-
यहोवा परमेश्वरको लागि मन्दिरबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ४४
यहोवा परमेश्वरको लागि मन्दिर
सुलेमान इस्राएलको राजा भएपछि यहोवा परमेश्वरले तिनलाई सोध्नुभयो: ‘मैले तिमीलाई के दिएको चाहन्छौ?’ सुलेमानले भने: ‘म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव छैन। कृपया तपाईँको प्रजाको ख्याल राख्न मलाई बुद्धि दिनुहोस्।’ परमेश्वरले भन्नुभयो: ‘तिमीले बुद्धि मागेकोले म तिमीलाई संसारकै सबैभन्दा बुद्धिमान् मानिस बनाउनेछु। अनि म तिमीलाई धेरै धनसम्पत्ति दिनेछु। तिमीले मेरा आज्ञाहरू पालन गऱ्यौ भने म तिमीलाई दीर्घायु बनाउनेछु।’
सुलेमानले मन्दिर निर्माण गर्न सुरु गरे। तिनले निखुर सुन, चाँदी, काठ र ढुङ्गा प्रयोग गरे। यस काममा हजारौँ सिपालु पुरुष र स्त्रीले सघाए। सात वर्षपछि मन्दिर यहोवालाई समर्पण गर्नको लागि तयार भयो। त्यहाँ वेदी थियो र त्यसमाथि भेटीहरू राखिएका थिए। सुलेमानले वेदीसामु घुँडा टेकेर यसरी प्रार्थना गरे: ‘हे यहोवा, तपाईँको अगाडि यो मन्दिर न भव्य छ न त सुन्दर नै। तैपनि बिन्ती छ, हाम्रो उपासना स्विकार्नुहोस् र हाम्रो प्रार्थना सुन्नुहोस्।’ यहोवाले सुलेमानको प्रार्थना सुनेपछि के गर्नुभयो? सुलेमानको प्रार्थना सिद्धिनेबित्तिकै स्वर्गबाट आगोको मुस्लो झऱ्यो अनि वेदीमाथिको भेटीलाई भस्म गऱ्यो। यसरी उहाँले मन्दिरलाई स्विकार्नुभयो। यो देखेर इस्राएलीहरू धेरै रमाए।
राजा सुलेमान आफ्नो बुद्धिको लागि इस्राएलभरि र टाढाटाढाको ठाउँसम्म चिनिए। मानिसहरू समस्याहरू लिएर सुलेमानकहाँ आउँथे। सेबाकी महारानी पनि सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्नहरू लिएर आइन्। तिनको जवाफ सुनेपछि उनले भनिन्: ‘तपाईँबारे मानिसहरूले भनेको कुरामा मलाई पत्यारै लागेको थिएन तर तपाईँ त मैले सुनेभन्दा पनि कता हो कता बुद्धिमान् हुनुहुँदो रहेछ। तपाईँका परमेश्वर यहोवाले तपाईँलाई आशिष् दिनुभएको छ।’ इस्राएलका मानिसहरूको जीवन सुखमय थियो। तर परिस्थिति परिवर्तन हुनै लागेको थियो।
“हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।”—मत्ति १२:४२
-
-
इस्राएल दुई भाग हुन्छबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ ४५
इस्राएल दुई भाग हुन्छ
सुलेमानले यहोवा परमेश्वरको उपासना गरुन्जेल इस्राएलमा शान्ति थियो। तर पछि तिनले मूर्तिपूजा गर्ने थुप्रै विदेशी स्त्रीसित विवाह गरे। सुलेमान बिस्तारै परमेश्वरदेखि टाढिए र मूर्तिपूजा पनि गर्न थाले। उहाँ तिनीसित रिसाउनुभयो। उहाँले सुलेमानलाई भन्नुभयो: ‘म इस्राएललाई तिम्रो परिवारबाट खोस्नेछु र दुई भागमा विभाजित गर्नेछु। म तिम्रो राज्यको धेरैजसो भाग तिम्रा सेवकहरूमध्ये एक जनालाई दिनेछु तर तिम्रो परिवारले भने सानो भागमा मात्रै शासन गर्नेछ।’
यहोवाले अर्को तरिकामा पनि आफ्नो निर्णय स्पष्ट पार्नुभयो। सुलेमानका एक सेवक यरोबामले बाटोमा हिँड्दै गर्दा भविष्यवक्ता अहियाहलाई भेटे। अहियाहले आफ्नो लुगा च्यातेर १२ टुक्रा पारे र यरोबामलाई भने: ‘यहोवाले इस्राएललाई सुलेमानको परिवारबाट खोस्नुहुनेछ र त्यसलाई दुई भागमा विभाजित गर्नुहुनेछ। यो १० टुक्रा तिमी लेऊ किनकि तिमीले १० कुलमाथि शासन गर्नेछौ।’ यो सुनेपछि सुलेमानले यरोबामलाई मार्न खोजे। त्यसैले उनी भागेर मिश्र गए। पछि सुलेमानको मृत्यु भयो। तिनका छोरा रहबाम राजा भए। त्यसपछि यरोबाम इस्राएल फर्के।
इस्राएलका नाइकेहरूले रहबामलाई भने: ‘तपाईँले मानिसहरूलाई राम्रो व्यवहार गर्नुभयो भने उनीहरू तपाईँप्रति वफादार रहनेछन्।’ तर तिनका जवान साथीहरूले भने: ‘तपाईँले मानिसहरूसित कठोर व्यवहार गर्नुपर्छ! उनीहरूलाई काममा दलाउनुहोस्!’ तिनले साथीहरूको कुरा सुनेर मानिसहरूसित क्रूर व्यवहार गरे। त्यसैले मानिसहरूले तिनको विद्रोह गर्न थाले। तिनीहरूले यरोबामलाई १० कुलको राजा बनाए र उनको राज्य इस्राएल राज्य भनेर चिनिन थाल्यो। अर्को दुई वटा कुलचाहिँ यहुदा राज्य भनेर चिनिन थाल्यो र तिनीहरू रहबामप्रति वफादार रहे। यसरी इस्राएलको १२ कुल दुई भाग भयो।
यरोबामका प्रजा उपासना गर्न रहबामको राज्यमा पर्ने यरुसलेम जान्थे। तर यरोबाम तिनीहरू त्यहाँ गएको चाहँदैनथे। किन, तिमीलाई थाह छ? उनलाई आफ्नो प्रजाले विद्रोह गरेर रहबामको साथ दिने हुन् कि भन्ने डर थियो। त्यसैले उनले सुनको दुई वटा बाछा बनाएर आफ्नो प्रजालाई भने: ‘यरुसलेम धेरै टाढा छ। त्यसैले तिमीहरू यहीँ उपासना गर्न सक्छौ।’ तिनीहरूले सुनको बाछाको उपासना गर्न थाले र फेरि यहोवालाई बिर्सिए।
“विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म र कुकर्मबीच के मेल? . . . वा विश्वास गर्ने र विश्वास नगर्नेबीच के समानता?”—२ कोरिन्थी ६:१४, १५
-