प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाह्र जना जासुस
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • इस्राएली पुरुषहरू कनान देशको जासुसी गर्दै छन्‌

      पाठ २६

      बाह्र जना जासुस

      इस्राएलीहरू सिनै डाँडा छोडेर पारानको निर्जनभूमि हुँदै कादेस गए। त्यहाँ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ‘मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशमा १२ जना जासुसहरू पठाउनू। तिनीहरू हरेक कुलबाट एक-एक जना हुनुपर्छ।’ त्यसैले तिनले १२ जना पुरुष छानेर यसो भने: ‘कनानमा गएर त्यहाँको जमिन उर्वर छ कि छैन, हेरेर आउनू। त्यहाँका मानिसहरू बलिया छन्‌ कि कमजोर, पालमा बस्छन्‌ कि सहरहरूमा, पत्ता लगाउनू।’ त्यसैले तिनीहरू कनानको जासुसी गर्न निस्के। तिनीहरूमध्ये यहोसु र कालेब पनि थिए।

      इस्राएलीहरू गनगन गर्छन्‌ र निराश हुन्छन्‌

      ती जासुसहरू ४० दिनपछि अनार, अन्जिर र अङ्‌गुर लिएर फर्के। तिनीहरूले यस्तो खबर ल्याए: ‘त्यो देश साँच्चै राम्रो छ तर त्यहाँका मानिसहरू एकदमै बलिया छन्‌। त्यहाँका सहरहरू ठूलठूला पर्खालले घेरिएका छन्‌।’ त्यसपछि कालेबले भने: ‘हामी त्यस देशलाई जित्न सक्छौँ। त्यसैले तुरुन्तै कब्जा गर्न जाऔँ!’ कालेबले किन त्यसो भने, के तिमीलाई थाह छ? कालेब र यहोसु यहोवामा भरोसा राख्थे। तर बाँकी १० जना जासुसले भने: ‘होइन! त्यहाँका मानिसहरू राक्षसहरूजस्तै बडेमाका छन्‌। तिनीहरूको अगाडि हामी फट्याङ्‌ग्राजस्तै देखियौँ।’

      यो सुनेर इस्राएलीहरू निराश भए। तिनीहरूले गनगन गर्दै आपसमा यसो भने: ‘अब अर्कै एक जना नाइके छानौँ र मिश्र फर्कौँ! त्यस देशका मानिसहरूले हामीलाई मार्नेछन्‌ भने त्यहाँ किन जानु।’ यहोसु र कालेबले भने: ‘यहोवाको आज्ञा मान। त्यहाँका मानिसहरूसित नडराओ। उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।’ तर इस्राएलीहरूले तिनीहरूको कुरा सुनेनन्‌। उनीहरूले यहोसु र कालेबलाई मार्ने सल्लाहसमेत गरे।

      परमेश्‍वरले के गर्नुभयो? उहाँले मोसालाई भन्‍नुभयो: ‘मैले इस्राएलीहरूको लागि यति धेरै गरिसकेँ तैपनि तिनीहरू मेरो आज्ञा मान्दैनन्‌। त्यसैले तिनीहरू यही निर्जनभूमिमा ४० वर्षसम्म रहनेछन्‌ र मर्नेछन्‌। मैले तिनीहरूलाई दिन्छु भनेर कसम खाएको देशमा तिनीहरूका छोराछोरीहरू, यहोसु र कालेब मात्र जान पाउनेछन्‌।’

      “तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्‍वास कत्ति कमजोर!”—मत्ति ८:२६

      प्रश्‍नहरू: कनान देशबाट १२ जना जासुस फर्किएपछि के भयो? यहोसु र कालेबले यहोवा परमेश्‍वरमाथि भरोसा राखेको कसरी देखाए?

      गन्ती १३:१–१४:३८; व्यवस्था १:२२-३३; भजन ७८:२२; हिब्रू ३:१७-१९

  • तिनीहरूले यहोवा परमेश्‍वरको विरोध गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • कोरह र तिनका समर्थकहरू मोसा र हारुनसामु खडा छन्‌

      पाठ २७

      तिनीहरूले यहोवा परमेश्‍वरको विरोध गरे

      केही समयपछि इस्राएलीहरू निर्जनभूमिमै हुँदा कोरह, दातान, अबिराम र अरू २५० जना इस्राएलीले मोसाको विरोध गरे। तिनीहरूले मोसालाई भने: ‘अब त अति भयो! तपाईँ किन हाम्रो नाइके र हारुन हाम्रो प्रधानपुजारी हुनुपऱ्‍यो र? यहोवा परमेश्‍वर तपाईँ र हारुनसँग मात्र होइन, हाम्रो साथमा पनि हुनुहुन्छ।’ यो देखेर परमेश्‍वरलाई दुःख लाग्यो र तिनीहरूले उहाँकै विरोध गरेको ठान्‍नुभयो।

      मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: ‘भोलि बिहान आ-आफ्नो धुपौरोमा धूप राखेर वासस्थानमा आउनू। यहोवा परमेश्‍वरले कसलाई रोज्नुहुन्छ, उहाँले नै थाह दिनुहुनेछ।’

      भोलिपल्ट कोरह र तिनका २५० जना समर्थक मोसालाई वासस्थानमा भेट्‌न आए। आफू पुजारी भएझैँ तिनीहरूले आ-आफ्नो धुपौरोमा धूप बाले। यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: ‘कोरह र त्यसका मानिसहरूबाट अलग्गै बस।’

      कोरह मोसालाई वासस्थानमा भेट्‌न गए तर दातान, अबिराम र तिनीहरूका परिवार जान मानेनन्‌। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई कोरह, दातान र अबिरामको पालबाट पर हट्‌न भन्‍नुभयो। यो सुन्‍नेबित्तिकै इस्राएलीहरू पर हटे। दातान, अबिराम र तिनीहरूका परिवार आ-आफ्नो पालबाहिर उभिए। अचानक जमिन फाट्यो र तिनीहरूलाई निल्यो! वासस्थानमा चाहिँ परमेश्‍वरले आगो बर्साउनुभयो अनि धूप चढाइरहेका कोरह र तिनका २५० जना समर्थक नाश भए।

      जमिन फाट्‌छ र दातान, अबिराम र तिनीहरूका परिवारलाई निल्छ

      त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: ‘इस्राएलीहरूको प्रत्येक कुलको कुलनायकबाट एक-एक वटा लौरो लिनू र त्यसमा तिनीहरूको आ-आफ्नो नाम लेख्नू। लेविको कुलको लौरोमा चाहिँ हारुनको नाम लेख्नू। ती लौरोहरू वासस्थानभित्र राख्नू र म जसलाई रोज्छु, तिनको लौरोमा कोपिला लाग्नेछ।’

      भोलिपल्ट मोसाले वासस्थानबाट लौरोहरू बाहिर ल्याएर कुलनायकहरूलाई देखाए। हारुनको लौरोमा फुलेको फूल र पाकेको कागजी बदाम थियो। यसरी यहोवा परमेश्‍वरले हारुनलाई प्रधानपुजारी हुन रोज्नुभएको कुरा देखाउनुभयो।

      “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस।”—हिब्रू १३:१७

      प्रश्‍नहरू: कोरह र तिनका समर्थकहरूले किन मोसाको विरोध गरे? यहोवा परमेश्‍वरले हारुनलाई प्रधानपुजारी हुन रोज्नुभएको कुरा कसरी देखाउनुभयो?

      गन्ती १६:१–१७:१३; २६:९-११; भजन १०६:१६-१८

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने