जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
मार्च ११-१७
बाइबलमा पाइने अनमोल धन | भजन १८
“यहोवा . . . मलाई छुटकारा दिने परमेश्वर”
w०९-E ५/१ पृ. १४ अनु. ४-५
के तपाईँ बाइबलमा पाइने उदाहरणहरू बुझ्नुहुन्छ?
बाइबलमा यहोवालाई निर्जीव कुराहरूसित पनि तुलना गरिएको छ। उहाँ “इस्राएलका चट्टान,” “पहरा” अनि “किल्ला” हुनुहुन्छ भनेर बताइएको छ। (२ समुएल २३:३; भजन १८:२; व्यवस्था ३२:४) यसरी तुलना गर्नुको कारण के हो? ठूलो चट्टान नहल्लिनेगरि स्थिर रहेझैँ यहोवा परमेश्वर हाम्रो सुरक्षाको बलियो स्रोत हुन सक्नुहुन्छ।
५ भजनको किताबमा यहोवाको व्यक्तित्वका विभिन्न पक्षलाई बुझाउन थुप्रै कुरालाई उदाहरणको रूपमा चलाइएको छ। जस्तै, भजन ८४:११ मा यहोवा “हाम्रो सूर्य र हाम्रो ढाल हुनुहुन्छ” भनेर बताइएको छ किनकि उहाँ ज्योति, जीवन, शक्ति र सुरक्षाको स्रोत हुनुहुन्छ। अर्कोतर्फ, भजन १२१:५ मा “यहोवा तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ” भनी बताइएको छ। छहारीले चर्को घामबाट जोगाएझैँ यहोवाले आफ्ना सेवकहरूलाई विपत्तिको चर्को रापबाट जोगाउनुहुन्छ। तिनीहरूले एक अर्थमा छायामा बसेझैँ यहोवाको “हात”-मुनि अथवा उहाँको “पखेटामुनि” सुरक्षित महसुस गर्नेछन्।—यसैया ५१:१६; भजन १७:८; ३६:७.
बहुमूल्य रत्न
it-1-E पृ. ४३२ अनु. २
करूब
करूबहरूले यहोवाको उपस्थितिलाई चित्रण गर्थ्यो। एकपटक यहोवाले यसो भन्नुभयो: “म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु। साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु।” (प्रस्थ २५:२२; गन ७:८९) त्यसैले बाइबलमा यहोवा परमेश्वर “करूबहरूभन्दा माथि [वा करूबहरूको बीचमा] विराजमान” हुनुहुन्छ भनेर बताइएको छ। (१स ४:४; २स ६:२; २रा १९:१५; १इ १३:६; भज ८०:१; ९९:१; यसै ३७:१६) प्रतीकात्मक रूपमा करूबहरू यहोवाको “रथको प्रतीक” थिए, जसमा उहाँ सवार हुनुहुन्थ्यो। (१इ २८:१८) त्यसैगरि करूबहरूका पखेटाहरूले सुरक्षा कवच र छरितोपनलाई चित्रण गर्थ्यो। त्यसैले दाउदले यहोवा तिनलाई मदत गर्न आउनुहुने गतिलाई बुझाउन “उहाँ करूबमाथि सवार भएर उड्दै” अनि “स्वर्गदूतको पखेटामा हुँइकँदै आउनुभयो” भनेर भजन गाए।—२स २२:११; भज १८:१०.
अप्रिल १५-२१
बाइबलमा पाइने अनमोल धन | भजन २९-३१
अनुशासन—परमेश्वरको प्रेमको अभिव्यक्ति
it-1-E पृ. ८०२ अनु. ३
मुहार
“मुहार लुकाउनु” भन्ने अभिव्यक्तिले परिस्थितिअनुसार फरक-फरक अर्थ दिन्छ। यहोवा परमेश्वरले आफ्नो मुहार लुकाउनुले अक्सर उहाँले अनुग्रह दिन छोड्नुलाई बुझाउँछ। आफ्नो जन, चाहे त्यो कुनै व्यक्ति वा समूह होस्, अनाज्ञाकारी भएकोले उहाँले अनुग्रह दिन छोड्नुभएको अर्थात् आफ्नो मुहार लुकाउनुभएको हुन सक्छ। (अयु ३४:२९; भज ३०:५-८; यसै ५४:८; ५९:२) कुनै-कुनै अवस्थामा, “मुहार लुकाउनु” भनेको यहोवाले आफ्नो समय पर्खँदै कुनै कदम नचाल्नु वा जवाफ नदिनु भन्ने हुन सक्छ। (भज १३:१-३) दाउदले “मेरा पापहरूदेखि आफ्नो मुहार अन्तै फर्काउनुहोस्” भनी बिन्ती गर्दा परमेश्वरसित क्षमा मागिरहेका थिए अनि अपराधहरू मेटिदिनुहोस् भनेर आग्रह गर्दै थिए।—भज ५१:९; तुलना गर्नुहोस्: भज १०:११.
w०७-E ३/१ पृ. १९ अनु. १
यहोवाको बाटो हेर्दा आनन्दित हुन सक्छौँ
यहोवाले दिनुहुने अनुशासनबाट हामीले लाभ उठाउने तरिकालाई फल पाक्ने प्रक्रियासित तुलना गर्न सकिन्छ। परमेश्वरले दिनुहुने अनुशासनबारे बाइबल यसो भन्छ: “ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता फलाउँछ।” (हिब्रू १२:११) फल पाक्न समय लागेझैँ परमेश्वरले दिनुहुने अनुशासन स्विकार्दै आफ्नो मनोवृत्ति परिवर्तन गर्न समय लाग्छ। उदाहरणको लागि, गलत आचरणले गर्दा मण्डलीमा कुनै सुअवसर गुमाउँदा यहोवाको बाटो हेर्न इच्छुक भयौँ भने हामी निराश हुनेछैनौँ र हार मान्नेछैनौँ। यस्तो अवस्थामा दाउदका यी प्रेरित शब्दहरू साँच्चै प्रोत्साहनदायी छन्: “उहाँको रिस क्षणभर मात्र रहन्छ तर उहाँको अनुग्रह जीवनभर रहन्छ। राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।” (भजन ३०:५) हो, हामीले पर्खने मनोवृत्ति विकास गऱ्यौँ अनि यहोवाले आफ्नो वचन र सङ्गठनबाट दिनुहुने अनुशासन स्विकाऱ्यौँ भने ‘खुसीको आँसु झर्ने’ समय पक्कै आउनेछ!