प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ३/१ पृ. ३-६
  • भगवान्‌ले तपाईंको लागि के गर्नुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भगवान्‌ले तपाईंको लागि के गर्नुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘भगवान्‌ले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो’
  • “उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो”
  • “ऊमाथि विश्‍वास गर्ने”
  • “नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌”
  • भगवान्‌ले थुप्रै कुरा गर्नुभएको छ
  • अनन्त जीवनमा लाने एकमात्र मार्ग
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येशूको मृत्युले तपाईंलाई कसरी बचाउन सक्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ख्रीष्टको छुडौती-परमेश्‍वरको छुटकारा दिने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येशूले उद्धार गर्नुहुन्छ—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ३/१ पृ. ३-६
बुबा-छोरा प्रकृतिको आनन्द उठाउँदै

आवरण लेख

भगवान्‌ले तपाईंको लागि के गर्नुभएको छ?

‘भगवान्‌ले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।’—यूहन्‍ना ३:१६.

यो उद्धरण भगवान्‌को प्रेरणा पाएर लेखिएको पुरानो शास्त्रबाट लिइएको हो। यस शास्त्रका हरफहरूमध्ये यो हरफ एकदमै लोकप्रिय छ अनि धेरै चोटि प्रयोग पनि गरिन्छ। मानिसहरू भन्‍ने गर्छन्‌, “भगवान्‌ र मानिसजातिको सम्बन्धबारे अनि भगवान्‌ले दिनुहुने मुक्‍तिबारे यो हरफले स्पष्ट अनि सटीक रूपमा बताएको छ। यत्तिको स्पष्ट अनि सटीक जवाफ अरू हरफमा पाइँदैन।” त्यसैले कुनै-कुनै देशमा यो हरफ अथवा “यूहन्‍ना ३:१६” भनेर लेखिएको अक्षर सार्वजनिक ठाउँ, गाडी आदिमा टाँसिएको पाइन्छ।

भगवान्‌को प्रेमले आफूलाई मुक्‍ति दिनेछ भन्‍ने विश्‍वासले गर्दा नै यी मानिसहरूले यसो गरेको हुनुपर्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ? भगवान्‌को प्रेमले तपाईंको निम्ति कस्तो अर्थ राख्छ? अनि भगवान्‌ले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्‍ने प्रमाण कसरी पाउन सक्नुहुन्छ?

‘भगवान्‌ले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो’

धेरै मानिसहरू ब्रह्‍माण्ड, प्रकृति अनि मानिसजातिको सृष्टि देखेर भगवान्‌प्रति कृतज्ञ हुन्छन्‌। जीवित प्राणीहरू अद्‌भुत तरिकाले बनेको कुरा विचार गर्दा यसको पछाडि कसै न कसैको हात छ र तिनी एकदमै बुद्धिमान्‌ छन्‌ भन्‍ने देखिन्छ। थुप्रै मानिसहरू आफ्नो जीवनप्रति कृतज्ञ भएर भगवान्‌लाई दिनहुँ धन्यवाद दिने गर्छन्‌। जीवनका आधारभूत कुरा जस्तै; हावा, पानी, खानेकुरा, प्राकृतिक चक्रहरूको तालमेल सबै भगवान्‌ले नै मिलाउनुभएको हो भनी तिनीहरू विश्‍वास गर्छन्‌। उहाँले गर्दा नै बाँच्न सकेको र जीवनको आनन्द उठाउन सकेको हो भनी तिनीहरू मानिलिन्छन्‌।

हो, हामी पनि यी सबै कुराको लागि भगवान्‌लाई धन्यवाद दिन सक्छौं। आखिर उहाँ हाम्रो सृष्टिकर्ता र जीवनदाता हुनुहुन्छ। (भजन १०४:१०-२८; १४५:१५, १६; प्रेषित ४:२४) उहाँले हाम्रो जीवन सम्भव बनाउन गर्नुभएको सबै कुरा मनन गर्दा हामी कृतज्ञ हुन सक्छौं। बाइबल लेखक पावल यसो भन्छन्‌, “[भगवान्‌ले] नै सबै मानिसहरूलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ। उहाँले गर्दा नै हामीले जीवन पाएका हौं, चलहल गर्छौं अनि अस्तित्वमा छौं।”—प्रेषित १७:२५, २८.

तर भगवान्‌ले हामीलाई भौतिक कुरा दिएर मात्र होइन, अर्को तरिकामा पनि प्रेम देखाउनुभएको छ। उहाँले हामीलाई उहाँसित नजिक हुने, उहाँसित सम्बन्ध गाँस्ने मौका दिनुभएको छ र त्यसको लागि आवश्‍यक मदत पनि जुटाइदिनुभएको छ। (मत्ती ५:३) यस्तो मदत स्वीकार्ने आज्ञाकारी मानिसहरू उहाँको परिवारको भाग अर्थात्‌ “सन्तान” बन्‍न सक्नेछन्‌।—रोमी ८:१९-२१.

यूहन्‍ना ३:१६ ले बताएअनुसार भगवान्‌ले आफ्नो प्यारो छोरा येशूलाई यस पृथ्वीमा पठाउनुभयो। यस पृथ्वीमा आएर येशूले आफ्नो बुबा अर्थात्‌ हाम्रो सृष्टिकर्ताबारे शिक्षा दिनुभयो र हाम्रो लागि ज्यान दिनुभयो। तर धेरैलाई लाग्ला, ‘येशू हाम्रो लागि किन मर्नुपऱ्‍यो? उहाँले जीवन दिएर मानिसहरूप्रति भगवान्‌को प्रेम कसरी झल्किन्छ र?’ येशू मर्नुको कारण र त्यसको महत्त्वबारे बाइबलले के बताउँछ, अब हामी हेरौं।

“उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो”

सबै मानिसजाति मरणशील छन्‌; बिरामी हुन्छन्‌, बूढाबूढी हुन्छन्‌ अनि मर्छन्‌। तर हाम्रो सृष्टिकर्ता यहोवाको सुरुको उद्देश्‍य यस्तो थिएन। उहाँले प्रथम मानव जोडीलाई पृथ्वीको सुन्दर बगैंचामा सधैंभरि बाँच्ने आशा दिनुभएको थियो। तर तिनीहरूले त्यसको लागि एउटा कुरा गर्नुपर्थ्यो: भगवान्‌प्रति आज्ञाकारी हुनुपर्थ्यो। अनाज्ञाकारी भएमा भगवान्‌ले भन्‍नुभएअनुसार तिनीहरू मर्ने थिए। (उत्पत्ति २:१७) प्रथम पुरुषले भगवान्‌को शासन गर्ने अख्तियारको विरोध गऱ्‍यो अनि आफू र आफ्ना सन्तानमाथि मृत्यु ल्यायो। “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌” भनी पावलले बताए।—रोमी ५:१२.

भगवान्‌ ‘इन्साफलाई प्रेम गर्नुहुन्छ।’ (भजन ३७:२८) हो, उहाँले प्रथम मानवलाई सजाय दिनुपर्ने भयो। तर एक जनाको अनाज्ञाकारिताले सबै मानिसजातिले सदाको लागि दुःख र मृत्यु भोगेको पनि उहाँ चाहनुहुन्‍नथ्यो। त्यसैले जीवनको सट्टा जीवन भन्‍ने इस्राएलीहरूलाई दिएको कानुनी सिद्धान्त लागू गर्दै उहाँले न्याय गर्ने सन्दर्भमा सन्तुलन कायम गर्नुभयो। यसरी आज्ञाकारी मानिसजातिले एक पटक फेरि अनन्त जीवन अर्थात्‌ कहिल्यै मर्नु नपर्ने जीवन पाउन सक्ने भए। (प्रस्थान २१:२३) तर यस्तो प्रश्‍न उठ्‌छ, आदमले गुमाएको त्रुटिरहित मानव जीवन फेरि कसरी हासिल गर्न सकिन्थ्यो? यसको लागि आदमले गुमाएको जीवन बराबरको मोल चुकाउनुपर्थ्यो अर्थात्‌ एउटा त्रुटिरहित जीवनको बलिदान आवश्‍यक हुन्थ्यो।

सबै मानिसजाति र पृथ्वीलाई भगवान्‌को प्रेम आवश्‍यक छ भनेर येशूले स्वर्गबाट नियाल्नुभयो

येशू स्वेच्छाले पृथ्वीमा आउनुभयो र मानिसजातिलाई पाप र मृत्युबाट बचाउन आफ्नो ज्यान दिनुभयो

स्पष्ट छ, आदमका अरू सन्तान त्रुटिपूर्ण भएकोले तिनीहरूले त्यस्तो मोल चुकाउन सकेनन्‌। तर येशूले त्यो मोल चुकाउन सक्नुभयो। (भजन ४९:६-९) पापका जन्मजात असर नभएकोले येशू आदमजस्तै त्रुटिरहित हुनुहुन्थ्यो। आफ्नो ज्यान दिएर उहाँले मानिसजातिलाई पापको दासत्वबाट मुक्‍त गर्ने बाटो खोल्नुभयो। अनि प्रथम दम्पतीको सन्तानलाई तिनीहरूको जस्तै त्रुटिरहित जीवनको आनन्द उठाउने मौका दिनुभयो। (रोमी ३:२३, २४; ६:२३) यस्तो अपार प्रेमबाट लाभ उठाउन हामी के गर्न सक्छौं?

“ऊमाथि विश्‍वास गर्ने”

यूहन्‍ना ३:१६ मा “[येशूमाथि] विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌” पनि भनिएको छ। यसको अर्थ अनन्त जीवन अर्थात्‌ कहिल्यै मर्नु नपर्ने जीवनको उपहार पाउन हामीले केही गर्नुपर्छ। “अनन्त जीवन” पाउने हो भने हामीले येशूमा विश्‍वास गर्नुपर्छ र उहाँप्रति आज्ञाकारी हुनुपर्छ।

तपाईंलाई यस्तो लाग्न सक्छ, ‘आज्ञा पालन गर्नुमा के समावेश छ? येशूले “उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउनेछ” भन्‍नुभएको होइन र?’ हो, विश्‍वास गर्नु महत्त्वपूर्ण छ। तर येशूको अस्तित्व स्वीकारेर मात्र पुग्दैन। हाम्रो नेपाली बृहत्‌ शब्दकोशअनुसार विश्‍वासको अर्थ “दृढ आस्था; पत्यार” हो। भगवान्‌को अनुमोदन पाउन येशू हाम्रो मुक्‍तिदाता हुनुहुन्छ भनेर थाह पाउनु मात्र पर्याप्त छैन। विश्‍वास गर्ने व्यक्‍तिले येशूले सिकाउनुभएको कुरा जीवनमा उतार्न अथक प्रयास पनि गर्नुपर्छ। कामद्वारा विश्‍वास देखाएका छैनौं भने ‘विश्‍वास गर्छु’ भन्‍नुको केही अर्थ हुँदैन। “कामविनाको विश्‍वास . . . मरेको हुन्छ” भनी बाइबल बताउँछ। (याकूब २:२६) मतलब, हरेकले आफ्नो विश्‍वासअनुसार जीवन बिताउनै पर्छ।

पावल यस कुरालाई यसरी जोड दिन्छन्‌, “ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ, किनकि हामी यस्तो निष्कर्षमा पुगेका छौं: सबैका लागि एक जना मानिस [येशू] मर्नुभयो . . . अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌, जो तिनीहरूका लागि मर्नुभयो र ब्यूँताइनुभयो।” (२ कोरिन्थी ५:१४, १५) येशूले बलिदानस्वरूप आफ्नो ज्यान दिनुभएको कुराप्रति हामी साँच्चै कृतज्ञ छौं भने हामी जीवनमा परिवर्तन गर्न उत्प्रेरित हुनेछौं; आफ्नै लागि मात्र नभई, हाम्रो लागि जीवन दिनुहुने येशूको लागि बाँच्नेछौं। हो, मुख्य कुरा भनेकै हामीले येशूको शिक्षालाई प्राथमिकता दिनु हो। यसरी प्राथमिकता दिंदा हाम्रो मूल्यमान्यता, हाम्रो छनौट, भनौं भने हामीले गर्ने सबै कुरामा असर पर्छ। येशूमा विश्‍वास गर्ने र विश्‍वासअनुसारै काम गर्नेहरूले कस्तो इनाम पाउनेछन्‌?

“नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌”

येशूको बलिदानमा विश्‍वास गर्ने र भगवान्‌को स्तरअनुसार जीवन बिताउनेहरूका लागि गरिएको प्रतिज्ञाबारे यूहन्‍ना ३:१६ को अन्तिम भागमा लेखिएको छ। ती व्यक्‍तिहरू “नाश नहोस्‌” तर तिनीहरूले “अनन्त जीवन पाओस्‌” भन्‍ने भगवान्‌ चाहनुहुन्छ। तर उहाँलाई प्रेम गर्ने सबैले भविष्यमा एकै किसिमको इनाम पाउनेछैनन्‌।

एउटा समूहले स्वर्गमा अनन्त जीवन पाउनेछ भनेर येशूले बताउनुभयो। उहाँले आफ्ना विश्‍वासी चेलाहरूका लागि ठाउँ तयार पार्न जाँदैछु भनेर स्पष्टसित भन्‍नुभयो। त्यो ठाउँ तयार भइसकेपछि तिनीहरूले येशूसित महिमाका साथ शासन गर्न सक्ने थिए। (यूहन्‍ना १४:२, ३; फिलिप्पी ३:२०, २१) स्वर्गीय पुनर्जीवन पाउनेहरू हाम्रो सृष्टिकर्ता ‘यहोवा अनि ख्रीष्टका पुजारी हुनेछन्‌’ र तिनीहरूले “राजाको रूपमा एक हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।”—प्रकाश २०:६.

येशूका सीमित सङ्‌ख्याका अनुयायीहरूले मात्र त्यस्तो सुअवसर पाउनेछन्‌। येशूले भन्‍नुभयो, “हे सानो बगाल, नडराओ, किनकि तिमीहरूको बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।” (लूका १२:३२) त्यो “सानो बगाल”-मा कति जना हुनेछन्‌? प्रकाश १४:१, ४ यसो भन्छ, “अनि हेर, मैले थुमालाई [पुनर्जीवित हुनुभएको येशूलाई] सियोन पर्वतमा [स्वर्गमा] उभिरहेको देखें। तिनीसित एक लाख चवालीस हजार जना थिए, जसको निधारमा तिनको र तिनको बुबाको नाम लेखिएको थियो। . . . यिनीहरू परमेश्‍वर [यहोवा] र थुमाको लागि अगौटे फलको रूपमा मानिसहरूमध्येबाट किनिएका थिए।” अहिलेसम्म बाँचेका अनगिन्ती मानिसहरूको तुलनामा १,४४,००० “सानो” समूह हुनेछ। तिनीहरूलाई राजाहरू भनी वर्णन गरिएको छ। त्यसोभए तिनीहरूले कसमाथि शासन गर्नेछन्‌?

येशूले अर्को विश्‍वासी समूहबारे बताउनुभयो। तिनीहरूले पनि स्वर्गीय राज्यबाट लाभ उठाउनेछन्‌। यूहन्‍ना १०:१६ मा येशूले भन्‍नुभयो, “मेरा अरू भेडा छन्‌, जो यस गोठका होइनन्‌, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, र तिनीहरूले मेरो सोर सुन्‍नेछन्‌, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्‌।” यी “भेडा”-खाले असल मानिसहरूले यसै पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउनेछन्‌—सुरुमा आदम र हव्वाले जस्तै। तर तिनीहरूले यसै पृथ्वीमा जीवन बिताउनेछन्‌ भनी हामी कसरी भन्‍न सक्छौं?

यो पृथ्वी सुन्दर बगैंचाजस्तै हुनेछ भनेर बाइबलमा थुप्रै पटक बताइएको छ। यी भविष्यवाणीहरू कहाँ लेखिएका छन्‌ भनेर हेर्न चाहनुहुन्छ भने बाइबल पल्टाएर वा www.jw.org मा भएको हाम्रो वेब साइटमा गएर यी पदहरू हेर्नुहोस्‌: भजन ३७:९-११; ४६:८, ९; ७२:७, ८, १६; यशैया ३५:५, ६; ६५:२१-२३; मत्ती ५:५; यूहन्‍ना ५:२८, २९; प्रकाश २१:४। यी पदहरूमा युद्ध, अनिकाल, रोग र मृत्युको अन्त हुनेछ भनेर बताइएको छ। साथै, असल मानिसहरूको आफ्नै घर हुनेछ, तिनीहरूले प्रशस्त उब्जनी उमार्नेछन्‌ अनि शान्त वातावरणमा छोराछोरी हुर्काउनेछन्‌ भनेर पनि बताइएको छ।a के यसले हाम्रो मन छुँदैन र? हो, ती प्रतिज्ञाहरू चाँडै पूरा हुनेछन्‌। यसमा कुनै शङ्‌का छैन।

भगवान्‌ले थुप्रै कुरा गर्नुभएको छ

भगवान्‌ले तपाईंको लागि र सम्पूर्ण मानिसजातिको लागि के-के गर्नुभएको छ, एकछिन सोच्नुहोस्‌ त? उहाँले हाम्रो लागि जीवन, बुद्धि, सुस्वास्थ्य अनि जीवन धान्‍नको लागि चाहिने सम्पूर्ण कुरा दिनुभएको छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा उहाँले हाम्रो लागि आफ्नो छोरा बलिदान दिनुभएको छ। यूहन्‍ना ३:१६ मा बताइएझैं उहाँको छोरा येशू हाम्रो लागि मर्नुभएकोले नै हामीले अपार आशिष्‌ पाउन सकेका छौं।

रोग, युद्ध, अनिकाल वा मृत्यु नहुने शान्त तथा आनन्ददायी वातावरणमा सधैंभरि बाँच्ने प्रत्याशाले अनन्त खुसी र आशिष्‌ ल्याउनेछ। तपाईंले ती आशिष्‌ पाउनुहुन्छ या हुन्‍न, त्यो तपाईंमै भर पर्छ। त्यसैले आफैलाई सोधौं, ‘मैले भगवान्‌को लागि के गरिरहेको छु?’

a यी भविष्यवाणीबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने