प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब को थिए?
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • शरीरभरि खटिरा निस्किएको अय्युबलाई भेट्‌न तीन जना मानिस आउँदै छन्‌

      पाठ १६

      अय्युब को थिए?

      उज भन्‍ने देशमा यहोवा परमेश्‍वरको उपासना गर्ने एक जना मानिस बस्थे। तिनको नाम अय्युब थियो। तिनी धेरै धनी थिए र तिनको परिवार पनि ठूलो थियो। तिनी दयालु थिए। तिनी गरिबहरूलाई, पति गुमाएका स्त्रीहरूलाई र आमाबुबा नभएका बच्चाहरूलाई मदत गर्थे। तिनले असल काम गरे भन्दैमा के तिनीमाथि कहिल्यै कुनै समस्या आइपर्ने थिएन?

      सैतान

      सैतानले अय्युबलाई याद गरिरहेको कुरा तिनलाई थाह थिएन। यहोवा परमेश्‍वरले सैतानलाई भन्‍नुभयो: ‘तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।’ सैतानले यहोवा परमेश्‍वरलाई जवाफ दियो: ‘अय्युबले त तपाईँको डर मानिहाल्छ नि! तपाईँले उसलाई रक्षा गर्नुभएको छ र उसको फलिफाप गराउनुभएको छ। उसलाई जग्गाजमिन र वस्तुभाउ दिनुभएको छ। उसको सबै कुरा खोसेर त हेर्नुहोस्‌, उसले तपाईँको उपासना गर्न छोड्‌नेछ।’ यहोवा परमेश्‍वरले सैतानलाई भन्‍नुभयो: ‘तैँले अय्युबको परीक्षा लिन सक्छस्‌ तर उसको ज्यान भने लिन पाउनेछैनस्‌।’ यहोवा परमेश्‍वरले किन सैतानलाई अय्युबको परीक्षा लिन दिनुभयो? अय्युब वफादार रहनेछन्‌ भन्‍ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो।

      सैतानले अय्युबको परीक्षा लिन तिनीमाथि एकपछि अर्को विपत्ति ल्यायो। सुरुमा त्यसले सबा भनिने ठाउँका मानिसहरूलाई अय्युबका गोरुहरू र गधाहरू चोर्न पठायो। त्यसपछि अय्युबका सबै भेडा आगोले नष्ट भए। कल्दियालीहरूले तिनका उँटहरू चोरेर लगे। ती जनावरहरूको रेखदेख गर्ने नोकरचाकरहरू पनि मारिए। त्यसपछि अय्युबमाथि सबैभन्दा ठूलो विपत्ति आइपऱ्‍यो। तिनका सबै छोराछोरी भोज गर्दै गरेको घर गर्ल्यामगुर्लुम ढल्यो र उनीहरूको मृत्यु भयो। यो सबै खबर सुनेर अय्युब असाध्यै दुःखी भए तर तिनले यहोवा परमेश्‍वरको उपासना गर्न छोडेनन्‌।

      सैतान अय्युबलाई अझै दुःख दिन चाहन्थ्यो। त्यसले अय्युबको शरीरभरि खटिरा निकालिदियो। अय्युबलाई धेरै दुख्यो। यो सबै हुनुको कारण तिनलाई थाह थिएन। तैपनि अय्युबले यहोवा परमेश्‍वरको उपासना गरिरहे। यो देखेर यहोवा परमेश्‍वर अय्युबसित धेरै खुसी हुनुभयो।

      त्यसपछि सैतानले अय्युबको परीक्षा लिन तीन जना मानिस पठायो। उनीहरूले अय्युबलाई भने: ‘तपाईँले लुकीछिपी कुनै पाप गर्नुभएको हुनुपर्छ। त्यसैले परमेश्‍वरले तपाईँलाई सजाय दिइरहनुभएको छ।’ अय्युबले भने: “मैले कुनै गल्ती गरेको छैनँ।” तर अय्युबलाई परमेश्‍वरले गर्दा यो सबै भएको हो जस्तो लाग्न थाल्यो। परमेश्‍वरले तिनीमाथि अन्याय गरिरहनुभएको छ भनेर तिनले भने।

      एलिहु भन्‍ने एक जना जवान मानिसले तिनीहरूको कुरा चुपचाप सुनिरहेका थिए। त्यसपछि उनले भने: ‘तपाईँहरूले भन्‍नुभएको सबै कुरा गलत हो। हामीले सोचेभन्दा यहोवा परमेश्‍वर कता हो कता महान्‌ हुनुहुन्छ। उहाँ कहिल्यै कुनै दुष्ट काम गर्नुहुन्‍न। उहाँ सबै कुरा देख्नुहुन्छ र समस्यामा परेकाहरूलाई मदत गर्नुहुन्छ।’

      अय्युब र उनकी पत्नी आफ्नो बच्चाको साथमा

      त्यसपछि यहोवा परमेश्‍वरले अय्युबसित कुरा गर्नुभयो। उहाँले भन्‍नुभयो: ‘मैले आकाश र पृथ्वी बनाउँदा तिमी कहाँ थियौ? मैले अन्याय गरेँ भनेर तिमी किन भन्छौ? तिमीलाई यो सबै हुनुको कारण थाह छैन तैपनि तिमी बोल्छौ।’ अय्युबले आफ्नो गल्ती स्विकार्दै भने: ‘म गलत थिएँ। मैले तपाईँबारे सुनेको मात्र थिएँ तर अब भने तपाईँलाई साँच्चै चिनेँ। तपाईँको लागि कुनै कुरा असम्भव छैन। म आफूले बोलेको कुरा फिर्ता लिन्छु।’

      परीक्षाहरू सकिएपछि यहोवा परमेश्‍वरले अय्युबलाई फेरि स्वस्थ बनाउनुभयो र तिनलाई पहिलेभन्दा धेरै कुरा दिनुभयो। अय्युबले लामो र सुखी जीवन बिताए। गाह्रो हुँदा पनि यहोवा परमेश्‍वरको कुरा सुनेकोले उहाँले अय्युबलाई आशिष्‌ दिनुभयो। के तिमी पनि जस्तोसुकै अवस्था आए पनि अय्युबजस्तै यहोवा परमेश्‍वरको उपासना गरिरहन्छौ?

      “तिमीहरूले अय्युबको सहनशीलताको विषयमा त सुनेकै छौ अनि यहोवा परमेश्‍वरले तिनलाई दिनुभएको इनाम पनि देखेकै छौ।”—याकुब ५:११

      प्रश्‍नहरू: सैतानले कसरी अय्युबको परीक्षा लियो? यहोवा परमेश्‍वरले अय्युबलाई के इनाम दिनुभयो?

      अय्युब १:१–३:२६; ४:७; ३२:१-५; ३४:५, २१; ३५:२; ३६:१५, २६; ३८:१-७; ४०:८; ४२:१-१७

  • मोसाले यहोवा परमेश्‍वरको उपासना गर्ने निर्णय गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • बालक मोसालाई फोरोकी छोरीले भेट्टाउँछिन्‌; मोसालाई के हुन्छ भनेर मरियम नजिकैबाट हेर्दै छे

      पाठ १७

      मोसाले यहोवा परमेश्‍वरको उपासना गर्ने निर्णय गरे

      मिश्रमा याकुबको परिवारलाई इस्राएलीहरू भनिन्थ्यो। याकुब र युसुफको मृत्युपछि नयाँ फारोले शासन गर्न थाले। इस्राएलीहरू मिश्रीहरूभन्दा शक्‍तिशाली हुन थालेकोले उनी डराए। त्यसैले यी फारोले इस्राएलीहरूलाई आफ्नो दास बनाए। उनले तिनीहरूलाई इँटा बनाउन र खेतमा काम गर्न लगाए। मिश्रीहरूले इस्राएलीहरूलाई जति-जति काममा जोताए, उति-उति तिनीहरूको सङ्‌ख्या बढ्‌न थाल्यो। फारोलाई यो कुरा मन परेन। त्यसैले उनले इस्राएलीहरूबाट जन्मेका छोराजतिलाई मार्ने आदेश दिए। इस्राएलीहरू कत्ति डराए होलान्‌!

      योकेबेद नाम गरेकी एक जना इस्राएली स्त्रीले एउटा सुन्दर छोरा जन्माइन्‌। आफ्नो छोरालाई बचाउन तिनले उसलाई टोकरीमा राखिन्‌ र त्यो टोकरीलाई नाइल नदीको किनारामा भएका नर्कटहरूको बीचमा लुकाइन्‌। ती बालककी दिदी मरियम आफ्नो भाइलाई के होला भनेर हेर्न टाढै उभिरहिन्‌।

      फारोकी छोरी नाइल नदीमा नुहाउन आउँदा उनले त्यो टोकरी देखिन्‌। टोकरी खोलेर हेर्दा त्यसमा रोइरहेको बच्चा थियो। यो देखेर उनलाई साह्रै माया लाग्यो। मरियमले सोधी: ‘यो बाबुलाई दूध खुवाउन धाईआमा बोलाएर ल्याऊँ?’ फारोकी छोरीले ‘हुन्छ’ भनेपछि मरियमले आफ्नी आमा योकेबेदलाई बोलाएर ल्याई। फारोकी छोरीले तिनलाई भनिन्‌: ‘यो बच्चा लिएर जाऊ अनि उसलाई दूध खुवाऊ। म तिमीलाई ज्याला दिनेछु।’

      मोसा भाग्छन्‌

      बालक हुर्केपछि योकेबेदले उसलाई फारोकी छोरीकहाँ लगिन्‌। अनि फारोकी छोरीले त्यो बालकको नाम मोसा राखिन्‌ र उसलाई आफ्नो छोराजस्तै गरी पालिन्‌। मोसा एक जना राजकुमारको रूपमा हुर्किए। तिनी आफूले चाहेको जे पनि पाउन सक्थे। तर मोसाले यहोवा परमेश्‍वरलाई कहिल्यै बिर्सिएनन्‌। तिनलाई आफू मिश्री नभई इस्राएली हुँ भनेर थाह थियो। अनि तिनले यहोवा परमेश्‍वरको सेवा गर्ने निर्णय गरे।

      चालीस वर्षको हुँदा मोसाले आफ्ना मानिसहरूलाई मदत गर्ने निर्णय गरे। तिनले एक जना मिश्रीले एक जना इस्राएली दासलाई कुटिरहेको देखेपछि त्यस मिश्रीलाई यत्ति बेस्सरी हाने कि ऊ मऱ्‍यो। मोसाले त्यस मिश्रीको लास बालुवामा पुरिदिए। फारोले यो कुरा थाह पाएपछि मोसालाई मार्न खोजे। तर मोसा भागेर मिद्यानीहरूको देशमा गए। त्यहाँ यहोवाले तिनको ख्याल राख्नुभयो।

      “विश्‍वासैले गर्दा मोसाले . . . फारोकी छोरीको छोरा कहलाइन इन्कार गरे अनि . . . परमेश्‍वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।”—हिब्रू ११:२४, २५

      प्रश्‍नहरू: मिश्रमा इस्राएलीहरूलाई कस्तो व्यवहार गरियो? मोसा किन मिश्रबाट भागे?

      उत्पत्ति ४९:३३; प्रस्थान १:१-१४, २२; २:१-१५; प्रेषित ७:१७-२९; हिब्रू ११:२३-२७

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने