प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • युसुफ पोतिफरकी पत्नीबाट भाग्दै छन्‌

      पाठ १४

      एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे

      युसुफ याकुबका छोराहरूमध्ये एक जना थिए। याकुबले युसुफलाई धेरै माया गरेको कुरा युसुफका दाइहरूले याद गरेका थिए। तिम्रो विचारमा तिनका दाइहरूलाई कस्तो लाग्यो होला? तिनीहरूलाई डाह लाग्यो र युसुफलाई देखिसहेनन्‌। एकचोटि युसुफले अचम्मका सपनाहरू देखे र त्यसबारे तिनले दाइहरूलाई बताए। त्यो सुनेर तिनीहरूलाई आफूहरूले कुनै दिन युसुफलाई दण्डवत्‌ गर्नुपर्नेछ भन्‍ने लाग्यो। त्यसपछि तिनीहरूले युसुफलाई झनै घृणा गर्न थाले।

      युसुफका दाइहरू तिनलाई खाडलमा खसालिदिन्छन्‌

      एकदिन युसुफका दाइहरू सकेमनजिकै भेडाबाख्रा चराउँदै थिए। याकुबले युसुफलाई तिनीहरू के गरिरहेका छन्‌ भनेर हेर्न पठाए। तिनका दाइहरूले युसुफ आउँदै गरेको टाढैबाट देखे र एकअर्कालाई भने: “ऊ, हेर त स्वप्नदर्शीको यतैतिर सवारी हुँदै छ! लौ त्यसलाई सिध्याऔँ।” तिनीहरूले युसुफलाई समातेर गहिरो खाडलमा खसालिदिए। तर तिनको एक जना दाइ यहुदाले भने: ‘त्यसलाई नमारौँ, बरु दासको रूपमा बेचिदेऔँ।’ त्यसैले तिनीहरूले युसुफलाई २० टुक्रा चाँदीमा मिश्र गइरहेका मिद्यानी व्यापारीहरूलाई बेचिदिए।

      त्यसपछि युसुफका दाइहरूले तिनको लुगा बोकाको रगतमा चोपे। तिनीहरूले आफ्नो बुबालाई युसुफको त्यो लुगासँगै यस्तो खबर पठाए: ‘यो तपाईँको छोराको लुगा होइन?’ याकुबले लुगा देखेपछि युसुफलाई जङ्‌गली जनावरले माऱ्‍यो होला भन्ठाने। तिनलाई धेरै पीडा भयो। कसैले तिनलाई सान्त्वना दिन सकेन।

      युसुफ झ्यालखानामा

      मिश्रका एक जना अफिसर पोतिफरले युसुफलाई किने। तर यहोवा युसुफको साथमा हुनुहुन्थ्यो। युसुफले राम्ररी काम गरेको र तिनी भरोसायोग्य भएको पोतिफरले याद गरे। त्यसैले चाँडै पोतिफरले आफ्नो सबै थोक युसुफको हातमा सुम्पे।

      पोतिफरकी पत्नीले युसुफ हट्टाकट्टा र सुन्दर भएको याद गरिन्‌। तिनले हरेक दिन युसुफलाई तिनीसित सुत्न फकाउँथिन्‌। तर युसुफले मानेनन्‌ र भने: ‘हेर्नुहोस्‌, यसो गर्नु गलत हो। मेरा मालिकले ममाथि भरोसा गर्नुभएको छ। तर तपाईँ त उहाँकी पत्नी हुनुहुन्छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?’

      एकदिन पोतिफरकी पत्नीले युसुफलाई तिनीसित सुत्न जबरजस्ती गर्न खोजिन्‌। तिनले युसुफको लुगा तानिन्‌ तर युसुफ भागे। तिनले पोतिफर घर फर्केपछि युसुफले तिनलाई जबरजस्ती गर्न खोजेको बताइन्‌। तिनले झूट बोलिरहेकी थिइन्‌। पोतिफर रिसले आगो भए र युसुफलाई झ्यालखानामा थुनिदिए। तर यहोवा परमेश्‍वरले युसुफलाई बिर्सनुभएन।

      “त्यसकारण परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्‌।”—१ पत्रुस ५:६

      प्रश्‍नहरू: युसुफका दाइहरूले तिनीसित कस्तो व्यवहार गरे? युसुफ किन झ्यालखानामा थुनिए?

      उत्पत्ति ३७:१-३६; ३९:१-२३; प्रेषित ७:९

  • यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • युसुफ फारोको सपनाको अर्थ खोलिदिँदै छन्‌

      पाठ १५

      यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन

      युसुफ झ्यालखानामा छँदा मिश्रका राजा फारोले सपनाहरू देखे तर त्यसको अर्थ कसैले खोलिदिन सकेन। युसुफले तिनको सपनाको अर्थ खोलिदिन सक्छन्‌ भनेर फारोका एक जना सेवकले तिनलाई बताए। फारोले तुरुन्तै युसुफलाई झ्यालखानाबाट ल्याउन मानिसहरू पठाए।

      फारोले युसुफलाई सोधे: ‘के तिमीले मेरो सपनाको अर्थ खोलिदिन सक्छौ?’ युसुफले फारोलाई भने: ‘मिश्रभरि सात वर्ष प्रशस्त उब्जनी हुनेछ। तर त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ। अब एक जना बुद्धिमान्‌ मानिस खोज्नुहोस्‌ र उसलाई अन्‍न भण्डार गर्ने जिम्मा दिनुहोस्‌ ताकि अनिकालले गर्दा तपाईँका मानिसहरू भोकभोकै नपरून्‌।’ तब फारोले भने: ‘म तिमीलाई नै रोज्छु! तिमी मिश्रमा मपछिको सबैभन्दा शक्‍तिशाली व्यक्‍ति हुनेछौ।’ युसुफले फारोको सपनाको अर्थ कसरी खोलिदिन सके? यहोवा परमेश्‍वरले युसुफलाई मदत गर्नुभएको थियो।

      युसुफ मानिसहरूलाई अन्‍न भण्डार गर्न निर्देशन दिँदै छन्‌

      तिनले सात वर्षसम्म अन्‍न बटुलेर भण्डार गरे। त्यसपछि युसुफले भनेझैँ पृथ्वीभरि अनिकाल पऱ्‍यो। चारैतिरका मानिसहरू युसुफसित अन्‍न किन्‍न मिश्र आए। तिनका बुबा याकुबले मिश्रमा अन्‍न छ भन्‍ने सुनेपछि आफ्ना दस जना छोरालाई अन्‍न किन्‍न पठाए।

      याकुबका छोराहरू युसुफकहाँ गए र तिनले उनीहरूलाई चिनिहाले। तर तिनका दाइहरूले भने तिनलाई चिनेनन्‌। युसुफले सानो छँदा सपनामा देखेजस्तै तिनका दाइहरूले तिनलाई दण्डवत्‌ गरे। युसुफ आफ्ना दाइहरूको मन अझै घृणाले भरिएको छ कि भनेर जान्‍न चाहन्थे। त्यसैले युसुफले उनीहरूलाई भने: “तिमीहरू जासुस हौ! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ!” उनीहरूले भने: ‘होइन हजुर, हामी कनानका हौँ र हामी १२ दाजुभाइ छौँ। अहिले कान्छो भाइ बुबासितै छ र अर्को भाइचाहिँ मरिसक्यो।’ त्यसपछि युसुफले भने: ‘जाऊ, तिमीहरूको कान्छो भाइलाई मकहाँ लिएर आऊ अनि मात्र म तिमीहरूको विश्‍वास गर्नेछु।’ त्यसैले उनीहरू आफ्नो बुबाकहाँ फर्के।

      आफूकहाँ भएको अन्‍न सिद्धिएपछि याकुबले आफ्ना छोराहरूलाई फेरि मिश्र पठाए। यसपटक उनीहरूले आफूसँग कान्छो भाइ बिन्यामिनलाई लिएर गए। युसुफले दाइहरूलाई जाँच्न बिन्यामिनको धोक्रोमा आफ्नो चाँदीको कचौरा लुकाए र उनीहरूलाई चोरेको आरोप लगाए। युसुफका नोकरहरूले बिन्यामिनको धोक्रोमा कचौरा भेट्टाउँदा उनीहरू जिल्ल परे। त्यसपछि उनीहरूले ‘बिन्यामिनको सट्टा हामीलाई सजाय दिनुहोस्‌’ भनेर बिन्ती गरे।

      अबचाहिँ युसुफ दाइहरू परिवर्तन भएछन्‌ भन्‍ने कुरामा पक्का भए। तिनले आफ्नो मन थाम्नै सकेनन्‌। तिनी डाँको छोडेर रोए। अनि आफ्ना दाइहरूलाई भने: “म युसुफ हुँ। के मेरो बुबा जीवितै हुनुहुन्छ?” तिनका दाजुभाइ अक्क न बक्क भए। तर तिनले उनीहरूलाई भने: ‘तपाईँहरूले मसँग गर्नुभएको व्यवहार सम्झेर दुःख नमान्‍नुहोस्‌। हामी सबैको ज्यान जोगाउन भनेर नै परमेश्‍वरले मलाई यहाँ पठाउनुभएको हो। अब झट्टै गएर बुबालाई यहाँ ल्याउनुहोस्‌।’

      बुबालाई यो खुसीको खबर सुनाउन र मिश्रमा लिएर आउन उनीहरू घर फर्किए। वर्षौँपछि युसुफ र तिनको बुबाको पुनर्मिलन भयो।

      युसुफ र तिनको बुबा याकुब एकअर्कालाई अँगालो हाल्दै छन्‌

      “यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”—मत्ति ६:१५

      प्रश्‍नहरू: यहोवाले युसुफलाई कसरी मदत गर्नुभयो? युसुफले आफ्ना दाइहरूलाई माफी दिएको कुरा कसरी देखाए?

      उत्पत्ति ४०:१–४५:२८; ४६:१-७, २६-३४; भजन १०५:१७-१९; प्रेषित ७:९-१५

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने