प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १/८ पृ. २१-२२
  • तिथिरेखा पार गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिथिरेखा पार गर्दै
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नाविकहरूले आविष्कार गर्छन्‌
  • ऐतिहासिक विकास
  • यसको काम के हो
  • किशोरावस्थामा डेटिङ गर्दा के-कस्ता हानिहरू हुन्छन्‌?
    ब्यूँझनुहोस्‌!—२००२
  • के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
ब्यूँझनुहोस्‌!—२००२
g०२ १/८ पृ. २१-२२

तिथिरेखा पार गर्दै

विगत र भविष्यमा पुग्न तिथिमिति बाधक नबनोस्‌ भन्‍ने मानिसहरूको ठूलो चाहना छ। त्यसैकारण, मानिसहरू समयको कुनै रोकटोकविना दिनहुँ यात्रा गर्छन्‌ भन्‍ने कुरा थाह पाउँदा के तपाईंलाई अचम्म लाग्छ? कसैलाई भेट्‌न भनी टोकियोबाट न्युयोर्कतर्फ प्रस्थान गर्ने एक जना व्यापारीलाई विचार गर्नुहोस्‌। त्यस व्यापारी अपराह्नमा प्रस्थान गरेर कतै नरोकी आधा विश्‍वलाई परिक्रमा गरिसकेपछि सोही दिन बिहान आफ्नो गन्तव्यस्थान पुग्छन्‌ अर्थात्‌ आफू प्रस्थान गरेको समयभन्दा चाँडो आफ्नो उनी आफ्नो गन्तव्यस्थान पुगिसकेका हुन्छन्‌।

लामो दूरी यात्रा गरेर पनि आफू प्रस्थान गरेको समयभन्दा अघि पुग्नु के सम्भव छ र? वास्तवमा छैन। तर टाढा-टाढाका शहरहरूको आ-आफ्नै स्थानीय समय हुन्छ। वास्तवमा, पृथ्वीमा रहेको काल्पनिक रेखा अर्थात्‌ अन्तरराष्ट्रिय तिथिरेखा पार गर्नु भनेको त्यो सिमाना पार गर्नु हो जसले तिथि, मिति र बार फरक पर्न जान्छ। कस्तो अप्ठ्यारो कुरा! आफूले यात्रा गर्ने दिशाको आधारमा कि त तपाईंको समय खर्च हुन्छ वा बच्छ।

मानिलेऔं, टोकियोका ती व्यापारी मंगलबार राती न्यु योर्कबाट फर्कन्छन्‌। झन्डै १४ घण्टाको हवाइ यात्रापछि तिनी हवाइजहाजबाट बाहिर उत्रँदा जापानमा बिहीबार भइसकेको हुन्छ। पूरा एक दिन गायब हुँदा कस्तो अनौठो महसुस हुन्छ होला! एक जना अनुभवी यात्री अन्तरराष्ट्रिय तिथिरेखा पार गर्दाको आफ्नो पहिलो अनुभव यसरी सम्झन्छन्‌: “त्यो एक दिन कहाँ गायब भयो, मैले केही बुझ्नै सकिनँ। मलाई त छक्क लाग्यो।”

तिथिरेखाले यात्रीहरूलाई अलमल्लमा पारिदिने भएकोले, कसै-कसैलाई यसरी सीमा निर्धारण किन गर्नुपऱ्‍यो होला जस्तो लाग्न सक्छ।

नाविकहरूले आविष्कार गर्छन्‌

सन्‌ १५२२ तिरको इतिहासलाई फर्केर हेऱ्‍यौं भने, हामी तिथिरेखाको आवश्‍यकतालाई प्रस्टै बुझ्न सक्छौं। त्यतिबेला फर्डिनान्ड मेगालेनको टोलीले पहिलो पटक पूरै पृथ्वीको परिक्रमा गरेको थियो। तीन वर्षे समुद्री यात्रापछि सेप्टेम्बर ७, आइतबारको दिन तिनीहरू स्पेन पुगे। यद्यपि, तिनीहरूको यात्रा विवरण पुस्तकअनुसार त्यो दिन शनिबार, सेप्टेम्बर ६ थियो। किन यस्तो अन्तर? सूर्य अस्ताउने दिशा पछ्याउँदै विश्‍व भ्रमण गरेको कारण स्पेनका बासिन्दाहरूले देखेको तुलनामा तिनीहरूले एउटा सूर्योदय देख्न नपाएका रहेछन्‌।

लेखक जुल्स भर्नले अराउन्ड द वर्ल्ड इन एट्टी डेएज्‌ नामक आफ्नो उपन्यासमा यसै विषयवस्तुलाई ठीक उल्टा गरी आफ्नो उपन्यासको कथा बनाए। ठूलो धनराशिको पुरस्कार जित्न त्यस उपन्यासका मुख्य पात्रले ८० दिनभित्रमा पूरा विश्‍व भ्रमण गर्नु पर्ने थियो। आफ्नो त्यस साहसिक कार्यको अन्तमा उपन्यासका ती पात्र निराश भएर घर फर्के किनकि त्यो ठूलो धनराशिको पुरस्कार लिन तिनी एक दिन ढिलो पुगे वा तिनलाई त्यस्तो लागेको मात्र पनि हुन सक्थ्यो। तर वास्तवमा तोकेकै समयमा आफूले लक्ष्य हालिस गर्न सकेको कुरा थाह पाउँदा तिनी छक्क परे। उक्‍त उपन्यास यसो भन्छ, “फिलियास फगले चालै नपाई आफ्नो यात्रामा एक दिन बचाउन सके किनकि तिनले पूर्वपट्टिबाट मात्र त्यो यात्रा गरेका थिए।”

अन्तरराष्ट्रिय तिथिरेखाले गर्दा नै लेखक भर्नको कथाको अन्त्य रमाइलो भएको जस्तो देखिए तापनि सन्‌ १८७३ मा उक्‍त प्रसिद्ध उपन्यास प्रकाशन हुँदा त्यो तिथिरेखा थिएन। त्यतिबेलाका प्रमुख नाविकले प्रशान्त महासागर पार गर्दा क्यालेन्डरमा नियमित तवरले एक दिन मिलाउने गर्थे तर तिनीहरूको नक्सामा हालको तिथिरेखा खिचिएको थिएन। यो क्षेत्रीय समयको विश्‍वव्यापी प्रणाली लागू गर्नुअघिको कुरा थियो। यसरी, अलास्का रूसको अधीनमा रहँदा अलास्कावासीहरूले मस्कोवासीहरूले प्रयोग गर्ने तिथि-मिति नै प्रयोग गर्थे। तर सन्‌ १८६७ मा संयुक्‍त राज्य अमेरिकाले अलास्का क्षेत्र किनेपछि अलास्काले संयुक्‍त राज्य अमेरिकाको तिथि-मिति प्रयोग गरे।

ऐतिहासिक विकास

समयबारे यस्तै गोलमाल भइरहेको बेला अन्तरराष्ट्रिय प्रधान मध्याह्नरेखा विषयक गोष्ठीको लागि सन्‌ १८८४ मा २५ राष्ट्रका प्रतिनिधिहरू वासिङ्‌टन डि.सी.-मा भेला भए। तिनीहरूले २४ वटा क्षेत्रीय समयहरूको विश्‍वव्यापी प्रणाली स्थापना गरे र सबैले प्रधान मध्याह्नरेखा अर्थात्‌ बेलाइतको ग्रीनिच भन्‍ने ठाउँबाट खिचिएको देशान्तररेखामा सहमति जनाए।a पृथ्वीमा पूर्व-पश्‍चिम दूरी नाप्ने मुख्य केन्द्रबिन्दु नै यही भयो।

ग्रीनिचदेखि पृथ्वीको पूर्व वा पश्‍चिम-पट्टिको गोलार्धमा रहेको १२ वटा देशान्तरपछिको स्थान नै अन्तरराष्ट्रिय तिथिरेखाको लागि उपयुक्‍त देखियो। सन्‌ १८८४ मा बसेको बैठकले औपचारिक तवरमा पारित नगरे तापनि १८० डिग्रीको मध्याह्नरेखा उपयुक्‍त स्थानको रूपमा स्वीकृत भयो, किनकि यो तिथिरेखा कुनै पनि महादेश भएर जानेछैन भन्‍ने आश्‍वासन दिइएको थियो। आफू बसेको देशको एउटा भागमा आइतबार र अर्को भागमा चाहिं सोमबार भएमा कस्तो गोलमाल हुन्छ होला के तपाईं कल्पना गर्न सक्नुहुन्छ?

यदि तपाईंले विश्‍व मानचित्र वा ग्लोबमा हेर्नुभयो भने, १८० डिग्रीको मध्याह्नरेखा हवाइको पश्‍चिमतिर देख्नुहुनेछ। अन्तरराष्ट्रिय तिथिरेखा र मध्याह्नरेखा एकदमै फरक रहेछ भनेर तपाईंले झट्ट थाह पाइहाल्नुहुनेछ। कुनै पनि भूमि भएर नजान यो रेखा प्रशान्त महासागरबाट बाङ्‌गो-टिङ्‌गो भएर गएको छ। अनि यस तिथिरेखालाई कुनै अन्तरराष्ट्रिय सन्धिबाट नभई सामान्य समझदारीको आधारमा मात्र कायम गरिएको हुनाले, कुनै राष्ट्रको सानोतिनो कुरा नमिल्ने बित्तिकै यो परिवर्तन हुन सक्छ। उदाहरणका लागि, सन्‌ १९९५ मा थुप्रै द्वीपहरू हुँदै गएको अन्तरराष्ट्रिय तिथिरेखाले किरिबाटीको सुदुरपूर्वको टापुलाई पनि समावेश गर्ने कुरा किरिबाटीले घोषणा गऱ्‍यो। त्यसैकारण, अत्याधुनिक मानचित्रमा किरिबाटीका सबै टापुहरूलाई एकैपट्टिको तिथिरेखामा देखाइएको छ। त्यसैले, ती टापुहरूले पनि किरिबाटीकै तिथिमिति प्रयोग गर्छन्‌।

यसको काम के हो

तिथिरेखा पार गर्दा किन एक दिन थपिन्छ वा घटिन्छ भन्‍ने कुरालाई बुझ्न आफू जहाजबाट विश्‍व भ्रमण गरिरहेको कल्पना गर्नुहोस्‌। मानिलिनुहोस्‌, तपाईं पूर्वपट्टिबाट विश्‍व भ्रमण थाल्दै हुनुहुन्छ। हुन त, तपाईंलाई यस कुराको पत्तो नहुन सक्छ तर तपाईंले यात्राको दौडान प्रत्येक देशान्तर पार गर्दा एक-एक घण्टा थपिरहनुभएको हुनेछ। तपाईंले विश्‍व भ्रमण पूरा गरिसक्दा २४ वटा देशान्तर पार गरिसक्नुभएको हुनेछ। अन्तरराष्ट्रिय तिथिरेखा नभएमा तपाईं स्थानीय समयभन्दा एक दिनअघि पुग्नुहुनेछ। यस्तो अन्तरलाई अन्तरराष्ट्रिय तिथिरेखाले सच्याउँछ। अलिकति गोलमाल छ नि, हैन र? यसले गर्दा पो मेगालेनको टोली र काल्पनिक फिलियास फगले विश्‍व भ्रमण गर्दा मितिबारे गलत हिसाब-किताब गरेका रहेछन्‌!

यो रेखा पार गर्नेहरूले अचानक एक दिन गायब हुने र बढ्‌ने अनौठो अनुभव गरेकाछन्‌। तर अन्तरराष्ट्रिय तिथिरेखा नभइदिएको भए विश्‍व भ्रमण गर्नु अझै अलमल्ल हुने थियो। (g01 12/22)

[फुटनोट]

a क्षेत्रीय समय र देशान्तर रेखाबारे थप जानकारीको लागि “दोज युजफुल इम्याजनरी लाइन्स्‌” विषयक मार्च ८, १९९५ को अवेक! हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको रेखाचित्र/नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मार्च | मार्च

२ | १

[पृष्ठ २२-मा भएको चित्र]

माथि: ग्रीनिच रोएल अभजरभेटरी दाँया: यस बाटुलो ढुंगाको रेखाले प्रधान मध्याह्नरेखालाई चिन्हित गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने