प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • अब्राहाम र सारा उर छोडेर जान सामानहरू पोको पार्दै छन्‌

      पाठ ८

      अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे

      बाबेल सहरनजिकै उर भन्‍ने सहर थियो। त्यहाँका मानिसहरू यहोवालाई नभई अन्य थुप्रै देवीदेवतालाई पुज्थे। तर एक जना मानिस भने यहोवाको उपासना गर्थे। तिनको नाम अब्राहाम थियो।

      यहोवा परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: ‘आफ्नो घर र नातेदार छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।’ त्यसपछि परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभयो: ‘म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। तिमी नै सबै मानिसहरूका लागि आशिष्‌ साबित हुनेछौ।’

      अब्राहामलाई आफू कहाँ जानुपर्ने हो थाह थिएन तर तिनले यहोवा परमेश्‍वरमाथि भरोसा राखे। त्यसैले अब्राहाम आज्ञाकारी हुँदै आफ्नी पत्नी सारा, बुबा तेरह, भतिजा लुत र आफ्नो सबै सामान लिएर लामो यात्राको लागि निस्के।

      अब्राहाम र तिनको परिवार यहोवाले भन्‍नुभएको ठाउँमा पुग्दा तिनी ७५ वर्षका थिए। त्यस ठाउँको नाम कनान थियो। त्यहाँ यहोवा परमेश्‍वरले अब्राहामसित यस्तो प्रतिज्ञा गर्नुभयो: ‘तिमीले देखिरहेको यो ठाउँ म तिम्रो सन्तानलाई दिनेछु।’ तर अब्राहाम र सारा बूढाबूढी भइसकेका थिए र तिनीहरूको छोराछोरी थिएन। त्यसोभए यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुहुने थियो?

      अब्राहाम र तिनको परिवार कनान जानको लागि लामो यात्रा गर्दै

      “विश्‍वासैले गर्दा [अब्राहाम] आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउने थिए। आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए।”—हिब्रू ११:८

      प्रश्‍नहरू: यहोवा परमेश्‍वरले अब्राहामलाई के गर्न भन्‍नुभयो? यहोवा परमेश्‍वरले अब्राहामसित कस्तो प्रतिज्ञा गर्नुभयो?

      उत्पत्ति ११:२९–१२:९; प्रेषित ७:२-४; गलाती ३:६; हिब्रू ११:८

  • बल्ल एउटा छोरा जन्मियो!
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • स्वर्गदूतहरूले अब्राहामसित कुरा गरेको साराले पालबाट सुनिरहेकी छिन्‌

      पाठ ९

      बल्ल एउटा छोरा जन्मियो!

      अब्राहाम र साराको विवाह भएको धेरै वर्ष भइसकेको थियो। तिनीहरूले उरको आफ्नो आरामदायी घर छोडेर पालमा जीवन बिताइरहेका थिए। तर साराले गनगन गरिनन्‌ किनभने उनी यहोवामा भरोसा राख्थिन्‌।

      सारालाई एउटा बच्चाको एकदमै चाहना थियो। त्यसैले उनले अब्राहामलाई यसो भनिन्‌: ‘यदि तपाईँबाट मेरी दासी हागारको सन्तान भएमा त्यो मेरै बच्चासरह हुनेछ।’ हागारले एउटा छोरा जन्माइन्‌। तिनको नाम इस्माएल राखियो।

      सारा गर्भवती हुन्छिन्‌

      धेरै वर्षपछिको कुरा हो, अब्राहाम ९९ र सारा ८९ वर्षकी हुँदा तिनीहरूकहाँ तीन जना पाहुना आए। अब्राहामले उनीहरूलाई रूखमुनि आराम गर्न अनि सँगै खाना खान भने। ती पाहुनाहरू को थिए, के तिमीलाई थाह छ? उनीहरू स्वर्गदूत थिए! उनीहरूले अब्राहामलाई यसो भने: ‘अर्को वर्ष यसै बेला तिम्री पत्नी साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्‌।’ साराले पालबाट यो कुरा सुनिरहेकी थिइन्‌। तिनले मनमनै हाँस्दै सोचिन्‌: ‘म बूढी भइसकेँ, के मैले साँच्चै सन्तानको सुख पाउन सकूँला र?’

      यहोवा परमेश्‍वरले पठाउनुभएको स्वर्गदूतले प्रतिज्ञा गरेजस्तै अर्को वर्ष साराले एउटा छोरा जन्माइन्‌। अब्राहामले तिनको नाम इसहाक राखे, जसको अर्थ हो, “हाँसो।”

      इसहाक पाँच वर्षजतिको हुँदा इस्माएलले इसहाकको खिसी गरेको साराले याद गरिन्‌। उनी आफ्नो छोराको रक्षा गर्न चाहन्थिन्‌। त्यसैले उनी अब्राहामकहाँ गइन्‌ अनि हागार र इस्माएललाई घरबाट निकालिदिन भनिन्‌। सुरुमा त अब्राहामले साराले भनेअनुसार गर्न मानेनन्‌। तर यहोवाले अब्राहामलाई यसो भन्‍नुभयो: ‘साराको कुरा सुन किनकि तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ। तर म इस्माएलको पनि ख्याल राख्नेछु।’

      हागार र इस्माएल छुट्टिएर जाँदा सारा इसहाकलाई समाउँछिन्‌

      “विश्‍वासैले गर्दा साराले गर्भधारण गर्ने शक्‍ति पाइन्‌ . . . किनकि प्रतिज्ञा गर्नुहुने व्यक्‍तिलाई तिनी विश्‍वासयोग्य ठान्थिन्‌।”—हिब्रू ११:११

      प्रश्‍नहरू: स्वर्गदूतहरूले अब्राहामलाई के भनेको साराले सुनिन्‌? यहोवाले कसरी इसहाकको रक्षा गर्नुभयो?

      उत्पत्ति १६:१-४, १५, १६; १७:२५-२७; १८:१-१५; २१:१-१४; हिब्रू ११:११

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने