प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ८/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बच्चाहरूले सङ्‌गीत चिन्‍न सक्छन्‌
  • गाडी चलाउँदाको शान्तमय वातावरण र सुरक्षा
  • ठगी विवाह
  • सूर्य र गर्भवती आमा
  • किटाणुहरूबारे चिन्तित हुनुहुन्छ?
  • पढ्‌दा स्मरणशक्‍ति तेजिलो हुन्छ
  • एस एम एस-को वृद्धि
  • हल्ला गर्ने खेलौनादेखि होसियार रहनुहोस्‌
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००५
g05 ८/८ पृ. २८-२९

विश्‍वदर्शन

बच्चाहरूले सङ्‌गीत चिन्‍न सक्छन्‌

“बच्चाहरूले भाषा सिक्नुअघि नै सङ्‌गीत चिन्‍न सक्ने तीक्ष्ण क्षमता देखाउँछन्‌” भनी साइन्टिफिक अमेरिकन भन्‍ने पत्रिका बताउँछ। उक्‍त रिपोर्टअनुसार बच्चाहरूले सङ्‌गीतको उतारचढाव अनि ताल र लयबीचको भिन्‍नता छुट्याउन सक्छन्‌। बेग्लै सुरमा बजाइएको ताल पनि तिनीहरूले छुट्याउन सक्छन्‌। भर्खर दुई महिना पुगेका बच्चाहरूले समेत बेसुर धुनलाई नभई सुर मिलेको धुनलाई रुचाएको देखियो। उक्‍त रिपोर्ट यसो भन्छ, “जन्मनुभन्दा दुई हप्ताअघिका भ्रुणले आफ्नी आमाले दिनहुँ सुनेकी लोकप्रिय टिभी कार्यक्रमको शीर्ष धुन र आफूले नसुनेको गीतबीचको भिन्‍नता छुट्याएको देखियो भनी बेल्फास्टको क्वीन्स्‌ विश्‍वविद्यालयका पिटर हेपरले पत्ता लगाए।” (g05 6/22)

गाडी चलाउँदाको शान्तमय वातावरण र सुरक्षा

“गाडीमा यात्रा गर्ने व्यक्‍तिहरूले कुनै पनि हालतमा झगडा गरेर तनाव सृजना गर्नु हुँदैन” भनी जर्मनीको प्राविधिक सुपरिवेक्षण संघ टुभले चेतावनी दिन्छ र यसबारे बर्लिनर मोर्गेनपोस्ट भन्‍ने अखबारमा रिपोर्ट गरिएको थियो। “किनभने चालै नपाईकन ड्राइभर एकदमै आक्रोशित हुन सक्छ अनि यसले गर्दा दुर्घटना हुने सम्भावना बढ्‌छ।” “गाडीमा झगडाको वातावरण” सृजना हुँदा अवस्था एक्कासी खतरनाक हुन सक्छ किनभने गाडीमा बसिरहेका व्यक्‍तिहरू त्यो ठाउँ छोडेर अन्त कतै जान सम्भव हुँदैन भनेर उक्‍त लेख बताउँछ। त्यसकारण गाडीमा यात्रा गरिरहेका व्यक्‍तिहरूले अरूलाई रिस उठाएर भनाभन हुन सक्ने विषयहरूबारे कुरा नगर्नु नै बेस हुन्छ भन्‍ने सुझाव दिइएको छ। गाडीमा यात्रा गरिरहेका सबै व्यक्‍तिहरूले आफूलाई एउटै लक्ष्य बोकेको एउटा टोलीको सदस्य ठान्‍नुपर्छ। उक्‍त लेख यस्तो सल्लाह दिन्छ: “यात्रा सुरु गर्नुअघि नै, ड्राइभरसँगैको सिटमा बस्ने व्यक्‍तिले बाटो देखाउन, रेडियो बजाउन वा कठिन परिस्थिति आइपर्दा कसरी सघाउने भनेर पहिल्यै कुरा मिलाइसकेको हुनुपर्छ।” (g05 6/22)

ठगी विवाह

दक्षिण अफ्रिकाका ३,००० भन्दा बढी महिलाहरूलाई झुक्याएर “विवाह” गरिएको छ भनी जोहानेसवर्गको सोवेटान भन्‍ने अखबार रिपोर्ट गर्छ। यस्तै एउटा ठगी कारोबारमा महिलाहरू जागिरको लागि सम्झौतापत्र भन्ठानेर हस्ताक्षर गर्छन्‌ तर वास्तवमा तिनीहरूले विवाह प्रमाणपत्रमा हस्ताक्षर गरिरहेका हुन्छन्‌। यस्तो प्रमाणपत्र प्राप्त गरेपछि विदेशी “दुलहा” त्यस देशमा स्थायी बसोबास गर्न सक्छन्‌। यस्तो छल गरिएको रहेछ भनेर “दुलहीले” त्यतिबेला मात्र थाह पाउन सक्छे जब तिनले आफ्ना हराएका कागजातको लागि निवेदन दिंदा आफ्नो थर परिवर्तन भइसकेको वा आफूले साँच्चै विवाह गरेको दिन दर्ता गराउन जाँदा आफ्नो विवाह भइसकेको थाह पाउँछिन्‌! यस्तो “विवाह” रद्द गर्न निकै झन्झटिलो हुन सक्छ। तैपनि झुक्याएर गरिएको यस्तो विवाह रद्द गर्न लगभग २,००० जति महिलाहरू सफल भएका छन्‌। यस्तो छलछाम रोक्न बनाइएको एउटा नयाँ नियमअनुसार विदेशी पतिहरूले स्थायी बसोबासको लागि निवेदन गर्नुअघि पाँच वर्ष पर्खनुपर्छ। (g05 5/22)

सूर्य र गर्भवती आमा

अस्ट्रेलियाको सन-हेरल्ड अखबार यस्तो रिपोर्ट गर्छ: “गर्भवती महिलाहरूको शरीरमा भिटामिन डी कति पाइन्छ भनेर गरिएको अध्ययनले थुप्रै महिलाहरूमा यो भिटामिन एकदमै कम भएको अनि यसले तिनीहरूको गर्भमा भएका शिशुलाई खतरासमेत पुऱ्‍याउन सक्ने पाइयो।” भिटामिन डी कमी भएका बच्चाहरूको खुट्टा बाङ्‌गो हुने, छारे रोग लाग्ने अनि रिकेट्‌सजस्ता हड्डीसम्बन्धी रोगहरू लाग्न सक्ने सम्भावना हुन्छ। जम्मा १,००० जना गर्भवती महिलाहरूको सेन्ट जर्ज हस्पिटलमा गरिएको सर्वेक्षणअनुसार “सेतो वर्ण भएका १० जनामध्ये एक जनाको र कालो वर्ण भएका पाँच जनामध्ये एक जनाको भिटामिन डी कमी भएको पाइयो।” यो समस्या समाधान गर्ने उपाय सजिलो छ। चर्को नभई ठीक्क घाम लागेको बेला घाममा बस्दा मानिसहरूले आफूलाई चाहिने ९० प्रतिशत जति भिटामिन डी उत्पादन गर्छन्‌। उक्‍त अखबार यसो भन्छ: “पर्याप्त मात्रामा भिटामिन डी पाउनको लागि प्रतिदिन १० मिनेट वा प्रतिहप्ता एक घण्टा घाममा बस्नु प्रायजसो महिलाहरूको लागि पर्याप्त हुन्छ।” (g05 6/22)

किटाणुहरूबारे चिन्तित हुनुहुन्छ?

“किटाणुरहित घरको कल्पना गर्नु मनासिब नहुने मात्र होइन तर असम्भवै हो” भनी न्यु योर्क टाइम्स-मा प्रकाशित एउटा लेख बताउँछ। “तपाईं वृद्ध व्यक्‍ति, सानो बच्चा (छ महिनाभन्दा सानो) वा असाध्यै बिरामी व्यक्‍तिसित सँगै एउटै घरमा बस्नुहुन्‍न भने भान्छाको टेबल, ढोकाको ह्‍याण्डल वा चम्चामा हुने ब्याक्टेरियाहरू” तिनीहरूको स्वास्थ्यको लागि “कुनै खतरा होइन।” हुन त, बिग्रन सक्ने खानेकुरा नछोपी केही घण्टासम्म खुल्लै छोडियो भने ब्याक्टेरियाले गर्दा खाना बिग्रन सक्छ अनि त्यस्तो खाना खाँदा बिरामी हुन सक्छ। यसो हुन नदिन बिग्रन सक्ने खानाहरू फ्रिजमा राख्नुहोस्‌। आफूलाई ब्याक्टेरियाबाट सुरक्षित राख्ने सन्दर्भमा भने ब्याक्टेरिया प्रतिरोधी सामान चलाउनु आवश्‍यक छैन। उक्‍त अखबार यसो भन्छ, “दिनमा केही पटक साबुन पानीले आफ्नो हात धुनुहोस्‌, योभन्दा बढी गर्नु आवश्‍यक छैन।” (g05 7/8)

पढ्‌दा स्मरणशक्‍ति तेजिलो हुन्छ

तपाईं आफ्नो स्मरणशक्‍ति कसरी तेजिलो बनाउन सक्नुहुन्छ? ब्राजिलको फोल्या अनलाइन यसो भन्छ: “कुनै चमत्कारको आशा नगर्नुहोस्‌, तपाईंको स्मरणशक्‍ति बढाउने तरिका भनेको आफ्नो मस्तिष्कलाई चलाएर हो।” तपाईंको मस्तिष्कलाई सक्रिय बनाउने सबैभन्दा राम्रो तरिका भनेको पढेर हो। कसरी? स्नायुविद्‌ इभान एस्क्येरडो यसो भन्छन्‌: “कुनै एक जना व्यक्‍तिले ‘रूख’ भन्‍ने शब्द पढिसिध्याउने बित्तिकै आफूले अहिलेसम्म थाह पाएका सबै रूखहरूबारे क्षणभरमै सम्झन थाल्छ।” एस्क्येरडोअनुसार “यो सबै चालै नपाईकन हुन्छ।” तिनको विचारमा यस्तो किसिमले मस्तिष्क चलाउँदा अल्जाइमरजस्ता रोगहरू लाग्ने सम्भावना कम हुन्छ। ब्राजिलको साउ पाउलोस्थित स्मरणशक्‍तिसम्बन्धी अनुसन्धान केन्द्रका स्नायुविद्‌ भाग्नर गाटास्‌ यसो भन्छन्‌: “हामी आफ्नो मस्तिष्क जति बढी चलाउँछौं, त्यति नै चनाखो हुन्छौं।” (g05 7/8)

एस एम एस-को वृद्धि

इन्टरनेसनल हेरल्ड ट्रिब्युन यसो भन्छ: “संसारभरि वर्षेनी ३६० अरबभन्दा बढी टेक्स्ट मेसेज आदानप्रदान गरिन्छ। यो संख्या हिसाब गर्ने हो भने प्रतिदिन सालाखाला एक अरब छोटो मेसेज हो” शर्ट मेसेज सर्भिस अर्थात्‌ एस एम एस-को प्रयोग झन्‌-झन्‌ बढिरहेको छ। आफ्ना उत्पादन बिक्री गर्नको लागि सम्भाव्य ग्राहकहरूको मोबाइलमा एस एम एस पठाउने कम्पनीहरूको संख्या बढ्‌दो छ। उदाहरणका लागि, अहिले मानिसहरूले पोपको प्रार्थना पनि आफ्नो मोबाइल फोनमै पढ्‌न सक्छन्‌। नेदरल्याण्डस्‌का प्रहरीले चोरिएका मोबाइल टेलिफोनहरूमा उक्‍त फोन चोरी भएको छ भन्‍ने मेसेज पठाएर ती मोबाइल किन्‍न सक्ने व्यक्‍तिहरूलाई सजग गराउँछन्‌। अनि “तलाक” भनी तीन चोटि भनेर सम्बन्ध विच्छेद गर्न सक्ने धार्मिक नियमहरू भएका कुनै-कुनै मुलुकहरूमा एस एम एस मार्फत सम्बन्ध विच्छेद गर्न सकिन्छ। (g05 7/8)

हल्ला गर्ने खेलौनादेखि होसियार रहनुहोस्‌

“हल्ला गर्ने खेलौनाले बच्चाहरूको सुन्‍ने क्षमतालाई हानि गर्न सक्छ” भनी टोरन्टो स्टार भन्‍ने अखबार बताउँछ। “तीन वर्षमुनिका बच्चाहरूको लागि बनाइएको ४० वटा खेलौनामध्ये कम्तीमा २५ वटा खेलौनाको आवाज साना बच्चाहरूको कानलाई बिगार्न सक्ने किसिमको” पाइयो भनी श्रवणसम्बन्धी क्यानेडियाली विशेषज्ञहरूले पत्ता लगाएको कुरा उक्‍त अखबार बताउँछ। खेलौना मोबाइल फोनको आवाज एकदमै चर्को अर्थात्‌ ११५ डेसिबल भएको पाइयो। श्रवण विशेषज्ञ रिचर्ड लारोकअनुसार यो आवाज “हवाईजहाजको भन्दा सानो तर अधिकांश डिस्कोहरूको आवाजभन्दा चर्को छ।” हेल्थ क्यानाडाले हाल अनुमति दिएको आवाज १०० डेसिबल हो। यो अध्ययनअनुसार “८७ डेसिबलको आवाज ३० मिनेटसम्म सुन्दा सुन्‍ने क्षमतामा त्यति हानि पुग्दैन” भनी उक्‍त लेखले बतायो। (g05 7/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने