प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनीहरूले आफ्नो वाचा तोडे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • इस्राएलीहरू सुनको बाछोको वरिपरि गाउँदै र नाच्दै छन्‌

      पाठ २४

      तिनीहरूले आफ्नो वाचा तोडे

      यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ‘डाँडामा उक्लेर मकहाँ आऊ। म तिमीलाई मेरा नियमहरू ढुङ्‌गाका पाटीमा लेखेर दिनेछु।’ मोसा डाँडामा उक्ले अनि ४० दिन र ४० रात त्यहीँ बसे। तिनी त्यहाँ छँदा परमेश्‍वरले ढुङ्‌गाका दुई वटा पाटीमा १० आज्ञा लेखेर दिनुभयो।

      मोसा ढुङ्‌गाका पाटीहरू भुईँमा बजार्दै छन्‌

      केही समय बितेपछि इस्राएलीहरूले तिनीहरूलाई मोसाले बिर्सिए भन्ठाने। तिनीहरूले हारुनलाई भने: ‘हामीलाई डोऱ्‍याउने कोही चाहियो। हाम्रो लागि एउटा देवता बनाइदिनुहोस्‌।’ हारुनले भने: ‘तिमीहरूको सुन मकहाँ ल्याओ।’ उनले तिनीहरूले ल्याएको सुन गालेर बाछोको मूर्ति बनाए। तिनीहरूले भने: ‘हामीलाई मिश्रबाट छुटाएर ल्याउने हाम्रो देवता यही बाछो हो।’ तिनीहरूले त्यो सुनको बाछोलाई पुज्दै रमाइलो गर्न थाले। के त्यसो गर्नु सही थियो? थिएन! इस्राएलीहरूले यहोवा परमेश्‍वरको मात्र उपासना गर्ने वाचा गरेका थिए। तर तिनीहरूले आफ्नो वाचा तोडे।

      यो देखेपछि उहाँले मोसालाई भन्‍नुभयो: ‘तल मानिसहरूकहाँ जाऊ। तिनीहरूले मेरो आज्ञा पालन नगरी झूटो देवताको उपासना गरिरहेका छन्‌।’ मोसा ढुङ्‌गाका दुई वटा पाटी लिएर डाँडाबाट ओर्ले।

      छाउनीनजिकै पुगेपछि मानिसहरूले गाइरहेको मोसाले सुने। तिनीहरूले नाच्दै मूर्तिलाई ढोगिरहेका थिए। यो देखेर मोसा रिसले आगो भए। तिनले ढुङ्‌गाका दुई वटा पाटी भुईँमा बजारे र ती टुक्राटुक्रा भए। त्यसपछि तिनले तुरुन्तै मूर्तिलाई नष्ट गरिदिए। तिनले हारुनलाई सोधे: ‘तिनीहरूले तपाईँलाई यस्तो घोर पाप गर्न कसरी मनाए?’ हारुनले भने: ‘मसित नरिसाउनुहोस्‌। यी मानिसहरू कस्ता छन्‌, तपाईँलाई थाहै छ। तिनीहरू एउटा देवता चाहन्थे, त्यसैले मैले तिनीहरूको सुन आगोमा फालेँ र यो बाछो निस्क्यो।’ हारुनले त्यसो गर्नु हुँदैनथ्यो। मोसा फेरि डाँडामा उक्ले र मानिसहरूलाई क्षमा दिनुहोस्‌ भनेर परमेश्‍वरलाई बिन्ती गरे।

      यहोवा परमेश्‍वरले आफ्नो आज्ञा मान्‍न तयार भएकाहरूलाई क्षमा दिनुभयो। इस्राएलीहरूले मोसाको डोऱ्‍याइ स्विकार्नु कत्ति महत्त्वपूर्ण थियो, के तिमीले बुझ्यौ?

      “तिमीले परमेश्‍वरलाई कुनै भाकल गऱ्‍यौ भने त्यो पूरा गर्न ढिलो नगर किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्‍न हुनुहुन्‍न। त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।”—उपदेशक ५:४

      प्रश्‍नहरू: मोसा डाँडामा उक्लँदा इस्राएलीहरूले के गरे? फर्केर आएपछि मोसाले के गरे?

      प्रस्थान २४:१२-१८; ३२:१-३०

  • उपासनाको लागि वासस्थान
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • वासस्थान र त्यसको चोक

      पाठ २५

      उपासनाको लागि वासस्थान

      मोसा सिनै डाँडामा छँदा यहोवा परमेश्‍वरले तिनलाई उहाँको लागि विशेष पाल बनाउन भन्‍नुभयो। त्यस पाललाई वासस्थान भनिन्थ्यो र इस्राएलीहरूले त्यहाँ यहोवा परमेश्‍वरको उपासना गर्न सक्थे। तिनीहरू जहाँ गए पनि वासस्थान बोकेर लैजान मिल्थ्यो।

      यहोवा परमेश्‍वरले भन्‍नुभयो: ‘वासस्थान बनाउन इस्राएलीहरूलाई आफूले सकेजति दिन भन्‍नू।’ तिनीहरूले सुन, चाँदी, तामा, बहुमूल्य रत्न र गरगहना दिए। साथै तिनीहरूले ऊन, मलमलको कपडा, जनावरको छाला र अरू थुप्रै कुरा दिए। तिनीहरूले एकदमै उदार भएर दिएकोले मोसाले यसो भन्‍नुपऱ्‍यो: ‘हामीसँग पुग्दो सरसामान जम्मा भइसक्यो। अरू केही नल्याउनुहोस्‌।’

      वासस्थान बनाउनको लागि इस्राएलीहरू अनुदान दिँदै छन्‌

      थुप्रै सिपालु पुरुष र स्त्रीले वासस्थान बनाउन सघाए। परमेश्‍वरले तिनीहरूलाई बुद्धि दिनुभयो। तिनीहरूमध्ये कसै-कसैले धागो काते, कपडा बुने र त्यसमा बुट्टा भरे। अरू कसै-कसैले भने सुनको काम गरे र कसै-कसैले रत्नहरू काट्‌ने र जड्‌ने अनि काठमा बुट्टा कुँद्‌ने काम गरे।

      मानिसहरूले यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै वासस्थान बनाए। तिनीहरूले वासस्थानको पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याउन सुन्दर पर्दा बनाए। महापवित्र कोठामा बबुल काठ र सुनले बनेको करारको सन्दुक थियो। पवित्र कोठामा सुनको पानस, टेबुल र धूप बाल्ने वेदी थियो। वासस्थानको चोकमा तामाको बाटा र ठूलो वेदी थियो। करारको सन्दुकले इस्राएलीहरूलाई तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गर्ने वाचा गरेको कुरा सम्झाउँथ्यो। करार भनेको के हो, तिमीलाई थाह छ? करार भनेको विशेष खालको वाचा हो।

      यहोवा परमेश्‍वरले हारुन र तिनका छोराहरूलाई वासस्थानको पुजारी बनाउनुभयो। तिनीहरूले वासस्थानको रेखदेख गर्नुपर्थ्यो र उहाँको लागि बलिदानहरू दिनुपर्थ्यो। हारुन प्रधानपुजारी भएकोले तिनी मात्र महापवित्र कोठामा जान पाउँथे। तिनी वर्षमा एक चोटि मात्र आफ्नो, आफ्नो परिवारको र पूरै इस्राएलको पापको प्रायश्‍चित गर्न चढाएको बलिको रगत लिएर महापवित्र कोठामा पस्थे।

      मिश्र छोडेको एक वर्षपछि इस्राएलीहरूले वासस्थान बनाउने काम सिध्याए। अब तिनीहरूले यहोवा परमेश्‍वरको उपासना गर्ने एउटा ठाउँ पाए।

      वासस्थान यहोवा परमेश्‍वरको महिमाले भरियो र त्यसको माथि बादल देखा पऱ्‍यो। त्यो बादल वासस्थानको माथि रहुन्जेल इस्राएलीहरू यात्रा थाल्दैनथे। तर त्यो बादल माथि उठेपछि तिनीहरूले यात्रा अघि बढाउने बेला भयो भनेर बुझ्थे। तिनीहरू वासस्थानलाई खोलखाल पारेर बोक्थे र बादलको पछिपछि लाग्थे।

      “तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: ‘हेर! परमेश्‍वरको वासस्थान मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्‌। परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ।’”—प्रकाश २१:३

      प्रश्‍नहरू: यहोवा परमेश्‍वरले मोसालाई के बनाउन भन्‍नुभयो? यहोवा परमेश्‍वरले हारुन र तिनका छोराहरूलाई कस्तो काम दिनुभयो?

      प्रस्थान २५:१-९; ३१:१-११; ४०:३३-३८; हिब्रू ९:१-७

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने