-
गिदोनले मिद्यानीहरूलाई हराएबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ३४
गिदोनले मिद्यानीहरूलाई हराए
इस्राएलीहरू पछि फेरि यहोवा परमेश्वरबाट टाढिए र झूटा देवताहरू पुज्न थाले। मिद्यानीहरूले तिनीहरूलाई सात वर्षसम्म दुःख दिए। मिद्यानीहरू तिनीहरूको वस्तुभाउ चोर्थे र बाली नष्ट गरिदिन्थे। मिद्यानीहरूबाट बच्न तिनीहरू गुफा र डाँडामा लुक्थे। तिनीहरूले यहोवा परमेश्वरलाई गुहारे। त्यसैले उहाँले गिदोन नाम गरेको जवान मानिसकहाँ एक जना स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले भने: ‘यहोवा परमेश्वरले तिमीलाई वीर योद्धा हुन रोज्नुभएको छ।’ गिदोनले यस्तो प्रश्न गरे: ‘इस्राएलीहरूलाई म कसरी छुटाउन सक्छु र? म एक साधारण मानिस हुँ।’
यहोवा परमेश्वरले गिदोनलाई नै रोज्नुभएको हो भनेर तिनले कसरी थाह पाउन सक्थे? भुइँमा अलिकति ऊन राखेर तिनले यहोवा परमेश्वरलाई भने: ‘शीत परेर यो ऊन मात्रै भिज्यो तर वरिपरिको भुईँचाहिँ भिजेन भने तपाईँले इस्राएलीहरूलाई ममार्फत बचाउनुहुनेछ भनेर बुझ्नेछु।’ भोलिपल्ट बिहान ऊन पूरै भिजेको थियो तर भुइँ सुक्खा थियो! गिदोनले फेरि उहाँलाई भोलिपल्ट बिहान ऊन मात्र सुक्खा होस् र वरिपरिको भुईँचाहिँ शीतले भिजोस् भनेर आग्रह गरे। त्यस्तै भयो। अब तिनी परमेश्वरले आफूलाई रोज्नुभएको हो भनेर पक्का भए। तिनी सिपाहीहरूलाई जम्मा गरेर मिद्यानीहरूसित लड्न गए।
यहोवा परमेश्वरले गिदोनलाई भन्नुभयो: ‘म इस्राएलीहरूलाई विजयी बनाउनेछु। तर तिमीसँग अति धेरै सिपाही भएकोले तिमीलाई आफ्नै बलले जित हासिल गरेँजस्तो लाग्ला। डराएकाहरूलाई घर फर्किन भन्नू।’ तब २२ हजार सिपाही घर फर्के र १० हजार मात्र बाँकी रहे। त्यसपछि उहाँले भन्नुभयो: ‘तिमीसँग अझै धेरै सिपाही छन्। त्यसैले तिनीहरूलाई तल खोलामा लैजाऊ र तिनीहरूलाई पानी पिउन लगाऊ। पानी पिउँदा शत्रुहरू आइरहेका छन् कि भनेर चनाखो रहनेहरूलाई मात्र राख।’ जम्मा ३०० जना मात्र चनाखो रहे। यी थोरै पुरुषले १ लाख ३५ हजार मिद्यानी सिपाहीलाई हराउनेछन् भनेर परमेश्वरले वाचा गर्नुभयो।
त्यो रात यहोवा परमेश्वरले गिदोनलाई भन्नुभयो: ‘मिद्यानीहरूलाई आक्रमण गर्ने समय अहिल्यै हो!’ गिदोनले प्रत्येक सिपाहीलाई एउटा-एउटा सिङ र भित्र राँको हालेको एउटा-एउटा गाग्रो दिए। तिनले भने: ‘मलाई हेर! म जे गर्छु, तिमीहरू पनि त्यसै गर।’ तब गिदोनले सिङ फुके, गाग्रो फुटाए, राँको हल्लाए र यसो भनेर कराए: “यहोवाको र गिदोनको तरबार!” तिनका ३०० जना मानिसले पनि त्यसै गरे। मिद्यानीहरू डराएर तितरबितर भए। खलबली मच्चिएपछि तिनीहरूले एकअर्कालाई आक्रमण गर्न थाले। यहोवा परमेश्वरले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट फेरि बचाउनुभयो।
“ताकि हामीले पाएको असाधारण शक्ति हाम्रो आफ्नै होइन तर परमेश्वरको हो भनेर प्रकट होस्।”—२ कोरिन्थी ४:७
-
-
हन्ना एउटा छोराको लागि प्रार्थना गर्छिन्बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ३५
हन्ना एउटा छोराको लागि प्रार्थना गर्छिन्
एल्काना नाम गरेका एक इस्राएलीको हन्ना र पनिन्नाह नाम गरेका दुई पत्नी थिए। तर तिनी हन्नालाई धेरै माया गर्थे। हन्नाको छोराछोरी थिएन तर पनिन्नाहका भने थुप्रै छोराछोरी थिए। त्यसैले पनिन्नाह हन्नाको खिल्ली उडाउने गर्थिन्। एल्काना हरेक वर्ष परिवार लिएर वासस्थानमा यहोवा परमेश्वरको उपासना गर्न सिलो जान्थे। एकपटकको कुरा हो, तिनीहरू सिलोमै भएको बेला तिनले आफ्नी प्यारी पत्नी हन्नालाई निराश देखे। तिनले हन्नालाई भने: ‘नरोऊ हन्ना! म छँदै छु नि। म तिमीलाई धेरै माया गर्छु।’
पछि हन्ना एक्लै प्रार्थना गर्न मन्दिर गइन्। उनी धुरुधुरु रुँदै यहोवालाई बिन्ती गरिरहेकी थिइन्। उनले उहाँलाई यस्तो भाकल गरिन्: ‘हे यहोवा, तपाईँले मलाई एउटा छोरा दिनुभयो भने ऊ तपाईँको हुनेछ र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ।’
प्रधानपुजारी एलिले हन्ना रोइरहेकी देखे र उनी रक्सीले मात्तिएछिन् भन्ठाने। तर हन्नाले भनिन्: ‘होइन प्रभु, मैले रक्सी पिएकी छैनँ। मलाई ठूलो समस्या परेको छ। त्यसैले म यहोवा परमेश्वरसामु मनको बह पोखाउँदै छु।’ एलिले आफ्नो सोचाइ गलत भएको थाह पाए र यसो भने: “परमेश्वरले तिम्रो मनोकामना पूरा गरिदेऊन्।” त्यसपछि हन्नाले अलि हल्का महसुस गरिन् र त्यहाँबाट गइन्। एक वर्षभित्रै उनले एउटा छोरो जन्माइन् र उसको नाम समुएल राखियो। हन्ना कत्ति खुसी भइन् होला!
हन्नाले यहोवा परमेश्वरसित गरेको वाचा बिर्सिनन्। दूध छुटाउनेबित्तिकै उनी समुएललाई लिएर वासस्थानमा आइन्। उनले एलिलाई भनिन्: ‘मैले यही छोराको लागि प्रार्थना गरेकी थिएँ। बाँचुन्जेल ऊ यहोवा परमेश्वरकै हुनेछ।’ एल्काना र हन्ना हरेक वर्ष समुएललाई भेट्न जान्थे र उसको लागि चिटिक्क परेको नयाँ अलखा लगिदिन्थे। परमेश्वरले हन्नालाई अरू तीन छोरा र दुई छोरी दिनुभयो।
“मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ।”—मत्ति ७:७
-