प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • विधवाको छोरा फेरि जीवित भयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • एलिया दाउरा बटुलिरहेकी एक जना विधवालाई बोलाउँछन्‌

      पाठ ४८

      विधवाको छोरा फेरि जीवित भयो

      घ्याम्पोमा पीठो र भाँडोमा तेल

      खडेरी परेको बेला यहोवा परमेश्‍वरले एलियालाई भन्‍नुभयो: ‘सारपत जाऊ। त्यहाँ एक जना विधवाले तिमीलाई खानेकुरा दिनेछिन्‌।’ सहरको मूलढोकामा एलियाले एक जना गरिब विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले ती विधवासँग पिउनको लागि अलिकता पानी मागे। ती विधवा पानी लिन जाँदै गर्दा एलियाले फेरि उनलाई बोलाएर भने: “कृपया एक टुक्रा रोटी पनि ल्याइदेऊ।” तर उनले भनिन्‌: ‘मसँग रोटीको एक टुक्रो पनि छैन। म र मेरो छोराको लागि अलिकति रोटी बनाउन पुग्ने पीठो र तेलबाहेक मसँग अरू केही छैन।’ एलियाले उनलाई भने: ‘तिमीले रोटी बनाएर ल्यायौ भने यो भूमिमा पानी नपरेसम्म तिम्रो पीठो र तेल सिद्धिनेछैन भनेर यहोवा परमेश्‍वरले वाचा गर्नुभएको छ।’

      त्यसैले ती विधवा यहोवा परमेश्‍वरको भविष्यवक्‍ताको लागि रोटी बनाउन घर गइन्‌। उहाँले वाचा गर्नुभएअनुसारै खडेरीभरि ती विधवा र उनको छोरालाई खानाको अभाव भएन। उनको घ्याम्पोको पीठो सिद्धिएन र भाँडोको तेल पनि रित्तिएन।

      यसपछि एउटा दुःखको घटना घट्यो। ती विधवाको छोरा सिकिस्त बिरामी परेर मऱ्‍यो। उनले एलियालाई मदतको लागि गुहारिन्‌। एलियाले त्यस विधवाको काखबाट उनको छोरा लिए र उनको घरको माथिल्लो कोठामा लगे। तिनले उसलाई ओछ्यानमा सुताएर यसरी प्रार्थना गरे: ‘हे यहोवा! बिन्ती छ, यस बालकलाई जिउँदो बनाइदिनुहोस्‌।’ यहोवा परमेश्‍वरले यसो गर्नु किन अचम्मलाग्दो कुरा हुने थियो, के तिमीलाई थाह छ? किनभने हामीलाई थाह भएसम्म यसअघि कोही पनि मृत्युबाट फेरि जीवित पारिएको थिएन अनि ती विधवा र उनको छोरा इस्राएली पनि थिएनन्‌।

      विधवाको छोरा जीवित भयो र फेरि सास फेर्न थाल्यो! एलियाले ती विधवालाई भने: ‘हेर! तिम्रो छोरा जिउँदो भयो।’ उनी एकदमै खुसी भइन्‌ र एलियालाई भनिन्‌: ‘तपाईँ साँच्चै यहोवा परमेश्‍वरका सेवक हुनुहुन्छ। मलाई यो थाह छ किनभने तपाईँ यहोवाले जे भन्‍न लगाउनुहुन्छ, त्यही मात्र भन्‍नुहुन्छ।’

      एलिया फेरि जीवित भएको छोरालाई विधवाकहाँ ल्याउँछन्‌

      “कागहरूलाई हेर, तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त धनसार वा भण्डारमै जम्मा गर्छन्‌ तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू चराहरूभन्दा बहुमूल्य छैनौ?”—लुका १२:२४

      प्रश्‍नहरू: सारपतकी विधवाले कसरी यहोवा परमेश्‍वरमा भरोसा गरेको देखाइन्‌? एलिया परमेश्‍वरको साँचो भविष्यवक्‍ता थिए भनेर हामी किन भन्‍न सक्छौँ?

      १ राजा १७:८-२४; लुका ४:२५, २६

  • दुष्ट रानीलाई सजाय दिइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
    • ईजेबेलका सेवकहरू उनलाई झ्यालबाट फ्याँकिदिन्छन्‌

      पाठ ४९

      दुष्ट रानीलाई सजाय दिइन्छ

      यिज्रेलमा भएको राजा आहाबको महलबाट एउटा अङ्‌गुरको बगान देखिन्थ्यो। त्यो बगान नाबोथ नाम गरेका मानिसको थियो। आहाब त्यो अङ्‌गुरको बगान चाहन्थे र तिनले नाबोथसँग त्यो किन्‍ने प्रयास पनि गरे। तर नाबोथले बेच्न मानेनन्‌ किनभने परमेश्‍वरको व्यवस्थाअनुसार पैतृक सम्पत्ति बेच्नु हुँदैन थियो। के आहाबले नाबोथले गरेको सही निर्णयको कदर गरे? अहँ, तिनी असाध्यै रिसाए। तिनी उदास भएर आफ्नो कोठाबाटै निस्किएनन्‌ र खान पनि मानेनन्‌।

      आहाबकी दुष्ट पत्नी ईजेबेलले तिनलाई भनिन्‌: ‘तपाईँ इस्राएलको राजा हुनुहुन्छ। तपाईँ आफूले चाहेको सबै कुरा पाउन सक्नुहुन्छ। म तपाईँलाई त्यो अङ्‌गुर बगान दिनेछु।’ उनले सहरका नाइकेहरूलाई पत्र लेखिन्‌ र नाबोथलाई परमेश्‍वरको निन्दा गरेको आरोप लगाएर ढुङ्‌गाले हानेर मार्न भनिनन्‌। सहरका नाइकेहरूले उनले भनेझैँ गरे। त्यसपछि ईजेबेलले आहाबलाई भनिन्‌: ‘नाबोथ मरिसक्यो। त्यो अङ्‌गुर बगान अब तपाईँकै हो।’

      ईजेबेलले मार्न लगाएको निर्दोष व्यक्‍ति नाबोथ मात्र त थिएन। यहोवालाई प्रेम गर्ने अरू थुप्रै मानिसलाई उनले मार्न लगाएकी थिइन्‌। उनी मूर्तिपूजा र अरू थुप्रै खराब काम गर्थिन्‌। ईजेबेलले गरेको सबै खराब काम यहोवाले देख्नुभएको थियो। उहाँले के गर्नुहुने थियो?

      आहाबको मृत्युपछि तिनको छोरा यहोराम राजा भए। ईजेबेल र उनको परिवारलाई सजाय दिन यहोवाले येहु नाम गरेका मानिसलाई पठाउनुभयो।

      येहु रथ चढेर ईजेबेल बस्ने ठाउँ यिज्रेलमा गए। तिनलाई भेट्‌न यहोराम रथ चढेर आए र भने: “के तिमी मित्रभावले आएका हौ?” तिनले जवाफ दिए: ‘तिम्री आमा ईजेबेलले दुष्ट कामहरू गर्न नछोडेसम्म तिमीसँग मित्रता गाँस्न सम्भव छैन।’ तब यहोराम तुरुन्तै आफ्नो रथ घुमाएर त्यहाँबाट भाग्न खोजे। तर येहुले यहोरामलाई धनुले हाने र तिनी मरे।

      ईजेबेललाई झ्यालबाट फ्याँकिदिन येहु ठूलो स्वरले कराउँछन्‌

      त्यसपछि येहु ईजेबेलको महलमा गए। येहु आइरहेका छन्‌ भन्‍ने सुनेपछि उनले शृङ्‌गार गरिन्‌, कपाल बाटिन्‌ र झ्यालबाट तल हेरेर बसिन्‌। येहु आइपुगेपछि उनले रुखो हुँदै अभिवादन गरिन्‌। तब उनीसँगै उभिरहेका उनका सेवकहरूलाई येहुले ठूलो स्वरमा भने: “त्यस स्त्रीलाई तल फ्याँकिदेओ!” तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए र उनी तल खसेर मरिन्‌।

      त्यसपछि येहुले आहाबका ७० जना छोरालाई मारे र त्यहाँबाट बाआल उपासना हटाए। यहोवा सबै कुरा जान्‍नुहुन्छ र उहाँ खराब काम गर्नेहरूलाई ठीक समयमा सजाय दिनुहुन्छ भनेर के तिमीले थाह पायौ?

      “लोभ गरेर हासिल गरेको धनसम्पत्तिबाट अन्तमा केही आशिष्‌ पाइँदैन।”—हितोपदेश २०:२१

      प्रश्‍नहरू: ईजेबेलले नाबोथको अङ्‌गुरको बगान लिन के गरिन्‌? यहोवाले किन उनलाई सजाय दिनुभयो?

      १ राजा २१:१-२९; २ राजा ९:१–१०:३०

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने