-
यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्वरप्रहरीधरहरा—२०१२ | जून १५
-
-
यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्वर
“साँच्चिनै तिमीहरूका परमेश्वर ईश्वरहरूका परमेश्वर, राजाहरूका प्रभु र रहस्य खोलिदिनुहुने हुनुहुँदोरहेछ।” —दानि. २:४७.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
यहोवाले भविष्यबारे कस्तो रहस्य खोलिदिनुभएको छ?
जङ्गली जनावरको प्रथम छवटा टाउकोले केलाई चित्रण गर्छ?
जङ्गली जनावर र नबूकदनेसरले देखेको मूर्तिबीच कस्तो सम्बन्ध छ?
१, २. यहोवाले हामीलाई कस्तो रहस्य खोलिदिनुभएको छ र किन?
परमेश्वरको राज्यले मानव शासनको अन्त्य गर्दा पृथ्वीमा कुन विश्वशक्तिले प्रभुत्व जमाइरहेको हुनेछ? हामीलाई यसको जवाफ थाह छ। किनभने ‘रहस्य खोल्नुहुने’ परमेश्वर यहोवाले हामीलाई यस विषयमा बताउनुभएको छ। भविष्यवक्ता दानियल र प्रेषित यूहन्नाका लेखोटहरूमार्फत उहाँले हामीलाई त्यो विश्वशक्ति चिन्न मदत गर्नुभएको छ।
२ यहोवाले यी दुई व्यक्तिलाई जङ्गली जनावरहरूको विभिन्न दर्शन देखाउनुभयो। उहाँले दानियललाई विशाल मूर्तिको अर्थ पनि खोलिदिनुभयो। उहाँले ती विवरणहरू हाम्रो फाइदाको लागि बाइबलमा लिपिबद्ध गराउनुभयो र त्यसलाई सुरक्षित राख्नुभयो। (रोमी १५:४) उहाँले किन यसो गर्नुभयो? उहाँको राज्यले चाँडै नै सम्पूर्ण मानव सरकारलाई नाश गर्नेछ भन्ने हाम्रो आशा बलियो होस् भनेर।—दानि. २:४४.
३. भविष्यवाणीलाई ठीक तरिकाले बुझ्न हामीले सुरुमा कुन कुरा बुझ्नै पर्छ र किन?
३ दानियल अनि यूहन्नाले लेखेको विवरणले आठ जना राजा अर्थात् मानव शासनको परिचय खुलाउनुका साथै तिनीहरू क्रमिक रूपमा देखापर्ने समयसमेत प्रकट गर्छ। तर बाइबलमा लिपिबद्ध पहिलो भविष्यवाणीको अर्थ बुझ्यौं भने मात्र हामी ती भविष्यवाणीहरूलाई ठीक तरिकाले बुझ्न सक्छौं। किन? किनभने सिङ्गो बाइबल र यसका सम्पूर्ण भविष्यवाणीहरू यसै भविष्यवाणीसित सम्बन्धित छन्।
सर्पका सन्तान र जङ्गली जनावर
४. स्त्रीको सन्तान को-को मिलेर बनेको छ र त्यो सन्तानले के गर्नेछ?
४ अदनको बगैंचामा विद्रोह भएलगत्तै यहोवाले “स्त्री”-ले एउटा “सन्तान” जन्माउनेछिन् भनेर प्रतिज्ञा गर्नुभयो।a (उत्पत्ति ३:१५ पढ्नुहोस्) ती सन्तानले सर्प अर्थात् सैतानको शिर कुच्याउनेथिए। ती सन्तान अब्राहामबाट आउनेछन्, तिनी इस्राएल राष्ट्रको हुनेछन्, यहूदा कुलबाट जन्मनेछन् र दाऊदको सन्तानको रूपमा देखापर्नेछन् भनेर यहोवाले पछि रहस्य खोलिदिनुभयो। (उत्प. २२:१५-१८; ४९:१०; भज. ८९:३, ४; लूका १:३०-३३) ती सन्तानको प्रमुख भाग ख्रीष्ट येशू हुनुहुन्छ। (गला. ३:१६) अनि दोस्रो भागचाहिं पवित्र शक्तिद्वारा नियुक्त ख्रीष्टियन मण्डलीका सदस्यहरू मिलेर बनेको छ। (गला. ३:२६-२९) येशू र यी अभिषिक्त जनहरू मिलेर परमेश्वरको राज्य बनेको छ। यही राज्यद्वारा परमेश्वरले सैतानलाई नाश गर्नुहुनेछ।—लूका १२:३२; रोमी १६:२०.
५, ६. (क) दानियल र यूहन्नाले कतिवटा महाशक्तिबारे चर्चा गरे? (ख) प्रकाशको पुस्तकमा चर्चा गरिएको जङ्गली जनावरको टाउकोहरूले कुन कुरालाई चित्रण गर्छ?
५ अदनको बगैंचामा गरिएको त्यो पहिलो भविष्यवाणीमा सैतानको “सन्तान” हुनेछ भनेर पनि बताइएको थियो। त्यसको सन्तान र स्त्रीको सन्तानबीच दुस्मनी हुनेथियो अर्थात् त्यसले स्त्रीको सन्तानलाई घृणा गर्नेथियो। सर्पको सन्तान को-को हुन्? ज-जसले सैतानको नक्कल गर्दै परमेश्वरलाई घृणा गर्छन् र उहाँका जनहरूलाई विरोध गर्छन्, तिनीहरू सबै। इतिहासभरि नै सैतानले आफ्नो सन्तानलाई विभिन्न सरकार वा राज्यहरूमा सामेल गरेको छ। (लूका ४:५, ६) यीमध्ये केही सरकार परमेश्वरका जनहरूविरुद्ध प्रत्यक्ष रूपमा लडेका छन्, चाहे इस्राएल राष्ट्रविरुद्ध होस् वा अभिषिक्त ख्रीष्टियनहरूको मण्डलीविरुद्ध। यस तथ्यबाट हामी दानियल र यूहन्नाले दर्शनहरूको व्याख्या गर्दा आठ महाशक्तिको मात्र चर्चा गर्नुको कारण बुझ्न सक्छौं।
६ पुनर्जीवित हुनुभएका येशूले इस्वी संवत् ९६ तिर प्रेषित यूहन्नालाई अद्भुत दर्शनहरू देखाउनुभयो। (प्रका. १:१) त्यसमध्ये एउटा दर्शनमा यूहन्नाले दियाबललाई समुद्रको बालुवामा ठिङ्ग उभिएको अजिङ्गरको रूपमा देखे। (प्रकाश १३:१, २ पढ्नुहोस्) साथै तिनले समुद्रबाट निस्केको एउटा अचम्मको जङ्गली जनावर पनि देखे। यसको सातवटा टाउको थियो र त्यसले दियाबलबाट ठूलो अख्तियार पाएको थियो। पछि यूहन्नाले सातवटै टाउको भएको चहकिलो रातो रङ्गको अर्को जनावर देखे। यो जनावर प्रकाश १३:१ मा उल्लेख गरिएको जङ्गली जनावरको मूर्ति हो। चहकिलो रातो रङ्गको जनावरको सातवटा टाउकोले “सात जना राजा” अर्थात् सरकारहरूलाई चित्रण गर्छ भनेर एउटा स्वर्गदूतले यूहन्नालाई बताए। (प्रका. १३:१४, १५; १७:३, ९, १०) यूहन्नाले यो पुस्तक लेखेको समयसम्म पाँच जनाको पतन भइसकेको थियो, एक जना अस्तित्वमा थियो अनि अर्को एक जनाचाहिं ‘अस्तित्वमै आएको थिएन।’ ती राज्य अर्थात् विश्वशक्तिहरू कुन-कुन हुन्? प्रकाशको पुस्तकमा वर्णन गरिएको जङ्गली जनावरको एक-एक टाउकोबारे अब हामी चर्चा गरौं। साथै यीमध्ये धेरैजसो राज्यबारे दानियलको पुस्तकले कसरी थप समझ दियो, त्यो पनि बुझौं। कतिपय राज्यबारे त दानियलले ती राज्यहरू अस्तित्वमा आउनुभन्दा शताब्दिऔंअघि बताएका थिए।
मिश्र र अश्शूर—प्रथम दुई टाउको
७. पहिलो टाउकोले केलाई चित्रण गर्छ र किन?
७ जनावरको पहिलो टाउकोले मिश्रलाई चित्रण गर्छ। किन? किनभने परमेश्वरका जनहरूविरुद्ध दुस्मनी राख्ने पहिलो मुख्य शक्ति मिश्र थियो। अब्राहामका सन्तानहरू—जसबाट प्रतिज्ञा गरिएको स्त्रीको सन्तान आउनेथिए—तिनीहरूको सङ्ख्या मिश्रमा बढ्दै गयो। त्यसपछि मिश्रले इस्राएललाई थिचोमिचो गर्न थाल्यो। स्त्रीको सन्तान देखापर्नुअघि नै सैतानले परमेश्वरका जनहरूलाई नामेट पार्न खोज्यो। कसरी? सबै इस्राएली बालकलाई मार्न फिरऊनलाई उक्साएर। तर यहोवाले सैतानको यो प्रयास विफल तुल्याउनुभयो र आफ्ना जनहरूलाई मिश्रको दासत्वबाट मुक्त गर्नुभयो। (प्रस्थ. १:१५-२०; १४:१३) पछि उहाँले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा लैजानुभयो।
८. दोस्रो टाउकोले केलाई चित्रण गर्छ र त्यसले के गर्ने प्रयास गऱ्यो?
८ जनावरको दोस्रो टाउकोले अश्शूरलाई चित्रण गर्छ। यो शक्तिशाली राज्यले पनि परमेश्वरका जनहरूलाई नामेट पार्ने प्रयास गऱ्यो। हो, दस गोत्रे राज्यले मूर्तिपूजा र विद्रोह गरेको कारण तिनीहरूलाई सजाय दिन यहोवाले अश्शूरलाई प्रयोग गर्नुभएको थियो। तर पछि अश्शूरले यरूशलेमलाई आक्रमण गऱ्यो। सायद सैतानको लक्ष्य येशू देखापर्ने राजकीय घरानालाई नाश गर्नु थियो। अश्शूरीहरूले यसरी आक्रमण गरोस् भन्ने यहोवाको उद्देश्य थिएन। त्यसैले ती आक्रमणकारीहरूलाई नाश गरेर उहाँले आफ्ना विश्वासी जनहरूलाई चमत्कारपूर्ण तरिकामा जोगाउनुभयो।—२ राजा १९:३२-३५; यशै. १०:५, ६, १२-१५.
बेबिलोन—तेस्रो टाउको
९, १०. (क) यहोवाले बेबिलोनीहरूलाई के गर्न दिनुभयो? (ख) भविष्यवाणी पूरा हुनको लागि के हुनुपर्ने थियो?
९ यूहन्नाले देखेको जनावरको तेस्रो टाउकोले त्यो राज्यलाई चित्रण गर्छ जसको राजधानी बेबिलोन थियो। यहोवाले बेबिलोनीहरूलाई यरूशलेम नाश गर्न दिनुभयो र आफ्ना जनहरूलाई कैद गरेर लैजान दिनुभयो। तर विद्रोही इस्राएलीहरूले त्यस्तो दुःखद अवस्था भोग्नेछन् भनेर यहोवाले पहिल्यै बताइसक्नुभएको थियो। (२ राजा २०:१६-१८) उहाँले यरूशलेममा “परमप्रभुको सिंहासनमा” बस्ने मानव राजाहरूको घराना हटाइनेछ भनेर भविष्यवाणी गर्नुभयो। (१ इति. २९:२३) तर उहाँले राजा दाऊदको वंशबाट “अधिकार” भएको एक जना आउनेछन् र अख्तियार सम्हाल्नेछन् भनेर पनि प्रतिज्ञा गर्नुभयो।—इज. २१:२५-२७.
१० प्रतिज्ञा गरिएको मसीह अर्थात् अभिषिक्त जन देखापरेको समयसम्म पनि यहूदीहरू यरूशलेमको मन्दिरमा उपासना गरिरहेका हुनेछन् भनेर अर्को भविष्यवाणीले सङ्केत गऱ्यो। (दानि. ९:२४-२७) इस्राएलीहरूलाई बेबिलोनमा कैदी बनाएर लगिनुअघि गरिएको भविष्यवाणीमा ती जन बेतलेहेम सहरमा जन्मनेछन् भनेर बताइएको थियो। (मीका ५:२) यो भविष्यवाणी पूरा हुने हो भने यहूदीहरू कैदबाट मुक्त हुनुपर्ने थियो, आफ्नो मातृभूमि फर्कनुपर्ने थियो अनि मन्दिर पुनर्निर्माण गर्नुपर्ने थियो। तर कैदीहरूलाई मुक्त गर्ने बेबिलोनीहरूको नीति थिएन। यस्तो चुनौतीको कसरी समाधान हुनेथियो? यसको जवाफ यहोवाले आफ्ना भविष्यवक्ताहरूलाई खोलिदिनुभयो।—आमो. ३:७.
११. बेबिलोनी साम्राज्यलाई अर्को कुन तरिकामा पनि चित्रण गरिएको छ? (फुटनोट हेर्नुहोस्।)
११ बेबिलोनमा लगिएका कैदीमध्ये भविष्यवक्ता दानियल पनि एक थिए। (दानि. १:१-६) बेबिलोन विश्वशक्तिपछि कुन-कुन राज्य देखापर्नेछ त्यसको रहस्य खोल्न यहोवाले दानियललाई प्रयोग गर्नुभयो। विभिन्न कुराहरूलाई प्रतीकको रूपमा चलाएर यहोवाले त्यो रहस्य खोलिदिनुभयो। उदाहरणको लागि, उहाँले बेबिलोनी राजा नबूकदनेसरलाई विभिन्न धातुबाट बनेको विशाल मूर्तिको सपना देखाउनुभयो। (दानियल २:१, १९, ३१-३८ पढ्नुहोस्) उक्त मूर्तिको सुनको टाउकोले बेबिलोनी साम्राज्यलाई बुझाउँछ भनेर यहोवाले दानियलमार्फत प्रकट गर्नुभयो।b बेबिलोनपछि देखापर्ने विश्वशक्तिलाई चाँदीका छाती र हातहरूद्वारा चित्रण गरियो। त्यो विश्वशक्ति कुन हुनेथियो अनि त्यसले परमेश्वरका जनहरूसित कस्तो व्यवहार गर्नेथियो?
मादी-फारसी—चौथो टाउको
१२, १३. (क) बेबिलोनको पराजयबारे यहोवाले कुन कुरा प्रकट गर्नुभयो? (ख) मादी-फारसीलाई जङ्गली जनावरको चौथो टाउको भन्नु किन सुहाउँछ?
१२ बेबिलोनलाई परास्त गर्ने विश्वशक्तिबारे यहोवाले दानियलको समयभन्दा करिब सय वर्षअघि नै भविष्यवक्ता यशैयामार्फत बताउनुभएको थियो। उहाँले बेबिलोन सहर कसरी परास्त हुनेछ, त्यो मात्र होइन तर त्यसलाई परास्त गर्ने को हुनेछ, त्यसको समेत रहस्य खोल्नुभएको थियो। त्यसलाई परास्त गर्न नेतृत्व लिने व्यक्ति फारसका कोरेस थिए। (यशै. ४४:२८–४५:२) मादी-फारसी विश्वशक्तिबारे दानियलले थप दुई दर्शन देखे। एउटा दर्शनमा यो राज्यलाई दुई खुट्टा उचालेर शरीरको आधा भागले मात्र उभिएको भालुको रूपमा चित्रण गरियो। त्यसलाई “उठ्, मासु खा, र पेट भर्” भन्ने आदेश दिइयो। (दानि. ७:५) अर्को दर्शनमा, दानियलले यो द्वय विश्वशक्तिलाई दुई सिङ भएको एउटा साँढ-भेडाको रूपमा देख्छन्।—दानि. ८:३, २०.
१३ यहोवाले आफूले भविष्यवाणी गरेझैं बेबिलोनलाई परास्त गर्न र इस्राएलीहरूलाई मातृभूमि फर्काउन मादी-फारसी साम्राज्य चलाउनुभयो। (२ इति. ३६:२२, २३) तर यही शक्ति पछि परमेश्वरका जनहरूलाई नामेट पार्न अघि बढ्यो। एस्तरको पुस्तकमा हामान नाम गरेका फारसी प्रधानमन्त्रीले रचेको षड्यन्त्रबारे उल्लेख गरिएको छ। तिनले फारस साम्राज्यमा फैलिएर बसेका सबै यहूदीलाई निर्मूल पार्ने प्रबन्ध मिलाए र यस्तो नरसंहार गर्न खास दिन तोके। यहोवाको हस्तक्षेपले गर्दा मात्र उहाँका जनहरू फेरि एक पटक सैतानको सन्तानको द्वेषबाट बच्न सफल भए। (एस्त. १:१-३; ३:८, ९; ८:३, ९-१४) त्यसकारण मादी-फारसीलाई प्रकाशको पुस्तकमा चर्चा गरिएको जनावरको चौथो टाउको भन्नु एकदमै सुहाउँछ।
युनान—पाँचौं टाउको
१४, १५. पुरातन युनानी साम्राज्यबारे यहोवाले कस्तो रहस्य खोल्नुभयो?
१४ प्रकाशको पुस्तकमा उल्लेख गरिएको जङ्गली जनावरको पाँचौं टाउकोले युनानलाई चित्रण गर्छ। नबूकदनेसरको सपनाको अर्थ खोल्दा दानियलले पहिल्यै बताएअनुसार मूर्तिको पित्तलका पेट र फिलाले पनि युनान विश्वशक्तिलाई नै चित्रण गर्छ। दानियलले देखेको अरू दुईवटा दर्शनले यस साम्राज्यको किसिम र यसको सबैभन्दा प्रमुख शासकबारे थप कुरा बुझ्न मदत गर्छ।
१५ एउटा दर्शनमा दानियलले युनानलाई चारवटा पखेटा भएको चितुवाको रूपमा देखे। त्यो पखेटाले युनान राज्यले द्रुत गतिमा विजय हासिल गर्ने कुरालाई सङ्केत गर्छ। (दानि. ७:६) अर्को दर्शनमा दानियलले एउटा ठूलो सिङ भएको बोका देखे। मादी-फारसीलाई चित्रण गर्ने दुई-सीङे साँढ-भेडालाई त्यो बोकाले तुरुन्तै परास्त गऱ्यो। त्यो बोकाले युनानलाई चित्रण गर्छ र त्यसको ठूलो सिङले त्यसका राजाहरूमध्ये एक जनालाई सङ्केत गर्छ भनी यहोवाले दानियललाई बताउनुभयो। त्यो ठूलो सिङ भाँचिनेछ र त्यसको ठाउँमा स-साना चार सिङ उम्रनेछन् भनेर पनि दानियलले बताए। यो भविष्यवाणी युनान प्रभुत्वमा आउनुभन्दा सयौं वर्षअघि गरिएको भए तापनि त्यसको एक-एक कुरा पूरा भयो। पुरातन युनानका सबैभन्दा प्रमुख राजा महान् सिकन्दरले मादी-फारसीविरुद्धको आक्रमणमा नेतृत्व लिए। शक्तिको शिखरमा पुगिसकेपछि ३२ वर्षको कलिलै उमेरमा यी राजाको मृत्यु भयो। यसप्रकार बोकाको ठूलो सिङ भाँचियो। त्यसपछि सिकन्दरको राज्य तिनका चार सेनापतिहरूमा बाँडियो।—दानियल ८:२०-२२ पढ्नुहोस्।
१६. एन्टियोकस चौथोले के गरे?
१६ फारसमाथि विजय हासिल गरेपछि युनानले परमेश्वरका जनहरूको भूमिमा अधिकार जमाउन थाल्यो। यतिबेलासम्ममा त यहूदीहरू प्रतिज्ञा गरिएको देशमा स्थापित भइसकेका थिए र तिनीहरूले यरूशलेमको मन्दिर पुनर्निर्माण गरिसकेका थिए। अहिलेसम्म पनि परमेश्वरले तिनीहरूलाई आफ्नो जनको रूपमा स्वीकार्नुभएको थियो र पुनर्निर्माण गरिएको मन्दिर अझै पनि साँचो उपासनाको केन्द्रबिन्दु थियो। तर ईसापूर्व दोस्रो शताब्दीमा जङ्गली जनावरको पाँचौं टाउको युनानले परमेश्वरका जनहरूमाथि आक्रमण गऱ्यो। सिकन्दरको विभक्त साम्राज्यको उत्तराधिकारीमध्ये एक एन्टियोकस चौथो थिए। तिनले यरूशलेमको मन्दिर परिसरमा झूटो धर्मको वेदी खडा गरे अनि यहूदी धर्म मान्नेहरूलाई अपराधी ठान्दै तिनीहरूलाई मृत्युदण्ड दिने नीति बनाए। सैतानको सन्तानले कतिबिघ्न घृणा गरेको! तर चाँडै नै युनानको ठाउँ अर्को विश्वशक्तिले लिनेथियो। जङ्गली जनावरको छैटौं टाउको कुन हुनेथियो?
रोम—छैटौं टाउको, ‘डरलाग्दो अनि भयङ्कर’
१७. उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी पूरा गर्न छैटौं टाउकोले कस्तो प्रमुख भूमिका खेल्यो?
१७ यूहन्नाले जङ्गली जनावरको दर्शन देख्दा रोमले प्रभुत्व जमाइरहेको थियो। (प्रका. १७:१०) उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी पूरा गर्न यस छैटौं टाउकोले प्रमुख भूमिका खेल्यो। सैतानले रोमी अधिकारीहरूलाई चलाएर भविष्यवाणी गरिएको ती सन्तानलाई अस्थायी रूपमा घाइते बनायो। हो, त्यसले ती सन्तानको ‘कुर्कुच्चो डस्यो।’ त्यसले कसरी कुर्कुच्चो डस्यो? रोमी अधिकारीहरूले येशूलाई देशद्रोहको झूटो आरोप लगाए र उहाँलाई मारे। (मत्ती २७:२६) तर त्यो चोट चाँडै नै निको भयो किनभने यहोवाले येशूलाई पुनर्जीवित पार्नुभयो।
१८. (क) यहोवाले कुन नयाँ राष्ट्रलाई छान्नुभयो र किन? (ख) सर्पको सन्तानले स्त्रीको सन्तानप्रति द्वेषभाव राखी नै रह्यो, कसरी?
१८ इस्राएलका धर्मगुरुहरूले रोमसित साठगाँठ गरेर येशूविरुद्ध षड्यन्त्र रचे अनि इस्राएलका धेरैजसो मानिसहरूले पनि उहाँलाई तिरस्कार गरे। त्यसकारण यहोवाले इस्राएल राष्ट्रलाई आफ्ना जनको रूपमा त्याग्नुभयो। (मत्ती २३:३८; प्रेषि. २:२२, २३) तिनीहरूको सट्टा नयाँ राष्ट्र, “परमेश्वरको इस्राएल”-लाई छान्नुभयो। (गला. ३:२६-२९; ६:१६) यो राष्ट्र यहूदी र अन्यजाति अभिषिक्त ख्रीष्टियनहरूको मण्डली मिलेर बनेको छ। (एफि. २:११-१८) येशूको मृत्युपछि अनि उहाँ पुनर्जीवित भइसकेपछि पनि सर्पको सन्तानले स्त्रीको सन्तानप्रति द्वेषभाव राखी नै रह्यो। रोमले बारम्बार स्त्रीको सन्तानको दोस्रो भाग अर्थात् ख्रीष्टियन मण्डलीलाई नामेट पार्ने प्रयास गऱ्यो।c
१९. (क) दानियलले छैटौं विश्वशक्तिबारे कसरी वर्णन गरे? (ख) अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?
१९ दानियलले नबूकदनेसरलाई खोलिदिएको सपनाको अर्थअनुसार रोमलाई फलामका गोडाहरूले चित्रण गर्छ। (दानि. २:३३) दानियलले देखेको अर्को दर्शनले रोमी साम्राज्यबारे अझ राम्ररी बुझ्न मदत गर्छ। त्यति मात्र होइन, रोमबाट देखापर्ने अर्को विश्वशक्तिबारे पनि त्यो दर्शनले बताउँछ। (दानियल ७:७, ८ पढ्नुहोस्) शताब्दिऔंसम्म रोम आफ्ना शत्रुहरूका लागि ‘डरलाग्दो, भयङ्कर र अत्यन्त बलियो’ साबित भयो। तर भविष्यवाणीले बताएअनुसार यो साम्राज्यबाट “दसवटा सिङ” उम्रनेथियो अनि अर्को एउटा सानो सिङ पनि तिनीहरूका बीचमा उम्रनेथियो र यसले विशेष प्रभुत्व जमाउनेथियो। यी दस सिङ के हुन् अनि सानो सिङले केलाई बुझाउँछ? अनि नबूकदनेसरले देखेको विशाल मूर्ति र यो सानो सिङबीच कस्तो सम्बन्ध छ? पृष्ठ १४ मा भएको लेखमा हामी यसको जवाफ पाउनेछौं।
[फुटनोटहरू]
a स्त्रीले, स्वर्गमा अदृश्य प्राणीहरू मिलेर बनेको यहोवाको पत्नीरूपी सङ्गठनलाई चित्रण गर्छ।—यशै. ५४:१; गला. ४:२६; प्रका. १२:१, २.
b दानियलको पुस्तकमा उल्लेख गरिएको मूर्तिको सुनको टाउको अनि प्रकाशको पुस्तकमा उल्लेख गरिएको जङ्गली जनावरको तेस्रो टाउको दुवैले बेबिलोनलाई चित्रण गर्छ। पृष्ठ १२-१३ मा भएको तालिका हेर्नुहोस्।
c इस्वी संवत् ७० मा रोमले यरूशलेम नाश गर्दा इस्राएल परमेश्वरले छान्नुभएको राष्ट्रबाट हटिसकेको थियो। त्यसैले यरूशलेम विनाश हुनु भनेको स्त्रीको सन्तानमाथि आक्रमण हुनु र उत्पत्ति ३:१५ पूरा हुनु थिएन।
-
-
यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छप्रहरीधरहरा—२०१२ | जून १५
-
-
यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ
“येशू ख्रीष्टद्वारा भएको प्रकाश, जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न परमेश्वरले उहाँलाई दिनुभयो।”—प्रका. १:१.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
विशाल मूर्तिको कुनचाहिं भागले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई चित्रण गर्छ?
एङ्ग्लो-अमेरिकी विश्वशक्ति र संयुक्त राष्ट्र सङ्घबीचको सम्बन्धबारे यूहन्नाले कसरी वर्णन गरे?
मानव शासनको विनाशबारे दानियल र यूहन्नाले कस्तो वर्णन गरे?
१, २. (क) दानियल र यूहन्नाको भविष्यवाणी तुलना गरेर हेर्दा हामी कुन कुरा बुझ्न सक्छौं? (ख) जङ्गली जनावरको प्रथम छ टाउकोले के-केलाई चित्रण गर्छ?
दानियल र यूहन्नाका भविष्यवाणीहरू तुलना गरेर हेर्दा हामी अहिले भइरहेका अनि भविष्यमा हुने विश्वघटनाहरूको अर्थ राम्ररी बुझ्न सक्छौं। यूहन्नाले देखेको जङ्गली जनावरको दर्शन, दस सिङ भएको डरलाग्दो जनावरबारे दानियलले लेखेको विवरण र विशाल मूर्तिबारे दानियलले खोलिदिएको अर्थलाई तुलना गरेर हेर्दा हामी के सिक्न सक्छौं? अनि यी भविष्यवाणीहरू राम्रोसित बुझिसकेपछि त्यसले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?
२ सुरुमा हामी यूहन्नाले देखेको जङ्गली जनावरको दर्शनबारे चर्चा गरौं। (प्रका., अध्या. १३) अघिल्लो लेखमा छलफल गरेझैं त्यस जनावरको प्रथम छ टाउकोले मिश्र, अश्शूर, बेबिलोन, मादी-फारसी, युनान अनि रोमलाई चित्रण गर्छ। ती सबै विश्वशक्तिले स्त्रीको सन्तानलाई घृणा गरे। (उत्प. ३:१५) यूहन्नाले आफूले देखेको दर्शन लेखेको शताब्दिऔं पछिसम्म पनि छैटौं टाउको रोमले प्रभुत्व जमाइरह्यो। अन्ततः सातौं टाउकोले रोमको ठाउँ लिनेथियो। यो सातौं विश्वशक्ति कुन हुनेथियो अनि त्यसले स्त्रीको सन्तानसित कस्तो व्यवहार गर्नेथियो?
बेलायत र संयुक्त राज्य अमेरिका शक्तिमा आउँछन्
३. दस सिङ भएको डरलाग्दो जनावरले केलाई चित्रण गर्छ? अनि दसवटा सिङले नि?
३ प्रकाश अध्याय १३ मा उल्लेख गरिएको यूहन्नाले देखेको जङ्गली जनावरको सातौं टाउकोलाई चिन्न हामी यो दर्शनलाई दानियलले देखेको डरलाग्दो दस-सिङे जनावरको दर्शनसित तुलना गर्न सक्छौं।a (दानियल ७:७, ८, २३, २४ पढ्नुहोस्) दानियलले देखेको त्यो जनावरले विश्वशक्ति रोमलाई चित्रण गर्छ। (पृष्ठ १२-१३ मा भएको तालिका हेर्नुहोस्) इस्वी संवत् पाँचौं शताब्दीमा रोमी साम्राज्य टुक्रिन सुरु भयो। डरलाग्दो जनावरको टाउकोबाट उम्रेको दस सिङले रोमी साम्राज्यबाट उत्पन्न भएको राज्यहरूलाई बुझाउँछ।
४, ५. (क) सानो सिङले के गऱ्यो? (ख) जङ्गली जनावरको सातौं टाउकोले केलाई चित्रण गर्छ?
४ दानियलले देखेको दस-सिङे जनावरको दर्शनमा अर्को एउटा “सानो” सिङ उम्रन्छ र त्यसले तीनवटा सिङलाई जरैसमेत उखेलिदिन्छ। यो कुरा कसरी पूरा भयो? बेलायत कुनै समय रोमी साम्राज्यको सानो भाग थियो तर पछि गएर यो एउटा राज्य भयो। स्पेन, नेदरल्याण्ड्स र फ्रान्स पनि रोमी साम्राज्यकै भाग थिए। सत्रौं शताब्दीसम्म तिनीहरू बेलायतभन्दा धेरै शक्तिशाली थिए। तर बेलायतले तिनीहरूसित एक-एक गरी युद्ध गऱ्यो र तिनीहरूभन्दा शक्तिशाली भयो। अठारौं शताब्दीको बीचतिर बेलायत विश्वको सबैभन्दा शक्तिशाली राज्य बन्न अघि बढ्दै गरेको अवस्थामा थियो। तैपनि बेलायत जङ्गली जनावरको सातौं टाउको भइसकेको थिएन।
५ बेलायतले प्रभुत्व जमाए तापनि उत्तर अमेरिकी उपनिवेशहरूले विद्रोह गरे अनि बेलायतबाट छुट्टिए। ती उपनिवेशहरू नै पछि संयुक्त राज्य अमेरिकाको रूपमा खडा भयो। बेलायतले संयुक्त राज्य अमेरिकालाई शक्तिशाली हुनबाट रोकेन बरु बेलायती जलसेनाद्वारा सुरक्षासमेत दियो। प्रभुको दिन सुरु भएको साल सन् १९१४ सम्ममा त बेलायत इतिहासकै ठूलो साम्राज्य भइसकेको थियो र संयुक्त राज्य अमेरिका संसारकै सबैभन्दा ठूलो व्यापारिक शक्तिको रूपमा देखा परिसकेको थियो।b प्रथम विश्वयुद्धताका संयुक्त राज्य अमेरिकाले बेलायतसित विशेष मित्रता गाँस्यो। यसरी यी दुई राष्ट्र जङ्गली जनावरको सातौं टाउको अर्थात् एङ्ग्लो-अमेरिकी विश्वशक्तिको रूपमा देखापऱ्यो। यो टाउकोले स्त्रीको सन्तानसित कस्तो व्यवहार गऱ्यो?
६. सातौं टाउकोले परमेश्वरका जनहरूलाई कस्तो व्यवहार गरेको छ?
६ प्रभुको दिन सुरु भएको केही समयपछि नै सातौं टाउकोले परमेश्वरका जनहरू अर्थात् पृथ्वीमा बाँकी रहेका ख्रीष्टका भाइहरूलाई आक्रमण गर्न सुरु गऱ्यो। (मत्ती २५:४०) आफ्नो उपस्थिति हुँदा स्त्रीका बाँकी सन्तान पृथ्वीमा सक्रिय हुनेछन् भनेर येशूले सङ्केत गर्नुभएको थियो। (मत्ती २४:४५-४७; गला. ३:२६-२९) एङ्ग्लो-अमेरिकी विश्वशक्तिले ती पवित्र जनहरूसित लडाइँ गऱ्यो। (प्रका. १३:३, ७) प्रथम विश्वयुद्धको दौडान यसले परमेश्वरका जनहरूमाथि सतावट ल्यायो, उनीहरूको केही प्रकाशनलाई प्रतिबन्ध लगायो र विश्वासी दास वर्गका केही प्रतिनिधिलाई झ्यालखानामा हाल्यो। जङ्गली जनावरको सातौं टाउकोले प्रचारकार्यलाई केही समयको लागि लगभग ठप्पै पारिदियो। यस्तो हुनेछ भनेर यहोवाले यूहन्नालाई दर्शनमा बताइसक्नुभएको थियो। स्त्रीको सन्तानको दोस्रो भागले फेरि प्रचारकार्य सुरु गर्नेछन् भनेर पनि परमेश्वरले यूहन्नालाई बताउनुभएको थियो। (प्रका. ११:३, ७-११) यहोवाका साक्षीहरूको आधुनिक इतिहासले यी कुराहरू पूरा भए भनेर पुष्टि गर्छ।
एङ्ग्लो-अमेरिकी विश्वशक्ति अनि माटो र फलाम मिसिएको खुट्टा
७. जङ्गली जनावरको सातौं टाउको र विशाल मूर्तिबीच कस्तो सम्बन्ध छ?
७ जङ्गली जनावरको सातौं टाउको र विशाल मूर्तिबीच कस्तो सम्बन्ध छ? बेलायत रोमी साम्राज्यको भाग थियो। अनि बेलायतबाटै संयुक्त राज्य अमेरिका छुट्टिएको थियो। यसर्थ संयुक्त राज्य अमेरिका पनि अप्रत्यक्ष रूपमा रोमबाट निस्कियो भन्न सक्छौं। तर मूर्तिको खुट्टाबारे के भन्न सकिन्छ? मूर्तिको खुट्टा फलाम र माटो मिलेर बनेको छ भनेर वर्णन गरिएको छ। (दानियल २:४१-४३ पढ्नुहोस्) खुट्टाबारे गरिएको यो वर्णन जङ्गली जनावरको सातौं टाउको अर्थात् एङ्ग्लो-अमेरिकी विश्वशक्ति प्रभुत्वमा आउने समयसित मेल खान्छ। माटो मिसिएको फलाम शुद्ध फलामजत्तिको बलियो हुँदैन। त्यसैगरि एङ्ग्लो-अमेरिकी विश्वशक्ति जुन शक्तिबाट आएको थियो, त्यत्तिको बलियो छैन। कसरी?
८, ९. (क) सातौं विश्वशक्तिले फलामरूपी शक्ति कसरी देखायो? (ख) मूर्तिको खुट्टाको माटोले केलाई चित्रण गर्छ?
८ कहिलेकाहीं एङ्ग्लो-अमेरिकी विश्वशक्तिले फलामरूपी शक्ति प्रदर्शन गरेको छ। उदाहरणका लागि, प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध जितेर त्यसले आफ्नो शक्ति प्रमाणित गऱ्यो अनि त्यसपछि पनि त्यसले थुप्रै पटक आफ्नो फलामरूपी शक्ति देखायो।c तर एङ्ग्लो-अमेरिकी विश्वशक्ति अस्तित्वमा आएदेखि यता त्यो फलाम माटोसित मिसिएको छ।
९ यहोवाका सेवकहरूले लामो समयदेखि मूर्तिको खुट्टाको अर्थ बुझ्ने प्रयास गरेका छन्। फलाम र माटो मिलेर बनेको खुट्टालाई दानियल २:४१ मा एउटा “राज्य” भनिएको छ, धेरै राज्य होइन। त्यसकारण माटोले एङ्ग्लो-अमेरिकी विश्वशक्तिले प्रभुत्व जमाएका इलाकाभित्र रहेका तत्त्वहरूलाई बुझाउँछ, जुन तत्त्वले यो विश्वशक्तिलाई फलामरूपी रोमी साम्राज्यभन्दा कमजोर बनाउँछ। माटोलाई “मानिसहरू” भनेर इङ्गित गरिएको छ। (दानि. २:४३, NRV) मानवअधिकार अभियानहरू, मजदुर युनियनहरू र स्वतन्त्रताको लागि गरिएका आन्दोलनहरूमार्फत मानिसहरूले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई कमजोर बनाएका छन्। सर्वसाधारणले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई फलामरूपी शक्ति प्रदर्शन गर्न गाह्रो बनाइदिएको छ। साथै पूरा बहुमत नहुँदा प्रख्यात नेताहरूले समेत आफ्नो नीति तर्जुमा गर्न सक्दैनन् किनभने तिनीहरू चुनावमा एकदमै कम मत अन्तरले जित्छन् अनि तिनीहरूको सिद्धान्त पनि अरू नेताहरूसित मेल खाँदैन। दानियलले यस्तो भविष्यवाणी गरे: “त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने राज्य हुनेछ।”—दानि. २:४२; २ तिमो. ३:१-३.
१०, ११. (क) “खुट्टा”-लाई भविष्यमा के हुनेछ? (ख) औंलाहरूको सङ्ख्याको सन्दर्भमा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?
१० अहिले २१ औं शताब्दीमा पनि बेलायत र संयुक्त राज्य अमेरिकाको मित्रता उत्तिकै प्रगाढ छ। तिनीहरू संसारका मामिलाहरूमा अक्सर सँगसँगै सहभागिता जनाउँछन्। विशाल मूर्ति र जङ्गली जनावरको भविष्यवाणीले सङ्केत गरेअनुसार एङ्ग्लो-अमेरिकी विश्वशक्तिपछि अर्को कुनै विश्वशक्ति आउनेछैन। यो अन्तिम विश्वशक्ति, फलामले चित्रण गर्ने रोमभन्दा कमजोर भए तापनि यसको अन्त्य आफ-से-आफ हुनेछैन।
११ औंलाको सङ्ख्याको कुनै विशेष अर्थ छ? यो कुरा विचार गर्नुहोस्: दानियलले अरू दर्शनहरूमा विभिन्न सङ्ख्या तोकेरै उल्लेख गरेका छन्। जस्तै: तिनले जनावरको टाउकोमा भएका सिङहरूको सङ्ख्या तोकेरै उल्लेख गरेका छन्। ती सङ्ख्याहरूको खास अर्थ छ। तर दानियलले मूर्तिको खुट्टामा भएका औंलाहरूबारे वर्णन गर्दा त्यसको सङ्ख्या उल्लेख गरेका छैनन्। त्यसकारण मूर्तिको हात, गोडा, खुट्टाजस्ता अङ्गको सङ्ख्याको कुनै भविष्यसूचक अर्थ नभएजस्तै मूर्तिको औंलाको सङ्ख्याको पनि कुनै खास अर्थ छैन जस्तो देखिन्छ। तर दानियलले ती औंलाहरू फलाम र माटो मिलेर बनेको हुन्छ भनेर तोकेरै उल्लेख गरे। यस वर्णनबाट हामी यो निष्कर्षमा पुग्न सक्छौं: परमेश्वरको राज्यलाई प्रतिनिधित्व गर्ने “ढुङ्गा” मूर्तिको खुट्टामा बजारिंदा एङ्ग्लो-अमेरिकी विश्वशक्तिले नै प्रभुत्व जमाइरहेको हुनेछ।—दानि. २:४४, ४५.
एङ्ग्लो-अमेरिका अनि दुई सिङ भएको जङ्गली जनावर
१२, १३. दुईवटा सिङ भएको जङ्गली जनावरले केलाई चित्रण गर्छ र त्यसले के गर्छ?
१२ एङ्ग्लो-अमेरिकी विश्वशक्ति फलाम र माटो मिलेर बनेको भए तापनि येशूले यूहन्नालाई देखाउनुभएको दर्शनअनुसार यो विश्वशक्तिले अन्तको दिनसम्मै प्रमुख भूमिका खेलिरहनेथियो। कसरी? यूहन्नाले अजिङ्गरले झैं बोल्ने दुईवटा सिङ भएको जङ्गली जनावरको दर्शन देखे। त्यो अनौठो जनावरले केलाई चित्रण गर्छ? त्यसको दुईवटा सिङ छ। मतलब यो द्वय शक्ति हो। यो जनावरले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई नै चित्रण गर्छ तर यसपटक भने यसको भूमिका विशेष छ।—प्रकाश १३:११-१५ पढ्नुहोस्।
१३ दुई सिङ भएको यो जनावरले मानिसहरूलाई सातवटा टाउको भएको जङ्गली जनावरको मूर्ति बनाउन लगाउँछ। यूहन्नाले लेखेअनुसार, त्यो जङ्गली जनावरको मूर्ति देखापर्नेछ, पछि हराउनेछ र फेरि देखापर्नेछ। बेलायत र संयुक्त राज्य अमेरिकाको विशेष साथ पाएको एउटा संस्थाको सन्दर्भमा ठ्याक्कै त्यस्तै भयो। त्यो संस्था संसारका राज्यहरूलाई एकत्रित गर्न र ती राज्यहरूको प्रतिनिधित्व गर्न स्थापना गरिएको थियो।d त्यो संस्था प्रथम विश्वयुद्धपछि राष्ट्र सङ्घको रूपमा देखापऱ्यो। तर दोस्रो विश्वयुद्ध सुरु भएपछि त्यो संस्था हरायो। प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएअनुसार जङ्गली जनावरको त्यो मूर्ति फेरि देखापर्नेछ भनेर परमेश्वरका जनहरूले दोस्रो विश्वयुद्धभरि प्रचार गरे। नभन्दै त्यस्तै भयो। त्यो संस्था संयुक्त राष्ट्र सङ्घको रूपमा फेरि देखापऱ्यो।—प्रका. १७:८.
१४. जङ्गली जनावरको मूर्तिलाई कुन अर्थमा “आठौं राजा” भन्न सकिन्छ?
१४ यूहन्नाले सातवटा टाउको भएको जङ्गली जनावरको मूर्तिलाई “आठौं राजा” भनी वर्णन गरे। तिनले यो मूर्तिलाई किन “राजा” भने? यो मूर्ति जङ्गली जनावरको आठौं टाउकोको रूपमा देखापरेको होइन; केवल यो त्यसको मूर्ति मात्र हो। यो मूर्तिले संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूबाट शक्ति प्राप्त गर्छ, विशेषगरि एङ्ग्लो-अमेरिकी विश्वशक्तिबाट। (प्रका. १७:१०, ११) यो मूर्तिले पूरै संसारलाई असर गर्ने कामकुराको अख्तियार पाएको कारण यूहन्नाले त्यसलाई “राजा” भनेका हुन्।
जङ्गली जनावरको मूर्तिले त्यस वेश्यालाई नाश गर्छ
१५, १६. वेश्याले केलाई चित्रण गर्छ र त्यसले पाउने समर्थन के भएको छ?
१५ यूहन्नाले बताएअनुसार चहकिलो रातो रङ्गको जङ्गली जनावर अर्थात् सातवटा टाउको भएको जङ्गली जनावरको मूर्तिमाथि प्रतीकात्मक वेश्या चढेकी छे। तिनलाई “महान् बेबिलोन” भन्ने नाम दिइएको छ। (प्रका. १७:१-६) यो वेश्याले सम्पूर्ण झूटो धर्मलाई बुझाउँछ। विशेषगरि चर्चजगत् यसको प्रमुख भाग हो। झूटो धर्मका सङ्गठनहरूले जङ्गली जनावरको यो मूर्तिलाई खुलेआम समर्थन गरेका छन् र त्यसमाथि आफ्नो प्रभाव जमाउन खोजेका छन्।
१६ महान् बेबिलोनलाई “पानी”-माथि बसिरहेकी वेश्याको रूपमा वर्णन गरिएको छ। पानीले त्यसलाई समर्थन गर्ने मानिसहरूलाई बुझाउँछ। तर प्रभुको दिनमा मानिसहरूले त्यस वेश्यालाई पहिलाको जति समर्थन गरेका छैनन्। त्यसकारण प्रतीकात्मक अर्थमा त्यसको पानी ‘सुकेको छ’ भन्न सकिन्छ। (प्रका. १६:१२; १७:१५) उदाहरणका लागि, जङ्गली जनावरको मूर्ति पहिलो पटक देखा पर्दा चर्चजगत्ले पश्चिमी मुलुकहरूमा निकै प्रभाव जमाइरहेको थियो। तर अहिले चर्चले अनि त्यसका पादरीहरूले मानिसहरूबाट पाइरहेको सम्मान र समर्थन गुमाएका छन्। केहीले त संसारको समस्याको मुख्य जड नै धर्म हो भन्ने विश्वाससमेत गर्छन्। अरू कतिपयले भने समाजबाट धर्मको प्रभाव हटाउनुपर्छ भन्ने आवाज उठाउन थालेका छन्।
१७. चाँडै नै झूटो धर्मलाई के हुनेछ र किन?
१७ तर झूटो धर्म, शक्ति गुमाउँदै बिस्तारै हराएर जानेछैन। परमेश्वरले वेश्यालाई नाश गर्ने सोचाइ राजाहरूको मनमा नहालिदिएसम्म त्यसले आफ्नो प्रभुत्व कायमै राखिरहनेछ र राजाहरूलाई आफ्नो मुठीमा राख्न खोजी नै रहनेछ। (प्रकाश १७:१६, १७ पढ्नुहोस्) यहोवाले सैतानको संसारको राजनैतिक तत्त्वहरू चलाएर झूटो धर्ममाथि आक्रमण गर्नुहुनेछ। तिनीहरूले त्यो वेश्याको प्रभावलाई हटाउनेछन् र त्यसका सारा धनसम्पत्ति नाश गर्नेछन्। केही वर्षअघिसम्म पनि मानिसहरू यस्तो घटना असम्भव छ भन्ने सोचाइ राख्थे। आज मानिसहरूको सोचाइमा परिवर्तन आएको छ। तर त्यो वेश्याले आफ्नो शक्ति बिस्तारै गुमाउनेछैन। त्यसको विनाश अचानक हुनेछ।—प्रका. १८:७, ८, १५-१९.
जनावरहरूको विनाश
१८. (क) जङ्गली जनावरले के गर्नेछ र त्यसको परिणाम कस्तो हुनेछ? (ख) दानियल २:४४ ले सङ्केत गरेअनुसार परमेश्वरको राज्यले कुन-कुन राज्यलाई नाश गर्नेछ? (पृष्ठ १७ मा भएको पेटी हेर्नुहोस्।)
१८ झूटो धर्मको विनाशपछि जङ्गली जनावर अर्थात् सैतानको पार्थिव राजनैतिक प्रणालीलाई परमेश्वरको राज्यमाथि आक्रमण गर्न उक्साइनेछ। पृथ्वीका राजाहरूले स्वर्गमा रहेको परमेश्वरको राज्यलाई आक्रमण गर्न सक्नेछैनन्, त्यसैले तिनीहरूले पृथ्वीमा रहेका त्यस राज्यका समर्थकहरूविरुद्ध लडाइँ गर्नेछन्। परिणामस्वरूप, परमेश्वरले ती राजाहरूसित अन्तिम पटक लडाइँ गर्नुहुनेछ। (प्रका. १६:१३-१६; १७:१२-१४) अन्तिम लडाइँको विषयमा दानियलले हामीलाई केही कुरा बताएका छन्। (दानियल २:४४ पढ्नुहोस्) प्रकाश १३:१ मा उल्लेख गरिएको जङ्गली जनावर, त्यसको मूर्ति अनि दुईवटा सिङ भएको जङ्गली जनावर सबै नै नाश हुनेछन्।
१९. हामी कुन कुरामा विश्वस्त हुन सक्छौं र अहिले के गर्ने समय हो?
१९ हामी जङ्गली जनावरको सातौं टाउकोले प्रभुत्व जमाइरहेको समयमा बाँचिरहेका छौं। यो जनावर नाश हुनुअघि यसमा अर्को टाउको देखा पर्नेछैन। झूटो धर्मको विनाश हुँदा एङ्ग्लो-अमेरिकी विश्वशक्तिले नै प्रभुत्व जमाइरहेको हुनेछ। दानियल र यूहन्नाले गरेको भविष्यवाणीको स-सानो अंश पनि पूरा हुँदै आएको छ। त्यसकारण झूटो धर्मको विनाश र आरमागेडोनको लडाइँ चाँडै हुनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं। पछि हुने यी कुराहरूको रहस्य यहोवाले पहिल्यै खोलिदिनुभएको छ। तर के हामी यी भविष्यसूचक चेतावनीहरूमा ध्यान दिन्छौं? (२ पत्रु. १:१९) यहोवाको पक्ष लिने अनि उहाँको राज्यलाई समर्थन गर्ने समय अहिल्यै हो।—प्रका. १४:६, ७.
[फुटनोटहरू]
a बाइबलमा प्रयोग गरिएको दस सङ्ख्याले अक्सर पूर्णतालाई बुझाउँछ। यस प्रसङ्गमा दस सङ्ख्याले रोमी साम्राज्यबाट उत्पन्न भएका सम्पूर्ण राज्यलाई चित्रण गर्छ।
b बेलायती साम्राज्य र संयुक्त राज्य अमेरिका दुवै १८ औं शताब्दीमै अस्तित्वमा आइसकेका थिए। तर यूहन्नाले देखेको दर्शनअनुसार प्रभुको दिन सुरु हुँदा मात्र यिनीहरूले एउटै विश्वशक्तिको रूपमा काम गर्नेथिए। प्रकाशको पुस्तकमा उल्लेख गरिएको दर्शन “प्रभुको दिनमा” पूरा भयो। (प्रका. १:१०) बेलायत र संयुक्त राज्य अमेरिकाले प्रथम विश्वयुद्धदेखि यता एउटै विश्वशक्तिको रूपमा काम गर्न थाले।
c दानियलले भविष्यवाणी गरेझैं एङ्ग्लो-अमेरिकी विश्वशक्तिले दोस्रो विश्वयुद्धताका अवर्णनीय विध्वंस ल्यायो। (दानि. ८:२४) उदाहरणको लागि, यस विश्वशक्तिको शत्रुमाथि संयुक्त राज्य अमेरिकाले दुईवटा आणविक बम खसाल्यो। ती बमले पहिला कहिल्यै नपुऱ्याएको भयानक क्षति पुऱ्यायो।
d प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताबको पृष्ठ २४०, २४१ र २५३ हेर्नुहोस्।
[पृष्ठ १७-मा भएको पेटी]
दानियल २:४४ मा उल्लेख गरिएको “यी सबै राज्यहरू”-ले केलाई बुझाउँछ?
दानियल २:४४ मा परमेश्वरको राज्यले “यी सबै राज्यहरूलाई चकनाचुर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ” भनेर भविष्यवाणी गरिएको छ। यो भविष्यवाणीले विशाल मूर्तिको विभिन्न भागले चित्रण गर्ने राज्यहरूलाई मात्र बुझाउँछ।
अरू मानव सरकारबारे चाहिं के भन्न सकिन्छ? प्रकाशको पुस्तकमा यो भविष्यवाणीसित मेल खाने अर्को भविष्यवाणी दिइएको छ। त्यसले हामीलाई यस विषयमा थप कुरा बुझ्न मदत गर्छ। त्यसमा बताइएअनुसार “पृथ्वीभरिका राजाहरू”-लाई “सर्वशक्तिमान् परमेश्वरको महान् दिनको लडाइँको निम्ति” जम्मा गरिनेछ। (प्रका. १६:१४; १९:१९-२१) तसर्थ आरमागेडोनको लडाइँमा विशाल मूर्तिले चित्रण गर्ने राज्यहरू मात्र होइन, सबै मानव सरकारहरू नाश हुनेछन्।
-
-
आठ जना राजाको रहस्य खोलिन्छप्रहरीधरहरा—२०१२ | जून १५
-
-
आठ जना राजाको रहस्य खोलिन्छ
दानियल अनि यूहन्नाले लेखेको विवरणले आठ जना राजा अर्थात् मानव शासनको परिचय खुलाउनुका साथै तिनीहरू क्रमिक रूपमा देखापर्ने समयसमेत प्रकट गर्छ। बाइबलमा लिपिबद्ध पहिलो भविष्यवाणीको अर्थ बुझ्यौं भने हामी ती भविष्यवाणीहरू बुझ्न सक्छौं।
इतिहासभरि नै सैतानले आफ्नो सन्तानलाई विभिन्न सरकार वा राज्यहरूमा सामेल गरेको छ। (लूका ४:५, ६) यीमध्ये केही सरकार परमेश्वरका जनहरूविरुद्ध प्रत्यक्ष रूपमा लडेका छन्, चाहे इस्राएल राष्ट्रविरुद्ध होस् वा अभिषिक्त ख्रीष्टियनहरूको मण्डलीविरुद्ध। परमेश्वरका जनहरूविरुद्ध त्यसरी लडेका सरकारमध्ये दानियल र यूहन्नाले आठवटा महाशक्तिबारे मात्र चर्चा गरेका छन्।
[पृष्ठ १२ र १३-मा भएको तालिका/चित्रहरू]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
दानियलको पुस्तकमा प्रकाशको पुस्तकमा
गरिएका भविष्यवाणीहरू गरिएका भविष्यवाणीहरू
१. मिश्र
२. अश्शूर
३. बेबिलोन
४. मादी-
फारसी
५. युनान
६. रोम
७. बेलायत र
सं.रा.अ.a
८. राष्ट्र सङ्घ र
संयुक्त राष्ट्र सङ्घb
परमेश्वरका जनहरू
इ.सं. २०००
अब्राहाम
१५००
इस्राएल राष्ट्र
१०००
दानियल ५००
ई.पू./इ.सं.
यूहन्ना
परमेश्वरको इस्राएल ५००
१०००
१५००
ई.पू. २०००
[फुटनोट]
[चित्रहरू]
विशाल मूर्ति (दानि. २:३१-४५)
समुद्रबाट निस्केका चार जनावर (दानि. ७:३-८, १७, २५)
साँढ-भेडा र बोका (दानि., अध्या. ८)
सातवटा टाउको भएको जङ्गली जनावर (प्रका. १३:१-१०, १६-१८)
दुईवटा सिङ भएको जनावरले जङ्गली जनावरको मूर्ति बनाउन लगाउँछ (प्रका. १३:११-१५)
[स्रोतहरू]
Photo credits: Egypt and Rome: Photograph taken by courtesy of the British Museum; Medo-Persia: Musée du Louvre Paris
-