलाई गाली गर्नुहुन्न। बरु उहाँ यसरी प्रार्थना गर्नुहुन्छ: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्। किनकि तिनीहरू जे गर्दै छन्, त्यो तिनीहरू जान्दैनन्।”—लुका २३:३४.
रोमीहरूको चलनअनुसार मृत्युदण्ड पाउन लागेको व्यक्तिको अपराध एउटा पाटीमा लेखेर सँगै टाँगिन्छ। यस पटक पिलातसले यस्तो लेखिएको पाटी टाँगेका छन्: “नासरी येसु, यहुदीहरूका राजा।” यसलाई हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको छ। त्यसैले प्रायः सबैले पढ्न सक्छन्। येसुलाई मृत्युदण्ड दिन दबाब दिने यहुदीहरूप्रति आफ्नो असन्तुष्टि पोख्न पिलातस यसो गर्छन्। तर पुजारीहरू यसो भन्दै विरोध गर्छन्: “‘यहुदीहरूका राजा’ भनेर होइन तर यसले ‘म यहुदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्।” तर फेरि पनि तिनीहरूको कठपुतली बन्न नचाहेकोले पिलातस यस्तो जवाफ दिन्छन्: “मैले जे लेखेँ, सो लेखेँ।”—युहन्ना १९:१९-२२.
क्रोधित पुजारीहरू यहुदी न्यायपरिषद्मा येसुको पुर्पक्ष हुँदा उहाँको विरुद्धमा दिइएको झूटो गवाहीलाई फेरि दोहोऱ्याउँछन्। अनि त्यो बाटो भएर गइरहेका बटुवाहरू आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै यसो भन्छन्: “वाह! मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस् हैन, लौ यातनाको खम्बाबाट ओर्लेर आइज र आफैलाई बचाएर देखा।” त्यसैगरि मुख्य पुजारीहरू र शास्त्रीहरू पनि आपसमा यसो भन्छन्: “अब इस्राएलको राजा ख्रिष्ट यातनाको खम्बाबाट ओर्लेर आओस् अनि त्यो देखेपछि हामी पत्याऔँला।” (मर्कुस १५:२९-३२) खम्बामा उहाँको दायाँ र बायाँतर्फ टाँगिएका डाँकुहरूले समेत उहाँलाई गिल्ला गर्छन् तर वास्तवमा तीन जनामध्ये येसु मात्र निर्दोष हुनुहुन्छ।
चार जना रोमी सिपाहीहरूले पनि येसुको गिल्ला गर्छन्। सायद तिनीहरू अमिलो दाखमद्य पिउँदै छन् र जिस्क्याउँदै येसुलाई पनि दाखमद्य दिन खोजेजस्तो गर्छन् तर उहाँ पक्कै पनि त्यो लिएर पिउन सक्नुहुन्न। ती रोमीहरू येसुको शिरमास्तिर भएको पाटीलाई सङ्केत गर्दै यसरी उहाँको गिल्ला गर्छन्: “यदि तँ यहुदीहरूको राजा होस् भने आफैलाई बचा।” (लुका २३:३६, ३७) सोच्नुहोस् त, जो व्यक्ति बाटो, सत्य र जीवन साबित हुनुभएको छ, अहिले उहाँलाई नै दुर्व्यवहार गरिँदै छ र उहाँको खिल्ली उडाइँदै छ। तर उहाँ यी सब कुराहरू हेरिरहेका यहुदीहरू, उहाँको गिल्ला गरिरहेका रोमी सिपाहीहरू अनि आफ्नो दायाँ र बायाँतर्फ टाँगिएका अपराधीहरूलाई हप्काउनुहुन्न; दृढ हुँदै यी सब कुरा सहनुहुन्छ।
चार जना सिपाहीले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिन्छन्। कसले कुन भाग लिने भनेर पक्का गर्न तिनीहरू गोला हाल्छन्। तर येसुले भित्र लगाउनुभएको लुगा असाध्यै उच्च कोटीको छ, त्यो “सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो” छ। त्यसैले सिपाहीहरू यसो भन्छन्: “यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।” यसरी तिनीहरू धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा गर्छन्: “मैले लगाइराखेको लुगा तिनीहरूले आपसमा भाग लगाए अनि मेरो जीउको कपडा तिनीहरूले गोला हालेर लिए।”—युहन्ना १९:२३, २४; भजन २२:१८.
केही समयपछि ती दुई जना डाँकुमध्ये एक जनाले येसु राजा हुनुहुन्छ भनेर महसुस गर्छ। ऊ आफ्नो साथीलाई हप्काउँदै यसो भन्छ: “तैँले पनि यस मानिसले जस्तै सजाय पाइरहेको छस् तैपनि के तँलाई परमेश्वरको अलिकता पनि डर लाग्दैन? हामीले यस्तो सजाय पाउनु न्यायोचित छ। किनकि हामीले जे गऱ्यौँ, त्यसकै फल भोगिरहेका छौँ। तर यस मानिसले त यस्तो सजाय पाउनुपर्ने केही गरेको छैन।” त्यसपछि ऊ येसुलाई यस्तो बिन्ती गर्छ: “तपाईँ राजा बन्नुभएपछि मलाई सम्झनुहोस्।”—लुका २३:४०-४२.
येसु यस्तो जवाफ दिनुहुन्छ: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित” स्वर्गको राज्यमा होइन तर “प्रमोदवनमा हुनेछौ।” (लुका २३:४३) येसुले गर्नुभएको यो प्रतिज्ञा र प्रेषितहरूलाई तिनीहरू उहाँसितै स्वर्गको राज्यको सिंहासनमा बस्नेछन् भनेर गर्नुभएको प्रतिज्ञा एउटै होइन। (मत्ति १९:२८; लुका २२:२९, ३०) तर यस यहुदी अपराधीले यहोवा परमेश्वरले आदम, हव्वा र तिनीहरूका सन्तानका लागि सुरुमा रच्नुभएको पार्थिव प्रमोदवनबारे सुनेको हुनुपर्छ। अब यो अपराधी त्यो आशासहित मर्न सक्छ।
-
-
“यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्”येसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १३२
“यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्”
मत्ति २७:४५-५६ मर्कुस १५:३३-४१ लुका २३:४४-४९ युहन्ना १९:२५-३०
येसु खम्बामा मर्नुहुन्छ
येसुको मृत्युको बेला असाधारण घटनाहरू घट्छ
अहिले “छैटौँ घडी” अर्थात् मध्यान्ह बाह्र बजेतिरको समय हो। ‘सारा देशभरि नवौँ घडीसम्म’ अर्थात् दिउँसो तीन बजेतिरसम्म अचम्मलाग्दो तरिकाले निस्पट्ट अन्धकार छाउँछ। (मर्कुस १५:३३) सूर्य-ग्रहण लागेकोले यस्तो डरलाग्दो अन्धकार छाएको होइन। सूर्य-ग्रहण औँसीमा मात्र लाग्छ तर अहिले भने निस्तार चाडको समय हो, जुन पूर्णिमामा पर्छ। अनि यो अन्धकार ग्रहण लागेको बेलाजस्तो केही मिनेट मात्र नभई लामो समयसम्म रहन्छ। त्यसैले यस्तो अन्धकार परमेश्वरले नै गराउनुभएको हो! येसुको गिल्ला गरिरहेकाहरूले यतिबेला कस्तो महसुस गरे होलान्, सोच्नुहोस् त!
यस्तो अन्धकार छाइरहेको समयमा चार जना स्त्री यातनाको खम्बा भएतिर जान्छन्। ती स्त्रीहरू येसुकी आमा, सलोमी, मरियम मग्दलिनी अनि सानो याकुबकी आमा मरियम हुन्।
प्रेषित युहन्ना शोक गरिरहेकी येसुकी आमासँगै “यातनाको खम्बाको छेवैमा” छन्। आफूले जन्माएको र माया गरेर हुर्काएको छोरा खम्बामा छट्पटाइरहेको देख्दा मरियमलाई “लामो तरबारले” वारपार हुनेगरि छेडेको जस्तै पीडा हुन्छ। (युहन्ना १९:२५; लुका २:३५) येसु आफ्नो त्यस्तो असह्य पीडाको बाबजुद आफ्नी आमाको हितबारे सोच्नुहुन्छ। उहाँ सकी-नसकी युहन्नातिर आफ्नो मुन्टो फर्काउँदै आफ्नी आमालाई यसो भन्नुहुन्छ: “आमा, हेर्नुहोस्, तपाईँको छोरा!” त्यसपछि मरियमतिर मुन्टो फर्काउँदै युहन्नालाई यसो भन्नुहुन्छ: “हेर, तिम्री आमा!”—युहन्ना १९:२६, २७.
येसु आफ्नी आमाको हेरविचार गर्ने जिम्मा आफूले असाध्यै माया गरेको प्रेषितलाई सुम्पनुहुन्छ। सायद यतिबेला उहाँकी आमा विधवा भइसकेकी छिन्। मरियमका अरू छोराहरू—उहाँका भाइहरूले अहिलेसम्म आफूमाथि विश्वास गरेका छैनन् भनेर येसुलाई थाह छ। त्यसैले उहाँ आफ्नी आमाको भौतिक र आध्यात्मिक आवश्यकताको हेरविचार गर्ने बन्दोबस्त मिलाउनुहुन्छ। कत्ति राम्रो उदाहरण!
अन्धकार हट्न लागेको समयतिर येसु यसो भन्नुहुन्छ: “मलाई तिर्खा लाग्यो।” यसो भनेर उहाँ भविष्यवाणी पूरा गर्दै हुनुहुन्छ। (युहन्ना १९:२८; भजन २२:१५) आफ्नो सत्यनिष्ठाको पूर्णतया जाँच होस् भनेर बुबाले आफूबाट उहाँको सुरक्षा हटाउनुभएको जस्तो येसुलाई महसुस हुन्छ। यसकारण सायद गालिली-अरामी भाषामा उहाँ ठूलो स्वरले यसो भन्दै कराउनुहुन्छ: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?” वरपर उभिरहेका कसै-कसैले उहाँले भन्नुभएको कुरा बुझ्दैनन् र यसो भन्छन्: “हेर, उसले एलियालाई बोलाउँदै छ।” तिनीहरूमध्ये एक जना दौडेर जान्छ अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्छ र येसुलाई पिउन दिन्छ। तर बाँकीचाहिँ यसो भन्छन्: “एलिया यसलाई तल झार्न आउँछन् कि आउँदैनन्, हेरौँ न।”—मर्कुस १५:३४-३६.
त्यसपछि येसु यसो भन्नुहुन्छ: “सबै पूरा भयो!” (युहन्ना १९:३०) हो, बुबाले उहाँलाई जुन उद्देश्यले पृथ्वीमा पठाउनुभएको थियो, उहाँले ती सबै पूरा गर्नुभएको छ। अन्तमा उहाँ यसो भन्नुहुन्छ: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।” (लुका २३:४६) यसरी येसु यहोवाले आफूलाई फेरि जीवित पार्नुहुन्छ भन्ने कुरामा ढुक्क हुँदै आफ्नो जीवनशक्ति उहाँलाई सुम्पनुहुन्छ। परमेश्वरप्रति अटल भरोसा राख्दै ख्रिष्टले आफ्नो शिर निहुराउनुहुन्छ र उहाँ बित्नुहुन्छ।
त्यतिखेर एउटा ठूलो भूकम्प जान्छ र चट्टानहरूमा धाँजा फाट्छ। यति शक्तिशाली भूकम्प जान्छ कि यरुसलेमबाहिर भएका चिहानहरू उघ्रिन्छन् र लासहरू बाहिर निस्कन्छन्। बाटोमा आउजाउ गर्नेहरूले ती लासहरू देख्छन् र तिनीहरू त्यस “पवित्र सहरभित्र” पसेर आफूले देखेको कुरा मानिसहरूलाई बताउँछन्।—मत्ति १२:११; २७:५१-५३.
येसु बित्नुहुँदा परमेश्वरको मन्दिरको पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याएको लामो र गह्रौँ पर्दा टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक हुन्छ। यो अचम्मलाग्दो घटना आफ्नो छोराको हत्या गर्नेहरूप्रति परमेश्वरको क्रोधको अभिव्यक्ति हो। साथै यसले अब महापवित्र कोठा अर्थात् स्वर्ग जाने बाटो खुलेको कुरालाई पनि सङ्केत गर्छ।—हिब्रू ९:२, ३; १०:१९, २०.
यो देखेर मानिसहरू पक्कै पनि डराउँछन्। त्यहाँ खटिएका सैनिक अफिसर यसो भन्छन्: “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्।” (मर्कुस १५:३९) पिलातससामु येसुको पुर्पक्षको बेला उहाँ परमेश्वरको छोरा हुनुहुन्छ कि हुनुहुन्न भन्ने विवाद चल्दा ती अफिसर पनि त्यहीँ थिए होलान्। अब भने ती अफिसर येसु धर्मी पुरुष हुनुहुन्छ र उहाँ साँच्चै परमेश्वरको छोरा हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन्छन्।
यी असाधारण घटनाहरू देखेर तीनछक परेका अरूहरूचाहिँ गहिरो शोक र लाज प्रकट गर्न “आफ्नो छाती पिट्दै” घर फर्कन्छन्। (लुका २३:४८) कुनै-कुनै समय येसुसितै यात्रा गरेका महिला चेलाहरू पनि टाढैबाट यी सब घटनाहरू हेर्दै छन्। यी महत्त्वपूर्ण घटनाहरू देखेर तिनीहरू पनि असाध्यै प्रभावित हुन्छन्।
-
-
येसुको शवलाई तयारी गरिन्छ र चिहानमा राखिन्छयेसु—बाटो, सत्य र जीवन
-
-
अध्याय १३३
येसुको शवलाई तयारी गरिन्छ र चिहानमा राखिन्छ
मत्ति २७:५७–२८:२ मर्कुस १५:४२–१६:४ लुका २३:५०–२४:३ युहन्ना १९:३१–२०:१
येसुको शवलाई खम्बाबाट तल झारिन्छ
उहाँको शवलाई चिहानमा राख्नको लागि तयारी गरिन्छ
स्त्रीहरू रित्तो चिहान भेट्टाउँछन्
अहिले नीसान १४ शुक्रबार, अपराह्नको समय हो र घाम डुब्नै लागेको छ। सूर्यास्तपछि नीसान १५ को विश्रामदिन सुरु हुनेछ। येसुको मृत्यु भइसकेको छ तर उहाँको छेउमा टाँगिएका दुई जना डाँकुहरू भने अझै पनि जिउँदै छन्। व्यवस्थाअनुसार मृतकको शवलाई ‘रातभरि खम्बामा छोड्नु हुँदैन,’ बरु “त्यही दिन” गाड्नुपर्छ।—व्यवस्था २१:२२, २३.
साथै शुक्रबार दिउँसोलाई तयारीको दिन भनिन्छ किनकि यो दिन मानिसहरू खाना पकाउने र विश्रामदिन सुरु हुनुअघि नै गर्नुपर्ने अन्य कामहरू सिद्ध्याउँछन्। सूर्यास्तपछि दोहोरो विश्रामदिन अर्थात् “महाविश्रामदिन” सुरु हुनेछ। (युहन्ना १९:३१) नीसान १५ सात दिनसम्म मनाइने अखमिरा रोटीको चाडको पहिलो दिन हुनेछ अनि यसको पहिलो दिनलाई हप्ताको जुनसुकै दिनमा परे पनि विश्रामदिनकै रूपमा मनाइन्छ। (लेवी २३:५, ६) यसपटक भने नीसान १५ र साप्ताहिक विश्रामदिन एकै दिनमा परेको छ। यसरी दुवै विश्रामदिन एकै दिनमा परेकोले यो “महाविश्रामदिन” हुनेछ।
त्यसैले येसु र उहाँसँगै टाँगिएका दुई जना डाँकुहरूलाई चाँडै मार्न यहुदीहरू पिलातसलाई आग्रह गर्छन्। तर कसरी चाँडै मार्ने? खुट्टा भाँचेर। यसरी खुट्टा भाँचिदिँदा येसु र ती डाँकुहरूले लामो सास फेर्नको लागि आफ्नो शरीर तन्काउन सक्दैनन्। अनि सैनिकहरू आएर ती दुई जना डाँकुहरूको खुट्टा भाँच्छन्। तर येसु मरिसकेको जस्तो लागेर तिनीहरू उहाँको खुट्टा भने भाँच्दैनन्। यसरी भजन ३४:२० को भविष्यवाणी पूरा हुन्छ: “उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ; उसको एउटै हड्डी भाँचिएको छैन।”
येसु साँच्चै मरिसक्नुभएको हो कि होइन भन्ने कुरा पक्का गर्न एक जना सैनिकले उहाँको कोखामा भाला घोप्छ। भालाले उहाँको मुटुलाई छेड्छ अनि ‘उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्कन्छ।’ (युहन्ना १९:३४) यसरी “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्” भनेर गरिएको अर्को भविष्यवाणी पूरा हुन्छ।—जकरिया १२:१०.
येसुलाई मृत्युदण्ड दिइँदा अरिमथियाका युसुफ नाम गरेका “एक जना धनी मानिस” पनि उपस्थित भएका छन्। (मत्ति २७:५७) तिनी यहुदी न्यायपरिषद्को एक जना प्रतिष्ठित सदस्य पनि हुन्। तिनलाई “परमेश्वरको राज्यको बाटो हेरिरहेका” “भलादमी अनि धर्मी मानिस” भनेर वर्णन गरिएको छ। वास्तवमा भन्ने हो भने “यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका” युसुफले येसुबारे न्यायपरिषद्ले गरेको निर्णयमा सहमति जनाएका थिएनन्। (लुका २३:५०; मर्कुस १५:४३; युहन्ना १९:३८) युसुफ साहस जुटाउँछन् र पिलातससित येसुको शव माग्छन्। त्यसपछि पिलातस त्यहाँ खटिएका सैनिक अफिसरलाई बोलाउँछन् र येसु मरिसक्नुभएको कुरा निश्चित गरेपछि उहाँको शव युसुफलाई दिन अनुमति दिन्छन्।
युसुफ उच्च कोटिको मलमलको कपडा किन्छन् र येसुको शवलाई खम्बाबाट तल झार्छन्। तिनी शवलाई चिहानमा राख्नको लागि मलमलको कपडाले बेर्छन्। निकोदेमस, “जो पहिलो चोटि उहाँलाई भेट्न रातको बेला आएका थिए,” उनी पनि यो तयारीमा सघाउँछन्। (युहन्ना १९:३९) उनी लगभग ३० किलो मर्र अनि अगरुको महँगो मिश्रण ल्याउँछन्। शव गाड्ने यहुदी चलनअनुसार येसुको शवलाई यी मसलाहरू दलेर मलमलको कपडाले बेरिन्छ।
युसुफ येसुको शवलाई चट्टान खोपेर बनाइएको एउटा नयाँ चिहानमा राख्छन्, जहाँ त्यसअघि कसैको शव राखिएको थिएन। अनि त्यस चिहानको मुख बन्द गर्न एउटा ठूलो ढुङ्गा गुडाइन्छ। यो काम विश्रामदिन सुरु हुनुअघि नै हतार-हतार गरिन्छ। येसुको शव तयारी गर्ने काममा मरियम मग्दलिनी र सानो याकुबकी आमा मरियमले पनि मदत गरेका हुन सक्छन्। अब तिनीहरू विश्रामदिनपछि उहाँको शवमा फेरि लगाउनको लागि चाहिने “सुगन्धित मसला र तेल तयार पार्न” हतार-हतार घर फर्कन्छन्।—लुका २३:५६.
भोलिपल्ट विश्रामदिनमा मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गएर यसो भन्छन्: “त्यस ठगाहाले आफू जिउँदो छँदा ‘म तीन दिनपछि ब्युँतनेछु’ भनेको हामीलाई याद छ। त्यसैले तेस्रो दिनसम्म त्यसको चिहानमा पहरा दिने हुकुम गर्नुहोस्। नत्र त त्यसका चेलाहरू गएर त्यसको लास चोरेर लैजालान् र ‘उहाँ मृत्युबाट ब्युँतनुभयो’ भनेर मानिसहरूलाई भन्लान्। त्यसो भयो भने त्यसको पछिल्लो ठगीले पुऱ्याउने नोक्सानी पहिलोको भन्दा चर्को हुनेछ।” पिलातस तिनीहरूलाई भन्छन्: “तिमीहरू सिपाहीहरू लिएर जाओ र त्यसको सुरक्षा गर्न तिमीहरू जे गर्न सक्छौ, सो गर।”—मत्ति २७:६३-६५.
आइतबार बिहान सबेरै मरियम मग्दलिनी, याकुबकी आमा मरियम र अरू स्त्रीहरू येसुको शवमा दल्न मसलाहरू लिएर चिहानमा जान्छन्। तिनीहरू आपसमा यसो भन्छन्: “हाम्रो निम्ति कसले चिहानको मुखको ढुङ्गा गुडाइदिने होला?” (मर्कुस १६:३) तर भूकम्प गएको रहेछ। यसबाहेक यहोवाको दूतले ढुङ्गा गुडाइसकेका रहेछन्। चिहानमा सुरक्षा दिनेहरू पनि गइसकेका रहेछन् र चिहान रित्तै छ!
-