प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कर्मेल डाँडामा परीक्षा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • यहोवा परमेश्‍वरले पठाउनुभएको आगोले एलियाको भेटीलाई भस्म पार्छ

      पाठ ४६

      कर्मेल डाँडामा परीक्षा

      इस्राएलको दस-गोत्रे राज्यमा थुप्रै खराब राजाले शासन गरे तर तीमध्ये आहाब असाध्यै खराब थिए। तिनले बाआलको उपासना गर्ने ईजेबेल भन्‍ने एउटी दुष्ट आइमाईसित बिहे गरे। आहाब र ईजेबेलले आफ्नो राज्यमा बाआल उपासना फैलाए र यहोवाका भविष्यवक्‍ताहरूलाई मारे। उहाँले के गर्नुभयो? उहाँले आहाबलाई एउटा सन्देश दिन भविष्यवक्‍ता एलियालाई तिनीकहाँ पठाउनुभयो।

      एलियाले राजा आहाबलाई तिनी असाध्यै खराब भएकोले इस्राएलमा पानी पर्नेछैन भने। साँच्चै तीन वर्षभन्दा धेरै समय कुनै उब्जनी भएन र मानिसहरू भोकभोकै भए। पछि यहोवाले एलियालाई फेरि आहाबकहाँ पठाउनुभयो। राजाले भने: ‘समस्याको जड तिमी नै हौ! यो तिमीले गर्दा भएको हो!’ एलियाले भने: ‘मैले गर्दा खडेरी परेको होइन। तपाईँले बाआलको उपासना गर्नुभएकोले यस्तो भएको हो। हामी एउटा जाँच गरेर हेरौँ। सबै इस्राएलीलाई र बाआलका भविष्यवक्‍ताहरूलाई कर्मेल डाँडामा भेला गराउनुहोस्‌।’

      मानिसहरू डाँडामा भेला भएपछि एलियाले भने: ‘तिमीहरू आजै निर्णय गर। यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भने उहाँको पछि लाग। तर बाआल साँचो हो भने त्यसकै पछि लाग। एउटा जाँच गरेर हेरौँ। बाआलका ४५० जना भविष्यवक्‍ताले भेटी तयार पारेर आफ्नो देवतालाई पुकारून्‌ र म पनि भेटी तयार पारेर यहोवालाई पुकार्छु। जसले आगो पठाएर जवाफ दिन्छ, ऊ नै साँचो परमेश्‍वर हो।’ मानिसहरू राजी भए।

      बाआलका भविष्यवक्‍ताहरूले भेटी तयार पारेर ‘हे बाआल, जवाफ देऊ’ भन्दै आफ्नो देवतालाई दिनभरि पुकारे। बाआलले केही जवाफ नदिएपछि एलियाले गिज्याउँदै भने: ‘अझ जोडले कराओ! ऊ गहिरो निद्रामा पऱ्‍यो होला, उसलाई जगाउनुपर्छ।’ बाआलका भविष्यवक्‍ताहरूले बाआललाई साँझसम्मै पुकारे तर कुनै जवाफ आएन।

      एलियाले आफ्नो भेटी वेदीमाथि राखेर वेदीवरपर पानी खन्याए अनि यसरी प्रार्थना गरे: ‘हे यहोवा, बिन्ती छ, यी मानिसहरूलाई तपाईँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर देखाइदिनुहोस्‌।’ यहोवाले तुरुन्तै स्वर्गबाट आगो पठाउनुभयो र त्यसले भेटीलाई भस्म पाऱ्‍यो। मानिसहरू यसो भन्दै चिच्याए: ‘यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ!’ एलियाले भने: ‘बाआलका भविष्यवक्‍ताहरूलाई उम्कन नदेओ।’ त्यो दिन बाआलका ४५० भविष्यवक्‍ता मारिए।

      समुद्रमाथि सानो बादल देखा परेपछि एलियाले आहाबलाई भने: ‘आँधी चल्नै लागेको छ। रथ तयार पारेर घर गइहाल्नुहोस्‌!’ नभन्दै कालो बादलले आकाश छोप्यो, हुरीबतास चल्यो र मुसलधारे पानी पऱ्‍यो। यसरी खडेरी सिद्धियो। आहाबले आफ्नो रथ हाँके। तर परमेश्‍वरबाट शक्‍ति पाएर एलिया आहाबको रथभन्दा अघिअघि दौडेर गए। तर के एलियाको सबै समस्या समाधान भयो? अब हेरौँ।

      “मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।”—भजन ८३:१८

      प्रश्‍नहरू: कर्मेल डाँडामा कस्तो जाँच गरियो? यहोवाले एलियाको प्रार्थनाको जवाफ कसरी दिनुभयो?

      १ राजा १६:२९-३३; १७:१; १८:१, २, १७-४६; याकुब ५:१६-१८

  • यहोवा परमेश्‍वर एलियालाई बलियो पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • एलिया होरेब डाँडामा ओडारबाहिर उभिएर परमेश्‍वरका स्वर्गदूतको कुरा सुन्छन्‌

      पाठ ४७

      यहोवा परमेश्‍वर एलियालाई बलियो पार्नुहुन्छ

      बाआलका भविष्यवक्‍ताहरू मारिएको कुरा सुनेपछि ईजेबेल रिसले चूर भइन्‌। उनले एलियालाई यस्तो सन्देश पठाइन्‌: ‘भोलि तँ बाआलका भविष्यवक्‍ताहरूजस्तै मर्नेछस्‌।’ यो सुनेर एलिया अत्यन्तै डराए र निर्जनभूमितिर भागे। तिनले यसरी प्रार्थना गरे: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्‌।” असाध्यै थकित भएका एलिया त्यहीँ रूखमुनि निदाए।

      एक जना स्वर्गदूतले तिनलाई बिस्तारै जगाएर भने: “उठ र केही खाऊ।” तिनले तातो ढुङ्‌गामा एउटा गोलो रोटी र एक सुराही पानी देखे। तिनले रोटी खाए, पानी पिए अनि फेरि सुते। स्वर्गदूतले तिनलाई फेरि जगाएर यसो भने: ‘केही खाऊ किनकि तिमीलाई यात्राको लागि बल चाहिन्छ।’ त्यसैले एलियाले उठेर खानपिन गरे। त्यसपछि तिनी ४० दिन र ४० रात हिँडेर होरेब डाँडामा पुगे। त्यहाँ एलिया सुत्न ओडारभित्र पसे। तब यहोवा परमेश्‍वर तिनीसँग बोल्नुभयो। उहाँले भन्‍नुभयो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?” तिनले जवाफ दिए: ‘इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे, तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई मारे। अब तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।’

      यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘जाऊ र पहाडमा गएर उभिऊ।’ सबैभन्दा पहिला, एउटा शक्‍तिशाली आँधी ओडार भएर गयो। त्यसपछि भुइँचालो गयो र आगोको मुस्लो आयो। अन्तमा एलियाले एउटा मधुरो स्वर सुने। एलियाले आफ्नो अनुहार लुगाले छोपे र ओडारबाहिर गएर उभिए। त्यसपछि यहोवाले एलियालाई तिनी भाग्नुको कारण सोध्नुभयो। एलियाले भने: “अब म मात्रै बाँकी छु।” तर उहाँले तिनलाई भन्‍नुभयो: ‘तिमी एक्लो छैनौ। इस्राएलमा मेरो उपासना गर्ने अझै ७ हजार जना बाँकी छन्‌। जाऊ र एलिसालाई तिम्रो ठाउँमा भविष्यवक्‍ता नियुक्‍त गर।’ उहाँले भन्‍नुभएअनुसारै गर्न एलिया तुरुन्तै त्यहाँबाट गए। तिमीले पनि यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै गऱ्‍यौ भने उहाँले तिमीलाई पक्कै मदत गर्नुहुन्छ। अब हामी खडेरीको बेला घटेको घटनाबारे पढौँ।

      “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।”—फिलिप्पी ४:६

      प्रश्‍नहरू: एलिया किन भागे? यहोवा परमेश्‍वरले एलियालाई के भन्‍नुभयो?

      १ राजा १९:१-१८; रोमी ११:२-४

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने