प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख १०८
  • मलाई अझ धेरै फलोअर र लाइक चाहिन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई अझ धेरै फलोअर र लाइक चाहिन्छ!
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कस्ता खतराहरू छन्‌?
  • देखावटी लोकप्रियता
  • धेरै फलोअर बनाउने र लाइक पाउने चाहना
  • हाम्रो आधिकारिक वेब साइट—व्यक्‍तिगत र पारिवारिक अध्ययन गर्न प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • तपाईँका अनलाइन साथीहरू को-को हुन्‌?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मैले अनलाइन फोटो सेयरिङबारे के थाह पाउनुपर्छ?
    युवाहरू सोध्छन्‌
  • छोराछोरी र सामाजिक सञ्जाल—भाग १: के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?
    परिवारका लागि
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख १०८
एक किशोरी मुस्कुराउँदै मोबाइल हेर्दै छिन्‌। तिनले आफ्नो पोस्टमा ८५ लाइक पाइन्‌।

युवाहरू सोध्छन्‌

मलाई अझ धेरै फलोअर र लाइक चाहिन्छ!

इलेन नाम गरेकी किशोरी यसो भन्छिन्‌: “स्कुलका साथीहरूको सयौँ अनलाइन फलोअर देख्दा उनीहरू त कस्तो फेमस रहेछ जस्तो लाग्यो। साँच्चै भन्‍नुपर्दा मलाई डाहै लाग्यो।”

के तपाईँले पनि यस्तै महसुस गर्नुभएको छ? गर्नुभएको छ भने यस लेखले तपाईँलाई सामाजिक सञ्जालमा धेरै फलोअर बनाउने र लाइक पाउने चाहनादेखि जोगिन मदत गर्नेछ।

  • कस्ता खतराहरू छन्‌?

  • देखावटी लोकप्रियता

  • धेरै फलोअर बनाउने र लाइक पाउने चाहना

  • धाक लगाउनदेखि होसियार हुनुहोस्‌

कस्ता खतराहरू छन्‌?

हितोपदेश २२:१ यसो भन्छ: “प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो।” त्यसैले राम्रो नाम कमाउन चाहनु र अरूले मन पराएको चाहनु स्वाभाविक हो।

तर कहिलेकाहीँ अरूले मन पराओस्‌ भन्‍ने चाहना यत्ति तीव्र हुन सक्छ कि लोकप्रिय नभएसम्म तपाईँ खुसी नै हुन सक्नुहुन्‍न जस्तो लाग्न सक्छ। यस्तो चाहनाका कस्ता खतराहरू हुन सक्छन्‌? सोह्र वर्षीया आन्या यसो भन्छिन्‌:

“लोकप्रिय हुनको लागि भनेर मान्छेहरूले स्कुलको दुई तलामाथिबाट हामफाल्ने जस्तो विचित्रको काम गरेको मैले देखेको छु।”

साथीहरूको ध्यान आफूतर्फ खिच्न केही युवा मूर्खतापूर्ण काम रेकर्ड गरेर अनलाइनमा पोस्ट गर्छन्‌। उदाहरणको लागि, केही किशोरकिशोरीले त क्यापसुलमा पाइने लुगा धुने सरफ खाएको भिडियो पोस्ट गरेका छन्‌। यस्तो क्यापसुल विषाक्‍त हुन्छ।

बाइबल भन्छ: “स्वार्थ वा अहङ्‌कारमा केही नगर।”—फिलिप्पी २:३, नयाँ संशोधित संस्करण।

यसबारे सोच्नुहोस्‌:

  • के तपाईँलाई आफ्नो फलोअर र लाइक धेरै हुनुपर्छ जस्तो लाग्छ?

  • के तपाईँ साथीहरूको ध्यान आफूतर्फ खिच्न र उनीहरूको प्रिय हुन आफ्नो स्वास्थ्य वा ज्यानै जोखिममा पार्नुहुन्छ?

    तपाईँका साथीहरू के भन्छन्‌?

    लियाना।

    “लोकप्रिय हुन जुन हदसम्म पनि जानुपर्छ भन्‍ने मनोवृत्ति खतरनाक हुन्छ। मानिसहरू अनलाइनमा देखाउन मात्रै भए पनि आफ्नो बोली, व्यवहार र पहिरन परिवर्तन गऱ्‍यो भने लोकप्रिय होइन्छ भन्‍ने सोचाइ राख्छन्‌। हामीले लोकप्रिय हुनको लागि आफ्नो मूल्यमान्यतामा सम्झौता गऱ्‍यौँ भने पछि पछुताउनुपर्ने हुन्छ।”—लियाना।

देखावटी लोकप्रियता

मानिसहरूले लोकप्रिय हुन सधैँ आफ्नो ज्यान जोखिममा पार्छन्‌ भन्‍ने छैन। केही मानिस अर्को तरिका पनि अपनाउँछन्‌। यसबारे २२ वर्षीया एरिका यसो भन्छिन्‌:

“आफ्नो मिल्ने साथीहरू धेरै छन्‌ भनेर देखाउन मानिसहरू एकपछि अर्को फोटो पोस्ट गरिरहन्छन्‌। यसले तिनीहरू साँच्चै लोकप्रिय छन्‌ भन्‍ने भान पार्छ।”

केही मानिसले आफू लोकप्रिय भएको देखाउन छलकपटसमेत गर्छन्‌ भनेर १५ वर्षीया कारा भन्छिन्‌:

“मानिसहरूले आफू घरमै भए पनि पार्टीमा रमाइलो गरिरहेको जस्तो देख्नेगरि फोटो खिचेर पोस्ट गरेको मैले देखेको छु।”

बाइस वर्षीय म्याथ्युले पनि यस्तै काम गरेको स्विकार्छन्‌:

“मैले एउटा फोटो पोस्ट गरेँ अनि त्यसको लोकेसनमा माउन्ट एभरेस्ट भनेर ट्याग गरेँ। तर खासमा म कहिल्यै एसिया गएकै छैन।”

बाइबल भन्छ: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.

यसबारे सोच्नुहोस्‌:

  • के तपाईँले आफू अझ लोकप्रिय हुन अरूलाई झुक्क्याउने खालका फोटोहरू पोस्ट गर्नुभएको छ?

  • के तपाईँले पोस्ट गर्नुभएको फोटो र कमेन्टले तपाईँको वास्तविक परिचय दिन्छ?

    तपाईँका साथीहरू के भन्छन्‌?

    हाना।

    “कोही-कोही धेरै लाइक पाउन जे गर्न पनि तयार हुन्छन्‌। तर तपाईँ केको लागि चिनिन चाहनुहुन्छ? नराम्रो बोली बोल्ने र अनुचित पहिरन लगाउने अनि आफूसँग भएको कुराको घमन्ड गर्ने व्यक्‍तिको रूपमा? अथवा राम्रो बोली बोल्ने र अरूप्रति साँचो चासो देखाउने व्यक्‍तिको रूपमा? अरूले मन पराउँदा हामीलाई खुसी त लाग्छ तर त्यसको कारण के हो भन्‍ने कुरामा चाहिँ पक्का हुनुहोस्‌।”—हाना।

धेरै फलोअर बनाउने र लाइक पाउने चाहना

धेरै मानिसको विचारमा लोकप्रिय हुन नभई नहुने कुरा भनेको ठूलो सङ्‌ख्यामा फलोअर हुनु र लाइक पाउनु हो। माथि उल्लेख गरिएका म्याथ्युलाई पनि पहिला यस्तै लाग्थ्यो:

“म साथीहरूलाई ‘तिम्रो फलोअर कति छ’ वा ‘तिमीले अहिलेसम्म सबैभन्दा धेरै लाइक पाएको कति हो’ भनेर सोध्थेँ। अरूले मलाई फलो गरोस्‌ भन्‍ने लोभमा म नचिनेका मान्छेहरूलाई पनि फलो गर्थेँ। पछि ममा लोकप्रिय हुने चाहना झन्‌ बढ्‌दै गयो अनि सामाजिक सञ्जालले आगोमा घ्यू थप्ने काम गऱ्‍यो।”

चित्रहरूको सँगालो: १. एक किशोरी आफ्नो पोस्टमा कति लाइक आयो भनेर मुस्कुराउँदै हेर्दै छिन्‌। २. तिनी टन्‍नै चकलेट खाँदै छिन्‌। ३. तिनी पेट दुखेकोले अनुहार बिगारिरहेकी छिन्‌।

अनलाइन लोकप्रियता जङ्‌क फुडजस्तै हो; केहीबेर त रमाइलै होला तर यसले साँचो सन्तुष्टि भने दिँदैन

पच्चिस वर्षीया मारियाले केही मानिसले फलोअर र लाइकको आधारमा आफ्नो पहिचान बनाउन खोजेको याद गरिन्‌:

“कोही-कोही आफूले पोस्ट गरेको सेल्फीमा धेरै लाइक आएन भने ‘म राम्री छैनँ’ भन्‍ने निष्कर्षमा पुग्छन्‌। यस्तो सोचाइ गलत भए तापनि धेरैले यस्तै महसुस गर्छन्‌। एक अर्थमा तिनीहरूले आफैलाई साइबर बुलिङ गरिरहेका हुन्छन्‌।”

बाइबल भन्छ: “हामी फोस्रो घमन्ड नगरौँ, प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ अनि एकअर्काको ईर्ष्या नगरौँ।”—गलाती ५:२६.

यसबारे सोच्नुहोस्‌:

  • के तपाईँ सामाजिक सञ्जाल चलाउँदा आफूलाई अरूसित तुलना गर्नुहुन्छ?

  • के तपाईँलाई साँचो साथी बनाउनुभन्दा फलोअर बढाउनु अझ महत्त्वपूर्ण लाग्छ?

    तपाईँका साथीहरू के भन्छन्‌?

    जोसुआ।

    “अनलाइनमा लोकप्रिय हुन तपाईँ ती व्यक्‍तिहरूजस्तो बन्‍नुपर्छ, जसलाई अरू मानिसले मन पराउँछन्‌। यसले गर्दा अरूले तपाईँलाई कसरी हेरिरहेको छन्‌ अनि के गर्दा उनीहरूको ध्यान खिच्न सकिन्छ भन्‍नेतर्फ तपाईँको बढी ध्यान जान्छ। अरूबाट माया पाउन चाहनु स्वाभाविक हो। तर लोकप्रिय हुने कुरामा बढ्‌तै ध्यान दिनुभयो भने त्यो नै तपाईँको लागि पासो हुन सक्छ।”—जोसुआ।

धाक लगाउनदेखि होसियार हुनुहोस्‌

के तपाईँले कसै-कसैले गुनासो गरे जस्तैगरि आफ्ना उपलब्धिहरूको धाक लगाएको याद गर्नुभएको छ?

  • “मैले नयाँ गाडी किनेदेखि सबैले मलाई घुमाउन लैजाऊ भनेको भन्यै छ!”

  • “मैले आफ्नो वजन घटाउन सकेकोले सबैले मेरो प्रशंसा गरेको मलाई मनै पर्दैन!”

यस्ता व्यक्‍तिहरूले नम्र भएको भान पार्दै र गुनासो गरे जस्तैगरि आफूसित भएका कुराहरूको धाक लगाउँछन्‌।

चेतावनी: यसरी धाक लगाउँदा प्रायजसो बेफाइदा नै हुन्छ किनभने मानिसहरूले तपाईँ के भन्‍न खोज्दै हुनुहुन्छ भनेर बुझिहाल्छन्‌। हाकाहाकी धाक लगाएको भन्दा यसरी घुमाउरो पारामा धाक लगाएको मानिसहरूलाई झनै मन पर्दैन।

अर्को पटक सामाजिक सञ्जालमा फोटो वा कमेन्ट पोस्ट गर्दा यसरी धाक लगाउनदेखि होसियार हुनुहोस्‌। बाइबलको यो बुद्धिमानी सल्लाह पालन गर्नुहोस्‌: “आफ्नो प्रशंसा आफैले नगर, अरूको मुखबाट तिम्रो प्रशंसा होस्‌।”—हितोपदेश २७:२.

सारांश: तपाईँ कसरी अनलाइन लोकप्रियताको पासोदेखि जोगिन सक्नुहुन्छ?

  • अनलाइनमा पोस्ट गर्दा आफ्नो वास्तविक व्यक्‍तित्व झल्किने कुराहरू मात्र राख्नुहोस्‌।

  • अनलाइनमा आफूबारे केही कुरा पोस्ट गर्दा इमानदार हुनुहोस्‌।

  • फलोअर र लाइकको विषयमा सन्तुलित दृष्टिकोण राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने