-
दाउद र गोल्यतबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ४०
दाउद र गोल्यत
यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: ‘यिसैको घरमा जाऊ। उनको एक जना छोरालाई मैले इस्राएलको राजा हुन रोजेको छु।’ त्यसैले समुएल यिसैको घर गए। उनले यिसैको जेठो छोरा देख्दा यस्तो सोचे: “परमेश्वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” तर यहोवा परमेश्वरले मैले उसलाई रोजेको होइनँ भनेर समुएललाई भन्नुभयो। उहाँले भन्नुभयो: ‘म मानिसको बाहिरी रूप होइन तर उसको हृदय हेर्छु।’
त्यसपछि यिसैले आफ्ना अरू छ जना छोरालाई समुएलसामु ल्याए। तर समुएलले भने: ‘यहोवा परमेश्वरले यिनीहरूमध्ये कसैलाई पनि रोज्नुभएको छैन। तिम्रा छोराहरू यति नै हुन्?’ यिसैले भने: ‘होइन, मेरो कान्छो छोरा दाउद पनि छ। ऊ भेडा चराउन गएको छ।’ दाउद आएपछि परमेश्वरले समुएललाई भन्नुभयो: “मैले रोजेको मानिस ऊ नै हो!” समुएलले तिनको शिरमा तेल खन्याएर तिनलाई इस्राएलको भावी राजा अभिषेक गरे।
केही समयपछिको कुरा हो, इस्राएलीहरू पलिस्तियालीहरूसँग लडिरहेका थिए अनि पलिस्तियालीहरूसित गोल्यत नाम गरेको एक जना बडेमाको योद्धा थियो। गोल्यतले दिनहुँ इस्राएलीहरूको खिसी गर्थ्यो। ऊ यसो भनेर कराउँथ्यो: ‘मसँग लड्न तिमीहरूको मानिस पठाओ। त्यसले जित्यो भने हामी तिमीहरूका दास हुनेछौँ। तर मैले त्यसलाई हराएँ भने तिमीहरू हाम्रो दास हुनेछौ।’
युद्धमा लडिरहेका दाइहरूको लागि खानेकुरा लिएर दाउद इस्राएलीहरूको छाउनीमा गए। गोल्यतले चुनौती दिइरहेको तिनले सुने र यसो भने: ‘म त्यस मानिससित लड्छु!’ तर राजा साउलले भने: ‘तिमी ठिटै छौ।’ तिनले भने: ‘यहोवा परमेश्वर मेरो साथमा हुनुहुन्छ।’
त्यसपछि साउलले दाउदलाई आफ्नो कवच लगाइदिए। तर दाउदले भने: ‘म यी सबै लगाएर लड्न सक्दिनँ।’ तिनी घुयँत्रो लिएर खोलामा गए। तिनले खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गा टिपेर झोलामा हाले। त्यसपछि तिनी गोल्यत भएतिर दौडेर गए। त्यो गोल्यत यसो भनेर करायो: ‘आइज! ए फुच्चे! म तेरो मासु चराहरू र जङ्गली जनावरहरूलाई खुवाउनेछु।’ दाउद डराएनन्। तिनले त्यसलाई भने: ‘तँ मसित लड्न तरबार र भाला लिएर आएको छस्। तर म भने यहोवाको नाममा आएको छु! तँ हामीविरुद्ध होइन तर यहोवा परमेश्वरविरुद्ध लड्दैछस्। उहाँ तरबार वा भालाभन्दा धेरै शक्तिशाली हुनुहुन्छ भनेर यहाँ सबैले देख्नेछन्। उहाँले तिमीहरूलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।’
तिनले झोलाबाट ढुङ्गा निकालेर घुयेँत्रोमा हाले र बेसरी घुमाएर हाने। परमेश्वरको मदतले त्यो ढुङ्गा त्यसको निधारमै गड्यो। त्यो डङ्ग्रङ्ङै लड्यो। त्यसको मृत्यु भयो। त्यसपछि पलिस्तियालीहरू भाग्न थाले। दाउदले जस्तै के तिमी पनि यहोवामाथि भरोसा राख्छौ?
“मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि छैन। किनकि परमेश्वरको लागि सबै कुरा सम्भव छ।”—मर्कुस १०:२७
-
-
दाउद र साउलबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ४१
दाउद र साउल
दाउदले गोल्यतलाई मारेपछि राजा साउलले तिनलाई सेनाको नाइके बनाए। तिनले थुप्रै लडाइँ जिते र मानिसहरूमाझ लोकप्रिय भए। तिनी लडाइँ जितेर फर्कँदा स्त्रीहरू यसरी नाच्दै-गाउँदै बाहिर निस्कन्थे: ‘साउलले हजारौँलाई मारे तर दाउदले लाखौँलाई मारे।’ साउलले दाउदको डाह गरे र तिनलाई मार्न खोजे।
दाउद राम्ररी वीणा बजाउँथे। एकदिन तिनी साउलको लागि वीणा बजाइरहँदा साउलले तिनलाई भालाले हिर्काए। तिनले छले र भाला भित्तामा गड्यो। पछि साउलले थुप्रै चोटि तिनलाई मार्न खोजे। आखिर तिनी भागेर निर्जनभूमिमा लुके।
साउल ३ हजार सिपाही लिएर दाउदलाई खोज्न निस्के। एकचोटि दाउद र तिनका मानिसहरू लुकिरहेको गुफामै साउल पनि पुगे। दाउदका मानिसहरूले यसो भन्दै खासखुस गरे: ‘तपाईँले साउललाई मार्ने मौका यही हो।’ दाउद बिस्तारै साउल भएतिर गए र उनले चालै नपाउनेगरि उनको अलखाको एक छेउ काटे। तर पछि दाउदलाई यहोवा परमेश्वरको अभिषिक्त जनको अनादर गरेकोमा एकदमै नमीठो लाग्यो। तिनले आफ्ना मानिसहरूलाई साउलमाथि आक्रमण गर्न दिएनन्। पछि तिनले साउललाई ठूलो स्वरले बोलाउँदै तिनले मौका पाए पनि साउललाई मारेनन् भनेर बताए। के साउलले आफ्नो मन बदले?
अहँ, साउलले दाउदलाई खोज्न छोडेनन्। एक रात दाउद र तिनका भान्जा अबिसै साउलको छाउनीमा पसे। साउलका सुरक्षागार्ड अब्नेर पनि सुतिरहेका थिए। अबिसैले भने: ‘साउललाई मार्ने मौका यही हो। मलाई अनुमति दिनुहोस्।’ दाउदले भने: ‘यहोवा परमेश्वरले नै उहाँको न्याय गर्नुहुनेछ। उहाँको भाला र सुराही मात्र लिएर जाऔँ।’
दाउद साउलको छाउनीको पारिपट्टि गएर डाँडाको टुप्पामा उभिए। तिनी यसो भनेर कराए: ‘अब्नेर! तिमीले किन तिम्रा महाराजको सुरक्षा गरेनौ? राजाको भाला र सुराही कहाँ छ?’ साउलले तिनको स्वर चिने र भने: ‘तिमीले मलाई मार्न सक्थ्यौ तर मलाई केही गरेनौ। मपछिको इस्राएलको राजा तिमी नै हौ।’ साउल आफ्नो महलमा फर्के। तर उनको परिवारका सबैले दाउदलाई घृणा गर्दैनथे।
“सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर। प्रियहरू हो, बदला नलेओ बरु परमेश्वरको क्रोधलाई ठाउँ देओ।”—रोमी १२:१८, १९
-