प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
    • स्त्रीहरू येसुको रित्तो चिहान देखेर तीनछक पर्छन्‌

      अध्याय १३४

      येसु जीवित हुनुहुन्छ!

      मत्ति २८:३-१५ मर्कुस १६:५-८ लुका २४:४-१२ युहन्‍ना २०:२-१८

      • येसु फेरि जीवित हुनुभएको छ

      • येसुको चिहानमा भएका घटनाहरू

      • उहाँ विभिन्‍न स्त्रीहरूसामु देखा पर्नुहुन्छ

      स्त्रीहरू येसुको शव राखिएको चिहान रित्तो देख्दा तीनछक पर्छन्‌! मरियम मग्दलिनीचाहिँ “सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेला” युहन्‍नाकहाँ दौडेर जान्छिन्‌। (युहन्‍ना २०:२) तर चिहानमा भएका बाँकी स्त्रीहरूले एक जना स्वर्गदूत देख्छन्‌। अनि चिहानभित्र छिर्दा तिनीहरूले अर्को स्वर्गदूत पनि देख्छन्‌, जसले ‘सेतो लुगा लगाएका’ छन्‌।—मर्कुस १६:५.

      एक जना स्वर्गदूत यसो भन्छन्‌: “तिमीहरू नडराओ किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येसुलाई खोज्दै छौ भनी मलाई थाह छ। उहाँ यहाँ हुनुहुन्‍न किनकि उहाँले भन्‍नुभएझैँ उहाँ ब्युँतिसक्नुभयो। आओ, उहाँलाई राखिएको ठाउँमा हेर। अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्युँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर! उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ।’” (मत्ति २८:५-७) त्यसैले ती स्त्रीहरू “डराउँदै अनि असाध्यै खुसी पनि हुँदै” चेलाहरूलाई यो खबर दिन दगुरेर जान्छन्‌।—मत्ति २८:८.

      यतिबेलासम्म मरियमले पत्रुस र युहन्‍नालाई भेट्टाइसकेकी छिन्‌। स्वाँस्वाँ गर्दै उनी यसो भन्छिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌! अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।” (युहन्‍ना २०:२) यो सुनेर पत्रुस र युहन्‍ना हतार-हतार चिहानतिर लाग्छन्‌। युहन्‍ना छिटो दौडन सक्छन्‌, त्यसैले चिहानमा पहिला पुग्छन्‌। चिहानभित्र चियाएर हेर्दा तिनले भुईँमा मलमलको कपडा देख्छन्‌ तर तिनी भित्र भने पस्दैनन्‌।

      पत्रुस त्यहाँ आइपुगेपछि उनी सीधै चिहानभित्र पस्छन्‌। उनी मलमलको कपडा र येसुको शिरमा बाँधिएको कपडा देख्छन्‌। अबचाहिँ युहन्‍ना पनि भित्र पस्छन्‌ र तिनले मरियमको कुरा पत्याउँछन्‌। येसुले आफू फेरि जीवित हुनेबारे तिनीहरूलाई पहिल्यै बताइसक्नुभएको थियो तर तिनीहरू दुवैले उहाँ जीवित हुनुभएको छ भनेर बुझ्दैनन्‌। (मत्ति १६:२१) अलमलमा परेका ती चेलाहरू आ-आफ्नो घर फर्कन्छन्‌। तर फेरि चिहानमा आएकी मरियमचाहिँ त्यहीँ बस्छिन्‌।

      येसु जीवित हुनुभएको छ भनेर चेलाहरूलाई बताउन गएका अरू स्त्रीहरू भने बाटोमै छन्‌। यो खबर सुनाउन दौडेर गइरहेको बेला येसु तिनीहरूलाई बाटैमा भेट्‌नुहुन्छ र यसो भन्‍नुहुन्छ: “तिमीहरूलाई मेरो अभिवादन छ!” तिनीहरू उहाँको पाउ समातेर उहाँलाई “दण्डवत्‌” गर्छन्‌। तब येसु तिनीहरूलाई भन्‍नुहुन्छ: “नडराओ! जाओ, मेरा भाइहरूलाई गालिल जान भनिदेओ। तिनीहरूले मलाई त्यहीँ देख्नेछन्‌।”—मत्ति २८:९, १०.

      केही समयअघि भूकम्प गएर स्वर्गदूतहरू देखा पर्दा चिहानमा पहरा दिइरहेका सिपाहीहरू ‘डरले कामेर मुर्दासरी भएका’ थिए। होस फर्केपछि तिनीहरू सहरभित्र पसे र “जे-जे भएको थियो, ती सबै कुरा मुख्य पुजारीहरूलाई सुनाइदिए।” त्यसपछि पुजारीहरूले यहुदी धर्मगुरुहरूसित सरसल्लाह गरे। यो कुरा लुकाउन सिपाहीहरूलाई घुस दिएर यसो भन्‍न लगाउने निर्णय गरियो: “त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्‌।”—मत्ति २८:४, ११, १३.

      पहरा दिइरहेको बेला निदाएको खण्डमा रोमी सिपाहीहरूले मृत्युदण्ड पाउन सक्थे। त्यसैले पुजारीहरू यस्तो वचन दिन्छन्‌: “यो कुरा [तिनीहरू निदाइरहेका थिए भन्‍ने झूट] राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदेऔँला।” (मत्ति २८:१४) सिपाहीहरू घुस लिन्छन्‌ र पुजारीहरूले भनेजस्तै गर्छन्‌। यसरी येसुको लास चोरी भयो भन्‍ने हल्ला यहुदीहरूमाझ पूरै फैलिन्छ।

      मरियम मग्दलिनी भने अझै पनि चिहानमा रुँदै बसिरहेकी छिन्‌। चिहानभित्र निहुरिएर हेर्दा त उनले सेतो लुगा लगाएका दुई जना स्वर्गदूत देख्छिन्‌। येसुको शव पहिला जहाँ राखिएको थियो, त्यसको शिरनेर एक जना स्वर्गदूत र पाउनेर अर्को स्वर्गदूत बसिरहेका छन्‌। तिनीहरू उनलाई सोध्छन्‌: “ए नारी, तिमी किन रुँदै छ्यौ?” उनी तिनीहरूलाई यसो भन्छिन्‌: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्‌ अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्‌, मलाई थाह छैन।” पछाडि फर्केर हेर्दा मरियम कसैलाई देख्छिन्‌। ती मानिस स्वर्गदूतहरूले सोधेकै प्रश्‍न दोहोऱ्‍याउँछन्‌ र यसो पनि भन्छन्‌: “तिमी कसलाई खोज्दै छ्यौ?” ती मानिसलाई बगैँचे भन्ठानेर उनी यसो भन्छिन्‌: “हजुर, यदि तपाईँले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्‌ र म उहाँलाई लैजानेछु।”—युहन्‍ना २०:१३-१५.

      वास्तवमा मरियम फेरि जीवित हुनुभएको येसुसित कुरा गर्दै छिन्‌ तर उनी उहाँलाई चिन्दिनन्‌। येसुले “मरियम” भनेर बोलाउनुहुँदा उहाँले बोलाउनुभएको शैलीबाट उनी उहाँलाई चिन्छिन्‌। तब मरियम असाध्यै खुसी हुँदै “रब्बोनी!” (जसको अर्थ हुन्छ, “गुरुज्यू!”) भन्छिन्‌। येसु स्वर्ग जाँदै हुनुहुन्छ भन्‍ने चिन्ताले उनी येसुलाई च्याप्प समात्छिन्‌। तर उहाँ भन्‍नुहुन्छ: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ म जाँदै छु।’”—युहन्‍ना २०:१६, १७.

      मरियम प्रेषितहरू र अरू चेलाहरू भेला भएको ठाउँमा दौडेर जान्छिन्‌। अनि अरू स्त्रीहरूले बताएको कुरामा थप्दै उनी यसो भन्छिन्‌: “मैले प्रभुलाई देखेँ!” (युहन्‍ना २०:१८) तर “उनीहरूलाई यो कुरा वाहियात” लाग्छ।—लुका २४:११.

      • रित्तो चिहान देखेपछि मरियम मग्दलिनी के गर्छिन्‌ र अरू स्त्रीहरू कस्तो घटना अनुभव गर्छन्‌?

      • रित्तो चिहान देखेपछि पत्रुस र युहन्‍ना कस्तो प्रतिक्रिया देखाउँछन्‌?

      • चेलाहरूकहाँ जाँदै गर्दा अरू स्त्रीहरूले बाटोमा कसलाई भेट्‌छन्‌ र मरियम मग्दलिनी फेरि चिहानमा आएपछि के हुन्छ?

      • चेलाहरूलाई आफूले सुनेको खबर कस्तो लाग्छ?

  • जीवित हुनुभएको येसु धेरै जनासामु देखा पर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • जीवित हुनुभएको येसु थोमासामु देखा पर्नुहुन्छ

      अध्याय १३५

      जीवित हुनुभएको येसु धेरै जनासामु देखा पर्नुहुन्छ

      लुका २४:१३-४९ युहन्‍ना २०:१९-२९

      • इम्माउस जाने बाटोमा येसु देखा पर्नुहुन्छ

      • उहाँ चेलाहरूलाई धर्मशास्त्रको अर्थ पटक-पटक खुलाइदिनुहुन्छ

      • थोमा शङ्‌का गर्न छोड्‌छन्‌

      यो नीसान १६, आइतबारको दिन हो। चेलाहरू निराश छन्‌ किनकि तिनीहरूले रित्तो चिहानको अर्थ बुझ्न सकेका छैनन्‌। (मत्ति २८:९, १०; लुका २४:११) त्यसै दिन क्लेओपा र अर्को चेला यरुसलेमबाट निस्केर झन्डै ११ किलोमिटर टाढा पर्ने इम्माउसतिर लाग्छन्‌।

      बाटोमा हिँड्‌दै गर्दा तिनीहरू हालै भएका घटनाहरूबारे कुरा गर्दै छन्‌। त्यतिकैमा एक जना अपरिचित मानिस पनि तिनीहरूसँगै हिँड्‌न थाल्छन्‌। तिनी सोध्छन्‌: “तिमीहरू बाटोमा हिँड्‌दै आपसमा के बहस गर्दै छौ?” क्लेओपा यस्तो जवाफ दिन्छन्‌: “के तपाईँ यरुसलेममा एक्लै बस्ने परदेशी हुनुहुन्छ? आजकल त्यहाँ के भइरहेको छ, त्यसबारे तपाईँलाई केही थाह छैन?” ती अपरिचित मानिस तिनीहरूलाई यस्तो सोध्छन्‌: “के कुरा?”—लुका २४:१७-१९.

      तिनीहरू भन्छन्‌: “नासरी येसुलाई जे-जे भयो, त्यही कुरा। . . . इस्राएललाई छुटकारा दिने मानिस उहाँ नै हुनुपर्छ भनेर हामीले आशा गरिरहेका थियौँ।”—लुका २४:१९-२१.

      क्लेओपा र तिनका साथीले त्यस दिन भएका घटनाहरूको बेलीबिस्तार लगाउँछन्‌। तिनीहरू ती अपरिचित मानिसलाई केही स्त्रीहरू येसुको शव राखिएको चिहानमा जाँदा चिहान रित्तो भेट्टाएको, ती स्त्रीहरूले एउटा अलौकिक कुरा अर्थात्‌ स्वर्गदूतहरू देखेको र ती स्वर्गदूतहरूले येसु जीवित हुनुभएको छ भनेर बताएको कुरा सुनाउँछन्‌। अरू कोही-कोही चिहानमा जाँदा ‘उनीहरूले पनि ती स्त्रीहरूले भनेजस्तै पाएको’ कुरा तिनीहरू बताउँछन्‌।—लुका २४:२४.

      स्पष्ट छ, ती दुई जना चेला यी सबै घटनाले गर्दा आश्‍चर्यचकित भएका छन्‌। येसु जीवित हुनुभएको छ भनेर विश्‍वास गर्नदेखि रोकिरहेको तिनीहरूको गलत सोचाइलाई ती अपरिचित मानिस सच्याउँछन्‌। तिनी यसो भन्छन्‌: “ए अबुझ अनि भविष्यवक्‍ताहरूले बताएका कुराहरू पत्याउन गाह्रो लाग्ने मानिसहरू हो! आफूले पाउनुपर्ने गौरव हासिल गर्न के ख्रिष्टले यी सब कष्ट भोग्नु आवश्‍यक थिएन र?” (लुका २४:२५, २६) त्यसपछि ती मानिस ख्रिष्टसम्बन्धी धर्मशास्त्रमा भएका थुप्रै विवरणको अर्थ खुलाइदिन्छन्‌।

      अन्तमा तिनीहरू तीनै जना इम्माउसनजिकै आइपुग्छन्‌। ती दुई जना चेला अझ धेरै सुन्‍न चाहन्छन्‌, त्यसैले तिनीहरू ती अपरिचित मानिसलाई यसो भन्दै कर गर्छन्‌: “हामीसँगै बस्नुहोस्‌ न किनकि दिन ढलेर रात पर्न लागिसक्यो।” ती मानिस तिनीहरूसँगै बस्न मान्छन्‌ र तिनीहरूसँगै खाना खान बस्छन्‌। अनि तिनले प्रार्थना चढाउँछन्‌ र रोटी भाँचेर तिनीहरूलाई दिन्छन्‌। तब तिनीहरूले ती मानिस येसु हुनुहुँदो रहेछ भनेर थाह पाउँछन्‌ तर उहाँ त्यतिखेरै अलप हुनुहुन्छ। (लुका २४:२९-३१) अब भने तिनीहरू येसु जीवित हुनुभएको कुरामा पक्का हुन्छन्‌!

      आफूले भर्खरै अनुभव गरेको कुराबारे ती दुई चेला उत्साहित हुँदै यसो भन्छन्‌: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय बलिरहेको थिएन र?” (लुका २४:३२) त्यसपछि तिनीहरू तुरुन्तै यरुसलेम फर्कन्छन्‌ अनि प्रेषितहरू र अरू चेलाहरू एकसाथ भेला भएको भेट्टाउँछन्‌। क्लेओपा र तिनको साथीले केही भन्‍नुअघि नै अरूले यसो भन्दै गरेको तिनीहरू सुन्छन्‌: “यो साँचो हो, प्रभु ब्युँताइनुभयो र सिमोनकहाँ देखा पर्नुभयो!” (लुका २४:३४) त्यसपछि ती दुई जनाले पनि येसु तिनीहरूकहाँ कसरी देखा पर्नुभयो भनी बताउँछन्‌। हो, तिनीहरू पनि प्रत्यक्षदर्शी हुन्‌।

      अब येसु त्यसै कोठामा देखा पर्नुहुन्छ! यो देखेर सबै जना जिल्ल पर्छन्‌। यो त हुनै नसक्ने कुरा जस्तो देखिन्छ किनभने तिनीहरू यहुदीहरूको डरको कारण ढोका थुनेर बसेका छन्‌। तर येसु तिनीहरूकै माझ खडा हुनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “तिमीहरूलाई शान्ति होस्‌।” तर तिनीहरू तर्सिन्छन्‌। पहिलाजस्तै यसपटक पनि तिनीहरू ‘स्वर्गदूत देख्यौँ भन्ठान्छन्‌।’—लुका २४:३६, ३७; मत्ति १४:२५-२७.

      तिनीहरूले सोचेजस्तो आफू स्वर्गदूत होइन, आफूसित हाड-मासुको शरीर छ भनेर प्रमाणित गर्न उहाँ आफ्नो हातखुट्टा देखाउनुहुन्छ र भन्‍नुहुन्छ: “तिमीहरू किन आत्तिन्छौ अनि किन हृदयमा शङ्‌का गर्छौ? मेरा हातखुट्टा हेर त, म नै हुँ। मलाई छामेर हेर किनकि मेरो हाड र मासु छ तर स्वर्गदूतको त हुँदैन।” (लुका २४:३६-३९) तिनीहरू खुसी हुनुका साथै अचम्ममा पनि परेका छन्‌। तर तिनीहरूलाई यो कुरा पत्याउन अझै गाह्रो लाग्छ।

      आफू साँच्चै येसु हुँ भनेर तिनीहरूलाई अझ विश्‍वस्त बनाउन उहाँ यस्तो प्रश्‍न गर्नुहुन्छ: “के तिमीहरूसित केही खानेकुरा छ?” तब उहाँ तिनीहरूबाट एक टुक्रा पोलेको माछा लिनुहुन्छ र खानुहुन्छ। त्यसपछि उहाँ यसो भन्‍नुहुन्छ: “मोसाको व्यवस्था, भविष्यवक्‍ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा [आफ्नो मृत्युअघि] मैले तिमीहरूलाई बताएको थिएँ।”—लुका २४:४१-४४.

      येसुले क्लेओपा र तिनको साथीलाई धर्मशास्त्रको अर्थ बुझ्न मदत गर्नुभएको थियो र अहिले यहाँ भेला भएकाहरूलाई पनि उहाँ धर्मशास्त्रको अर्थ खुलाउँदै यसो भन्‍नुहुन्छ: “यस्तो लेखिएको छ, ख्रिष्टले दुःख भोग्नेछ र मृत्युबाट तेस्रो दिनमा ब्युँतनेछ। अनि पापको क्षमा पाउन उसको नाममा पश्‍चात्ताप गर्नुपर्छ भन्‍ने सन्देश यरुसलेमबाट सुरु गरेर सबै जातिमा प्रचार गरिनेछ। तिमीहरू यी कुराहरूको साक्षी हुनेछौ।”—लुका २४:४६-४८.

      कारणवश प्रेषित थोमा यहाँ छैनन्‌। यसपछिका दिनहरूमा अरू चेलाहरू खुसी हुँदै तिनलाई यसो भन्छन्‌: “हामीले प्रभुलाई देख्यौँ!” तर थोमा यस्तो जवाफ दिन्छन्‌: “उहाँको हातमा किलाहरूको डोब नदेखेसम्म र त्यो डोबमा मेरो औँला नघुसारेसम्म अनि उहाँको कोखामा मेरो हात नहालेसम्म म पत्याउँदै पत्याउँदिनँ।”—युहन्‍ना २०:२५.

      आठ दिनपछि चेलाहरू फेरि बन्द कोठाभित्र भेला भएका छन्‌। यसपटक भने थोमा पनि त्यहाँ छन्‌। येसु हाड र मासुको शरीरमा तिनीहरूसामु देखा पर्नुहुन्छ र यसो भनेर अभिवादन गर्नुहुन्छ: “तिमीहरूलाई शान्ति होस्‌।” त्यसपछि थोमातिर फर्कँदै येसु यसो भन्‍नुहुन्छ: “तिम्रो औँला यहाँ घुसार अनि मेरो हात हेर। तिम्रो हात यता ल्याएर मेरो कोखामा हाल। अनि शङ्‌का गर्न छोड बरु विश्‍वास गर।” तब थोमा यस्तो उद्‌गार व्यक्‍त गर्छन्‌: “हे मेरा प्रभु, मेरा परमेश्‍वर!” (युहन्‍ना २०:२६-२८) अब भने येसु जीवित हुनुभएको छ भनेर थोमा पक्का हुन्छन्‌। थोमाले येसुलाई “मेरा परमेश्‍वर” भनेर उहाँलाई एक मात्र साँचो परमेश्‍वर यहोवाको प्रतिनिधिको रूपमा स्विकारिरहेका छन्‌।

      येसु थोमालाई भन्‍नुहुन्छ: “के तिमीले मलाई देखेको हुनाले विश्‍वास गऱ्‍यौ? आनन्दित हुन्‌ ती, जसले नदेखीकनै विश्‍वास गर्छन्‌।”—युहन्‍ना २०:२९.

      • इम्माउस गइरहेका दुई जना चेलालाई एक जना अपरिचित मानिसले के सोध्छन्‌?

      • चेलाहरूको हृदय बल्नुको कारण के हो?

      • क्लेओपा र तिनको साथी यरुसलेम फर्कँदा तिनीहरूले कस्तो रोचक खबर सुन्छन्‌ र त्यसपछि के हुन्छ?

      • येसु जीवित हुनुभएको छ भनेर थोमा आखिरमा कसरी पक्का हुन्छन्‌?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने