-
अन्तको समयमा “उत्तरका राजा”प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | मे
-
-
अध्ययन लेख १९
अन्तको समयमा “उत्तरका राजा”
“अन्तको समयमा दक्षिणका राजा तिनीसित [अर्थात् उत्तरका राजासित] भिड्नेछन्।”—दानि. ११:४०.
गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!
परिचयa
१. बाइबल भविष्यवाणीले हामीलाई कुन कुरा बुझ्न मदत गर्छ?
निकट भविष्यमा यहोवाका जनहरूलाई के हुनेछ? यसको जवाफ स्पष्ट छ। बाइबल भविष्यवाणीहरू राम्ररी केलाउँदा हामी सबैलाई असर गर्ने ठूलठूला घटनाहरू हुनेछन् भनेर बुझ्न सक्छौँ। खासगरि एउटा भविष्यवाणीले पृथ्वीका केही शक्तिशाली सरकारले के गर्नेछन् भनेर बुझ्न मदत गर्छ। त्यो भविष्यवाणी दानिएलको अध्याय ११ मा पाइन्छ। त्यसमा उत्तरका राजा र दक्षिणका राजाबारे बताइएको छ, जो एकअर्काविरुद्ध लडिरहन्छन्। त्यो भविष्यवाणीको प्रायजसो भाग पूरा भइसकेको छ। त्यसैले बाँकी भाग पनि पूरा हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ।
२. उत्पत्ति ३:१५ अनि प्रकाश ११:७ र १२:१७ अनुसार दानिएलको भविष्यवाणी अध्ययन गर्दा हामीले कुन कुरा याद गर्नुपर्छ?
२ दानिएल अध्याय ११ मा रेकर्ड गरिएको भविष्यवाणी बुझ्न हामीले कुन कुरा याद गर्नुपर्छ भने, त्यसमा परमेश्वरका जनहरूलाई प्रत्यक्ष असर गर्ने शासक र सरकारहरूको चिनारी मात्र प्रकट गरिएको छ। हुनत विश्व जनसङ्ख्याको तुलनामा यहोवाका सेवकहरू थोरै मात्र छन्। तैपनि ती सरकारहरूले किन परमेश्वरका जनहरूलाई आफ्नो आक्रमणको तारो बनाएका छन्? किनभने सैतान र त्यसको पूरै संसारको एक मात्र लक्ष्य भनेको यहोवा र येसुको सेवा गर्नेहरूलाई नामेट पार्नु हो। (उत्पत्ति ३:१५ र प्रकाश ११:७; १२:१७ पढ्नुहोस्) साथै दानिएलले लेखेका भविष्यवाणीहरू परमेश्वरको वचनमा पाइने अरू भविष्यवाणीसित पनि मेल खानुपर्छ। वास्तवमा दानिएलको भविष्यवाणीलाई बाइबलका अरू विवरणसित दाँजेर हेऱ्यौँ भने मात्र त्यसबारे सही बुझाइ पाउन सक्छौँ।
३. यो र यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?
३ यी कुराहरूलाई मनमा राख्दै यस लेखमा हामी दानिएल ११:२५-३९ को विवरण केलाउनेछौँ। हामी यी प्रश्नहरूको जवाफ पाउनेछौँ: इस्वी संवत् १८७० देखि १९९१ सम्म उत्तरका राजा र दक्षिणका राजा को थिए? अनि यस भविष्यवाणीको केही अंशको बुझाइमा छाँटकाँट गर्नु किन मनासिब देखिन्छ? यसपछिको लेखमा हामी दानिएल ११:४०–१२:१ छलफल गर्नेछौँ। साथै इस्वी संवत् १९९१ देखि आरमागेडोनको युद्धसम्मको समयावधिबारे हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने यस भविष्यवाणीको अंशबारे स्पष्ट पार्नेछौँ। यी दुइटा लेख अध्ययन गर्दा “अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू” भन्ने चार्ट पनि सँगसँगै हेर्नुभयो भने बुझ्न अझ सजिलो हुनेछ। तर पहिला, हामीले यस भविष्यवाणीका दुई राजा को-को हुन् भनेर बुझ्नुपर्छ।
उत्तरका राजा र दक्षिणका राजाको चिनारी
४. उत्तरका राजा र दक्षिणका राजाको चिनारी थाह पाउन हामीले कुन तीन वटा कुरा बुझ्नुपर्छ?
४ “उत्तरका राजा” र “दक्षिणका राजा” भन्ने पदवीले सुरुमा इस्राएल राष्ट्रबाट उत्तर र दक्षिण दिशामा पर्ने राजनैतिक शक्तिहरूलाई बुझाउँथ्यो। हामी किन त्यसो भन्न सक्छौँ? दानिएलकहाँ सन्देश ल्याउने स्वर्गदूतले के भनेका थिए, याद गर्नुहोस्: “म तिम्रा मानिसहरूलाई अन्तको दिनमा के हुनेछ भनेर बताउन आएको हुँ।” (दानि. १०:१४) इस्वी संवत् ३३ पेन्तिकोससम्म वास्तविक इस्राएल राष्ट्र नै परमेश्वरका जनहरू थिए। तर त्यसपछि यहोवाले येसुका वफादार चेलाहरूलाई आफ्ना जनको रूपमा स्विकार्नुभएको प्रस्ट पार्नुभयो। त्यसैले दानिएल अध्याय ११ मा पाइने भविष्यवाणीको प्रायजसो अंश वास्तविक इस्राएल राष्ट्रसित नभई ख्रिष्टका चेलाहरूसित सम्बन्धित छ। (प्रेषि. २:१-४; रोमी ९:६-८; गला. ६:१५, १६) अनि उत्तरका राजा र दक्षिणका राजाको चिनारी समयको दौडान परिवर्तन भएको छ। तैपनि ती सबै शासकमा केही समानता पाइन्छ। पहिलो, ती राजाहरूले परमेश्वरका थुप्रै सेवक बसोबास गर्ने देशमा शासन गरे वा तिनीहरूको खेदो गरे। दोस्रो, तिनीहरूले परमेश्वरका जनहरूसित गरेको व्यवहारबाट तिनीहरूले साँचो परमेश्वर यहोवालाई घृणा गरेको प्रस्ट पारे। तेस्रो, आफू शक्तिशाली बन्न ती दुई राजाहरू एकअर्काविरुद्ध लडिरहे।
५. के हामी इस्वी संवत् दोस्रो शताब्दीदेखि १८७० सम्म उत्तरका राजा र दक्षिणका राजा को थिए भनेर भन्न सक्छौँ? व्याख्या गर्नुहोस्।
५ इस्वी संवत् दोस्रो शताब्दीतिर साँचो ख्रिष्टियन मण्डलीमा थुप्रै झूटा ख्रिष्टियन घुस्न थाले, जसले गैर-ख्रिष्टियन शिक्षाहरू स्विकार्नुका साथै परमेश्वरको वचनमा पाइने सत्य लुकाइरहेका थिए। त्यस समयदेखि १९औँ शताब्दीको अन्ततिरसम्म पृथ्वीमा परमेश्वरका सेवकहरूको कुनै व्यवस्थित समूह थिएन। झूटा ख्रिष्टियनहरू सामाजस्तै फस्टाए अनि साँचो ख्रिष्टियनहरूको चिनारी नै ओझेलमा पऱ्यो। (मत्ति १३:३६-४३) यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ? किनभने यसले उत्तरका राजा र दक्षिणका राजाबारे हामीले पढेका विवरणहरूले इस्वी संवत् १०० देखि १८७० सम्म केही समयको लागि शक्तिशाली भएका राजा वा राज्यहरूलाई सङ्केत गरेको हुन सक्दैन भनेर देखाउँछ। अनि तिनीहरूले आक्रमण गर्नको लागि पृथ्वीमा परमेश्वरका जनहरूको कुनै व्यवस्थित समूह थिएन।b तर इस्वी संवत् १८७० को केही समयपछि हामी उत्तरका राजा र दक्षिणका राजा फेरि देखा पर्ने आशा गर्न सक्छौँ? किन?
६. परमेश्वरका जनहरूको चिनारी फेरि कहिले प्रस्ट भयो? व्याख्या गर्नुहोस्।
६ इस्वी संवत् १८७० देखि परमेश्वरका जनहरू एउटा समूहको रूपमा व्यवस्थित हुन थाले। त्यही साल चार्ल्स टेज रसल र तिनका सहयोगीहरूले एउटा बाइबल अध्ययन समूह गठन गरे। भाइ रसल र तिनका सहयोगीहरूले मसीही राज्य स्थापना हुनुअघि “बाटो तयार पार्ने” दूतको भूमिका निर्वाह गरे, जसबारे पहिल्यै भविष्यवाणी गरिएको थियो। (मला. ३:१) अब भने परमेश्वरका जनहरूको चिनारी फेरि प्रस्ट भयो! के त्यतिबेला परमेश्वरका जनहरूलाई खेदो गर्ने कुनै विश्वशक्ति अस्तित्वमा थियो? आउनुहोस्, निम्न तथ्यहरू विचार गरौँ।
दक्षिणका राजा को हुन्?
७. प्रथम विश्वयुद्धको दौडान निकै समयसम्म दक्षिणका राजा को थिए?
७ इस्वी संवत् १८७० सम्ममा बेलायत संसारको सबैभन्दा विशाल साम्राज्य भइसकेको थियो र यससित सबैभन्दा शक्तिशाली सैन्य दल थियो। यस साम्राज्यलाई सानो सिङको रूपमा चित्रण गरिएको थियो, जसले अरू तीन वटा सिङ अर्थात् फ्रान्स, स्पेन र नेदरल्याण्ड्सलाई परास्त गऱ्यो। (दानि. ७:७, ८) अनि यसले प्रथम विश्वयुद्धको दौडान निकै समयसम्म दक्षिणका राजाको भूमिका निर्वाह गऱ्यो। यही समयतिर संयुक्त राज्य अमेरिका संसारमा सबैभन्दा बलियो अर्थतन्त्र भएको देशको रूपमा देखा पऱ्यो र यसले बेलायतसित घनिष्ठ सम्बन्ध गाँस्न थाल्यो।
८. अन्तको समयको दौडान दक्षिणका राजाको भूमिका कसले निर्वाह गर्दै आएको छ?
८ प्रथम विश्वयुद्धको बेला अमेरिका र बेलायत मिलेर शक्तिशाली सैन्य गठबन्धन बनाए। त्यतिबेला बेलायत र यसले पहिला आफ्नो उपनिवेश बनाएको अमेरिका एङ्ग्लो-अमेरिकी विश्वशक्तिको रूपमा देखा पऱ्यो। दानिएलले भविष्यवाणी गरेझैँ यी राजाले “अत्यन्तै विशाल सेना” जम्मा गरिसकेका थिए। (दानि. ११:२५) अन्तको समयको दौडान एङ्ग्लो-अमेरिकी गठबन्धनले नै दक्षिणका राजाको भूमिका निर्वाह गर्दै आएको छ।c त्यसोभए उत्तरका राजाको भूमिकाचाहिँ कसले निर्वाह गऱ्यो?
उत्तरका राजा फेरि देखा पर्छन्
९. उत्तरका राजा फेरि कहिले देखा परे? दानिएल ११:२५ कसरी पूरा भयो?
९ भाइ रसल र तिनका सहयोगीहरूले बाइबल अध्ययन समूह गठन गरेपछिको वर्ष अर्थात् इस्वी संवत् १८७१ मा उत्तरका राजा फेरि देखा परे। त्यही वर्ष ओटो भोन बिस्मार्कले जर्मन साम्राज्य स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेले। प्रसियाका राजा भिल्हेम प्रथम जर्मन साम्राज्यको पहिलो सम्राट् बने र तिनले बिस्मार्कलाई पहिलो चान्सलर नियुक्त गरे।d त्यसपछिका केही दशकहरूमा जर्मनीले अफ्रिका र प्रशान्त महासागरका थुप्रै देशलाई आफ्नो उपनिवेश बनायो र बेलायतभन्दा शक्तिशाली बन्न खोज्यो। (दानिएल ११:२५ पढ्नुहोस्) जर्मन साम्राज्यले शक्तिशाली सैन्यदल बनायो र यससित विश्वको दोस्रो ठूलो जलसेना थियो। जर्मनीले प्रथम विश्वयुद्धमा यही सैन्यदलको आडमा आफ्ना शत्रुहरूविरुद्ध लड्यो।
१०. दानिएल ११:२५ख, २६ कसरी पूरा भयो?
१० त्यसपछि दानिएल जर्मन साम्राज्य र त्यसले बनाएको सैन्यदललाई के हुनेछ भनी बताउँछन्। दानिएलले उत्तरका राजा “टिक्नेछैनन्” भनी भविष्यवाणी गरे। किन? “किनभने तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रच्नेछन्। तिनकै स्वादिष्ठ भोजन खानेहरूले तिनको पतन गराउनेछन्।” (दानि. ११:२५ख, २६क) दानिएलको समयमा ‘राजाको स्वादिष्ठ भोजन’ खानेहरूमा “राजाको सेवामा हाजिर” शाही अफिसरहरू पनि पर्थे। (दानि. १:५) यस भविष्यवाणीले कसलाई सङ्केत गर्छ? यसले जर्मन साम्राज्यका उच्च अफिसरहरू अर्थात् सम्राट्का जर्नेलहरू र सैनिक सल्लाहकारहरूलाई सङ्केत गर्छ। वास्तवमा यी उच्च अफिसरहरूले गर्दा नै जर्मनीको राजतन्त्रको पतन हुन थाल्यो।e दानिएलको भविष्यवाणीमा त्यस साम्राज्यको पतनबारे मात्र नभई दक्षिणका राजासितको युद्धको परिणामबारे पनि बताइएको थियो। उत्तरका राजाबारे त्यस भविष्यवाणीमा यसो भनिएको छ: “तिनको सेनाचाहिँ परास्त हुनेछ र धेरै जना लडाइँमा मारिनेछन्।” (दानि. ११:२६ख) भविष्यवाणी गरिएझैँ प्रथम विश्वयुद्धमा जर्मन सेना “परास्त” भयो र साँच्चै ‘धेरै जना लडाइँमा मारिए।’ त्यतिबेलासम्मको मानव इतिहासमा प्रथम विश्वयुद्ध सबैभन्दा बीभत्स युद्ध साबित भयो।
११. उत्तरका राजा र दक्षिणका राजाले के गरे?
११ प्रथम विश्वयुद्ध सुरु हुनुअघिको समयमा उत्तरका राजा र दक्षिणका राजा “एउटै टेबुलमा बसेर एकअर्कासित झूट बोल्नेछन्” भनेर दानिएल ११:२७, २८ मा बताइएको छ। अनि उत्तरका राजाले “प्रशस्त मालसामान” जम्मा गर्नेछ पनि भनिएको छ। साँच्चै यस्तै भयो। जर्मनी र बेलायत दुवैले शान्ति चाहेको कुरा एकअर्कालाई बताए तर तिनीहरूको बोली झूट साबित भयो किनभने इस्वी संवत् १९१४ मा तिनीहरूले एकअर्काविरुद्ध युद्ध गरे। इस्वी संवत् १९१४ सम्ममा जर्मनी एकदमै धनी भएर आर्थिक हिसाबले विश्वको दोस्रो शक्तिशाली देश भइसकेको थियो। त्यसपछि दानिएल ११:२९ र पद ३० को पहिलो भागको पूर्तिअनुरूप जर्मनीले दक्षिणका राजाविरुद्ध युद्ध गऱ्यो तर यो पराजित भयो।
राजाहरू परमेश्वरका जनहरूविरुद्ध युद्ध गर्छन्
१२. प्रथम विश्वयुद्धमा उत्तरका राजा र दक्षिणका राजाले के गरे?
१२ इस्वी संवत् १९१४ देखि यी दुई राजाले एकअर्काविरुद्ध र परमेश्वरका जनहरूविरुद्धको आक्रमणलाई झन्झन् चर्काउँदै लगेका छन्। उदाहरणको लागि, प्रथम विश्वयुद्धमा जर्मन सरकार र बेलायती सरकार दुवैले परमेश्वरका सेवकहरूको खेदो गरे किनभने तिनीहरूले हातहतियार उठाउन इन्कार गरे। अनि प्रकाश ११:७-१० मा गरिएको भविष्यवाणीको पूर्तिस्वरूप अमेरिकी सरकारले प्रचारकार्यमा नेतृत्व लिइरहेकाहरूलाई झ्यालखानामा हालिदियो।
१३. इस्वी संवत् १९३० पछि र दोस्रो विश्वयुद्धको बेला उत्तरका राजाले के गरे?
१३ इस्वी संवत् १९३० पछि र खासगरि दोस्रो विश्वयुद्धको बेला उत्तरका राजाले परमेश्वरका जनहरूमाथि निर्ममतापूर्वक आक्रमण गरे। नाजीहरूले जर्मनीमा कब्जा जमाउँदा हिटलर र तिनका समर्थकहरूले परमेश्वरका जनहरूको काममाथि प्रतिबन्ध लगाए। ती विरोधीहरूले यहोवाका सयौँ सेवकहरूलाई मारे अनि हजारौँलाई यातना शिविरहरूमा पठाए। ती घटनाहरूबारे दानिएलले भविष्यवाणी गरेका थिए। जनसमक्ष यहोवाको नामको प्रशंसा गर्ने परमेश्वरका जनहरूको स्वतन्त्रतामा प्रतिबन्ध लगाएर उत्तरका राजाले ‘पवित्र स्थानलाई अपवित्र पारे’ अनि ‘नियमित रूपमा चढाइने बलिलाई हटाए।’ (दानि. ११:३०ख, ३१क) तिनीहरूका नेता हिटलरले परमेश्वरका जनहरूलाई जर्मनीबाट नामेट पार्ने कसमसमेत खाएका थिए।
उत्तरका नयाँ राजा देखा पर्छन्
१४. दोस्रो विश्वयुद्धपछि उत्तरका राजाको रूपमा को देखा पऱ्यो? व्याख्या गर्नुहोस्।
१४ दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घको कम्युनिस्ट सरकारले पहिला जर्मनीले शासन गरेको थुप्रै इलाकामाथि आफ्नो कब्जा जमायो र उत्तरका राजाको रूपमा देखा पऱ्यो। तानाशाही नाजी शासनले जस्तै सोभियत सङ्घले पनि राष्ट्रप्रतिको आज्ञाकारिताभन्दा साँचो परमेश्वरको उपासनालाई पहिलो स्थान दिने जोकोहीलाई क्रूरतापूर्वक खेदो गऱ्यो।
१५. दोस्रो विश्वयुद्ध अन्त भएपछि उत्तरका राजाले के गरे?
१५ दोस्रो विश्वयुद्ध अन्त भएलगत्तै उत्तरका नयाँ राजा सोभियत सङ्घ र यसका समर्थकहरूले परमेश्वरका जनहरूमाथि आक्रमण गर्न थाले। प्रकाश १२:१५-१७ को भविष्यवाणीअनुरूप यस राजाले प्रचारकार्यमाथि प्रतिबन्ध लगाए र यहोवाका हजारौँ सेवकलाई निर्वासनमा पठाए। वास्तवमा अन्तको दिनको दौडान उत्तरका राजाले खेदोको “नदी” बगाएर परमेश्वरका जनहरूको काम रोक्ने प्रयास गरिरहेको छ तर सफल हुन सकेको छैन।f
१६. सोभियत सङ्घले दानिएल ११:३७-३९ को भविष्यवाणी कसरी पूरा गऱ्यो?
१६ दानिएल ११:३७-३९ पढ्नुहोस्। यस भविष्यवाणीको पूर्तिअनुरूप उत्तरका राजाले ‘आफ्ना पुर्खाहरूको ईश्वरको कुनै वास्ता गरेनन्।’ कसरी? सोभियत सङ्घले धर्मको नामोनिसान मेटाउने उद्देश्य राखेर पहिलेदेखि चल्दै आएका धार्मिक सङ्गठनहरूको अधिकार खोस्ने प्रयास गऱ्यो। त्यो उद्देश्य हासिल गर्न सोभियत सरकारले इस्वी संवत् १९१८ मा नै एउटा आदेश जारी गरिसकेको थियो, जसले गर्दा स्कुलहरूमा नास्तिकवाद सिकाउने बाटो खुल्यो। यी उत्तरका राजाले कसरी “किल्लाका देवताको महिमा” गरे? सोभियत सङ्घले आधिपत्य जमाउने उद्देश्यले आफ्नो सेना विस्तार गर्न निकै पैसा खर्च गऱ्यो अनि हजारौँ आणविक हातहतियार उत्पादन गऱ्यो। उत्तरका राजा र दक्षिणका राजा दुवैले अरबौँ मानिसलाई मार्न पुग्ने शक्तिशाली हातहतियार जम्मा गरे!
दुई शत्रु राजा एकसाथ काम गर्छन्
१७. “उजाड पार्ने घृणित कुरा” के हो?
१७ उत्तरका राजाले एउटा मूलभूत प्रयासमा दक्षिणका राजालाई समर्थन गरेका छन्। तिनीहरू दुवै मिलेर “उजाड पार्ने घृणित कुरालाई खडा” गरेका छन्। (दानि. ११:३१) त्यो “घृणित कुरा” संयुक्त राष्ट्र सङ्घ हो।
१८. संयुक्त राष्ट्र सङ्घलाई किन “घृणित कुरा” भनिएको छ?
१८ संयुक्त राष्ट्र सङ्घलाई “घृणित कुरा” भनिएको छ किनभने यसले परमेश्वरको राज्यले मात्र गर्न सक्ने काम आफूले गर्न सक्छु भनेर फूर्ति लगाउँछ। त्यो हो, विश्वशान्ति ल्याउने। अनि उक्त भविष्यवाणीमा घृणित कुराले “उजाड” पार्छ भनिएको छ किनभने संयुक्त राष्ट्र सङ्घले सबै झूटो धर्मलाई विनाश गर्न प्रमुख भूमिका खेल्नेछ।—“अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू” भन्ने चार्ट हेर्नुहोस्।
हामीले यो इतिहास किन थाह पाउनुपर्छ?
१९-२०. (क) हामीले यो इतिहास किन थाह पाउनुपर्छ? (ख) अर्को लेखमा हामी कुन प्रश्नको जवाफ पाउनेछौँ?
१९ हामीले यो इतिहास थाह पाउनुपर्छ किनभने यसले उत्तरका राजा र दक्षिणका राजाबारे दानिएलले गरेको भविष्यवाणी इस्वी संवत् १८७० देखि १९९१ सम्म पूरा भयो भनेर प्रमाणित गर्छ। त्यसैले यस भविष्यवाणीको बाँकी अंश पनि पूरा हुनेछ भनेर हामी विश्वास गर्न सक्छौँ।
२० इस्वी संवत् १९९१ मा सोभियत सङ्घको विघटन भयो। त्यसोभए अहिले उत्तरका राजा को हुन्? यस प्रश्नको जवाफ अर्को लेखले दिनेछ।
गीत १२८ अन्तसम्म सहौँ!
a “उत्तरका राजा” र “दक्षिणका राजा”-बारे दानिएलले गरेको भविष्यवाणी अहिले पनि पूरा भइरहेको प्रमाणहरू हामी प्रशस्तै देख्छौँ। हामी किन यसमा पक्का हुन सक्छौँ? अनि हामीले यो भविष्यवाणी राम्ररी बुझ्नु किन महत्त्वपूर्ण छ?
b यहाँ दिइएको कारणले गर्दा “उत्तरका राजा” रोमी सम्राट अरेलियन (इ.सं. २७०-२७५) र “दक्षिणका राजा” रानी जेनोबिया (इ.सं. २६७-२७२) थिए भन्नु उपयुक्त देखिँदैन। यसकारण दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्! किताबको अध्याय १३ र १४ मा प्रकाशित जानकारीको बुझाइमा छाँटकाँट भएको छ।
c “बाइबल भविष्यवाणीमा एङ्ग्लो-अमेरिकी विश्वशक्ति” भन्ने पेटी हेर्नुहोस्।
d इस्वी संवत् १८९० मा सम्राट् भिल्हेम द्वितीयले बिस्मार्कलाई पदच्युत गरे।
e तिनीहरूका विभिन्न गतिविधिले गर्दा जर्मन साम्राज्यको पतन द्रुत गतिमा हुन थाल्यो। उदाहरणको लागि, तिनीहरूले सम्राट्लाई समर्थन गर्न छोडे, लडाइँमा बेहोर्नुपरेको क्षतिबारे गोप्य जानकारी प्रकट गरे अनि सम्राट्लाई आफ्नो पद त्याग्न बाध्य बनाए।
f दानिएल ११:३४ मा उल्लेख गरिएअनुसार उत्तरका राजाले शासन गर्ने इलाकामा बसोबास गरिरहेका ख्रिष्टियनहरूले खेदोबाट केही राहत पाए। जस्तै, इस्वी संवत् १९९१ मा सोभियत सङ्घको विघटन हुँदा केही राहत मिल्यो।
-
-
अहिले “उत्तरका राजा” को हुन्?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | मे
-
-
अध्ययन लेख २०
अहिले “उत्तरका राजा” को हुन्?
“अन्तमा तिनीमाथि विनाश आइपर्नेछ र तिनलाई मदत गर्ने कोही हुनेछैन।”—दानि. ११:४५.
गीत ९५ ज्योति झनै चहकिलो भयो
परिचयa
१-२. यस लेखमा हामी के छलफल गर्नेछौँ?
हामी यस युगको अन्तको समयमा बाँचिरहेका छौँ भनेर पहिलाभन्दा अझ धेरै प्रमाण देख्न सक्छौँ। चाँडै यहोवा र येसु ख्रिष्टले परमेश्वरको राज्यको विरुद्धमा उठ्ने सबै सरकारलाई नाश गर्नुहुनेछ। यो घटना हुनुअघि उत्तरका राजा र दक्षिणका राजाले एकअर्काविरुद्ध र परमेश्वरका जनहरूविरुद्ध युद्ध गरिरहनेछन्।
२ यस लेखमा हामी दानिएल ११:४०–१२:१ मा लेखिएको भविष्यवाणी छलफल गर्नेछौँ। अनि अहिले उत्तरका राजा को हुन् भनेर चिन्नेछौँ। साथै, हामी किन ढुक्क भई भविष्यमा आइपर्ने गाह्रा अवस्थाहरू सामना गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।
उत्तरका नयाँ राजा देखा पर्छन्
३-४. उत्तरका राजाको रूपमा को देखा परेको छ? व्याख्या गर्नुहोस्।
३ इस्वी संवत् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि परमेश्वरका जनहरूले केही “मदत” पाए अर्थात् तिनीहरू केही समयको लागि स्वतन्त्र भए। (दानि. ११:३४) परिणामस्वरूप तिनीहरूले खुलमखुला प्रचार गर्न सके र केही समय नबित्दै भूतपूर्व सोभियत सङ्घका देशहरूमा प्रकाशकहरूको सङ्ख्या लाखौँ पुग्यो। बिस्तारै रूस र त्यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्न थाले। अघिल्लो लेखमा छलफल गरिएझैँ उत्तरका राजा वा दक्षिणका राजाको भूमिका निर्वाह गर्ने सरकारले यी तीन वटा कुरा पूरा गरेको हुनुपर्छ: (१) परमेश्वरका थुप्रै सेवक बसोबास गर्ने देशमा शासन गरेको वा तिनीहरूको खेदो गरेको हुनुपर्छ। (२) परमेश्वरका जनहरूसित गरेको व्यवहारबाट तिनीहरू यहोवा र उहाँका जनहरूका शत्रु हुन् भनेर देखिनुपर्छ। (३) प्रतिद्वन्द्वी राजाविरुद्ध लडिरहेको हुनुपर्छ।
४ अहिले रूस र त्यसका समर्थकहरू उत्तरका राजा हुन् भनेर हामी किन भन्न सक्छौँ, विचार गरौँ। (१) तिनीहरूले आफूले प्रभुत्व जमाएको इलाकामा प्रचारकार्यमाथि प्रतिबन्ध लगाएर अनि त्यहाँ बसोबास गर्ने लाखौँ भाइबहिनीको खेदो गरेर परमेश्वरका जनहरूलाई प्रत्यक्ष असर गरेका छन्। (२) त्यस्तो व्यवहारले तिनीहरू यहोवा र उहाँका जनहरूलाई घृणा गर्छन् भनेर प्रस्ट हुन्छ। (३) तिनीहरू दक्षिणका राजा अर्थात् एङ्ग्लो-अमेरिकी विश्वशक्तिविरुद्ध लडिरहेका छन्। रूस र त्यसका समर्थकहरूले कसरी उत्तरका राजाको भूमिका पूरा गरिरहेका छन्, आउनुहोस् विचार गरौँ।
उत्तरका राजा र दक्षिणका राजा एकअर्कासित भिडिरहन्छन्
५. दानिएल ११:४०-४३ मा कुन समयावधिबारे बताइएको छ र त्यतिबेला के हुन्छ?
५ दानिएल ११:४०-४३ पढ्नुहोस्। दानिएलको भविष्यवाणीको यस भागमा अन्तको समयमा हुने घटनाहरूबारे बताइएको छ। यस भविष्यवाणीमा उत्तरका राजा र दक्षिणका राजाबीच हुने दुस्मनीबारे बताइएको छ। दानिएलले भविष्यवाणी गरेअनुसार अन्तको समयमा दक्षिणका राजा उत्तरका राजासित “भिड्नेछन्” अर्थात् तिनीसित “सिङ जुधाउनेछन्।”—दानि. ११:४०; फुटनोट।
६. दुई राजा एकअर्कासित भिडिरहेको कस्तो प्रमाण छ?
६ विश्वको सबैभन्दा शक्तिशाली सरकार बन्ने होडबाजीमा उत्तरका राजा र दक्षिणका राजा लागिरहेका छन्। उदाहरणको लागि, दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घ र त्यसका समर्थकहरूले युरोपका धेरैजसो देशमा आफ्नो प्रभुत्व जमाएपछि के भयो, विचार गर्नुहोस्। उत्तरका राजाको यस्तो गतिविधिले गर्दा दक्षिणका राजा अन्तरराष्ट्रिय सैन्य गठबन्धन (नेटो) बनाउन बाध्य भए। उत्तरका राजाले निकै पैसा खर्च गरेर आफ्नो सेनालाई सबैभन्दा शक्तिशाली बनाउन दक्षिणका राजासित प्रतिस्पर्धा गरिरहेका छन्। उत्तरका राजाले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा ‘प्रोक्सी वारहरू’ (आफू प्रत्यक्ष रूपमा नमुछी शत्रुसित गरिने युद्ध) लडेर अनि विद्रोह गर्न उक्साएर आफ्नो प्रतिद्वन्द्वीसित युद्ध गरे। हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू झन्झन् शक्तिशाली हुँदै गइरहेका छन्। तिनीहरूले दक्षिणका राजासित साइबर युद्ध पनि गरिरहेका छन्। उत्तरका राजा र दक्षिणका राजाले एकअर्काको अर्थतन्त्र र राजनैतिक प्रणाली डामाडोल पार्न खतरनाक कम्प्युटर प्रोग्रामहरू प्रयोग गरेको आरोप एकअर्कालाई लगाउँछन्। दानिएलले भविष्यवाणी गरेझैँ उत्तरका राजा परमेश्वरका जनहरूलाई आक्रमण गर्न छोड्दैनन्।—दानि. ११:४१.
उत्तरका राजा “सुन्दर भूमिमा” छिर्छन्
७. “सुन्दर भूमि” कुन हो?
७ दानिएल ११:४१ मा उत्तरका राजा “सुन्दर भूमिमा . . . छिर्नेछन्” भनिएको छ। त्यो भूमि कुन हो? पुरातन समयमा वास्तविक इस्राएल राष्ट्रलाई “सबैभन्दा सुन्दर देश” मानिन्थ्यो। (इज. २०:६) त्यो भूमि विशेष थियो किनकि त्यहाँ साँचो उपासना गरिन्थ्यो। इस्वी संवत् ३३ पेन्तिकोसदेखि त्यो “भूमि” कुनै एउटा भौगोलिक स्थान होइन किनकि यहोवाका जनहरू पृथ्वीभरि नै छरिएर रहेका छन्। अहिले “सुन्दर भूमि” भनेको यहोवाका जनहरूको गतिविधि भइरहेको आध्यात्मिक प्रमोदवन हो, जसमा यहोवाको उपासना गर्न उनीहरूले गर्ने सभा अनि प्रचारकार्यजस्ता कुराहरू पर्छन्।
८. उत्तरका राजा कसरी “सुन्दर भूमिमा” छिरेका छन्?
८ अन्तको समयमा उत्तरका राजा थुप्रै चोटि “सुन्दर भूमिमा” छिरेका छन्। उदाहरणको लागि, विशेषगरि दोस्रो विश्वयुद्धको दौडान नाजी जर्मनीले उत्तरका राजाको भूमिका निर्वाह गर्दा तिनले परमेश्वरका जनहरूको खेदो गरे अनि उनीहरूलाई मारे; यसरी तिनी “सुन्दर भूमिमा” छिरे। अनि दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घले उत्तरका राजाको भूमिका निर्वाह गर्दा तिनले परमेश्वरका जनहरूलाई सताए अनि उनीहरूलाई निर्वासनमा पठाए; यसरी तिनी “सुन्दर भूमिमा” छिरे।
९. हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू कसरी “सुन्दर भूमिमा” छिरेका छन्?
९ हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू पनि “सुन्दर भूमिमा” छिरेका छन्। कसरी? इस्वी संवत् २०१७ मा अहिलेका उत्तरका राजाले यहोवाका जनहरूको काममा प्रतिबन्ध लगाए र हाम्रा केही भाइबहिनीलाई झ्यालखानामा हाले। तिनले हाम्रा प्रकाशनहरू अनि नयाँ संसार अनुवाद-मा पनि प्रतिबन्ध लगाए। साथै तिनले रूसमा रहेको हाम्रो शाखा कार्यालय, राज्यभवन र सम्मेलन भवनहरू जफत गरे। यी सबै गतिविधिलाई नियालेपछि रूस र त्यसका समर्थकहरू नै उत्तरका राजा हुन् भनेर २०१८ मा परिचालक निकायले प्रस्ट पाऱ्यो। यहोवाका जनहरूको निकै खेदो गरिए तापनि उनीहरू मानव सरकारहरूको विद्रोह गर्ने वा सत्ता पल्टाउने गतिविधिमा भाग लिन इन्कार गर्छन्। बरु उनीहरू “सबै उच्च पदाधिकारीका लागि” प्रार्थना गर भन्ने बाइबलको सल्लाह पालन गर्छन्, विशेषगरि त्यस्ता व्यक्तिहरूले गर्ने निर्णयले उपासना गर्ने हाम्रो स्वतन्त्रतालाई असर गर्न सक्ने अवस्था आउँदा।—१ तिमो. २:१, २.
के उत्तरका राजाले दक्षिणका राजालाई परास्त गर्नेछन्?
१०. के उत्तरका राजाले दक्षिणका राजालाई परास्त गर्नेछन्? व्याख्या गर्नुहोस्।
१० दानिएल ११:४०-४५ मा रेकर्ड गरिएको भविष्यवाणीमा विशेषगरि उत्तरका राजाको गतिविधिबारे जोड दिइएको छ। के त्यसको मतलब उत्तरका राजाले दक्षिणका राजालाई परास्त गर्नेछन् भन्ने हो? अहँ, होइन। यहोवा र येसुले आरमागेडोनको युद्धमा सबै मानव सरकारलाई नाश गर्नुहुँदा दक्षिणका राजा “जिउँदै” हुनेछन्। (प्रका. १९:२०) यस कुरामा हामी किन पक्का हुन सक्छौँ? दानिएल र प्रकाशको पुस्तकका भविष्यवाणीहरूबाट के थाह पाउन सक्छौँ, विचार गरौँ।
ढुङ्गाले चित्रण गर्ने परमेश्वरको राज्यले आरमागेडोनमा सबै मानव सरकारलाई नाश गर्नेछ, जसलाई विशाल मूर्तिले सङ्केत गर्छ (अनुच्छेद ११ हेर्नुहोस्)
११. दानिएल २:४३-४५ बाट कुन कुरा प्रस्ट हुन्छ? (आवरण पृष्ठको चित्र हेर्नुहोस्)
११ दानिएल २:४३-४५ पढ्नुहोस्। भविष्यवक्ता दानिएलले एउटा विशाल मूर्तिबारे बताए, जसको शरीरका भागहरू विभिन्न धातुले बनेका थिए। प्रत्येक भागले परमेश्वरका थुप्रै सेवक बसोबास गर्ने ठाउँमा शासन गर्ने विभिन्न सरकारलाई चित्रण गर्छ। यी सरकारहरूले विभिन्न समयमा शासन गरे। त्यस मूर्तिका खुट्टाहरू फलाम र माटो मिसिएर बनेका थिए। ती खुट्टाहरूले अन्तिम सरकार अर्थात् एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई बुझाउँछ। परमेश्वरको राज्यले सबै मानव सरकारलाई नाश गर्दा एङ्ग्लो-अमेरिकी विश्वशक्तिले अझै शासन गरिरहेको हुनेछ भनेर दानिएलको यस भविष्यवाणीबाट प्रस्ट हुन्छ।
१२. जङ्गली जनावरको सातौँ टाउकोले कसलाई चित्रण गर्छ र यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ?
१२ प्रेषित युहन्नाले पनि परमेश्वरका जनहरूलाई असर गर्ने विभिन्न विश्वशक्तिबारे बताए। युहन्नाले ती सरकारहरूलाई सात वटा टाउको भएको जङ्गली जनावरको रूपमा चित्रण गरे। त्यस जङ्गली जनावरको सातौँ टाउकोले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई चित्रण गर्छ। यो कुरा बुझ्नु महत्त्वपूर्ण छ किनभने यस जनावरको सातौँ टाउको नै यसको अन्तिम टाउको हो। यस सातौँ टाउकोले शासन गरिरहेकै बेला ख्रिष्ट र उहाँको स्वर्गीय सेनाले यो सातौँ टाउकोलगायत पूरै जनावरलाई नाश गर्नुहुनेछ।b—प्रका. १३:१, २; १७:१३, १४.
निकट भविष्यमा उत्तरका राजाले के गर्नेछन्?
१३-१४. “मागोग देशको गोग” को हो र त्यो किन परमेश्वरका जनहरूलाई आक्रमण गर्न तम्सिन सक्छ?
१३ इजकिएलले गरेको भविष्यवाणीले हामीलाई उत्तरका राजा र दक्षिणका राजा नाश हुनुअघि के हुन सक्छ भनेर बुझ्न मदत गर्छ। इजकिएल ३८:१०-२३; दानिएल २:४३-४५; ११:४४–१२:१ र प्रकाश १६:१३-१६, २१ मा पाइने भविष्यवाणीहरू केलाउँदा ती सबैले एउटै समयावधिमा हुने घटनाहरूबारे बताइरहेको जस्तो देखिन्छ। त्यसो हो भने हामी निम्न घटनाहरू हुने आशा गर्न सक्छौँ:
१४ महासङ्कष्ट सुरु भएको केही समयपछि ‘पृथ्वीभरिका राजाहरूले’ राष्ट्रहरूको एउटा गठबन्धन बनाउनेछन्। (प्रका. १६:१३, १४; १९:१९) त्यस गठबन्धनलाई बाइबलमा “मागोग देशको गोग” भनिएको छ। (इज. ३८:२) राष्ट्रहरूको त्यस गठबन्धनले परमेश्वरका जनहरूलाई आक्रमण गरेर उनीहरूलाई सखाप पार्न अन्तिम प्रयास गर्नेछ। त्यो गठबन्धन यस्तो आक्रमण गर्न किन तम्सिनेछ? त्यस समयबारे गरिएको भविष्यवाणीमा प्रेषित युहन्नाले परमेश्वरका शत्रुहरूमाथि ठूलठूला असिनाहरू बर्सिनेछन् भनेर बताए। त्यसरी असिना बर्सिनुले यहोवाका जनहरूले घोषणा गर्ने न्यायको कडा सन्देशलाई चित्रण गरेको हुन सक्छ। यही सन्देशले गर्दा नै मागोगको गोग परमेश्वरका जनहरूलाई आक्रमण गरेर उनीहरूलाई पृथ्वीबाट नामेट पार्न तम्सिन सक्छ।—प्रका. १६:२१.
१५-१६. (क) दानिएल ११:४४, ४५ ले कुन घटनाबारे बताइरहेको हुन सक्छ? (ख) उत्तरका राजा अनि मागोगको गोगको भाग बनेका राष्ट्रहरूलाई के हुनेछ?
१५ न्यायको यो कडा सन्देश घोषणा गर्ने काम र परमेश्वरका शत्रुहरूले गर्ने अन्तिम आक्रमणले दानिएल ११:४४, ४५ मा बताइएकै घटनाहरूलाई बुझाएको हुन सक्छ। (पढ्नुहोस्) त्यस भविष्यवाणीमा “पूर्वबाट अनि उत्तरबाट आएको खबर सुनेर” उत्तरका राजालाई छटपटी हुनेछ र तिनी “रिसले चुर भएर” निस्किनेछन् भनी दानिएल बताउँछन्। उत्तरका राजाले “धेरैलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेट्न” खोज्नेछन्। त्यहाँ बताइएको “धेरै”-ले यहोवाका जनहरूलाई बुझाएको जस्तो देखिन्छ।c दानिएलले यहाँ परमेश्वरका जनहरूमाथि हुने अन्तिम आक्रमणबारे बताइरहेका हुन सक्छन्।
१६ उत्तरका राजाले अरू मानव सरकारहरूसित मिलेर परमेश्वरका जनहरूलाई आक्रमण गर्दा सर्वशक्तिमान् परमेश्वर क्रोधित हुनुहुनेछ र आरमागेडोनको युद्ध सुरु हुनेछ। (प्रका. १६:१४, १६) त्यतिबेला, मागोगको गोगको भाग बनेका राष्ट्रहरूसँगै उत्तरका राजा पनि नाश हुनेछन् र “तिनलाई मदत गर्ने कोही हुनेछैन।”—दानि. ११:४५.
आरमागेडोनको युद्धमा येसु ख्रिष्ट र उहाँको स्वर्गीय सेनाले सैतानको दुष्ट संसारलाई नाश गर्नुहुनेछ र परमेश्वरका जनहरूलाई बचाउनुहुनेछ (अनुच्छेद १७ हेर्नुहोस्)
१७. दानिएल १२:१ मा उल्लेख गरिएका “महान् राजकुमार माइकल” को हुन् र तिनले के गर्नेछन्?
१७ दानिएल १२:१ मा उत्तरका राजा र त्यसका समर्थकहरू कसरी नाश हुनेछन् र हामी कसरी बच्नेछौँ भनेर थप जानकारी दिइएको छ। (पढ्नुहोस्) यस पदको अर्थ के हो? परमेश्वरको राज्यको राजा ख्रिष्ट येसुको अर्को नाम माइकल हो। इस्वी संवत् १९१४ मा स्वर्गमा राजा हुनुभएदेखि उहाँ परमेश्वरका जनहरूको पक्षमा “खडा” भइरहनुभएको छ। निकट भविष्यमा उहाँ आफ्ना शत्रुहरूलाई नाश गर्न आरमागेडोनको युद्धमा “खडा” हुनुहुनेछ। यो युद्ध दानिएलले वर्णन गरेका घटनाहरूमध्ये अन्तिम हुनेछ, जुन मानव इतिहासले पहिला कहिल्यै अनुभव नगरेको “सङ्कटको समय” हुनेछ। प्रकाशको किताबमा रेकर्ड गरिएको युहन्नाको भविष्यवाणीमा आरमागेडोनको युद्ध सुरु हुनुअघिको यस समयलाई “महासङ्कष्ट” भनिएको छ।—प्रका. ६:२; ७:१४.
के तपाईँको नाम ‘पुस्तकमा लेखिनेछ’?
१८. हामी किन ढुक्क भई भविष्यको सामना गर्न सक्छौँ?
१८ हामी ढुक्क भई भविष्यको सामना गर्न सक्छौँ किनभने यहोवा र येसुको सेवा गर्नेहरू त्यस सङ्कष्टबाट उम्कनेछन् भनी दानिएल र युहन्ना दुवैले बताएका छन्। त्यस सङ्कष्टबाट उम्कनेहरूको नाम “पुस्तकमा लेखिएको” हुनेछ भनी दानिएल बताउँछन्। (दानि. १२:१) हामी त्यस पुस्तकमा आफ्नो नाम कसरी लेखाउन सक्छौँ? हामीले “परमेश्वरको पाठो” अर्थात् येसुमा विश्वास गरेको स्पष्ट प्रमाण दिनुपर्छ। (युह. १:२९) हामीले यहोवामा आफ्नो जीवन समर्पण गरेको चिन्हस्वरूप बप्तिस्मा गर्नुपर्छ। (१ पत्रु. ३:२१) अनि अरूलाई यहोवाबारे सिकाउन सक्दो प्रयास गरेर हामीले परमेश्वरको राज्यलाई समर्थन गरेको देखाउनुपर्छ।
१९. अहिले हामीले के गर्नुपर्छ र किन?
१९ यहोवा र उहाँका वफादार सेवकहरू मिलेर बनेको सङ्गठनमाथि आफ्नो भरोसा अझ बलियो बनाउने समय अहिल्यै हो। परमेश्वरको राज्यलाई समर्थन गर्ने समय पनि अहिल्यै हो। त्यसो गऱ्यौँ भने परमेश्वरको राज्यले उत्तरका राजा र दक्षिणका राजालाई नाश गर्दा हामी बच्नेछौँ।
गीत १४९ विजयगान
a अहिले “उत्तरका राजा” को हुन् र तिनको विनाश कसरी हुनेछ? यस प्रश्नको जवाफ थाह पाउँदा हाम्रो विश्वास अझ बलियो हुन्छ र यसले निकट भविष्यमा हामीले सामना गर्नुपर्ने परीक्षाहरूको लागि तयार हुन मदत गर्छ।
b दानिएल २:३६-४५ र प्रकाश १३:१, २ को विस्तृत छलफलको लागि प्रहरीधरहरा जून १५, २०१२ को पृष्ठ ७-१९ हेर्नुहोस्।
c थप जानकारीको लागि प्रहरीधरहरा मे १५, २०१५ को पृष्ठ २९-३० हेर्नुहोस्।
-
-
अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरूप्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | मे
-
-
अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू
यस चार्टमा उल्लेख गरिएका केही भविष्यवाणी एउटै समयावधिमा हुने घटनाहरू हुन्। ती सबैले हामी “अन्तको समय”-मा बाँचिरहेका छौँ भनेर प्रशस्त प्रमाण दिन्छ।—दानि. १२:४.
शास्त्रपद(हरू) प्रका. ११:७; १२:१३, १७; १३:१-८, १२
भविष्यवाणी “जङ्गली जनावर” धेरै वर्षसम्म पृथ्वीमा डुलिहिँड्छ। अन्तको समयमा यसको सातौँ टाउकोलाई चोट लाग्छ। पछि, टाउकोमा लागेको त्यो चोट निको हुन्छ र “पूरै पृथ्वी” त्यस जङ्गली जनावरको पछि लाग्छ। सैतान त्यही जङ्गली जनावर चलाएर “बाँकी रहेका ती सन्तानसित लडाइँ गर्न” जान्छ।
पूर्ति जलप्रलयपछि यहोवाविरुद्ध खडा हुने मानव सरकारहरू देखा पर्छन्। धेरै वर्षपछि पहिलो विश्वयुद्धको बेला बेलायती साम्राज्य असाध्यै कमजोर हुन्छ। संयुक्त राज्य अमेरिकाको साथ पाएपछि यो फेरि बलियो हुन्छ। विशेषगरि अन्तको समयमा सैतान पृथ्वीका सबै सरकार प्रयोग गरेर परमेश्वरका जनहरूलाई सताउँदै छ।
शास्त्रपद(हरू) दानि. ११:२५-४५
भविष्यवाणी अन्तको समयमा उत्तरका राजा र दक्षिणका राजाबीचको दुस्मनी।
पूर्ति जर्मनी र एङ्ग्लो-अमेरिकी शक्तिबीच होडबाजी चल्छ। इ.सं. १९४५ मा सोभियत सङ्घ र यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्छन्। इ.सं. १९९१ मा सोभियत सङ्घको पतन हुन्छ अनि पछि रूस र यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्छन्।
शास्त्रपद(हरू) यसै. ६१:१; मला. ३:१; लुका ४:१८
भविष्यवाणी मसीही राज्य स्थापना हुनुअघि ‘बाटो तयार पार्न’ यहोवा आफ्नो “दूत” पठाउनुहुन्छ। यो समूह “नम्रहरूलाई सुसमाचार सुनाउन” थाल्छ।
पूर्ति इ.सं. १८७० देखि चार्ल्स टेज रसल र तिनका सहयोगीहरू बाइबलले वास्तवमा सिकाउने सत्य कुरा बुझाउन जोडतोडका साथ लाग्छन्। परमेश्वरका सेवकहरूले प्रचार गर्नु महत्त्वपूर्ण छ भनेर तिनीहरू इ.सं. १८८१ मा बुझ्छन्। तिनीहरू “१,००० प्रचारक चाहियो” र “प्रचार गर्न अभिषिक्त”-जस्ता लेखहरू प्रकाशित गर्छन्।
शास्त्रपद(हरू) मत्ति १३:२४-३०, ३६-४३
भविष्यवाणी शत्रुले गहुँको बीचमा सामा छर्छ र बाली काट्ने बेला नहोउन्जेल दुवैलाई सँगै बढ्न दिइन्छ; त्यसपछि गहुँ र सामा छुट्ट्याइन्छ।
पूर्ति इ.सं. १८७० देखि साँचो ख्रिष्टियन र झूटा ख्रिष्टियनबीचको भिन्नता झन्झन् प्रस्ट हुँदै जान्छ। अन्तको समयमा साँचो ख्रिष्टियनहरूलाई जम्मा गरिन्छ र तिनीहरूलाई झूटा ख्रिष्टियनहरूबाट अलग्गै छुट्ट्याइन्छ।
शास्त्रपद(हरू) दानि. २:३१-३३, ४१-४३
भविष्यवाणी फलाम र माटो मिसिएका खुट्टाहरू विभिन्न धातु मिलेर बनेको मूर्तिको भाग हो।
पूर्ति माटोले एङ्ग्लो-अमेरिकी विश्वशक्तिले प्रभुत्व जमाएको इलाकामा बसोबास गर्ने आम जनतालाई बुझाउँछ, जो ती सरकारहरूविरुद्ध आन्दोलन गर्छन्। यस्ता आन्दोलनहरूले यस विश्वशक्तिको फलामरूपी शक्तिलाई कमजोर बनाउँछ।
शास्त्रपद(हरू) मत्ति १३:३०; २४:१४, ४५; २८:१९, २०
भविष्यवाणी “गहुँ” जम्मा गरेर “भण्डारमा” राखिन्छ अनि “विश्वासी र बुद्धिमान् दास”-लाई “घरका अरू दासहरू”-माथि नियुक्त गरिन्छ। “राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” हुन थाल्छ।
पूर्ति इ.सं. १९१९ मा विश्वासी दासलाई परमेश्वरका जनहरूमाथि नियुक्त गरिन्छ। त्यस समयदेखि बाइबल स्टुडेन्ट्स प्रचारकार्यलाई तीव्र गतिमा अघि बढाउँछन्। आज यहोवाका साक्षीहरू २०० भन्दा बढी मुलुकमा प्रचार गर्छन् अनि १,००० भन्दा बढी भाषामा बाइबलआधारित सामग्री तयार पार्छन्।
शास्त्रपद(हरू) दानि. १२:११; प्रका. १३:११, १४, १५
भविष्यवाणी “जङ्गली जनावरको मूर्ति” बनाउन र त्यसमा “सास हाल्न” दुई वटा सिङ भएको जङ्गली जनावरले प्रमुख भूमिका खेल्छ।
पूर्ति एङ्ग्लो-अमेरिकी विश्वशक्तिले राष्ट्र सङ्घ स्थापना गर्न प्रमुख भूमिका खेल्छ। यो सङ्गठनलाई अरू राष्ट्रहरूले पनि समर्थन गर्छन्। पछि गएर उत्तरका राजा पनि राष्ट्र सङ्घमा सहभागी हुन्छन् तर इ.सं. १९२६ देखि १९३३ सम्म मात्र। राष्ट्र सङ्घले विश्वशान्ति ल्याउन सक्छ भनेर मानिसहरू विश्वास गर्छन्, जुन कुरा वास्तवमा परमेश्वरको राज्यले मात्र गर्न सक्छ। मानिसहरू संयुक्त राष्ट्र सङ्घबारे पनि यस्तै विश्वास गर्छन्।
शास्त्रपद(हरू) दानि. ८:२३, २४
भविष्यवाणी एउटा क्रूर शासक ‘घोर विध्वंस मच्चाउँछ।’
पूर्ति एङ्ग्लो-अमेरिकी विश्वशक्तिले घोर विध्वंस मच्चाएको छ। उदाहरणको लागि, दोस्रो विश्वयुद्धको बेला संयुक्त राज्य अमेरिकाले आफ्नो र बेलायतको शत्रुमाथि दुई वटा आणविक बम खसाल्दा पहिला कहिल्यै नभएको विनाश भयो।
शास्त्रपद(हरू) दानि. ११:३१; प्रका. १७:३, ७-११
भविष्यवाणी “चहकिलो रातो रङ्गको” दस वटा सिङ भएको जङ्गली जनावर अगाध खाडलबाट निस्कन्छ र त्यो आठौँ राजा हो। दानिएलको किताबमा यस राजालाई “उजाड पार्ने घृणित कुरा” भनिएको छ।
पूर्ति दोस्रो विश्वयुद्धको बेला राष्ट्र सङ्घ निष्क्रिय अवस्थामा पुग्छ। युद्धपछि संयुक्त राष्ट्र सङ्घ “खडा” हुन्छ। राष्ट्र सङ्घलाई जस्तै संयुक्त राष्ट्र सङ्घलाई पनि परमेश्वरको राज्यलाई दिनुपर्ने महिमा दिइन्छ। संयुक्त राष्ट्र सङ्घले धर्मलाई आक्रमण गर्नेछ।
शास्त्रपद(हरू) १ थिस्स. ५:३; प्रका. १७:१६
भविष्यवाणी राष्ट्रहरू “शान्ति र सुरक्षा”-को घोषणा गर्छन् अनि “दस वटा सिङ” र “जङ्गली जनावरले” “वेश्यालाई” आक्रमण गर्छन् र त्यसलाई नाश गर्छन्। त्यसपछि राष्ट्रहरूको विनाश हुनेछ।
पूर्ति राष्ट्रहरूले शान्ति र सुरक्षा छाएको दाबी गर्लान्। तब संयुक्त राष्ट्र सङ्घलाई समर्थन गर्ने राष्ट्रहरूले झूटा धार्मिक सङ्गठनहरूको विनाश गर्नेछन्। यो घटना महासङ्कष्टको सुरुवात हुनेछ। महासङ्कष्टको अन्तमा आरमागेडोनको युद्ध हुँदा सैतानको संसारका बाँकी भाग विनाश हुनेछ।
शास्त्रपद(हरू) इज. ३८:११, १४-१७; मत्ति २४:३१
भविष्यवाणी गोगले परमेश्वरका जनहरूको देशमाथि आक्रमण गर्छ। त्यसपछि स्वर्गदूतहरूले ‘चुनिएका जनहरूलाई’ जम्मा गर्छन्।
पूर्ति उत्तरका राजाले पृथ्वीका अरू सरकारहरूसित मिलेर परमेश्वरका जनहरूलाई आक्रमण गर्छ। यो आक्रमण सुरु भएको केही समयपछि बाँकी अभिषिक्त जनलाई स्वर्गमा जम्मा गरिन्छ।
शास्त्रपद(हरू) इज. ३८:१८-२३; दानि. २:३४, ३५, ४४, ४५; प्रका. ६:२; १६:१४, १६; १७:१४; १९:२०
भविष्यवाणी “सेतो घोडा”-मा “सवार हुने”-ले गोग र त्यसको सेनालाई विनाश गरेपछि “आफ्नो विजययात्रा पूरा” गर्छ। “जङ्गली जनावर”-लाई “अग्निकुण्डमा” हुऱ्याइन्छ अनि विशाल मूर्तिलाई धुलोपिठो पारिन्छ
पूर्ति परमेश्वरको राज्यमा शासन गरिरहनुभएका राजा येसुले परमेश्वरका जनहरूलाई बचाउनुहुन्छ। उहाँले १,४४,००० सह-शासक अनि स्वर्गदूतहरूको सेनासित मिलेर राष्ट्रहरूको गठबन्धन अर्थात् सैतानको संसारको सबै राजनैतिक प्रणालीको विनाश गर्नुहुन्छ।
-