प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • राहाबले जासुसहरूलाई लुकाइन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • सिपाहीहरूलाई अर्कैतिर पठाएर राहाबले जासुसहरूलाई बचाउँछिन्‌

      पाठ ३०

      राहाबले जासुसहरूलाई लुकाइन्‌

      इस्राएली जासुसहरू यरिहो जाँदा तिनीहरू राहाब नाम गरेकी स्त्रीको घरमा बसेका थिए। यरिहोका राजाले यो खबर पाएपछि उनले सिपाहीहरूलाई राहाबको घरमा पठाए। राहाबले ती दुई जासुसलाई आफ्नो घरको छतमा लुकाइन्‌ र सिपाहीहरूलाई अर्कैतिर पठाइदिइन्‌। तिनले जासुसहरूलाई भनिन्‌: ‘म तपाईँहरूलाई मदत गर्छु किनकि मलाई थाह छ, यहोवा परमेश्‍वर तपाईँहरूको साथमा हुनुहुन्छ र तपाईँहरूले यो देशलाई हराउनुहुनेछ। कृपया कसम खानुहोस्‌, तपाईँहरूले मेरो परिवारलाई बचाउनुहुनेछ।’

      ती जासुसहरूले राहाबलाई भने: ‘हामी कसम खान्छौँ, तिम्रो घरमा भएको कसैले पनि ज्यान गुमाउनेछैन। अनि तिमीले आफ्नो घरको झ्यालमा रातो डोरी बाँध्नु र तिम्रो घरमा भएको सबै जना बच्नेछ।’

      यरिहो सहर ध्वस्त हुँदा झ्यालमा रातो डोरी बाँधिएको राहाबको घरलाई भने केही हुँदैन

      राहाबले ती जासुसहरूलाई आफ्नो घरको झ्यालबाट तल ओरालिन्‌। तिनीहरू पहाडी इलाकातिर गए र तीन दिनसम्म लुकेर बसे। त्यसपछि मात्र तिनीहरू यहोसुकहाँ फर्के। इस्राएलीहरूले यर्दन नदी पार गरे र यरिहो सहरलाई आक्रमण गर्न तयारी गरे। तिनीहरूले जितेको पहिलो सहर यरिहो थियो। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई हरेक दिन त्यस सहरलाई एक फन्को लगाउन भन्‍नुभयो। सातौँ दिनमा चाहिँ तिनीहरूले सात चोटि फन्को लगाउनुपर्ने थियो। त्यसपछि पुजारीहरूले सिङ फुके र लडाकुहरू ठूलो स्वरले कराए। सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो! तर पर्खालमाथि बनाइएको राहाबको घरचाहिँ केही भएन। राहाबले यहोवा परमेश्‍वरमाथि भरोसा राखेकीले तिनी र तिनको परिवार बच्यो।

      “त्यसैगरि . . . राहाबले सन्देशवाहकहरूलाई आफ्नो घरमा स्वागत गरेर अर्कै बाटोबाट पठाइदिएकी हुनाले नै तिनी पनि कामद्वारा धर्मी ठहरिएकी होइनन्‌ र?”—याकुब २:२५

      प्रश्‍नहरू: राहाबले किन जासुसहरूलाई मदत गरिन्‌? इस्राएलीहरूले यरिहोमाथि कसरी आक्रमण गरे? राहाब र तिनको परिवारलाई के भयो?

      यहोसु २:१-२४; ६:१-२७; हिब्रू ११:३०, ३१; याकुब २:२४-२६

  • यहोसु र गिबोनीहरू
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • गिबोनीहरू थोत्रो लुगा लगाएर यहोसु र तिनका योद्धाहरूलाई भेट्‌न आउँछन्‌

      पाठ ३१

      यहोसु र गिबोनीहरू

      यरिहोको खबर कनानका अरू इलाकाका मानिसहरूले सुने। त्यहाँका राजाहरूले मिलेर इस्राएलीहरूसित युद्ध गर्ने निर्णय गरे। तर गिबोनीहरूले भने अर्कै जुक्‍ति निकाले। तिनीहरू थोत्रो लुगा लगाएर यहोसुकहाँ गए र भने: ‘हामी टाढा देशबाट आएका हौँ। हामीले यहोवा परमेश्‍वरबारे अनि मिश्र र मोआबमा उहाँले तपाईँहरूको लागि गर्नुभएका कामहरूबारे सुन्यौँ। हामीलाई आक्रमण नगर्ने वाचा गर्नुहोस्‌ र हामी तपाईँहरूको दास बन्‍नेछौँ।’

      यहोसुले तिनीहरूको कुरा पत्याए र आक्रमण नगर्ने वाचा गरे। तर वाचा गरेको तेस्रो दिनमा तिनीहरू टाढा देशबाट आएका होइन रहेछन्‌ भनेर तिनले थाह पाए। तिनीहरू कनानका थिए। यहोसुले गिबोनीहरूलाई सोधे: ‘तिमीहरूले हामीलाई किन झुक्यायौ?’ तिनीहरूले भने: ‘हामी डरायौँ! तपाईँहरूका परमेश्‍वर यहोवा तपाईँहरूका लागि लड्‌दै हुनुहुन्छ भनेर हामीलाई थाह छ। कृपया हामीलाई नमार्नुहोस्‌।’ यहोसुले तिनीहरूलाई मारेनन्‌ र आफ्नो वाचा पूरा गरे।

      केही समयपछि पाँच जना कनानी राजा र तिनीहरूका सेनाले गिबोनीहरूमाथि आक्रमण गर्ने खबर पठाए। तब यहोसु र तिनका योद्धाहरू तिनीहरूलाई बचाउन रातभरि हिँडेर गए। लडाइँ बिहान सबेरै सुरु भयो। कनानीहरू चारै दिशामा भाग्न थाले। तिनीहरू जहाँसुकै भागे तापनि यहोवा परमेश्‍वरले ठूलठूला असिना बर्साउनुभयो। त्यसपछि यहोसुले उहाँलाई सूर्यलाई अड्याइरहन आग्रह गरे। सूर्य कहिल्यै त्यसरी एक ठाउँमा नअडिएको भए तापनि यहोसुले किन त्यस्तो आग्रह गरे? किनभने यहोसु यहोवा परमेश्‍वरमाथि भरोसा राख्थे। इस्राएलीहरूले कनानी राजाहरू र तिनीहरूका सेनालाई नजितेसम्म सूर्य दिनभरि अडिरह्‍यो।

      यहोसु स्वर्गतिर हेर्दै सूर्यलाई अड्याउन यहोवा परमेश्‍वरलाई आग्रह गर्छन्‌

      “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌ किनकि यसभन्दा बढ्‌ताचाहिँ त्यस दुष्टतर्फको हो।”—मत्ति ५:३७

      प्रश्‍नहरू: गिबोनीहरूले आफूलाई बचाउन के गरे? यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई कसरी मदत गर्नुभयो?

      यहोसु ९:१–१०:१५

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने