तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
भिडियो कन्फरेन्सिङमार्फत मण्डलीका सभाहरू गरिँदै
जून २६, २०२०
विभिन्न देशका सरकारहरूले आफ्ना जनताहरूलाई भौतिक दूरी कायम गर्न र सार्वजनिक भेलाहरू नगर्न आग्रह गरेको छ। यहोवाका साक्षीहरू सरकारले दिएको यो निर्देशन पालन गर्न कटिबद्ध छन्। साथै तिनीहरू सुरक्षितपूवर्क सभा पनि गर्दै छन्। मण्डलीहरूले सभा गर्न जुम-जस्ता भिडियो कन्फरेन्सिङ एप प्रयोग गर्दै छन्।
नियमित रूपमा सभा सञ्चालन गर्न सकियोस् भनेर परिचालक निकायले मण्डलीहरूबाट प्राप्त अनुदानलाई मण्डलीहरूका लागि जुम खाता किन्न अनुमति दिएको छ। यस प्रबन्धले गर्दा १५-२० अमेरिकी डलर वा त्योभन्दा बढी पैसा पर्ने भिडियो कन्फरेन्सिङ एपको खाता किन्न नसक्ने केही मण्डलीहरूलाई निकै मदत पुगेको छ। ती मण्डलीहरूले प्रायः निश्शुल्क पाइने एपहरू प्रयोग गर्दै थिए। त्यस्ता एपहरूमा एकचोटिमा थोरै मानिसहरू मात्र कनेक्ट हुन सक्थे अनि ती एपहरू त्यत्ति सुरक्षित पनि थिएनन्। तर अहिले सङ्गठनले उपलब्ध गराएको जुम खाता प्रयोग गर्ने मण्डलीहरूले सजिलै सुरक्षासम्बन्धी सेटिङ प्रयोग गर्न सक्छन् र एकैचोटिमा थुप्रै जना सभामा उपस्थित हुन सक्छन्। हालसम्म १७० देशका ६५,००० मण्डलीले यी खाताहरू प्रयोग गर्दै छन्।
इन्डोनेसियाको उत्तर सुलावेसीको मानाडोमा भएको काइरागी मण्डलीले निश्शुल्क पाइने भिडियो कन्फरेन्सिङ एप प्रयोग गर्न छोडेर सङ्गठनले उपलब्ध गराएको जुम खाता प्रयोग गर्न थाल्यो। भाइ हाडी सान्तोसो यसो भन्छन्: “इलेक्ट्रोनिक उपकरण खासै चलाउन नआउने भाइबहिनीहरूले पनि अहिले सभाबाट लाभ उठाइरहनुभएको छ। किनकि भाइबहिनीहरूले सभाको दौडान बारम्बार लग इन गरिरहनुपर्दैन।”
इक्वेडरको ग्वायाकिलमा भएको ग्वायाकिनिस ओइस्ते मण्डलीका एक जना एल्डर भाइ लेस्टर हिहोन यसो भन्छन्: “हाम्रो मण्डलीका प्रायजसो भाइबहिनीसित धेरै पैसा छैन। त्यसैले मण्डलीका सबै भाइबहिनीहरू एकैसाथ उपस्थित हुन सक्ने जुम-को लाइसेन्स किन्न हाम्रो लागि असम्भव थियो। अहिले सङ्गठनबाट उपलब्ध गराइएको जुम खाताले गर्दा हामी धेरै जना एकैचोटि सभामा उपस्थित हुन सक्छौँ र अरूलाई पनि सभामा निम्तो दिन सक्छौँ।”
जाम्बियाको लुसाकामा भएको न्ग्वेरे उत्तर मण्डलीका एक जना एल्डर भाइ जोनसन मोवान्जा यस्तो लेख्छन्: “थुप्रै भाइबहिनीहरू बारम्बार यसो भन्नुहुन्छ, ‘सङ्गठनले उपलब्ध गराएको यो जुम-को प्रबन्धले गर्दा हामी आफ्ना दाजुभाइ दिदीबहिनीसित नजिक भएका छौँ। त्यसका साथै यहोवाको माया अनि हेरचाह झनै महसुस गर्छौँ।’”
सङ्गठनले उपलब्ध गराएको यी खाताहरू प्रकोप राहत कोषबाट खरिद गरिएका हुन्। विश्वव्यापी कार्यको लागि दिइएको अनुदानबाट यस्ता कोषहरूको लागि रकम छुट्ट्याइन्छ। यीमध्ये थुप्रै अनुदान donate.jw.org मार्फत दिइएका हुन्। तपाईँहरूले उदार भएर दिनुभएको अनुदानको लागि धन्यवाद! यी अनुदान विश्वका विभिन्न देशमा राहत उपलब्ध गराउन पनि प्रयोग गरिन्छ।—२ कोरिन्थी ८:१४.