-
बलिरहेको झाडीबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ १८
बलिरहेको झाडी
मोसा मिद्यानमा ४० वर्ष बसे। त्यहाँ तिनले बिहे गरे र तिनका छोराछोरी पनि भए। एकदिन सिनै डाँडानजिकै भेडा चराउँदै गर्दा तिनले एउटा अनौठो कुरा देखे। झाडी बलिरहेको थियो तर त्यो डढेको भने थिएन! के भएछ भनेर नजिकबाट हेर्न जाँदा मोसाले झाडीको बीचबाट एउटा यस्तो आवाज सुने: ‘मोसा! त्यहीँ उभिराख, नजिक नआऊ! तिम्रो जुत्ता फुकाल किनभने तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ।’ त्यो आवाज यहोवा परमेश्वरको थियो। उहाँ एक जना स्वर्गदूतमार्फत बोल्दै हुनुहुन्थ्यो।
मोसा डराए र तिनले अनुहार छोपे। परमेश्वरले यसो भन्नुभयो: ‘इस्राएलीहरूको दुःख मैले देखेको छु। म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर एउटा असल देशमा लैजानेछु। तिमीले मेरा मानिसहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछौ।’ यो कुरा सुन्दा मोसा कत्ति छक्क परे होलान्!
तब मोसाले भने: ‘मानिसहरूले मलाई पठाउनुहुने को हो भनेर सोध्दा म के भनूँ?’ परमेश्वरले यस्तो जवाफ दिनुभयो: ‘मलाई अब्राहाम, इसहाक अनि याकुबका परमेश्वर यहोवाले पठाउनुभएको हो भनेर भन्नू।’ त्यसपछि मोसाले यसो भने: ‘तिनीहरूले मेरो कुरा पत्याएनन् भने के गर्ने?’ त्यसपछि यहोवा परमेश्वरले तिनलाई मदत गर्नेछु भनेर देखाउन एउटा प्रमाण दिनुभयो। उहाँले मोसालाई तिनको लौरो भुइँमा फाल्न भन्नुभयो र त्यो सर्प बन्यो! मोसाले त्यसको पुच्छरमा समात्दा त्यो फेरि लौरो बन्यो। यहोवा परमेश्वरले यसो भन्नुभयो: ‘यो देखेपछि मैले नै तिमीलाई पठाएको हुँ भनेर तिनीहरूले विश्वास गर्नेछन्।’
मोसाले भने: “म बोल्न सिपालु छैनँ।” त्यसपछि यहोवा परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभयो: ‘के बोल्ने भनेर म तिमीलाई सिकाउनेछु र तिम्रो दाइ हारुनले तिमीलाई सघाउनेछन्।’ यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर ढुक्क भएपछि मोसा आफ्नी पत्नी र छोराहरूलाई लिएर मिश्र फर्के।
“कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ।”—मत्ति १०:१९
-
-
पहिलो तीन विपत्तिबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ १९
पहिलो तीन विपत्ति
इस्राएलीहरू दास भएर काममा जोतिन बाध्य भए। यहोवा परमेश्वरले मोसा र हारुनलाई यो सन्देश दिन फारोकहाँ पठाउनुभयो: ‘मेरो प्रजालाई जान देऊ र तिनीहरूले निर्जनभूमिमा गएर मेरो उपासना गर्न सकून्।’ घमन्डी फारोले यसो भने: ‘त्यो यहोवाले के भन्छ, मलाई मतलब छैन। तिमीहरू जेसुकै भन, म इस्राएलीहरूलाई जान दिन्नँ।’ त्यसपछि फारोले इस्राएलीहरूलाई काममा अझ दलाए। यहोवा परमेश्वरले फारोलाई पाठ सिकाउनुहुने थियो। कसरी, तिमीलाई थाह छ? उहाँले मिश्रमाथि १० विपत्ति ल्याउनुभयो। यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो: ‘फारोले मेरो कुरा मानिरहेको छैन। बिहान फारो नाइल नदीमा जानेछन् र उसलाई त्यहाँ गएर भेट्नू। उनले मेरा प्रजालाई जान नदिएकोले नाइल नदीको पानी रगत बन्नेछ भन्नू।’ मोसा यहोवा परमेश्वरले भन्नुभएझैँ फारोलाई भेट्न गए। हारुनले आफ्नो लौरोले नाइल नदीमा हिर्काउँदा फारोले हेरिरहे र नभन्दै नदी रगतमा बदलियो। नदी गन्हाउन थाल्यो, त्यहाँका माछाहरू मर्न थाले र नदीको पानी खानै नसकिने भयो। तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्।
सात दिनपछि यहोवा परमेश्वरले मोसालाई फेरि यो सन्देश सुनाउन फारोकहाँ पठाउनुभयो: ‘तिमीले मेरा प्रजालाई अझै पनि जान दिएनौ भने म तिम्रो देशभरि भ्यागुता पठाएर सताउनेछु।’ हारुनले आफ्नो लौरो पसारे र पानीबाट निस्केका भ्यागुताले पूरै मिश्र भरियो। मानिसहरूको घर, ओछ्यान र भाँडाकुँडा सबै भ्यागुताले भरिए। सबैतिर भ्यागुता नै भ्यागुता भयो! त्यसपछि फारोले मोसालाई यो विपत्ति हटोस् भनेर यहोवा परमेश्वरलाई बिन्ती गरिदिन भने। फारोले इस्राएलीहरूलाई जान दिने प्रतिज्ञा गरे। त्यसैले यहोवा परमेश्वरले विपत्ति हटाइदिनुभयो र मिश्रीहरूले ठाउँठाउँमा मरेका भ्यागुताहरूको थुप्रो लगाए। पूरै देश डुङडुङ्ती गन्हाउन थाल्यो। तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्।
त्यसपछि यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो: ‘हारुनले आफ्नो लौरो उठाएर जमिनको धुलोमा हिर्काऊन् र त्यो भुसुना बनेर मिश्रभरि फैलिनेछ।’ नभन्दै मिश्रभरि भुसुनै भुसुना भयो। फारोका आफ्नै मानिसहरूले पनि यसो भने: ‘यस विपत्तिमा परमेश्वरकै हात छ!’ तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्।
“म तिनीहरूलाई आफ्नो शक्ति र पराक्रम देखाउनेछु। अनि मेरो नाम यहोवा हो भनेर तिनीहरूले जान्नेछन्।”—यर्मिया १६:२१
-