मेक्सिकोका कैदीहरूलाई सपार्ने कदम
मेक्सिकोका ब्यूँझनुहोस्! लेखकद्वारा
भनिन्छ, सपार्नैकै लागि अपराधीहरूलाई जेल हालिन्छ। तर जेल हाल्दैमा कैदी सप्रने होइन। सप्रिने चाहना त मनभित्र पलाउनुपर्छ। विगतका आफ्ना गल्तीहरूप्रति दुःख मान्नुपर्छ। तब मात्र ऊ कुकर्म त्यागी सुकर्म गर्न अभिप्रेरित हुन्छ। विश्वभर थुप्रै जेलहरूमा यहोवाका साक्षीहरूले बाइबल सिकाएरै कैदीहरूमा सुधार ल्याएका छन्। यो कार्य मेक्सिकोमा चाहिं कसरी सम्पन्न भएको छ, विचार गरौं।
यहोवाका साक्षीहरूको कदम मेक्सिकोका १५० वटा जेलहरूतिर अघि बढ्छ र कैदीहरूलाई बाइबलबाट नैतिक पाठ र सिद्धान्तहरू सिकाउँछन्। जस्तै, चिवावा राज्यको स्युडड् ह्वरेसस्थित सुधारगृहमा साक्षीहरू नियमित धाएर करिब १,२०० कैदीहरूलाई प्रचार गर्छन्। त्यहाँका कैदीहरू साक्षीहरूको ठूलो इज्जत गर्छन्। साक्षीहरूलाई अप्ठ्याराहरूबाट जोगाउनसमेत पछि हट्दैनन्। जस्तो कि, एक पटक जेलमा हुलदङ्गा मच्चियो। तर हुलदङ्गा गर्ने केही कैदीहरूले नै उत्तेजित भीडलाई साम्य पारे। किन? साक्षीहरूलाई सकुशल बाहिर पठाउनकै लागि।
थुप्रै जेलका कैदी र अधिकारीहरूलाई मे ८, २००१ को अवेक! एकदमै मन पऱ्यो। यस अंकको आवरण विषय थियो: “के कैदीहरूलाई सपार्न सकिएला?” बाह्र जना साक्षीले सन ल्वीस रियो कोलोराडोस्थित सुधारगृहमा यस पत्रिकाको २,१४९ प्रति वितरण गरे।
बाइबल सिक्न मन पराउनेहरू छन् भने साक्षीहरू हप्तैपिच्छे गएर सिकाउँछन् र धार्मिक कार्यक्रमसमेत गर्छन्। तर बाइबल सिकाएरै कैदीहरूलाई कतिसम्म सुधार्न सकियो त?
कैदीहरू यहोवाका साक्षी बन्छन्
बीस वसन्त पनि पार नगर्दै जर्जले आफूलाई कुकर्मको दलदलमा होमिसकेका थिए। ईस्लस मरियसको सुधारगृहमा १३ वर्ष बिताएपछि तिनी छुटे। तर फेरि लागूपदार्थ ओसारपसारको धन्धामा फँसे। तिनी अरूको इशारामा मान्छे मार्थे। हत्या गर्नु त तिनको पेशा नै थियो। यसरी हत्याको कुमार्गमा लम्किंदै जाँदा तिनले ३२ हत्या गरिसकेका थिए। तिनी फेरि जेल परे। आपराधिक गिरोहका नाइकेहरू तिनलाई छुटाउन तत्पर थिए। यो कुरा तिनलाई तिनकै वकिलले बताए। तिनलाई छुटाउन ती नाइकेहरू पैसाको खोला नै बगाउन तयार थिए। किन? फेरि अर्को हत्या गराउन। तर अहिले त जर्ज यहोवाका साक्षीहरूसित बाइबल सिकिरहेका थिए। तिनले आध्यात्मिक उन्नति गर्दै बप्तिस्मा लिएर जेलभित्रै पूर्ण-समय प्रचार गर्न पनि थालिसकेका थिए। अब तिनले दुई बाटोमा एउटा रोज्नुपर्ने थियो। जेलबाट छुटेर फेरि आपराधिक नाइकेहरूको इशारामा नाच्ने कि जेलमै रहेर यहोवाका सेवा गर्ने? जर्जको छनौट यस्तो थियो: “जेलमै बसेर कुकर्मको फल भोग्न म तयार छु। म ब्रह्माण्डकै मालिक यहोवाको सेवा गर्छु।” जर्ज मृत्युसम्मै परमेश्वरप्रति विश्वासी रहे र पुनरुत्थानको आशा लिएर चीर निद्रामा सुते। जेलभित्र सँगै बाइबल सिकेका साथीहरू तिनको गुनगान यसरी गाउँछन्: ‘तिनले सत्य जाने र सत्यले तिनलाई स्वतन्त्र तुल्यायो।’—यहून्ना ८:३२.
खुँखार अपराधीहरूलाई थुन्न अत्यन्त कडा सुरक्षा व्यवस्थासहितको छुट्टै ठाउँ जेलभित्रै हुन्छ। त्यस्तै ठाउँमा डेभिडले पनि ११० वर्षको जेल सजाय काटिरहेका थिए। तिनीमाथि हत्या, अपहरण र चोरीको आरोप लागेको थियो। तर जब तिनले यहोवाका साक्षीहरूसित बाइबल सिक्न थाले, तिनको आचरणमा सुधार देखियो। अब तिनलाई एक जना गार्डको निगरानीमा जेलभित्रै सञ्चालन हुने धार्मिक कार्यक्रमहरूमा जाने अनुमति दिइयो। तिनले बाइबलको सिद्धान्त जीवनमा लागू गरेका छन्। अहिले तिनी जेलमै प्रचार गर्छन् र आठ जना कैदीहरूलाई बाइबल सिकाउँछन्। तिनी सुध्रिएको देखेर तिनको परिवारका सदस्यहरू समेत तिनीसित बाइबल सिक्न जेल धाउन थालेका छन्। डेभीड भन्छन्, “यस्तो आध्यात्मिक आनन्द उठाउन पाएकोमा म कुन शब्दले यहोवालाई धन्यवाद दिऊँ!”
मेक्सिकोका जेलहरूमा यहोवाका साक्षीहरूले बाइबल सिकाएर धेरै राम्रा फलहरू फलाएका छन्। त्यहाँका ७९ वटा जेलका १७५ जना कैदीहरू सुध्रिएका छन् र जेलमै प्रचार गर्न मसीही मण्डलीले अनुमति दिएको छ। तिनीहरूमध्ये ८० जनाले त बप्तिस्मा पनि लिइसकेका छन्। ती १७५ जना प्रचारकले अरू ७०३ कैदीहरूलाई बाइबल सिकाउँछन्। साथै, लगभग ९०० कैदीहरू जेलभित्रै हुने मसीही सभाहरूमा भेला हुन्छन्।
जेलका अधिकारीहरूद्वारा सम्मान
जेलका अधिकारीहरू यहोवाका साक्षीहरूको कामलाई कदर गर्छन्। युकाटन राज्यको टेकाशस्थित सुधारगृहका अधिकारीहरूले साक्षीहरूलाई सन् २००२ मा “निस्वार्थ मानवीय सेवा” पुऱ्याए वापत कदरपत्रले सम्मान गरे।
सुरु-सुरुमा साक्षीहरूले जेलभित्र सभाहरू सञ्चालन गर्दा थुप्रै सुरक्षा गार्डहरू तैनाथ हुन्थे र कडा निगरानी गरिन्थ्यो। तर समय बित्दै जाँदा, तिनीहरूले सुरक्षा गार्डहरूको मन जित्न सके किनभने प्रतिदिन कैदीहरूमा सुधार आउँदै थियो। अन्ततः निगरानी गर्न मात्र एक जना गार्ड खटाइयो।
अहिले स्युडड् ह्वरेसको सुधारगृहमै राज्यभवन बनेको छ। यो राज्यभवन बप्तिस्मा लिइसकेका १३ जना कैदी र तिनीहरूसित बाइबल सिकिरहेका अरू कैदीहरू मिलेर बनाएका हुन्। त्यस सुधारगृहभित्र त्यत्तिकै रहेको टहरालाई राज्यभवन बनाउने अनुमति तिनीहरूले प्राप्त गरेका थिए। यस राज्यभवनमा साउन्ड सिस्टम र शौचालयसमेत छ। भवनमा १०० वटा आरामदायी कुर्सी छन्। अनि करिब ५० जना हप्ताको पाँचैवटा सभा धाउँछन्।
बाइबल सिकाएर कैदीहरूलाई अवश्य सुधार्न सकिन्छ। आजका कैदीहरू पनि पुरातन यहूदाका राजा मनश्शे जस्तै आफूलाई सुधारेर परमेश्वरको डर राख्ने व्यक्ति बन्न सक्छन्। मनश्शे, बाइबलका एक पात्र हुन् जो घोर कुकर्म गरेको कारण बेबिलोनको कैदमा परेका थिए। तर पछि, तिनले अफसोस गर्दै परमेश्वरसित क्षमाको भीख मागेका थिए। आजका कैदीहरूले पनि आचरणमा सुधार ल्याएर परमेश्वरको डर राख्ने व्यक्तिहरू बन्न सक्छन्।—२ इतिहास ३३:१२, १३ (g05 10/8)
[पृष्ठ २०-मा भएको चित्र]
जेलभित्र बप्तिस्मा दिइँदै
[पृष्ठ २१-मा भएको चित्र]
जेलभित्र भएको अग्रगामी सेवा स्कूलमा पूर्ण-समय सेवकहरू र तिनीहरूका प्रशिक्षकहरू