-
अर्को छ वटा विपत्तिबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ २०
अर्को छ वटा विपत्ति
मोसा र हारुन परमेश्वरको यो सन्देश लिएर फारोकहाँ गए: ‘तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने म तिम्रो देशभरि हुलका हुल झिँगा पठाउनेछु।’ धनी होस् वा गरिब, सारा मिश्रीहरूको घरभरि झिँगैझिँगा भयो। पूरै देशमा झिँगा फैलियो। तर इस्राएलीहरू बसोबास गर्ने इलाका गोसेनमा भने एउटै झिँगा थिएन। यो चौथो र यसपछिका विपत्तिहरूले भने मिश्रीहरूलाई मात्र असर गऱ्यो। फारोले यस्तो बिन्ती गरे: ‘झिँगाहरू हटून् भनेर मेरो लागि यहोवा परमेश्वरलाई बिन्ती चढाइदेओ। म तिम्रा मानिसहरूलाई जान दिन्छु।’ तर यहोवा परमेश्वरले झिँगाहरू हटाइदिनुभएपछि फारोले मन बदले। के फारोले कहिल्यै पाठ सिक्ने थिए?
यहोवा परमेश्वरले यसो भन्नुभयो: ‘फारोले मेरा मानिसहरूलाई जान दिएन भने मिश्रीहरूका जनावरहरू भयानक रोग लागेर मर्नेछन्।’ भोलिपल्टै जनावरहरू भकाभक मर्न थाले। तर इस्राएलीहरूका जनावरहरू भने एउटै मरेनन्। तैपनि फारोको हृदय कठोर भइरह्यो र उनले इस्राएलीहरूलाई जान दिएनन्।
त्यसपछि यहोवाले मोसालाई फेरि फारोकहाँ जान र खरानी लिएर हावामा उडाइदिन भन्नुभयो। मोसाले त्यसो गर्दा खरानी मसिनो धुलो भयो र मिश्रभरि फैलियो। त्यसले गर्दा मिश्रीहरूमा अनि तिनीहरूका जनावरहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्किए। तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्।
यहोवा परमेश्वरले मोसालाई यो सन्देश सुनाउन फेरि फारोकहाँ पठाउनुभयो: ‘के तिमी मेरा मानिसहरूलाई अझै जान दिँदैनौ? हेर, भोलि म ठूलठूला असिना बर्साउनेछु।’ भोलिपल्ट यहोवा परमेश्वरले मेघ, असिना र आगो पठाउनुभयो। मिश्रमा यस्तो आँधी कहिल्यै आएको थिएन। सबै रूख र बालीनाली असिनाले गर्दा नष्ट भए तर गोसेनमा भने एउटै असिना परेन। तब फारोले भने: ‘यो सबै रोकिदिन यहोवा परमेश्वरलाई बिन्ती गरिदेओ। त्यसपछि म तिमीहरूलाई जान दिनेछु।’ तर असिना र पानी थामिनेबित्तिकै फारोले मन बदले।
तब मोसाले भने: ‘अब सलहहरू आएर असिनाबाट बचेको बोटबिरुवा एउटै बाँकी नराखी खानेछन्।’ लाखौँ सलहले असिनाबाट बचेको बोटबिरुवा र रूखको फल खाइदिए। त्यसपछि फारोले यस्तो बिन्ती गरे: ‘यी सलहहरूलाई हटाइदिन यहोवा परमेश्वरलाई बिन्ती गरिदेओ।’ तर यहोवा परमेश्वरले सलहहरूलाई हटाइदिनुभएपछि पनि फारोको हृदय कठोरै भइरह्यो।
यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “आफ्नो हात आकाशतिर पसार।” नभन्दै मिश्रभरि निस्पट्ट अँध्यारो भयो। तीन दिनसम्म तिनीहरूले केही देख्न सकेनन्। तर इस्राएलीहरू बसेको ठाउँमा भने उज्यालो थियो।
त्यसपछि फारोले मोसालाई भने: ‘तिमी र तिम्रा मानिसहरू जान सक्छौ। तिमीहरूका जनावरहरूचाहिँ यहीँ छोड।’ तब मोसाले भने: ‘यहोवा परमेश्वरको निम्ति बलि चढाउन हामीले आफ्नो वस्तुभाउ लैजानै पर्छ।’ फारो रिसले चुर भए र यसो भन्दै कराए: ‘यहाँबाट गइहाल! मैले तिमीलाई फेरि देखेँ भने म तिमीलाई मार्नेछु।’
“तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच, परमेश्वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्नता देख्नेछौ।”—मलाकि ३:१८
-
-
दसौँ विपत्तिबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ २१
दसौँ विपत्ति
मोसाले फारोकहाँ फेरि कहिल्यै देखा नपर्ने वाचा गरे। तर त्यहाँबाट निस्कनुअघि तिनले फारोलाई यसो भने: ‘मध्यरातमा मिश्रभरि सबैको पहिलो सन्तान मर्नेछन्—फारोको जेठो छोरादेखि लिएर कमाराहरूको जेठो छोरासम्म।’
यहोवा परमेश्वरले इस्राएलीहरूलाई विशेष खाना तयार पार्न भन्नुभयो। उहाँले यसो भन्नुभयो: ‘एक वर्षको पाठो ल्याउनू; त्यो पाठो कि भेडाको कि त बाख्राको होस्। अनि त्यस पाठोको रगत घरको ढोकामा छर्कनू। त्यसको मासु आगोमा पोल्नू अनि खमिर नहालेको रोटीसित खानू। लुगा, जुत्ता लगाएर जान तयार रहनू। त्यस रात म तिमीहरूलाई छुटाउनेछु।’ इस्राएलीहरू कत्ति खुसी भए होलान्!
मध्यरातमा यहोवा परमेश्वरको स्वर्गदूत मिश्रभरिका सबै घरमा गए। रगत नछर्किएको सबै घरका पहिलो सन्तान मरे। तर रगत छर्किएको घरमा स्वर्गदूतले केही पनि गरेनन्। धनी होस् वा गरिब, प्रत्येक मिश्री परिवारमा जेठो छोराको मृत्यु भयो। तर इस्राएलीहरूको सन्तानको मृत्यु भएन।
फारोको छोराको समेत मृत्यु भयो। फारोलाई धेरै पीडा भयो। तिनले मोसा र हारुनलाई तुरुन्तै बोलाएर यसो भने: ‘तिमीहरू यहाँबाट गइहाल! तिमीहरूका परमेश्वर यहोवाको उपासना गर्न जाओ! तिमीहरूका जनावरहरू पनि सँगै लैजाओ।’
पूर्णिमाको दिन इस्राएलीहरू परिवार-परिवार र कुल-कुल गरेर मिश्रबाट निस्किए। इस्राएली पुरुषहरू ६ लाख थिए र तिनीहरूसँग थुप्रै स्त्री र केटाकेटी पनि थिए। अरू जातिका थुप्रै मानिस तिनीहरूसँगै गए किनभने तिनीहरू पनि यहोवा परमेश्वरको उपासना गर्न चाहन्थे। इस्राएलीहरूले बल्ल छुटकारा पाए!
यहोवा परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटाउनुभएको दिन सम्झिन तिनीहरूले हरेक वर्ष त्यस्तै विशेष खाना खान्थे। यसलाई निस्तार चाड भनिन्थ्यो।
“तिमीद्वारा मेरो शक्ति प्रकट होस् अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”—रोमी ९:१७
-