आफ्नो लक्ष्यसम्म पुग्न कटिबद्ध
मार्था चाभेस सेरनाको वृत्तान्तमा आधारित
सोह्र वर्षको उमेरमा, एक दिन घरमा काम गर्दागर्दै म बेहोस भएँ। होसमा आउँदा म पलङमा थिएँ। म त अलमल्लमा परें र टाउको कटकट दुखिरहेको कारण केही समयसम्म मैले न देख्न सकें न सुन्न। मलाई साह्रै डर लाग्यो। मलाई के भएको थियो?
मेरा चिन्तित आमाबुबाले मलाई डाक्टरकहाँ लैजानुभयो, जसले मलाई भिटामिन खाने सुझाव दिइन्। अनिदो बसेको कारण त्यसरी मूर्छा परेको हो भनेर डाक्टरले बताइन्। केही महिनापछि म फेरि मूर्छा परें र तेस्रो पटक पनि त्यस्तै भयो। हामी अर्को डाक्टरकहाँ जँचाउन गयौं, जसले नसासम्बन्धी रोगको कारण यस्तो भएको हुनुपर्छ भनी निदान गर्नुका साथै मलाई पीडा कम गर्ने ट्रान्क्विलाइजर दिए।
तथापि, मूर्छा पर्ने क्रम झन्-झन् तीव्र हुन थाल्यो। घरी-घरी बेहोस हुँदा म भुइँमा पछारिन्थें र चोटपटक पनि लाग्थ्यो। कहिलेकाहीं त म आफ्नै जिब्रो अनि मुखभित्र जताततै टोक्थें। होस फर्केपछि कटकट टाउको दुख्थ्यो र वाकवाक लाग्थ्यो। पूरै जीउ दुख्थ्यो र मूर्छा पर्नुअघि के-के भएको थियो, सो सम्झिन सक्दिनथें। सन्चो हुन एक वा दुई दिन जति आराम गर्नुपर्थ्यो। तैपनि, म चाँडै निको भइहाल्छु जस्तो लाग्थ्यो।
मेरा लक्ष्यहरूमा परेको असर
म सानै छँदा मेरो परिवारले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेको थियो। हामीलाई अध्ययन गराउने व्यक्तिहरू दुई जना विशेष अग्रगामी अथवा अरूलाई बाइबलको सत्य कुरा सिकाउन हरेक महिना धेरैभन्दा धेरै घण्टा बिताउने पूर्ण-समय सेवकहरू थिए। आफ्नो सेवकाईको कारण ती अग्रगामीहरू आनन्दित भएको मैले याद गरें। आफ्ना शिक्षिका तथा सहपाठीहरूलाई बाइबलका प्रतिज्ञाहरूबारे बताउँदा मैले पनि त्यस्तै आनन्द महसुस गर्न थालें।
धेरै समय नबित्दै मेरो परिवारका धेरै जना यहोवाका साक्षी भए। सुसमाचार प्रचार गर्न पाउँदा साह्रै आनन्द लाग्थ्यो! सात वर्षको उमेरमा त मैले विशेष अग्रगामी हुने लक्ष्य राखिसकेकी थिएँ। सोह्र वर्षको उमेरमा बप्तिस्मा लिएर मैले त्यस लक्ष्यतर्फ एउटा ठूलै कदम चालें। तर त्यसपछि मूर्छा पर्ने बिमार सुरु भयो।
अग्रगामी सेवा
शारीरिक समस्याहरूको बावजुद मलाई आफू यहोवाका साक्षीहरूको एक जना पूर्ण-समय सेवक बन्न सक्छु भन्ने लागिरह्यो। तर हप्ताको दुई चोटि जस्तो म मूर्छा पर्ने भएकोले मण्डलीका कसै-कसैले यस्तो गहन जिम्मेवारी वहन नगर्न सुझाव दिए। मलाई साह्रै खल्लो लाग्यो र निराश पनि भएँ। तथापि, केही समयपछि मेक्सिकोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा कार्यरत एक विवाहित दम्पती हाम्रो मण्डलीमा आउनुभयो। अग्रगामी बन्ने मेरो चाहनाबारे थाह पाउनुभएपछि उहाँहरूले मलाई धेरै प्रोत्साहन दिनुभयो। म बिमारी भए तापनि अग्रगामी गर्न नसक्ने कारणै छैन भनेर उहाँहरूले मलाई विश्वस्त पार्नुभयो।
त्यसैकारण, सन् १९८८ को सेप्टेम्बर १ तारिख मेक्सिकोको सान आन्ड्रेस चिऔट्ला भन्ने आफ्नै गृहनगरमा नियमित अग्रगामीको रूपमा काम गर्न म नियुक्त भएँ। सुसमाचार प्रचार गरेर मैले हरेक महिना धेरैभन्दा धेरै घण्टा बिताएँ। मूर्छा पर्दा सेवकाईमा जान नसकेको बेला म त्यस इलाकाका मानिसहरूलाई धर्मशास्त्रीय विषयमा पत्रहरू लेख्थें र बाइबल अध्ययन गर्न लिखित प्रोत्साहन दिन्थें।
मेरो रोग निदान भयो
निकै खर्च गरेर मेरा आमाबुबाले मलाई नसासम्बन्धी डाक्टरकहाँ लैजानुभयो। मलाई लागेको रोग छारेरोग हो भनी डाक्टरले निदान गरे। त्यतिखेर पाएको उपचारको कारण लगभग चार वर्षसम्म मेरो रोग बल्झिएन। त्यस अवधिमा म पायनियर सर्भिस स्कूलमा उपस्थित हुन सकें र त्यस स्कूलबाट पाएको प्रोत्साहनले प्रचारकहरूको बढी खाँचो भएको ठाउँमा सेवा गर्ने मेरो चाहना झनै बढ्यो।
आफ्नो सेवा विस्तार गर्ने मेरो उत्कट चाहनाबारे मेरा आमाबुबालाई थाह थियो। मेरो रोग केही हदसम्म ठीक भएको कारण उहाँहरूले मलाई घरदेखि लगभग २०० किलोमिटर टाढामा पर्ने मिचोआकन स्टेटस्थित जिटाकुवारो जाने अनुमति दिनुभयो। अरू अग्रगामीहरू सँगसँगै त्यस असाइनमेन्टमा लाग्दा पूर्ण-समय सेवालाई अझ बढी मूल्यवान् ठान्न मैले मदत पाएँ।
तथापि, जिटाकुवारोमा दुई वर्ष सेवा गरिसकेपछि मूर्छा पर्ने रोग फेरि बल्झियो। म आफ्ना आमाबुबाको घर फर्किएँ। त्यहाँ छँदा म साह्रै निराश र दुःखी भएँ अनि मलाई औषधोपचारको खाँचो पऱ्यो। म नसासम्बन्धी डाक्टरकहाँ जँचाउन गएँ र मैले लिइरहेको औषधीले मेरो कलेजोलाई हानि पुऱ्याइरहेको छ भनी तिनले निदान गरे। मैले उपचार गर्ने अन्य तरिकाहरू खोज्न थालें किनभने विशेषज्ञको परामर्श लिएर उपचार गर्ने अब हामीसित औकात थिएन। दिनदिनै मेरो अवस्था नाजुक बन्दै गएको कारण मैले अग्रगामी काम छोड्नुपऱ्यो। मूर्छा पर्नु मेरो प्रगतिपथको एउटा बाधा थियो। तर भजनसंग्रहको किताब पढेर प्रार्थनामार्फत यहोवालाई मदत माग्दा उहाँले मलाई सान्त्वना र बल दिनुभएको मैले महसुस गरें।—भजन ९४:१७-१९.
आफ्नो लक्ष्यसम्म पुगिछाडें
रोगले एकदमै च्यापेको बेला म दिनको दुई चोटि मूर्छा पर्थें। त्यसपछि म आमूल परिवर्तनको मोडमा पुगें। एक जना डाक्टरले मलाई लागेको छारेरोगको निकै राम्रो उपचार गरिदिए, जसको फलस्वरूप मैले लामो समयसम्म आराम महसुस गर्न सकें। त्यसकारण, सन् १९९५ को सेप्टेम्बर १ तारिखदेखि मैले फेरि अग्रगामी सेवा सुरु गरें। मेरो स्वास्थ्यस्थिति राम्रो रहिरह्यो। त्यसैले, दुई वर्षसम्म एक चोटि पनि छारेरोगको कारण मूर्छा नपरेकोले मैले विशेष अग्रगामीको रूपमा सेवा गर्न आवेदन फाराम बुझाएँ। विशेष अग्रगामी गर्नुको अर्थ सेवकाईमा धेरैभन्दा धेरै समय बिताउनु र आवश्यकता भएको कुनै पनि ठाउँमा सेवा गर्न जानु थियो। विशेष अग्रगामीको नियुक्ति पत्र पाउँदा मैले कस्तो महसुस गरें होला, कल्पना गर्नुहोस् त! हो, सानो छँदा राखेको लक्ष्यसम्म म पुगिछाडें।
सन् २००१ को अप्रिल १ तारिख इडाल्गो स्टेटको सियेरा भन्ने बस्तीमा मैले आफ्नो नयाँ असाइनमेन्ट सुरु गरें। अहिले म ग्वानाहोतो स्टेटको एउटा सानो सहरमा सेवा गरिरहेकी छु। औषधी खान र पर्याप्त मात्रामा आराम गर्न मैले निकै होस पुऱ्याउनुपर्छ। खानपिनको सन्दर्भमा म निकै ध्यान दिन्छु, अझ बोसो, क्याफिन र क्यान फूड त खाँदै-खाँदिनँ। रिस अथवा अचाक्ली फिक्रीजस्ता प्रबल आवेगमा नआउने पनि म कोसिस गर्छु। तर सजग रहनुपर्ने यस्तो बानीले मलाई फाइदै भएको छ। विशेष अग्रगामीको रूपमा सेवा गर्दा म एक चोटि मात्रै मूर्छा परेकी छु।
अविवाहित हुनुका साथै पारिवारिक जिम्मेवारीहरू पनि नभएकाले आजसम्म विशेष अग्रगामीको रूपमा सेवा गर्न पाएकोमा म अत्यन्त खुसी छु। ‘हाम्रो काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ हामीले देखाएका छौं, सो बिर्सनालाई यहोवा अधर्मी हुनुहुन्न’ भन्ने कुरा थाह पाउँदा म ढुक्क महसुस गर्छु। यहोवा कत्ति मायालु हुनुहुन्छ किनभने हामीले दिन नसक्ने कुरा उहाँ माग गर्नुहुन्न! त्यस तथ्यलाई मानिलिएको कारण मैले आफ्नो सोचाइलाई सन्तुलनमा राख्न सकेकी छु किनकि अस्वस्थताको कारण फेरि अग्रगामी गर्न छोड्नुपऱ्यो भने पनि यहोवा मेरो तनमनको सेवासित प्रसन्न हुनुहुनेछ भन्ने कुरा मलाई थाह छ।—हिब्रू ६:१०; कलस्सी ३:२३.
निस्सन्देह, हरेक दिन आफ्नो विश्वासबारे अरूलाई बताउँदा म आध्यात्मिक तवरमा बलियो हुन्छु। यसले मलाई परमेश्वरले साँचेर राख्नुभएका भावी आशिष्हरूलाई मनमा ताजा राखिराख्न पनि मदत गर्छ। नयाँ संसारमा बिरामी, “रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका [हुनेछन्]” भनी बाइबलमा प्रतिज्ञा गरिएको छ।—प्रकाश २१:३, ४; यशैया ३३:२४; २ पत्रुस ३:१३. (g05 6/22)
[पृष्ठ २६-मा भएको चित्र]
लगभग ७ वर्षको हुँदा (माथि); लगभग १६ वर्षको हुँदा, बप्तिस्मा लिएको केही समयपछि
[पृष्ठ २७-मा भएको चित्र]
साथीसित प्रचार गर्दै