प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जुलाई पृ. १६-१८
  • ऊ मेरो जीवनसाथी हुन उपयुक्‍त छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ऊ मेरो जीवनसाथी हुन उपयुक्‍त छ?
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जोसित विवाह गरे पनि हुँदैन र?
  • यो सम्बन्ध सफल हुन सक्ला?
  • सम्बन्ध टुङ्‌ग्याउने पो हो कि?
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००७
g07 जुलाई पृ. १६-१८

युवाहरू सोध्छन्‌ . . .

ऊ मेरो जीवनसाथी हुन उपयुक्‍त छ?

केही बेर विचार गरेर निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

अहिले तपाईंलाई आफूले विवाह गर्ने व्यक्‍तिमा कस्ता गुणहरू हुनै पर्छ जस्तो लाग्छ? तलको सूचीमा तपाईंलाई सबैभन्दा महत्त्वपूर्ण लाग्ने चारवटा गुणहरूमा ✔ चिह्न लगाउनुहोस्‌।

․․․․․ सुन्दर

․․․․․ आध्यात्मिक झुकाव भएको

․․․․․ मित्रैलो

․․․․․ भरोसायोग्य

․․․․․ सबैले मन पराउने

․․․․․ नैतिकवान्‌

․․․․․ रमाइलो

․․․․․ लक्ष्य भएको

आजभन्दा केही वर्षअघि तपाईंलाई कुनै केटा वा केटी मन परेको थियो कि? त्यति बेला उसको कुन चाहिं गुण तपाईंलाई एकदमै मन परेको थियो, कुनै एउटामा X चिह्न लगाउनुहोस्‌।

माथिका कुनै पनि गुण नराम्रा त छैनन्‌। सबैको आ-आफ्नै विशेषता छ। तरै पनि बैंसालु जोबनमा बायाँपट्टि दिइएकाजस्ता बाहिरी गुणहरू नै आकर्षक लाग्छ भन्‍ने कुरामा भने तपाईं पक्कै सहमत हुनुहुन्छ होला, हैन र?

तर परिपक्व हुँदै गएपछि तपाईंले दायाँपट्टि दिइएकाजस्ता अझ महत्त्वपूर्ण गुणहरूलाई ध्यान दिन थाल्नुहुन्छ। उदाहरणका लागि, तपाईंको छिमेकमा बस्ने असाध्यै सुन्दरी केटी भरोसायोग्य नहुन सक्छे वा तपाईंको क्लासमा सबैले मन पराउने केटो नैतिकवान्‌ नहुन सक्छ भनेर तपाईंले महसुस गर्न थाल्नुहुन्छ। तपाईंको “बैंस पुगिसकेको छ” अर्थात्‌ यौन आवेग तीव्र हुन सुरु हुने समय पार गरिसक्नुभएको छ भने के ऊ मेरो जीवनसाथी हुन उपयुक्‍त छ भन्‍ने प्रश्‍नको जवाफ दिंदा तपाईंले बाहिरी गुणहरू मात्र हेरेर चित्त बुझाउनु हुन्‍न होला।—१ कोरिन्थी ७:३६.

जोसित विवाह गरे पनि हुँदैन र?

समय बित्दै जाँदा तपाईंलाई विपरीत लिंगका थुप्रै व्यक्‍तिहरू आकर्षक लाग्न सक्छ। तर तीमध्ये कोही एक जनासित विवाह गरे त भइहाल्छ नि भन्‍न मिल्दैन। किनकि तपाईं दुई-चार दिन मात्र होइन तर आजीवन सँगै रहने जोडी चाहनुहुन्छ। अनि तपाईं यस्तो जीवनसाथी चाहनुहुन्छ जसले तपाईंमा लुकेर रहेको क्षमतालाई अझ बढाउन मदत गर्न सकोस्‌ र तपाईं पनि उनको लागि त्यसै गर्न चाहुनुहुन्छ। (मत्ती १९:४-६) त्यस्तो व्यक्‍ति को होला? यस प्रश्‍नको जवाफ दिनुअघि तपाईंले आफ्नै अनुहार ‘ऐनामा हेरेर’ आफूलाई इमानदारपूर्वक जाँच्नुपर्छ।—याकूब १:२३-२५.

आफूबारे अझ बढी थाह पाउन निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

ममा कस्ता असल गुणहरू छन्‌?

․․․․․

ममा कस्ता कमजोरीहरू छन्‌?

․․․․․

मेरो भावनात्मक र आध्यात्मिक आवश्‍यकताहरू के-के हुन्‌?

․․․․․

आफूलाई राम्ररी चिन्‍न सजिलो त छैन तर आफैलाई यस्ता प्रश्‍नहरू सोध्दा तपाईंले आफूलाई अझ राम्ररी बुझ्न सक्नुहुनेछ।a अनि तपाईंले आफूलाई जति राम्ररी बुझ्नुहुन्छ, आफ्ना कमजोरीहरूलाई नभई असल गुणहरूलाई अझ बढाउने जोडी भेट्टाउन त्यति नै सजिलो हुन्छ। तर तपाईंले आफ्नो लागि उपयुक्‍त जीवनसाथी भेट्टाइसक्नुभयो जस्तो लाग्छ भने नि?

यो सम्बन्ध सफल हुन सक्ला?

यस प्रश्‍नको जवाफको लागि आफ्नो सम्भाव्य जीवनसाथीलाई इमानदार भई हेर्नुहोस्‌। तर सावधान! तपाईंमा आफूले हेर्न चाहेको कुरा मात्र देख्ने झुकाव हुन सक्छ। त्यसकारण हतार नगर्नुहोस्‌। वास्वतमा ऊ कस्तो खालको व्यक्‍ति हो, पत्ता लगाउने कोसिस गर्नुहोस्‌।

डेटिङ गरिरहेका प्रायजसो जोडीहरूले बाहिरी गुणहरूलाई मात्र ध्यान दिइरहेका हुन्छन्‌। दुई जनाबीच के-के समानता छ भनेर बताउनुपऱ्‍यो भने तिनीहरू तुरुन्तै यसो भन्छन्‌: ‘हामीलाई उस्तै संगीत मनपर्छ।’ ‘अन्य गतिविधिहरूमा पनि हाम्रो रुचि मेल खान्छ।’ ‘हाम्रो सबथोक मिल्छ!’ तर माथि छलफल गरिएझैं तपाईंको बैंस कटिसकेको छ भने बाहिरी कुराहरूमा मात्र चित्त बुझाउनुहुनेछैन। तपाईंले ‘हृदयको गुप्त मानिसलाई’ चिन्‍नु आवश्‍यक छ।—१ पत्रुस ३:४; एफिसी ३:१६.

उदाहरणका लागि, तपाईंहरूको कुन-कुन कुरा मिल्छ भनेर त्यसमा मात्र ध्यान दिनुको सट्टा तपाईंहरूबीच कुरा नमिल्दा त्यस व्यक्‍तिलाई अझ राम्ररी चिन्‍न सक्नुहुन्छ। अर्को शब्दमा भन्‍नु पर्दा, उक्‍त व्यक्‍तिले समस्या कसरी सुल्झाउँछ—आफ्नै कुरामा जिद्दी गरेर, “क्रोध” प्रकट गरेर वा “फोहोर बोली” बोलेर पो हो कि? (गलाती ५:१९, २०; कलस्सी ३:८) अथवा स्पष्ट रूपमा सही वा गलत कुरा मुछिएको छैन भने शान्ति कायम गर्नको लागि सम्झौता गर्न तयार भएर व्यावहारिकता देखाउँछ?—याकूब ३:१७.

विचार गर्नुपर्ने अर्को कुरा यस्तो छ: त्यो व्यक्‍ति आफूले भनेजस्तो हुनै पर्छ भन्‍ने खालको वा ईर्ष्यालु छ कि? के ऊ तपाईंको एक-एक गतिविधि उसलाई थाह हुनै पर्छ भन्‍ने सोच्छ? निकोल नाउँकी युवती यसो भन्छिन्‌: “एक-एक कुरा थाह पाउन खोज्नु र ईर्ष्यालु मनोभाव खतराको संकेत हो।” तिनी अझ यसो भन्छिन्‌: “आफू कहाँ छु अनि के गर्दैछु भनेर खबर गर्न फोन नगरेको कारण सधैं झगडा परिरहने जोडीहरू मलाई थाह छ। मेरो विचारमा त्यो राम्रो संकेत होइन।”

तपाईंको सम्भाव्य जीवनसाथीलाई अरूले कुन दृष्टिकोणले हेर्छन्‌? उसलाई केही समयदेखि चिनेका व्यक्‍तिहरू, जस्तै उसको मण्डलीका परिपक्व व्यक्‍तिहरूसित कुरा गर्नु राम्रो हुन सक्छ। तपाईंले रोज्नुभएको व्यक्‍तिबारे “असल नाउँ” चलेको छ कि छैन, तिनीहरूले तपाईंलाई बताउन सक्छन्‌।—प्रेरित १६:१, २.b

सम्बन्ध टुङ्‌ग्याउने पो हो कि?

तपाईंले डेटिङ गरिरहनुभएको व्यक्‍ति तपाईंको लागि उपयुक्‍त जीवनसाथी हुन सक्दैन भन्‍ने निष्कर्षमा पुग्नुभयो भने के गर्ने? यस्तो अवस्थामा सम्बन्ध टुङ्‌ग्याउनु नै बुद्धिमानी हुन सक्छ। बाइबल भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.c

समयमा, तपाईंले फेरि अरू कसैसित नयाँ सम्बन्ध गाँस्नुहुन्छ होला। विगतको आफ्नो भोगाइले गर्दा त्यस बेला तपाईंले अझ सन्तुलित दृष्टिकोण राख्न सक्नुहुनेछ। सायद त्यति बेला “ऊ मेरो जीवनसाथी हुन उपयुक्‍त छ?” भन्‍ने प्रश्‍नको जवाफमा तपाईंले ढुक्कैसित भन्‍न सक्नुहुनेछ, छ! (g 5/07)

“युवाहरू सोध्छन्‌ . . . ” भन्‍ने शृङ्‌खलाका अन्य लेखहरू www.watchtower.org/ype वेबसाइटमा हेर्न सक्नुहुन्छ।

[फुटनोटहरू]

a आफैलाई सोध्न सक्ने थप प्रश्‍नहरूका लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकको पृष्ठ २४०-२४१ हेर्नुहोस्‌।

b पृष्ठ १७-१८ को पेटीमा दिइएका प्रश्‍नहरू पनि हेर्नुहोस्‌।

c सम्बन्ध टुङ्‌ग्याउनेबारे थप जानकारीको लागि अप्रिल ८, २००१ को ब्यूँझनुहोस्‌!, पृष्ठ १६-१८ हेर्नुहोस्‌।

एकछिन सोच्नुहोस्‌

◼ राम्रो वैवाहिक जोडी बन्‍न चाहिने कस्ता असल गुणहरू तपाईंसित छन्‌?

◼ आफ्नो जीवनसाथीसित कस्ता गुणहरू भएको तपाईं चाहनुहुन्छ?

◼ तपाईंले डेटिङ गरिरहनुभएको व्यक्‍तिको चरित्र, आचरण र प्रतिष्ठाबारे थप कुरा तपाईं कसरी थाह पाउन सक्नुहुन्छ?

[पृष्ठ १७-मा भएको पेटी]

ऊ राम्रो श्रीमान्‌ हुन सक्ला?

थाह पाउनै पर्ने कुराहरू

❑ आफूसित भएको अधिकार उसले कसरी चलाउँछ?—मत्ती २०:२५, २६.

❑ उसको लक्ष्य कस्तो छ?—१ तिमोथी ४:१५.

❑ ती लक्ष्यहरूसम्म पुग्न के उसले कोसिस गरिरहेको छ?—१ कोरिन्थी ९:२६, २७.

❑ उसका साथीहरू को-को हुन्‌?—हितोपदेश १३:२०.

❑ पैसाप्रति उसको दृष्टिकोण कस्तो छ?—हिब्रू १३:५, ६.

❑ उसलाई कस्तो मनोरञ्जन मनपर्छ?—भजन ९७:१०.

❑ उसको पहिरन कस्तो छ?—२ कोरिन्थी ६:३.

❑ यहोवाप्रति आफ्नो प्रेम उसले कसरी देखाउँछ?—१ यूहन्‍ना ५:३.

थप सद्‌गुणहरू

❑ के ऊ परिश्रमी छ?—हितोपदेश ६:९-११.

❑ आर्थिक कुराहरू उसले कसरी सम्हाल्छ?—लूका १४:२८.

❑ के उसको असल नाउँ चलेको छ?—प्रेरित १६:१, २.

❑ के उसले आफ्नो आमाबाबुको आदर गर्छ?—प्रस्थान २०:१२.

❑ के ऊ अरूप्रति विचारशील छ?—फिलिप्पी २:४.

खतराको संकेत

❑ के ऊ तुरुन्तै रिसाइहाल्ने खालको छ?—हितोपदेश २२:२४.

❑ के उसले तपाईंलाई यौन अनैतिकतामा फसाउने कोसिस गर्छ?—गलाती ५:१९.

❑ के उसले शारीरिक वा मौखिक दुर्व्यवहार गर्छ?—एफिसी ४:३१.

❑ रमाइलो गर्न के उसलाई रक्सी नभई हुँदैन?—हितोपदेश २०:१.

❑ के ऊ ईर्ष्यालु र आफ्नैबारे मात्र सोच्ने खालको छ?—१ कोरिन्थी १३:४, ५.

[पृष्ठ १८-मा भएको पेटी]

उनी राम्री श्रीमती हुन सक्लिन्‌?

थाह पाउनै पर्ने कुराहरू

❑ परिवार र मण्डलीमा उनले कसरी आज्ञाकारिता देखाउँछिन्‌?—एफिसी ५:२१, २२.

❑ उनको पहिरन कस्तो छ?—१ पत्रुस ३:३, ४.

❑ उनका साथीहरू को-को हुन्‌?—हितोपदेश १३:२०.

❑ पैसाप्रति उनको दृष्टिकोण कस्तो छ?—१ यूहन्‍ना २:१५-१७.

❑ उनको लक्ष्य कस्तो छ?—१ तिमोथी ४:१५.

❑ ती लक्ष्यहरूसम्म पुग्न के उनले कोसिस गरिरहेकी छिन्‌?—१ कोरिन्थी ९:२६, २७.

❑ उनलाई कस्तो मनोरञ्जन मनपर्छ?—भजन ९७:१०.

❑ यहोवाप्रति आफ्नो प्रेम उनले कसरी देखाउँछिन्‌?—१ यूहन्‍ना ५:३.

थप सद्‌गुणहरू

❑ के उनी परिश्रमी छिन्‌?—हितोपदेश ३१:१७, १९, २१, २२, २७.

❑ आर्थिक कुराहरू उनले कसरी सम्हाल्छिन्‌?—हितोपदेश ३१:१६, १८.

❑ के उनको असल नाउँ चलेको छ?—रूथ ४:११.

❑ के उनले आफ्नो आमाबाबुको आदर गर्छिन्‌?—प्रस्थान २०:१२.

❑ के उनी अरूप्रति विचारशील छिन्‌?—हितोपदेश ३१:२०.

खतराको संकेत

❑ के उनी कचकचे छिन्‌?—हितोपदेश २१:१९.

❑ के उनले तपाईंलाई यौन अनैतिकतामा फसाउने कोसिस गर्छिन्‌?—गलाती ५:१९.

❑ के उनले शारीरिक वा मौखिक दुर्व्यवहार गर्छिन्‌?—एफिसी ४:३१.

❑ रमाइलो गर्न के उनलाई रक्सी नभई हुँदैन?—हितोपदेश २०:१.

❑ के उनी ईर्ष्यालु र आफ्नैबारे मात्र सोच्ने खालकी छिन्‌?—१ कोरिन्थी १३:४, ५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने