प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ
    प्रहरीधरहरा—२०१२ | जून १५
    • यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ

      “येशू ख्रीष्टद्वारा भएको प्रकाश, जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न परमेश्‍वरले उहाँलाई दिनुभयो।”—प्रका. १:१.

      तपाईं कसरी जवाफ दिनुहुन्छ?

      विशाल मूर्तिको कुनचाहिं भागले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई चित्रण गर्छ?

      एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति र संयुक्‍त राष्ट्र सङ्‌घबीचको सम्बन्धबारे यूहन्‍नाले कसरी वर्णन गरे?

      मानव शासनको विनाशबारे दानियल र यूहन्‍नाले कस्तो वर्णन गरे?

      १, २. (क) दानियल र यूहन्‍नाको भविष्यवाणी तुलना गरेर हेर्दा हामी कुन कुरा बुझ्न सक्छौं? (ख) जङ्‌गली जनावरको प्रथम छ टाउकोले के-केलाई चित्रण गर्छ?

      दानियल र यूहन्‍नाका भविष्यवाणीहरू तुलना गरेर हेर्दा हामी अहिले भइरहेका अनि भविष्यमा हुने विश्‍वघटनाहरूको अर्थ राम्ररी बुझ्न सक्छौं। यूहन्‍नाले देखेको जङ्‌गली जनावरको दर्शन, दस सिङ भएको डरलाग्दो जनावरबारे दानियलले लेखेको विवरण र विशाल मूर्तिबारे दानियलले खोलिदिएको अर्थलाई तुलना गरेर हेर्दा हामी के सिक्न सक्छौं? अनि यी भविष्यवाणीहरू राम्रोसित बुझिसकेपछि त्यसले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?

      २ सुरुमा हामी यूहन्‍नाले देखेको जङ्‌गली जनावरको दर्शनबारे चर्चा गरौं। (प्रका., अध्या. १३) अघिल्लो लेखमा छलफल गरेझैं त्यस जनावरको प्रथम छ टाउकोले मिश्र, अश्‍शूर, बेबिलोन, मादी-फारसी, युनान अनि रोमलाई चित्रण गर्छ। ती सबै विश्‍वशक्‍तिले स्त्रीको सन्तानलाई घृणा गरे। (उत्प. ३:१५) यूहन्‍नाले आफूले देखेको दर्शन लेखेको शताब्दिऔं पछिसम्म पनि छैटौं टाउको रोमले प्रभुत्व जमाइरह्‍यो। अन्ततः सातौं टाउकोले रोमको ठाउँ लिनेथियो। यो सातौं विश्‍वशक्‍ति कुन हुनेथियो अनि त्यसले स्त्रीको सन्तानसित कस्तो व्यवहार गर्नेथियो?

      बेलायत र संयुक्‍त राज्य अमेरिका शक्‍तिमा आउँछन्‌

      ३. दस सिङ भएको डरलाग्दो जनावरले केलाई चित्रण गर्छ? अनि दसवटा सिङले नि?

      ३ प्रकाश अध्याय १३ मा उल्लेख गरिएको यूहन्‍नाले देखेको जङ्‌गली जनावरको सातौं टाउकोलाई चिन्‍न हामी यो दर्शनलाई दानियलले देखेको डरलाग्दो दस-सिङे जनावरको दर्शनसित तुलना गर्न सक्छौं।a (दानियल ७:७, ८, २३, २४ पढ्‌नुहोस्‌) दानियलले देखेको त्यो जनावरले विश्‍वशक्‍ति रोमलाई चित्रण गर्छ। (पृष्ठ १२-१३ मा भएको तालिका हेर्नुहोस्‌) इस्वी संवत्‌ पाँचौं शताब्दीमा रोमी साम्राज्य टुक्रिन सुरु भयो। डरलाग्दो जनावरको टाउकोबाट उम्रेको दस सिङले रोमी साम्राज्यबाट उत्पन्‍न भएको राज्यहरूलाई बुझाउँछ।

      ४, ५. (क) सानो सिङले के गऱ्‍यो? (ख) जङ्‌गली जनावरको सातौं टाउकोले केलाई चित्रण गर्छ?

      ४ दानियलले देखेको दस-सिङे जनावरको दर्शनमा अर्को एउटा “सानो” सिङ उम्रन्छ र त्यसले तीनवटा सिङलाई जरैसमेत उखेलिदिन्छ। यो कुरा कसरी पूरा भयो? बेलायत कुनै समय रोमी साम्राज्यको सानो भाग थियो तर पछि गएर यो एउटा राज्य भयो। स्पेन, नेदरल्याण्ड्‌स र फ्रान्स पनि रोमी साम्राज्यकै भाग थिए। सत्रौं शताब्दीसम्म तिनीहरू बेलायतभन्दा धेरै शक्‍तिशाली थिए। तर बेलायतले तिनीहरूसित एक-एक गरी युद्ध गऱ्‍यो र तिनीहरूभन्दा शक्‍तिशाली भयो। अठारौं शताब्दीको बीचतिर बेलायत विश्‍वको सबैभन्दा शक्‍तिशाली राज्य बन्‍न अघि बढ्‌दै गरेको अवस्थामा थियो। तैपनि बेलायत जङ्‌गली जनावरको सातौं टाउको भइसकेको थिएन।

      ५ बेलायतले प्रभुत्व जमाए तापनि उत्तर अमेरिकी उपनिवेशहरूले विद्रोह गरे अनि बेलायतबाट छुट्टिए। ती उपनिवेशहरू नै पछि संयुक्‍त राज्य अमेरिकाको रूपमा खडा भयो। बेलायतले संयुक्‍त राज्य अमेरिकालाई शक्‍तिशाली हुनबाट रोकेन बरु बेलायती जलसेनाद्वारा सुरक्षासमेत दियो। प्रभुको दिन सुरु भएको साल सन्‌ १९१४ सम्ममा त बेलायत इतिहासकै ठूलो साम्राज्य भइसकेको थियो र संयुक्‍त राज्य अमेरिका संसारकै सबैभन्दा ठूलो व्यापारिक शक्‍तिको रूपमा देखा परिसकेको थियो।b प्रथम विश्‍वयुद्धताका संयुक्‍त राज्य अमेरिकाले बेलायतसित विशेष मित्रता गाँस्यो। यसरी यी दुई राष्ट्र जङ्‌गली जनावरको सातौं टाउको अर्थात्‌ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिको रूपमा देखापऱ्‍यो। यो टाउकोले स्त्रीको सन्तानसित कस्तो व्यवहार गऱ्‍यो?

      ६. सातौं टाउकोले परमेश्‍वरका जनहरूलाई कस्तो व्यवहार गरेको छ?

      ६ प्रभुको दिन सुरु भएको केही समयपछि नै सातौं टाउकोले परमेश्‍वरका जनहरू अर्थात्‌ पृथ्वीमा बाँकी रहेका ख्रीष्टका भाइहरूलाई आक्रमण गर्न सुरु गऱ्‍यो। (मत्ती २५:४०) आफ्नो उपस्थिति हुँदा स्त्रीका बाँकी सन्तान पृथ्वीमा सक्रिय हुनेछन्‌ भनेर येशूले सङ्‌केत गर्नुभएको थियो। (मत्ती २४:४५-४७; गला. ३:२६-२९) एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले ती पवित्र जनहरूसित लडाइँ गऱ्‍यो। (प्रका. १३:३, ७) प्रथम विश्‍वयुद्धको दौडान यसले परमेश्‍वरका जनहरूमाथि सतावट ल्यायो, उनीहरूको केही प्रकाशनलाई प्रतिबन्ध लगायो र विश्‍वासी दास वर्गका केही प्रतिनिधिलाई झ्यालखानामा हाल्यो। जङ्‌गली जनावरको सातौं टाउकोले प्रचारकार्यलाई केही समयको लागि लगभग ठप्पै पारिदियो। यस्तो हुनेछ भनेर यहोवाले यूहन्‍नालाई दर्शनमा बताइसक्नुभएको थियो। स्त्रीको सन्तानको दोस्रो भागले फेरि प्रचारकार्य सुरु गर्नेछन्‌ भनेर पनि परमेश्‍वरले यूहन्‍नालाई बताउनुभएको थियो। (प्रका. ११:३, ७-११) यहोवाका साक्षीहरूको आधुनिक इतिहासले यी कुराहरू पूरा भए भनेर पुष्टि गर्छ।

      एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति अनि माटो र फलाम मिसिएको खुट्टा

      ७. जङ्‌गली जनावरको सातौं टाउको र विशाल मूर्तिबीच कस्तो सम्बन्ध छ?

      ७ जङ्‌गली जनावरको सातौं टाउको र विशाल मूर्तिबीच कस्तो सम्बन्ध छ? बेलायत रोमी साम्राज्यको भाग थियो। अनि बेलायतबाटै संयुक्‍त राज्य अमेरिका छुट्टिएको थियो। यसर्थ संयुक्‍त राज्य अमेरिका पनि अप्रत्यक्ष रूपमा रोमबाट निस्कियो भन्‍न सक्छौं। तर मूर्तिको खुट्टाबारे के भन्‍न सकिन्छ? मूर्तिको खुट्टा फलाम र माटो मिलेर बनेको छ भनेर वर्णन गरिएको छ। (दानियल २:४१-४३ पढ्‌नुहोस्‌) खुट्टाबारे गरिएको यो वर्णन जङ्‌गली जनावरको सातौं टाउको अर्थात्‌ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति प्रभुत्वमा आउने समयसित मेल खान्छ। माटो मिसिएको फलाम शुद्ध फलामजत्तिको बलियो हुँदैन। त्यसैगरि एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति जुन शक्‍तिबाट आएको थियो, त्यत्तिको बलियो छैन। कसरी?

      ८, ९. (क) सातौं विश्‍वशक्‍तिले फलामरूपी शक्‍ति कसरी देखायो? (ख) मूर्तिको खुट्टाको माटोले केलाई चित्रण गर्छ?

      ८ कहिलेकाहीं एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले फलामरूपी शक्‍ति प्रदर्शन गरेको छ। उदाहरणका लागि, प्रथम विश्‍वयुद्ध र दोस्रो विश्‍वयुद्ध जितेर त्यसले आफ्नो शक्‍ति प्रमाणित गऱ्‍यो अनि त्यसपछि पनि त्यसले थुप्रै पटक आफ्नो फलामरूपी शक्‍ति देखायो।c तर एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति अस्तित्वमा आएदेखि यता त्यो फलाम माटोसित मिसिएको छ।

      ९ यहोवाका सेवकहरूले लामो समयदेखि मूर्तिको खुट्टाको अर्थ बुझ्ने प्रयास गरेका छन्‌। फलाम र माटो मिलेर बनेको खुट्टालाई दानियल २:४१ मा एउटा “राज्य” भनिएको छ, धेरै राज्य होइन। त्यसकारण माटोले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले प्रभुत्व जमाएका इलाकाभित्र रहेका तत्त्वहरूलाई बुझाउँछ, जुन तत्त्वले यो विश्‍वशक्‍तिलाई फलामरूपी रोमी साम्राज्यभन्दा कमजोर बनाउँछ। माटोलाई “मानिसहरू” भनेर इङ्‌गित गरिएको छ। (दानि. २:४३, NRV) मानवअधिकार अभियानहरू, मजदुर युनियनहरू र स्वतन्त्रताको लागि गरिएका आन्दोलनहरूमार्फत मानिसहरूले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई कमजोर बनाएका छन्‌। सर्वसाधारणले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई फलामरूपी शक्‍ति प्रदर्शन गर्न गाह्रो बनाइदिएको छ। साथै पूरा बहुमत नहुँदा प्रख्यात नेताहरूले समेत आफ्नो नीति तर्जुमा गर्न सक्दैनन्‌ किनभने तिनीहरू चुनावमा एकदमै कम मत अन्तरले जित्छन्‌ अनि तिनीहरूको सिद्धान्त पनि अरू नेताहरूसित मेल खाँदैन। दानियलले यस्तो भविष्यवाणी गरे: “त्यो राज्य केही शक्‍तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने राज्य हुनेछ।”—दानि. २:४२; २ तिमो. ३:१-३.

      १०, ११. (क) “खुट्टा”-लाई भविष्यमा के हुनेछ? (ख) औंलाहरूको सङ्‌ख्याको सन्दर्भमा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

      १० अहिले २१ औं शताब्दीमा पनि बेलायत र संयुक्‍त राज्य अमेरिकाको मित्रता उत्तिकै प्रगाढ छ। तिनीहरू संसारका मामिलाहरूमा अक्सर सँगसँगै सहभागिता जनाउँछन्‌। विशाल मूर्ति र जङ्‌गली जनावरको भविष्यवाणीले सङ्‌केत गरेअनुसार एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिपछि अर्को कुनै विश्‍वशक्‍ति आउनेछैन। यो अन्तिम विश्‍वशक्‍ति, फलामले चित्रण गर्ने रोमभन्दा कमजोर भए तापनि यसको अन्त्य आफ-से-आफ हुनेछैन।

      ११ औंलाको सङ्‌ख्याको कुनै विशेष अर्थ छ? यो कुरा विचार गर्नुहोस्‌: दानियलले अरू दर्शनहरूमा विभिन्‍न सङ्‌ख्या तोकेरै उल्लेख गरेका छन्‌। जस्तै: तिनले जनावरको टाउकोमा भएका सिङहरूको सङ्‌ख्या तोकेरै उल्लेख गरेका छन्‌। ती सङ्‌ख्याहरूको खास अर्थ छ। तर दानियलले मूर्तिको खुट्टामा भएका औंलाहरूबारे वर्णन गर्दा त्यसको सङ्‌ख्या उल्लेख गरेका छैनन्‌। त्यसकारण मूर्तिको हात, गोडा, खुट्टाजस्ता अङ्‌गको सङ्‌ख्याको कुनै भविष्यसूचक अर्थ नभएजस्तै मूर्तिको औंलाको सङ्‌ख्याको पनि कुनै खास अर्थ छैन जस्तो देखिन्छ। तर दानियलले ती औंलाहरू फलाम र माटो मिलेर बनेको हुन्छ भनेर तोकेरै उल्लेख गरे। यस वर्णनबाट हामी यो निष्कर्षमा पुग्न सक्छौं: परमेश्‍वरको राज्यलाई प्रतिनिधित्व गर्ने “ढुङ्‌गा” मूर्तिको खुट्टामा बजारिंदा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले नै प्रभुत्व जमाइरहेको हुनेछ।—दानि. २:४४, ४५.

      एङ्‌ग्लो-अमेरिका अनि दुई सिङ भएको जङ्‌गली जनावर

      १२, १३. दुईवटा सिङ भएको जङ्‌गली जनावरले केलाई चित्रण गर्छ र त्यसले के गर्छ?

      १२ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति फलाम र माटो मिलेर बनेको भए तापनि येशूले यूहन्‍नालाई देखाउनुभएको दर्शनअनुसार यो विश्‍वशक्‍तिले अन्तको दिनसम्मै प्रमुख भूमिका खेलिरहनेथियो। कसरी? यूहन्‍नाले अजिङ्‌गरले झैं बोल्ने दुईवटा सिङ भएको जङ्‌गली जनावरको दर्शन देखे। त्यो अनौठो जनावरले केलाई चित्रण गर्छ? त्यसको दुईवटा सिङ छ। मतलब यो द्वय शक्‍ति हो। यो जनावरले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई नै चित्रण गर्छ तर यसपटक भने यसको भूमिका विशेष छ।—प्रकाश १३:११-१५ पढ्‌नुहोस्‌।

      १३ दुई सिङ भएको यो जनावरले मानिसहरूलाई सातवटा टाउको भएको जङ्‌गली जनावरको मूर्ति बनाउन लगाउँछ। यूहन्‍नाले लेखेअनुसार, त्यो जङ्‌गली जनावरको मूर्ति देखापर्नेछ, पछि हराउनेछ र फेरि देखापर्नेछ। बेलायत र संयुक्‍त राज्य अमेरिकाको विशेष साथ पाएको एउटा संस्थाको सन्दर्भमा ठ्याक्कै त्यस्तै भयो। त्यो संस्था संसारका राज्यहरूलाई एकत्रित गर्न र ती राज्यहरूको प्रतिनिधित्व गर्न स्थापना गरिएको थियो।d त्यो संस्था प्रथम विश्‍वयुद्धपछि राष्ट्र सङ्‌घको रूपमा देखापऱ्‍यो। तर दोस्रो विश्‍वयुद्ध सुरु भएपछि त्यो संस्था हरायो। प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएअनुसार जङ्‌गली जनावरको त्यो मूर्ति फेरि देखापर्नेछ भनेर परमेश्‍वरका जनहरूले दोस्रो विश्‍वयुद्धभरि प्रचार गरे। नभन्दै त्यस्तै भयो। त्यो संस्था संयुक्‍त राष्ट्र सङ्‌घको रूपमा फेरि देखापऱ्‍यो।—प्रका. १७:८.

      १४. जङ्‌गली जनावरको मूर्तिलाई कुन अर्थमा “आठौं राजा” भन्‍न सकिन्छ?

      १४ यूहन्‍नाले सातवटा टाउको भएको जङ्‌गली जनावरको मूर्तिलाई “आठौं राजा” भनी वर्णन गरे। तिनले यो मूर्तिलाई किन “राजा” भने? यो मूर्ति जङ्‌गली जनावरको आठौं टाउकोको रूपमा देखापरेको होइन; केवल यो त्यसको मूर्ति मात्र हो। यो मूर्तिले संयुक्‍त राष्ट्र सङ्‌घका सदस्य राष्ट्रहरूबाट शक्‍ति प्राप्त गर्छ, विशेषगरि एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिबाट। (प्रका. १७:१०, ११) यो मूर्तिले पूरै संसारलाई असर गर्ने कामकुराको अख्तियार पाएको कारण यूहन्‍नाले त्यसलाई “राजा” भनेका हुन्‌।

      जङ्‌गली जनावरको मूर्तिले त्यस वेश्‍यालाई नाश गर्छ

      १५, १६. वेश्‍याले केलाई चित्रण गर्छ र त्यसले पाउने समर्थन के भएको छ?

      १५ यूहन्‍नाले बताएअनुसार चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर अर्थात्‌ सातवटा टाउको भएको जङ्‌गली जनावरको मूर्तिमाथि प्रतीकात्मक वेश्‍या चढेकी छे। तिनलाई “महान्‌ बेबिलोन” भन्‍ने नाम दिइएको छ। (प्रका. १७:१-६) यो वेश्‍याले सम्पूर्ण झूटो धर्मलाई बुझाउँछ। विशेषगरि चर्चजगत्‌ यसको प्रमुख भाग हो। झूटो धर्मका सङ्‌गठनहरूले जङ्‌गली जनावरको यो मूर्तिलाई खुलेआम समर्थन गरेका छन्‌ र त्यसमाथि आफ्नो प्रभाव जमाउन खोजेका छन्‌।

      १६ महान्‌ बेबिलोनलाई “पानी”-माथि बसिरहेकी वेश्‍याको रूपमा वर्णन गरिएको छ। पानीले त्यसलाई समर्थन गर्ने मानिसहरूलाई बुझाउँछ। तर प्रभुको दिनमा मानिसहरूले त्यस वेश्‍यालाई पहिलाको जति समर्थन गरेका छैनन्‌। त्यसकारण प्रतीकात्मक अर्थमा त्यसको पानी ‘सुकेको छ’ भन्‍न सकिन्छ। (प्रका. १६:१२; १७:१५) उदाहरणका लागि, जङ्‌गली जनावरको मूर्ति पहिलो पटक देखा पर्दा चर्चजगत्‌ले पश्‍चिमी मुलुकहरूमा निकै प्रभाव जमाइरहेको थियो। तर अहिले चर्चले अनि त्यसका पादरीहरूले मानिसहरूबाट पाइरहेको सम्मान र समर्थन गुमाएका छन्‌। केहीले त संसारको समस्याको मुख्य जड नै धर्म हो भन्‍ने विश्‍वाससमेत गर्छन्‌। अरू कतिपयले भने समाजबाट धर्मको प्रभाव हटाउनुपर्छ भन्‍ने आवाज उठाउन थालेका छन्‌।

      १७. चाँडै नै झूटो धर्मलाई के हुनेछ र किन?

      १७ तर झूटो धर्म, शक्‍ति गुमाउँदै बिस्तारै हराएर जानेछैन। परमेश्‍वरले वेश्‍यालाई नाश गर्ने सोचाइ राजाहरूको मनमा नहालिदिएसम्म त्यसले आफ्नो प्रभुत्व कायमै राखिरहनेछ र राजाहरूलाई आफ्नो मुठीमा राख्न खोजी नै रहनेछ। (प्रकाश १७:१६, १७ पढ्‌नुहोस्‌) यहोवाले सैतानको संसारको राजनैतिक तत्त्वहरू चलाएर झूटो धर्ममाथि आक्रमण गर्नुहुनेछ। तिनीहरूले त्यो वेश्‍याको प्रभावलाई हटाउनेछन्‌ र त्यसका सारा धनसम्पत्ति नाश गर्नेछन्‌। केही वर्षअघिसम्म पनि मानिसहरू यस्तो घटना असम्भव छ भन्‍ने सोचाइ राख्थे। आज मानिसहरूको सोचाइमा परिवर्तन आएको छ। तर त्यो वेश्‍याले आफ्नो शक्‍ति बिस्तारै गुमाउनेछैन। त्यसको विनाश अचानक हुनेछ।—प्रका. १८:७, ८, १५-१९.

      जनावरहरूको विनाश

      १८. (क) जङ्‌गली जनावरले के गर्नेछ र त्यसको परिणाम कस्तो हुनेछ? (ख) दानियल २:४४ ले सङ्‌केत गरेअनुसार परमेश्‍वरको राज्यले कुन-कुन राज्यलाई नाश गर्नेछ? (पृष्ठ १७ मा भएको पेटी हेर्नुहोस्‌।)

      १८ झूटो धर्मको विनाशपछि जङ्‌गली जनावर अर्थात्‌ सैतानको पार्थिव राजनैतिक प्रणालीलाई परमेश्‍वरको राज्यमाथि आक्रमण गर्न उक्साइनेछ। पृथ्वीका राजाहरूले स्वर्गमा रहेको परमेश्‍वरको राज्यलाई आक्रमण गर्न सक्नेछैनन्‌, त्यसैले तिनीहरूले पृथ्वीमा रहेका त्यस राज्यका समर्थकहरूविरुद्ध लडाइँ गर्नेछन्‌। परिणामस्वरूप, परमेश्‍वरले ती राजाहरूसित अन्तिम पटक लडाइँ गर्नुहुनेछ। (प्रका. १६:१३-१६; १७:१२-१४) अन्तिम लडाइँको विषयमा दानियलले हामीलाई केही कुरा बताएका छन्‌। (दानियल २:४४ पढ्‌नुहोस्‌) प्रकाश १३:१ मा उल्लेख गरिएको जङ्‌गली जनावर, त्यसको मूर्ति अनि दुईवटा सिङ भएको जङ्‌गली जनावर सबै नै नाश हुनेछन्‌।

      १९. हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौं र अहिले के गर्ने समय हो?

      १९ हामी जङ्‌गली जनावरको सातौं टाउकोले प्रभुत्व जमाइरहेको समयमा बाँचिरहेका छौं। यो जनावर नाश हुनुअघि यसमा अर्को टाउको देखा पर्नेछैन। झूटो धर्मको विनाश हुँदा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले नै प्रभुत्व जमाइरहेको हुनेछ। दानियल र यूहन्‍नाले गरेको भविष्यवाणीको स-सानो अंश पनि पूरा हुँदै आएको छ। त्यसकारण झूटो धर्मको विनाश र आरमागेडोनको लडाइँ चाँडै हुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं। पछि हुने यी कुराहरूको रहस्य यहोवाले पहिल्यै खोलिदिनुभएको छ। तर के हामी यी भविष्यसूचक चेतावनीहरूमा ध्यान दिन्छौं? (२ पत्रु. १:१९) यहोवाको पक्ष लिने अनि उहाँको राज्यलाई समर्थन गर्ने समय अहिल्यै हो।—प्रका. १४:६, ७.

      [फुटनोटहरू]

      a बाइबलमा प्रयोग गरिएको दस सङ्‌ख्याले अक्सर पूर्णतालाई बुझाउँछ। यस प्रसङ्‌गमा दस सङ्‌ख्याले रोमी साम्राज्यबाट उत्पन्‍न भएका सम्पूर्ण राज्यलाई चित्रण गर्छ।

      b बेलायती साम्राज्य र संयुक्‍त राज्य अमेरिका दुवै १८ औं शताब्दीमै अस्तित्वमा आइसकेका थिए। तर यूहन्‍नाले देखेको दर्शनअनुसार प्रभुको दिन सुरु हुँदा मात्र यिनीहरूले एउटै विश्‍वशक्‍तिको रूपमा काम गर्नेथिए। प्रकाशको पुस्तकमा उल्लेख गरिएको दर्शन “प्रभुको दिनमा” पूरा भयो। (प्रका. १:१०) बेलायत र संयुक्‍त राज्य अमेरिकाले प्रथम विश्‍वयुद्धदेखि यता एउटै विश्‍वशक्‍तिको रूपमा काम गर्न थाले।

      c दानियलले भविष्यवाणी गरेझैं एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले दोस्रो विश्‍वयुद्धताका अवर्णनीय विध्वंस ल्यायो। (दानि. ८:२४) उदाहरणको लागि, यस विश्‍वशक्‍तिको शत्रुमाथि संयुक्‍त राज्य अमेरिकाले दुईवटा आणविक बम खसाल्यो। ती बमले पहिला कहिल्यै नपुऱ्‍याएको भयानक क्षति पुऱ्‍यायो।

      d प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताबको पृष्ठ २४०, २४१ र २५३ हेर्नुहोस्‌।

      [पृष्ठ १७-मा भएको पेटी]

      दानियल २:४४ मा उल्लेख गरिएको “यी सबै राज्यहरू”-ले केलाई बुझाउँछ?

      दानियल २:४४ मा परमेश्‍वरको राज्यले “यी सबै राज्यहरूलाई चकनाचुर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ” भनेर भविष्यवाणी गरिएको छ। यो भविष्यवाणीले विशाल मूर्तिको विभिन्‍न भागले चित्रण गर्ने राज्यहरूलाई मात्र बुझाउँछ।

      अरू मानव सरकारबारे चाहिं के भन्‍न सकिन्छ? प्रकाशको पुस्तकमा यो भविष्यवाणीसित मेल खाने अर्को भविष्यवाणी दिइएको छ। त्यसले हामीलाई यस विषयमा थप कुरा बुझ्न मदत गर्छ। त्यसमा बताइएअनुसार “पृथ्वीभरिका राजाहरू”-लाई “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको निम्ति” जम्मा गरिनेछ। (प्रका. १६:१४; १९:१९-२१) तसर्थ आरमागेडोनको लडाइँमा विशाल मूर्तिले चित्रण गर्ने राज्यहरू मात्र होइन, सबै मानव सरकारहरू नाश हुनेछन्‌।

  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा—२०१२ | जून १५
    • पाठकहरूको प्रश्‍न

      एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति बाइबल भविष्यवाणीको सातौं विश्‍वशक्‍तिको रूपमा कहिले देखापऱ्‍यो?

      ▪ राजा नबूकदनेसरले सपनामा देखेको धातुको विशाल मूर्तिले सबै विश्‍वशक्‍तिलाई चित्रण गर्दैन। (दानि. २:३१-४५) यसले परमेश्‍वरका जनहरूमाथि विशेष अर्थ राख्ने दानियलको समयदेखि यताको पाँचवटा विश्‍वशक्‍तिलाई मात्र चित्रण गर्छ।

      दानियलले धातुको मूर्तिको वर्णन गरेअनुसार एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति रोमबाटै उत्पन्‍न हुनेथियो, रोमलाई जितेर होइन। दानियलले मूर्तिको गोडा, खुट्टा र औंलामा फलाम देख्छन्‌। (तर खुट्टा र औंलामा भएको फलाम भने माटोसित मिसिएको छ।)a यस वर्णनले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति फलामको गोडाबाट निस्कने थियो भनेर सङ्‌केत गर्छ। यो वर्णन सही हो भनेर इतिहासले देखाउँछ। रोमी साम्राज्यको भागको रूपमा रहेको बेलायतले सन्‌ १७०० को अन्ततिरदेखि प्रभुत्व जमाउन थाल्यो। पछि संयुक्‍त राज्य अमेरिका पनि शक्‍तिशाली भयो। तथापि, बाइबल भविष्यवाणीको सातौं विश्‍वशक्‍ति अझै अस्तित्वमा आएको थिएन। किन? किनकि यसबेलासम्म पनि बेलायत र संयुक्‍त राज्य अमेरिकाले सँगै मिलेर कुनै खास भूमिका खेलेका थिएनन्‌। तर प्रथम विश्‍वयुद्धताका भने तिनीहरूले त्यस्तो भूमिका खेले।

      “राज्यका सन्तान”-हरूको मुख्यालय अमेरिकाको न्यु योर्कस्थित ब्रूक्लिनमा भएकोले त्यतिबेला तिनीहरू विशेषगरि अमेरिकामा सक्रिय थिए। (मत्ती १३:३६-४३) अभिषिक्‍त ख्रीष्टियनहरूले बेलायती साम्राज्यले प्रभुत्व जमाएका मुलुकहरूमा सक्रियताका साथ प्रचार गरिरहेका थिए। प्रथम विश्‍वयुद्धको दौडान बेलायत र अमेरिकाले आफ्नो राजनैतिक शत्रुसित लड्‌न विशेष सम्बन्ध गाँसे। साथै युद्धले गर्दा राष्ट्रियताको भाव सलबलाइरहेको अवस्थामा तिनीहरूले “स्त्री”-को सन्तानको भागप्रति घृणा प्रकट गरे। कसरी? स्त्रीका सन्तानहरूले प्रकाशन गरेका साहित्यहरूमा प्रतिबन्ध लगाएर अनि प्रचारकार्यमा नेतृत्व लिइरहेकाहरूलाई झ्यालखानामा हालेर।—प्रका. १२:१७.

      बाइबल भविष्यवाणीअनुसार, सन्‌ १७०० को अन्तमा बेलायत प्रभुत्वमा आँउदासम्म पनि सातौं विश्‍वशक्‍तिको स्थापना भएको थिएन। तर प्रभुको दिन सुरु हुँदा भने सातौं विश्‍वशक्‍ति खडा भयो।b

      [फुटनोटहरू]

      a फलामसित मिसिएको माटोले फलामरूपी एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति भित्रैका तत्त्वहरूलाई बुझाउँछ। समय बित्दै जाँदा, माटोरूपी त्यस्ता तत्त्वहरूले यस विश्‍वशक्‍तिलाई पहिला जत्तिको शक्‍तिशाली हुन दिएको छैन।

      b यो जानकारी दानियलको भविष्यवाणी किताब, पृष्ठ ५७, अनुच्छेद २४ अनि पृष्ठ ५६ र १३९ को तालिकामा छलफल गरिएको जानकारीभन्दा नयाँ जानकारी हो।

      [पृष्ठ १९-मा भएको चित्र]

      जून १९१८ मा वाचटावर मुख्यालयका आठ जना भाइहरूलाई झ्यालखानामा हालियो

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने