प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ६/८ पृ. २२-२३
  • चेरापुञ्जी पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चेरापुञ्जी पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • फेरि पानी पर्दैछ!
    ब्यूँझनुहोस्‌!—२००४
  • मायालु सृष्टिकर्ता हाम्रो ख्याल राख्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
ब्यूँझनुहोस्‌!—२००१
g०१ ६/८ पृ. २२-२३

चेरापुञ्जी पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ

भारतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ रे? यो कसरी हुनसक्छ? भारतका थुप्रै ठाउँमा पानीको अभाव हुने गर्छ र छाता भनेको त बोक्नु पनि पर्दैन! हामी यो कुन अचम्मको ठाउँबारे कुरा गर्दैछौं? चेरापुञ्जी। यो बंगलादेशको सिमाना नजिकै पर्ने भारतको उत्तरपूर्वी राज्य मेघालयको एउटा शहर हो। मेघालय असाध्यै राम्रो भएकोले यसलाई “पूर्वको स्कटल्याण्ड” पनि भनिन्छ। यसको नाउँको अर्थ हो, “मेघको आलय।” तर चेरापुञ्जीलाई किन पहिलेदेखि नै पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ मानिएको? आउनुहोस्‌, यो अद्‌भुत प्राकृतिक अचम्मको ठाउँमा छोटो यात्रा गरौं।a

हामी मेघालय राज्यको राजधानी सिलोङबाट यात्रा सुरु गर्दैछौं। टुरिस्ट बस चढेर दक्षिणतिर लाग्छौं। डाँडाकाँडा अनि खुला मैदान हुँदो जाँदा हामीलाई स्वागत गर्न पर्खिरहेका मेघले, यस ठाउँको नाउँ मेघालय हुनु कत्ति सुहाउँदो छ भनेर हामीलाई बारम्बार सम्झना दिलाइ रहन्छ।

हामी गहिरो खोचमा रूखले डम्म ढाकेको घुमाउरो बाटो हुँदो माथि उक्लन थाल्छौं। एकदमै उचाइबाट छङछङ गर्दै झरिरहेको झरना त्यस उपत्यकामा बग्ने नदीमा मिसिरहेको छ। हाम्रो बस माउडकमा रोकिंदा ती डाँडाहरूबाट सरर्र बग्दै गइरहेको बादल देख्छौं। तुरुन्तै ती मेघले सम्पूर्ण दृश्‍यलाई डम्मै छेक्छ अनि छिनभरमै हटेर छ्‌यांङ हुन्छ। केही छिनको लागि त हामी पनि मेघले ढाकिएर नरम सेतो कम्बलभित्रै बिलाउँछौं। तर तुरुन्तै बादल हटेर सूर्य चम्कँदा असाध्यै रोमाञ्चक दृश्‍य देखिन्छ।

चेरापुञ्जी, समुद्री सतहभन्दा १,३०० मिटरमाथि पर्छ। हामी त्यस शहरमा पुग्दा पानी पर्ने कुनै छाँटकाँट छैन र कसैले छाता पनि बोकिरहेका हुँदैनन्‌। हामी यात्रुहरूले मात्र पानी पर्लान्‌ भनेर छाता तयार राखेका छौं! तर कहिले पो पानी पर्ने हो?

महासागरको न्यानो भागबाट सूर्यले अत्यधिक मात्रामा पानीलाई वाष्पीकरण गरेपछि उष्ण प्रदेशमा धुमधाम वर्षा हुन्छ। हिन्द महासागरबाट निस्केको ओसिलो चिसो हावा हिमालय पर्वतहरूको दक्षिणी भीरमा ठोक्किएपछि मुसलधारे वर्षा हुन्छ। मेघालयको पठारमा यस्तो अत्यधिक वर्षा हुने गर्छ। त्यसबाहेक, यस अग्लो क्षेत्रमा दिउँसोको चर्को घामको तापले गर्दा पानी पार्ने मेघ आकासमै उडिरहन्छ र साँझमा चिसो नहोउञ्जेल यसै पठारमाथि डुलिरहेजस्तो देखिन्छ। राती धेरै पानी पर्नुको कारण यसैबाट प्रस्ट हुन्छ।

जुलाई १८६१ को दौडान चेरापुञ्जीमा ९३० सेन्टिमिटर पानी पर्दा अचम्मै भयो! अनि अगस्त १, १८६० देखि जुलाई ३१, १८६१ सम्म १२ महिनाभित्र २,६४६ सेन्टिमिटर पानी पऱ्‍यो। हाल चेरापुञ्जीमा वर्षको त्यस्तै १८० दिन जति पानी पर्छ। जूनदेखि सेप्टेम्बरसम्म यहाँ सबैभन्दा बढी वर्षा हुन्छ। यहाँ प्राय राती पानी पर्ने हुनाले पर्यटकहरू दिउँसो पानीले भिज्ने डर नलिइकनै घुमफिर गर्न सक्छन्‌।

त्यति धेरै वर्षा हुने यस प्रदेशमा पानीको अभाव हुन्छ भन्‍ने कुरा पत्याउनै गाह्रो छ। यद्यपि, प्रायः जाडो याममा यहाँ पानीको अभाव हुने गर्छ। त्यो आकासबाट झरेको पानीचाहिं कहाँ जान्छ त? चेरापुञ्जीको ठ्याक्कबाहिर पर्ने वनको बढ्‌दो विनाशले गर्दा त्यस उच्च पठारबाट पानी बगेर त्यतैतिर जान्छ र यो बंगलादेशतिर बग्ने नदीहरूमा मिसिन्छ। खोलाहरूमा बाँध बनाउने र जलाशयको निर्माण योजनाहरू अहिले विचाराधीन अवस्थामा छन्‌। तर मावसिनराम जातिका राजा जि. एस. मान्ज्याङका अनुसार “पानीको समस्या समाधान गर्न कुनै ठोस कदम चालिएका छैनन्‌।”

चेरापुञ्जीको भ्रमण साँच्चै उत्साहवर्धक अनि शिक्षामूलक भएको छ। यस ठाउँमा साह्रै रोमाञ्चक दृश्‍यहरू छन्‌! त्यहाँ ३०० विभिन्‍न जातका सुनाखरी फूललगायत अन्य थुप्रै सुन्दर फूलहरू पाइन्छन्‌ अनि कीराफटेंग्रा खाने विशेष प्रकारका बोटहरू पनि छन्‌। यसबाहेक, यहाँ थरीथरीका अचम्मलाग्दा वन्यजीवन अनि अन्वेषण गर्न चूनढुंगाले बनेका गुफाहरू छन्‌ भने परीक्षण गर्न लायक विशाल ढुंगाले बनेका स्मारकहरू पनि पाइन्छन्‌। यस क्षेत्रका विशाल सुन्तला बगानहरूले रसिला फल फलाउँछन्‌ र स्वादिलो सुन्तलाको जाम प्राकृतिक रूपमा उत्पादन गर्न पनि सम्भव बनाउँछ। यी सम्पूर्ण कुराले यात्रुहरूलाई पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ चेरापुञ्जी अनि “मेघको आलय” मेघालयमा पर्खिरहेको छ। (g01 5/8)

[फुटनोट]

a हवाइको टापु, कवाइमा माउन्ट वेयालीयल र चेरापुञ्जीबाट १६ किलोमिटर टाढा पर्ने मावसिनराम गाउँमा पनि चेरापुञ्जीमा पर्ने औसत पानीभन्दा बढी परेको रेकर्ड गरिएको छ।

[पृष्ठ २२-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भारत

चेरापुञ्जी

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ २३-मा भएको चित्र]

छङछङ गर्दै झरिरहेका झरनाहरू त्यस उपत्यकामा बग्ने नदीमा मिसिन्छन्‌

[पृष्ठ २३-मा भएको चित्र]

पृथ्वीको यस कुनामा कीराफटेंग्रा खाने यस जातिका विशेष प्रकारका बोटहरू पाइन्छ

[स्रोत]

Photograph by Matthew Miller

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने