-
साहसी र वफादार जोनाथनबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ४२
साहसी र वफादार जोनाथन
राजा साउलको जेठो छोरा जोनाथन वीर योद्धा थिए। दाउदले तिनी चीलभन्दा तेजिला र सिंहभन्दा बलिया थिए भने। एकदिन तिनले २० जना पलिस्तियाली सिपाहीलाई डाँडामा देखे। तिनले आफ्नो हतियार बोक्ने सेवकलाई भने: ‘यहोवा परमेश्वरले चिन्ह दिनुभयो भने मात्र हामी तिनीहरूलाई आक्रमण गर्नेछौँ। पलिस्तियालीहरूले हामीलाई लडाइँ गर्न माथि आओ भनेमा त्यो तिनीहरूलाई आक्रमण गर्ने चिन्ह हुनेछ।’ तिनीहरू यसरी कराए: ‘हिम्मत छ भने माथि आएर लडाइँ गर।’ त्यसैले उनीहरू दुई जना डाँडामाथि उक्ले र तिनीहरूलाई हराए।
जोनाथन राजा साउलको जेठो छोरा भएकोले साउलपछि राजा हुने व्यक्ति तिनी नै थिए। यहोवाले इस्राएलको राजा हुन दाउदलाई रोज्नुभएको छ भनेर थाह भए तापनि तिनले दाउदको डाह गरेनन्। जोनाथन र दाउद मिल्ने साथी भए। तिनीहरूले एकअर्काको रक्षा गर्ने र एकअर्कालाई मदत गर्ने वाचा गरे। जोनाथनले मित्रताको चिन्हस्वरूप आफ्नो अलखा, तरबार, धनु र पेटी दाउदलाई दिए।
दाउद साउलदेखि भागिरहँदा जोनाथन उनलाई भेट्न गए र भने: ‘बलियो र साहसी हुनुहोस्। यहोवाले तपाईँलाई राजा हुन रोज्नुभएको छ। यो मेरो बुबालाई पनि थाह छ।’ के तिमीलाई जोनाथनजस्तै कोही असल साथी भइदिए हुन्थ्यो जस्तो लाग्छ?
आफ्नो साथी दाउदको लागि जोनाथनले थुप्रै चोटि आफ्नो ज्यान जोखिममा पारे। साउलले दाउदलाई मार्न खोजिरहेका छन् भनेर तिनलाई थाह थियो। त्यसैले तिनले बुबालाई भने: ‘दाउदलाई मार्नु पाप गर्नु हो किनकि उनले कुनै गल्ती गरेका छैनन्।’ यो सुनेर साउल जोनाथनसँग धेरै रिसाए। त्यसको केही वर्षपछि एउटा लडाइँमा साउल र जोनाथनको मृत्यु भयो।
जोनाथनको मृत्युपछि दाउदले तिनको छोरा मपिबोसेतलाई खोज्न मानिसहरू पठाए। मपिबोसेतलाई भेटेपछि दाउदले भने: ‘तिम्रो बुबा जोनाथन मेरो मिल्ने साथी थिए। त्यसैले अबदेखि म तिम्रो ख्याल राख्नेछु। तिमी मसँगै बस्नेछौ र सधैँ मेरो टेबुलमा मसँगै खानेछौ।’ दाउदले आफ्नो साथी जोनाथनलाई कहिल्यै बिर्सिएनन्।
“जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर। आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।”—युहन्ना १५:१२, १३
-
-
राजा दाउदको पापबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ४३
राजा दाउदको पाप
साउलको मृत्युपछि दाउद राजा भए। त्यतिबेला तिनी ३० वर्षका थिए। केही वर्षपछि एक साँझ दाउदले आफ्नो महलको कौसीबाट एउटी सुन्दरी स्त्री देखे। तिनले त्यस स्त्रीको नाम बेतसेबा रहेछ अनि उनी उरियाह नाम गरेको सिपाहीकी पत्नी रहेछिन् भनेर थाह पाए। तिनले बेतसेबालाई महलमा ल्याउन मानिसहरू पठाए। तिनी बेतसेबासित सुते र उनी गर्भवती भइन्। तिनले आफ्नो गल्ती लुकाउन खोजे। तिनले आफ्नो सेनापतिलाई युद्ध भइरहेको ठाउँमा उरियाहलाई सबैभन्दा अगाडि राख्न र तिनीहरूचाहिँ त्यहाँबाट पछि हट्न खबर पठाए। उरियाह युद्धमा मरिएपछि तिनले बेतसेबासित बिहे गरे।
तर दाउदले गरेको सबै खराब काम यहोवा परमेश्वरले देखिरहनुभएको थियो। उहाँले के गर्नुहुने थियो? उहाँले भविष्यवक्ता नातानलाई दाउदकहाँ पठाउनुभयो। नातानले भने: ‘एक धनी मानिसका धेरै भेडा थिए तर एक गरिब मानिसको भने उसले धेरै माया गर्ने एउटा भेडाको पाठी मात्र थियो। त्यो धनी मानिसले गरिब मानिसको पाठी लियो।’ यो सुनेर दाउद साह्रै रिसाए र तिनले नातानलाई भने: ‘त्यो धनी मानिस मारिनै पर्छ!’ तब नातानले भने: ‘त्यो धनी मानिस तपाईँ नै हो!’ यो सुनेर दाउद एकदमै दुःखी भए र आफ्नो गल्ती स्विकार्दै नातानलाई भने: ‘मैले यहोवाविरुद्ध पाप गरेँ।’ दाउदको यो पापले गर्दा तिनले र तिनको परिवारले धेरै समस्या भोगे। परमेश्वरले दाउदलाई सजाय दिनुभयो तर तिनको ज्यान लिनुभएन किनभने तिनी इमानदार र नम्र थिए।
दाउद यहोवा परमेश्वरको लागि मन्दिर बनाउन चाहन्थे। तर उहाँले मन्दिर बनाउन दाउदको छोरा सुलेमानलाई रोज्नुभयो। सुलेमानले बनाउने मन्दिरको लागि आवश्यक सरसामान दाउदले जुटाउन थाले। तिनले भने: ‘यहोवाको मन्दिर भव्य हुनुपर्छ। सुलेमान सानै छ। त्यसैले उसको लागि म भवन बनाउने कामको तयारी गर्नेछु।’ दाउदले मन्दिर बनाउन धेरै धनसम्पत्ति अनुदान दिए। तिनले दक्ष कामदारहरू खोजे, सुनचाँदी जम्मा गरे अनि सिदोन र टायरबाट देवदारका प्रशस्तै काठहरू ल्याए। आफ्नो जीवनको अन्ततिर दाउदले सुलेमानलाई मन्दिरको नक्सा दिए। तिनले भने: ‘यहोवाले तिम्रो लागि यी सबै कुरा मलाई नक्सामा उतार्न लगाउनुभएको थियो। उहाँ तिम्रो साथमा हुनुहुनेछ। नडराऊ र बलियो होऊ! अनि आफ्नो काम थाल।’
“आफ्नो गल्ती लुकाउने मानिस सफल हुँदैन तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।”—हितोपदेश २८:१३
-